Asmita Magazine

#

अस्मिता अन्तरसंवाद : पितृसत्ता र भुइँमान्छेहरू

अस्मिताले २०८० असार २ गते ‘पितृसत्ता र भुइँमान्छे’ विषयक अन्तरसंवादकार्यक्रम राखेको थियो । सम्पादक कुमारी लामाले सहजीकरण गर्नुभएको यस कार्यक्रमा रीता साह, धनकुमारी सुनार र कैलाश राईले मधेसी, दलित र जनजाति समुदायका महिलाको अवस्थामाथि आफ्ना भनाइ राख्नुभएको थियो भने लेखक निनु चापागाईँ, प्रा. डा. सुधा त्रिपाठी, प्रा. डा. रमेशप्रसाद भट्टराई, पारिजात स्मृति प्रतिष्ठानका उपाध्यक्ष इन्दिरा दली, डा.महेश मास्के, अभ्युत्थानका सम्पादक शोभा दुलाल, कवि तथा सञ्चारकर्मी द्वय राजु स्याङ्तान र छम गुरुङले आआफ्नो प्रश्न र टिप्पणी राख्नुभएको थियो । हामीले त्यस अन्तरसंवाद कार्यक्रमको सारसङ्क्षेप यहाँ प्रस्तुत गरेका छौँ ।

विषय प्रवेश

कुमारी लामा (सम्पादक, अस्मिता हाम्रो)

अस्मिता हाम्रोको पुनःप्रवेशाङ्कले पितृसत्ता र भुइँमान्छेहरूको विषयलाई उजागर गर्ने प्रयास गरेको छ । भुइँमान्छे अर्थात् शक्ति र स्रोत विमुख समुदाय, जसमा महिलाहरू पनि पर्दछन् । मूलतः नेपालको पितृसत्तात्मक संरचनाभित्र विभिन्न समुदायका महिलाको अवस्था के कस्तो छ ? लामो समयदेखि पितृसत्तात्मक संरचनाको दोहनमा परेका उनीहरूले यस विभेदी व्यवस्था विरुद्ध के कस्ता प्रतिरोध र विद्रोह गरेका छन् ? भन्ने लगायतका विषयमा केन्द्रित रीता साह, धनकुमारी सुनार र कैलाश राईका लेखमा आधारित भई यस वहस अघि बढ्ने छ । सर्वप्रथम ‘मधेसी समुदायमा पितृसत्ता’ विषयमा रीता साहलाई आफ्नो विचार राख्नहुन म अनुरोध गर्दछु । त्यसपछि क्रमश धनकुमारी सुनार र कैलाश राईले पनि आआफ्नाविचार राख्नुहुनेछ ।

रीता साह (लेखक, अनुसन्धाता)

मेरो लेखको विषय छ, ‘मधेसी समुदायमा पितृसत्ता’ ।  म यही समुदायको व्यक्ति भएको र विगत दस वर्षको मेरो अध्ययन, अनुसन्धान तथा लेखनका अनुभव समेत यस्तै सामाजिक सन्दर्भहरूसँग जोडिएकाले म यी सबै विषयहरू समेटेर बोल्दैछु ।दक्षिणएसियामा पितृसत्ताको स्वरूप र मधेसी समाजको पितृसत्ताको स्वरूप मिल्दो छ । त्यहाँ जातमा आधारित हिन्दुवादी जुन धार्मिक परम्परा छ, त्यसमा आधारित पितृसत्तात्मक संरचना, मूल्यमान्यता र अभ्यासहरू हुने गरेका छन् । पितृसत्ताले मधेसी समुदायमा कसरी काम गर्छ भन्ने विषयप्रतिको धारणा नै मेरो लेखको सार(जिस्ट) हो ।

मधेसी समाजको पितृसत्ताको कुरा गर्दा सबैभन्दा पहिला हामीले पितृसत्तालाई नै कसरी बुझ्छौ भन्ने सवाल उठ्छ । पितृसत्ता भनेको एउटा विचारधारा हो, जसले पुरुषलाई अब्बल र महिलालाई द्वयम मान्दछ । यही विचारधारालाई अनुसरण गर्नेहरू पितृसत्तावादी हुन् । ती महिला या पुरुषजो पनि हुन सक्छन् । मधेसी समाजमा पितृसत्ताको स्वरूप अन्य समुदायमा भन्दा फरक पाइन्छ । यहाँ महिलालाई घरको इज्जत, जातको इज्जत, समाजको इज्जतसँग जोडेर हेरिन्छ  र त्यसरी नै तुलना गरिन्छ । महिलाका लागि वंश र अंशको अधिकार पनि यहाँ छैन । त्यसो त देशैभरि नै छैन । उसको आफ्नो घर हुँदैन, थर चल्दैन । यस खालको मूल्य मान्यताका अभ्यासहरू अहिले पनि छन् । जति पनि सामाजिकसङ्घ संस्थाहरू छन्, सबै पितृसत्तात्मक सोचमा आधारित छन् । तिनले अघि बढाउँदै लगेका सांस्कृतिक परम्पराहरू महिलाका निम्ति विभेदकारी रहेका छन् । जस्तै, जितिया, छठ जस्ता सबै पर्वमा जस्तोसुकै अवस्थामा पनि महिलाहरूले नै व्रत बस्नुपर्छ । छोरा र श्रीमान्को लामो आयुका लागि व्रतबस्नुपर्नेयस्ता मूल्य मान्यताले कतै न कतै पितृसत्तात्मक संरचनाको सोचलाई बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । मन्दिर, मस्जिद जस्ता सबै धार्मिक सङ्घ संस्थाहरूमा पुरुषहरू पुजारी हुने र महिलाहरू दासी हुन्छन्  । सरसफाइ गर्ने, व्यवस्थापन गर्ने महिला हुन्छन् तर पुजा गर्नबाट तिनैलाई बन्चित  गरिन्छ ।पितृसत्तात्मक सोच कठोर भएको हुनाले मूलतः महिलाको अस्मितासँग जोडिएका तीन पक्षमा नियन्त्रण गरिन्छ । पहिलो, महिलाको शरीर माथिको नियन्त्रण,जसमा कहिले विवाह गर्ने, को सँग विवाह गर्ने, कस्तो विवाह गर्ने, प्रेम विवाह या अन्तरजातीय विवाह गर्ने खालका कुरामा महिला स्वयम्को निर्णय मान्य हुन्न । दोस्रो, महिलाको यौनिकतामाथिको नियन्त्रण, जसमा कति वटा बच्चा पाउने, कोसँग सम्बन्ध राख्ने जस्ता विषयमा सोधिँदैन । ती सब पुरुषहरूको मर्जीले चल्छ । तेस्रो चाहिँ उसको स्वतन्त्रतामाथि नियन्त्रण, जसमा कहाँ जागिर गर्ने, कहाँ जाने या नजाने, कति बजेसम्म बस्ने सबै  पितृसत्ताले नियन्त्रण गरेको हुन्छ । यी सबै स्थापित मान्यताका कारण महिलाको आर्थिक, राजनीतिक, सामाजिक सशक्तीकरणमा असर पारेको छ । मधेसी समाजमा दाइजो प्रथा, बालविवाह, छोरी भ्रुण हत्या लगायत यसैका परिणाम हुन् ।कसैले पनि एउटा बाहेक अर्को छोरी जन्माउन चाहँदैनन् । छोरीलाई विवाहगर्ने घरमा उही छोरीलाई पाल्नुपर्ने भनी दाइजो लिने गरिएको छ । छोरालाई पढाउन गरेको लगानी विवाहमा दाइजोबाट नै असुल गर्ने कारण दाइजोको विषयमा महिलाहरूमाथि हिंसा हुने गर्दछ ।यसले छोरीको जन्मदेखि उसको युवावस्था र सामाजिक जीवनको गतिसम्म एकदमै दुरगामी असर पारिरहेको छ ।

धनकुमारी सुनार (लेखक, राजनीतिज्ञ)

दलित महिलाका सन्दर्भमा एकदम सुनिइने विषय हो— “दलित महिलाको पानी चाहिँ नचल्ने तर यौन चाहिँ चल्ने ।”जुन खालको पितृसत्ता छ, जात व्यवस्थामा आधारित जुन खालको वर्णवादी संरचना छ, त्यस व्यवस्थामा हुर्केका मान्छेहरूलाई यस्ता कथनले दलित महिलामाथि यौन आक्रमण गर्न सहज र सजिलो पारिदिएको छ । धेरै दलित महिलाहरूयौन हिंसा र यौन आक्रमणमा पर्ने गरेका तथ्यहरूले यो कुरा प्रस्ट देखाएको छ । धार्मिक सामाजिक र राजनीतिक सत्ता नै यसका कारकरहेका छन्। हिन्दु जात व्यवस्थाले दक्षिण एसियाका २५ करोडभन्दा बढी आवादी भएका दलित समुदाय रत्यसभित्रका आधा धर्ती ओगटेका महिलाहरूलाई अछुत र अपवित्र बनायो । नेपाली समाजमा विशेषतः वर्णवादी समाजमा हिन्दु र दलित दुवै नै महिला अपवित्र मानिएका हुन् किनभने कथित माथिल्ला जातका महिला पनि सुत्केरी भएको, महिनावारी भएका अवस्थामा अशुद्ध भएको भन्ने प्रचलन रहेको छ । त्यसैगरी दलित जन्मेदेखि मृत्युसम्म अपवित्र नै मानिन्छ । दलित महिलाको शरीरएउटा वस्तु मात्र हो, जसरी पनि प्रयोग गर्न सकिन्छ भन्ने जस्ता महिलालाई वस्तुकरण गर्ने खालका किंवदन्ती र त्यस अवधारणालाई मलजल गर्ने सिद्धान्त र व्यवहार हाम्रो समाजमा पर्याप्त रहेका छन् । जात व्यवस्थामा आधारित हिन्दु समाजमा महिलाहरू अर्धदास वा भोग्या हुन् । पछिल्लो समय विकसित भएको पुँजीवाद वा दलाल पुँजीवादले त महिलाहरूलाई सबै सीमा पार गरी उपभोग्य वस्तुका रूपमा प्रस्तुत गरेको छ  । सबै हिसाबले उनीहरू दमित छन् । म यहाँ अलि बढीयौन हिंसा र यौन आक्रमणका विषयमा केन्द्रित हुने कोसिस गरिरहेकीछु । हाम्रो समाजमाआर्थिक र राजनीतिक हिंसा पनि उत्तिकै छन् । यसको आधार या पृष्ठभूमि धर्म शास्त्रका कतिपय अदूरदर्शी र विभेदकारी मान्यताहरू नै हुन् । मनु स्मृतिमा उल्लिखित अतिसयोक्तिपूर्ण चिन्तनलाई कानुनका  रूपमा संरक्षण गर्ने हिन्दु धर्म शास्त्रले यस्ता विषयलाई अवलम्बन गर्न प्रेरित गर्दै  त्यसलाई त्यसरीनै मलजल समेत गरेको देखिन्छ ।

अब प्रतिरोधको सवाललाई खोजी गरेर हेर्दा नेपालमा वादी महिलाहरूले २०६४ सालमा काठमाडौंमा नै आएर ४८ दिनसम्म धर्ना दिएको महत्त्वपूर्ण इतिहासमा पुगिन्छ । आफुमाथि प्रयोग गरिने भाँड, बगेरी, पातर जस्ता अपमानजनकभाष्य र उपनामको विरुद्ध तिनले डटेर विद्रोह गरेका थिए, साथै उनीहरू धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक विभिन्न  अधिकारका लागि पनि लडेको देखिन्छ । त्यतिबेला प्रा.सुधा त्रिपाठीले एउटा राम्रो लेख लेख्नुभएको थियो । त्यस लेखले वादी महिलाहरूको आन्दोलनलाई समर्थनको वातारण तयार पारेको थियो । त्यतिबेला ५०० जना जति वादी महिलाहरूकाठमाडौँआएर ४८ दिनसम्म निरन्तर धर्ना दिए । उनीहरूले सिंहदरबार अगाडिअद्र्धवस्त्र (पेटिकोटमात्र लगाएर)भएर प्रतीकात्मक प्रदर्शन गरेका थिए ।  राज्यले उनीहरूको शरीरमाथि गरेको दोहन रवस्तुकरणका विरुद्धको त्यो प्रतिरोध थियो । वादी महिलाहरूको मुद्दामाथि राज्यले त्यतिबेला दुई बुँदे सम्झौता गर्योतर त्यो ५०% जति अझै पनि कार्यान्वयन भएको छैन । अझै पनि वादी महिलाहरूले जन्माएको बच्चाहरूले नागरिकता पाउने अवस्था छैन । उनीहरूले आफुबलात्कृत भएको उजुर गर्न जाँदा“वेश्याहरू पनि कहीँ बलात्कृत हुन्छन्” भन्ने गैरजिम्मेवार र असंवेदनशील जवाफ प्रशासनबाट पाउने गरेको तितो यथार्थ पनि छ । उनीहरूको उत्पीडनको मुद्दानेपाली महिलाको मुक्तिको सवाल पनि हो तर कहिले पनि नेपाली महिला आन्दोलनले यसलाई उठान गरेको अवस्था छैन । वादी महिलाहरूको मुक्तिको अन्दोलन फेरि लैंङ्गिक मात्र हैन, उनीहरूको जातीय र वर्गीय पनि हो ।

दलित महिलाको सवाल छुवाछुत मात्र होइन, जात व्यवस्थामा आधारित निर्मित वर्गीय उत्पीडन पनि हो । जसलाई सम्बोधन गर्न क्रान्तिकारी विचार सहितको संरचनागत रूपान्तरण आवश्यक छ । त्यसै गरेर पछिल्लो समयमा दलाल पुँजीवादी व्यवस्थाको चरम चपेटामा परेको महिला शरीर र बौद्धिकतालाई मुक्त गर्न पनि सत्ताको सधैँ प्रतिपक्षमा बस्न बाध्य बहुसंख्यक महिलाले पितृसत्तात्मक वर्णवादी सत्ताको विरुद्ध गोलबन्द भई धावा बोल्ने आँट गर्नुपर्छ । वर्तमान समयमा उत्पीडित  महिलाहरूले संयुक्त मोर्चाबन्दी गर्दै महिलामाथि भएका तमाम लैङ्गिक, वर्गीय र जातीय विभेदको अन्त्यका लागि एकजुट हुनु आवश्यक छ ।यो नै महिला मुक्तिका निम्ति समाजवादी व्यवस्था स्थापनामा सफलता दिलाउने निर्विकल्प बाटो हो ।

कैलाश राई (लेखक, अनुसन्धाता)

पितृसत्ता र भुइँमान्छे भन्ने शीर्षकअन्तर्गत्को यस अन्तक्र्रियामा म आफ्ना तर्कहरू प्रस्तुत गर्दैछु । हाम्रो समाजमा भुइँमान्छेहरूको पनि स्तरीकृत अवस्था छ ।  भुइँमान्छे साँच्चिकै भुइँमान्छेका रूपमा रहनसकेका छन् कि छैनन् ? राज्यले त्यस विषयलाई कस्तो देखेको छ ? कि देखेकै छैन ? यसरी हेर्ने हो भने सायद भुइँमा रहेका मान्छेहरू धेरैलाई मान्छे नै नगनिएको स्थिति देखापर्दछ । यही कारणल नै दलित र मधेसी महिलाहरूको स्थिति सबभन्दा नाजुक भएको हो । तर आदिवासी जनजाति समुदायका सन्दर्भतिर फर्किँदा भने महिलाहरू सांस्कृतिक रूपले केही हदसम्म समान छन्, उनीहरूले केही हदसम्म सास फेर्न सकेका छन् भन्ने मलाई लाग्छ । यो मेरो व्यक्तिगत अनुभव पनि हो भने गएको १८/१९ वर्ष मैले यही विषयमा काम गर्दा प्रत्यक्ष रूपमा महसुस गरेको  विषय पनि हो । आदिवासी समुदाय र पितृसत्ता दुइटालाई एकै ठाउँ ल्याएर संवाद गरिने प्रक्रिया नै नेपालमा अभ्यासमा आएको देखिँदैन । यी दुई मान्यताहरूलाई सैद्धान्तिक रूपमा एक अर्कासँग जोडेर कुराकानी गर्न चाहिँ किन नसकेको हो भन्ने प्रश्नबाट नै अब हामीले बहस अघि बढाउनुपर्छ । मेरो लेखमा अलिकति यसरी हेर्ने कोसिस गरेको छु  । पितृसत्ताको अवधारणा जो पिताको शासन, पिता अर्थात् पुरुषको शासन भन्ने बुझिन्छ । राज्यसत्तादेखि लिएर घरको सत्ता, तपाईंको बेडरुमसम्मको विधि र व्यवहारलाई त्यसले निर्धारण गर्छ भन्ने कुराहरूलाई हामीले बुझिरहेका छौँ । आदिवासीहरूको मौलिक अवधारणा भने समसामयिक कुरा होइन । हरेक समुदायको आफ्नो जीवन दर्शन, ज्ञान अनि त्यही अनुसारको अभ्यासले नै मान्छेको पहिचान र सोच्ने प्रक्रिया निर्देशित गर्छ । अहिलेको सन्दर्भमा पनि आदिवासी जनजातिले धेरै कुराहरूमा, जस्तै महिलावादको कुरामा, या पितृसत्ता निर्देशित धेरै क्षेत्रमा भाग लिएको चाहिँ देखिँदैन । मलाई लाग्छ, त्यसो हुनुको एउटा कारण आदिवासीहरूको आफ्नै मौलिक ऐतिहासिक जीवन दर्शन रहेको छ, जुन जीवन दर्शन हिन्दु धर्ममा र नेपाली राज्य व्यवस्थाले अवलम्बन गरेको प्रणालीमा भन्दा धेरै फरक पनि छ ।

आदिवासी जनजातिभित्र मातृसत्तात्मक व्यवस्था थियो भनी दाबी गरिरहेको अवस्था भए पनि दाबी चाहिँ कति सत्य तथ्यमा आधारित छ भन्ने कुरामा प्रश्न उठ्छ । त्यस विषयमा व्यापक सोधखोज जरुरी छ । तर त्यसो भनिरहँदा पनि एउटा पक्ष चाहिँ के देख्न सकिन्छ भने आदिवासी समुदायमा पितृसत्ता भन्ने कुनै सिद्धान्त देखिँदैन । त्यो नदेखिनु भनेकै आदिवासी समुदायभित्र एउटा निश्चित लिङ्गका आधारमा पुरुषले मात्र अरूमाथि आफ्नो प्रभुत्व जमाउने, शासन गर्ने या निर्णायक भूमिका खेल्ने अवधारणा चलेको नहुनु हो । त्यसकारण यो पितृसत्ता भन्ने मान्यता, सिद्धान्त वा प्रणालीले अहिलेको समाजमा जताततै आफ्नो प्रभुत्व जमाएको छ तापनि आदिवासी समुदाय, जहाँ हामी बाँचिरहेका छौँ, यसका लागि भने यो एक औपनिवेशिक मान्यता हो ।

पितृसत्ता र महिलावादको जुन संयोजित स्वरूप छ, त्यो आदिवासी जनजाति महिलालाई भन्दा ठुलो व्यवस्थामा दलित, मधेसी महिलाहरूका लागि सायद बढी उपयोगी छ । आदिवासी जनजाति समुदायका महिलाहरूका लागि त्यो उपयोगी या कामकाजी छैन भन्ने पनि अर्को अवधारणा छ । त्यो कामकाजी किन छैन भने आदिवासी समुदायले सामुहिक काममा आफ्नो भिन्न मौलिक पहिचान बनाएका छन् । त्यो मौलिकता नै खास गरी जल, जङ्गल र जमिनसँग आफुलाई जोडेर त्यससँगको सम्बन्धलाई भाषा, संस्कृतिहरूमा पुनर्जीवित गर्ने उनीहरूको एउटा अभियान हो । त्यो पुनर्जीवित गर्दा लैंगिक रूपमा समान हुनुपर्छ भन्ने कुरा भएको भएर त्यसलाई नै उठाउनु पर्छ, जसका लागि आदिवासी महिलावाद भन्ने टेर्मिनोलोजी, त्यो जुन सिद्धान्त छ, त्यसैमा आधारित भएर कुरा उठाउदै गरेका हुन् । तर हामीआफैले पनि यस खालको अवधारणालाई के कति छलफलमा ल्याउन सक्याँै, कति विस्तारित गर्न सक्यौँ भन्ने प्रश्न त छ नै । मैले नै पनि यी दुइटा टेर्मिनोलोजी जोडेर पहिलो चोटि यसरी सार्वजनिक रूपमा बोल्न पाएको छु । यस अवसरका लागि अस्मिता हाम्रो टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । पितृसत्तासँग जोडिएको यस पाटोलाई हामीले ढिलो चाँडो उठाउनुपर्ने थियो । अहिले उठाउन सकियो भनौँ । त्यस हिसाबले अब यो पितृसत्ता, लैंगिकता, महिलावाद भन्ने विषयका आधारमा आदिवासी समुदायलाई चाहिँ भिन्न कोणबाट समेत केलाउनुपर्छ है भन्ने हाम्रो सङ्केत हो । समुदायभित्रका मौलिक जीवनदर्शनको खोजी गरी विभेदसम्बन्धी धारणाको मूलसम्म पुग्ने यो सोच आधारभूत रूपमा वैचारिक निर्मितिमा चाहिँ एउटा सानो झिल्कोजस्तो मात्र हो ।

प्रश्न, विचार र टिप्पणी

इन्दिरा दली (उपाध्यक्ष, पारिजात स्मृति केन्द्र)

हामी भुइँमान्छेको छलफलमा छौँ, तर मैले यहाँ कोही पनि भुइँमान्छे देखिनँ । महिलामाथिका विभेद विषयको यस  छलफलमा महिला मात्र बढी सहभागी गराउनु भन्दा पुरुषहरूलाई बराबर सहभागी गराएको भए यस विषयमा उनीहरूको धारणा के छ त भनी आउनसक्थ्यो । भुइँमान्छेको विषयमा लेख्दा खासमा त्यही कम्युनिटीमा गएर केस स्टडी गरेको भए अलिक बेटर हुन्थ्यो कि । अलिकति फस्र्ट ह्याण्ड नलेज आउँथ्यो कि !

कुमारी लामा

रीता साह र धनकुमारी सुनारले पितृसत्तात्मक व्यवस्थाभित्र मधेसी र दलित महिलाको शरीर नियन्त्रणको सवाल र कैलाश राईले जनजाति महिलाका हकमा पितृसत्तालाई विस्तृत रूपमा उजागर गर्नुभयो । पितृसत्ताको बर्चस्वमुनि दबिएका भुइँमान्छेभित्रका विविधता र तिनको सकसपूर्ण स्थितिलाई यहाँहरूले कसरी हेर्नुभएको छ ?

रीता साह

वास्तवमै हाम्रो जस्तो,  देश जहाँ जातीय, भौगोलिक, धार्मिक, भाषिक विविधता छ, मधेसी समुदायभित्र पनि यस्तो विविधता रहेको छ ।  मुस्लिम समुदायको कुरा गर्नुपर्दा म मधेसी समुदायभित्रको क्ल्स्टरको कुरा गर्छु । पहाडमा तीन वटा जातीय समुदायको जातीय  क्ल्स्टर छ भने मधेसमा ती ५ वटा छन् ।  ५ वटाभित्र पनि कथित उच्च जाति अन्तर्गत ४ वटा जात छ । मधेसको ब्राह्मण, राजपुत, कायस्थ अनि वैश्य जाति । ती जातीय समुदायको एउटा क्ल्स्टर छ, जसको जनसङ्ख्या लगभग १ प्रतिशत छ । human development index, literacy rate, poverty index हेर्ने हो भने सबै  हिसाबले चाहिँ एकदम माथि छ तर जनसङ्ख्या चाहिँ १% मात्र छ । यो चाहिँ हामीले विचार गर्नुपर्छ । त्यसपछि अर्को जातीय क्ल्स्टर भनेको ओबीसी अथवा मध्यम जाति पनि भनिन्छ । यसको जनसङ्ख्या १५% छ । यादव, साह, बनिया जस्ता थुप्रै जात यसभित्र पर्छन् । हामीले human development index हेर्ने हो भने यस जातीय समुदायको स्थिति चाहिँ मध्यम खालको छ । त्यसपछि तेस्रो जातीय क्ल्स्टर भनेको आदिवासी जनजाति हो, जसभित्र थारु, धिमाल, राजवंशीहरू पर्छन् । चौथौ जातीय  क्ल्स्टर भनेको मधेशका दलित हुन्, त्यसमा चाहिँ मुसहर, चमार, खत्बे लगायतका थुप्रै जात जातिहरू छन् ।  यस भित्रको human development index सबभन्दा तल छ, पहाडको दलित समुदायको भन्दा पनि तल छ  । पाँचौ क्ल्स्टर भनेको मुस्लिम समुदाय हो । उनीहरूको आफ्नै प्रकारको लैङ्गिक मूल्य मान्यता र अभ्यासहरू छन् । मुस्लिम समुदायको जनसङ्ख्या ५ प्रतिशत छ । हामीले मधेसी समुदायका बारेमा बुझ्नुपर्दा सबै क्ल्स्टर बुझ्यौँ भने मात्र त्यहाँको विविधतालाई बुझ्न सकिन्छ । समग्र मधेसी समुदायको कुरा गर्दा राजनैतिक, आर्थिक र सामजिक जस्ता साझा सवालहरू पनि छन् साथसाथै फरक सवाल पनि छन् । किनभने सबै खालको महिलाहरूको सामजिक, आर्थिक राजनीतिक, शैक्षिक अवस्था समान खालको छैन । मधेसी समुदायमा नागरिकताको, समावेशिताको सवाल सबै समुदायको सवाल हो । राजनीतिक प्रतिनिधित्वको कुरा, भाषाको कुरा सबै समुदायको सवाल हो । तर फेरि जातीय छुवाछुतको कुरा गर्दाखेरि त्यसले अन्य ४ वटा क्ल्स्टरलाई चाहिँ छुँदैन किनभने त्यो मधेशको दलित महिलाको मात्र सवाल हो । धार्मिक विभेदको कुरा गर्दाखेरि अरू क्ल्स्टरलाई छुँदैन, मुस्लिम समुदायहरूको सवाल हो । त्यही धार्मिक हिसाबले आदिवासी जनजातिमाथि हुने विभेदको कुरा गर्दा मधेसको थारु, धिमाल, राजवंशीको सवाल हो । त्यसैले विविधताको कुरा गर्दा त्यहाँ विभेद पनि त्यस्तै छ । उहाँहरूको लैङ्गिक सवाल पनि फरक छ । मैले पटक पटक किन भनेको भने अब जस्तै त्यहाँको उच्च जातिहरूको र मध्यम जातिहरूको मूल्य  मान्यता संस्कृति परम्परा एक खालको छ भने मुस्लिम महिलाहरूको फरक किसिमको छ । उहाँहरू अहिले पनि अधिकांश हिजाब लगाउनु हुन्छ, मदरसा शिक्षामा जानुहुन्छ । त्यहाँको लैङ्गिक सम्बन्ध अरू जातजातिको भन्दा फरक छ । त्यस्तै मधेसको उच्च जाति र मध्यम जाति चाहिँ दलित समुदायको भन्दा पनि कठोर पितृसत्ताको अभ्यास गर्छ । दलित समुदायका महिलालाई देवर, जेठाजु, ससुराका अगाडि टाउको छोप्नुपर्ने बाध्यता हुँदैन तर उच्च र मध्यम जातिमा बाध्यता हुन्छ । अहिले पछिल्लो समयमा केही खुकुलो छ तथापि अहिले पनि गाउँघरमा महिला र पुरुष  मधेसी समुदायमा सँगै गएर बस्न सक्नुहुन्न किनभने त्यहाँ ससुरा, जेठाजुका अगाडि टाउको छोप्नुपर्छ  । उहाँहरू बोल्नु नै हुन्न । महिलाको कुराहरू पनि पुरुषले नै बोल्नुहुन्छ । अनि हामीलाई लाग्छ, उहाँहरू त बोल्न नै सक्नुहुन्न । खासमा त्यहाँको लङ्ैंगिक सम्बन्धका बारेमा हामीलाई थाहा हुनुपर्छ । उहाँहरूलाई छुट्टै राखियो भने बोल्नुहुन्छ तर यस्तो खालको न त्यहाँ परिवारमा वातावरण छ, न समाजमा । मधेसी समुदायको समग्र कुरा गर्दा त्यहाँ भित्रका यस्ता विविधतालाई पनि हामीले समेट्नुपर्छ ।

धनकुमारी सुनार

उमा चक्रवर्ती भन्नुहुन्छ, “दक्षिण एसियामा पितृसत्ता र जात व्यवस्था एक आपसमा अन्तर्निहित छन् । त्यसमा पितृसत्ताका जुन खालका कम्पोनेन्टहरू छन्, त्यसले नियन्त्रण गर्ने शक्ति आफै लिएको छ । पुरुष मालिक हुने, स्रोत साधनहरूलाई नियन्त्रण गर्ने गर्छ ।” त्यसै गरेर महिलाहरूमाथि पनि त्यही गरिन्छ । वर्ण व्यवस्थाले यस्तै खालका कुराहरूलाई मलजल गरेको छ । हजाराँै वर्ष देखिको जुन खालको लिगेसी अहिलेसम्म चल्दै आएको छ, त्यसैले महिलाहरू सधँै प्रतिपक्षमा नै बस्न बाध्य छन् किनभने उनीहरू बहिष्कृत छन् । नेपाली समाजको जुन बनोट छ, जात व्यवस्था र वर्ण व्यवस्थामा आधारित, त्यसमा तागाधारीदेखि लिएर तागाधारी भित्र पनि, क्षेत्री, वैश्य जस्ता हाइरार्की छ । नेपालको शासकीय संरचनाले मासिन्या र नमासिन्या बनाएको छ । दलितभित्र पनि माथि विश्वकर्मा हुने, कामी हुने त्यसपछि दमाईंहरू हुने र अन्तमा चाहिँ मुसहर हुने । स्रोत साधन सङ्ख्याका हिसाबले विश्वकर्मा फेरि अगाडि छन् । वादी र गन्धर्वहरू त्यस फ्रेममा तल छन् । सबैभन्दा तल मधेसका दलितहरू छन् । वर्ग त्यहाँ पनि छ  । विविधताका स्वरूपहरू नै फरक छन् । जस्तै तराईकै एकजना महिलाले छुवाछुत मात्र अथवा जातीय विभेद मात्रै भोग्दैन, भाषिक र क्षेत्रीय उत्पीडन पनि भोग्छ । जति तल गयो, त्यति नै विभेदको, उत्पीडनको स्वरूप चाहिँ फरक फरक छ ।  केन्द्रमा पनि सबैभन्दा बढी उत्पीडनमा परेको वर्ग, लिङ्गको मुद्दालाई नै सम्बोधन गर्ने कुराहरूमा ख्याल गर्नुपर्छ । हामीभित्रको इन्टरसेक्स्नालिटी वा विभेदको कुरालाई ख्याल गर्नुपर्ने हुन्छ । जस्तै मधेसी समुदायको रीताजीले प्रतिनिधित्व त गर्नुहुन्छ तर मधेसी भुइँमान्छेको प्रतिनिधित्व उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यसैगरी मैले दलितको प्रतिनिधित्व त गर्छु, समग्रमा तर भुइँकै दलित महिलाको सवालमा फेरि प्रश्न उठ्छ । म उहाँहरूको पक्षधर त हुँ, त्यसैले हामीले आवाज उठाउने कुरा त छँदैछ ।

कैलाश राई

म दुइटा कुरा राख्छु है । एउटा चाहिँ अघि उठेको शरीरमाथिको नियन्त्रणको कुरा अनि अर्को चाहिँ जनजातिभित्रको विविधताको कुरा । विविधताको कुरा गर्दा नेपालको सन्दर्भमा उनन्साठी त राज्यले नै सुचीकरण गरेको छ तर त्योभन्दा बाहेक पनि अरू धेरै राज्यले सूचीकरण गरेका विशेषता भएका जसले आफुलाई आदिवासी जनजातिमा सुचीकृत गर्न चाहने छ, यसको बारेमा बेला बेलामा समिति गठन गरेर प्रतिवेदन बुझाउने काम भयो तर अगाडि बढेको छैन । यो कुरा मैले कहाँ जोड्न खोजेको भने एउटा त नेपालको सन्दर्भमा जुन खालको भाष्य वैचारिकीहरू हामीले छलफलमा ल्याउछौँ, एकदम ठुलो विषयवस्तुको रूपमा महत्त्वपूर्ण, प्राथमिक विषयवस्तु भनेर त्यसबाट हामी पाखा नै पारिएका छौँ । त्यसभित्र यति धेरै विविधता छ,  मेरो थर राई, मेरो श्रीमान् पनि राई नै हुन् तर हामी दुइजनाको भाषा मिल्दैन । हामी नेपाली भाषामा कम्युनिकेट गर्छांै । म हुर्केको मेरो समुदायमा २७, २८ वटा भाषा छन् ।  भाषिक हिसाबले राईभित्र नै यति धेरै विविधता छ भने हिमालदेखि तराईसम्मका आदिवासी जनजाति समुदायमा हरेक हिसाबले एकदम भिन्नता पाइन्छन् तर हामीले यस्ता धेरै कुराकानी गर्न सक्या छैनौँ । त्यसका लागि इन्दिरा दिदीले भन्नु भए जस्तो हामीले भुइँमै गएर रिगरस अध्ययन अनुसन्धान गरेर मात्र कमन अन्डरस्ट्यान्डिङमा आउन सक्छौँ होला । मिहिन अध्ययनमा लैङ्गिक सम्बन्धको कुरा होला, सामाजिक सम्बन्ध , सांस्कृतिक पाटो साथै पितृसत्ताको कुरा कुन चाहिँ जातिमा बढी छ,  सांस्कृतिक रूपमा अतिक्रमण कुन समुदायमा बढी भा’को छ भन्ने खालको कुरा हुनसक्छ ।

पितृसत्ताले नेपालका महिलाहरूको शरीरलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरा इन्टरसेक्स्नल प्रस्पेक्टिभबाट हेर्दा भुइँमान्छेहरूमा सास  फेर्न पाएको आदिवासी जनजातिले नै होलान् । त्यो चाहिँ सामुदायिक तहमा जुन खालको सामाजिक, सांस्कृतिक संहिता र अभ्यास छ, त्यसले गर्दा भएको हो  । तर समुदायभन्दा बाहिर जाँदाखेरि फेरि सास निमोठेकै हो एक हिसाबले । यसबारे मेरो सानो रिसर्च लेख पनि छ ।  नेपालका महिलाहरूको विविधतालाई दर्शाउनका लागि जुन वर्णाश्रम अनुसारको स्तरीकृत छन्, त्यसैअनुसार उनीहरूको शरीरमाथि नियन्त्रण पनि गर्छन् । दलित महिलाहरू अछुत मानिएकाले उनीहरूलाई छुन मिल्दैन, दाना पानी पनि चल्दैन, तर तिनको शरीर चाहिँ यौन शोषणको लागि चल्छ । मधेसी महिलाहरू घुम्टोभित्रका हुन् तर यौनिकता र शरीर त चल्छ । मुस्लिम महिलाहरूको ठुलो आँकडा त छैन तर सानो सानो समूहले गरेको अध्ययनले देखाएको छ । हरेक समुदायका महिलाहरू बलात्कारमा, यौन हिंसामा परेका छन् । जनजाति समुदायका महिलाहरूलाई भने छाडा क्याटेगोरीका हुन् भन्ने धारण बाहिरी समाजको छ । खुलेआम पाखा जङ्गलमा गीत गएर पनि हिँड्छन् र आफ्नै दाजुभाइको अगाडि केटाहरूसँग हात समातेर पनि हिँड्छन्, नाचगान गर्छन् । हिन्दु दर्शनमा आधारित महिलाहरूलाई हेर्ने दृष्टिकोणले हेर्दा उनीहरूको गतिविधि स्वच्छन्द र आफूलाई यौनका निम्ति उपभोग गर्न आह्वान गरेको जस्तो ठानिने रहेछ । त्यसकारण यस राज्य र संरचनाभित्र दलितदेखि जनजाति, मधेसी, मुस्लिम सबै महिलाहरूको शरीर नियन्त्रणमा र जोखिममा छ ।

राजु स्याङ्तान (कवि तथा सञ्चारकर्मी)

पारिवारिक संरचनाकै कारण महिलामाथि शोषणको विधिवत् थालनी भयो । परिवारको परिकल्पनाकारका रूपमा आमालाई चिनाइएको छ, मेरो विचारमा जुन परिवारले महिलालाई यति हदसम्मको शोषण गर्दै आएको छ, त्यस्तो परिवार संरचनाको सुरु महिलाले गरेका होइनन् कि ? पुरुषले आफ्नो सहजताका लागि, आफुलाई समाजमा अघि बढ्न सजिलो होस् भनेर परिवारको निर्माण गरेको जस्तो लाग्छ । जनजातिभित्र मातृसत्ताको कुराहरू बारम्बार सुनेको छु तर अभ्यासमा हेर्दाखेरी अपवादमा बाहेक पितृसत्तावाद नै हावी छ । ‘सत्ता’ भन्ने शब्दमा नै शङ्का छ । जनजाति समुदाय महिला प्रधान थियो होला तर सत्ता हुनका लागि त राज्य हुनु पर्यो, सेना हुनु पर्यो । जनजाति महिलाहरू देश चलाउने शासक थिए होलान् त ? यसकारण मातृसत्ता या पितृसत्ता भनेर जोड्नुभन्दा पनि जनजातिमा मातृप्रधान थियो होला कि, खोज अनुसन्धान गरी कहिलेतिरबाट चाहिँ हामी हिन्दु दर्शन र व्यवस्थाको प्रभावमा पर्दै गयाँै भन्ने निक्र्यौल गर्न जरुरी छ जस्तो लाग्छ ।

कैलाश राई

राजुजीको प्रश्न चाहिँ मेरो पनि प्रश्न हो किनभने यसको उत्तर दिने हैसियत अहिले मसँग छैन । बरु आदिवासी जनजाति भनिएका बाहेकका समुदायले चाहिँ यो कुरा स्वीकार गरिसक्नुभएको देखिन्छ । तर आदिवासी समुदायभित्रको विडम्बना के छ भने हाम्रा नेतृत्वमा भएकादेखि, विज्ञदेखि लिएर आम साधारण आसपासका मान्छेहरूसम्म “हाम्रा महिलाहरू एकदम सशक्त छन्, तिनले डाडु पन्यँु चलाउँछन्, हामीलाई कुटेर घरबाट खेदाउछन्” भन्ने गर्छन् । त्यो सत्य पनि हो तर पूर्ण सत्य होइन । घरको निश्चित सीमाभन्दा बाहिर गएपछि  त्यसले कसरी काम गरिरहेको छ,  राज्यले कस्तो वातावरण सिर्जना गरेको छ , बुझ्न जरुरी छ । अब राजुजी कविता लेख्नुहुन्छ, आमाका बारे, उहाँले जाँड खाएको बारे । मेरो आमाले चुरोट पिएको, जाँड, रक्सी खाएको सानैदेखि देख्दै हुर्केकाले हाम्रो आदिवासी जनजातिमा त्यो मेरो लागि सामान्य कुरा थियो । तर काठमाडौँ आएर अरू समुदायसँग बस्न थालेपछि चुरोट रक्सी खानु, त्यो पनि केटी मान्छेले, त्यो त भयङ्कर नराम्रो काम रहेछ भन्ने पो सुनियो । हाम्रो समुदायभित्रको सांस्कृतिक अभ्यासहरूले खानपान,  हिँड्डुल, यौनिक लगायत पक्षमा दिएको समानता, स्वतन्त्रताको कुरा त राज्य संरचनाको व्यवस्थामा पस्दै जाँदा त साँघुरिदै पो गयो । यसबारे विस्तृत छलफल गर्दै जानुपर्छ ।

रीता साह

राजुजीको पहिलो प्रश्नको जवाफ मेरो आर्टिकलमा छ, म पढेर सुनाउँछु । हो, विवाह संस्कारको सुरुवात कहाँबाट कसरी भयो ? कसले गर्यो भन्ने कुरा यो एङ्गेल्सले सन् १८८४ मा लेख्नुभएको आफ्नो पुस्तक origin of the family, private property and the state मा छ । त्यसमा पितृसत्ताको आरम्भबारे एक महत्त्वपूर्ण विचार पेश गरिएको छ । उनको विचारमा महिलाहरूलाई अधीनमा राख्ने कुराको सुरुवात व्यक्तिगत सम्पतिको सुरवात भएदेखि नै भएको हो र उनका अनुसार एक समय यस्तो थियो कि त्यति बेला वर्ग लिङ्गका आधारमा कुनै विभाजन थिएन । मनुष्यहरू लगभग जनावर जस्तै थिए र शिकार गर्ने र भोजनको आफ्नो जीविकोपार्जन गर्ने गर्थे । वंश आमाको तर्फबाट चल्थ्यो । त्यतिबेला त्यस विषयमा न विवाद थियो, न सम्पत्तिको धारणा थियो तर बिस्तारै खेतीपाती र पशुपालनको विकास भयो र पुरुषहरू शिकारका लागि टाढा टाढा जान थाले । महिलाहरू घरमै बसेर बच्चाहरू सम्हाल्ने काम गर्थे ।  समयक्रममा लिङ्गका आधारमा कामको विभाजन सुरु भयो तर महिलाका हातमा शक्ति थियो र मातृकुलको वंशमाथि नियन्त्रण थियो । त्यतिबेला जब पशुहरू पाल्ने काम थालियो, पुरुषहरूले गर्भको रहस्यबारे सोच विचार गर्न थाले र सिकार र समूहहरूको आपसी लडाईंका लागि हतियारहरू बनाउन थाले । यस्तो लडाईंमा पक्रिएका व्यक्तिहरू दास बने । खासगरी दासीहरू पनि जम्मा गरिए र लिङ्गका आधारमा अरू नयाँ नयाँ विभाजनहरू थपिँदै गए । पुरुषहरू पशुहरू र दासहरूलाई  सम्पत्तिका रूपमा जम्मा गर्थे, ती सम्पत्तिको मालिक पनि पुरुष नै बन्थे । यसरी व्यक्तिगत सम्पत्तिको धारणा सुरुभयो । र पुरुष चाहन्थ्यो कि उसले जम्मा गरेको शक्ति र सम्पत्ति अरूले नपाओस्, उसको बच्चालाई नै मिलोस् । बच्चा कुनै एक पुरुषको हो भनी निश्चित गर्नका लागि महिलाले एउतै पुरुषसँग सम्बन्ध राख्न आवश्यक भयो र उत्तराधिकारी निश्चित गर्नका लागि मातृ अधिकारलाई समाप्त गरियो । बाबुको अधिकार जमाउन महिलाहरूलाई घरेलु बनाएर तिनीहरूलाई तिनीहरूको गतिशीलतालाई अङ्कुश लगाएर तिनीहरूको यौनिकतामाथि नियन्त्रण राख्न जरुरी ठानियो । इतिहासको यसैकालमा तिनै कारणले वैवाहिक सम्बन्धको सुरुवात भयो र पितृसत्ता त्यतिबेलादेखि नै लादिएको कुरा चाहिँ त्यो पुस्तक मा लेखिएको छ र मेरो लेखमा पनि छ ।

छम गुरुङ (कवि, अनुसन्धाता)

मधेसी भन्ने जुन टर्मिनोलोजी छ र त्यसभित्रको विभेदको विषय अलि प्रस्ट हुन सकेन । त्यो रीताजीले प्रस्ट पारिदिनु होला । पितृसत्तात्मक व्यवस्थाले निर्माण गरेको संरचना र सामाजिक विभेदका विरुद्ध वहस भइरहँदा मातृसत्ता चाहिँ सकारात्मक कुरा हो भन्ने जस्तो कुरा उठ्छ । हामीले समानताको पक्षमा वकालत गर्ने हो, जस्तो कि जात व्यवस्था उन्मूलन गर्ने कुरा, पितृसत्ता नष्ट गर्नुपर्ने कुरा हो भने मातृसत्ता पनि त्यस्तै हो, जस्तो मातृसत्ता पनि ठिक होइन होला, यसमा यहाँहरूको विचार के छ ?

टिप्पणी र जवाफ

प्रा. डा. रमेश भट्टराई (समालोचक/निबन्धकार)

म मेरो अनुभव मात्र भन्छु, थ्योरीको कुरा गर्दिनँ । म ताप्लेजुङमा जन्मेको । त्यहाँ प्रायः लिम्बुहरू हुनुहुन्थ्यो । अलिकति गुरुङ, अलिकति राईसँग हुर्कें । झापामा मेरो छेउछाउमा धिमाल, राजवंशी अनि त्यसपछि विराटनगरमा मधेसीहरूसँग सम्पर्कमा आएँ । त्यसपछि काठमाडौँमा आएँ । परिवारमा कसको भूमिका कस्तो छ भन्ने कुराले सत्ताको निर्धारण गर्छ । कैलाशजीको बाट सुरु गराँै— मेरो छिमेकी धिमालको आमा, छोरी र बुहारीको रोल परम्परागत छन् । उनीहरूका निर्णय प्रक्रियाहरू परम्परागत छन्, जसमा पुरुष नै संलग्न हुन्छन् । त्यहाँ मातृसत्ता छ भन्ने मलाई लाग्दैन । दोस्रो कुरा, मेरो घर छेउमा सुबेदारर्नी दिदी हुनुहुन्थ्यो । तिनी निर्णय त गर्नुहुन्थ्यो तर घरभित्रै बस्नुहुन्थ्यो । घरभित्र बसेर बच्चा हेर्ने र अरू महिलाले जस्तै काम गर्ने भनेपछि अब त्यो मातृसत्ता हो कि होइन त ? दलितको प्रश्नमा, मधेसको महिलामा दलितहरू पीडित छन् भन्ने कुरा ठिक हो । तर रीताजीकोमा के कुरा आएन भने दलित महिला मधेसका दलित महिलाहरूको प्रकृति चेतना, प्रतिनिधित्व चेतना सशक्त छ । एउटा प्रोग्राम लिएर मधेस गएको बेला मैले त्यो महसुस गरँे । त्यहाँका अरू महिलाहरू कोही पनि बोलेनन् तर दलित महिलाहरू सङ्गठित भएर भने, “यो हेड मास्टर जमिन्दारको छोरो छ, यो हेडमास्टर चाहिँ बाहुन छ,  यसकारण मेरो छोरालाई चाहिँ पछाडिपट्टि छुट्टै राख्छ । यो कुरा तपाईंहरूले निर्णय गरेर जानुहोस् ।” त्यसरी सङ्गठित भएर उभिएको त्यो चेतनालाई चाहिँ हामीले पनि सम्बोधन गर्ने कि नगर्ने ? महिला आन्दोलनमा आउने प्रतिरोधी चेतनाका सन्दर्भमा मधेसका ती महिलाहरूको प्रतिरोधी चेतना के हुन् ? हामी पार्टीमा नि लागियो, जहाँ ३५ सालदेखि महिलाको पनि कुरा गरियो, गणतन्त्र आयो फेरि पनि हामी त्यही ३५ सालदेखि नै सुरु गर्दैछौँ । महिलाहरूले कहिले सम्म लड्ने ? जनजाति, दलितहरूले कहिलेसम्म लडिरहने ? त्यसकारण अबको लडाईं अन्तिम हुने उपाय के हो ?

हाम्रो प्रतिरोधी चेतनाकाबारे पनि अलिकति छलफल गरौँ । थर्ड वल्र्डका जुन भुइँमान्छेका कुराहरू छन्, वास्तवमा अहिलेसम्म हामीले आखिर मोर्गन त हेर्या  हो नि, मोर्गनले अमेरिकाका आदिवासीको सम्पूर्ण प्रणाली के छ भनेर अध्ययन गरे र त्यसका आधारमा उनले निर्णय गरे । महिलाहरूमाथि सबै भन्दा ठुलो दमन त्यहीँबाट सुरु भयो, जहाँबाट एकनिष्ट परिवारवाद अझै भन्नुपर्दा एकनिष्ट परिवार सुरु भयो । त्यो एकनिष्ट परिवारले वर्ग पनि जन्मायो र त्यो प्राचीन बर्बर समाजबाट भिन्न थियो भन्या होइन । तर त्योभन्दा पछिका, अझ भनौँ तपाईं पश्चिममा जानुभयो भने थुप्रैले खोजेका छन्, आदिवासी महिलाका कोणबाट । हामी कहाँ त्यसरी खोजिएको छैन । चाइनिजहरूले तिब्बतका कोणबाट अहिले भर्खर खोज्न थालेका छन् । त्यहाँ पनि मातृसत्ताको कुरा गर्दैनन् । जब एकनिष्ट परिवार आयो, मलाई चाहिँ के लाग्छ भने,  त्यो एङ्गेल्स र अरूले भनेका कुरा पनि र हाम्रामा अघि उठेको जनजातिका कुरा पनि पितृसत्ता अथवा पुरुष दमनका कुरा भयो तर त्यो सत्ता राजुले भनेको जस्तो सत्ता भने होइन । वास्तवमा परिवार भनेकै सत्ता हो, सत्ता सम्बन्धको अभ्यास गर्ने ठाउँ हो भने पुरुषले आफ्नो सम्पूर्ण सत्ता चाहिँ नियन्त्रण गर्छ । सत्ता भन्ने शब्द उपयुक्त नै छ भन्ने लाग्छ । अनि दोस्रो कुरा— परिवार चाहिँ आमाले बनाएको हो सुरुमा त । किनभने आमाले सङ्गठन गर्ने भए । मोर्गनले पनि त्यही त भन्छ । परिवारको सन्दर्भ चाहिएपछि त महामाता भन्छौ नि हामीले । महामाता भन्ने बित्तिकै आमाको प्रधानता हो । आमाले छोरो वा सन्तान चिन्ने भयो । आमाले छोरो चिन्ने भएपछि परिवार त आमाले निर्धारण गर्ने भयो । आमाले छोरी चिन्ने भइन्, परिवार चिन्ने भइन् । बाउले त कसको छोरो भन्ने थाहा पाएनन् । त्यहीँबाट वास्तवमा आमाहरूले नै परिवार बनाए भन्ने कुरा भयो ।

शोभा दुलाल (सम्पादक, अभ्युत्थान साहित्यिक मासिक)

यहाँ पितृसत्ताको विषयमा मधेसी, आदिवासी जनजाति र दलित महिलाका कोणबाट कुरा उठ्यो । सबैभन्दा पीडित दलित महिला र त्यसमा पनि मधेसी महिला भन्ने कुरा आयो  । पितृसत्ताले यसरी सम्पूर्ण महिलाहरूलाई पीडित बनाइराखेको छ र समाज अघि बढ्न सकिरहेको छैन भन्ने निष्कर्ष आएको जस्तो लाग्छ । अब यस्तो पितृसत्तालाई निर्मुल पार्न चाहिँ के गर्ने ? यो चाहिँ संसार भरिकै ठुलोले सानो लाई हेप्ने, ठुलोले सानोलाई शोषण गर्ने, उत्पीडन गर्ने र सानाका श्रमबाट बाँच्ने र बढी भन्दा बढी सुविधा उपभोग गर्ने सिद्धान्तसँग सम्बन्धित छ जस्तो मलाई लाग्छ ।

अनि अर्को कुरा, कुनै पनि शोषणको इतिहासलाई सुन्दा/हेर्दाखेरी आदिमकालमा त कुनै शोषण कुनै उत्पीडन थिएन नि त ! हैन, त्यतिखेरबाट मानव जाति विकसित हुँदै आयो, उसले चाहिँ सत्ताको विकास गर्यो । सत्ताको विकास भएपछि नै शोषणका विभिन्न आयामहरू विकास भए । त्यो विकासका क्रममा चाहिँ जनजाति, दलित महिला हैन, यी उत्पीडनहरू पनि त सिर्जना हुँदै गए नि ।  त यो केका लागि भन्दाखेरि त सत्ता बचाउन को लागि भन्ने त छ । त्यति भनेपछि त यो हाम्रो देशको मात्र सवाल नभईकन संसार भरिकै सवाल हो र यसलाई समग्र रूपमा हल गर्ने उपाय पनि एउटा खोज्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ ।

अर्को चाहिँ यो शोषण उत्पीडनको कुरामा हामी अलि अगुवा जस्तो, दलितबाट पनि अगुवाजस्तो मधेसी महिलाबाट नि अगुवाजस्तो र समग्रमा सबै समुदायका अलि अगुवा अगुवा मान्छेहरूले चाहिँ हामीले यो अस्मिता पत्रिका चलाइराखेका छौँ नि हैन ! छलफलका सन्दर्भमा पनि त्यही खालका मान्छेहरू जम्मा भएका छौँ । हामी कतिसम्म लड्ने भन्ने कुरा पनि यहाँ रमेश सरले राख्नु भयो । यो लडाईंको अन्त्य नहुनुको मुख्य कारण चाहिँ हामीजस्ता मान्छे अवसरवादी हुने, अवसर पाउनासाथ आफ्नो अजेन्डा सजेन्डा छोडिदिने । आफ्नो बिल्डिङ बनाउन थाल्ने, घडेरी किन्न थाल्ने अनि त्यसपछि सुख र सुविधामा रमाउन थाल्ने । त्यस पछाडि अर्को मान्छे त्यत्तिकै रूपमा बुझ्ने मान्छे उत्पादन हुन अर्को दुई दशक लाग्ने । होइन अनि दुई दशकपछि ऊ जब सक्षम भइसक्छ अब त सक्षम भयो होला भन्ने हुन्छ, उसलाई सबै उत्पीडितहरूले चुनेर ठाउँमा पठाउँछौ । हाम्रा मुद्दामा हाम्रो समस्यामा हाम्रा उत्पीडनको प्रतिनिधित्व गर र यसलाई समाधान कसरी गर्न सकिन्छ ? यो चाहिँ सबै जिम्मा तिमीलाई भयो भनेर पठाउँछौ । पढाइ सकेपछि उसले फेरि के गर्छ भने सत्ताको माथिल्लो तहले उसलाई पनि किनिदिन्छ । किन्दिसकेपछि उसलाई आफ्नो स्वार्थमा लगाइदिन्छ । त्यस पछाडि त्यो सबै भुइँमान्छेका सपनाहरू, भुईंमान्छेका समस्याहरू समाधान गर्ने उपायहरू सबै त्यहीँ नै त्यसको चिहान बन्छ । त्यसपछाडि त्यसको चिहान बनिसकेपछि त्यसमा शोक मनाउने बाहेक भुइँमान्छेहरूले अरू केही पनि गर्न सक्दैनन् । र, अर्को पुस्ताले फेरि त्यसैका निम्ति लड्नुपर्छ । यस्तो लडाईंको निरन्तरता कहिलेसम्म ? भन्ने प्रश्नको उत्तर चाहिँ हामीले खोज्न जरुरी छ ।

डा.महेश मास्के (प्रधान सम्पादक, वामपन्थ)

म मेरो भनाइ राजु स्याङ्तानको जिज्ञासाका सन्दर्भबाटै सुरु गर्छु । समाजविकासका क्रममा पहिले परिवारको उत्पत्ति भएको हो अनि निजी सम्पतिको । परिवारभित्र शोषण हुनु नै निजी सम्पतिले रचना गरेको मानसिकताकोे कारण हो । रीताजीले अघि एङ्गेल्सको जुन कुरा गर्नुभयो, त्यही अवधारणा सही छ भन्ने मलाई लाग्छ । वक्ताहरूको हकमा यहाँहरूबाट पितृसत्ताका कारण मधेसी, दलित र जनजाति महिलाहरू उत्पीडित भए भन्नेबारे विश्लेषण आयो । तर त्यसको जेनेसिस या के कारणले त्यसो भयो होला ? हामीले दलित भनेर एउटा क्याटेगोरी गर्छौं तर अहिले भर्खर कुरा आयो कि दलित मै पनि छुवाछूत छ, हाइरार्कीहरू छन् । त्यो कसले र के उद्देश्यका लागि सिर्जना गर्यो होला भन्ने जस्ता विषयका निम्ति हामीले खोजी र गहन छलफल गर्नुपर्ने हुन्छ ।

निनु चापागाईँ (लेखक/समालोचक)

हामी अलिकति बढी पश्चिमा नारीवादबाट प्रभावित छौँ । आजको छलफल पनि त्यस्तै भयो कि भन्ने मलाई लागिरहेको छ । कुन कारणले भने हामीले पितृसत्ताका बारेमा कुराकानी गर्दा महिलाको शरीरको नियन्त्रण, आफ्नो शरीरमाथिको नियन्त्रणको कुरा मात्र गर्यौँ । पितृसत्ताको कुरा त्यति मात्र हो त ? पितृसत्ताको मूल कुरा त आर्थिक कुराबाट जन्मेको होला, त्यसका बारेमा त हामीले आज चर्चा नै गरेनौँ । एकाङ्गी टाइपको र उही पश्चिमबाट प्रभावित भयो भन्ने लाग्यो । हामीले आफ्नो तरिकाले छुट्टै सोच्ने कि नसोच्ने ?

प्रा.डा. सुधा त्रिपाठी (कवि/निबन्धकार/समालोचक)

मैले अस्मिता हाम्रोको टिमसँगको पहिलो भेटमा पनि भनेको थिएँ, “आर्टिकलहरू मात्र प्रकाशित गर्ने माध्यम होइन, अस्मिता भनेको एउटा आन्दोलन हो ।” हामीले यसलाई पहिला त्यसैगरी अगाडि बढाएको हो । हामीले अझ पनि समाजको फोटो खिचेर त्यसलाई प्रस्तुत गर्ने काममा नै बढी रुची राखेका छौँ कि जस्तो लाग्छ । समाजको फोटो त धेरै अगाडि नै आइसक्यो, अब अस्मिता ले गर्ने  भनेको चाहिँ ‘नाउ ह्वाट’ ? अब चाहिँ के गर्ने र कसरी अस्मितालाई अगाडि बढाउने भन्ने हो ।

अघि धनकुमारीजीले भुइँमान्छे भन्दा भन्दै तुरुन्तै भुइँ महिला भन्नुभयो । भुइँमहिला भने पनि भुइँमान्छे नै हो । अनि अर्को त्यो परिवारको कुरामा अघि राजुले उठाउनुभएको उत्पत्तिको कुरा गर्दा पारिजातले भन्नुभएको यो पङ्क्ति अकाट्य लाग्छ, “तिमी वन मान्छेलाई हात समातेर एउटा ओडारभित्र भित्र्याउने काम चाहिँ महिलाले नै गरेकी थिइन् ।” पारिजातको त्यो भनाइ मलाई चाहिँ असाध्यै सत्यजस्तो लाग्छ । परिवारको सुरुवात त त्यसरी आमाले गरेकै हो, सन्तानलाई बाउ र बाउलाई सन्तान नचिनेको र आमाले नै चिनाउनुपरेका बेलामा । परिवारलाई सत्ताको रूपमा दुरूपयोग गर्ने काम आर्थिक कारण सँगसँगै जोडिएर आयो । तर परिवारको सुरुवात त कसैले माने पनि नमाने पनि सत्य नै हो, महिलाले नै गरेको हो भन्ने कुरामा विमति नै छैन ।

निनु दाइले भन्नुभएको पश्चिमा नारीवादबाट प्रेरित भएर यी सबै कुरा आइरहेका छन् भन्ने कुरामा मलाई पनि सहमति जनाउन मन लागेको छ । जसरी यो राज्य सत्ता, परिवार सत्ता एकीकृत परिवार एकनिष्ट परिवार सबै सुरु भया,े त्यो सबै आर्थिक कारणले नै सुरु भयो । यसकारण हामीले आर्थिक कारणको जगमा नै प्रहार गर्न आवश्यक हुन्छ जस्तो लाग्छ । यी सबै कुराहरूबाट उन्मुक्ति पाउनका लागि जहाँबाट सुरु भएको छ, त्यहीँनिर नै प्रहार गर्यौँ भने बल्ल ठिक हुन्छ  ।

अघि धनकुमारीजीले भन्नुभयो, विद्रोहको एउटा इतिहासमा घटेको घटना । एउटी महिलाले आफ्नो केही नलागेपछि स्तन नै काटेर दिएको विषय । यस्ता विद्रोहका सन्दर्भलाई पनि हामीले प्राथमिकता दिनुपर्छ । कसरी कुन सन्दर्भबाट महिलाहरूले ओभरकम गर्न सके त भन्ने बुझाउन पनि त्यस्ता विद्रोहका घटनाहरू, विद्रोहका सन्दर्भहरू हामीले प्रस्तुत गरिरहनुपर्छ । यसले चाहिँ ‘ए यसरी पनि परिवर्तन हँुदोरहेछ ! यस्तो पनि गर्न सकिँदोरहेछ’ भन्ने अनुभूति गराउँछ । अर्को किसिमले विद्रोहलाई एउटा क्लाइमेक्समा पुर्याउन सक्छौँ भन्ने कुराको अनुभूति चाहिँ अस्मिता पढिरहँदा हुनुपर्छ । यसकारणले ‘अस्मिता नै पढिरहेछु है’ भन्ने बोध प्रत्येक पल त्यस पाठकलाई भइराखोस् भन्ने मेरो निवेदन छ । अनि त्यसका लागि त्यस्ता घटना र विषयहरू खोजौँ । उत्पीडनसँगै विद्रोह, प्रतिरोधी चेतनाका घटनाहरू के कसरी आइरहेका छन्,  तिनीहरूको खोजी र सिर्जनात्मक प्रकाशन गरौँ । समाजको यथास्थितिको चित्रणभन्दा पनि कहाँ कहाँ कसरी कसरी प्रतिरोधी घटनाहरू भएका छन् ? तिनलाई महिलाहरूले कसरी प्रतिनिधित्व र नेतृत्व गरेर अगाडि ल्याएका छन्, त्यस्ता साहसका गाथा अब अस्मिताले प्रकाशित गर्नुपर्छ । अघि धनकुमारीजीले यहाँ सन्दर्भ उप्काउनुभएथ्यो, वादी महिलाहरूको आन्दोलनको परिवेश र मेरो लेखका बारेमा । मैले शीर्षक नै राखेको थिएँ, ‘श्लील नग्नताको पक्षमा’ । नाङ्गोपन त अश्लिल नै हो, तर त्यो नाङ्गोपन वादी महिलाहरूका अधिकारको लडाईंमा श्लील हो, सभ्य हो भनेर मैले शीर्षक मै त्यो राखेर लेखेको थिएँ र त्यसबेला त्यो कान्तिपुरमा छापिएको थियो । हो, त्यस्ता घटनाक्रमहरूमा कलम चलाउँदा समाजलाई केही सोच्ने बनाउन सकिन्छ । अबको खोज त्यस्ता परिस्थितिबाट कसरी अगाडि आउन सकियो ? कसरी समाजलाई डोर्याउन सकियो ? त्यसतर्फ अलि बढी फोकस गर्दा उपयुक्त हुन्छ कि जस्तो लाग्छ है । अनि उपायहरू अरू सिर्जनात्मक साहित्यिक विधाहरूलाई परिवर्तनको माध्यमका रूपमा राख्न सक्छौँ । कविता, कथाको प्रकाशन त्यस उद्देश्यमा प्रभावकारी हुनसक्छन् । धेरै सिद्धान्तका कुराहरू छाट्दाखेरि त्यो खास लक्षित मान्छेसम्म नपुग्न सक्छ किनकि भुइँमान्छेका निम्ति धेरै सिद्धान्तका कुराहरू रुचिकर हुँदैनन् । जीवन कठिन भए पनि सजिलो र आकर्षक ढङ्गले भनिएका घटनाक्रमका माध्यमबाट भुइँमान्छेले परिवर्तनको भाषा टिप्न सक्छन्  । अस्मिता हाम्रोको लक्ष्य पनि यही नै हो भन्ने मलाई लाग्छ ।

उठेका प्रश्नका जवाफ

रीता साह

म छोटकरीमा सबैको प्रश्न समेट्छु । मसँग सम्बन्धित मधेसी शब्दको बारेमा भन्नु पर्दा नेपालको संविधान र यो राज्यले नै मधेसी पहिचान स्वीकार गरेको छ । जसको मातृभाषा मैथली, भोजपुरी, अवधि, थारु लगायत छ, ती व्यक्तिहरू देशको जुनसुकै भूभागमा बसे पनि मधेसी हो । अर्को, मधेसी समुदायको प्रतिरोधी चेतनाका सवालमा एउटा त मधेस आन्दोलनले पनि असर गर्यो । हामीले विभिन्न समुदायको कुरा गर्दा मधेसी समुदाय राजनीतिक रूपमा २००७ सालदेखि पछिल्ला ६२/६३ को आन्दोलनमा सहभागी थिए । ७२ सालको आन्दोलनमा मधेसी दलित महिलाहरूको व्यापक सहभागिता थियो । त्यसले पनि कतै न कतै एक खालको प्रतिरोधी चेतना विकास गर्यो । मधेसमा धेरै सामाजिक आन्दोलन पनि भए र त्यो पनि दलित समुदायको नेतृत्वमा– जस्तै ‘सिनो फाल्ने आन्दोलन’ । सिरहा सप्तरीबाट उठेको त्यो आन्दोलनमा पनि उनीहरूको नेतृत्व थियो । निनु दाइको कुरालाई मैले मेरो लेखमा पनि भनेकी छु । यो बहस पश्चिमा सिद्धान्त र शरीरमाथिको विषयमा मात्र भयो भन्नेमा म असहमत छु । पितृसत्ताले महिलाको शरीर ,यौनिकता र स्वतन्त्रतामाथि नियन्त्रण गर्छ र स्रोत–साधनमा नियन्त्रण गर्छ, जुन आर्थिक विषयसँग सम्बन्धित छ । साथै विचार निर्माणमा पनि नियन्त्रण गर्छ ।

यहाँ धेरैले के भन्छन्, “म पनि मधेसमा बस्छु ।” होइन, म पनि भन्छु, “म त काठमाडौंमा बस्छु ।” तर म त काठमाडौंको भइनँ । काठमाडौंवासी भएँ भनेपछि भाषालाई मान्यता दिएको हुन्छ । त्यसको आधारमा पहिचान निर्धारण गरेको हुन्छ । उदाहरणका लागि हामी आरक्षण पनि त्यसरी नै लिइरहेका छौँ । समानुपातिक प्रतिनिधिमा त्यहाँ मधेसी भनेपछि मधेसमा बस्ने अन्य जातजातिलाई त दिइँदैन । भनेपछि त्यहाँको थर, त्यहाँको भाषा त्यो सबै कुराका आधारमा मात्र पहिचान खुल्छ र मान्यता दिइन्छ । हामी यो कुरालाई त्यसरी बुझौँ । रमेश सरले प्रतिरोधी चेतना र मधेसी दलित महिलाका बारेमा आफ्नो अनुभव सुनाउनुभयो । हो, पछिल्लो समयमा चेतनाको विस्तार एकदमै धेरै छ । मैले अघि भनेँ  नि, मधेसी समुदायमा पितृसत्ताको अभ्यास उच्च र मध्यम जातिमा बढी कठोर छ । दलित र त्यहाँका जनजातिमा थोरै छ । दलितमा म एउटा उदाहरण दिन्छु, दलित समुदायमा बुढाबुढी दुवै जना बेलुका गएर रक्सी खाने झगडा गर्ने भोलिपल्ट बिहान मेलमिलाप भइहाल्छ तर त्यहीँनिर उच्च जातिमा यदि श्रीमतीले श्रीमान्लाई केही भनिदियो भने ठुलो इस्यु हुन्छ, डिभोर्ससम्म पुग्छ भनेपछि उहाँहरूलाई बोल्न संँगसंँगै काम गर्न पनि सहज छ । बोल्न र केही कुरा अगाडि राख्न पनि सहज छ, त्यसले त्यो एउटा महत्त्वपूर्ण कुरा छ ।

अर्को चाहिँ समाजमा यस्तो खालको विचार निर्माण गर्छ कि महिलाले के गर्न हुने के गर्न नहुने, के लाउन हुने के लाउन नहुने, कहाँ जाने त्यो सबै कुरा सबै विचार निर्माण चाहिँ पितृसत्ताले गर्छ  र विचार निर्माण भन्ने कुरा चाहिँ एकदमै घातक छ पनि छ । जसरी कैलाशजीले भन्नुभया,े काठमाडौंमा एउटा यस्तो मनोविज्ञान छ कि मधेसी महिला भनेको जहिले पनि दाइजोबाट पीडित, घुम्टो ओढेर होला केही छ तर सबै त होइन नि जसरी जनजाति महिलाहरू एकदमै उहाँले जुन शब्द प्रयोग गर्नुभयो नि त्यो शब्द चाहिँ मलाई अलि अफ्ठ्यारो नै लाग्छ, अलि इन्भिटेसन दिने खालको त्यो मनोविज्ञान पनि त त्यो राज्यले निर्माण गरेको हो । त्यसरी विचार निर्माण एउटा पितृसत्ताले पनि गर्छ त्यो एकदमै घातक कुरा हो र तेस्रो कुरा स्रोत साधनमा पनि नियन्त्रण गर्छ । जस्तै हामी एउटा घरमा घरको कुरा गर्छौं, त्यो घरका महिला (छोरी/श्रीमतीहरू) लाई लक्ष्मी भनिन्छ तर कहिले पनि त्यो लक्ष्मी आउने कुरा उहाँको नियन्त्रणमा हँुदैन । अहिले पछिल्लो समयमा महिलाका नाममा जग्गा जमिन पास गरेपछि २५% छुटको व्यवस्था छ तर त्यो महिलाको नाममा जग्गा जमिन भए पनि त्यो महिलाले त्यो जग्गा जमिन कहाँ उपयोग गर्ने,  त्यो उहाँहरूको नियन्त्रणमा छैन । जति पनि स्रोत साधन छ, त्यो घरबाट परिवारमा नि त्यस्तै छ, समाजमा पनि त्यस्तै छ ।

हाम्रो राजनीतिक दलमा पनि त्यस्तै छ भनेपछि सत्ता, शक्ति, साधन र स्रोत जति पनि कुराहरू छन्, ती कतै न कतै यो आइडियोलोजीबाट पनि हो कि जस्तो मलाई लाग्छ । हामीले चाहिँ डिटेलमा गर्न सकेनौँ, मेरो लेखमा पनि छ थोरै थोरै कुराहरू । हामी पश्चिमबाट प्रभावित भएको कुरामा चाहिँ म त्यसैले असहमत छु । राजुजी र छमजीको एउटा उस्तै खालको जिज्ञासा र कुरामा म के पनि जवाफ दिन चाहन्छु भने उहाँले पितृसत्ताको अन्त्य भनेको मातृसत्ताको स्थापना हो भनेर जुन बुझ्नुभयो, मलाई लाग्छ यसरी चाहिँ नबुझौँ । हामीलाई थाह छ, कुनै पनि सत्ता राम्रो होइन । हाम्रो वकालत के हो भने पितृसत्ताको अन्त्य भनेको समानताको लागि हो । हामी  समान अवसरको, समान सहभागिता, समान प्रतिनिधित्व र समान मतको वकालत गर्दैछौं । यसको मतलव यो होइन कि हामी पितृसत्ता हटाएर मातृसत्ता लादने प्रयासमा छौँ । पुरुषमाथि विभेद गर्ने त्यो चाहिँ परिवर्तनको मान्यता होइन, यसको मान्यता चाहिँ समानता नै हो र मलाई लाग्छ हाम्रो मूल उद्देश्य नै त्यही हो । समानताका लागि आर्थिक सशक्तीकरण एकदम महत्त्वपूर्ण हुन्छ ।

धनकुमारी सुनार

खासगरी हिंसामा परेका महिलाहरूको प्रतिशत चाहिँ कस्तो छ, त्यो चाहिँ २०१९ मा यौन हिंसा र जात व्यवस्थाको निरन्तरतामा शिवहरि ज्ञवालीले अपडेट गर्नुभएको थियो । त्यसको तथ्याङ्क मैले यहाँ उल्लेख गरेको हुँ । यसमा चाहिँ दलित महिलाहरू चाहिँ २०% अनि आदिवासी जनजाति महिला ३३%, मधेसी महिला चाहिँ ६% भनेर लेखेको छु ्र तपाईलाई कन्फ्युजन छ भने आर्टिकल फेरि एकपटक हेर्न म अनुरोध गर्छु ।

अनि अर्को चाहिँ निनु दाइले एकाङ्गी भयो बहस भन्नुभयो तर यसमा हामीले सैद्धान्तिक कुराहरू जोडेका छौँ । सुधा दिदीले अब के भन्ने कुरालाई जोड दिनु भएको विषयलाई म अध्येता मात्र नभई राजनीतिकर्मी पनि भएको हिसाबले पनि महिला मुक्तिको विषयलाई वर्गीय मुद्दासँग जोडेर हेर्नुपर्छ भन्ने मेरो विचार छ । दक्षिण एसियाका सन्दर्भमा जात र वर्ग एकापसमा अन्तरघुलित छ । जातकै कारणले सम्पत्ति र स्रोतमा पहुँच हुने भएको कारणले त्यही आधारमा मुक्ति खोज्नुपर्छ भन्ने लाग्छ ।

अबको विकल्प चाहिँ वास्तवमा जति हामीले अभ्यास गर्यौँ सामन्तवादी प्रणाली राजतन्त्र पुँजीवादी चरम रूपमा त्यसले महिला हरूलाई दिएको उत्पीडन यातना अबको विकल्प भनेको चाहिँ समाजवादी व्यवस्था हुनुपर्छ, जुन चाहिँ वैज्ञानिक छ । वैज्ञानिक समाजवाद भयो भने महिलाहरू उत्पीडनबाट मुक्त हुन्छन् ।

हामीले यसको अभ्यास त गर्न पाएका छैनौँ । कतिपय समाजवादी मुलुकहरूमा  महिलाहरूमाथि कतिपय विभेद चाहिँ रहेकै छन् तर कतिपय समाजवादी व्यवस्था भएको देश जस्तै— क्युबाकै पनि उदाहरणका रूपमा हेर्दाखेरि त्यहाँ आर्थिक तथा राजनीतिक प्रतिनिधित्वका हिसाबका साथै अरू हिसाबले पनि महिलाहरूले उन्नत जीवन बाँच्न पाएको अवस्था चाहिँ रहेको छ । अर्को कुरा ‘यो एकाङ्गी बनाउने नै होइन’ मा नारीवादी भन्ने जारगन चाहिँ प्रयोग गर्न म मन पराउँदिन । महिला मुक्तिको टर्म नै प्रयोग गर्न मन पराउँछु ।

समग्रमा महिलामाथि भएका पितृसत्ताका विभिन्न खालका उत्पीडनहरू पनि वर्गीय स्वरूप कै छन् । लैङ्गिक पनि छन् तर अन्तः फेरि महारानीहरूलाई, ठुला ठुला बुर्जवाहरूलाई सम्पत्तिमा सबै कुरा छ, एकदम आलिशान महल छ बङ्गला छ, तिनीहरूलाई त किन मुक्ति चाहिएको छ त ? यसमा त रोजाको एउटा भनाइ यहाँ राख्न चाहन्छु । रोजाले एक ठाउँमा के भन्नुभएको छ भने “बुर्जवा महिलालाई त मुक्ति नै चाहिँदैन किनभने एकदम मुफ्तको माल उडाइराख्न पाइराख्नु भएको छ नि त । मुफ्तको माल । उनीहरूलाई किन मुक्ति चाहिन्छ र !” यो भनाइ यहाँ पनि सोचनीय छ । हामीले भुइँमान्छेको कुरा, यहाँ अझै भुइँमहिलाका कुरा त्यसैले त गर्न परेको हो नि । मुक्ति कसलाई चाहिएको छ त ?

कैलाश राई

दुई जना हाम्रा साथीहरूले विस्तृतमा सबै जनाको टिप्पणी, प्रतिक्रया र प्रश्नहरूको जवाफ दिइसक्नु भएको छ, त्यसैले पनि मैले चाहिँ केही भनिनँ । यहाँ उठेका कतिपय कुराहरूमा मेरो सहमति छ भने केही कुरा विचाराधीन छन्  । यो छलफलबाट धेरै कुरा दिमागमा अझै जन्मेका छन्, त्यसका लागि धन्यवाद ।

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के