नेपाली समाजमा महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका निम्ति गङ्गु खडायतलाई एक उदाहरणीय व्यक्तित्वका रूपमा लिन सकिन्छ । व्यक्तिगत पीडाका अनेकन चरणहरूबाट माथि उठेर महिला विरुद्ध रहेका समाजका रुढिग्रस्त परम्परालाई हाँक दिँदै नेतृत्वदायी भूमिकासम्म आउँदाको उनको जीवन सङ्घर्ष धेरैका लागि ऊर्जाको मूल बनिसकेको छ । सामान्य कामदारदेखि बझाङ जिल्ला, थलारा गाउँपालिकाको उपाध्यक्षसम्म भइसक्दा उनले भोगेका व्यक्तिगत, सामाजिक तथा राजनीतिक सङ्घर्ष र प्राप्तिका प्रेरणादायी विषयमाथिको कुराकानी अस्मिता हाम्रोको यस अङ्कमा प्रस्तुत गरिएको छ ः
म ब्याङ्गलोर कर्नाटकमा जन्मेको मान्छे, गौडाकी माइली छोरी । आठ बहिनी चार भाइ, बुवाले छोरीहरू बढी भयो भनेर पढाउने नाइँ, जताजतै बिहा गर्दिने । मलाई पढ्न धेरै चाहना हुने तर बुवाले नपढाउने । उहाँ पुजारी हुनुहुन्थ्यो अनि पूजाबाट आएको सामानलाई जुटाएर हामी सबैलाई पाल्ने । बुबासँग छिपाएर म चोरी चोरी गएर स्कुलमा पाँच छ कक्षा पढ्या । त्यसपछि मैले ब्याङ्लोरमा कुकिङको काम गरेँ । सिन्धी पन्जाबीको घरमा काम गर्ने, पोचा लगाइदिने खाना पकाउने सबै काम गर्थें । अरू बहिनीको बिहा त भइसक्यो, मैले चाहिँ बिहा गर्दैन भन्या थिएँ ।
मलाई ब्याङ्लोर लाने एकजना काकाले मेरो कामको आफै पैसा लिँदोरहेछ, मलाई थाहै छैन । मलाई खान दियो, कपडा दियो, त्यसमै खुसी भएँ । अनि पछिपछि बुझ्दा त तलब पो बुझेर लिने रहेछ । अनि अर्को एउटा काकाको साथ लागेर मैले कुकिङ सबै सिकेँ । चाइनिज, चिकन, मटन, अलग मलङ सबै पकाउन सिकेँ अनि एक हप्तामा एकचोटी पार्टी हुने घरमा सबैले मलाई बोलाउने । कुकहरूले बढी पैसा खाने रहेछ गङ्गुले त थोरै पैसामा काम गर्छ भन्ने हल्ला चल्या रहेछ सेठहरूको घरमा ।
त्यसपछि सेठहरूले नै बोलाएर ल गङ्गु खाना बनाउनुपर्यो, भन्यो । म त फटाफट गर्ने, ढिला हुन्या हैन, अनि यतातिर माली एकजना, ड्राइभर दुईजना, पोचा लगाउने तीनजना कामदार अनि यिनीहरूभन्दा म कुक मात्रै गर्ने भएँ । पैसाको मतलबै भएन नि त । आमा, बुवाले नै घचघचाएन । म त्यो भएर आनन्दले बस्या थिएँ ।
जाँदा म १०–१२ वर्षको थिएँ, अनि १८–१९ वर्ष हुँदासम्म काम गरेको । त्यसपछि घरमा आए नि धेरै वर्षपछि । बुवाले गाली गर्नुभयो । अब मेरो बुवाले रिसायार भन्नुभयो, “तु माइली ठुलो भई, तु बिहा गर्नुपर्छ, अरू बहिनीले बिहा गर्या छ, यहाँ मान्छेले हल्ला गर्न लाग्या ।” कोही “माइलीले गरेन त के बिग्रेछ त” भनेर भन्दा पनि रहेछन् । बुबाले बिहाको कुरा ल्याए । सबै बुझेर आएपछि थाहा लाग्यो, केटाले त दोस्रो बिहे पो गर्न लागेको रहेछ, उसको बालबच्चा पनि रहेछ, कर्नाटकमै । लास्टमा के गर्ने भनेपछि मैले भनेँ– म आफू बिग्रेको छैन, बिग्र्या त्यो केटालाई भन्नु म बिहे गर्दैन । मैले थाह पाएकोले केटो भागिहाल्यो अनि बुवा रिसाएर यस्तो गरिस् तैले भनेर बेस्सरी हान्यो । अनि मैले ठानेँ, मेरो जिन्दगी त बेकारै रहेछ । अब के गर्ने भन्ने सोचेर म फेरि फर्कें पहिलाकै ठाउँमा । उता फर्केपछि त कुकहरू सबैको तलब घट्या रहेछ मैले गर्दा, अनि मलाई एउटा कुकले आएर तपाईंको बिहा गर्या छैन भने म केटा खोज्दिन्छु भन्यो । अब मैले यसो सोचेँ कि यत्तिकै घर फर्कौं भने बुवाले गाली गर्नुहुन्छ, राम्रो केटा पाए त बिहे गर्नै पर्यो नि अब त !
त्यै १८–१९ वर्षको थिएँ, इन्दिरा गान्धी मर्या साल त हो । बझाङको दिलबहादुर खडायतसँग बिहा भयो, एक जना काकाको कुरामा लागेर । बिहा गरेको छ महिनामा म नेपाल आएँ । कहाँ नेपाल भनेर बिहा गर्या हो र मलाई, दिल्ली भनेर पो बिहा गर्यो । म १५ वर्ष कान्छी रहेछु, ऊ भन्दा । मेरो बुढाको त झन् डबल तेब्बर बिहे पो रहेछ । उताका कुकहरूले यसलाई यहाँबाट धपाउनु पर्यो, कम रेटमा काम गरेर रेट बिगार्दियो भनेर मेरो बिहा गराएको रहेछ । एक स्वास्नी छोड्या रहेछ, एक स्वास्नी मर्या रहेछ, तेस्रो म पर्या रहेछ । टनकपुरबाट हिँडेर जोतपुर अनि डँडेलधुरा भएर उग्रतारा डाँडा हुँदै पुस महिनामा नेपाल आएँ ।
जेठानीले मलाई बिदेसिनी, डेरेनी भनेर धेरै हेला गर्ने । सधैँ गाली बेइज्जत गर्ने, विचित्रले गाली गर्ने, मैले नबुझ्ने रहेछ । घरमा उनैको शक्ति चल्ने । मलाई बुढासँग नजिक हुनै दिएन, राती पनि मनेर आउन डराउँथ्यो बुढा । भाउजू चैँले भनेकै मान्थ्यो । मलाई खुब हेप्थे । नेपाली सिक्याको थिएन तर गाली गर्यो भनेर चैँ बुझ्थेँ । बिस्तारै धान कुट्न, घाँस काट्न सबै गाउँको काम सिक्न थालेँ । नयाँ ठाउँमा केही थाहा नाइँ, खान, लाउन, बोल्न नजान्ने । घरमा जौको रोटा, कोदाको रोटा खान्थ्यो । जेठानीले हेपेर मसिनो भुसको रोटी दिने रैछ । श्रीमान् जेठानीकै कुरा सुनेर कमाइ गर्न इन्डिया गयो । अनि तीन चार वर्षपछि भतिजाको बिहामा घर आयो । त्यसपछि एक छोरी भयो हाम्रो अनि फेरि इन्डिया गैगए । जेठानीको घरमा काज पर्दा मात्र आउँथ्यो । फेरि तीन चार वर्षपछि अर्को छोरा भयो । एक छोरा एक छोरी भए, एक छोरी मरे । अब बालबच्चा त जन्मे, यिनीहरूलाई त हुर्काउनु पर्यो । श्रीमान्को एक जोर कपडाको पनि भर भएन । ऊ त छडबा गोरुजस्तै जताततै हिँड्ने । अर्काकोमा गएर ज्यालामा खेतको धान काट्ने कामहरू गरेँ । म हेपाइ सहँदा सहँदा जब्बर हुँदै गएछु । जे जे मलाई आउन्थेन, त्यै त्यै म सिक्दै गएँ । सिकाउने कोही नहुँदा, म हेरिरन्थेँ अरूले गरेको । अनि धेरै लगनले अभ्यास गर्थेँ र मलाई आइहाल्थ्यो ।
छयालिस सालमा बहुदल आयो । चुनाव भयो । म महिला स्वास्थ्य स्वयम् सेविका भएँ । त्यो बेला गाउँमा रहेको एउटा संस्थाबाट प्रौढ पढेँ । त्यसरी पढ्दा पढ्दै एसएलसी दिएँ । सर, म्यामहरू सबैले मलाई सहयोग गर्नुभयो । अनि सिडिओ, डिएसपी कृषिको हाकिम अनि गैरसंस्थाहरू केयर नेपालको सबैले मलाई प्रेरणा दिने गर्नुभयो । उहाँहरूको साथमा मैले आफ्नो दुःख बिर्सिंदै गएँ । मैले कम्युनिस्ट पार्टीकोतर्फबाट काम गर्न सुरु गरेँ ।
परिवारले माया गरेन, श्रीमान्को माया पाएन । म हेप्नेसँग डराउन छाडेँ । निडर हुँदै गएपछि गाउँमा अरूलाई पनि अघि बढ्नुपर्छ भनेर सिकाउँथेँ । सहयोग गर्ने भावना आयो ममा । यसैले गाउँको बुझ्नेहरूले मलाई अघि सारे । एकैचोटि त यो सब भएको होइन नि । कति सङ्घर्ष गरेर मैले आफूलाई योग्य बनाउँदै लगेछु, त्यस्तो बिरानो ठाउँमा आएर जरा चैँ बलियो बनाउँदै लगेँ नि त ! यता आउँदा पनि दुःख त सकिएको थिएन, म उपाध्यक्ष भएको दुई ढाई वर्षपछि मुटु रोगी श्रीमान् बित्नुभयो । त्यसपछि छोराछोरी पनि अलि हुर्कियो । तर, अरूले बाहिर गई, आई । फलानासँग बसी भन्ने के ! फलानोसँग उठबस जस्तो नराम्रो कुरा गर्ने श्रीमान् नहुँदा ।
पहिला भाषा नबुझ्ने तर पछि त देउरानी जेठानीले गाली गर्दा गर्दा उनीहरूले जेजे गाली गर्यो, उही सिकेँ मैले । अनि जस्तरी भन्यो, उस्तरी भन्ने भएँ । यसले मलाई राजनीतिमा गएर आफ्नो हेपाइलाई बदल्ने मन पनि भयो होला, त्यो म भन्न सक्दैन, भनौँ मेरो वरिपरिको वातावरणले मलाई राजनीतिमा पुर्यायो । त्यस्तै गर्दागर्दै जिल्लाको राजनीतिमा लागेँ । ५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य भएपछि नै सुरु भयो मेरो राजनीतिक यात्रा । ५३ सालमा विद्या कमरेड गएर जिल्लाको नेता बनाएर आइन् । यसरी पार्टीको इलाका हुँदै क्षेत्रीय सदस्य भएँ । पछि जिल्लामा आएका केपी कमरेड, माधव नेपाल, अशोक राई लगायत जिल्ला न्यायाधीश, सिडिओ, डिएसपी सबैले प्रेरणा दिनुभयो । केयर नेपालमा भएका सरहरूले तपाईँ मञ्चमा जानुपर्छ, बोल्नुपर्छ भनेर सिकाउने मलाई । आफू अन्यायमा परेको मान्छे, पछि न्याय समितिको प्रमुख भएँ । अहिले प्रदेशको कमिटी सदस्यमा छु, अस्ति चुनाव गरायो । अझै पनि यो विदेशी हो भनेर मलाई हेप्न खोज्छन् । अहिले वर्षले साठी पुगेँ, म चालिस वर्ष भइसक्यो यहाँ आएको ।
यो बिचमा अन्तरपार्टी महिला सन्जालको अध्यक्ष भएँ । खानेपानी महासङ्घको अध्यक्ष भएर पनि काम गरेँ । वनको अध्यक्ष भएँ । पहिले यहाँ सर्न कत्ति गाह्रो भो । अहिले त मलाई माइत जानै मन लाग्दैन ।

मेरो जिन्दगीमा केही पनि सजिलो भएन । बिहे गर्या दुसरा तिसरा वर्षपछि भारतै गया उनी । म एक्लै लड्या हुँ यहाँ । पहिलो बच्चा छोरी उपचार नभएर वर्ष दिनमै बित्यो । श्रीमान् बिचमा एक दुई चोटी आए अनि चौध वर्ष हराए । छोरीको बिहाको लागि इन्डिया गएर श्रीमान् खोजेर ल्याएको । के गर्ने भन्दा अलिअलि पैसा जम्मा गरेर राख्या थिएँ । तर पछि त्यही पैसा लिएर १४ वर्षपछि श्रीमान्लाई फर्काएर ल्याएँ । उसले त कति बिहे गर्यो, कति छोड्यो थाहै छैन । घरमा कोही नबोल्ने आफैले दुःख पचाएर अघि बढेको । आफन्त त थिए, तर मेरा लागि कोही भएन । म एक्लैले लडेँ । बैठकमा जाने, गैरसंस्थाको कुरा सुन्ने, हिम्मत बढाउने घरको काम गर्ने अनि बालबच्चाको स्यारसुसार गर्ने गरेँ । सबैले विदेशी भन्ने मलाई । विदेशीभन्दा चाहिँ मलाई मन दुख्छ, मैले यही ठाउँको लागि, यहीँको दिदीबहिनीको लागि कति बोल्या छु, कति हिम्मत दिएको छु । तर मलाई पराया ठानिदिँदा मन दुख्थ्यो ।
मैले ५९ सालदेखि पाँच–छ वर्ष लगातार जोत्या हो । मलाई आउँदैनथ्यो, अरूले काम गर्ने बेला मैले हेरेर सिकेको । बाध्यता थियो नि, एक्लै बालबच्चा हुर्काउनुपर्ने । हेला गरेर दिएको खेतीबारी धान्नु थियो । श्रीमान् अब इन्डिया गएर यताको केही वास्ता गरेन । द्वन्द्वकाल थियो त्यो बेला । गाउँमा कत्तिले मलाई आइमाई भएर हलो जोत्ने अलच्छिन पनि भन्यो । अब पानी पर्दैन गाउँमा भन्थे तर मैले हलो जोतेकै रात ठुलो पानी पर्यो । मान्छेहरू हेर्न आउने कसरी जोत्यो भनेर । कतिले त हलो जोतेपछि अब तेरो दाह्रीजुङ्गा आउँछ सम्म भन्यो । अरू उपाय थिएन । आफू अनि बच्चाहरूको पेटको सवाल थियो । अरूलाई हार गुहार गर्यो भने एकल महिलाको कुरा कसैले नसुन्ने । आफन्त कसैको सहयोग पाइनँ, उल्टै सबैले मलाई उडाए । तर म आफ्नो काममा लागिपरेँ ।
पहिला छाउपडी हटाउन गैर सङ्घसंस्थाहरूले प्रयास गरे पनि एकदम गाह्रो थियो । गाउँपालिकामा उपाध्यक्ष भइसकेपछि घरघर गएर हेरेँ । सबैजना छाउ छोड्नै नमान्ने । स्कुलमा पढाउने सरहरू, स्थानीय नेताहरू पनि त्यस्तै चलन गर्ने आफ्नो घरमा । मैले घर घरमा गएर छाउगोठको सबै सामान फालिदिएँ । मन्दिरको देवी पनि हुन्या छ, अनि पूजा नगर्ने भनेँ । भत्काउन सक्ने जति भत्काउन थालेँ । अब कमजोर गोठहरू त भत्काएर आएँ तर पक्की।लाई त कसरी भत्काउनु । त्यहीबेला राज्यबाटै छाउगोठ भत्काउने निर्णय गर्दियो । त्यसपछि त छाउगोठ भत्काउन प्रहरीसँगै जान थालेँ । मैले सकेसम्म नराम्रो परम्पराविरुद्ध जुधिरहेँ । अहिले पनि प्रयास गरिरहेको छु ।
छोडेर जाउँ पनि कसरी । गोर्खालीसँग बिहा गरेर नेपाल गई अनि फर्केर आई भन्ने भए उता माइतीमा । छोरी मान्छेलाई कहाँ सजिलो छ र ! अनि गोर्खालीका केटाकेटी भन्ने भए मेरा केटाकेटीलाई नि । अब मलाई त विदेसिनी नै भनोस् जे भन्नुस्, केटाकेटी त यता जन्मे हुर्क्या हो नि त । भाषा सिक्यो, खानपिन मिल्यो, हिँडाइडुलाइ मिल्यो यतै, अब इन्डिया गएपछि त त्यस्तो हुँदैन । गर्न जान्यो भने यहाँ कति काम पाउँछ नि त । मलाई कतैबाट हारेर, भागेर हिँड्न मन लाग्दैन कहिले पनि । त्यही भएर त एक्लै लडेर आएँ यहाँसम्म । हारेर फर्कने स्वभाव मेरो थिएन । छलै गरेर भए पनि घर ल्यायो, चिनायो । अनि आफ्नो परिचय त्यै भयो । मैले फर्किने सोच कहिल्यै बनाइनँ, लडेरै उभिएँ, मरेरै बाँचेँ ।
पछि श्रीमान् खोज्न गएको बेला नै धेरै वर्षपछि माइती गएँ । छोरीको बिहेमा बाहुन बाजेले बुबा चाहिन्छ भनेपछि म अलमलमा परेँ, ऊ आउनै छाडिसकेको थियो, कहाँ छ पनि थाह थिएन । मैले समाजसँग भनेको थिएँ, म आफै गर्छु मेरो छोरीको बिहे तर पुरोहितले मानेनन् । मैले जग्गेको काम गर्न मिल्दैन भने, कपाल सबै काटेर धोती लगाएर जे जे गर्नुपर्ने सबै गर्छु भनेको दिँदै दिएनन् । बाउ चैँ नभए छोरीको बिहा नै नहुनेजस्तो भयो । अनि म जोगाएका केही पैसा लिएर श्रीमान् खोज्न दिल्ली लागेँ । धेरै कोसिसपछि ऊ बसेको ठाउँ पत्तो लाग्यो । बल्लतल्ल बुढा भेटियो । छोरीको बिहेको लागि खोज्न आ’को भन्दा लाज हुनुपर्नेमा उल्टो जान्न पो भन्यो । त्यहाँ वरिपरि भएको सबै नेपाली मान्छेहरू जम्मा गरेर उसलाई सम्झायौं । अनि त्यही समयमा नेपाल आउनुअघि उसलाई भाग्न नदिन स्थानीय पुलिस र नेपालीहरूको जिम्मा लगाएर त्यसपछि झन्डै २३ वर्षपछि एक रातको लागि म माइतीगाउँ कर्नाटक पुगेँ । पहिला साना भाइबहिनीहरू अब ठुलो भइसकेछन् । मलाई कसैले चिनेन । बुबा बितिसकेको रहेछ । मलाई त सबैले मरेको भनेर माया मारेछन् । माइतीघर नौलो लाग्यो । मैले आफ्नो नाम भनेर चिनाएँ । भाइहरूले गङ्गुको भेषमा अर्कै आयो भनेर पो भन्यो । आमाले चिनेपछि हामी बेस्सरी रोयौं । आमाको दुःख देखेर दिक्क लाग्यो । अनि भोलिपल्ट दिल्ली आएर बुढालाई फकाएर नेपाल ल्याएँ । बाटोमा बसबाट ओर्लेर भागेछ, बिहाको लागि केही उपहार पाएको थिएँ माइतीमा दिदी बहिनीबाट, हामी आठ वटी, चारभाइ दाजुभाइ अनि आफन्तहरूले दिएर पठाएको । नेपाल छिरेपछि भागेको उसलाई एक घण्टा लाग्यो खोज्न । भेटेपछि च्याप्प समातेर मुन्ट्याउँदै ल्याएँ नि । अनि यस्तो आपतले छोरीको बिहा भयो ।
अहिले म ६० भइसकेँ । आमा त ८० वर्ष जति पुगिसक्यो होला । अब त मन यतै भुलेको छ । अहिले माइतीसँग कुराकानी भइरहन्छ । सामाजिक सञ्जालले सजिलो पारेको छ । आमा बिरामी हुनुहुन्छ, एकचोटि छिटै जानुपर्छ । आमालाई पशुपतिनाथको मन्दिर देखाउने मन त थियो, तर उनको अवस्थाले दिँदैन ।

अहिले मैले परिवारको कामबाट पार पाएको छु, घर छोरा बुहारीहरूले समालेको छ । म सदरमुकाममै बसेर स्थानीय विकासका ससाना काममा सहभागी हुँदैछु । किसानका समस्याबारे हाम्रो छलफल र कार्यक्रमहरू भइरहन्छ । म आगामी योजनाहरूमै काम गरिरहेको छु । जेजति हुनसक्छ, दुःख पाएका मानिसका निम्ति काम गर्ने मेरो इच्छा रहेको छ, मलाई मेरो क्षेत्रबाट राम्रो सहयोग पनि मिलेको छ ।
महिलाले कसैको भर नपरीकन अघि बढ्नुपर्छ, एक्लै सङ्घर्ष गर्न डराउनुहुन्न । कति दुःख भोगेर म एक्लै आएँ यहाँसम्म । हामीले खाली अरूको सहारा खोज्छौं । म त माइतीमै सानोदेखि नै अन्याय नसहने भएको रहेछु, बुबाको ज्यादति नसहेर घर छोडेर विद्रोह गरेको थिएँ । बुबाले नदेख्ने गरी पढेको थिएँ । हामी महिलाहरूलाई समाज र घरले त्यसरी नै हुर्काएकाले हामी आफूलाई कमजोर सोच्छौं । हो पनि, दुःखमा साथ दिने कमै हुन्छन् । आफूले आफैलाई सम्हाल्दै समाजको लागि अघि बढ्नुपर्छ । महिलालाई अघि बढाउन महिलाले नै साथ दिनुपर्ने, उल्टो हामी महिलाले नै थाह नपाएरै अर्को महिलालाई दुःख दिने हुन्छ । हामी किन ठुलो मन गर्न सक्दैनौँ ? सक्छौँ नि गर्ने अभ्यास गरे भने । म नेपाल आएपछि मेरो बुढाले नागरिकता नै बनाइदिएन । मेरो मरेको सौताको आमाले मलाई आफ्नो छोरी बनाए, मलाई उनको छोरीलाई जस्तै माया दिए र मेरो नागरिकता पनि उनैका घरमा बाआमाले नै बनाइदिए । म त्यस कुराले नेपालको सेवा गर्न पाएँ । यस्तो ठुलो मन हामी सबैको हुनुपर्छ ।