Asmita Magazine

#

महिला उत्पीडनका अनेक आयाम

उत्पीडनको अर्थ हुन्छ, कुनै व्यक्ति वा समुदायले गर्ने व्यवहार वा विभेद । पीडा दिने वा शोषण गर्ने काम । महिला उत्पीडन भन्नाले महिलामाथि गरिने विभेद र विभिन्न खाले शोषण भन्ने बुझिन्छ । विश्वमा आठ अरब मानिस छन् तीमध्ये संसारभरि महिलाको जनसङ्ख्या आधाभन्दा बढी छ । यिनै महिलाहरूमाथि हरेक दिन कुनै न कुनै प्रकारका हिंसा भइरहेको हुन्छ । कतिपय घटनाहरू घरपरिवारमै गुपचुप गरिन्छन् । अति भएपछि मात्र बल्ल केही घटनाहरू बाहिर आउँछन् ।
महिलाको जनसङ्ख्या संसारभरि आधाभन्दा बढी छ । उनीहरूलाई पितृसत्ताले हरेक युगमा उत्पीडन गरिरेहछ । यति हुँदाहुँदै पनि महिला जुरुक्क विद्रोहमा उठ्न सक्दैनन् किनभने उनीहरूलाई गलत दार्शनिक मान्यताले प्रशिक्षित गरिएको छ । संसार यस्तै हो बदल्न सकिदैन, एक्लैले गरेर केही हुँदैन । हामी कमजोर छौँ जस्ता गलत मान्यताको सिकार हुनाले नै महिला जुरुक्कै विद्रोहमा उठ्न सक्दैनन् । महिलाहरूमा रहेको त्यो गलत चिन्तनको धङ्धङ्गी नहटेसम्म महिलामुक्तिको वास्तविक आन्दोलन अगाडि जान सक्दैन (आहुति, २०७९, पृ.९३) । हुन पनि श्रीमान्सँग झगडा गरेर घरको कुरा बाहिर लगे मलाई के भन्छन्, उनीसँग निहुँ खोजे भोलि म कहाँ जाने जस्ता मान्यताहरूले विद्रोहमा जानै सक्दैनन् । परम्परादेखि नै नारी धर्ती हो सहनुपर्छ भन्ने भाष्यमा बाँचिरहेका हुन्छन् । दबाउन नसकेका घटनाहरू र पढेलेखेका महिलाहरूले अन्याय सहनु अपराधीलाई प्रोत्साहित गर्नु हो भन्ने जागरणका कारण केही घटनाहरू बल्ल अखबार र सञ्जालमा आउँछन् । त्यस्ता समाचारहरूले समाज परिवर्तनमा सघाउ पुर्याई महिला उत्पीडनलाई कमी ल्याउन पर्ने हो तर त्यस्तो पटक्कै देखिँदैन । नयाँ नयाँ स्वरूपमा उत्पीडनको कहालीलाग्दो अवस्था बढेको बढ्यै देखिन्छ । वास्तवमै उत्पीडनबाट जोगिन र यस्ता घटनामा कमी ल्याउन सम्पूर्ण महिलाहरू जाग्न आवश्यक छ । जागरणको अचुक औषधी भनेको शिक्षा र चेतना नै हो । पितृसत्तात्मक समाजको उत्पीडनको एउटा तहलाई साहित्यिक भावमा व्यक्त गरिएको कविताको एउटा उदाहरण हेरौँः

हो महोदय,
मजाले आउँछ हामीलाई
सारी लगाएरै पढाउन
सारी लगाएरै गाडी चलाउन
साइकल, स्कुटी र बाइक गुडाउन
अनि सारी लगाएरै प्लेन र हेली उडाउन
अनि सारी लगाएरै प्रेम गर्न
अनि सारी लगाएरै नेतृत्व गर्न ।

(रजनी ढकाल, सारी लगाउँदैमा पढाउन आउँछ ? कविताको अंश)

आफूमाथि भएको विभेदलाई सोझै नभनी आलङ्कारिक भाषामा अभिव्यक्त गर्न सक्नु एउटा खुबी पनि हो । आडम्बर र दम्भ देखाउनेहरूका प्रति पनि साहित्यले कलाका साथ प्रश्न गर्छ । पितृसत्तात्मक समाजलाई प्रश्न गर्न ठुलो आँट र साहस चाहिन्छ । यो साहसका लागि पहिला त आफूलाई शक्तिशाली बनाउनुपर्छ । शक्तिको आधार मुलतः आर्थिक र शैक्षिक हैसियत नै हो । शिक्षित र आर्थिक रूपमा आत्मनिर्भर महिलाहरू परनिर्भर महिलाका तुलनामा बढी शक्तिशाली हुन्छन् तर हाम्रोजस्तो समाजमा यो स्थिति आउन समय लागिरहेको छ ।

उत्पीडनको प्रमुख आधार पितृसत्ता

नारी उत्पीडनको प्रमुख कारक पितृसत्ता हो । ‘पितृ’ शब्दको अर्थ हो पिता र सत्ताको अर्थ हो शासन अर्थात् पिताको शासन । पुरुषको आधिपत्य वा वर्चस्व रहने परिवारहरू मिलेर बनेको समाजलाई पितृसत्तात्मक समाज भनिन्छ । पितृसत्तात्मक समाजमा पुरुषहरू सापेक्षिक रूपमा महिलाभन्दा बढी शक्तिशाली र बढी साधनस्रोतले सम्पन्न भएका हुन्छन् । यसको जगमा पुरुषले महिलामाथि आफ्नो प्रभुत्व कायम गर्दछ । उत्पीडन र शोषण गर्ने छुट पाउँछ । पितृसत्ताको आडमा नै सामन्तवादी र पुँजीवादी उत्पादन व्यवस्था खडा भएका हुन् । यी व्यवस्थाहरूले एकीकृत प्रणालीका रूपमा रहेर नारीहरूको श्रमशक्ति, आर्थिक अधिकारलगायत अन्य सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकारलाई नियन्त्रण गरी उनीहरूको शारीरिक,यौनिक र मानसिक शोषण गरिरहेका हुन्छन् ।
पितृसत्ताको वस्तुगत र वैज्ञानिक व्याख्या गर्ने काम सबैभन्दा पहिला माक्र्सवादी दर्शनले नै गरेको हो । यसले संसारको सबैभन्दा पहिलो उत्पीडन नारीहरूमाथि नै भएको र यसको कारण समाजविकासको क्रमसँगै स्थापित भएको पितृसत्ता हो भन्ने मान्यता राख्दछ (माक्र्स र एङ्गेल्स, सन् १९९८, पृ. ५०) । यही पितृसत्तात्मक सामाजिक संरचनाकै कारण महिला दोस्रो दर्जाको नागरिक मानिन्छन् । उनीहरूमाथि दैनिकजसो घट्ने बलात्कारका घटना, भनेजति दाइजो नपाएका कारण गरिने घरेलु हिंसा, बोक्सीको आरोप आदिबाट दिइने यातनाको कुनै हिसाबै छैन । बालविवाह र अनमेल विवाहबाट उब्जने मानसिक र शारीरिक समस्या, सामाजिक कुरीतिका कारण भोग्नुपरेको पीडाको शृङ्खला अत्यन्त कारुणिक छ । यस्ता खाले उत्पीडन सहरी क्षेत्रमा अझै बढी देखिन्छ । राज्यको न्याय कानुन र नीति नियम तर्जुमा गर्ने ठाउँमा महिला नै पुगिसक्दा पनि वर्षौदेखि महिलाले झेल्दै आएका यी समस्याहरू ज्यूँका त्यूँ छन् । पितृसत्ताले महिलाका विषयलाई गौण ठान्ने गरिएकाले पनि व्यवहारतः विभेदको अन्त्यमा असहयोग पुगेको देखिन्छ ।

उत्पीडनको नयाँ शृङ्खला

नयाँ नयाँ स्वरूप र आयामहरूमा महिला उत्पीडन बढिरहेको छ । हिजो बम्बईमा लगेर बेचिने चेलीहरूलाई आज घरेलु कामदारका रूपमा खाडी मुलुकमा पठाएर उत्पीडनको नयाँ शृङ्खला रचिएको छ । यसरी जानेमा कम महिलाहरू मात्र आफ्नो लक्ष्यमा सफल भएका होलान् । धेरैजसो महिलाहरूले भने विकराल समस्याको सामना गर्ने गरेको कुरा हामी सुनिरहेका हुन्छौँ । टेलिभिजनका स्क्रिनहरूमा बेलाबेलामा पीडित र राज्यको नीतिनिर्माण तहमै बसेका अधिकारीसँगको अन्तर्वार्ता पनि सुन्न पाइन्छ । त्यहाँ ती अधिकारीले यो सबै समस्याको जड अस्थिर राजनीतिलाई मान्छन् र “नीतिनियममा छलफल भइरहेको छ, कानुनहरू बन्ने प्रक्रियामा छ” भनेर उम्किन खोज्छन् । स्वयम् आफ्नो परिवारमा नपरिन्जेल उनीहरू चेत्दैनन् । यो समस्या महिलाको मात्र भएको ठान्छन् र आज राज्यले यो अवस्था भोग्नु परेको छ । राज्यको दायित्व महिलाको पीडामा सहानुभूति देखाउनमा मात्र सीमित भएको छ । त्यही अनुसारको गम्भीर दायित्व र जिम्मेवारीबाट सत्तापक्ष पन्छिएको देखिन्छ । महिलाप्रति समभाव राखेर राज्यका नीतिनिर्देशनहरू कार्यान्वयन गर्न सक्ने हो भने आदर्श राज्य बन्न कुनै युग कुरिरहनै पर्दैन ।
केही हप्ता अघि टेलिभिजनको एउटा लोकप्रिय कार्यक्रममा खाडी मुलुकबाट गर्भवती भएर आएका दुई महिलाको कुराकानी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसँग गराइएको थियो । त्यो वार्तालाप सुन्दा गैरकानुनी रूपमा महिलालाई खाडी मुलुकमा लगेर बेच्ने गिरोहको ठुलो सञ्जाल भएको पुष्टि हुन्थ्यो । २०७३ चैत्र २२ गतेदेखि महिलालाई घरेलु कामदारका रूपमा विदेशमा जान नेपालले कानुनी रूपमै प्रतिबन्ध लगाएको छ । तर ती महिलालाई भारतको बाटो हुँदै साइकल, रिक्सा, बाइक हुँदै दिल्ली पुर्याइएको थियो । दिल्लीको हवाइमार्गबाट दुबई लगी त्यहाँबाट कुवेत लगेर बेचिएको कुरा ती युवतीले त्यतिबेला थाहा पाइन्, जतिबेला कुबेती नागरिकले आफूहरूलाई घरेलु श्रमिकको रूपमा हजार र बाह्र सय दिनारमा एजेन्टमार्फत किनेको बताए । त्यसपछि सुरु भयो तिनीहरूको कहालीलाग्दो कथा । उनीहरूले विदेशीहरूबाट भोगेको उत्पीडनको कथा यति चर्को छ कि त्यो सुन्दा हाम्रो छाती विदीर्ण हुन्छ । ती दुई युवती प्रतिनिधि पात्र मात्र हुन्, त्यस्तो अवस्था भोग्नेको सङ्ख्याको कुनै लेखाजोखा नै छैन । भारतको चोर बाटो प्रयोग गरेर जानेहरू कानुनी रूपमा नेपाल सरकारसँग जवाफदेही छैनन् । भाग्यको परीक्षामा त्यसरी विदेसिँदा निम्तिने समस्याको जिम्मा कसले लिने ? किन त्यसरी लुकीलुकी पनि श्रमका लागि विदेशै जानुपर्ने स्थिति निम्तिएको छ ? यो निकै संवेदनशील विषय हो । यी घटना प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाबारे राज्यसत्ता बेखबर हुने कुरै आउँदैन तर पनि किन बढिरहेका छन् यस्ता घटना ? निर्मला पन्तको बलात्कारपछि जुन जघन्य किसिमले हत्या गरियो, त्यसको विरोधमा सयौँ कार्यक्रम गरिए, न्यायका लागि पीडित परिवारले हरतरहको कोसिस गर्यो, तर सत्ताले किन पटक्कै सुनिरहेको छैन ? यस्ता घटनाको फेहरिस्त निकै लामो हुन सक्छ ।

यौनिक उत्पीडन

महिलाहरूले भोग्ने अनेक उत्पीडनमध्ये यौन उत्पीडनको एउटा घटना म यहाँ उल्लेख गर्न चाहन्छु । केही समयअघि निजी अस्पतालको आइसियु कक्षमा एउटी बिरामीलाई भेट्न गएको थिएँ । आइसियु वार्डमा कार्यरत थिइन्, मैले चिनेकी एउटी नर्स बहिनी । उनै बहिनीले ती बिरामी बहिनीको कथा सुनाइन् । सानो बच्चा हुर्काउँदै गरेकी श्रीमतीलाई कामबाट फर्केपछि श्रीमान्ले आफू नभएको बखत दिउँसो उनको परपुरुषसँग शारीरिक सम्पर्क भयो कि भनेर हरेक साँझ सँुघ्ने गर्दथे रे । एक दिन होइन, दुई दिन होइन, हरेक दिन यसरी शङ्का । प्रेम विवाह गरेका श्रीमान्बाटै यस्तो व्यवहार भएपछि र सम्झाउँदा पनि नलागेपछि आजित भएर उनले जिउमा मट्टितेल छर्केर आत्महत्या गर्ने प्रयास गरिछन् । छिमेकीबाट उद्धार भएर अस्पताल ल्याइएछ । यो घटना पुलिसको कानमा नपरोस् र आफूलाई सजाय नहोस् भनेर पीडक निकै सशङ्कित हुँदै, आइसियु कक्षको वरिपरि बसेर को आयो ? को गयो ? याद गर्ने रहेछन् । पैसा कुम्ल्याउने लोभमा निजी अस्पतालको पनि पीडकसँग मिलेमतो हुने रहेछ । महिलामाथि हुने यस्ता तहगत उत्पीडनको शिकार हाम्रै राजधानीमै छ भने अन्यत्र कति होलान् ?
सार्वजनिक बस चड्दा युवतीको कपालमाथि वीर्य फालिएको घटना, कार्यालयमा काम गर्दा सहकर्मीहरूबाटै हुने यौनहिंसा, आफ्नै आफन्तजनबाट बलात्कारमा पर्नुपर्ने दर्दनाक अवस्था र बाध्यतामा परेर यौनकर्म गर्नेमाथिको कथा कति भयानक होला ? यौनहिंसाका घटनाहरू बाहिर आउँदा पनि प्रायः पीडितकै चरित्रमाथि प्रश्न उठाइने भएकाले यस्ता घटना भित्रभित्रै मिलाउने प्रयास भएको देखिन्छ । यौनहिंसामा परेका पचास प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्धा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेको देखिन्छ । संरक्षणको अभावमा पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फेर्ने गरेको भेटिएको छ भनी सरोकारवालाहरूले भनेको पाइन्छ । विशेष गरी पदमै रहेका व्यक्तिले सत्ताका आडमा यौनहिंसा गरेको बढी देखिन्छ । न्यायधीश भुवन गिरीमाथि उनकै श्रीमती आरती गिरी रावलले आफूलाई बन्धक बनाएर वैवाहिक बलात्कार गरी यौनशोषण गर्ने गरेको घटना बाहिर ल्याइन् । गर्भको बच्चा कुटीकुटी तुहाइदिएको भन्दै प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको घटना पीडितकै मुखबाट सुन्न पाइयो । अनेक रोइकराई गर्दा पनि सुरुमा उनको जाहेरी लिइएन । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग र न्याय परिषद्मा पनि निवेदन दिइन् । अनेक सञ्चारमाध्यममा आफू हिंसामा परेको भनेर अन्तर्वार्ता दिइन् । यति गर्दा पनि न्यायधीश गिरी पक्राउ परेनन् । उनकी श्रीमती आरती गिरी रावलले सर्वोच्च अदालत अगाडि पुगेर पटकपटक प्रदर्शन गरिन्, अनि बल्ल उनका पति पक्राउ परे तर अदालतले उनलाई धरौटीमा रिहा गर्यो । आरती गिरीले पुनः उनलाई थुनामा राखेर कारवाही प्रक्रिया अघि बढाउने माग राख्दै आएकी छन् । उनको माग सुनुवाई नहुँदा सर्वोच्च अदालतअगाडि आफ्नो ज्यानमा पेट्रोल छर्केर आत्मदाह गर्नसमेत खोजिन् तर पनि उनको मागप्रति राज्यसत्ता संवेदनशील भएको छैन । उनी अहिले सडकमा बसेर न्यायको आवाज उठाइरहेकी छन् । थाहा छैन उनले न्याय पाउँछिन् वा पाउँदिनन् । एउटी न्यायधीशकी श्रीमतीले समेत न्याय पाउन यति गाह्रो छ । न्याय दिने न्यायधीश नै यौन उत्पीडनको यो हदसम्म खस्छन् भने अरूले राज्यबाट के अपेक्षा गर्ने ?

लैङ्गिक उत्पीडन

सन्तानोत्पादन र स्याहारसुसारका कार्यहरूले गर्दा महिलाहरू घरभित्रका कार्यमा व्यस्त हुने र पुरुषहरू अन्य कार्यमा लाग्ने परिस्थितिले लैङ्गिक विभेदको स्थिति सिर्जना भएको हो । पितृसत्ता पारिवारिक स्वरूपभित्र उत्पादन व्यवस्थाका केन्द्रीयतामा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, कानुनी, शैक्षिक आदि संरचनाहरूमा प्रकट भएको हुन्छ (भसिन, सन् १९९३, पृ.२१) । पितृसत्तात्मक समाजमा महिलाले भोगेको चरम विभेदको एउटा पाटो लैङ्गिक उत्पीडन हो । यो उत्पीडन पाठ्यपुस्तकमै देखिनु बडो दुःखद कुरो हो । बालबालिकाका मस्तिष्कमा कस्तो ज्ञान भर्ने र राज्यका लागि सक्षम जनशक्ति कसरी तयार पार्ने भन्ने ध्येय हरेक राष्ट्रमा हुने गर्छ । पाठ्यपुस्तकका विषयवस्तुको सिकाइका सन्दर्भमा महिलासँग जोडिएका शब्द विम्ब र प्रसङ्गले स्थापित गर्ने भाष्य र त्यसले बालमस्तिष्कमा बन्न सक्ने महिलाप्रतिको अवधारणा अनुमान गर्ने हो भने यी पुस्तक लिङ्गीय उत्पीडनको हल गर्ने दिशामा होइन, बरु ठीक विपरीत पितृसत्तात्मक उत्पीडनलाई वैधता दिने अवधारणालाई संस्थागत गर्न उद्यत देखिन्छन् ।

काठमाडौँ लगायत राजधानी बाहिर गरिने साहित्यिक कार्यक्रम र साहित्यिक महोत्सवहरूमा महिलाहरूलाई मञ्च दिन अत्यन्त कन्जुस्याइँ गरिन्छ । विज्ञ महिलाहरू नै छैनन् भनेर पुरुषै पुरुष मञ्चमा राख्ने र अझ उद्घोषण कार्यक्रमको समेत जिम्मा लिने पुरुष नै देखिन्छन् । देख्दा पनि त्यस्ता दृश्यहरू अशोभनीय र आँखा बिझाउने खालका लाग्छन् ।

महिलाप्रति अविश्वास गरी अवसर नदिने यस्ता परिपाटीप्रति बेलामौकामा सामाजिक सञ्जालमा बहस हुने गरेको देखिन्छ । यी बहसका प्रत्यक्षदर्शी भइरहेका पुरुष महोदयहरू नै कत्ति पनि असजिलो नमानी मञ्चासीन भएका दृश्यले कार्यक्रमभरि बसौँ कि उठौँ जस्तो हुन्छ । महिलाले पुस्तक प्रकाशनमा पनि उस्तै विभेद भोग्नु परेको देखिन्छ । यो नाम सुनेकै छैन, बिक्री हुँदैन भनेर पुस्तक वितरकले पुस्तक लिन मान्दैन भने आफूलाई स्थापित ठानेका लेखकहरूले पनि महिलाले लेखेको के नै होला र भनेर अवमूल्यन गरिदिन्छन् । महिलाहरूको पनि भावना, भोगाइ र अनुभव छ । उनीहरू पनि शोध गरेर कलात्मक पारामा लेख्न सक्छन् । लेखनमा कहिल्यै लिङ्गीय विभेद गर्नु हुँदैन भन्ने कुरालाई आँखा चिम्लिदिन्छन् । सभ्य समाजका लागि अत्यन्त नसुहाउने कुरा यहाँ दैनिक रूपले भइरहेको छ ।
मैले चिनेकी एक जना इन्जिनियर सडक विभागको उच्च ओहोदामा कार्यरत छन् । लोकसेवा लडेर उनले नाम निकालेको कसैबाट छिपेको छैन । उनी कैयौँ आयोजनाको प्रमुख भएर काम गरेकी छन् । प्रमुख भएर काम गर्दा आफू मातहतका पुरुष कर्मचारीको असहयोग र हेपाइले उनी मर्माहत भएको कुरा बेलाबखत व्यक्त गर्छिन् । जति नै समानताका कुरा गरे पनि व्यवहारमा भोगिने लैङ्गिक उत्पीडनको करौतीले आफू रेटिनु पर्दा काममा उत्साह हराएको अनुभव उनी सुनाउँछिन् । पुरुष जहिले माथि हुनुपर्छ भन्ने पितृसत्तात्मक सोचमा परिवर्तन नआएसम्म महिलाले लैङ्गिक विभेदको हिंसा सहिरहनुपर्छ । एक्काइसौँ शताब्दीमा पनि पुरुषवादी सोचबाट हावी हुनु कति सङ्कीर्ण र दरिद्र सोच ? उन्नत समाजको निर्माण कोरा भाषणका लागि मात्र हो कि, नत्र किन समाज बदलिएको देखिदैँन ?

कला : समोयत्री चटर्जी

आर्थिक उत्पीडन

महिलामाथिको उत्पीडन आर्थिक पक्षसँग ज्यादा गाँसिएको विषय हो । आर्थिक आधारहरूमाथि पुरुषको एकल स्वामित्व र महिलाको श्रमशक्तिमाथि गरिने नियन्त्रणका साथै महिलाको घरेलु श्रमलाई श्रम नमान्ने कारणहरू उत्पीडनसँग सीधा जोडिएको हुन्छ । एकनिष्ठ व्यक्तिगत परिवारको उदयपछि श्रमको लैङ्गिक विभाजन भयो र यसपछि नै महिलाहरूले गर्ने घरधन्दाको कामलाई व्यक्तिगत र अनुत्पादक कार्यका रूपमा गणना गर्न थालिएको हो (माक्र्स र एङ्गेल्स, २०६४, पृ.१५०)
सन् २०१८ र १९ गरी मलाई दुई वर्ष जापान बस्ने मौका मिल्यो । पछिल्लो समय जापानमा जापानी भाषा पढ्न जाने विद्यार्थी र कुक भिसामा काम गर्न जाने नेपाली गरी एक लाख भन्दा बढीको सङ्ख्या रहेको छ । तीमध्ये वर्गीय हिसाबले मेरो हिमचिम महिला साथीहरूसँग धेरै हुन पुग्यो । विशेष गरी कामको सिलसिलामा मैले धेरै नेपाली दिदी बहिनीको कथा खोतल्न पाएँ । विदेश बसाइका अनुभवहरू पनि साझा गर्न पाइयो । यही सन्दर्भमा धेरै जसो दिदीबहिनीले आफूले कमाएको सम्पूर्ण रकम आफ्नो श्रीमान्लाई सुम्पिँदा रहेछन् । डिपेन्डेट भिसामा गएका उनीहरू जापानको नियम मिचेर श्रीमान्ले भन्दा बढी काम गर्थे र कमाइ पनि राम्रै गर्थे । उनीहरू काममा यति धेरै जोतिनु पथ्र्यो एक वर्षसम्म पनि एक घण्टाको दुरीमा रहेको समुद्र हेर्न जान नभ्याएको कुरा गर्थे । विवाह नभएका भाइहरूले भाउजूहरू काममा बढी नै खटेको देखेर, “दाइले भाउजूलाई जापान ल्याउनुभएको होइन, गधा ल्याउनुभएको हो है ?” भनेर व्यङ्ग्य गर्थे ।
एक जना बहिनीका श्रीमान् बिदामा नेपाल आएर जापान फर्केका थिए, उनले श्रीमतीसँग सल्लाह नै नगरी दुई वर्षपछि पास गर्ने गरी जग्गाको बैना गरेर गएछन् । श्रीमती जापानमा धेरै काम गर्दागर्दा ढाड दुख्ने बिरामी भएकी थिइन् । टेबुलमा बसेर गर्ने कामबाहेक अरू काम जापानमा पुरै उभिएर गर्नुपर्छ । श्रीमतीको दश वर्षको कमाइले चितवनमा घडेरी, घर र दश कठ्ठा जमिनसमेत जोडिसकेका रहेछन् । अब यति गरियो थोरै काम गर्छु र आरामसँग बस्छु भन्ने उनको सोचमा श्रीमान्को पछिल्लो कदमले विरक्ति तुल्याएछ । मसँगको संवादमा उनले सुस्केरा हाल्दै गुनासो गरेकी थिइन् ।
“यत्रो सम्पत्ति जोड्नुभएछ, कसको नाममा छ नि त्यो सबै ?” कुरैकुरामा एकदिन मैले सोधेँ ।
“सबै बुढाको नाममा छ, बेला बेलामा उहाँ नै जाने, आफै किन्ने । मेरो नाममा केही पनि छैन । मेरो नाममा बूढा हुनुहुन्छ,” उनले हाँसेर भनिन् । उनको जवाफले म एकछिन स्तब्ध भएँ, कतै पुरुषलाई सामन्तवादी बन्न हामीले नै सघाएका पो छौँ कि ? मेरो नाममा पनि किनिदिनु, नागरिकता भएपछि मेरो नाममा पनि किन्न सकिन्छ, लालपुर्जा म नेपाल जाँदा निकालुँला उनले भन्न सक्थिन् तर यति कुरा राख्ने आँट पनि उनलाई आएन होला । धेरै कमाउने उनी, तर उनको श्रममाथिको स्वामित्व भने उनका श्रीमान्को । श्रीमान–श्रीमतीमा सधैँभरि राम्रै सम्बन्ध भए, घरजग्गाको लालपुर्जामा नाम जसको भए पनि फरक नपर्ला तर पनि समय सधैँ एकनास नरहन सक्छ । उनी ढाडकी बिरामी हुन थालिसकेकी थिइन् । पछि झन् ठूलो बिरामी पो पर्ने हुन् कि ? आफूलाई धन चाहिँदा फेरि श्रीमान्सँगै हात थाप्नुपर्ने । त्यतिबेला अड्कलेर पाउने हुन् वा अहिले छैन, सबै घरजग्गा किन्दा सकियो पो भन्ने हुन् कि ? यस्तो परिस्थितिको कल्पना गरेर म दुःखी भएँ । अबको बाँकी कमाइ, केही मात्रामा भए पनि आफ्नो खुसीको लागि बचत गर्न उनलाई सम्झाएँ पनि । कमाउनु मात्र ठूलो कुरा रहेनछ, त्यसलाई व्यवस्थापन गर्न पनि सक्नुपर्ने रहेछ । यसका लागि ज्ञान र चेतना निर्माण ठुलो कुरा रहेछ भन्ने कुरा यो घटनाबाट पुष्टि हुन्छ ।

अन्त्यमा

शिक्षाप्राप्तिसँगै महिलाहरूमा आएको चेतनाले उत्पीडनका साङ्लाहरू बिस्तारै चुँडिन थालेका छन् । आज हाम्रा छोरी पुस्ताहरूमा अन्याय सहेर बस्नुहुँदैन भन्ने चेतना पसिसकेको छ । यो आँट र साहस उनीहरूलाई शिक्षाको प्राप्तिसँगै समयले पनि दिलाएको हो । वर्गीय, जातीय र दलितहरूका आवाजहरू पनि केन्द्रसम्मै चर्कोसँग मुखरित हुन थालेका छन् । सबैभन्दा ठुलो कुरा अन्याय सहनु हँुदैन र आफूमाथि भएको अन्यायका विरुद्ध बोल्न सक्नुपर्छ, प्रहरी प्रशासनमा गएर उजुरी गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ । महिला भनेका पुरुषको सहयोगी मात्र होइनन्, उनीहरूको पनि आफ्नै अस्तित्व हुन्छ । उनीहरू पनि क्षमतावान्, प्रतिभाशाली र प्रत्युत्पन्न मतिका हुन सक्छन् भन्ने कुरालाई समाजले बिस्तारै स्वीकार गर्दै लगेको छ । महिलालाई कमजोर देख्नु आफ्नै दृष्टिदोष हो भन्ने कुराको महसुस भएकै कारण आज महिलालाई राज्यका हरेक क्षेत्रमा प्रवेश गराउन थालिएको छ । यद्यपि उनीहरूमाथि हुने गरेका विभिन्न उत्पीडनहरूमा कमी ल्याउन, दोषीहरूलाई कारवाही गरेर विधिको शासन बसाल्न, समतामूलक र सभ्य समाज निर्माणमा सत्तापक्ष सधैँ चनाखो भइरहनुपर्छ ।

सन्दर्भ सूची

आहुति (२०७९). ‘महिला मुक्तिः नवीन जागरणका चुनौती’, अपराजिता पारिजात. महिला मुक्तिको नयाँ
वैचारिकी, १ (१), असार, पृ…. ।
भासिन, कमला (१९९३). ह्वाट इज प्याट्रियार्की. नयाँ दिल्ली : काली फर ओमन ।
माक्र्स, एङ्गेल्स (२०६४). माक्र्स एङ्गेल्स सङ्कलित रचना ३. (राजेन्द्र मास्के, अनु.) काठमाडौँ :
ऐरावती प्रकाशन (मूल कृति प्रकाशन सन् १८९१) ।

Author

  • प्रभा बराल

    प्राध्यापन पेसामा संलग्न प्रभा बराल साहित्यका विभिन्न विधामा सक्रियतापूर्वक लाग्नुभएका स्रष्टा हुनुहुन्छ । उहाँको आत्महत्याको जङ्गल (नियात्रा स‌ङ्ग्रह, २०७२), फिलिङ्गो (उपन्यास, २०७७) लगायत अन्य कृतिहरू प्रकाशित छन् । उहाँ पछिल्लो समय शोध तथा अनुसन्धानमा सक्रियतापूर्वक लाग्नुभएको छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के