नोरा एउटी आज्ञाकारी बुहारी
नोरा एउटी जाँगरिली पत्नी
नोरा एउटी मायालु आमा
बिहान भालेको डाँकसँगै बिउँझन्छे
निन्द्राले छाडेकै हुँदैन आँखाहरूलाई
नोरा निन्द्रालाई सराप्दै
हस्याङफस्याङ गर्दै उठ्छे
पूर्वीआकाश रक्तिम नहुँदै
चराहरूको राग नसुनिँदै
कुपीको धमिलो उज्यालोमा
वा विद्युत्का चर्का प्रकाशहरूमा
थकाइ नउत्रिएको लखतरान शरीर
बलपूर्वक यताउता घिसार्छे ।
हतपताउँदै ढोका उघार्छे
अनिँदा आँखाहरूले कामहरूको निरीक्षण गर्छे
लामो हुन्छ सम्पन्न गर्नुपर्ने
कामको सूची
कण्ठस्थ भएको कामको सूची
बढारकुढार गर्छे, पोछा लगाउँछे,
अँगेनो, दैलो र बरन्डा पोत्छे
लोहोटा अम्खोरा टल्काउँछे
सञ्चालित भएका यन्त्रहरूसँगै
यन्त्रवत् यताउता दगुर्छे ।
नोरा दिक्क हुन्छे मनमनै कुरा गर्छे
रातको दोस्रो प्रहर बित्दा नबित्दै
किन कराउँछ पापी कुखुरो ?
किन तुहिन्छ छिट्टै रात ?
राम्ररी बित्दा नबित्दै रात
निन्द्राले नछोडेका आँखाहरू
बलपूर्वक उघार्दै नोरा मसिन बन्छे
पोतारोमा खेलिरहेको हात धुन्छे ।
कुँडो बसाल्छे
कुँडो चलाउँदा चलाउँदै
नोरा, माथि कता हो कता माथि
अझ माथि पुग्छे, झन् माथि पुग्छे
पहाडभन्दा माथि, बादलभन्दा माथि
कहिल्यै नटुङ्गिने आकाश
निलो ठुलो आकाशको ओछ्यान
नोरा आरामले पल्टन्छे
जताततै फूलैफूल
फूलकै नरम नरम ओछ्यानहरू
सुवासका झोक्काहरू
नोरा आनन्दित हुन्छे
नोरा पुलकित हुन्छे ।
नोरा ! नोरा !! नोरा !!!
आज राति एक झप्को पनि
लिन पाइनस् कि के हो ?
छिमेकीको मायालु स्वरले
नोराको मिठो निन्द्रा भत्कन्छ
नोराको सुन्दर सपना भत्कन्छ
झसङ्ग भएकी नोरा
पुनः स्वचालित यन्त्र सरह बन्छे ।
अझै उज्यालो झरेकै हुँदैन
डालो बोकेर जाँतोमा पुग्छे
घ्यायाया… घ्यायाया…
हात चलिरहन्छ हातोमा
एकतमासको घ्यायाया घ्यायाया
परबाट आएको
संगीत जस्तो घ्यायाया… घ्यायाया… ।
नोरा सपना देख्छे
परपर कहाँ हो पर एउटा सुन्दर घर
सफा र स्वच्छ बिछ्यौना
मिठो प्यारो निन्द्रा
नोरा नरम नरम बिछ्यौनामा
आनन्दले सुतेकी हुन्छे
सुन्दर अनि प्यारो निन्द्रालोकमा
परीहरूको परिधानमा
कता हो कता हराउँछे ।
नोरा ! नोरा ! नोरा !
निदाइस् कि क्या हो नोरा ?
कर्कश स्वरले
हत्पताउँदे ब्यूँझन्छे नोरा
यन्त्रवत् हातहरू
घ्यायाया… घ्यायाया… घ्यायाया…
बल्लबल्ल झरेको मिर्मिरे उज्यालो
मुस्किलले सकिएको डालोको मकै
नोरा अघिल्लो कामको लागि तयार हुन्छे ।
पटाक्षेप
कम्मरमा कसेर पटुकाका पत्रपत्रहरू
गोठतिर दगुर्छे हस्याङफस्याङ गर्दै
भकारो फाल्दै जान्छे फाल्दै जान्छे
एक उरुङ्ग भकारो
हातहरू चलिरहन्छन् यन्त्रवत्
नोरा ! ए नोरा, पानी सकियो
रित्ता भए सबै गाग्राहरू
नोरा पँधेरातिर हानिन्छे
बडेमाको डोको अनि गाग्रो
छिटोछिटो पँधेरातिर दगुर्छे
उकाली ओह्राली अनि समथर
हस्याङफस्याङ
खुर्मुरिँदै खुर्मुरिँदै आतेसले खुर्मुरिँदै
तुर्के धारो एकतमासको धरररर धरररर धररर
परपर कतैबाट आएको मिठो बाद्यधु्न जस्तो
नोरा बलपूर्वक उघार्छे अनिँदा आँखाहरू
धररर धररर धररर
भरिएको गाग्रो, बडेमाको डोको
अनि नाकै ठोक्किने उकालो
स्याँस्याँ गर्दै उकालो उक्लिन्छे ।
ए नोरा ! चुल्हामा आइज
नोरा हतारिँदै भान्सामा पस्छे
भोकले आन्द्रा बटारिएको हुन्छ
भातको भाँडा रित्तो हुन्छ
सेलाएर कक्रक्क परेको ढिँडो
तिहुनको कन्ती रित्तो हुन्छ
पुछपाछ पुछपाछ पुछपाछ
भाँडो पुछपाछ कन्ती पुछपाछ
नोरा माथिमाथि कता हो कता
बेपत्तासँग उचालिन थाल्छे
खानाहरूको भण्डार
स्वादिष्ट खाना, थरिथरिका खाना
अहो कत्ति धेरै खानेकुरा
नोरा चकित पर्छे
के खाऊँ, के नखाऊँ हुन्छे
चामलको भात
अहो चामलको सेतो सेतो भात
दाल, माछा, मासु, मगमगाएको घिउ
नोरा आनन्दले खान थाल्छे
खाएको खायै हुन्छे, खाएको खायै हुन्छे
टम्म भरिन्छ पेट
आनन्दित हुन्छे, मुसुक्क हाँस्छे
धेरै दिन पछिको
भरिएको पेट सुमसुम्याउँछे ।
“नोरा ! नोरा भान्सामै निदाएर मरिस् कि के हो ”
कर्कश स्वरको कोर्रा लागेपछि
नोरा हतपताउँदै उठ्छे
मिठो सपना कता हो कता हराउँछ
नभरिएको पेटले हात चुठ्छे
भाँडाको उरुङ्ग, भाँडाको उरुङ्ग
नोरा भाँडा मस्काउँछे
जुठोचुल्हो गर्छे ।
“नोरा ! नोरा के भयो ?” !
ओछ्यान पर्छे नोरा
लगलगी काम्छे नोरा
“नोरा उठ् के भयो नोरा”
“ज्वरो आयो” काँमेको स्वर आउँछ नोराको
“ए ठीकै छ आज मेला नजानु
यतै भातभान्सा गर्नु
कोठेबारीमा साग छर्नु ”
हस् नोराको स्वर कामिरहेको हुन्छ
यन्त्रवत् उठ्छे नोरा
भात भान्सामा जुट्छे
एक उरुङ्ग भाँडा माझ्छे
ओभाएको हुँदैन हत्केला
कुटो बोकेर कोठेबारीतिर लाग्छे
अचम्म लाग्छ नोरा के हो ?
मेसिन हो या हाडछालाले बनेको मानिस हो ।
एकदिन उज्यालै नझरी नोरा हराउँछे
सबैतिर खैलाबैला हुन्छ
सबैको मनमा कोलाहल हुन्छ
सबैतिर आतेसको रन्को हुन्छ
पँधेराबाट डोकोका डोको पानी ओसार्ने कसले
बिहानै भकारो सोहोर्ने कसले
सोत्तर बारीमा हाल्ने र मल बोक्ने कसले
भारीका भारी घाँसहरू ओसार्ने कसले
भात भान्सा र जुठाचुल्हो गर्ने कसले
परिवारको लागि तातोचिसो जोहो गर्ने कसले
ओहो बित्यास पर्ने भयो
सबै काम अलपत्र पर्ने भयो
होइन कता मरि यो नोरा
खोज खोज छिटो खोज
कता गइ त नोरा ?
म पनि खोजिहेछु नोरालाई
ढ्याम्म आवाज पनि ननिस्कने गरी
एकाबिहानै ढोका लगाएर
माया मारेर घर आँगन
परित्याग गरेर परिवार जन
कता लागि त नोरा ?
मेरो मनमा अनेकौँ प्रश्नहरू उठ्छन्
अपत्यारिलो कुरा भयो
सिधासाधा गौप्राणी नोरालाई
अकस्मात् अकस्मात् केभयो ?
हाहाकार भयो, कोलाहाल भयो
मानिसहरू हुँडार जस्ता मानिसहरू
स्तब्ध भए आश्चर्यचकित भए
त्यसो त आश्चर्यचकित छु म पनि
साँच्चै नै अचम्भित छु म पनि
बिहानै उज्यालो झरेदेखि
मध्यरातसम्म झटारो जस्तै चल्ने नोरा
सूर्यास्त र सूर्योदयको त कुरै भएन
हुन्छ, हजुर अनि हवस्का आदरसूचक शब्दहरू
हस्याङफस्याङ
आफूलाई यन्त्र बनाएर
यन्त्रभन्दा अझ कठोर बाँचेर
आफूलाई कठपुतली बनाएर
वचन झर्न नपाउँदै मालिकहरूको
अनवरत कामका श्रृङ्खलाहरू छिचल्ने
बिना आनाकानी सबैको आदेश बजाउने
पतिको कहिले शान्त नहुने शरीरको भोक
परिवारजनको सेवासुश्रुसा
यन्त्र समान पनि सुस्ताउन नपाउने नोरा
भान्साघर, गाइगोठ, पँधेरा अनि घाँसपात भ्याउने नोरा
घर, कार्यालय अनि सभासम्मेलन धाउने नोरा
विभिन्न यानहरू कुशलतापुर्वक सञ्चालन गर्ने नोरा
जटिल यन्त्रहरू सञ्चालन गर्ने नोरा ।

Source: www.istockphoto.com
भोकाइ पनि सोचेन कसैले
थाकी होला पनि ठानेन कसैले
चाकर्नी, गोठाल्नी, खेताला
भान्से, सुसारे अनि यौन गुडिया
तैपनि अनुहार हाँसेन कसैको
तैपनि कृतज्ञताको भाव आएन कतैबाट
चाकर्नी जतिको पनि स्नेहभाव राखेन कसैले
यन्त्र जति पनि सद्भाव राखेन कसैले
मानौँ ऊ खटन मान्नै जन्मिएकी हो
मानौँ ऊ आदेश शिरोपर गर्नै अन्मिएकी हो
सहँदा सहँदा शायद सहनुको पराकाष्ठा भएर
निहुरिँदा निहुरिँदा पक्का पनि निहुरिनुको सीमा भएर
सहनुको पराकाष्ठामा पुगेर होला
निहुरिनुको सबै सीमा नाघेर होला
छाडेर सबै सबै सम्मोहनहरू
गोठका लैना गाईवस्तुहरूको, ससाना नानीहरूको
बारीमा हुर्कंदै गरेका बिरुवापातहरूको
एकगाँसमा कृतज्ञ हुने कुकुरबिरालाहरूको
मायालु छिमेकी र गाउँलेहरूको
अकस्मात् कता हराई त नोरा ।
आफुलाई यन्त्र बनाए पनि
एकैछिन टाटी नटिके पनि
कसैको अनुहारमा नआएको हाँसो
कसैको अनुहारमा नछाएको प्रशन्नता
कसैको शब्दमा व्यक्त नभएको कृतज्ञता
शायद वाक्क भएर, दिक्क भएर
चटक्कै छाडेर बर्षौको घरवार
कसरी पलायन भई नोरा
कसरी अकस्मात् वेपत्ता भई नोरा
साह्रै नै आजित भएर, दिकदार भएर
कुँजिन कुँजिन लागेका पखेटाहरू फडफडाउँदै
कता वेग मारेर हानिई नोरा
मन दुखेको छ नराम्ररी मेरो पनि
अनेकौँ सन्देह उत्पन्न भइरहेछ
सहयोगको बहाना
कतै कुनै विश्वाघातीले
पुर्याउन त पुर्याएन कतै यौनबजारमा ?
मुक्तिको सपना देखाएर
हुत्याउन त हुत्याएन कसैले अँध्यारो खाडलमा ?
भएन होला त कतै,
“तावाबाट उम्केको माछा भुङ्ग्रोमा” भन्ने भनाइ चरितार्थ
आशङ्काका अनेकौँ ब्यूहहरू पन्छाउँदै सोच्न थाल्छु,
पक्कै पनि ऊ कतै परिवर्तनका मार्गहरू पहिल्याएर गई
अवश्य पनि ऊ कतै उन्मुक्ति अवसर प्राप्त गरेर गई
आत्मसमानका मुक्त क्षीतिजहरू अँगालेर गई ।
म देखिरहेछु, सुनिरहेछु
संसार भरिका कसाई
चाम बाँधेर खोजिरहेका छन् नोरालाई
थाह पाएनन् भनौँ
वा थाह पाउन चाहेनन् कसैले
उसको अमिलो भएको मन
उसको उम्लन थालेको रगत
उसको असह्य पोलेको छाती
अनि बिस्फोटक पदार्थ बन्न पुगेको उसको विद्रोह
पराकाष्ठामा पुगेको उसको असन्तुष्टि ।
आत्तिएर आश्चर्यचकित भएका हत्याराहरू
दुख्ने मन र करुणा भाव नभएका जल्लादहरू
धुइँधुइँति खोजिरहेछन् नोरालाई
एउट निरिह पङ्क्षीलाई जस्तो
घाँटी न्याकेर, टुक्राटुक्रा पारेर
भुटभाट पारेर, रमाएर
प्लेटमा सजाएर
जिह्वालाई तृप्त बनाउने योजना लिएर
धुइधुइती खोजिरहेकाछन् नोरालाई ।
आइमाईहरूलाई किल्किए नभएका अनि कफल्ला ठान्ने
एउटा समाज सुधारकले भन्यो–
“संघार नाघेर गै अब बेस्या हुन्छे नोरा !”
एउटा स्वर्गको ठेकेदारले भन्यो–
“घर छाडर भागी अब नर्कको बास हुन्छ नोराको”
जसले जे सुकै भनोस् न म भन्छु—
“ परिवर्तनको राँको बोकेर फैलन्छे नोरा
चेतनाको प्रवाह लिएर फर्कन्छे नोरा ।”
आजभोलि साच्चै नै विद्रोहको तर्जुमा गदैछन् नोराहरू
मनको फराकिलो आकाशमा
बाक्लो गरी लागेका आक्रोशका मेघमालाहरू
अब छाडे निकाल्न मधुर मरमर ध्वनिहरू
पृथ्वी नै कम्पित हुनेगरी
प्रवाहित गर्देछन् गगनभेदी चित्कारहरू
डढाउनेछन्, हुरहुरी सल्काउने छन्
अपमानका घना झाडीहरू
लडाउनेछन् डंग्रंग पारेर
विभेदका पाषाण पहाडहरू
खस्नेछन् हजारौँ भोल्टका विद्युत तरङ्गहरू
सातो खानेछन् अपराधीहरूको, पापिष्टहरूको
बलात्कारीहरूको, यौन पिपासुहरूको ।
कामना गरिरहेछु
नफर्कियोस् नोरा पुनः नारकीय जीवनमा
नोरा लडोस् अनन्त उर्जा लिएर लडोस्
नोरा विद्रोहको झिल्का बनेर उँडोस्
नोरा अपमान र असमानताका विरुद्ध
आँधी मात्र होइन, चक्रबात् बनेर लडोस्
असंख्य नोराहरूको सुन्दर सपना खोस्नेहरूका विरुद्ध
असंख्य नोराहरूको जीवन नारकीय बनाउनेहरूका विरुद्ध
नोरा भयानक डँढेलो बनोस्
र भष्म खरानी बनाओस् निष्ठुर सामन्ती अवशेषहरू
नोरा महाप्रलय बनोस्
अनि चकनाचुर पारेर लडाओस्
विभेदका ओसिला अनि कालासामन्ती पहाडहरू ।
***