हामीहरू केही मालसामान छ भने बडो जतन गर्छौं । लुगा फोहोर भए धोएर स्त्री लगाउँछौं, सुतीको लुगामा माड राख्छौं । मोटर, मोटरसाइकल र मोबाइल लगायत भौतिक सामानको बेस्सरी जतन गर्छौं ।
एकातिर पैसा तिरेर किनेका मालसामानहरूलाई अति ध्यान दिनेमहिलाहरूले अक्सर शरीरलाई चाँहि ध्यान दिइरहेका हुँदैनन् । शरीरमा समस्या भइसकेपछि अस्पताल गएर पैसा खर्च गर्नुपर्दा र मानसिक तनावले गर्दा हुने पीडालाई विचार गरेर पनि महिलाले आफ्नो शरीरलाई मोबाइल जत्तिको महत्त्व पनि दिएको पाइन्न । नुहाएर, बाहिरबाट अनेक सुगन्ध लगाएर, गहनाले सजाएको शरीरको भित्री पार्टपूर्जाहरू कस्ता छन् ? हाड जोर्नीमा ठिक छ कि छैन, हाडहरू लचिला छन् कि छैनन्, फोक्सोमा प्राणवायु पुगेको छ कि छैन ? कहिले वास्ता गरिन्न ।
आफूले कमाएको पैसा पछि बुढ्यौलीलाई चाहिन्छ भनेर पनि महिलाहरू वचत गर्छन् । बैंकमा ब्याजमा राखेर जग्गा र सुन किनेर सुरक्षित राख्छन् तर शरीरलाई सुरक्षित राख्न के गर्छौं ? घर, जग्गा, पैसा छ भनेर सुरक्षित महसुस गर्ने हामी यी सबै जोडजाम गरेको शरीर स्वस्थ राख्न कति समय दिन्छौं ? समय नै दिदैनौं । किनभने हामीहरू सहजै रूपमा पाएको शरीरलाई के वास्ता गर्नु भन्ठान्छौँ । यसका उदाहरणहरू तपाईं हाम्रो जीवनमा पाइला पाइलामा देखिन्छ ।
विभिन्न किसिमका उदाहरणमध्ये बारम्बार देखिएको समस्यामध्ये टेबुलमा बसेर काम गर्नेहरू महिलालाई अहिले देखिन्छ, ढाड दुख्ने समस्या । ढाड दुख्ने समस्या भए कि रेखा श्रेष्ठलाई एक स्वास्थ्यकर्मीले “तपाईं एकैचोटि लामो समयमा कम्प्युटरमा काम नगर्नोस् । काम गर्दा डेढ दुई घण्टामा उठनोस् । हल्का योगासनसहितको व्यायाम गर्नोस्” भनेर बुझाउँदा रेखाले भनेकी थिइन्, “मैले त लामो समय कम्प्युटरमा बसेर काम गर्नैपर्छ, नत्र त समयमा मैले काम सिध्याउँदिन ।” स्वास्थ्य कर्मीले भने, “अहिले यदि तपार्इंले ध्यान दिनु भएन भने पछि लामो समय ओछ्यानमा पर्दा समस्या पर्ला कि ?” रेखाले त्यो कुरा सुनेर केही त बुझिन्, तर त्यसलाई व्यवहारमा उतार्न सकिनन् वा चाहिनन् । पछि ढाडको अति पीडा भएर उनी १० महिना नै ओछ्यान परिन् । यस्ता समस्याहरूको रोकथाम गर्न महिलाहरूका जीवनको विभिन्न पक्षमा योगासनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । महिनावारी हँुदा पेट दुख्ने समस्यादेखि महिलाहरूको लागि योगासनले गर्भावस्थामा स्वस्थ्य रहन र प्रसव सहज हुनमा पनि मद्दत गर्छ ।

www.karmayogischool.com
महिनावारी सुकेपछि आदि बेलामा देखापर्न सक्ने केही समस्याको पनि सहज तरिकाले समाधान गर्नमा योगासनले मद्दत गर्नसक्छ । तर कहिले योगासन नगर्ने, एक दुई दिन गरेपछि “मलाई केही पनि फाइदा भएन” भनेर छोडिदिने गर्यो भने अवश्य पनि योगासनले केही पनि मद्दत पुर्याउँदैन । योगासन त दिनदिनै गर्नुपर्छ र यसको असर जादुको छडीले झैँ एकै दिनमा देख्न पाइन्न भन्ने कुरामा चाहिँ सबैले ध्यान राख्नै पर्छ । यदि महिलालाई गर्भावस्थामा कुनै जटिलता छैन (जस्तो उच्च रक्तचाप, खुट्टा सुनिएको, अति टाउको दुख्ने जस्ता समस्या छैन र शिशु ठिक ठाउँमा बसेको छ भने) साधारण योगासनले स्वस्थ रहनमा मद्दत गर्छ । गर्भावस्थामा सूक्ष्म व्यायाम गर्दा शरीरको रक्तचाप सञ्चालन राम्रो हुन्छ ।
गर्भावस्थामा बारम्बार वाक्वाक् आउने, खान मन नलाग्ने जस्ता समस्या हुनु स्वाभाविक हो । यसको लागि पनि अलि अलि गरेर खाना खाने, चिल्लो प्रदार्थहरू बढी नखाने र आफूलाई उपयुक्त हुने सहज र सरल योगले यी समस्या कम गर्न मद्दत गर्छ । धेरैबेर उभिँदा अथवा हिँड्दा ढाड दुख्ने र पिडौला दुख्ने समस्यामा योगासन गर्दा कम हुन मद्दत पुग्छ ।
गर्भावस्थामा विशेष गरेर ‘पुतली आसन’ गर्दा हाडहरू बलियो र लचिलो बनाउँछ । भुइँमा बसेर दुइवटा पैताला जोडेर घुँडा तलमाथि गर्ने आसनलाई पुतली आसन भनिन्छ । पुतलीको प्वाँख जस्तै कडा तलमाथि गरिने भएकाले सायद यसलाई त्यो नाम दिइएको होला ।
प्रायजसो आसनहरू जनावरका नाममा हुन्छन् । जस्तो ‘मार्जरी आसन’ अर्थात् बिरालो आसन । यस आसनमा बिरालोले ढाड माथि पार्दा गर्ने क्रियाकलाप जस्तै गरिन्छ र यसले ढाडको दुखाइमा कम गर्न मद्दत गर्छ ।
सामान्य प्रसवपछि यो आसन गर्दा महिलाको शरीरको लचकता आउँछ । त्यस्तै प्रकारले शशकासन (अर्थात् खरायो आसन) ले पनि पेटलाई स्वस्थ्य राख्न, र मेरुदण्डको लचकता बढाउन मद्दत गर्छ । लगातार एउटै आसनमा बसेर काम गर्दा ढाडमा असजिलो पना आउँछ र त्यसलाई हटाउन पनि शशकासनले मद्दत गर्छ ।
कतिपय योगगुरुले शशकासनले मन शान्त पार्न पनि मद्दत गर्ने बताएका छन् । मुसलमानहरूले प्रार्थना गर्दा नवाज पढिने आसन पनि झन्डै झन्डै शशकासन जस्तै हुन्छ ।
प्रसव अवस्थापछि कतिपय महिलाहरूको शरीर मोटो हुन जान्छ । शिशुलाई दुध खुवाउनु परेकाले प्रायः खाना बढी नै खाइन्छ । बढी चिल्लो र गुलियो खाना खाएपछि तौल बढ्नु स्वभाविक नै हो । तौल ब्ढन नदिन पौष्टिक तर चिल्लो कम भएको खानाको प्रयोग र विभिन्न योगासन जस्तो बसेर र उठेर टाउकोले घुँडा छुने (जानु शीर्षासन र पाद हस्तासन), पर्वतासन, गोमुखासन, वज्रासन आदिले पनि तौल कम गर्नमा मद्दत गर्छन् ।
योगासन, योगको एउटा पक्ष मात्र हो । जीवनमा खानपान, काम र आरामबिचको सन्तुलन, अनुशासन आदिले पनि महिला स्वास्थ्यका लागि ठुलो भूमिका खेल्छ ।
तर योगासन गरेर महिलाको क्यान्सर निको हुन्छ, पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भन्दा चाहिँ आँखा चिम्लेर विश्वास नगर्नोस् किनभे योगासनले जीवनमा ठुलो भूमिका त खेल्छ तर सबै रोगहरू र समस्या निको चाहिँ पार्न सक्दैन ।