वासन्तीपनाले छपक्कै ढाकिएको छ परिवेश । केही समय अघिका जुम्सा रुखहरू एकाएक बैँसालु देखिएका छन् । प्रत्येक मुनाहरू प्रकाशको दिशा ताकी लम्किरहेझैँ लाग्छन् । वसन्तका अनेक रङ पोतिएको बगैँचामाझ एउटा चिटिक्कको घर छ । त्यही सुन्दर घरको दैलोबाट आत्मविश्वासी पाइला अघि बढाउँदै एकलहर मुस्कानसहित उहाँ मलाई स्वागत गर्नुहुन्छ । समयका रेखाहरू प्रस्ट देखिएका छन् अनुहारमा तथापि दृढता र स्वाभिमान मिश्रित आभाले उज्यालिएको छ लाक्पा फुटी शेर्पाको अनुहार । पर्वतीय तथा साहसिक पर्यटनको क्षेत्रमा लामो समय काम गर्नुभएकी शेर्पाको जीवन सङ्घर्षका विविध पाटा छन् । यतिखेर भने उहाँ सङ्घर्षपश्चात प्राप्त सफलताको सौन्दर्यले आलोकित हुनुहुन्छ । जीवन यात्रामा प्राप्त भएका हरेक प्रहार, हन्डर, ठक्कर र गोलचक्कर पार गरेपछिको उहाँको सामाजिक, आर्थिक अवस्था र उपलब्धि सबैको निम्ति प्रेरणादायी छ ।
छ दशक अघि सोलुखुम्बुको मुसे गाउँमा जन्मनुभएको शेर्पाको बाल्यकाल सङ्घर्षमय रह्यो । शिक्षाको उज्यालो नपसेको गाउँमा चेतनाको अभाव थियो । छोरा र छोरीमा केही विभेद स्वाभाविक तवरमा सबैले स्विकार्थे । भाइहरू विद्यालय जाँदा भागी चोरी केही हप्ता पढ्न गएको भए तापनि त्यसपछि भने उहाँले घरकै काम सम्हाल्नु प¥यो । घाँस, सोत्तर, वनपाखामा नै दिनहरू बित्न थाले । ‘पर्यटकीय हब’ बनेको सोलोखुम्बु क्षेत्रको चहलपहल त्यसबेला पनि बाक्लै थियो । हिलारी र तेन्जिङ्ले सगरमाथा आरोहण गरेपछि विश्वभर हल्लीखल्ली मच्चिएको लगभग एक दशक भइसकेको थियो । मुसे गाउँका धेरै शेर्पाहरू हिमाल चढ्न आउने पर्यटकको सामान बोक्नेदेखि बन्दोबस्ती मिलाइदिने र शेर्पाको रूपमा पनि सम्लग्न हुन्थे ।
विद्यालय जान नपाएर दिक्क भइरहेको अवस्थामा एकदिन लाक्पा फुटीले आफ्नै बुबा सामेल हुने स्याङ्बोचे ट्रेकिङमा जाने मौका पाउनुभयो । तेह्र वर्षे कलिलो उमेर भए पनि आँट भने निकै अग्लो थियो । भरियाका रूपमा पहिलो चोटि १५ दिन लामो ट्रेकिङ् गर्दा शरीरले पाएको सास्ती बयान गरी साध्यै छैन तथापि आफूले मेहनत गरी आर्जन गरेको केही पैसा हात पर्दा र गाउँको साँघुरो माहोलबाट बाहिर निस्कन पाउँदाको स्वतन्त्रता पनि उहाँको निम्ति बयान गरी साध्यै रहेन ।
पढ्न नपाएर अँध्यारिएको मन उसै उसै उज्यालियो । अब घर बसेर घाँस सोत्तर गर्ने मनै भएन । चौध वर्ष लाग्दा नलाग्दै घरमा बिहेको कुरा सुरु भयो । घरबाट भाग्नु भन्दा अरू उपाय केही नदेखेपछि उहाँ घरबाट भागी १२ दिन हिँडेर काठमाडौँ आइपुग्नुभयो । केही समय सानीआमासँग बसेपछि उहाँले नै कुपण्डोलमा एउटा विदेसीको घरमा घरेलु कामदारका रूपमा काममा लगाइदिनुभयो । न भाषा बुझ्नु न कामको चालढालको मेसो पाउनु ! उहाँको लागि महाकष्टकर समय भयो । दुई महिनाजति काम गरेपछि एकदिन मालिक्नी साह्रै रिसाइन् । बिहान सबेरै जिङ्रिङ्ग कपालसहित नाइटड्रेसमा नै कोठाबाट निस्किएर नराम्ररी गाली गरिन् । कहाँ थामिन्थ्यो र आँसु ! बेस्सरी रुनुभयो । केही समयपछि सानीआमाले त्यहाँबाट निकाली आफैसँग लैजानुभो तर काठमाडौँ बस्ने दिन सकिए । जहाँबाट उम्कन खोज्नुभएको थियो, सानीमाले त्यहीँ फर्काइदिनुभयो ।
गाउँ पुगेको केही समयमा नै फेरि सुरु भयो विवाह को कुरो ! अब भने कसरी भाग्ने भनी योजना बुन्दै गर्दा गोक्यो ट्रेकिङ जाने मौका जुरिहाल्यो । लाक्पा फुटीको लागि ढुङ्गा खोज्दा देउतै मिल्यो । त्यसमा बुबा पनि जाने कुरा थियो तर अन्तिममा अर्को ग्रुपमा आउने हुनु भएपछि उहाँ पहिलो ग्रुपसँगै २५ केजीको औषधीको भारी बोकी अघि बढ्नुभयो । त्यही ट्रेकबाट उहाँलाई प्रस्ट भयो कि यो समाज महिलाका लागि साह्रै खराब छ । त्यसैले सङ्घर्ष नगरी लडाइँ नगरी हुँदै हुँदैन । राती सुतेको ठाउँमा कोही पसेजस्तो लाग्यो । यसो हेर्दा त आफ्नो छेउमा गाइड पो घुस्रिएको छ । उहाँ उफ्रिएर बाहिर निस्किनुभयो । मुटु चिस्याउने चिसोको परवाह नगरी धेरै बेर बाहिर नै बसिरहनु’भो । निकै बेर भित्र पर्खेपछि ठट्टापो गरेको तर भन्दै गाइड बाहिर निस्किएपछि बल्ल उहाँ टेन्टभित्र पसी सुत्नुभयो । त्यसपछिका प्रत्येक ट्रेकमा आफूलाई जोगाउने अनेक उपाय लगाएर मात्र सुत्नुहुन्थ्यो । अर्को एउटा ट्रेकमा भान्सा भएको टेन्टमा एक रात कोही पसेजस्तो लाग्ने बित्तिकै एउटा भाडा तानेर हानिहाल्नु’भो । ट्वाङ्ङ गरेको थियो । सुत्नेबेला नै आफ्नो ओछ्यान वरिपरि भाँडाकुडाले बारेर सुत्नुभएको थियो । भोलिपल्ट गाइडको टाउकोमा टुटुल्को देखियो । ट्रेकभरि नै ऊ बोलेन । त्यसपछि भने उहाँमा आत्माविश्वास बढ्यो । ती घटनापछिको कुनै पनि ट्रेकमा कसैले केही गर्ने आँट गरेनन् तथापि अघिल्लो पटकको घटनापछि त्यस गाइडको व्यवहारमा भारी परिवर्तन देखियो । उसले २५ केजीको औषधीको भारीमाथि अक्सिजन सिलिन्डर पनि थपिदिएर दुःख दिन भने खोजेको थियो । साथमा डायलग पनि हान्यो, केही हुन्छ कि भनेर पो भारी थोरै दे’को त, अब केही नहुने रैछ… र ।
ओहो ! अघि बढ्न खोज्ने महिलालाई पाइला पिच्छे अड्चन । जोगिनै मुस्किल ! त्यसमा पनि महिनौसगै हिड्नुपर्ने यस किसिमको पेशामा त झन् गाइडको कुदृष्टिका र पेलानको पनि सामना गर्नुपर्छ महिला कामदारले । लाक्पा फुटी शेर्पा भने कलिलो उमेरको बाबजुद आँटी र कर्मशील भएका कारण आफूलाई जोगाउदै अघि बढिनै रहनुभयो तथापि गाइडलाई चुटेको र चाहेको नमानेपछि उनीहरूले नै गाउभरि नचाहिदो हल्ला फिजाइदिएर दुःख दिने प्रयास गरे । परिवारको इज्जतको सवालमा कडा बुबाको रिसको झोकमा परेर ज्यान थाङ्थिलो हुने गरी पिटाइ खानुभयो । त्यसपछि भने गाउमा एकै छिन पनि नबस्ने निर्णय लिई उहा दोस्रोपटक भागेर काठमाडौ आउनुभयो ।
काठमाडौमा आएपछि पनि भरिया भई ट्रेकिङ हिँड्नुबाहेका अरू केही उपाय थिएन । जीविकोपार्जनकै लागि उहाँ मेरा पिक, अन्नपूर्ण सर्किट, कन्चन्जङ्घा लगायत विभिन्न ठाउँमा भरिया भइ जानुभयो । समयक्रमसँगै ट्रेकिङ क्षेत्रमा अनुभव भयो, विदेसीहरूसँग पनि परिचय बढ्यो । लगभग आठ वर्ष काम गरिसकेपछि २१ वर्षको उमेरमा स्वीजरल्याण्ड घुम्न जाने अवसर प्राप्त गर्नुभयो । त्यही अवसर नै उहाँको जीवनको एक र्ण घुम्ति बन्यो । अनिश्चित त छदै छ जीवन त्यसमा पनि कहिलेकाही कल्पना नै नगरेको पनि भइदिन्छ । उहाँ केही महिना घुम्न जानुभएको थियो स्विजरल्याण्ड तर झण्डै बाह्र वर्ष उत्तै अल्झिनु भयो । त्यसबिच सहजतासाथ नेपाल आउजाउ त भइरहन्थ्यो तर जीवन भने सोचे जस्तो सहज भएन । असीमित उतारचढाब भए जीवनमा तथापि उहाँको पाइला रोकिएन । त्यसैबिच स्वीस नागरिकसँगको विवाहबाट उहाँले पहिलो सन्तानको रूपमा जीनकाजीलाई जन्म दिनु भयो । आमा हुनुको वर्णनातीत अनुभव गर्न पाउनु भयो । तर नानीको बाबुसँगको सम्बन्धले भने जटिलता पक्डियो । कतिपय सम्बन्ध जति जोगाउन खोज्दा पनि नजोगिने रहेछ । नहुनुथ्यो सम्बन्ध भयो, नटुट्नु थियो तर टुट्यो । तथापि साहस, आँट र आफैप्रतिको उहाँको भरोसा भने झन् जब्बर भएको थियो ।

सन् नब्बेको दशकमा शेर्पा स्विस एडभेन्चर ट्रेकिङ एजेन्सी खोली लाक्पा फुटी शेर्पाले व्यवसायिक जीवन शुरु गर्नु भयो । स्विजल्याण्ड आउदा जाँदा केही हस्तकलाका सामग्री लगी व्यापार पनि गर्नुहुन्थ्यो । नेपाल र स्वीजरल्यण्डमा थालेको व्यापारले उहाँलाई आर्थिक आत्मनिर्भरताको बाटो खोलिदियो । जसले गर्दा बिस्तारै उहाँलाई आफ्नो स्वतन्त्रता र अस्तित्वबारे चेतना पनि हुन थाल्यो । स्वीजरल्याण्डमा हुँदा उहाँले युरोपमा प्रचलीत स्कि खेल सिकेर खेल्न पनि थाल्नु भयो । आँट र उत्साह पनि कति भने उहाँले युरोपको सबैभन्दा अग्लो पहाड मोँ ब्लाँ मा स्कि गर्ने पहिलो नेपालीको रेकर्ड पनि कायम गर्नु भयो । उहाँलाई स्कि खेलले अन्तराष्ट्रिय ख्याति दिलाइदियो । त्यसताका युरोपका धेरै पत्रपत्रिका तथा म्यागेजिनले उहाँको समाचार छापेको थियो । त्यसका अतिरिक्त उहाँ पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहणको टोलीमा पनि सामेल हुनुभयो । तर दोस्रो सिविरमा पुगेपछि एउटा साथीको स्वास्थ्यमा आएको समस्याको कारण उहाँले साथीलाई सगरमाथा आधार सिविरतिर झार्नु पर्यो । त्यसैबेला पासाङ भने सगरमाथातिर लाग्नु भो ।
पासाङले सन् १९९३ एप्रिल २२मा सगरमाथा आरोहरण गरी नेपालको पहिलो महिला सगरमाथा आरोही बन्न सफल हुनुभएता पनि फर्कने क्रममा खराब मौसम तथा अक्सिजनको कमीका कारण बाटैमा उहाँको मृत्यु भयो । लाक्पाको जीवनमा भने यस्तै घटना र संयोगहरूको निरन्तरता भइनै रह्यो । त्यस घटनाबारे उहाँ भन्नुहुन्छ, “पासाङ दिदीसँग म पनि भएको भए भा हामी दुवै फर्कन्थ्यौ कि ! या… र र एकछिन् मौन रहनुहुन्छ । त्यही मौनतामा म अनिश्चितताको सुस्केरा भेट्छु ।
सन् नब्बेको उत्तरार्धतिरबाट भने उहाँ छोरो जिनकाजीको लालनपालन, पढाइलेखाइको जिम्मेवारीको साथै आफ्नो व्यवसायमा पनि सक्रियतापूर्वक लाग्न थाल्नु भयो । त्यसै ताका ट्रेकिङ एजेन्ट एसोसियसनमा उहाँ सदस्यमा नियुक्त हुनुभो । जिम्मेवारीको दायरा अब घरपरिवार भन्दा निकै फराकिलो भइसकेको थियो । साथमा चुनौति र अवसर पनि उत्तिकै थिए । एक कार्यकाल काम गरिसकेपछि दोस्रो कार्यकालको लागि चुनावबाट नै उहाँ फेरि चुनिनु भयो । त्यसैबेला उहाँले हल्याण्डबाट सस्टेनेवल टुरिज्म एण्ड मार्केट लिङ्केज विषयक सात महिने कोर्ष गर्ने मौका प्राप्त गर्नु भयो । त्यही अध्ययन नै उहाँको जीवनको अर्को महत्वपूर्ण मोडको निम्ति सहायक बनिदियो ।
नेपाल सरकारको पर्वतीय प्रशिक्षण प्रतिष्ठानले लिएको उद्देश्य प्राप्त गर्न त्यसै क्षेत्रसँग सम्बद्ध विज्ञको खाचो थियो । त्यस प्रतिष्ठानमा उहाँलाई कार्यकारी सदस्यको रूपमा काम गर्ने अवसर प्राप्त भयो । उहाँले पर्यटन क्षेत्रको अत्यन्त सम्भावना भएको पर्वतीय तथा साहसिक पर्यटनमा प्राप्त गर्नुभएको लामो समयको अनुभवलाई यस प्रतिष्ठानको जिम्मेवार पदमा रही कार्य गर्ने अवसरलाई सहि सदुपयोग गर्ने भरमग्दुर प्रयास पनि गर्नु भयो । त्यसैको परिणामस्वरूप त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपाल माउण्टेन अकाडेमी मार्फत पर्वतीय र साहसिक पर्यटनको अध्ययन अनुसन्धानलाई अघि बढाउने काम पनि सुरु भयो । उहाँले यस प्रतिष्ठानमा सन् २००९ देखि २०१७ सम्म दुई कार्यकाल कार्यकारी निर्देशक तथा त्यसपछि सन् २०१९ देखि २०२२ सम्म अध्यक्ष भई जम्मा एघार वर्ष काम गर्नु भयो । उहाँकै कार्यकालमा नेपालमा स्कि प्रशिक्षणदेखि महिला पर्यटक गाइड प्रशिक्षण पनि थालिएको छ । पहिलेको तुलनामा अहिले नेपालमा प्रशस्त महिला गाइडहरू तयार भई काम गर्न थालेका छन् । नेपाल माउण्टेन एकेडेमीको सातौ व्याज चलिरहेको छ जहाँ स्नातक तथा स्नातकोत्तरसम्मको पढाइ हुन्छ । आफ्नो पहलमा गतिशील बनेको माउन्टेन एकेडेमीमा पढेका विद्यार्थीहरूले यतिखेर पर्यटन व्यवसाय सञ्चालन गर्न थालिसकेकोमा उहाँ गर्व महसुस गर्नुहुन्छ ।
विश्वमा सबैभन्दा धेरै हिमाल भएको नेपालले हिमाली पर्यटन प्रवद्र्धनको निम्ति विशेष पहल गर्न सके देशले धेरै लाभ लिन सक्ने उहाँको धारणा छ । आर्थिक उन्नतिको निम्ति पर्वतीय तथा साहसिक पर्यटनले ठूलो हात खेल्ने विषयमा शङ्खा नै छैन । त्यसमा पनि महिलाको सशक्तिकरणको पाटोमा पर्यटनले धेरै ठूलो भूमिका खेलेको छ । उहाँ भन्नुहुन्छ, “अहिले पनि पर्यटन व्यावसायका विभिन्न काममा महिलाले असी प्रतिशत भूमिका निर्वाह गर्छन् । जस्तोकि एउटा होटल या लजकै कुरा गरौँ त्यसमा महिला बिहान चारै बजे उठेर काममा लाग्छन् र राती काम सकेर सबैभन्दा ढिलो सुत्ने पनि त्यही महिला हुन्छ । समस्या कहाँ छ भने महिलाको कामलाई हामीले कहिले सम्मान गर्दैनौ । अन्तको अवस्था पनि यस्तै छ । नीति निर्माण गर्ने ठाउँमा अझै पनि महिलाको उपस्थिती छैन । अनि कसरी महिलामैत्री नीति बन्न सक्छ र ?”

शेर्पाले गर्नु भएको प्रश्न सम्पूर्ण चेतनशील महिलाको मन उठ्ने प्रश्न हो । यस देश हाक्नेले देशको सबै निकायमा पचास प्रतिशत महिला सहभागिताको सुनिश्चितता गर्न किन सक्दैन ? सम्बन्धित निकायहरू यस मामलामा किन यति उदासीन छन् ? प्रश्न त थुप्रै छन् । तथापि यस्तै प्रश्न माझ उहाँले महिलाबारे भन्नु भएको एउटा कुरा निकै चोटिलो लाग्यो— “घाँटीमा माला झुण्ड्याइदियो भन्दैमा, हातमा साँचो दियो भन्दैमा महिला रमाएर बस्नु हुदैन । घाँटीको माला त परिवारको साझा सम्पत्ति जस्तै हो । साँचो त गेटपालेलाई पनि दिन्छ । घरको साँचो त जिम्मेवारी मात्र हो । महिलाले कानुनी अधिकार, समानता, आर्थिक अधिकारको लागि आफैले केही गर्नु पर्छ । र पक्कै पनि । महिलाको स्वतन्त्रता र सशक्तिकरणको निम्ति आर्थिक आत्मनिर्भरता अत्यन्त आवश्यक छ । महिलाहरू त्यस बेलामात्र आफ्नो अधिकार, समानता र स्वअस्तित्वको दरिलो आवाज उठाउन सक्छन् जतिबेला उनीहरू आर्थिक रूपमा स्वतन्त्र हुनेछन् । आर्थिक परनिर्भरताले गर्दा महिलामाथि हुने हिंसा र उत्पीडनमा बढावा दिनुका साथै महिलाको अस्तित्व र परिचयको सवाल सदैव संकटमा नै पर्ने गरेको छ ।
हामी भलाकुसारीको बिट मार्ने क्रममा छौँ, चैत्रको एक झोक्का बतासले फुल बोटका हाँगाहरू लचक्क पारी दगुर्छ । त्यसै बखत कृष्णभूण बलको ‘चैतको हावा’ अनायासै मेरो दिमागमा सर्रर सल्बलाइदिन्छ,
यता मधेशतिर चैत्र लागिसक्यो
हावा मत्ता हात्तीझैँ बेस्सरी मात्तिएको छ
डाडु पनिउँ हातमा लिने भान्से हो ! आगेदेखि होशियार !
सारा परिवारको टुप्पी समाएर बाबु बन्न खोज्ने हो !
आगोदेखि होशियार !
हावादेखि होशियार !
साँच्चै हातमा डाडु पनिउँ लिई शताब्दियौँदेखि मिठोमसिनो आफ्नै भागमा मात्र पस्किरहेका पितृसत्ताका हिमायतीहरू अब होशियार हुनु पर्ने समय भएको छ । किन कि सङ्घर्षका अनेक गोरेटा गल्छेडाहरू पार गर्दै मनभित्र दृढता र जोदाहापनका ज्वालसहित अब लाक्पा फुटीहरू अघि बढिरहेका छन् । यस देशका लाखौँ महिलालाई सपना देख्न प्रेरित गर्ने, एक पर्वतारोही, पर्यटन व्यवसायी तथा हिमालकी छोरी र हिमालमा चालिस वर्ष पुस्तकका सर्जक लाक्पा फुटी शेर्पाप्रति सीमातीत सम्मान ।