नेपालमा मात्रै नभएर विश्वभरि नै महिलाहरू पुरुषका तुलनामा आजसम्म पिछडिएका नै देखिन्छन् । महिलामाथि भ्रुणको अवस्थादेखि नै विभेद भएको पाइन्छ । जब गर्भमा छोरी छ भन्ने कुराको अवगत हुन्छ, तब उसलाई जन्माइनुको सट्टा भ्रुण हत्या गराई यस धर्तीमा जन्मिन पाउने अधिकारबाट नै अधिकांशतः बञ्चित गराइन्छ । केहीगरी जन्मिनै हाले पनि ऊ जन्मेदेखि नै विभेदको उपहार लिएर आएजस्तै हुन्छे । “छोरी जन्माइस्” भनेर आमामाथि शारीरिक तथा मानसिक यातना दिइन्छ । सुत्केरी अवस्थामा स्याहारसुसारको सट्टा कुटपिट सहन विवश हुन्छिन् । छोरी जन्मेकै कारण महिलाहरू नै हिंसामा पर्नुपर्छ, जब कि छोरी जन्मिनु वा छोरा, यसमा उसको कुनै विशिष्ट भूमिका हुँदैन ।
जब हुर्काइको क्रमसँगै छोरीहरू किशोरी बन्दै जान्छन्, उसलाई ज्ञान सीपमुलक र जीवनोपयोगी शिक्षा प्रदान गर्नुको सट्टा सानैदेखि उसको दिमागमा घर, परिवार र समाज सबै मिलेर “तैँले बिहे गरेर अरूको घर जानुपर्छ, पढलेख गरेर काम छैन । छोराले हो पढ्ने छोरीले पढेर के गर्नु ? भाडा माझ्नै पर्छ । अरुका कपडा धुनै पर्छ । पराई घर जानै पर्छ” भनेर सानै उमेरदेखि उसलाई कलमका सट्टा हातमा हँसिया र शिरमा डोको–नाम्लो झुन्ड्याइदिइन्छ । पछिल्लो समयमा केही सुधार भएजस्तो त देखिन्छ । पहिले छोरी भएकामा खुलेर भ्रुण हत्या गर्ने कर्तुतलाई आज खुलेर गर्न सक्ने वातावरण त कानुनले बन्द गरिदियो, छोरालाई कलम बोकाएर विद्यालय पठाउने र छोरीलाई डोको बोकाएर घाँस दाउरामा पठाउने रीति पनि क्रमशः घट्दैछ तापनि अझै छोरा र छोरीबिच हुने मसिना विभेद भने जरैदेखि उखेलिएको छैन । यस्ता विभेदले छोरीलाई मानसिक रूपमा अझै समस्या बढेको देखिन्छ, किनकि विभेद बोध नहुँदाको विभेद सहनु र विभेद भएको थाह पाएर विभेद सहनुका बिच हुने पीडा पछिल्लोमा धेरै भारी हुनेगर्दोरहेछ ।
व्यङ्ग्यात्मक होस् या खुल्ला तरिकाबाट होस्, आज पनि महिलामाथि भद्दा विभेद भने भई नै रहेको छ ।
शिक्षा प्रणालीबाट हेर्ने हो भने पनि महिलाहरू बाध्यताबस विद्यालयको दैलो सम्म त जसो तसो पुग्छन् तर त्यस्ता महिला कमै मात्रामा उत्पादित हुन्छन्, जसले पढलेख गरेर ज्ञान सिपमुलक दक्ष र सक्षम भएर जीवन शिक्षित हुनुको अनुभूतिमा बिताउन पाउँछन् । परिवार तथा समाजले नै उसलाई फुकिदिसकेको हुन्छ, “तँ महिला होस्, तैँले जत्ति पढे नि केही गर्न सक्दैनस् । तँ चुलो चौको र गृहस्थमै सुहाउँछेस् । त्यसो त जो महिला केही गर्छु, जीवनमा सक्षम हुन्छु भनेर लागे पनि यो समाजले उसलाई त्यही दिशातर्फ धकेलिदिन्छ ।
महिलाहरूको अधिकार र हक हितका कुरा संवैधानिक रूपमा लिखित भए पनि सबैतिर कार्यन्वयन भने हुन सकेको छैन । केही गर्न नसक्ने उही नारकीय जीवन बाँच्ने महिला त भइहाले, जो केही गर्छु भनेर केही खुट्किलाहरू पार गरेका हुन्छन्, उनैलाई पनि खुट्टा तानेर माथि पुग्न नसक्ने अवस्थामा यही समाजले पुऱ्याइदिन्छ । अधिकांश महिलाहरू अघि बढे, सक्षम भए भने फलानी यस्ती भई, उस्ती भई भनेर महिलालाई पछार्न खोज्ने फेरि पनि महिला नै हुने गर्छन् । पितृसत्तात्मक सोचका कारण कहिले समानता र समावेशिता पूर्ण रूपले महिलाको स्वचेतनामा वृद्धि हुन सकेको छैन । तहतहका जमातै जमात छन्, विभेद गर्नेहरूको । एकातिर महिलाको शत्रु महिला नै हुनेगर्छन् भनिन्छ, बिचरा ती महिलाहरू ! तिनलाई के थाह, आफूहरू पितृसत्ताको खोल ओढेर, आफ्नै वर्गको शत्रु पितृसत्तालाई नै बचाइरहने खेल र झेलमा परेका छौँ भन्ने कुरा ! फेरि विभेद र हिंसा गर्ने पराई पनि हुँदैन ।
छोरीलाई पढाउन हुँदैन, पराई घर जाने जात भनेर सर्वप्रथम जन्मदिने बा आमाले नै भन्ने गर्छन् । जब विवाह बन्धनमा बाँधिन्छन्, सारा रहरहरूलाई विश्राम दिएर घर गृहस्थी सम्हालेरै जीवन समाप्त गर्ने गर्छन् तर यसका निम्ति जस समेत पाउँदैनन्, सुविधाको त के कुरा ! अधिकांश विवाहित महिलाहरूको कथा–व्यथा यस्तै नै हुन्छ । पहिले पहिलेको तुलनामा अहिले केही मात्रामा साक्षर र सक्षम भए पनि समावेशिता, समानता र स्वतन्त्रता जस्ता कुराहरूबाट बन्चित नै छन्, अधिकांश महिलाहरू । पढलेख गर्छन्, माध्यमिक तहसम्म जसोतसो पुग्छन्, अक्षर चिन्न सक्ने हुन्छन् अनि सबैको भनाइ उही, १२ पढेसी बिहे गर्नुपर्छ । कतिपय महिला त कक्षा एकमा भर्ना हुँदा सयको सङ्ख्यामा हुन्छन् भने दशमा पुग्दा बिस बाइस पनि नरहने अवस्था अझै छ । यहाँ बिर्सिनै नहुने कुरा के छ भने केही समुदायमा छोरी बुहारीले अवसर पाए पनि अधिकांश ग्रामीण क्षेत्र र दलित तथा केही जनजाति समुदायमा शिक्षाको अवसरबाट तिनीहरू बञ्चित नै भइरहेको स्थिति छ ।
अर्को कुरा समाज, परिवार र पुरुषबाट विभेद भोग्न पर्यो, पीडित भयौँ भनेर कराइरहँदा महिलाहरू आफैले आफैलाई हिंसा र विभेद गरिरहेको कुरा पनि बिर्सिन हुँदैन । उनीहरू आत्मबल, हिम्मती र साहसी हुनुको सट्टा आफै बन्धी बन्न चाहन्छन् । सानो उमेरमा बाउ/आमा दाइ/भाइ त्यसपछि उमेर बढेसी वैवाहिक बन्धन पति, फेरि छोरा/छोरी, बस ! सकियो । यसैमा “मेरो जीवन स्वर्ग छ”, भनेर खुसी हुने महिलाहरूको पनि कमी छैन, यस समाजमा ।

source: http://www.sutterstock.com
पछिल्लो समयमा त झन् परिवार समाजले महिला अघि बढ्नुँँपर्छ भनेर सहज वातावरण निर्माण गरिदिँदा पनि बालिकाहरू पढ्ने कुरामा भन्दा असामयिक प्रेममा परेर वैवाहिक बन्धनमै बन्धी हुन हत्तारिएको पाइन्छ । म आफ्नै खुट्टामा उभिनुपर्छ, आफैमा सक्षम हुनुपर्छ भन्ने उनीहरू सोच्दै सोच्दैनन् । पुरुषले काम गरिहाल्छ, कमाइहाल्छ, मलाई पालिहाल्छ भन्ने उनीहरूको मनोसाय हुन्छ । अनि जुन परिवारमा पुरुष खस्किन्छन्, कमाइ खुकुलो हुन्छ । अनि पारिवारिक द्वन्द्व सृजना हुन्छ । कतिको त घरबारै बिग्रिन्छ । आफू किन सक्षम हुनपर्ने रहेछ भनेर सो पश्चात् बल्ल चेत आउँछ, तबसम्म बल, आँट, साहस सबै परिवार, छोराछोरी, पति भनेर सक्किसकेको हुन्छ । सकी नसकी जसोतसो सङ्घर्षशील जीवन बाँच्नुको विकल्प रहँदैन, अनि जनावरको जस्तै मरन हुन्छ । केही सक्षम हुन सफल नारीहरूका लागि पनि निकै चुनौती, सङ्घर्ष, विभेद र हिंसा नभएको त होइन । अझै पनि शिक्षित र सक्षमै भए पनि महिला र पुरुषबिच हुने भेदभाव निमोठ नै त कहाँ हुन सकेको छ र !!
छोरी मान्छे भएसी ठुलो स्वरले बोल्नुहुन्न, लजालु हुनुपर्छ, यस्तो उस्तो हजारौं गुणले भरिपूर्ण हुनुपर्छ जस्ता सीमाहरू कति कति, यो त्यो त अझै बाँकी नै छ । पुरुष सरह हाँस्न र बाँच्न पाउने अधिकार उसलाई छँदै छैन । कहीँ कतै जाँदा चाँडो घर पुगिएन भने कहाँ गइस् ? को सँग गएर कहाँ बसिस् ? यस्ता अनेकौ प्रश्न खडा हुने त छँदै छन् । खुलेर बोल्नसक्ने वातावरण छैन अझै । भनौँ बाँच्न पाउने अवस्था नै छैन । कुन दिन कुन रात अन्तिम हुन्छ, थाहा नै हँुदैन । कसको कुन दृष्टि परिरहेको हुन्छ, थाह नै हुँदैन । बलात्कार, हत्या, हिंसा त सदा सदा जीवितै छँदै छ । अझै पनि हातेमालो गरेर दुःख सुख बाँडेर जीवन बिताऊँ भन्ने पुरुष कमै हुन्छन् । जीवनसाथी होइन, बन्धी बनाउनमै आनन्दित छन् । केही केहीमा भने चेतना विकास भएको पाइन्छ तर सयका बिचमा दुईचार जना फरक भइदिँदा फेरि पुरुषै पनि हिंसामा पर्ने गरेका छन्, ‘जोईटिङ्ग्रे’ भनेर गिल्ला गर्ने जमात त जताततै छँदै नै छ ।
आजसम्म महिला हक हितका लागि धेरै भन्दा धेरै नारा जुलुस कार्यक्रम नभएका त होइनन् । कयौँ हकहितका कार्यक्रम भए’नी अवस्था उहीँ छ । नारी दिवस नि मनाइँदै आएको हो । सोह्र दिने अभियान नि चलाएकै हो । खोई त परिवर्तन ? खोई त चेतनाको विकास ? यति विभेद हुँदाहुँदै पनि आवाजहरू उठ्न थालेको चाहिँ छ ।
आम महिलामाथि हुने विभेद त छँदै छ, अझै दलित, एकल, पिछडिएका, अपाङ्गगता भएका महिलाको हकहितको अवस्था र विभेदको स्थिति त भयानक नै देखिन्छ । पशु मारिए जस्तै छ, यिनका हालत । धेरै जसो बलात्कार भएर मर्ने महिलाहरू यिनै हुन्छन् । उच्च जातका मानिने महिलाहरूको न्यायका लागि आवाज उठाइन्छ, र कतिपयका मुद्दामा त न्याय पनि दिलाइन्छ, तर त्यही महिला दलित अपाङ्ग, पिछडिएका वर्गबाट हुन्छन् भने सास र लास दुबै फेला पर्दैनन् । छोपछाप, केरकार, मेटमाट भइहाल्छ ।
म आफू यही समाजमा हुर्किने क्रममा निहालिरहेको हुन्छु । कक्षा ६ मा मैले अध्ययन गरिरहँदा एकजना मेरै दलित समुदायको दिदीले आत्महत्या गर्नुभएको थियो । अहिले म बि.ए प्रथम वर्षमा अध्ययनरत छु । करिब सात वर्ष पूरा हुँदा पनि त्यो घटना अथवा आत्महत्या गर्नुको कारण खुल्न सकेन । गाउँ समाजका मान्छेले त थरी थरीका कुराहरू गरे तर त्यही आत्महत्या पश्चात् सिन्धुपाल्चोकको रेडियो सिन्धु र सिन्धु एफ.एमबाट प्रसारण हुने कार्यक्रमा मेरो जीवन कथामा उही मृतक दिदीकी आमाले कार्यक्रममै बताउनुभएको थियो, “मेरी छोरी विद्यालयमा कर्मचारी थिई । उसले कार्यालयमा विभेद भोग्नुपरेको थियो । अरू सबै कर्मचारी भन्दा अलगै स्थानमा खानबस्न पर्ने अनि पढाउने कामका अलवा सबैले खाएको भाँडा धुन लगाउने गरिन्थ्यो र व्यवहारले नै विभेद गर्ने गरिन्थ्यो ।” यसबाट पनि थाह हुन्छ, उहाँले आत्महत्या गर्नुको कारण जातीय विभेद नै मात्रै त थिएन होला, तर जातीय विभेदकै हात अलिकति त थियो ।
अर्को एकजना त्यस्तै दलित महिला शिक्षक कर्मचारी हुनुहुन्थ्यो । उहाँले पनि आफूले विभेद भोगेको कुरा सुनाउँदै बताउनुभएको थियो, “विद्यालयका अरू कर्मचारी सरह मलाई व्यवहार गरिँदैन । यस्ता अरू समुदायका महिला कर्मचारीलाई इज्जत दिइन्थ्यो तर मलाई मैले पाउनुपर्ने व्यवहार कहिल्यै गरिएन ।” अन्ततः दलित महिला कर्मचारी भएकै कारण उहाँ यौन शोषणको समेत शिकार हुनुभएको थियो ।
जब अन्तरजातीय प्रेमका कुरा आउछन्, त्यस्तै अर्को एउटा घटना बारबार सुनाउने गर्छन् मेरै गाउँ घरमा । मेरै गाउँ सिन्धुपाल्चोकमा एक दलित बस्तीकी युवती क्षेत्री युवकसँग प्रेममा पर्नुभयो । जब यस प्रेमको चर्चा एक कान, दुई कान गर्दा गर्दै मैदान भयो, तब क्षेत्री समुदायका व्यक्तिहरूले खोल्सामा लगेर मारेर मृतक दिदीको मुखमाथि दिशा गरिदिएर छोडिदिएको थिए रे । “मेरै आँखा स्वयम्ले देखेको हुंँ । जेसुकै गर, तर आफू भन्दा ठुलो मानिने जातिसँग प्रेममा नपर” भनेर रुँदै मेरी आमा भन्ने गर्नुहुन्छ । उही अन्तरजातीय प्रेममा महिला ठुलो जाति र पुरुष सानो जाति मानिएको वर्गमा सफल नै भएर घरजम सम्म पुग्छन् । छोरी सानो जातिसँग जाँदा ‘छोरी हो, होस् एउटा फुल फुट्यो” भनेर वास्ता गर्दैनन् तर ठुलो जात मानिने पुरुषले सानो जात मानिने महिलालाई भित्र्याउन खोज्दा कुल बिग्रिन्छ भनी कुनै पनि हालतमा त्यो सफल हुन दिइँदैन । पछिल्लो समयमा यो दुबै खाले अन्तरजातीय प्रेम सफल भएको देखिए पनि भित्रभित्रै महिलाहरू मारिएका समाचार दिनहँु कानमा आएर ठोक्किरहेका छन् ।
यस्ता समस्याहरू बारे छलफल गर्दा सातै प्रदेशका साथीहरूले आफ्नो आफ्नो क्षेत्रका अवस्था बताइरहँदा सबै ठाउँका साथीहरूले आफ्नो ठाउँमा दलित भएकै कारण महिलाहरूले न्याय नपाएर मर्न बाध्य भएको बताउँछन् । यस्ता धेरै मुद्दा छन्, जुन दलित महिला भएको कारण शोषणमा परिरहेका छन् । दलित भएकै कारण मर्न बाध्य छन् । शोषणमा पर्न बाध्य छन् । न त सुत्केरी दलित महिला बलात्कार हुनबाट जोगिएकी छन्, न त तीन महिने बालिका, न त अठार वर्षे किशोरी । दलित महिला भएकै कारण उनी कार्यथलोबाट निस्किन बाध्य छिन्, दलित महिला भएकै कारण अरू सरह हुन सकेकी छैनन् । दलित महिला भएकै कारण आफ्नै प्रेमीबाट शोषित हुन्छिन् । हुन त महिलाका कतिपय समस्या र सवालहरू साझा छन् तर दलित महिलाका निम्ति यो समाजमा अझै धेरै विभेद देखिन्छ ।
महिलाको पीडा त महिलालाई थाहा भई नै हाल्छ । थाहा हुनुपर्ने त यहाँ पुरुषलाई हो, बुझ्न पर्ने त पुरुषले हो । कयौं शताब्दीदेखि भोग्दै आएका, झेल्दै आएका त महिलाले हुन् । यी तमाम पीडा सङ्घर्षका कथा सुन्नुपर्ने, पढ्नुपर्ने त पुरुषले हो । महिला–पुरुष एकै रथका दुई पाङ्ग्रा हुन्, यसै त भनिएको होइन नि ? महिला र पुरुषबाट यो सृष्टि सञ्चित भए जस्तै, महिला र पुरुषको हातेमालोबाटै नै यो समाज पनि परिवर्तन हुने न हो । महिलाको अभियानमा पुरुष समावेश भए भने परिवर्तन सम्भव हुने हो । भनिन्छ, एउटा सफल पुरूषको पछाडि महिलाको ठुलो हात हुन्छ, पुरुषले पनि त्यस्तै पवित्र हात दिएर महिलालाई पनि त अगाडि बढाउन सकिन्छ नि ! महिलाको हकहित र अधिकारका लागि महिलाको अभियानमा पुरुष पनि समावेश हुन जरुरत पर्छ । पुरुषले पनि हातेमालो गर्नु जरुरी छ !!