Asmita Magazine

#

बजारी ‘फ्यान्टसी’मा महिला मुक्तिका मुद्दा

बजारः अनित्य प्रवृत्ति

सामान्य अर्थमा बुझ्ने हो भने बजार एउटा यस्तो व्यावसायिक स्थल हो, जहाँ मानिसलाई आवश्यकता भएका सामान र सेवाहरूको किनबेच गरिन्छ । बजारमा मानिसका मागअनुसार उत्पादित वस्तुहरूको आपुर्ति गरिन्छ, क्रेता र बिक्रेताका बिच वस्तुको भावको मोलतोल गरिन्छ र दुवैको सहमतिमा किनबेच हुन्छ । साधारणतयाः बजारलाई यस्तो सार्वजनिक स्थलका रूपमा बुझिन्छ, जहाँ वित्तीय  कारोबार हुन्छ र जसलाई राज्यका आर्थिक नियमावलीहरूले व्यवस्थापन गरेका हुन्छन् । बजार एउटा सामाजिक स्थल पनि हो, जहाँ राजनीतिक, सामाजिक र साँस्कृतिक विषयबारे अनौपचारिक अन्तर्क्रिया, छलफल र संवाद समेत हुन्छ । बजार गतिशील हुन्छ । बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै यो परिवर्तित हुँदै जान्छ । प्राचीन समयमा बजारको स्वरूप फरक थियो । त्यहाँ  दैनिक जीवनका लागि आवश्यकताका वस्तुहरू ‘बार्टरसिस्टम’मार्फत र उपहारमार्फत आदानप्रदान गरिन्थ्यो । त्यतिबेलाको बजारको व्यवस्थापन, उद्देश्य र वित्तीय कारोबारका तरिका फरक थिए ।

वर्तमान समयमा नवउदारवादी वित्तीय विज्ञहरूले बजारलाई लोकतान्त्रिक प्रणालीबाट चलेको आर्थिक कारोबारको स्थल पनि भन्छन्, जहाँ क्रेता र बिक्रेता दुवैले आफ्नो स्वतन्त्रता र स्वेच्छाका आधारमा आर्थिक कारोबार सम्पन्न गर्छन् । यी विज्ञहरूले पुँजीवादी बजारको प्रवृत्तिलाई ‘फ्रिमार्केट’, ‘ओपन मार्केट’ र ‘स्वस्थ्य प्रतिस्पर्धा’मा चल्ने कारोबार भनेर पनि परिभाषित गर्छन्।हुनत कुनै पनि वस्तुको किनबेचका लागि बेच्ने मान्छे र किन्ने मान्छेका बिच सहमति नभई वित्तीय कारोबार सम्पन्न हुन सक्दैन । सतही रूपमा हेर्दा यो तर्क कसैलाई ठिक लाग्न सक्छ, किनकि बजारमा राखेको वस्तुको मूल्यमा सहमति हुँदा मात्र ‘ट्रान्जेक्सन’ हुन्छ।तर के सतही परिभाषाले नाफामुलक बजारको प्रवृत्तिबाट गरिने श्रमशोषण, लैङ्‌गिक विभेदका आधारमा गरिने श्रम शोषण, लैङ्गिक विभेद र असमानतालाई सघाउ पुर्‌याउने तत्त्वहरू छायाँमा पर्दैनन् र ? के विकास र प्रविधिले साँच्चै उपभोक्तालाई जागरूक बनाएका छन् ? के उपभोक्ता सचेत हुँदा बजार लोकतान्त्रिक वित्तीय कारोबारको स्थल बन्न मद्दत हुन्छ ? नवउदारवादी वैचारिकीले व्याख्या गरेअनुसार के पुँजीवादी बजारको उद्देश्य सर्वहितकारी छ ? के बजारमा क्रेताले स्वेच्छा र स्वतन्त्रताको प्रयोग गर्छन् ? यावत् प्रश्नको उत्तरका लागि उपभोक्ता संस्कृतिमा फस्टाएको पुँजीवादी बजारको प्रवृत्ति र प्रणालीको अध्ययन एवम् विश्लेषण आवश्यक छ । विकसित देशहरूमा बजारका अनित्य प्रवृत्तिबारे थुप्रै शोध भएका छन् तर नेपालमा भित्रिएको अन्तर्राष्ट्रिय बजारले नेपालको आर्थिक स्थिति, समाज, संस्कृति र उपभोक्तालाई के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा गहन अध्ययन र विश्लेषणको आवश्यकता छ । के अन्तर्राष्ट्रिय बजारले ल्याएका सामानहरूसित नेपालमा उत्पादित सामानले स्वस्थ्य प्रतिस्पर्धा गर्न सक्छन् ? के आर्थिक स्थिति सबल हुने महिलाहरूले बजारमा स्व–इच्छा र स्वतन्त्र छनौटको उपयोग गर्न सक्छन्? के बजार लैङ्‌गिक आग्रह र पूर्वाग्रहबाट मुक्त ‘स्पेस’ हो? के वर्चस्वशाली बजार समानता र सामाजिक न्यायको मुद्दाप्रति संवेदनशील छ ?

प्रचुरताको प्रलोभन समृद्धिको बाचा

अमेरिकी अर्थशास्त्रीहरूले ‘फ्रि मार्केट’ अथवा स्वतन्त्र बजारको अवधारणाका पक्षमा उठाएको आवाज नवउदारवादी वैचारिकीबाट प्रभावित छ।हिजोआज ‘ग्लोबल मार्केट’ अथवा वैश्विक बजारको अभ्यास सामान्य बनेको छ, जसमा कच्चा सामान, उत्पादन, बजारको रणनीति, मार्केटिङ टोली र विश्वभरिका उपभोक्तासम्म त्यो उत्पादनलाई कसरी पुर्‍याउने विषयमा अन्तर्राष्ट्रिय टोलीले ठुलो स्तरमा काम गरेको हुन्छ । भूमण्डलीकरणका समयमा जहाँ बाटोघाटो, प्रविधि र यातायात पुगेको छ, त्यहाँ बजारले सामान र सेवा पुर्‌याउन कमी राखेको छैन । झन् डिजिटल प्लेटफार्म र ईकमर्सले राज्यका सीमानालाई नाँघ्दै अन्तर्राष्ट्रियस्तरमा बजारको प्रभुत्वलाई फिँजाएको छ।आज ग्राहकलाई बजार पुग्न पर्दैन किनकि प्रविधिको प्रयोगले बजार मानिसका भान्साकोठा, बाथरूम र शयनकक्षसम्म पुगेको छ । डिजिटल प्रविधिको मद्दतले बजार सर्वव्याप्त छ र ठुला कम्पनीहरूले आफ्ना आकर्षक विज्ञापनका माध्यमबाट उपभोक्ताहरूलाई लोभ्याउँदै उनीहरूको चाहनालाई प्रभावित पारेका छन् । सानो वित्तीय पुँजीबाट सुरूवात गरिएका अनलाइन कम्पनीहरू आज धेरै नाफा कमाएर अन्तर्राष्ट्रियस्तरका कम्पनी बनेका छन् । उदाहरणका लागि सन् १९९४ मा सुरू भएको एमेजोन (Amazon), १९९५ मा सुरु भएको ईबे (eBay), सन् १९९९ मा चीनमा सुरु भएको Alibaba Group र सन् १९९८ मा चीनमै सुरु भएको JD.com नाम मात्र हुन्, जसका विज्ञापनको पहुँच नेपालसम्म छ । अब बजारका सामान किन्न हातमा पैसाको साटो प्लास्टिकका क्रेडिट र डेबिटकार्ड भए पुग्छ ।

प्रविधिको विकासले भौगोलिक दुरीको खाडल पुरेको छ । संसारको जुन कुनामा बसेर पनि ई–बैंकमार्फत सामान किनबेच सम्भव भएको छ।प्राविधिक विकासले लिएको यो फड्को देख्दा प्रश्नहरू उठछन्, के भौगोलिक दुरीको खाडल पुर्ने वित्तीय कारोबारी बजारले असमानता र विभेदको खाडल पनि पुर्न मद्दत गर्‌यो होला त? के लोकतान्त्रिक वित्तीय अभ्यासको दुहाई दिने बजारको सत्ताले महिला मुक्ति, महिला सशक्तीकरण एवम् श्रमिक शोषणका समस्याहरू पनि समाधान गर्‌यो होला त ?

कलाः समोयत्री चटर्जी

हुन त, अन्तर्राष्ट्रिय बजारले देशहरूका सीमाना नाघ्दै गर्दा नेपाल लगायतका अन्य मुलुकमा अझै यस्ता दुर्गम ठाउँ छन्, जहाँ बाटोघाटो पुगेको छैन र त्यहाँका स्थानीयहरूको जीवन आधारभूत आवश्यकता नपाएर दुष्कर बनिरहेको छ । उनीहरू आफ्ना दैनिक रोजमर्राका आवश्यकता पुर्तिका लागि, रोजगारीका लागि, शिक्षाका लागि, स्वास्थ्य उपचारका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । त्यहाँका स्थानीय उब्जनीले बजार नपाउँदा कुहिए नासिएका खबर कहिलेकाहीँ समाचारमा प्रकाशित हुन्छन् । त्यहाँका बासिन्दाले स्थानीय बजारलाई अवसर, रोजगारको सम्भावना, सहज जीवनयापनको सहयोगीका रूपमा बुझ्छन् । उनीहरूका लागि बजारको अर्थ भनेको विकास, प्रचुरता र समृद्धि हुन्छ । त्यहाँको बजार ठुला कम्पनीका बजार भन्दा फरक हुन्छन् । त्यहाँ स्थानीय उत्पादनले ठाउँ पाउँछ र त्यसको आपुर्ति र खपत सानो मात्रामा हुन्छ । बजार त्यहाँ जीवनको आवश्यकता बनेको हुन्छ ।

बजारप्रभुत्व विरूद्ध नारीवादी वैचारिकी

आधुनिक ‘विकास’को अवधारणाले एकातिर लोकतान्त्रिक अभ्यासको जग बलियो बनाउने, गरिबी निवारण र समृद्धिको सपना देखाउँदै थियो भने विश्वका समाजशास्त्री, अर्थशास्त्री, राजनीतिक विश्लेषक, दार्शनिक, चिन्तक र विज्ञहरूले सर्वव्याप्त र शक्तिशाली हुँदै गएको पुँजीवादी व्यवस्थाले आउने दिनहरूमा के कस्ता परिवर्तन ल्याउन सक्छन् भन्नेमा अनुमान गर्न सुरू गरेका थिए । आउने दिनमा पुँजीवादी आर्थिक शक्ति र दलीय, राजनीतिक शक्तिहरू बिच केकस्ता खालका गठबन्धन हुने हो ? पुँजीवादी उपभोक्ता संस्कृतिले आम मानिसको सामाजिक र सांस्कृतिक जीवनशैलीमा के कस्ता परिवर्तन र चुनौती ल्याउने होला ?

पुँजीवादी परिवेशबाट सिर्जित नयाँ ज्ञान, नयाँ वैचारिकी र नयाँ भाष्यले समाजको दृष्टिकोणमा के कस्ता परिवर्तन ल्याउन सक्छ भन्ने विषयमा विभिन्न विचारकहरूले दशकौं अघिदेखि लेख्दै आएका छन् । केही सिद्धान्तकारले पछिल्ला चरणका नवउदारवादी वैचारिकीलाई ऐतिहासिक चरण भनेर परिभाषित गरे पनि नवउदारवादले राज्यका राजनीतिक प्रक्रियाहरू, कार्यशैलीहरू, वैचारिकी, ज्ञान उत्पादनका स्रोतहरू, महत्त्वपूर्ण संस्थाहरूलाई पुँजीवादी व्यवस्थाको अगाडि घुँडा टेकाउन सहयोग गरेको तर्क गरेका छन् । उनीहरूले वर्तमान समयमा बढदै गएको जलवायु सङ्‌कट, गृहयुद्ध, हिंसात्मक द्वन्द्व, राज्यको अधिनायकवादी प्रवृत्तिदेखि अतिवाद एवम् खस्किँदो अर्थतन्त्रको कारक समेत पुँजीवादलाई ठान्ने गरेका छन् ।

धेरै सैद्धान्तिक विचारकहरूले प्रभुत्व र प्रभावका बारेमा लेखेका छन् । कार्ल मार्क्सले राजनीतिक अर्थशास्त्रको विश्लेषण गर्दै श्रमजीवि वर्गको शोषणबाट नै पुँजीवादको विकास भएको हो भन्ने तर्क गरेका छन् र अहिलेको उपभोक्ता संस्कृतिले त्यो शोषणलाई निरन्तरता दिएको छ । यसबाहेक ग्राम्स्कीको साँस्कृतिक प्रभुत्व (Cultural Hegemony)) को अवधारणा तथा फ्रैंकफर्ट स्कुलका थियोडोर एडोर्नो, मार्क्स होर्कहेइमर र हर्बर्ट मार्कुसजस्ता विचारकले उपभोक्ता संस्कृतिबारे गरेको आलोचनात्मक विश्लेषणलाई लिन सकिन्छ । मार्कुसको तर्कअनुसार पुँजीवादी उपभोक्ता संस्कृतिले निर्माण गरेका अनन्त ‘चाहना’हरूले बजारका वस्तुको उपभोगबाट क्षणिक आनन्द दिए पनि अन्ततः उपभोक्तालाई अलगाव र असन्तुष्टितिर डोर्‌याउँछ । त्यस्तै, बजारको वर्चस्व बुझ्नका लागि सामाजिकीकरणको सिद्धान्त (Socializing Theory) र उत्तर–औपनिवेशिक सिद्धान्त (Post-colonial Theory) पनि सहायक हुन्छ।

जुनसुकै सिद्धान्तबाट बजारको सत्तालाई विवेचना गरे पनि बजारको सत्ता र लैङ्‌गिक उत्पीडनको अन्तर्सम्बन्ध बुझ्नका लागि नारीवादी दृष्टिकोण उचित हुन्छ।सन् १९६०–७०को दशकदेखि नारीवादी सिद्धान्तकार र विज्ञहरूले बजारलाई पुरूषसत्ता र पुँजीवादको गठबन्धनका रूपमा परिभाषित गर्दे आएका छन् । वर्तमान अवस्थामा बजारसित जोडिएका दुईटा महत्त्वपूर्ण अवधारणा छन्— पहिलो, जेजस्तो स्थितिमा पनि नाफा र दोस्रो, श्रमको शोषण । बजारलाई नियन्त्रण गर्ने नियमहरू, बजारको विश्वासका कुरा, बजारमाथि राज्यको नियन्त्रण र अनुशासन एवम् टैक्सजस्ता शब्दावलीले बजारलाई निर्देशित र नियन्त्रित गरे पनि अन्ततः बजारको मुख्य लक्ष्य फाइदा हो । तसर्थ, पुँजीवादी प्रतिस्पर्धामा जोसित बढी शक्ति र स्रोत हुन्छ, बजारलाई उसले नियन्त्रण  गर्छ । यहाँसम्म कि बजारको सत्ताले देशको राजनीतिलाई पनि प्रभावित पारेको हुन्छ ।

आजभन्दा छ दशकअघि अमेरिकी लेखक बेट्टी फ्रिडनले पुरूषसत्ता र पुँजीवादी गठबन्धनले अमेरिकी महिलामाथि गरेको शोषणबारे लेखिन् ।  दोस्रो विश्वयुद्धका दौरान महिलाहरू घर बाहिर निस्केर काम गर्न थालेका थिए तर युद्धको अन्त लगत्तै महिलाहरूलाई घरभित्र सीमित गराइयो । सन् १९५० र ६०को दशकमा कसरी अमेरिकी पुरूषसत्ताले ‘नारित्व रहस्य’ को बिम्बलाई स्थायी बनायो भन्ने विषयमा फ्रिडनले आफ्नो कृतिमा लेखिन्।अमेरिकी महिलालाई कसरी घरायसी घेराभित्र बन्धक बनाइयो र बजारका विज्ञापनले ‘महिलाको खुसी र सन्तुष्टि बजारूवस्तुको उपभोगमा निर्भर छ’ भन्ने खालको भ्रम कसरी सिर्जना गर्‌यो भन्नेबारे उनले विश्लेषण गरिन् । विज्ञापन एउटा दरिलो संयन्त्र हो, जसले बजारलाई गतिशील राख्छ र उत्पादन खपतमा सघाउ पुर्‌याउँछ । फ्रिडनले विज्ञापनको दृश्य र भाष्यले निर्माण गरेका ‘आदर्श’ गृहणी र आमाको भूमिकाको आलोचना गर्दै ती भाष्यले लैङ्‌गिक असमानता बढाएको भनेर आलोचना गरिन्।भान्साका उपकरण, सरसफाइका सामान, घरायसी समानहरूसँग सन्तुष्ट महिलाको चित्रणले पारम्परिक लैङ्‌गिक भूमिकालाई सुदृढ गर्दा पुरूष सत्तालाई सघाउ पुग्छ । बजारको सत्ताले श्रमिक महिलाको शोषण गरेको, यौनिकताको आधारमा गरिने विभेद, यौन दुर्व्यवहार, स्वास्थ्यलाई हानीकारक हुने तरिकाले काम गराएको, आवश्यक सुविधाबाट वञ्चित गराएको विषयबारे नारीवादीहरूले आवाज उठाए ।

त्यस्तै, सन् १९७०मा क्यानेडियन–अमेरिकन नारीवादी लेखक सुलामिथ फायरस्टोनको कृति ‘द डायलेक्टिक अफसेक्स’ को मुख्य विषय लैङ्‌गिकता भए पनि उनले पुरूषसत्ताबाट सञ्चालित बजार र पुँजीवादी लहरोमा फस्टाएको लैङ्‌गिक श्रम शोषणलाई पनि समेटिन्।फायर स्टोनका अनुसार उपभोक्ता संस्कृतिले (अमरिकी) महिलालाई वस्तुका रूपमा परिभाषित गरेको छ । महिलाहरूको श्रम, ज्ञान, सम्भावित मानवीय क्षमता र योगदानलाई बेवास्ता गरेको छ ।पुरूषसत्तात्मक धरातलमा ठडिएको पुँजीवादी बजारमा महिलाको प्रजनन्‌श्रम, घरायसी श्रम, आफन्त र परिवारको खटनमा निरन्तर खर्चिने श्रमको अवमूल्यन हुन्छ । उनी लेख्छिन्, पुँजीवादी व्यवस्थाको  पारिवारिक एकाइभित्र महिलाको अवैतनिक घरेलु श्रम शोषण हुन्छ र पुँजीवादी उपभोक्ता संस्कृतिले लैङ्‌गिक उत्पीडन प्रणालीलाई थप बढावा दिएको छ । ७० देखि ८०का दशकमा बन्ने बजारका विज्ञापनहरूको प्रस्तुतिमा केही फरक आए पनि उद्देश्यमा फरक देखिएन । बजारका विज्ञापनले महिलाहरूमा विभिन्न खालका खामी वा कमीहरू (lack) देखाएर त्यसको परिपुर्तिको बाचा आज पनि गरिरहेका छन् ।

बजारका वस्तु सामाजिक सफलता    

एकातिर नारीवादी आन्दोलनले लैङ्‌गिक असमानता र विभेद विरूद्ध वर्षौदेखि आन्दोलन गरेको छ भनें अर्कोतिर बजारको सत्ता त्यसलाई विफल बनाउन प्रयत्नशील छ । बढी मात्रामा समान उत्पादन गर्ने र ती उत्पादनको खपतका लागि कपटपूर्ण आकर्षक रणनीति बनाउने क्रममा लैङ्‌गिकताका आकर्षक कथाहरू बनाइन्छ । नारित्वका आदर्शहरू र सुन्दरताका प्रतिमानहरूको निर्माण हुन्छ । सामाजिक सफलताको लागि, प्रभावशाली व्यक्तित्वका लागि बजारका वस्तुहरू अति आवश्यक छन् भन्ने खालका विज्ञापनहरू बनाइएका हुन्छन् । सफलता र सुन्दरताका काल्पनिक मापदण्डहरूले उपभोक्ताहरूमा अनन्त रहरहरू जागृत गर्ने र त्यसै क्रममा पारम्परिक लैंङ्‌गिक भूमिका, लैंङ्‌गिक स्टिरियोटाइप, पुरूषसत्ताले निर्माण गरेका लैंङ्‌गिक दायित्य, कर्तव्य र अपेक्षाहरूलाई स्थायित्व दिन सघाउ पुर्‌याएको छ । लैंङ्‌गिक  समानताका लागि जति आन्दोलन गरे पनि वर्चस्वशाली बजारका ती आदर्श र अप्राप्य सौन्दर्यका मापदण्डले महिलालाई उपभोक्ता संस्कृतिको पासोमा राख्छ । अहिले आएर दक्षिण एसियाका अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि विज्ञापनमार्फत महिलाहरूको वस्तुकरण कसरी हुन्छ भन्नेबारे केही सजगता बढेको छ । साथै बजारले निर्माण गरेका दृश्य, भाष्य र अन्तर्निहित सन्देशबारे, मार्केटिङद्वारा प्रवर्धन गरिएका लैंङ्‌गिक पूर्वाग्रह र पुंसत्व भ्रमका साथै उपभोक्ता जागरूकता र पुरूषवादी विचारधाराको विघटनबारे बेला बेला मूलधारका पत्रिकामा लेखहरू छापिएका छन् ।

विश्वमा छाएको वातावरणीय सङ्‌कट, प्रकृति विनाश, कृषिमा बढदै गएको ह्रास र जीवजन्तुको लोपमा पनि पुँजीवादी प्रणालीको हात रहे पनि त्यसलाई पूर्ण रूपले नियन्त्रण गर्न सकिएको छैन । भारतीय वातावरण अभियन्ता र नारीवादी चिन्तक वन्दना शिवाको भनाइअनुसार पुँजीवादी कृषि बजारले प्रकृतिको दिगोपनभन्दा नाफालाई महत्त्व दिन्छ । वर्तमान समयमा देखिएका प्राकृतिक स्रोतको कमी, बढदो प्रदूषण, जैविक विविधताको विनाश, किसानसित हुने बिउ सार्वभौमिकताको अन्त, किसान र उपभोक्ताको शोषण, लैंङ्‌गिक असमानता र प्राकृतिक स्रोत दोहनका लागि पुँजीवादी बजार दोषी छ। शिवाले आफ्ना विभिन्न लेखहरूमा पुँजीवादी व्यवस्थाले गरेको महिलाको शरीरमाथिको राजनीतिक र आर्थिक नियन्त्रण एवम् किसान महिलाहरूका समस्याको उठान गरिन्।वित्तीय व्यवस्थाको अर्थतन्त्रमा महिलाको घरायसी श्रम लुकाइएको हुन्छ तर त्यस श्रमको उल्लेख नगर्नु पनि श्रमको शोषण हो।आजको दिनमा पनि विकसित देशका महिलाको घरेलु श्रमलाई जिडिपी उत्पादनमा गणना गरिँदैन।जिडिपीले देशको सीमानाभित्र उत्पादन गरेका सबै वस्तु र सेवाको कुल मौद्रिक मूल्य मापन गर्छ र वित्तीय क्रियाकलाप र आय-व्ययको हिसाब गर्छ । तर घरेलु श्रममा मौद्रिक लेनदेन नभएकाले श्रम र सेवालाई गणना गरिन्न । त्यसरी नै राष्ट्रिय जनगणनाको तथ्याङ्‌कमा पनि घरेलु श्रमलाई समावेश गरिँदैन । वास्तवमा जे काममा समय लाग्छ र श्रम खर्च हुन्छ, त्यसलाई श्रम मान्नुपर्ने हो, तर नेपालमा पनि घरायसी श्रमलाई कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गणना गरिन्न, जुन श्रमको शोषण हो । बजारलाई विभिन्न विद्वान्ले फरक फरक ढङ्गले परिभाषित गरे पनि बजारले हाम्रो जीवनको हरेक पक्षलाई प्रभावित पार्ने यथार्थलाई नकार्न सकिन्न । पुँजीवादी उपभोक्ता संस्कृतिले आजको दिनमा व्यक्तिको विषयगत (Subjective) र सामाजिक परिचय निर्माण गर्छ । कुन व्यक्तिले कुन ब्रान्डको लुगा, जुत्ता र पर्फ्युम लगाउँछ ! कुन् रेस्टुरेन्टमा गएर कस्तो खाना खान्छ ! कस्तो गाडी चढ्छ ! कस्तो स्कुलमा बच्चाहरूको शिक्षा दिक्षा गर्छ जस्ता कुराले उसको सार्वजनिक छवि बनाउन थालेको छ । कुन नायिकाले आफ्नो बिहेमा कति महँगो साडी लगाई जस्ता कुरा पत्रिकाका पानामा ठूला शीर्षकमा छापिन्छ । ‘कुन सार्वजनिक छवि भएको महिलाले कस्तो लुगा लगाइन्, कस्तो व्याग बोकिन्, कस्तो गहना लगाइन्,’ ‘कुन नायिका आफ्नो केश विन्यासका लागि कुन पार्लर जान्छिन्, ‘उनको नेल आर्टिस्टको नाम के हो’ जस्ता जानकारीलाई पत्रिकाले महत्त्व दिएर छापेको हुन्छ । त्यही विवरणले गहना पसल, व्युटीपार्लर र नेलआर्टिस्टको परिचय बन्छ । यस्ता अनावश्यक जानकारीहरू र अनावश्यक रहरहरूलाई आवश्यकता बनाउने शक्ति विज्ञापनमा हुन्छ । फैसन पत्रिकाका चिल्ला पानाहरूमा छापिएका रहरलाग्दा सामानका विज्ञापन थाह नपाउँदै उपभोक्ताको सार्वजनिक छविका लागि अति आवश्यक वस्तु बन्न पुग्छ । तर, बजारले निर्माण गरेका ती असीमित रहरहरू जति किन्दा पनि अतृप्त नै रहन्छन् । अतृप्त रहरहरू बोकेका पुँजीवादी उपभोक्ताहरू आत्मसन्तुष्टिको खोजमा भौतारिँदै अरू समानहरू किन्नेतिर लाग्छन् । यो असीमित रहरहरूको संक्रमण नेपालजस्ता देशमा पनि बढदै गएको छ । बजारको सत्ताले निर्माण गरेका ती रहरहरूले मानिसको आर्थिक सीमितताको उपहास गर्छ । अझ सुन्दर हुने, अझ दुब्लो हुने, अझ युवा हुने, अझ पैसा कमाउने रहरले मानिसलाई असन्तोषी बनाएर उपभोकका वस्तुमा अल्मलाइरहन्छ ।

कलाः समोयत्री चटर्जी

 

फेमर्टाइजिङ्को आवरणमा भ्रमजाल  

लैङ्‌गिक समानता र सामाजिक न्यायको चाहना लिएर विकसित नारीवादी सचेतना र विचारलाई बजारले ‘कोअप्ट’ गरेर विनियोजित (Appropriated) गर्दै लगेको तथ्य जग जाहेर छ।ठुला ब्रान्डले ‘कोअप्ट’ गरेको नारीवादको नयाँ स्वरूप फेमर्टाइजिङ (Fmvertising) हो, जहाँ उत्पादित ब्रान्डका सामानहरूमा लैङ्‌गिक समानता र सामाजिक न्यायका नारा सुसज्जित हुन्छन् । उदाहरणका लागि The Future is Female/ Girl Power / We should All be Feminists / I will Do What I want/ A New way of Fixing Women आदि।महिलाका टिसर्ट, ब्याग र ह्याटहरूमा छापिएका यस्ता नारा लेखिएका लुगाफाटाहरू काठमाडौँका मलहरूमा सहजै देख्न पाइन्छ । ती सामान कहाँ उत्पादन गरिएका हुन् ? उत्पादन क्रममा श्रमिक शोषण र बाल श्रमिक शोषण भयो वा भएन, पर्यावरणलाई क्षति गरियो वा गरिएन जस्ता तहगत समस्याबारे थाहा पाउने आधार हुँदैन तर सामानमा छापिएका नाराहरूले यस्ता भ्रम सिर्जना गर्छन्, मानौं पसलमा झुन्डिएका ती सामान किन्दैमा लैङ्‌गिक समानता कायम भइहाल्छ । मानौं, ती नारा लेखिएका वस्तु किन्दैमा उपभोक्ताले सामाजिक विभेद र लैङ्गिक असमानताका विरूद्धमा ठूलै क्रान्ति गरेर विजय प्राप्त गरिहाल्छ । नारीवादी बयानबाजी अङ्कित सामानको उपयोग गर्न पाउँदा क्रेताले आफूलाई ठुलै क्रान्तिकारीका रूपमा उभ्याउने मौका समेत पाउँछ ।

बजारको नारीवादी बजायनबाजी केवल उपभोक्ता संस्कृतिको रणनीति हो । बजारका ठुला ब्रान्डले आफ्ना उत्पादन खपतका लागि नारीवादी चेतनाको पुँजीकरण सुरू गरे । नारीवादी नारालाई  ‘म्यानिपुलेट’ गर्दै हानीकारक सौन्दर्य सामग्री र फैसनमार्फत  महिला मुक्तिको भ्रम निर्माण गर्न थाले । त्यसैले फेमर्टाइजिङ नारी मुक्तिको आकर्षक भ्रम मात्र हो, जसले पुँजीवादी बजार व्यवस्थालाई थप धनी बनाउन मद्दत गर्छ । यस विषयमा आहुतिले “विभिन्न प्रवृत्तिका नारीवाद अन्ततः पुँजीवादी व्यवस्थाभित्र नै बढीमा सुधार खोज्ने प्रवृत्तिबाहेक अरू केही होइनन्” भनेका छन् (पृ.९८) ।

स्लोवाकियाकी व्यापार उद्योग व्यवस्थापक, अनुभवी ब्रान्ड म्यानेजर र अन्तर्राष्ट्रिय बजार एवम् उपभोक्ता व्यवहारकी विज्ञ डा.अन्ना टोरोकको तर्क यसको विपरीत छ । आफूले गरेको मेक्सिको र हङ्‌गेरी देशको उपभोक्ता बजारको अध्ययन र अनुसन्धानका आधारमा टोरोक दावी गर्छिन्— फेमर्टाइजिङले पारम्परिक लैङ्‌गिक भूमिका र अपेक्षाहरूलाई चुनौती दिएर महिला सशक्तीकरणको अभियानलाई सघाउ पुर्‌याएको छ ।  टोरोकोको अनुसार, महिलालाई आर्थिक रूपमा सबल बनाउने, स्व–अस्तित्वप्रतिजागरूकबनाउने र लैङ्‌गिक समानता प्रवर्धन गर्नका लागि फेमर्टाइजिङ प्रभावकारी तरिका हो । उनको अनुसन्धानको परिणाम अनुसार विज्ञापनले महिलाका सामाजिक उपलब्धिहरूलाई स्विकारेको छ । सकारात्मक शरीर (Body positivity) को अवधारणालाई प्रवर्धन गरेको छ । महिलाका क्षमताको सकारात्मक संप्रेषण गरेको छ । र, फेमर्टाइजिङले महिलालाई फरक–फरक भूमिकामा र फरक सेटिङमा देखाएर महिलाका विविध क्षमताको प्रचार गरेको छ।यसो भन्दैमा सचेत र शिक्षित जनतालाई विज्ञापनको भ्रममा सजिलै भुलाउन सकिन्न।र, विज्ञापनको दीर्घकालीन प्रभावलाई पनि सहजै नकार्न सकिन्न । तर, विज्ञापनको अन्तर्निहित उद्देश्यबारे नेपालमा पर्याप्त विवेचना गरिएको पाइँदैन ।

नेपालमा बनेका विज्ञापनले उपभोक्ता संस्कृतिमा केकस्ता सकारात्मक वा नकारात्मक परिवर्तन ल्यायो भन्ने विषयबारे तुलनात्मक अनुसन्धानको आवश्यकता रहेको छ । प्रश्न उठछ—अन्तर्राष्ट्रिय कम्पनीहरू, जो आफ्ना सामान नेपाली बजारमा बेच्न ल्याउँछन्, के उनीहरूले नेपाली उपभोक्ताका आवश्यकता बुझेका छन् ? के उनीहरूले उपभोक्तालाई चाहिने सामान ल्याएका हुन्छन् ? अथवा बजारसत्ताले तयार पारिएका रहरहरूलाई बेच्न उनीहरू संसारभरि चलायमान रहन्छन् ? जिरो फिगर बनाउने रहर, सधैँ युवा रहने रहर, फेस–लिफ्ट, टमी–टक र अन्य नानाथरीका प्लास्टिक सर्जरी गर्ने रहरहरू के नेपाली उपभोक्ताका आवश्कता थिए? लैङ्‌गिक मुक्तिका लागि सङ्‌घर्षरत, विशेष गरेर युवा समूहमाथि दोहरो दायित्व थपिएको छ… बजारका असीमित चाहनाहरूका चाङबाट कसरी मुक्त हुने ?

मायावी बजारका बिकाउ मुक्तिको सपना

केही दशकअघि बजारले महिलाको, शरीरको वस्तुकरण गरेको थियो तर वर्तमान बजारसत्ताले महिलाको शरीरलाई पुँजीमा परिणत गरेको छ । ‘फलाना’ले प्लास्टिक सर्जरी गरे उपरान्त मनोरञ्जन क्षेत्रमा बढी काम पाएका जस्ता जानकारीले व्यवसायिक सफलताका लागि प्लास्टिक सर्जरी आवश्यक छ जस्ता भाष्य प्रसारित गरिएको हुन्छ । बजारले निर्माण गरेका सुन्दरताका मापदण्डलाई अङ्‌गीकृत गर्दा व्यक्तिले सामाजिक सफलता, स्वतन्त्रता, सन्तुष्टि र खुसी सबै प्राप्त गर्छ जस्ता भाष्यले गर्दा नेपालको मनोरञ्जन क्षेत्रमा पनि विभिन्न खालका सौन्दर्य सर्जरी बढ्दै गएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको छेउछाउ र चाडपर्वको अवसरतिर महिलालाई लक्षित गरेर बनाइएका विज्ञापनहरू भरमार देखिन्छन् । उपभोक्ताको ध्यानाकर्षणका लागि तछाडमछाड गर्दै विज्ञापनहरूमा भारी “छुट” गरेको जानकारीको प्रतिस्पर्धा देख्न पाइन्छ।“पुँजीवादको मुख्यसांस्कृतिक अभिव्यक्ति हो, उपभोगको महत्वमा जोड । कुनै व्यक्तिले पैसा मात्र कमाउँछ तर खर्च गर्दैन भने उसलाई पुँजीवादी संसारको असल नागरिक मान्न सकिँदैन (उप्रेती, १८१) । नारीवादी अभियानको बढ्दो प्रभाव देखेर हो वा महिलामा बढ्दै गरेको आर्थिक सबलता देखेर हो, भान्साका सामान, सौन्दर्य प्रसाधनका सामान, सारी र गहनाहरूका वस्तुसँगै नारी आत्मनिर्भरता, सुन्दरता र सशक्तीकरणका सन्देश जोडेर तयार पारिएका विज्ञापनहरू खोज्नै पर्दैन । ती मोबाइलका सन्देशमा, मूलधार पत्रिकाका अगाडिका पानामा, बजारमा ठडिएका होर्डिङ्ग बोर्डमा जताततै भेटिन्छन् । छुटमा रहेका सामान किन्ने एक प्रकारको मनोवैज्ञानिक दबाबजस्तो अनुभूत हुन थाल्छ । सामन्ती पुरूषसत्तात्मक स्वरूप बिस्तारै पुँजीवादी पुरूषसत्तामा परिवर्तित हुँदै जाँदा पुँजीवादी बजारू सत्ताले निर्माण गरेका मनोवैज्ञानिक दबाबको प्रभावबारे अझै पर्याप्त सजगता छैन ।

नेपालमा भित्रिएको अन्तर्राष्ट्रिय कम्पनी डव साबुन र लोसन कम्पनीले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफ्नो सामानको विज्ञापनमा नेपाली (कर्पोरेट) महिलाहरूलाई समावेश गर्छ । ती विज्ञापनमा व्यवसायिक क्षेत्रमा महिलाको सफलता, सशक्तीकरण र सकारात्मक शरीर (Body positivity)को सन्देश राखेर आफ्नो समान (साबुन र लोसन)को प्रवर्धन गर्छ । आर्थिकरूपले सबल नारीहरूको मुक्तिको उत्सव मनाउने डब कम्पनीको अभिभावक कम्पनी युनीलिवरले, अर्कोतिर, महिलाको अनुहार गोरो बनाउने क्रिम बेच्दा गोरोपनलाई सौन्दर्यको मानकको रूपमा पनि स्थापित गरिरहेको हुन्छ, जुन मानकले विभेदलाई बढावा दिन्छ । यसरी बजारी सत्ताले एकातिर सामाजिक न्यायका अभियानमा प्रतिबद्धता जाहेर गरेरजस्तो गरेर, सीमान्तकृत वर्गको उत्थानमा प्रयत्नरत जस्तो  देखाएर, लैङ्‌गिक सशक्तीकरणको अभियानमा सहभागिता जनाउँदै अर्कोतिर शरीरको मापदण्ड, सौन्दर्यको मापदण्ड, सामाजिक सफलताको मापदण्ड, आत्मसन्तुष्टि र खुसीको मापदण्डहरू उपभोक्ताहरूमाथि लादेको थाहसम्म हुँदैन। ती अप्राप्य मापदण्डहरूले दिने मानसिक दबाब, मनोवैज्ञानिक दबाब, आर्थिक दबाबले कसरी मानिसलाई प्रभाव पारेकाबारे हामीले त्यति ध्यान दिएका छैनौँ ।

२०औं शताब्दीको सुरुवाती चरणदेखि उदाएको नवउदारवादी पुँजीवादले प्रगतिशील सामाजिक आन्दोलनहरू र उद्देश्यहरूलाई ‘कोअप्ट’ गर्दै गएको चिन्ता नयाँ होइन।नवउदारवादी वैचारिकीलाई एउटा आरोप के छ भने यसले संरचनात्मक विभेद र उत्पीडन निराकरणलाई सम्बोधन नगरी क्षणिक समाधानमा सीमित हुन्छ । यसले संरचनात्मक असमानताको बेवास्ता त गर्छ नै साथै पुँजीवादबाट सिर्जित असमानता र शोषणलाई समेत बेवास्ता गर्छ । हावा र पानी समेत बेच्न सक्ने बजारले महिलामुक्ति र महिला सशक्तीकरणका अभियानहरू ‘अप्रोप्रिएट’गर्दै आएको छ । ती अभियानको वस्तुकरण हुँदा ती विरोधका आवाजहरू अराजनीतिक (depolitical) बन्न पुग्छन् । बजारको सत्ता जता नाफा देखिन्छ त्यतै मोडिन्छ र जेले नाफा दिन्छ त्यही बेच्न राख्छ । तर, उत्पीडन र विभेदमुक्त समाजको नाराको वस्तुकरण गर्ने त्यही बजारले पुरूषले प्रयोग गर्ने समानहरूमा सामाजिक न्यायका नारा र लैङ्गिक समानताका नारा सुर्किन बिर्सन्छ । उदाहरणका लागि, रक्सीको बोतलमा घरेलु हिंसा निवारणको नारा हुँदैन । मोटरसाइकलको विज्ञापनमा यौन हिंसा निराकरणको नारा हुँदैन । आफ्टरसेव, दारी काट्ने रेजर, सुट, टोपीहरू, रोलेक्स घडीका विज्ञापनमा यौन दुव्र्यवहार, घरायसी काममा समान सहभागिता, महिलालाई सम्मान, महिलालाई समान ज्याला र आमाको नाममा नागरिकता दिने जस्ता गम्भिर विषयहरू समेटिएका हुँदैनन् । सोच्ने विषय के हो भने यदी पुँजीवादी बजार साँँच्चै सामाजिक न्यायका मुद्दा र लैङ्गिक समानताका विषयमा प्रतिबद्ध छ भने घरेलु हिंसा, सार्वजनिक स्थलमा हिंसा र दुव्र्यवहार, यौन दुर्व्यवहार, बाल श्रम शोषण, घरेलु श्रम शोषण र जाति, वर्ग र धर्मका आधारमा गरिने विभेदका विषयलाई पनि सार्वजनिक ठाउँमा ठडिएका विज्ञापनहरू र होर्डिङ बोर्डहरूमा ठाउँ दिन्थ्यो होला !

नारीवादकी प्रवर्तक शेरिल स्यान्डवर्गले कार्पोरट क्षेत्र र व्यवसायिक बजारलाई लैङ्‌गिक  समानता र नारीमुक्तिको सम्भावित ‘स्पेस’ का रूपमा परिभाषित गर्दै आएकी छिन् (Lean In, 2013) । उनको दावी छ, वर्तमान समयमा व्यक्तिगत लगनशीलता, मिहेनत र प्रतिस्पर्धाले नारीहरूले आफूलाई लैङ्‌गिक उत्पीडनबाट मुक्त गराउन सक्छन् । उनी व्यक्तिगत व्यवसायिक सफलताको श्रेय लगनशीलता र प्रतिस्पर्धा गर्ने आँटलाई दिन्छिन् । तर उनी, मुख्य समस्या संरचनात्मक विभेद र सामाजिक एवम् सांस्कृतिक अवरोधहरूलाई सम्बोधन गर्दिनन् । अमेरिकी कार्पोरेट क्षेत्रमा लोकप्रिय र प्रेरक व्यक्तित्वका नाममा परिचित स्यान्डवर्गले एकातिर समाजका विभेदीय संरचनाका हाँगाबिँगालाई बिर्सिन्छिन् भने अर्कातिर लैङ्‌गिक उत्पीडन र शोषणबाट मुक्त हुने सम्पूर्ण दायित्व महिलाकै लगनशीलता र प्रतिस्पर्धाको परिणाम हो भन्नेमा विश्वास गर्छिन् । मानौं, लगनशीलता र प्रतिस्पर्धात्मक उर्जाको अभावले गर्दा नै लैङ्‌गिक उत्पीडन र शोषणले शताब्दियौंदेखि निरन्तरता पाएको छ ।

प्रविधिले फड्को मारेपछि, नारीवादी आन्दोलनले (लगभग २०१० देखि) चौथो लहरमा प्रवेश गरेको छ भनेर भनिन्छ । प्रविधिको माध्यमबाट संसारका जुनसुकै कुनामा रहेका व्यक्तिले पनि सामाजिक सञ्जाल मार्फत जानकारी पाउने र सामाजिक न्यायका विषयमा एकजुट भएर आवाज उठाउने भएका छन् । Girl Boss भन्ने समूह पनि त्यही चौथो नारीवादी आन्दोलनको एउटा स्वरूप हो, जसमा युवतीहरूले लैङ्‌गिक  समानताका पक्षमा आवाज उठाउँछन् ।

प्रविधि प्रयोगले गर्दा नेपालमा पनि चौथो लहरको नारीवादी सचेतनाको प्रभाव बढदै गएको आभास हुन्छ । कोभिड भन्दा दुई वर्ष जति अघिको कुरा हो—सामाजिक सञ्जाल (ट्विटरमा) पोस्ट भएको एउटा फोटोले बहसको माहौल बनाएको थियो।काठमाडौँको सडकमा गुडेको एउटा मोटरसाइकलको पछाडि बसेकी कुनै महिलाले लगाएको ब्लाउजको डिजाइनले गर्दा सामाजिक सञ्जाल तताइएको थियो । फोटो खिच्ने व्यक्तिले एउटा नकारात्मक टिप्पणीसहित त्यो महिलाको ढाड उदाङ्‌गो भएको फोटो पोस्ट गर्‌यो । अनुहार नदेखिएकी त्यो महिलाको फोटोले अति निकृष्ट, अपमानित गर्ने आसयका निम्नस्तरीय गालीहरूको बाढी ल्यायो । फोटोबारे पुरूष ट्विटर प्रयोगकर्ताले लेखेका केही कमेन्टहरू यस प्रकार थिए—‘महिला स्वतन्त्रताले निम्त्याएको अश्लीलता,’ ‘चारित्रिक पतन,’ ‘सामाजिक विकृति,’ ‘स्वतन्त्रताको नाममा नग्नता,’ ‘नाङ्‌गिने नारीवाद,’ ‘पश्चिमी सभ्यताको अतिक्रमण,’ ‘बजारू आइमाई’।त्यसको प्रत्युत्तरमा आक्रोशित युवती र महिलाहरूले ‘मेरो शरीर, मेरो अधिकार’ का कुरादेखि ‘मेरो रोजाइ, मेरो अधिकार’ र ‘I can have it all ’लेख्दै आफ्ना उदाङ्‌गो ढाडका फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गर्नथाले।एकातिर सामाजिक सञ्जालमा शिक्षित युवाहरूका विषाक्त पुरूषसत्तात्मक मानसिकता र अर्कोतिर लैङ्‌गिक समानताका पक्षधरहरूको आक्रोशित प्रत्युत्तर स्व–इच्छा र स्व–छनौटको अधिकारमा सीमित रहेको कुरा ! दुवै चिन्ताको विषय थियो।हुनत, सामाजिक सञ्जालमा घनिभूत छलफलको अपेक्षा गर्नुहुन्न तर महिलाको शरीर र यौनिकतालाई नियन्त्रण गर्ने पितृसत्तात्मक प्रवृत्तिको पुनरावृति शिक्षित युवामा देख्दा अझ कति वर्ष आन्दोलन गर्नुपर्ने हो भन्ने लाग्यो । र, साथै, लामो समयदेखि प्रणालीगत विभेदीय धरातलको यथार्थ बुझेर, दमन, शोषणका कारक तत्वहरु विरूद्ध आन्दोलन गर्दै आएका नारीवादी आन्दोलन वर्तमान समयमा आएर व्यक्तिगत छनौट, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत सशक्तीकरणमा खुम्चिनु अर्को चिन्ताको विषय थियो । नारीवादको “सामूहिक आन्दोलन र चिन्तन सामाजिक दायित्वबाट पन्छिएर व्यक्तिगत रोजाइका विषय हुन थालेपछि नारीवादी सामूहिक अभियानमा गतिरोध” हुँदा मुक्तिको कुरा ओझेलमा पर्छ (थापा, २०७७) ।

केही प्रगतिशील र सामाजिक न्यायका तत्त्वहरूलाई समावेश गरे पनि नवउदारवादले पुरूषसत्ताका अन्तर्निहित संरचनालाई सम्बोधन गर्दैन । व्यक्तिगत छनौट र स्वतन्त्रताका आडमा नवउदारवादले मानिसका आधारभूत आवश्यकता जस्तै शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न प्रोत्साहित गरेको छ । आय–असमानतालाई झन् बढाएको छ।नवउदारवादी परिदृश्यमा समता र समानतामुखी महिलावादी अभियानहरू “कोअप्ट” र वस्तुकरण हुँदै गएका छन्।समानतार समतामूलक लक्ष्यहरू बजारका बिकाउ सामानमा सुसज्जित हुने सम्ममा सीमित बनेका छन् । उपभोक्तावादी संस्कृतिको पासोमा परेका ती अभियानहरू अन्ततः यथास्थितिवादलाई कायम राख्न प्रयोग गरिँदैछन्  ।

पुँजीवादी परिवेशबाट उदयमान छनौट नारीवाद (Choice Feminism) ले पनि लैङ्‌गिक विभेदमुक्त अधिकारको आह्वान त गर्छ र महिलाले छनौट गर्ने निर्णयलाई नारीवादी उपलब्धि भनेर अथ्र्याउँछ । छनौट नारीवादीहरूको भनाइअनुसार, यौनकर्मी महिलाले पनि यौनकर्मलाई स्व–इच्छाले छनौट गरेका हुन्छन्। तर त्यो इच्छाको पछाडि कस्ता व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक दबाबहरू हुन्छन् एवम् उनीहरूसित अरू विकल्पहरू हुन्छन् वा हुँदैनन् भन्ने विषयबारे छनौट नारीवादीहरू चासो राख्दैनन् किनकि कुनै पनि छनौटलाई प्रभावित पार्ने विभिन्न कारक तत्त्व हुन सक्छन् । कुनै छनौट शुन्यमा हुँदैन । अवरोधक सामाजिक र आर्थिक प्रणालीमा जहाँ उपलब्ध विकल्पहरू र छनौटमा सीमितता हुन्छ र असमानता र विभेद हुन्छ, त्यहाँ लिएका निर्णय र गरेका छनौटलाई स्वतन्त्र छनौट भन्न सकिन्छ र ? बजारी सत्ताको ‘आइडियो लोजिकल’ संयन्त्रबाट निर्मित कृत्रिम रहर पुर्तिका लागि सामान किन्दा उपभोक्ता (महिला) ले गरेको निर्णय र छनौटलाई लैङ्‌गिक उत्पीडनको अन्त मान्न सकिन्न।

नारीवादी उर्जालाई समेटेर डिजाइन गरिएका फेसन पत्रिका, फेसन शोहरू र विज्ञापनहरूको माध्यमबाट उपभोक्ता नारीवाद विकसित भएको छ । बजारको सत्ताले बजारमा गरिने छनौटलाई सशक्तीकरणको आवरणमा ‘महिलाले जे पनि गर्न सक्छन्’को नाराअन्तर्गत रातो लिपिस्टिक र गुलाबी लिपिस्टिकमा छनौट गर्ने, आफ्नो केशलाई रातो, खैरो, कालो, निलो रङको बनाउन निर्णय लिने, चुज पाइन्ट किन्ने वा बेली पाइन्ट किन्ने जस्ता विषयमा छनौट गर्ने वातावरण निर्माण गरेर महिला सशक्तीकरणको भ्रम बनाएको छ । बजारका वस्तुहरूको किनबेच जस्ता गतिविधिले बृहत् सामाजिक न्यायका मुद्दाहरू जस्तै संरचनात्मक विभेद र प्रणालीगत शोषण र दमनमा कुनै प्रकारको हस्तक्षेपकारी भूमिका खेल्दैन ।

तसर्थ, उपभोक्ताको सक्रियताले बजार गतिशील हुन्छ र विज्ञापनले उपभोक्तालाई सामान किन्न आकर्षित गर्छ । तर, पुँजीवादी बजार परोपकारी, लोककल्याणकारी वा तटस्थ हुँदैन ।

सामन्तवादमा पुरूषसत्ताको सामन्तवादी स्वरूप देखिन्थ्यो, शासन गर्ने, दमन गर्ने, उत्पीडन गर्ने मानिस को हुन् र कस्ता हुन् भन्ने थाह हुन्थ्यो । तर, पुँजीवादी पुरूषसत्ता अदृश्यरूपले काम गर्छ । संसारको एउटा कुनामा उत्पादन गरिएको वस्तुबाट नाफा कमाउने व्यक्ति संसारको अर्को कुनामा बसेको हुनसक्छ ।

ऊ अदृश्य हुन्छ । तर बजारमा शोषण चलेकै हुन्छ । बजारको सत्ताले नारीवादी अभियान र उद्देश्यहरूलाई ‘को–अप्ट’ गर्दै पुँजीवादी दमनकारी प्रणालीलाई सघाएको हुन्छ।नयाँ प्रणालीको दमनकारी प्रवृत्ति बुझ्नका लागि पुँजीवादी पुरूषसत्ताको स्वरूपलाई केलाउन पर्ने हुन्छ ।

कलाः समोयत्री चटर्जी

अन्त्यमा

वर्तमान समयमा मानिसको लागि बजार आवश्यक छ । बदलिँदो परिवेशअनुसार मानिसका आवश्यकता बढेका छन् र सबै सामानहरू स्थानीय ठाउँमा उत्पादन गर्न सकिँदैन । बजारले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर पुँजीवादी बजारको स्वरूप बुझ्नका लागि श्रमिकको श्रम शोषण, नारी शरीरको वस्तुकरण, नारित्व आदर्श र सौन्दर्यका निर्मित ‘मिथ’हरू, विभेदकारी लैङ्‌गिक भूमिका र स्टिरियोटाइपहरूलाई स्थायित्व बनाउन कारकहरू, बढ्दो वर्गीय असमानताको खाडलका कारणहरू, उपभोक्तामा बढेको असन्तुष्टि र अतृप्तिहरू, उपभोक्ताको एजेन्सीको वस्तुकरण र ‘म्यानुपुलेसन’, प्रकृति विनाश, जीवजन्तुमाथि भएका हिंसा, पर्यावरण सङ्‌कटका पाटाहरूलाई पनि हेर्नपर्ने हुन्छ । सामन्ती पुरूषसत्ता र पुँजीवादीसत्ता सुदृढ हुनका लागि एक–अर्कामा निर्भर छन्।उपभोक्ता संस्कृतिको विकासलाई प्रचुरता र समृद्धिसित जोडेर तयार पारिएका भ्रमहरूलाई आलोचनात्मक दृष्टिकोणबाट केलाउन आवश्यक छ ।

रेमिटेन्समा आधारित देश नेपालमा बढ्दो उपभोक्ता संस्कृतिले कस्तो प्रभाव पार्दै छ ? निर्यात घट्दै गएको र आयात बढदै गएकामा आर्थिक र वित्तीय स्थितिमा कस्तो परिवर्तन आउँछ ? घर परिवार छाडेर विदेशी भूमिमा पसिना बगाएर जोडेका पैसालाई महँगा ब्रान्डका जुत्ता, चश्मा, ज्याकेट, ब्याग, लुगा लगाएर फर्किंदा वा उपहार ल्याउँदा किन र कसरी व्यक्तिको सम्मान बढ्ने भयो ? के गाउँ, के सहर ! बजारी ‘फ्यान्टसी’ले सबैलाई आर्कर्षित गरेको छ।गाउँपालिकाबाट भर्खर नगरपालिका बनेका ठाउँहरूमा खुल्न थालेका सपिङ मलहरूले रहर बाँड्न थालेका छन् । उपभोक्ताको आवश्यकता भन्दा पनि बढी सामान बेच्न व्यस्त छ पुँजीवादी बजार । बजारको संयन्त्रले उत्पीडनको प्राथमिक संयन्त्रका रूपमा काम गर्छ, जहाँ महिलाको श्रम र शरीर दुवैको वस्तुकरण हुन्छ । पुरूष सत्ताबाट निर्देशित बजारीसत्ताले महिलाको क्षमता, रूप र महत्त्वलाई नाफामा परिणत गर्छ र नाफामूलक उद्देश्यबाट परिचालित भएर हानिकारक सौन्दर्य प्रशाधन, प्लास्टिक सर्जरी, जिरो फिगरजस्ता रहरहरूको अप्रत्यक्ष दबाब सिर्जना गरेर त्यसलाई उपभोक्ताले गरेको छनौटको रूपमा व्याख्या गर्छ । अमेरिकी आलोचनात्मक सिद्धान्तविज्ञ र नारीवादी न्यान्सी फ्रेजरको भनाइअनुसार बजारको सत्ताले लैङ्‌गिक समानता र सामाजिक न्यायका आन्दोलनहरू अपहरण गरेको छ । लैङ्‌गिक समानता र स्वतन्त्रता व्यक्तिगत उपलब्धि र समानताको विषय होइन । यो प्रत्येक महिलाले हरेक खालका शोषण, उत्पीडन र दासताबाट मुक्ति पाउने विषय हो ।

महिला उपभोक्तालाई ‘अप्रोप्रिएट’ नारीवादी नाराबाट लोभ्याउनु बजारको रणनीति हो। बजारू रणनीतिले मानिसको सामाजिक सम्बन्धलाई उत्पादन र उपभोगको बिचको सम्बन्धको रूपमा प्रतिस्थापित गरेको छ । अर्को शब्दमा भन्नु पर्दा बजारको सत्ता एउटा यस्तो अलौकिक शक्तिको रूपमा विकासित हुँदै गएको छ, जसले संसारका सम्पूर्ण समस्याको समाधान वस्तुमा रहेको दावी गर्छ । वृद्धावस्थालाई युवामा फर्काउने, सेतो कपाललाई कालो वा खैरो बनाउने, घुम्रेको कपाललाई सिधा र सिधालाई घुम्रेको बनाउने, श्यामवर्णलाई गोरो बनाउने, भुँडीलाई ‘टक’ गरेर स्याप्प पार्नसक्ने, मोटो नाकलाई पातलो बनाउने, पातलो ओठलाई भरिलो बनाउने, अनुहार आकर्षित बनाउने र उपभोक्ताले चाहेका सबै गर्न सक्ने दावी गर्छ । बजारले माल बिकाउन यस्तो दावी गर्छ, मानौं ती मालमा अलौकिक शक्ति छ । मानौं, मालमा एजेन्सी छ, जसले कमजोरलाई बलियो, दुःखीलाई छिनमा नै सुःखी, सन्तुष्ट र सफल बनाउन सक्छ । बजारको सत्ताले उपभोक्तालाई वस्तु र एजेन्सी दुवै बनाएको छ । बजारमा ठडिएका विज्ञापन बोर्ड र तिनका रङ्‌गीन युवा युवतीका आकृतिले सामूहिक र व्यक्तिगत अवचेतनहरूलाई झनै प्रभाव पार्दै आइरहेका छन् (उप्रेती, १४०) । बजारको सत्तामा महिला सशक्तीकरण र मुक्तिको सम्भावना छ भन्नु अर्को भ्रमको सिर्जना हो । वर्तमान समयमा नारीवादी वैचारिकी बजारमा वस्तुकरण भएर नाफाका लागि प्रयोग गरिनु चिन्ताको विषय हो । वर्चस्वशाली पुँजीवादी बजारसत्ताले गर्दा प्रकृति विनाश र  पर्यावरणीय ह्रास अर्को गम्भिर विषय हो ।

सन्दर्भ सामग्री 

आहुति (२०७९). महिला मुक्तिः नवीन जागरणका चुनौती. अपराजिता पारिजात. महिलामुक्तिको नयाँ वैचारिकी, १/१ (असार) ।

उप्रेती, सञ्जीव (२०७८). सिद्धान्तका कुरा. बुकहिल पब्लिकेसन ।

थापा, अर्चना (२०७७). नारीवादका सबल र दुर्बल पक्ष. भृकुटी. समालोचना एवम् अनुसन्धानात्मक साहित्यिक–सांस्कृतिक सङ्ग्रह, भाग २३, फाल्गुन ।

सुवेदी, विमल कुमार (२०७७). उपभोक्तावादी संस्कृति र नारीवाद. भृकुटी. समालोचना एवम् अनुसन्धानात्मक साहित्यिक–सांस्कृतिक सङ्ग्रह, भाग २३, फाल्गुन ।

Fraser, Nancy (2013). Fortunes of Feminism : From State-Managed Capitalism to Neoliberal Crisis. NYM Verso Books.

Lauri, Johanna (2023). Selling feminist stories : Popular feminism, authenticity and happiness. European Journal of Cultural Studies. Sage Publication .

Coward, Rosalind (1985). Female Desires. : How They Are Sought, Bought and Packaged. UKM Random House.

Murphy, Mary.Packing Political Action : The Hyper Individualism of Commodity Culture.

https.Moj/stchpctcdie/index.php/TrinityWomens Review/article/view/2055/599

Author

  • अर्चना थापा

    लेखक, प्रकाशक तथा स्वतन्त्र अध्येता अर्चना थापा (पिएचडी) नाट्य कलाकार, सांस्कृतिक समालोचक तथा सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँको कठपुतला कथासङ्ग्रह प्रकाशित छ । हाल उहाँ उपन्यासमा काम गर्दै हुनुहुन्छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के