मोनालिसा !
कौतूहलको जागृति जगाउँदै
उत्सुकताको बाढी बगाउँदै
फक्रिन लागेका गुलाबका पत्र-पत्रझैं
तिम्रो मनमोहक मुस्कानले
आकर्षित गरिरहिछ्यौ
गहन सौन्दर्यमा लालायित हुने नजरलाई आज पनि
डोर्याउँदै छ्यौ आफ्नै मधुर हृदयतिर
प्रिय मोनालिसा!
दा भिन्चीका कुशल औंलाको स्ट्रोकमा
नयाँ आकार लिएर आयौ
“सलाई” मार्फत सुनका सिक्काहरूमा
आफूलाई सहजै साटिन दियौ
किङ लुइसका बाथरुमका भित्तामा
कैदीझैं बर्सौंसम्मन झुन्डिरह्यौ
सिल्भानो भिन्चीका शब्दहरूमा
रहस्यमय उपाधिले अझै गाढा रहस्यका आवरणमा छोपिंदै गयौ
र रैपलिकाको रूपमा
जन्मिदियौ एक चोटि फेरि पनि
कहिले बेचिनु त कहिले चोरिनु
कहिले प्रसिद्धि त कहिले अपमानित हुनु
अस्तित्वको आभास र निद्राका रातहरूले
निगरानीमा छ्यौ कतै नियन्त्रणमा सुरक्षा प्यारो कि स्वतन्त्रता
मौन छ तिम्रो सत्व
जहाँ छन पिकासो र
विन्सेन्जोका लुब्ध हातहरू
तर निरन्तर स्तब्ध तिम्रो आकाङ्क्षा
नीरव तिम्रो मुस्कान
तिमीप्रतिका अपराधी आवाजहरू
कहाँ कहाँ वर्णन गरिए इतिहासका अख्यानमा
वा टेबलका व्याख्यानहरूमा
प्यालेस अफ बरसाइल्सको रोडमा
वा ड्यान ब्राउनको दा भिन्ची कोडमा
प्यारी मोनालिसा!
म तिमीलाई भन्दिनँ कि
तिमी विश्वसुन्दरी हौ
या जादुमई नगरीकी जादुगर्नी,
तर
म तिमीलाई सुन्न सक्छु
कहिल्यै नखुल्ने तिम्रा ओंठभित्र विलुप्त
असङ्ख्य शब्दहरू
र पढ्न सक्छु,
तिमीले भन्न खोजेर पनि नसकेका
इतिहासले थपिदिएका उत्पीडनका राता राता सुम्लाहरू
कुदृष्टिका रङहीन रङ्गहरू,
लुभ्र म्युजियमको सोकेसमा
सपाट सिउँदोझैं सिंगारिएकी तिमी,
तिम्रै आँखाका भित्तामा लेखिएका छन्
तिमीले समयलाई सोध्न खोजेका
तमाम अनुत्तरित प्रश्नहरू
धुमिल-धुमिल अक्षरहरूमा,

Source: www.reuters.com
*************