Asmita Magazine

#

अस्मिता–स्मृति : करिब पैँतिस वर्षअघिको

किशोरी अवस्था, कलेज पढ्दै थिएँ । कथा उपन्यास पढ्ने रूचि बढ्दै थियो । भरखर भरखर मुक्तक, कविता, लेख लेख्ने उत्सुकता बढ्दै थियो । केही लेखेका कुराहरू पिके क्याम्पसको चौरमा बसेर मिल्ने एक दुई साथीहरूलाई सुनाउथेँ ।

आई.एस्सी पिके क्याम्पसबाट फिजिक्समा सक्काएर पाटन संयुक्त क्याम्पसमा स्ट्याट मुख्य विषय लिएर बिएस्सी गर्दै थिएँ । त्यतिबेलाको एक मात्र नारी पत्रिका ‘अस्मिता’मा केही प्रश्नको उत्तर पठाउन पर्ने रहेछ भन्ने कुरा मेरी बहिनीको साथीमार्फत मेरो हात पर्यो। केही प्रश्नको उत्तर लेखेर पढाएँ । केहीको छनौटमा म पनि परेछु । ‘सप्तरङ्गी क्यानभासमा किशोरी मनहरू’ भन्ने स्तम्भमा हाम्रो विचारहरू छापिएको थियो । म देशमा महिला प्राविधिकको कमी देखेर त्यही लक्ष्यमा अगाडि बढ्दै थिएँ । अस्मिताबाट बोलाइयो, गएँ । अन्जु दि र सुसन दिले भोलेन्टिएरिङ काम गर्ने भनेर सोध्नुभयो । गर्छु भनेँ । बिएस्सी पढाइको क्लास भर्खर भर्खर सकिँदै थियो । केही ब्याक पेपर दिनु थियो । त्यहीबेला पुतली सडकमा सोभियत सांस्कृतिक सङ्घमा रूसी भाषा पनि पढ्दै थिएँ । करियर कहाँ के के बन्छ भन्ने खोजीमा थिएँ ।

‘अस्मिता’मा समय मिलाएर काम गर्न थालेँ। आई.एस्सी पछिको केही समय प्राथमिक तहको विद्यालयमा नेपाली विषय पढाएको भएर पनि नेपाली भाषामा सुधार गर्ने रुचि बढ्दै गएको थियो मेरो । अस्मितामा विभिन्न पुस्तकालयहरूको सदस्यता कार्ड बनाउन लगाउनु भयो । अमेरिकन, भारतीय, केशरमहल पुस्तकालय लगाएत अन्य पुस्तकालयहरूमा पत्रिका पढी समाचार खोजेर ल्याउने काम दिनु हुन्थ्यो मलाई । एमेनेस्टी पत्रिकामा समेत समाचार खोजेर ल्याउथेँ । आङ्गसाङ्ग सुईको बारे सङ्कलित समाचार अस्मिताको कुनै अङ्कमा छापिएको थियो । त्यतिबेलाको केही सम्झना अहिले पनि याद आउँछ । कहिलेकाहीँ बस भाडा पाइन्थ्यो । सायद पाटनमा भएको एउटा पुस्तकालय जान्थेँ । रूसी पुस्तकालय सोभियत सांस्कृतिक सङ्घ मै भएकाले साँझको समय सदुपयोग गर्थेँ। अहिलेजस्तो इन्टरनेट, सामाजिक सञ्जालबाट घरै बसेर समाचार पाउन सकिँदैन थियो ।

कहिलेकाहीँ अस्मिता कार्यालयमै एकजना साथीको साथमा शुद्धाशुद्धि मिलाउने काम गर्थेँ । एक कप चिया र एउटा समोसाको भरमा दिन बित्थ्यो ।

पछि पछि देशमा आन्दोलन चल्दै गइरहेको थियो । महिला नेतृ साहना प्रधान अनि गणेशमानको भाषणको खुबै चर्चा हुन्थयो । एकपटक मलाई गणेशमानको भाषण भइरहेको ठाउँमा पठाउनु भयो । इन्द्रचोकको कुनै गल्लीभित्रको बहाल थियो । सानो टेपरेकर्ड दिएर पढाइएको थियो । भाषण सुन्नेहरूको भिडको पछाडि बसेर भाषण रेकर्ड गरेर ल्याएँ । सायद राम्रै समाचार बनेको थियो ।

रूसी किताबहरू पढ्ने दौरानमा रूसी पहिलो अन्तरिक्ष यात्री भ्यालेन्तेना तेरिस्कोभाको जीवनी पढेर केही मन छुने हरफहरूले मलाई प्रवाहित पा¥यो । “जब मैले यान उडाएँ, मैलै सोचेँ र आशा गरेँ कि मेरो भोष्टोक–६, एउटा महिलाको यानले अदृश्य तर बलियो पुल मेरो हृदयदेखि संसारका प्रत्येक महिलाहरूको हृदयसम्म बनाउन समर्थ भयो ।” मैले रूसी भाषाबाट नेपालीमा उल्था गरेर ‘अस्मिता’मा बुझाएँ । प्रकाशित भयो । रूसी भाषा पढ्ने दौरानमा, अतिरिक्त क्रियाकलापमा एकपल्ट मेरो ‘उनीहरूको लागि’ कविता वाचन गरेकामा प्रथम पुरस्कार पाएर त्यतिबेला नेपालबाट प्रकाशित हुने सोभियत भूमि पत्रिकामा पनि प्रकाशित भयो । लेखन कार्यमा हौसला बढ्दै गयो ।

अर्को एउटा करिअर सम्बन्धित लेख तयार पारेँ । त्यतिबेला महिलाहरूको आकर्षक करिअर–सेक्रेटरी ! सेक्रेटरी भएर काम गर्न सजिलो छ त ? भन्ने बारे । ट्राभल एजेन्सी, होटलदेखि सार्क सेक्रेटेरीसम्म अन्तर्वार्ता लिन पुगेँ । त्यही सानो टेपरेकर्ड, कलम कापी बोकी । प्रश्न तयार पारेँ, सोधेँ, कति उत्तर टिपेँ, कति रेकर्ड गरेँ । एक्लैले सबैको क्यामराले फोटो समेत कैद गरेर ल्याएँ । भोटेबहालमा रहेको एक सेक्रेटेरियल तालिम केन्द्रमा गएर तालिमका बारेमा जानकारी लिएँ । लेख तयार पारेर बुझाएँ, छापियो । त्यतिबेला यातायातको त्यति सुविधा थिएन । केही लामो दूरीमा  बस  चल्थ्यो । नत्र हिँडेरै पुग्ने हो । ज्ञानेश्वर, बागबजार, न्यूरोड गेट, त्रिपुरेश्वर, चाबहिल, वानेश्वर हिँडेरै पुगिन्थ्यो ।

देशमा आन्दोलन चल्दै थियो । जुलुस, हड्ताल, लाठी चार्ज अनेक अनेक । एमेनेस्टी पत्रिकाबाट मानव अधिकार सम्बन्धित रिपोर्ट तयार पारेको थिएँ । अस्मितामा बुझाउनुपर्ने । त्यो दिन काठमाडौँमा कफ्र्यु लागेको थियो । न मोबाइलको जवाना । ज्ञानेश्वर घरदेखि बागबजार ‘अस्मिता’ कार्यालय पुग्नु थियो । एक घण्टा कफ्र्यु खुलेको समयमा बागबजार पुगेर फर्कनु थियो । “घरबाट ननिस्कनु” भनेर आमाबुवाले भन्दा पनि परीक्षाको लागि साथीकोमा नोट कापी लिन जानुछ भनेर रिपोर्ट नोट स्कर्टको भित्र कम्मर पछाडि घुसारेँ । माथि सेतो सर्ट र बाहिर स्कर्टको सेट खैरो वेस्टकोर्ट लगाएर हिडेँ । एक मनले डर पनि लागिरहेको थियो । शङ्का लागे गल्ली गल्लीमा बसेका प्रहरीले समातेर सोधपुछ गर्न पाउँथ्यो । जिउमा लुकाएको तयारी समाचार जफत गरी जेल कोच्ने हो कि भनेर एक मनमा डर पनि लागेको थियो ! तरकारी किन्न हिँडेको भनुँला भनी फटाफट हिँडी ‘अस्मिता’मा रिपोर्ट बुझाई घर फर्किन भ्याएँ । अस्मिताको उद्देश्यप्रतिको जोश सम्झिँदा अहिले पनि म कस्तो निडर रहेछु त्यतिबेला जस्तो लाग्छ ।

मेरो काम देखेर अन्जु दि, सुसन दिले सम्वाददाता भनी मेरो नाम राखिदिनु भयो । जति समय त्यहाँ काम गरेँ, मन लगाएर स्वयम् सेवा गरेँ ।

पछि सोभियतसङ्घबाट इन्जिनियर पढ्नका लागि छात्रवृति आयो । पत्रकारिताले जीवन धान्न सकिन्न जस्तो लाग्यो । आफ्नो करिअरलाई ध्यानमा राखेर देश छोडेर विदेश लागेँ। देशमा २०४६ सालको आन्दोलनपछि गणतन्त्र आएछ ! पढाइ सकेर इन्जिनियर बनी “देशमा केही गरौं” भनी फर्केर आएँ तर जति नै सत्ता व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणका लागि अवस्था परिवर्तन भएको रहेनछ !

‘अस्मिता’को पुरानो सम्झनाले समय समयमा झस्काइरहन्थ्यो । कहीँ कतै पुस्तक पसलमा ‘अस्मिता’ देखे पल्टाइहाल्न मन लाग्दथ्यो । भर्खरै मात्र गीता त्रिपाठीज्यूलाई अस्ट्रेलियाका र नेपालका महिला स्रष्टाहरूसँग एक अन्तक्र्रिया कार्यक्रम जुममा जोडिने क्रममा भेट भयो । अस्मिता ७ वर्ष बन्द रहेर फेरि प्रकाशित भएको जानकारी उहाँबाट पाएँ । २०८० वैशाखदेखि अनलाइन र छापा दुवै स्वरूपमा प्रकाशित भएको खबरले मलाई साह्रै खुसी लाग्यो । मेरो पनि लेखन कार्य अनवरत रूपले चली नै रहेको छ । अब फेरि अस्मितासँग जोडिएर सहकार्य गर्दै लेखनकार्य अघि बढाउने नै छु । ‘अस्मिता’सँग विछोड पछिको पुनर्मिलन भएको आभाष भइरहेछ !!

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के