किशोरी अवस्था, कलेज पढ्दै थिएँ । कथा उपन्यास पढ्ने रूचि बढ्दै थियो । भरखर भरखर मुक्तक, कविता, लेख लेख्ने उत्सुकता बढ्दै थियो । केही लेखेका कुराहरू पिके क्याम्पसको चौरमा बसेर मिल्ने एक दुई साथीहरूलाई सुनाउथेँ ।
आई.एस्सी पिके क्याम्पसबाट फिजिक्समा सक्काएर पाटन संयुक्त क्याम्पसमा स्ट्याट मुख्य विषय लिएर बिएस्सी गर्दै थिएँ । त्यतिबेलाको एक मात्र नारी पत्रिका ‘अस्मिता’मा केही प्रश्नको उत्तर पठाउन पर्ने रहेछ भन्ने कुरा मेरी बहिनीको साथीमार्फत मेरो हात पर्यो। केही प्रश्नको उत्तर लेखेर पढाएँ । केहीको छनौटमा म पनि परेछु । ‘सप्तरङ्गी क्यानभासमा किशोरी मनहरू’ भन्ने स्तम्भमा हाम्रो विचारहरू छापिएको थियो । म देशमा महिला प्राविधिकको कमी देखेर त्यही लक्ष्यमा अगाडि बढ्दै थिएँ । अस्मिताबाट बोलाइयो, गएँ । अन्जु दि र सुसन दिले भोलेन्टिएरिङ काम गर्ने भनेर सोध्नुभयो । गर्छु भनेँ । बिएस्सी पढाइको क्लास भर्खर भर्खर सकिँदै थियो । केही ब्याक पेपर दिनु थियो । त्यहीबेला पुतली सडकमा सोभियत सांस्कृतिक सङ्घमा रूसी भाषा पनि पढ्दै थिएँ । करियर कहाँ के के बन्छ भन्ने खोजीमा थिएँ ।
‘अस्मिता’मा समय मिलाएर काम गर्न थालेँ। आई.एस्सी पछिको केही समय प्राथमिक तहको विद्यालयमा नेपाली विषय पढाएको भएर पनि नेपाली भाषामा सुधार गर्ने रुचि बढ्दै गएको थियो मेरो । अस्मितामा विभिन्न पुस्तकालयहरूको सदस्यता कार्ड बनाउन लगाउनु भयो । अमेरिकन, भारतीय, केशरमहल पुस्तकालय लगाएत अन्य पुस्तकालयहरूमा पत्रिका पढी समाचार खोजेर ल्याउने काम दिनु हुन्थ्यो मलाई । एमेनेस्टी पत्रिकामा समेत समाचार खोजेर ल्याउथेँ । आङ्गसाङ्ग सुईको बारे सङ्कलित समाचार अस्मिताको कुनै अङ्कमा छापिएको थियो । त्यतिबेलाको केही सम्झना अहिले पनि याद आउँछ । कहिलेकाहीँ बस भाडा पाइन्थ्यो । सायद पाटनमा भएको एउटा पुस्तकालय जान्थेँ । रूसी पुस्तकालय सोभियत सांस्कृतिक सङ्घ मै भएकाले साँझको समय सदुपयोग गर्थेँ। अहिलेजस्तो इन्टरनेट, सामाजिक सञ्जालबाट घरै बसेर समाचार पाउन सकिँदैन थियो ।
कहिलेकाहीँ अस्मिता कार्यालयमै एकजना साथीको साथमा शुद्धाशुद्धि मिलाउने काम गर्थेँ । एक कप चिया र एउटा समोसाको भरमा दिन बित्थ्यो ।
पछि पछि देशमा आन्दोलन चल्दै गइरहेको थियो । महिला नेतृ साहना प्रधान अनि गणेशमानको भाषणको खुबै चर्चा हुन्थयो । एकपटक मलाई गणेशमानको भाषण भइरहेको ठाउँमा पठाउनु भयो । इन्द्रचोकको कुनै गल्लीभित्रको बहाल थियो । सानो टेपरेकर्ड दिएर पढाइएको थियो । भाषण सुन्नेहरूको भिडको पछाडि बसेर भाषण रेकर्ड गरेर ल्याएँ । सायद राम्रै समाचार बनेको थियो ।
रूसी किताबहरू पढ्ने दौरानमा रूसी पहिलो अन्तरिक्ष यात्री भ्यालेन्तेना तेरिस्कोभाको जीवनी पढेर केही मन छुने हरफहरूले मलाई प्रवाहित पा¥यो । “जब मैले यान उडाएँ, मैलै सोचेँ र आशा गरेँ कि मेरो भोष्टोक–६, एउटा महिलाको यानले अदृश्य तर बलियो पुल मेरो हृदयदेखि संसारका प्रत्येक महिलाहरूको हृदयसम्म बनाउन समर्थ भयो ।” मैले रूसी भाषाबाट नेपालीमा उल्था गरेर ‘अस्मिता’मा बुझाएँ । प्रकाशित भयो । रूसी भाषा पढ्ने दौरानमा, अतिरिक्त क्रियाकलापमा एकपल्ट मेरो ‘उनीहरूको लागि’ कविता वाचन गरेकामा प्रथम पुरस्कार पाएर त्यतिबेला नेपालबाट प्रकाशित हुने सोभियत भूमि पत्रिकामा पनि प्रकाशित भयो । लेखन कार्यमा हौसला बढ्दै गयो ।
अर्को एउटा करिअर सम्बन्धित लेख तयार पारेँ । त्यतिबेला महिलाहरूको आकर्षक करिअर–सेक्रेटरी ! सेक्रेटरी भएर काम गर्न सजिलो छ त ? भन्ने बारे । ट्राभल एजेन्सी, होटलदेखि सार्क सेक्रेटेरीसम्म अन्तर्वार्ता लिन पुगेँ । त्यही सानो टेपरेकर्ड, कलम कापी बोकी । प्रश्न तयार पारेँ, सोधेँ, कति उत्तर टिपेँ, कति रेकर्ड गरेँ । एक्लैले सबैको क्यामराले फोटो समेत कैद गरेर ल्याएँ । भोटेबहालमा रहेको एक सेक्रेटेरियल तालिम केन्द्रमा गएर तालिमका बारेमा जानकारी लिएँ । लेख तयार पारेर बुझाएँ, छापियो । त्यतिबेला यातायातको त्यति सुविधा थिएन । केही लामो दूरीमा बस चल्थ्यो । नत्र हिँडेरै पुग्ने हो । ज्ञानेश्वर, बागबजार, न्यूरोड गेट, त्रिपुरेश्वर, चाबहिल, वानेश्वर हिँडेरै पुगिन्थ्यो ।
देशमा आन्दोलन चल्दै थियो । जुलुस, हड्ताल, लाठी चार्ज अनेक अनेक । एमेनेस्टी पत्रिकाबाट मानव अधिकार सम्बन्धित रिपोर्ट तयार पारेको थिएँ । अस्मितामा बुझाउनुपर्ने । त्यो दिन काठमाडौँमा कफ्र्यु लागेको थियो । न मोबाइलको जवाना । ज्ञानेश्वर घरदेखि बागबजार ‘अस्मिता’ कार्यालय पुग्नु थियो । एक घण्टा कफ्र्यु खुलेको समयमा बागबजार पुगेर फर्कनु थियो । “घरबाट ननिस्कनु” भनेर आमाबुवाले भन्दा पनि परीक्षाको लागि साथीकोमा नोट कापी लिन जानुछ भनेर रिपोर्ट नोट स्कर्टको भित्र कम्मर पछाडि घुसारेँ । माथि सेतो सर्ट र बाहिर स्कर्टको सेट खैरो वेस्टकोर्ट लगाएर हिडेँ । एक मनले डर पनि लागिरहेको थियो । शङ्का लागे गल्ली गल्लीमा बसेका प्रहरीले समातेर सोधपुछ गर्न पाउँथ्यो । जिउमा लुकाएको तयारी समाचार जफत गरी जेल कोच्ने हो कि भनेर एक मनमा डर पनि लागेको थियो ! तरकारी किन्न हिँडेको भनुँला भनी फटाफट हिँडी ‘अस्मिता’मा रिपोर्ट बुझाई घर फर्किन भ्याएँ । अस्मिताको उद्देश्यप्रतिको जोश सम्झिँदा अहिले पनि म कस्तो निडर रहेछु त्यतिबेला जस्तो लाग्छ ।
मेरो काम देखेर अन्जु दि, सुसन दिले सम्वाददाता भनी मेरो नाम राखिदिनु भयो । जति समय त्यहाँ काम गरेँ, मन लगाएर स्वयम् सेवा गरेँ ।
पछि सोभियतसङ्घबाट इन्जिनियर पढ्नका लागि छात्रवृति आयो । पत्रकारिताले जीवन धान्न सकिन्न जस्तो लाग्यो । आफ्नो करिअरलाई ध्यानमा राखेर देश छोडेर विदेश लागेँ। देशमा २०४६ सालको आन्दोलनपछि गणतन्त्र आएछ ! पढाइ सकेर इन्जिनियर बनी “देशमा केही गरौं” भनी फर्केर आएँ तर जति नै सत्ता व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणका लागि अवस्था परिवर्तन भएको रहेनछ !
‘अस्मिता’को पुरानो सम्झनाले समय समयमा झस्काइरहन्थ्यो । कहीँ कतै पुस्तक पसलमा ‘अस्मिता’ देखे पल्टाइहाल्न मन लाग्दथ्यो । भर्खरै मात्र गीता त्रिपाठीज्यूलाई अस्ट्रेलियाका र नेपालका महिला स्रष्टाहरूसँग एक अन्तक्र्रिया कार्यक्रम जुममा जोडिने क्रममा भेट भयो । अस्मिता ७ वर्ष बन्द रहेर फेरि प्रकाशित भएको जानकारी उहाँबाट पाएँ । २०८० वैशाखदेखि अनलाइन र छापा दुवै स्वरूपमा प्रकाशित भएको खबरले मलाई साह्रै खुसी लाग्यो । मेरो पनि लेखन कार्य अनवरत रूपले चली नै रहेको छ । अब फेरि अस्मितासँग जोडिएर सहकार्य गर्दै लेखनकार्य अघि बढाउने नै छु । ‘अस्मिता’सँग विछोड पछिको पुनर्मिलन भएको आभाष भइरहेछ !!
मेहनती हुनु भनेको फल पुरस्कार पाउने लक्षण हो। सोभियत रुसमा पेुगेर उच्च शिक्षा पाउनु भयो,फल र पुरस्कार बराबर मिलीसक्यो,बधाई छ। प्रस्तुत सस्मरण पनि सरर बगेको भाव छ,मिठो छ,शिक्षाप्रद पनि छ। फेरि भेटौला।