Asmita Magazine

#

हलोको डोबबाट सङ्‌घर्षको सुरुवात : गङ्‌गु खडायत

नेपाली समाजमा महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका निम्ति गङ्‌गु खडायतलाई एक उदाहरणीय व्यक्तित्वका रूपमा लिन सकिन्छ । व्यक्तिगत पीडाका अनेकन चरणहरूबाट माथि उठेर महिला विरुद्ध रहेका समाजका रुढिग्रस्त परम्परालाई हाँक दिँदै नेतृत्वदायी भूमिकासम्म आउँदाको उनको जीवन सङ्‌घर्ष धेरैका लागि ऊर्जाको मूल बनिसकेको छ । सामान्य कामदारदेखि बझाङ जिल्ला, थलारा गाउँपालिकाको उपाध्यक्षसम्म भइसक्दा उनले भोगेका व्यक्तिगत, सामाजिक तथा राजनीतिक सङ्‌घर्ष र प्राप्तिका प्रेरणादायी विषयमाथिको कुराकानी अस्मिता हाम्रोको यस अङ्‌कमा प्रस्तुत गरिएको छ ः

  • आजको दिनसम्म आइपुग्नका निम्ति यहाँको सङ्‌घर्षमय कथाको सुरुवात कस्तो थियो ?

म ब्याङ्गलोर कर्नाटकमा जन्मेको मान्छे, गौडाकी माइली छोरी । आठ बहिनी चार भाइ,  बुवाले छोरीहरू बढी भयो भनेर पढाउने नाइँ, जताजतै बिहा गर्दिने । मलाई पढ्न धेरै चाहना हुने तर बुवाले नपढाउने । उहाँ पुजारी हुनुहुन्थ्यो अनि पूजाबाट आएको सामानलाई जुटाएर हामी सबैलाई पाल्ने । बुबासँग छिपाएर म चोरी चोरी गएर स्कुलमा पाँच छ कक्षा पढ्या । त्यसपछि मैले ब्याङ्‌लोरमा कुकिङको काम गरेँ । सिन्धी पन्जाबीको घरमा काम गर्ने, पोचा लगाइदिने खाना पकाउने सबै काम गर्थें । अरू बहिनीको बिहा त भइसक्यो, मैले चाहिँ बिहा गर्दैन भन्या थिएँ ।

मलाई ब्याङ्‌लोर लाने एकजना काकाले मेरो कामको आफै पैसा लिँदोरहेछ, मलाई थाहै छैन । मलाई खान दियो, कपडा दियो, त्यसमै खुसी भएँ । अनि पछिपछि बुझ्दा त तलब पो बुझेर लिने रहेछ । अनि अर्को एउटा काकाको साथ लागेर मैले कुकिङ सबै सिकेँ । चाइनिज, चिकन, मटन, अलग मलङ सबै पकाउन सिकेँ अनि एक हप्तामा एकचोटी पार्टी हुने घरमा सबैले मलाई बोलाउने । कुकहरूले बढी पैसा खाने रहेछ गङ्‌गुले त थोरै पैसामा काम गर्छ भन्ने हल्ला चल्या रहेछ सेठहरूको घरमा ।

त्यसपछि सेठहरूले नै बोलाएर ल गङ्‌गु खाना बनाउनुपर्‌यो, भन्यो । म त फटाफट गर्ने, ढिला हुन्या हैन, अनि यतातिर माली एकजना, ड्राइभर दुईजना, पोचा लगाउने तीनजना कामदार अनि यिनीहरूभन्दा म कुक मात्रै गर्ने भएँ । पैसाको मतलबै भएन नि त । आमा, बुवाले नै घचघचाएन । म त्यो भएर आनन्दले बस्या थिएँ ।

जाँदा म १०–१२ वर्षको थिएँ, अनि १८–१९ वर्ष हुँदासम्म काम गरेको । त्यसपछि घरमा आए नि धेरै वर्षपछि । बुवाले गाली गर्नुभयो । अब मेरो बुवाले रिसायार भन्नुभयो, “तु माइली ठुलो भई, तु बिहा गर्नुपर्छ, अरू बहिनीले बिहा गर्‌या छ, यहाँ मान्छेले हल्ला गर्न लाग्या ।” कोही “माइलीले गरेन त के बिग्रेछ त” भनेर भन्दा पनि रहेछन् । बुबाले बिहाको कुरा ल्याए । सबै बुझेर आएपछि थाहा लाग्यो, केटाले त दोस्रो बिहे पो गर्न लागेको रहेछ, उसको बालबच्चा पनि रहेछ, कर्नाटकमै । लास्टमा के गर्ने भनेपछि मैले भनेँ– म आफू बिग्रेको छैन, बिग्र्या त्यो केटालाई भन्नु म बिहे गर्दैन । मैले थाह पाएकोले  केटो भागिहाल्यो अनि बुवा रिसाएर यस्तो गरिस् तैले भनेर बेस्सरी हान्यो । अनि मैले ठानेँ, मेरो जिन्दगी त बेकारै रहेछ । अब के गर्ने भन्ने सोचेर म फेरि फर्कें पहिलाकै ठाउँमा । उता फर्केपछि त कुकहरू सबैको तलब घट्या रहेछ मैले गर्दा, अनि मलाई एउटा कुकले आएर तपाईंको बिहा गर्‌या छैन भने म केटा खोज्दिन्छु भन्यो । अब मैले यसो सोचेँ कि यत्तिकै घर फर्कौं भने बुवाले गाली गर्नुहुन्छ, राम्रो केटा पाए त बिहे गर्नै पर्‌यो नि अब त !

  • नेपालसँग कसरी जोडिनुभयो ?

त्यै १८–१९ वर्षको थिएँ, इन्दिरा गान्धी मर्‌या साल त हो । बझाङको दिलबहादुर खडायतसँग बिहा भयो, एक जना काकाको कुरामा लागेर । बिहा गरेको छ महिनामा म नेपाल आएँ । कहाँ नेपाल भनेर बिहा गर्‌या हो र मलाई, दिल्ली भनेर पो बिहा गर्‌यो । म १५ वर्ष कान्छी रहेछु, ऊ भन्दा । मेरो बुढाको त झन् डबल तेब्बर बिहे पो रहेछ । उताका कुकहरूले यसलाई यहाँबाट धपाउनु पर्‌यो, कम रेटमा काम गरेर रेट बिगार्दियो भनेर मेरो बिहा गराएको रहेछ । एक स्वास्नी छोड्या रहेछ, एक स्वास्नी मर्‌या रहेछ, तेस्रो म पर्‌या रहेछ । टनकपुरबाट हिँडेर जोतपुर अनि डँडेलधुरा भएर उग्रतारा डाँडा हुँदै पुस महिनामा नेपाल आएँ ।

  • अनि घरमा सबैले स्विकारे त यहाँलाई ? घरको माहोल कस्तो थियो ?

जेठानीले मलाई बिदेसिनी, डेरेनी भनेर धेरै हेला गर्ने । सधैँ गाली बेइज्जत गर्ने, विचित्रले गाली गर्ने,  मैले नबुझ्ने रहेछ । घरमा उनैको शक्ति चल्ने । मलाई बुढासँग नजिक हुनै दिएन, राती पनि मनेर आउन डराउँथ्यो बुढा । भाउजू चैँले भनेकै मान्थ्यो । मलाई खुब हेप्थे । नेपाली सिक्याको थिएन तर गाली गर्‌यो भनेर चैँ बुझ्थेँ । बिस्तारै धान कुट्न, घाँस काट्न सबै गाउँको काम सिक्न थालेँ । नयाँ ठाउँमा केही थाहा नाइँ, खान, लाउन, बोल्न नजान्ने । घरमा जौको रोटा, कोदाको रोटा खान्थ्यो । जेठानीले हेपेर मसिनो भुसको रोटी दिने रैछ । श्रीमान् जेठानीकै कुरा सुनेर कमाइ गर्न इन्डिया गयो । अनि तीन चार वर्षपछि भतिजाको बिहामा घर आयो । त्यसपछि एक छोरी भयो हाम्रो अनि फेरि इन्डिया गैगए । जेठानीको घरमा काज पर्दा मात्र आउँथ्यो । फेरि तीन चार वर्षपछि अर्को छोरा भयो । एक छोरा एक छोरी भए, एक छोरी मरे । अब बालबच्चा त जन्मे, यिनीहरूलाई त हुर्काउनु पर्‌यो । श्रीमान्‌को एक जोर कपडाको पनि भर भएन । ऊ त छडबा गोरुजस्तै जताततै हिँड्ने । अर्काकोमा गएर ज्यालामा खेतको धान काट्ने कामहरू गरेँ । म हेपाइ सहँदा सहँदा जब्बर हुँदै गएछु । जे जे मलाई आउन्थेन, त्यै त्यै म सिक्दै गएँ । सिकाउने कोही नहुँदा, म हेरिरन्थेँ अरूले गरेको । अनि धेरै लगनले अभ्यास गर्थेँ र मलाई आइहाल्थ्यो ।

  • अनि सामाजिक जिम्मेवारीमा चैँ कसरी प्रवेश गर्नुभयो ?

छयालिस सालमा बहुदल आयो । चुनाव भयो । म महिला स्वास्थ्य स्वयम् सेविका भएँ । त्यो बेला गाउँमा रहेको एउटा संस्थाबाट प्रौढ पढेँ । त्यसरी पढ्दा पढ्दै एसएलसी दिएँ । सर, म्यामहरू सबैले मलाई सहयोग गर्नुभयो । अनि सिडिओ, डिएसपी कृषिको हाकिम अनि गैरसंस्थाहरू केयर नेपालको सबैले मलाई प्रेरणा दिने गर्नुभयो । उहाँहरूको साथमा मैले आफ्नो दुःख बिर्सिंदै गएँ । मैले कम्युनिस्ट पार्टीकोतर्फबाट काम गर्न सुरु गरेँ ।

  • व्यक्तिगत सङ्‌घर्षबाट उठेर राजनीतिक सङ्‌गघर्षतर्फ कसरी आउनुभयो ?

परिवारले माया गरेन, श्रीमान्‌को माया पाएन । म हेप्नेसँग डराउन छाडेँ । निडर हुँदै गएपछि गाउँमा अरूलाई पनि अघि बढ्नुपर्छ भनेर सिकाउँथेँ । सहयोग गर्ने भावना आयो ममा । यसैले गाउँको बुझ्नेहरूले मलाई अघि सारे । एकैचोटि त यो सब भएको होइन नि । कति सङ्‌घर्ष गरेर मैले आफूलाई योग्य बनाउँदै लगेछु, त्यस्तो बिरानो ठाउँमा आएर जरा चैँ बलियो बनाउँदै लगेँ नि त ! यता आउँदा पनि दुःख त सकिएको थिएन, म उपाध्यक्ष भएको दुई ढाई वर्षपछि मुटु रोगी श्रीमान् बित्नुभयो । त्यसपछि छोराछोरी पनि अलि हुर्कियो । तर, अरूले बाहिर गई, आई । फलानासँग बसी भन्ने के ! फलानोसँग उठबस जस्तो नराम्रो कुरा गर्ने श्रीमान् नहुँदा ।

पहिला भाषा नबुझ्ने तर पछि त देउरानी जेठानीले गाली गर्दा गर्दा उनीहरूले जेजे गाली गर्‌यो, उही सिकेँ मैले । अनि जस्तरी भन्यो, उस्तरी भन्ने भएँ । यसले मलाई राजनीतिमा गएर आफ्नो हेपाइलाई बदल्ने मन पनि भयो होला, त्यो म भन्न सक्दैन, भनौँ मेरो वरिपरिको वातावरणले मलाई राजनीतिमा पुर्‌यायो । त्यस्तै गर्दागर्दै जिल्लाको राजनीतिमा लागेँ । ५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य भएपछि नै सुरु भयो मेरो राजनीतिक यात्रा । ५३ सालमा विद्या कमरेड गएर जिल्लाको नेता बनाएर आइन् । यसरी पार्टीको इलाका हुँदै क्षेत्रीय सदस्य भएँ । पछि जिल्लामा आएका केपी कमरेड, माधव नेपाल, अशोक राई लगायत जिल्ला न्यायाधीश, सिडिओ, डिएसपी सबैले प्रेरणा दिनुभयो । केयर नेपालमा भएका सरहरूले तपाईँ मञ्चमा जानुपर्छ, बोल्नुपर्छ भनेर सिकाउने मलाई । आफू अन्यायमा परेको मान्छे, पछि न्याय समितिको प्रमुख भएँ । अहिले प्रदेशको कमिटी सदस्यमा छु, अस्ति चुनाव गरायो । अझै पनि यो विदेशी हो भनेर मलाई हेप्न खोज्छन् । अहिले वर्षले साठी पुगेँ, म चालिस वर्ष भइसक्यो यहाँ आएको ।

यो बिचमा अन्तरपार्टी महिला सन्जालको अध्यक्ष भएँ । खानेपानी महासङ्‌घको अध्यक्ष भएर पनि काम गरेँ । वनको अध्यक्ष भएँ । पहिले यहाँ सर्न कत्ति गाह्रो भो । अहिले त मलाई माइत जानै मन लाग्दैन ।

  • सामाजिक जीवनमा आउन के कस्ता व्यवहारिक कठिनाइ भोग्नुभयो ?

मेरो जिन्दगीमा केही पनि सजिलो भएन । बिहे गर्‌या दुसरा तिसरा वर्षपछि भारतै गया उनी । म एक्लै लड्या हुँ यहाँ । पहिलो बच्चा छोरी उपचार नभएर वर्ष दिनमै बित्यो । श्रीमान् बिचमा एक दुई चोटी आए अनि चौध वर्ष हराए । छोरीको बिहाको लागि इन्डिया गएर श्रीमान् खोजेर ल्याएको । के गर्ने भन्दा अलिअलि पैसा जम्मा गरेर राख्या थिएँ । तर पछि त्यही पैसा लिएर १४ वर्षपछि श्रीमान्‌लाई फर्काएर ल्याएँ । उसले त कति बिहे गर्‌यो, कति छोड्यो थाहै छैन । घरमा कोही नबोल्ने आफैले दुःख पचाएर अघि बढेको । आफन्त त थिए, तर मेरा लागि कोही भएन । म एक्लैले लडेँ । बैठकमा जाने, गैरसंस्थाको कुरा सुन्ने, हिम्मत बढाउने घरको काम गर्ने अनि बालबच्चाको स्यारसुसार गर्ने गरेँ । सबैले विदेशी भन्ने मलाई । विदेशीभन्दा चाहिँ मलाई मन दुख्छ, मैले यही ठाउँको लागि, यहीँको दिदीबहिनीको लागि कति बोल्या छु, कति हिम्मत दिएको छु । तर मलाई पराया ठानिदिँदा मन दुख्थ्यो ।

  • तपाइँले हलो पनि जोत्नुभएको ? यस्तो अवस्था किन आयो ?

मैले ५९ सालदेखि पाँच–छ वर्ष लगातार जोत्या हो । मलाई आउँदैनथ्यो, अरूले काम गर्ने बेला मैले हेरेर सिकेको । बाध्यता थियो नि, एक्लै बालबच्चा हुर्काउनुपर्ने । हेला गरेर दिएको खेतीबारी धान्नु थियो । श्रीमान् अब इन्डिया गएर यताको केही वास्ता गरेन । द्वन्द्वकाल थियो त्यो बेला । गाउँमा कत्तिले मलाई आइमाई भएर हलो जोत्ने अलच्छिन पनि भन्यो । अब पानी पर्दैन गाउँमा भन्थे तर मैले हलो जोतेकै रात ठुलो पानी पर्‌यो । मान्छेहरू हेर्न आउने कसरी जोत्यो भनेर । कतिले त हलो जोतेपछि अब तेरो दाह्रीजुङ्गा आउँछ सम्म भन्यो । अरू उपाय थिएन । आफू अनि बच्चाहरूको पेटको सवाल थियो । अरूलाई हार गुहार गर्‌यो भने एकल महिलाको कुरा कसैले नसुन्ने । आफन्त कसैको सहयोग पाइनँ, उल्टै सबैले मलाई उडाए । तर म आफ्नो काममा लागिपरेँ ।

  • सुदुरपश्चिममा रहेको छाउपडी प्रथा विरुद्ध तपाइँ स्थानीय नेतृत्वमा आइसकेपछि केही कदम चाल्नुभयो ?

पहिला छाउपडी हटाउन गैर सङ्‌घसंस्थाहरूले प्रयास गरे पनि एकदम गाह्रो थियो । गाउँपालिकामा उपाध्यक्ष भइसकेपछि घरघर गएर हेरेँ । सबैजना छाउ छोड्नै नमान्ने । स्कुलमा पढाउने सरहरू, स्थानीय नेताहरू पनि त्यस्तै चलन गर्ने आफ्नो घरमा । मैले घर घरमा गएर छाउगोठको सबै सामान फालिदिएँ । मन्दिरको देवी पनि हुन्या छ, अनि पूजा नगर्ने भनेँ । भत्काउन सक्ने जति भत्काउन थालेँ । अब कमजोर गोठहरू त भत्काएर आएँ तर पक्‌की।लाई त कसरी भत्काउनु । त्यहीबेला राज्यबाटै छाउगोठ भत्काउने निर्णय गर्दियो । त्यसपछि त छाउगोठ भत्काउन प्रहरीसँगै जान थालेँ । मैले सकेसम्म नराम्रो परम्पराविरुद्ध जुधिरहेँ । अहिले पनि प्रयास गरिरहेको छु  ।

  • यता तपाईँलाई त्यत्रो दुःख हुँदाखेरि श्रीमान् इन्डियामै हुनुहुन्थ्यो । तपाईँ इन्डियामै हुर्किनुभएको, छोडेर जाऊँ यो ठाउँ र सब भन्ने लागेन ?

छोडेर जाउँ पनि कसरी । गोर्खालीसँग बिहा गरेर नेपाल गई अनि फर्केर आई भन्ने भए उता माइतीमा । छोरी मान्छेलाई कहाँ सजिलो छ र ! अनि गोर्खालीका केटाकेटी भन्ने भए मेरा केटाकेटीलाई नि । अब मलाई त विदेसिनी नै भनोस् जे भन्नुस्, केटाकेटी त यता जन्मे हुर्क्या हो नि त । भाषा सिक्यो, खानपिन मिल्यो, हिँडाइडुलाइ मिल्यो यतै, अब इन्डिया गएपछि त त्यस्तो हुँदैन । गर्न जान्यो भने यहाँ कति काम पाउँछ नि त । मलाई कतैबाट हारेर, भागेर हिँड्न मन लाग्दैन कहिले पनि । त्यही भएर त एक्लै लडेर आएँ यहाँसम्म । हारेर फर्कने स्वभाव मेरो थिएन । छलै गरेर भए पनि घर ल्यायो, चिनायो । अनि आफ्नो परिचय त्यै भयो । मैले फर्किने सोच कहिल्यै बनाइनँ, लडेरै उभिएँ, मरेरै बाँचेँ ।

  • त्यसो भए नेपाल आएपछि इन्डिया माइती कहिल्यै जानुभएन ?

पछि श्रीमान् खोज्न गएको बेला नै धेरै वर्षपछि माइती गएँ । छोरीको बिहेमा बाहुन बाजेले बुबा चाहिन्छ भनेपछि म अलमलमा परेँ, ऊ आउनै छाडिसकेको थियो, कहाँ छ पनि थाह थिएन । मैले समाजसँग भनेको थिएँ, म आफै गर्छु मेरो छोरीको बिहे तर पुरोहितले मानेनन् । मैले जग्गेको काम गर्न मिल्दैन भने, कपाल सबै काटेर धोती लगाएर जे जे गर्नुपर्ने सबै गर्छु भनेको दिँदै दिएनन् । बाउ चैँ नभए छोरीको बिहा नै नहुनेजस्तो भयो । अनि म जोगाएका केही पैसा लिएर श्रीमान् खोज्न दिल्ली लागेँ । धेरै कोसिसपछि ऊ बसेको ठाउँ पत्तो लाग्यो । बल्लतल्ल बुढा भेटियो । छोरीको बिहेको लागि खोज्न आ’को भन्दा लाज हुनुपर्नेमा उल्टो जान्न पो भन्यो । त्यहाँ वरिपरि भएको सबै नेपाली मान्छेहरू जम्मा गरेर उसलाई सम्झायौं । अनि त्यही समयमा नेपाल आउनुअघि उसलाई भाग्न नदिन स्थानीय पुलिस र नेपालीहरूको जिम्मा लगाएर त्यसपछि झन्डै २३ वर्षपछि एक रातको लागि म माइतीगाउँ कर्नाटक पुगेँ । पहिला साना भाइबहिनीहरू अब ठुलो भइसकेछन् । मलाई कसैले चिनेन । बुबा बितिसकेको रहेछ । मलाई त सबैले मरेको भनेर माया मारेछन् । माइतीघर नौलो लाग्यो । मैले आफ्नो नाम भनेर चिनाएँ । भाइहरूले गङ्‌गुको भेषमा अर्कै आयो भनेर पो भन्यो । आमाले चिनेपछि हामी बेस्सरी रोयौं । आमाको दुःख देखेर दिक्‌क लाग्यो । अनि भोलिपल्ट दिल्ली आएर बुढालाई फकाएर नेपाल ल्याएँ । बाटोमा बसबाट ओर्लेर भागेछ, बिहाको लागि केही उपहार पाएको थिएँ माइतीमा दिदी बहिनीबाट, हामी आठ वटी, चारभाइ दाजुभाइ अनि आफन्तहरूले दिएर पठाएको । नेपाल छिरेपछि भागेको उसलाई एक घण्टा लाग्यो खोज्न । भेटेपछि च्याप्प समातेर मुन्ट्याउँदै ल्याएँ नि । अनि यस्तो आपतले छोरीको बिहा भयो ।

  • आमालाई भेटौँजस्तो लाग्दैन ?

अहिले म ६० भइसकेँ । आमा त ८० वर्ष जति पुगिसक्यो होला । अब त मन यतै भुलेको छ । अहिले माइतीसँग कुराकानी भइरहन्छ । सामाजिक सञ्जालले सजिलो पारेको छ ।  आमा बिरामी हुनुहुन्छ, एकचोटि छिटै जानुपर्छ । आमालाई पशुपतिनाथको मन्दिर देखाउने मन त थियो, तर उनको अवस्थाले दिँदैन ।

  • अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले मैले परिवारको कामबाट पार पाएको छु, घर छोरा बुहारीहरूले समालेको छ । म सदरमुकाममै बसेर स्थानीय विकासका ससाना काममा सहभागी हुँदैछु । किसानका समस्याबारे हाम्रो छलफल र कार्यक्रमहरू भइरहन्छ । म आगामी योजनाहरूमै काम गरिरहेको छु । जेजति हुनसक्छ, दुःख पाएका मानिसका निम्ति काम गर्ने मेरो इच्छा रहेको छ, मलाई मेरो क्षेत्रबाट राम्रो सहयोग पनि मिलेको छ ।

  • तपाईंको भोगाइ र सङ्‌घर्षबाट महिलाहरूलाई के भन्न चाहनुहुन्छ ?

महिलाले कसैको भर नपरीकन अघि बढ्नुपर्छ, एक्लै सङ्‌घर्ष गर्न डराउनुहुन्न । कति दुःख भोगेर म एक्लै आएँ यहाँसम्म । हामीले खाली अरूको सहारा खोज्छौं । म त माइतीमै सानोदेखि नै अन्याय नसहने भएको रहेछु, बुबाको ज्यादति नसहेर घर छोडेर विद्रोह गरेको थिएँ । बुबाले नदेख्ने गरी पढेको थिएँ । हामी महिलाहरूलाई समाज र घरले त्यसरी नै हुर्काएकाले हामी आफूलाई कमजोर सोच्छौं । हो पनि, दुःखमा साथ दिने कमै हुन्छन् । आफूले आफैलाई सम्हाल्दै समाजको लागि अघि बढ्नुपर्छ । महिलालाई अघि बढाउन महिलाले नै साथ दिनुपर्ने, उल्टो हामी महिलाले नै थाह नपाएरै अर्को महिलालाई दुःख दिने हुन्छ । हामी किन ठुलो मन गर्न सक्दैनौँ ? सक्छौँ नि गर्ने अभ्यास गरे भने । म नेपाल आएपछि मेरो बुढाले नागरिकता नै बनाइदिएन । मेरो मरेको सौताको आमाले मलाई आफ्नो छोरी बनाए, मलाई उनको छोरीलाई जस्तै माया दिए र मेरो नागरिकता पनि उनैका घरमा बाआमाले नै बनाइदिए । म त्यस कुराले नेपालको सेवा गर्न पाएँ । यस्तो ठुलो मन हामी सबैको हुनुपर्छ ।

Author

  • गङ्‌गु खडायत

    भारतको कर्नाटकमा जन्मिएर नेपालको सुदूरपश्चिममा विवाह भए पश्चात् बझाङ जिल्ला थलारा गा.पा. को उपाध्यक्ष हुँदै राजनीतिक नेतृत्वमा आउनुभएकी गङ्गु खडायत नेपाली समाजमा एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । हलोको डोबबाट जीवन सङ्घर्षमा होमिदै सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा लगायत पारम्परिक मूल्य र मान्यताहरुविरुद्ध कटिबद्ध खडायत महिला मुक्तिको सन्दर्भमा एक प्रेरक व्यक्तित्व हुनुहुन्छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के