उत्पीडनको अर्थ हुन्छ, कुनै व्यक्ति वा समुदायले गर्ने व्यवहार वा विभेद । पीडा दिने वा शोषण गर्ने काम । महिला उत्पीडन भन्नाले महिलामाथि गरिने विभेद र विभिन्न खाले शोषण भन्ने बुझिन्छ । विश्वमा आठ अरब मानिस छन् तीमध्ये संसारभरि महिलाको जनसङ्ख्या आधाभन्दा बढी छ । यिनै महिलाहरूमाथि हरेक दिन कुनै न कुनै प्रकारका हिंसा भइरहेको हुन्छ । कतिपय घटनाहरू घरपरिवारमै गुपचुप गरिन्छन् । अति भएपछि मात्र बल्ल केही घटनाहरू बाहिर आउँछन् ।
महिलाको जनसङ्ख्या संसारभरि आधाभन्दा बढी छ । उनीहरूलाई पितृसत्ताले हरेक युगमा उत्पीडन गरिरेहछ । यति हुँदाहुँदै पनि महिला जुरुक्क विद्रोहमा उठ्न सक्दैनन् किनभने उनीहरूलाई गलत दार्शनिक मान्यताले प्रशिक्षित गरिएको छ । संसार यस्तै हो बदल्न सकिदैन, एक्लैले गरेर केही हुँदैन । हामी कमजोर छौँ जस्ता गलत मान्यताको सिकार हुनाले नै महिला जुरुक्कै विद्रोहमा उठ्न सक्दैनन् । महिलाहरूमा रहेको त्यो गलत चिन्तनको धङ्धङ्गी नहटेसम्म महिलामुक्तिको वास्तविक आन्दोलन अगाडि जान सक्दैन (आहुति, २०७९, पृ.९३) । हुन पनि श्रीमान्सँग झगडा गरेर घरको कुरा बाहिर लगे मलाई के भन्छन्, उनीसँग निहुँ खोजे भोलि म कहाँ जाने जस्ता मान्यताहरूले विद्रोहमा जानै सक्दैनन् । परम्परादेखि नै नारी धर्ती हो सहनुपर्छ भन्ने भाष्यमा बाँचिरहेका हुन्छन् । दबाउन नसकेका घटनाहरू र पढेलेखेका महिलाहरूले अन्याय सहनु अपराधीलाई प्रोत्साहित गर्नु हो भन्ने जागरणका कारण केही घटनाहरू बल्ल अखबार र सञ्जालमा आउँछन् । त्यस्ता समाचारहरूले समाज परिवर्तनमा सघाउ पुर्याई महिला उत्पीडनलाई कमी ल्याउन पर्ने हो तर त्यस्तो पटक्कै देखिँदैन । नयाँ नयाँ स्वरूपमा उत्पीडनको कहालीलाग्दो अवस्था बढेको बढ्यै देखिन्छ । वास्तवमै उत्पीडनबाट जोगिन र यस्ता घटनामा कमी ल्याउन सम्पूर्ण महिलाहरू जाग्न आवश्यक छ । जागरणको अचुक औषधी भनेको शिक्षा र चेतना नै हो । पितृसत्तात्मक समाजको उत्पीडनको एउटा तहलाई साहित्यिक भावमा व्यक्त गरिएको कविताको एउटा उदाहरण हेरौँः
हो महोदय,
मजाले आउँछ हामीलाई
सारी लगाएरै पढाउन
सारी लगाएरै गाडी चलाउन
साइकल, स्कुटी र बाइक गुडाउन
अनि सारी लगाएरै प्लेन र हेली उडाउन
अनि सारी लगाएरै प्रेम गर्न
अनि सारी लगाएरै नेतृत्व गर्न ।
(रजनी ढकाल, सारी लगाउँदैमा पढाउन आउँछ ? कविताको अंश)
आफूमाथि भएको विभेदलाई सोझै नभनी आलङ्कारिक भाषामा अभिव्यक्त गर्न सक्नु एउटा खुबी पनि हो । आडम्बर र दम्भ देखाउनेहरूका प्रति पनि साहित्यले कलाका साथ प्रश्न गर्छ । पितृसत्तात्मक समाजलाई प्रश्न गर्न ठुलो आँट र साहस चाहिन्छ । यो साहसका लागि पहिला त आफूलाई शक्तिशाली बनाउनुपर्छ । शक्तिको आधार मुलतः आर्थिक र शैक्षिक हैसियत नै हो । शिक्षित र आर्थिक रूपमा आत्मनिर्भर महिलाहरू परनिर्भर महिलाका तुलनामा बढी शक्तिशाली हुन्छन् तर हाम्रोजस्तो समाजमा यो स्थिति आउन समय लागिरहेको छ ।
उत्पीडनको प्रमुख आधार पितृसत्ता
नारी उत्पीडनको प्रमुख कारक पितृसत्ता हो । ‘पितृ’ शब्दको अर्थ हो पिता र सत्ताको अर्थ हो शासन अर्थात् पिताको शासन । पुरुषको आधिपत्य वा वर्चस्व रहने परिवारहरू मिलेर बनेको समाजलाई पितृसत्तात्मक समाज भनिन्छ । पितृसत्तात्मक समाजमा पुरुषहरू सापेक्षिक रूपमा महिलाभन्दा बढी शक्तिशाली र बढी साधनस्रोतले सम्पन्न भएका हुन्छन् । यसको जगमा पुरुषले महिलामाथि आफ्नो प्रभुत्व कायम गर्दछ । उत्पीडन र शोषण गर्ने छुट पाउँछ । पितृसत्ताको आडमा नै सामन्तवादी र पुँजीवादी उत्पादन व्यवस्था खडा भएका हुन् । यी व्यवस्थाहरूले एकीकृत प्रणालीका रूपमा रहेर नारीहरूको श्रमशक्ति, आर्थिक अधिकारलगायत अन्य सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकारलाई नियन्त्रण गरी उनीहरूको शारीरिक,यौनिक र मानसिक शोषण गरिरहेका हुन्छन् ।
पितृसत्ताको वस्तुगत र वैज्ञानिक व्याख्या गर्ने काम सबैभन्दा पहिला माक्र्सवादी दर्शनले नै गरेको हो । यसले संसारको सबैभन्दा पहिलो उत्पीडन नारीहरूमाथि नै भएको र यसको कारण समाजविकासको क्रमसँगै स्थापित भएको पितृसत्ता हो भन्ने मान्यता राख्दछ (माक्र्स र एङ्गेल्स, सन् १९९८, पृ. ५०) । यही पितृसत्तात्मक सामाजिक संरचनाकै कारण महिला दोस्रो दर्जाको नागरिक मानिन्छन् । उनीहरूमाथि दैनिकजसो घट्ने बलात्कारका घटना, भनेजति दाइजो नपाएका कारण गरिने घरेलु हिंसा, बोक्सीको आरोप आदिबाट दिइने यातनाको कुनै हिसाबै छैन । बालविवाह र अनमेल विवाहबाट उब्जने मानसिक र शारीरिक समस्या, सामाजिक कुरीतिका कारण भोग्नुपरेको पीडाको शृङ्खला अत्यन्त कारुणिक छ । यस्ता खाले उत्पीडन सहरी क्षेत्रमा अझै बढी देखिन्छ । राज्यको न्याय कानुन र नीति नियम तर्जुमा गर्ने ठाउँमा महिला नै पुगिसक्दा पनि वर्षौदेखि महिलाले झेल्दै आएका यी समस्याहरू ज्यूँका त्यूँ छन् । पितृसत्ताले महिलाका विषयलाई गौण ठान्ने गरिएकाले पनि व्यवहारतः विभेदको अन्त्यमा असहयोग पुगेको देखिन्छ ।
उत्पीडनको नयाँ शृङ्खला
नयाँ नयाँ स्वरूप र आयामहरूमा महिला उत्पीडन बढिरहेको छ । हिजो बम्बईमा लगेर बेचिने चेलीहरूलाई आज घरेलु कामदारका रूपमा खाडी मुलुकमा पठाएर उत्पीडनको नयाँ शृङ्खला रचिएको छ । यसरी जानेमा कम महिलाहरू मात्र आफ्नो लक्ष्यमा सफल भएका होलान् । धेरैजसो महिलाहरूले भने विकराल समस्याको सामना गर्ने गरेको कुरा हामी सुनिरहेका हुन्छौँ । टेलिभिजनका स्क्रिनहरूमा बेलाबेलामा पीडित र राज्यको नीतिनिर्माण तहमै बसेका अधिकारीसँगको अन्तर्वार्ता पनि सुन्न पाइन्छ । त्यहाँ ती अधिकारीले यो सबै समस्याको जड अस्थिर राजनीतिलाई मान्छन् र “नीतिनियममा छलफल भइरहेको छ, कानुनहरू बन्ने प्रक्रियामा छ” भनेर उम्किन खोज्छन् । स्वयम् आफ्नो परिवारमा नपरिन्जेल उनीहरू चेत्दैनन् । यो समस्या महिलाको मात्र भएको ठान्छन् र आज राज्यले यो अवस्था भोग्नु परेको छ । राज्यको दायित्व महिलाको पीडामा सहानुभूति देखाउनमा मात्र सीमित भएको छ । त्यही अनुसारको गम्भीर दायित्व र जिम्मेवारीबाट सत्तापक्ष पन्छिएको देखिन्छ । महिलाप्रति समभाव राखेर राज्यका नीतिनिर्देशनहरू कार्यान्वयन गर्न सक्ने हो भने आदर्श राज्य बन्न कुनै युग कुरिरहनै पर्दैन ।
केही हप्ता अघि टेलिभिजनको एउटा लोकप्रिय कार्यक्रममा खाडी मुलुकबाट गर्भवती भएर आएका दुई महिलाको कुराकानी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसँग गराइएको थियो । त्यो वार्तालाप सुन्दा गैरकानुनी रूपमा महिलालाई खाडी मुलुकमा लगेर बेच्ने गिरोहको ठुलो सञ्जाल भएको पुष्टि हुन्थ्यो । २०७३ चैत्र २२ गतेदेखि महिलालाई घरेलु कामदारका रूपमा विदेशमा जान नेपालले कानुनी रूपमै प्रतिबन्ध लगाएको छ । तर ती महिलालाई भारतको बाटो हुँदै साइकल, रिक्सा, बाइक हुँदै दिल्ली पुर्याइएको थियो । दिल्लीको हवाइमार्गबाट दुबई लगी त्यहाँबाट कुवेत लगेर बेचिएको कुरा ती युवतीले त्यतिबेला थाहा पाइन्, जतिबेला कुबेती नागरिकले आफूहरूलाई घरेलु श्रमिकको रूपमा हजार र बाह्र सय दिनारमा एजेन्टमार्फत किनेको बताए । त्यसपछि सुरु भयो तिनीहरूको कहालीलाग्दो कथा । उनीहरूले विदेशीहरूबाट भोगेको उत्पीडनको कथा यति चर्को छ कि त्यो सुन्दा हाम्रो छाती विदीर्ण हुन्छ । ती दुई युवती प्रतिनिधि पात्र मात्र हुन्, त्यस्तो अवस्था भोग्नेको सङ्ख्याको कुनै लेखाजोखा नै छैन । भारतको चोर बाटो प्रयोग गरेर जानेहरू कानुनी रूपमा नेपाल सरकारसँग जवाफदेही छैनन् । भाग्यको परीक्षामा त्यसरी विदेसिँदा निम्तिने समस्याको जिम्मा कसले लिने ? किन त्यसरी लुकीलुकी पनि श्रमका लागि विदेशै जानुपर्ने स्थिति निम्तिएको छ ? यो निकै संवेदनशील विषय हो । यी घटना प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाबारे राज्यसत्ता बेखबर हुने कुरै आउँदैन तर पनि किन बढिरहेका छन् यस्ता घटना ? निर्मला पन्तको बलात्कारपछि जुन जघन्य किसिमले हत्या गरियो, त्यसको विरोधमा सयौँ कार्यक्रम गरिए, न्यायका लागि पीडित परिवारले हरतरहको कोसिस गर्यो, तर सत्ताले किन पटक्कै सुनिरहेको छैन ? यस्ता घटनाको फेहरिस्त निकै लामो हुन सक्छ ।
यौनिक उत्पीडन
महिलाहरूले भोग्ने अनेक उत्पीडनमध्ये यौन उत्पीडनको एउटा घटना म यहाँ उल्लेख गर्न चाहन्छु । केही समयअघि निजी अस्पतालको आइसियु कक्षमा एउटी बिरामीलाई भेट्न गएको थिएँ । आइसियु वार्डमा कार्यरत थिइन्, मैले चिनेकी एउटी नर्स बहिनी । उनै बहिनीले ती बिरामी बहिनीको कथा सुनाइन् । सानो बच्चा हुर्काउँदै गरेकी श्रीमतीलाई कामबाट फर्केपछि श्रीमान्ले आफू नभएको बखत दिउँसो उनको परपुरुषसँग शारीरिक सम्पर्क भयो कि भनेर हरेक साँझ सँुघ्ने गर्दथे रे । एक दिन होइन, दुई दिन होइन, हरेक दिन यसरी शङ्का । प्रेम विवाह गरेका श्रीमान्बाटै यस्तो व्यवहार भएपछि र सम्झाउँदा पनि नलागेपछि आजित भएर उनले जिउमा मट्टितेल छर्केर आत्महत्या गर्ने प्रयास गरिछन् । छिमेकीबाट उद्धार भएर अस्पताल ल्याइएछ । यो घटना पुलिसको कानमा नपरोस् र आफूलाई सजाय नहोस् भनेर पीडक निकै सशङ्कित हुँदै, आइसियु कक्षको वरिपरि बसेर को आयो ? को गयो ? याद गर्ने रहेछन् । पैसा कुम्ल्याउने लोभमा निजी अस्पतालको पनि पीडकसँग मिलेमतो हुने रहेछ । महिलामाथि हुने यस्ता तहगत उत्पीडनको शिकार हाम्रै राजधानीमै छ भने अन्यत्र कति होलान् ?
सार्वजनिक बस चड्दा युवतीको कपालमाथि वीर्य फालिएको घटना, कार्यालयमा काम गर्दा सहकर्मीहरूबाटै हुने यौनहिंसा, आफ्नै आफन्तजनबाट बलात्कारमा पर्नुपर्ने दर्दनाक अवस्था र बाध्यतामा परेर यौनकर्म गर्नेमाथिको कथा कति भयानक होला ? यौनहिंसाका घटनाहरू बाहिर आउँदा पनि प्रायः पीडितकै चरित्रमाथि प्रश्न उठाइने भएकाले यस्ता घटना भित्रभित्रै मिलाउने प्रयास भएको देखिन्छ । यौनहिंसामा परेका पचास प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्धा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेको देखिन्छ । संरक्षणको अभावमा पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फेर्ने गरेको भेटिएको छ भनी सरोकारवालाहरूले भनेको पाइन्छ । विशेष गरी पदमै रहेका व्यक्तिले सत्ताका आडमा यौनहिंसा गरेको बढी देखिन्छ । न्यायधीश भुवन गिरीमाथि उनकै श्रीमती आरती गिरी रावलले आफूलाई बन्धक बनाएर वैवाहिक बलात्कार गरी यौनशोषण गर्ने गरेको घटना बाहिर ल्याइन् । गर्भको बच्चा कुटीकुटी तुहाइदिएको भन्दै प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको घटना पीडितकै मुखबाट सुन्न पाइयो । अनेक रोइकराई गर्दा पनि सुरुमा उनको जाहेरी लिइएन । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग र न्याय परिषद्मा पनि निवेदन दिइन् । अनेक सञ्चारमाध्यममा आफू हिंसामा परेको भनेर अन्तर्वार्ता दिइन् । यति गर्दा पनि न्यायधीश गिरी पक्राउ परेनन् । उनकी श्रीमती आरती गिरी रावलले सर्वोच्च अदालत अगाडि पुगेर पटकपटक प्रदर्शन गरिन्, अनि बल्ल उनका पति पक्राउ परे तर अदालतले उनलाई धरौटीमा रिहा गर्यो । आरती गिरीले पुनः उनलाई थुनामा राखेर कारवाही प्रक्रिया अघि बढाउने माग राख्दै आएकी छन् । उनको माग सुनुवाई नहुँदा सर्वोच्च अदालतअगाडि आफ्नो ज्यानमा पेट्रोल छर्केर आत्मदाह गर्नसमेत खोजिन् तर पनि उनको मागप्रति राज्यसत्ता संवेदनशील भएको छैन । उनी अहिले सडकमा बसेर न्यायको आवाज उठाइरहेकी छन् । थाहा छैन उनले न्याय पाउँछिन् वा पाउँदिनन् । एउटी न्यायधीशकी श्रीमतीले समेत न्याय पाउन यति गाह्रो छ । न्याय दिने न्यायधीश नै यौन उत्पीडनको यो हदसम्म खस्छन् भने अरूले राज्यबाट के अपेक्षा गर्ने ?
लैङ्गिक उत्पीडन
सन्तानोत्पादन र स्याहारसुसारका कार्यहरूले गर्दा महिलाहरू घरभित्रका कार्यमा व्यस्त हुने र पुरुषहरू अन्य कार्यमा लाग्ने परिस्थितिले लैङ्गिक विभेदको स्थिति सिर्जना भएको हो । पितृसत्ता पारिवारिक स्वरूपभित्र उत्पादन व्यवस्थाका केन्द्रीयतामा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, कानुनी, शैक्षिक आदि संरचनाहरूमा प्रकट भएको हुन्छ (भसिन, सन् १९९३, पृ.२१) । पितृसत्तात्मक समाजमा महिलाले भोगेको चरम विभेदको एउटा पाटो लैङ्गिक उत्पीडन हो । यो उत्पीडन पाठ्यपुस्तकमै देखिनु बडो दुःखद कुरो हो । बालबालिकाका मस्तिष्कमा कस्तो ज्ञान भर्ने र राज्यका लागि सक्षम जनशक्ति कसरी तयार पार्ने भन्ने ध्येय हरेक राष्ट्रमा हुने गर्छ । पाठ्यपुस्तकका विषयवस्तुको सिकाइका सन्दर्भमा महिलासँग जोडिएका शब्द विम्ब र प्रसङ्गले स्थापित गर्ने भाष्य र त्यसले बालमस्तिष्कमा बन्न सक्ने महिलाप्रतिको अवधारणा अनुमान गर्ने हो भने यी पुस्तक लिङ्गीय उत्पीडनको हल गर्ने दिशामा होइन, बरु ठीक विपरीत पितृसत्तात्मक उत्पीडनलाई वैधता दिने अवधारणालाई संस्थागत गर्न उद्यत देखिन्छन् ।
काठमाडौँ लगायत राजधानी बाहिर गरिने साहित्यिक कार्यक्रम र साहित्यिक महोत्सवहरूमा महिलाहरूलाई मञ्च दिन अत्यन्त कन्जुस्याइँ गरिन्छ । विज्ञ महिलाहरू नै छैनन् भनेर पुरुषै पुरुष मञ्चमा राख्ने र अझ उद्घोषण कार्यक्रमको समेत जिम्मा लिने पुरुष नै देखिन्छन् । देख्दा पनि त्यस्ता दृश्यहरू अशोभनीय र आँखा बिझाउने खालका लाग्छन् ।
महिलाप्रति अविश्वास गरी अवसर नदिने यस्ता परिपाटीप्रति बेलामौकामा सामाजिक सञ्जालमा बहस हुने गरेको देखिन्छ । यी बहसका प्रत्यक्षदर्शी भइरहेका पुरुष महोदयहरू नै कत्ति पनि असजिलो नमानी मञ्चासीन भएका दृश्यले कार्यक्रमभरि बसौँ कि उठौँ जस्तो हुन्छ । महिलाले पुस्तक प्रकाशनमा पनि उस्तै विभेद भोग्नु परेको देखिन्छ । यो नाम सुनेकै छैन, बिक्री हुँदैन भनेर पुस्तक वितरकले पुस्तक लिन मान्दैन भने आफूलाई स्थापित ठानेका लेखकहरूले पनि महिलाले लेखेको के नै होला र भनेर अवमूल्यन गरिदिन्छन् । महिलाहरूको पनि भावना, भोगाइ र अनुभव छ । उनीहरू पनि शोध गरेर कलात्मक पारामा लेख्न सक्छन् । लेखनमा कहिल्यै लिङ्गीय विभेद गर्नु हुँदैन भन्ने कुरालाई आँखा चिम्लिदिन्छन् । सभ्य समाजका लागि अत्यन्त नसुहाउने कुरा यहाँ दैनिक रूपले भइरहेको छ ।
मैले चिनेकी एक जना इन्जिनियर सडक विभागको उच्च ओहोदामा कार्यरत छन् । लोकसेवा लडेर उनले नाम निकालेको कसैबाट छिपेको छैन । उनी कैयौँ आयोजनाको प्रमुख भएर काम गरेकी छन् । प्रमुख भएर काम गर्दा आफू मातहतका पुरुष कर्मचारीको असहयोग र हेपाइले उनी मर्माहत भएको कुरा बेलाबखत व्यक्त गर्छिन् । जति नै समानताका कुरा गरे पनि व्यवहारमा भोगिने लैङ्गिक उत्पीडनको करौतीले आफू रेटिनु पर्दा काममा उत्साह हराएको अनुभव उनी सुनाउँछिन् । पुरुष जहिले माथि हुनुपर्छ भन्ने पितृसत्तात्मक सोचमा परिवर्तन नआएसम्म महिलाले लैङ्गिक विभेदको हिंसा सहिरहनुपर्छ । एक्काइसौँ शताब्दीमा पनि पुरुषवादी सोचबाट हावी हुनु कति सङ्कीर्ण र दरिद्र सोच ? उन्नत समाजको निर्माण कोरा भाषणका लागि मात्र हो कि, नत्र किन समाज बदलिएको देखिदैँन ?

कला : समोयत्री चटर्जी
आर्थिक उत्पीडन
महिलामाथिको उत्पीडन आर्थिक पक्षसँग ज्यादा गाँसिएको विषय हो । आर्थिक आधारहरूमाथि पुरुषको एकल स्वामित्व र महिलाको श्रमशक्तिमाथि गरिने नियन्त्रणका साथै महिलाको घरेलु श्रमलाई श्रम नमान्ने कारणहरू उत्पीडनसँग सीधा जोडिएको हुन्छ । एकनिष्ठ व्यक्तिगत परिवारको उदयपछि श्रमको लैङ्गिक विभाजन भयो र यसपछि नै महिलाहरूले गर्ने घरधन्दाको कामलाई व्यक्तिगत र अनुत्पादक कार्यका रूपमा गणना गर्न थालिएको हो (माक्र्स र एङ्गेल्स, २०६४, पृ.१५०)
सन् २०१८ र १९ गरी मलाई दुई वर्ष जापान बस्ने मौका मिल्यो । पछिल्लो समय जापानमा जापानी भाषा पढ्न जाने विद्यार्थी र कुक भिसामा काम गर्न जाने नेपाली गरी एक लाख भन्दा बढीको सङ्ख्या रहेको छ । तीमध्ये वर्गीय हिसाबले मेरो हिमचिम महिला साथीहरूसँग धेरै हुन पुग्यो । विशेष गरी कामको सिलसिलामा मैले धेरै नेपाली दिदी बहिनीको कथा खोतल्न पाएँ । विदेश बसाइका अनुभवहरू पनि साझा गर्न पाइयो । यही सन्दर्भमा धेरै जसो दिदीबहिनीले आफूले कमाएको सम्पूर्ण रकम आफ्नो श्रीमान्लाई सुम्पिँदा रहेछन् । डिपेन्डेट भिसामा गएका उनीहरू जापानको नियम मिचेर श्रीमान्ले भन्दा बढी काम गर्थे र कमाइ पनि राम्रै गर्थे । उनीहरू काममा यति धेरै जोतिनु पथ्र्यो एक वर्षसम्म पनि एक घण्टाको दुरीमा रहेको समुद्र हेर्न जान नभ्याएको कुरा गर्थे । विवाह नभएका भाइहरूले भाउजूहरू काममा बढी नै खटेको देखेर, “दाइले भाउजूलाई जापान ल्याउनुभएको होइन, गधा ल्याउनुभएको हो है ?” भनेर व्यङ्ग्य गर्थे ।
एक जना बहिनीका श्रीमान् बिदामा नेपाल आएर जापान फर्केका थिए, उनले श्रीमतीसँग सल्लाह नै नगरी दुई वर्षपछि पास गर्ने गरी जग्गाको बैना गरेर गएछन् । श्रीमती जापानमा धेरै काम गर्दागर्दा ढाड दुख्ने बिरामी भएकी थिइन् । टेबुलमा बसेर गर्ने कामबाहेक अरू काम जापानमा पुरै उभिएर गर्नुपर्छ । श्रीमतीको दश वर्षको कमाइले चितवनमा घडेरी, घर र दश कठ्ठा जमिनसमेत जोडिसकेका रहेछन् । अब यति गरियो थोरै काम गर्छु र आरामसँग बस्छु भन्ने उनको सोचमा श्रीमान्को पछिल्लो कदमले विरक्ति तुल्याएछ । मसँगको संवादमा उनले सुस्केरा हाल्दै गुनासो गरेकी थिइन् ।
“यत्रो सम्पत्ति जोड्नुभएछ, कसको नाममा छ नि त्यो सबै ?” कुरैकुरामा एकदिन मैले सोधेँ ।
“सबै बुढाको नाममा छ, बेला बेलामा उहाँ नै जाने, आफै किन्ने । मेरो नाममा केही पनि छैन । मेरो नाममा बूढा हुनुहुन्छ,” उनले हाँसेर भनिन् । उनको जवाफले म एकछिन स्तब्ध भएँ, कतै पुरुषलाई सामन्तवादी बन्न हामीले नै सघाएका पो छौँ कि ? मेरो नाममा पनि किनिदिनु, नागरिकता भएपछि मेरो नाममा पनि किन्न सकिन्छ, लालपुर्जा म नेपाल जाँदा निकालुँला उनले भन्न सक्थिन् तर यति कुरा राख्ने आँट पनि उनलाई आएन होला । धेरै कमाउने उनी, तर उनको श्रममाथिको स्वामित्व भने उनका श्रीमान्को । श्रीमान–श्रीमतीमा सधैँभरि राम्रै सम्बन्ध भए, घरजग्गाको लालपुर्जामा नाम जसको भए पनि फरक नपर्ला तर पनि समय सधैँ एकनास नरहन सक्छ । उनी ढाडकी बिरामी हुन थालिसकेकी थिइन् । पछि झन् ठूलो बिरामी पो पर्ने हुन् कि ? आफूलाई धन चाहिँदा फेरि श्रीमान्सँगै हात थाप्नुपर्ने । त्यतिबेला अड्कलेर पाउने हुन् वा अहिले छैन, सबै घरजग्गा किन्दा सकियो पो भन्ने हुन् कि ? यस्तो परिस्थितिको कल्पना गरेर म दुःखी भएँ । अबको बाँकी कमाइ, केही मात्रामा भए पनि आफ्नो खुसीको लागि बचत गर्न उनलाई सम्झाएँ पनि । कमाउनु मात्र ठूलो कुरा रहेनछ, त्यसलाई व्यवस्थापन गर्न पनि सक्नुपर्ने रहेछ । यसका लागि ज्ञान र चेतना निर्माण ठुलो कुरा रहेछ भन्ने कुरा यो घटनाबाट पुष्टि हुन्छ ।
अन्त्यमा
शिक्षाप्राप्तिसँगै महिलाहरूमा आएको चेतनाले उत्पीडनका साङ्लाहरू बिस्तारै चुँडिन थालेका छन् । आज हाम्रा छोरी पुस्ताहरूमा अन्याय सहेर बस्नुहुँदैन भन्ने चेतना पसिसकेको छ । यो आँट र साहस उनीहरूलाई शिक्षाको प्राप्तिसँगै समयले पनि दिलाएको हो । वर्गीय, जातीय र दलितहरूका आवाजहरू पनि केन्द्रसम्मै चर्कोसँग मुखरित हुन थालेका छन् । सबैभन्दा ठुलो कुरा अन्याय सहनु हँुदैन र आफूमाथि भएको अन्यायका विरुद्ध बोल्न सक्नुपर्छ, प्रहरी प्रशासनमा गएर उजुरी गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ । महिला भनेका पुरुषको सहयोगी मात्र होइनन्, उनीहरूको पनि आफ्नै अस्तित्व हुन्छ । उनीहरू पनि क्षमतावान्, प्रतिभाशाली र प्रत्युत्पन्न मतिका हुन सक्छन् भन्ने कुरालाई समाजले बिस्तारै स्वीकार गर्दै लगेको छ । महिलालाई कमजोर देख्नु आफ्नै दृष्टिदोष हो भन्ने कुराको महसुस भएकै कारण आज महिलालाई राज्यका हरेक क्षेत्रमा प्रवेश गराउन थालिएको छ । यद्यपि उनीहरूमाथि हुने गरेका विभिन्न उत्पीडनहरूमा कमी ल्याउन, दोषीहरूलाई कारवाही गरेर विधिको शासन बसाल्न, समतामूलक र सभ्य समाज निर्माणमा सत्तापक्ष सधैँ चनाखो भइरहनुपर्छ ।
सन्दर्भ सूची
आहुति (२०७९). ‘महिला मुक्तिः नवीन जागरणका चुनौती’, अपराजिता पारिजात. महिला मुक्तिको नयाँ
वैचारिकी, १ (१), असार, पृ…. ।
भासिन, कमला (१९९३). ह्वाट इज प्याट्रियार्की. नयाँ दिल्ली : काली फर ओमन ।
माक्र्स, एङ्गेल्स (२०६४). माक्र्स एङ्गेल्स सङ्कलित रचना ३. (राजेन्द्र मास्के, अनु.) काठमाडौँ :
ऐरावती प्रकाशन (मूल कृति प्रकाशन सन् १८९१) ।