कार्तिक महिनाको मध्य दिन । रमेश गुरुङको अनामनगरस्थित अढाई तल्ले घरको भुइँतल्ला कोठामा ७२ वर्षकी हाङ्मती बोजू खाटमा बसेर तोङ्वा तान्दै बोलिन्, “यो काठमाडौँ साह्रै नरमाइलो ।” आजको दिन चासोक तङनाम हो, गाउँको सम्झनाले औधी सताइरहेछ । सशस्त्र जनयुद्ध नचर्किएको भए बोजू यतिखेर आफ्नै गाउँ लामाटोलीमा हुने थिइन् । तराईको विशाल भूभाग, आँखाले भ्याउन्जेलसम्म खेतमा फलेका धानको बोट र बिहानैको झुल्के घाम यो सब लामाटोलीको सौन्दर्य हो । युद्वको दोहोरो मारले बसिसक्नु नभएपछि कानको मडुवरी बेचेको पैसाका भरमा छोरी च्यापेर काठमाडौँ भासिएकी हुन्, उबेला । तर, बिस वर्षमा यो सहर कहिल्यै आफ्नो लागेन । सहर छिर्दा केश कालो थियो, अहिले सेतै फुलेको छ । दाँत झरिसकेको छ । सुगरले ज्यान थ्यङ्थिलो छ । छोरी जवान भइसकेकी छ । देशमा लोकतन्त्र आइसकेको छ । हेर्दाहेर्दै सबै कुरा बदलियो, केवल बोजूूको नियति बदलिएन । सपनामा उतै धान काटेको, भैँसी चराएको र सिमल तरुल उसिनेको देख्छिन् । मन यतै छ, अर्काको ठाउँमा कुकुर मरेजस्तै मर्न पटक्कै मन छैन । बोजूको मनमा अनेक कुरा खेलेपछि भन्छिन्, “म मरिहाले आफ्नै गाउँ लैजा है ! सास यता गए पनि लास चाहिँ आफ्नै ठाउँमा होस् ।”
नामोती झर्किँदै बोल्छे, “मरिन्छ त, एकदिन मर्नुपर्ने जुनी । यो आमा पनि के के मात्र फतफताइरहन्छ ।” बोजू उल्टै नामोतीलाई झपार्छिन् । “भवितव्यको कुरा गरेको । तेरो खुत्तेको बोली सुन्दा अहिल्यै छोडेर जाऊँ जस्तो ।”
“अनि के को आफ्नो र अर्का त ! जहाँ बस्यो त्यहीँ आफ्नो ।”
“ पछि तैँले पनि थाहा पाउँछेस् ।”
अगाडिको भित्ता हेरेर चुपचाप सुनिरही तर नामोती एक शब्द बोलिनँ ।

तस्वीर अस्मिता
र्याकमा अघि काटेर आधा राखेको स्याउलाई साङ्लाले खाँदै थियो, यो देखेर बोजूको झन् जङ्ग चलेर आयो, “तेरो मरेको बाउले कमाइदिएको छ नि ? र, लापरबाइ गर्छेस् ?
“फेरि के भयो ?” नामोती रिसले रन्थनिँदै बोली ।
“ हेर त्यहाँ स्याउमा साङ्ला कुद्दै छ ।”
“पाउनुसम्मको दुःख पाएपछि अब यस्तो कुरा छोडिदेऊ, जे पर्छ त्यही टर्छ, मान्छे नाथु मरेपछि
आखिरीमा सिनो हो ।” नामोती स्याउ टिप्दै बोली ।
कस्तो बिग्न मुटु तर्सिने स्तब्धता । के मान्छेलाई आफ्नै अनुभवहरूले बुढो गोरुझैँ बनाउँछ ? के मान्छे आफ्नै अनुभूतिहरूले कमजोर बन्छ ? झ्यालबाट छिरेको चिसोले आजको रात अझ चिसो हुनेछ भन्ने अनुमान लगाउन सकिन्थ्यो ।
बोजू बोलिन्, “मलाई चाहिँ म मरे लामाटोली नै पुर्या है ।”
“फेरि त्यही कुरा ? बाँचिन्जेल चाहिँ शान्तिले बाँच न हाउ आमा ।”
यसो भनिरहँदा तर आमाछोरीको मन चाहिँ थानकोट काटेर तल नौबिसे हुँदै त्रिशुलीको तीरैतीर रात्री बसमा पूर्व जाँदै थियो । ओहो ! साँच्चै जिन्दगी पनि कस्तो ! कतै त्रिशुली नदीजस्तै खुम्चिनुपर्ने, कतै फैलिनुपर्ने । यो सुनसान कोठामा दुबै मौन अनि चुपचाप छन् । आआफ्नै मनोदशासँग सम्वाद गर्दैछन् ।
खै के सोचेर हो बोजू बसिरहेको ठाउँमा ढल्किएर कोल्टे फेर्दै बोलिन्, “जिन्दगी नाथु जे गरे नि धर छैन ।”
“फेरि कता पुग्यो मन ?”
“मन मुला तमोरको बगेको पानीजस्तै कता पुग्छ पुग्छ ।”
“तिम्रो मन पनि कामै छैन आमा ” यतिखेरै बिजुली गयो अनि नामोती सलाई खोज्नतिर लागी।
कोठामा छाएको अन्धकारलाई चिर्दै आमा बोलिन्, “तेरो भाइहरू बाँचेको भए धन नभए पनि आज हामीसँग जन हुने थियो ।”
सलाई बाल्दै नामोती बोली, “जनले चाहिँ के गर्छ ?”
“हुन त केही गर्ने होइन तर दुनियाँ सामु धेरै गर्छ ।”
“छ त सौताकै भए पनि छोरा ! चिन्ता नगर, आउँछ एकदिन ।”
लोग्नेको मृत्युसँगै सौताहरू पनि लाखापाखा लागे । बोजूलाई घरीघरी सम्झना आउँछ, के गर्दै छ होला यसबखत भन्ने । दुई सौता बेहोरिन् बाहिरफेर कति हो कति । “अरूले मन नपराएको घोडा र लोग्नेको त काम छैन” भन्ने बोजूको आफ्नै सिद्धान्त छ । बोजूले सुनेको यत्ति हो, सौता र छोरा आसामको मेरापानीमा छन् रे ।
“खोजेर आए त हुने ।”
“आउँछ एकदिन, ज्यादा चिन्ता नगर !”
“तिस वर्ष भयो, खै आउदैन त !”
बोजू तोङ्वा तान्दै फेरि बोलिन्, “यो मुला आसाम भासिएकोहरू यस्तै हुँदोरहेछन् । फर्केर आफ्नो थाकथलोमा आउन नजान्ने ।”
“कसरी आमा ? तर साउदेन बाजेको हराएको छोरा बत्तिस वर्षपछि फर्किएर आयो त !”
“सबैको बुद्धि एकै हुँदैन नि त ।”
“ यहीँ भएको भए पढेर केही गर्ने थियो, आरा त तान्दै होला नि ।”
नामोती अलिक झोक्किँदै बोली, “त्यो मुला ठाउँमा के छ र मान्छे त्यहाँ पुगेपछि फर्कन नजानेको ?”
“कोनी” हाङ्मती बोजूको मुखबाट यति मात्रै वाक्य निस्कियो ।
तर आसाम भासिएकाहरूको दुःख भनी नसक्नु छ । आज होला, भोलि होला भन्दा भन्दै जिन्दगी सकिन्छ तर कहिल्यै केही हुँदैन, दुःख सकिँदैन, त्यसै मरेर जान्छन् । गरिखानेको निम्ति बाँजो जमिन जति पनि छ, पाखुरी चलायो, त्यसैको लोभमा जुनी जाने । यसरी बसेका सयौँ नेपालीहररु भेटिन्छन् ।
बोजूलाई एउटै कुराले मन दुख्छ, लोग्ने शुक्रबहादुर चेम्जोङ्गले पनि आफ्नै पौरखले कमाएर चार जना भाइलाई अंश दियो । मर्नेबेला आखिरीमा दाजु भनेर कोही आएन । उहिलेको कुरा हो, लोग्ने परदेश गएको समयमा एकपल्ट त खेतसम्म सासुससुराले जोत्न दिएनन् । आमाछोरी बिच दुःखसुखको कुरा हुँदा यस्तै तितो अतीतहरूले अझ दुखाइराखेर जान्छ ।
कोही कोही नभएको जस्तो यो सहरमा यसरी बस्नुपर्दा दुखेको मनको पीडा यी दुई आमाछोरीलाई मात्र थाहा छ ।
“तिम्रो मन पनि आमा, झिङ्गाको पित्त जस्तो के !”
आमा केही बोलिनन्, आँखा मात्र छिटो छिटो चिमचिम गरिरहिन् । भित्ते घडीले टिकटिक आवाज दियो । हेर्दा ठ्याक्कै बेलुकाको आठ बजेछ । बाहिर अँध्यारो भइसकेको छ । “बुढेसकाल लागेपछि ज्यान पनि निहुँ मात्तै खोज्दोरहेछ ।” यति भनेर बोजू घुँडामा तेल दल्न थालिन् ।
गाँउमै भए आजको दिन याबाले पूजा गरिरहेको हुन्थ्यो । आफन्त इस्टमित्र सबै एकै ठाउँ भेला भएर रमाइलो गरिरहेका हुन्थ्यौँ । मनमनै यस्तै सोच्दै आमालाई एकफेर हेरिपठाई । हुन पनि यसरी कोही नभएको अपुङ्गीजस्तो यो काठमाडौँमा बसेको बिसौँ वर्ष बितिसक्दा किन किन यो ठाउँप्रति मोह भन्दा ज्यादा बैराग छ । आसाम भासिएर गाउँ नफर्किनेहरूजस्तै काठमाडौँ पसेपछि घर नफर्कनेको कथा पनि उस्तै छ ।
फेरि एक सर्को तोङ्वा तानिसकेपछि झ्यालतिर ढल्कँदै बोजू आफ्नो बैँशको कुरा भन्न थालिन् । “तीन राते मेलामा तीन दिन तीन रातसम्म धान नाच्दा पनि उबेला ज्यान गल्दैन थियो, अहिले अलिकता हिँड्यो कि घुँढा दुखेर हैरान ।”
साँच्चै छुट्ने बेलामा अर्को बजारमा भेट्ने बाचा गर्दै छुटेका ती दिनहरू बोजूको जीवनकै सुन्दर अनि
प्रेमिल समय थियो ! बैंशका ती दिनहरू कति खुसीदायी र रहरलाग्दा थिए, त्यो बोजूलाई थाहा छ ।
तोङ्बा, सम्झना र निद्रा सबैले एकैपटक छोपेपछि बोजू हाई काढ्न थालिन् ।
नामोती पल्लो कोठाबाट तातो पानी बोकेर कराउँदै आई ।
“लु आमा, एकपल्ट सट्ट पार ।”
“भयो खान्नँ, तैँ खा ।”
“सकिन लाग्यो, खानु नि एकपटक ।”
“तेरो जबरजस्तीले हुन्छ र मेरो अड्कलले पो खान्छु त ?”
नामोती केही नबोली उभिरही । यस्तो भनाभन त कति हो कति दुनियाँले देखे झगडा तर आमा छोरी
यही प्रेमले यो सहरमा बाँचेका छन् । लाखौंलाख मान्छे बस्ने यस सहरको गुमनाम यो कोठा आमा

www.shutterstock.com
छोरीको अर्कै सुन्दर संसार छ जसलाई कसैले पनि अनुमान लगाउन सक्दैन । बोजूको जीवनले पूर्वी पहाडको हमरजुङ्बाट यहाँसम्म यात्रा गर्दा के मात्र देखेन । घरमा नोकर–चाकर, धन–दौलत तर समय काल बित्दै जाँदा सुकुम्बासी अवस्थासम्म भोगेपछि मान्छे भएर जन्मिएपछि दुई खुट्टा टेकेर हिँड्न सक्नुपर्छ भन्ने साहस बोजूमा यिनै भोगाइहरूको कारण आएको हो ।
सौताहरू लाखापाखा लागेपछि पहिलो छोरी त्यसपछि बर्सेनीका दुई छोराहरू, जेठा गोविन्दविक्रम अढाई वर्षको र कान्छा काजी एक वर्षको हुँदा कसरी हेर्दाहेर्दै आफ्नै काखमा तामाका मुनाजस्ता छोराहरू मरेर गए ! त्यसको दुःखले बोजूको मुटु ढुङ्गा भैसकेको छ । फेरि लोग्नेको मृत्यु भयो तर लोग्नेको उति माया छैन बोजूलाई लुतो गएझै भएको छ ।
यस्तै यस्तै भोगाइहरूले हो बोजूले मायाभन्दा व्यवहार ठूलो रहेछ भन्ने बुझेको । उसबेला सौताहरूलाई माया गरेको देखेर छिमेकीहरू भन्ने गर्थे, “यो ठुलीको सौता होइन, साख्खे बैनीहरू हो ।” बोजू कुरैकुरामा कहिलेकाहीँ भन्ने गर्थिन्, “मरिजाने जुनीमा सौता आखिर लोग्नेले ल्याएरै आएको हो । खराब त लोग्ने मान्छे हो । लोग्नेलाई चाहिँ केही गर्न नसक्नु अनि सौतालाई मात्र के दोष दिनु ? “सौता पाइतलाको धुलो हो तर सौताको छोरा चाहिँ मुटुको किला हो है ठुली” भनेर उचाल्नेहरू पनि थुप्रै थिए तर बोजूले कसैको कुरा सुनिनन् । हुन पनि बोजूले गरेको सङ्घर्ष देख्दा सास निसास्सिएर आउँछ । आँसु लुकाएर कसरी बाँच्ने ? भन्ने बोजूसँग सिके हुन्छ । जस्तै परिस्थितिमा पनि हिम्मत नहार्ने बोजूले आफ्नो उमेरमा लोग्ने मान्छे त कति कुटिन् कुटिन् । गाउँमा किस्सा नै छ, “बोजूले झन्डैले बाजेलाई चिर्पटले हानेर मारेको ।”
बघिनी जस्तो बाँचेकी बोजू यस सहरमा एक्लो एक्लो बाँचिरहेछिन् । सहाराको नाममा एउटा छोरी छ, आफन्त सबै मरिसके हिसाब गर्दा बोजूले दश जनाको सुध्याइ गरिसकेकी छन् । नौवटा घर बनाइसकिन् । तर अहिले एक्लै छिन् ।
जीवन भनेको कुमालेको चक्र जस्तो कहिले राजा कहिले जोगी । सबै कुरा भोगेर बुझेर रित्तिनु जीवनको सुन्दर सन्जोग हो यो सबैको सबैको जीवनमा कहाँ संजोग हुन्छ र । एकफेर छोरीलाई हेरेपछि बोजूको मनमा दुःख अझै उम्लेर आयो छोरीको पिर र माया दुबैले एक साथ सतायो । जीवन सधैँ कहाँ एकनास हुँदोरहेछ र ? बैंशमा भिर पाखा नभनी, जाडो गर्मी नभनी उज्यालो हुँदा चारपाथी मकै पिनिसक्ने बोजूलाई आज रमेश गुरुङको जम्मा आठानामा बनेको यो घरको आँगन परदेश भएको छ । अब त बोजूको संसारै यै घरको आँगनको घाम हो । घरगाउँ नातागोता सम्झिँदै बोजू बोलिन्, “अर्को सालको चासोकमा चाहिँ जसरी पनि घर जाने है पहाड पनि पुगेर आउनुपर्छ !”
नामोती पुलुक्क आमालाई हेर्दै बोली, “हुन्छ ।”
पचाससाल तिरको कुरा हो । बेलायती भूपू लाउरेहरूले समान कामको निम्ति समान ज्याला पाउनुपर्छ भन्दै देशव्यापी रूपमा बेलायत सरकारको विरुद्ध आन्दोलन गरेताका पहिलो पटक बोजूले टेकेको हो यो काठमाडौँ । त्यही बेला त हो माबु जेठालाई बाटो काट्दा माइक्रोबसले ठहरै किचेर मारेको । यो घटनापछि काठमाडौँ आफ्नो सन्तान कोही नआओस् जस्तो लागेको थियो बोजूलाई । आँखै अगाडि छिमेकी तिमल्सिना कान्छोलाई परेको बज्रपात देख्दा त कसको मन अडिन्छ र ? माओवादीहरूले भएको एउटा छोरालाई तड्पाई तड्पाई मारेपछि छोराकै पिरले तिमल्सिना कान्छो पागल भयो । त्यसपछि छोरी र पागल लोग्ने च्यापेर भएको घर र दश कठ्ठा जग्गा सस्तोमा बेचेर तिम्सिना कान्छीले गाउँ छोडेपछि धेरैले आसाम भासिएको अनुमान लगाएका थिए । तर उनीहरू डुकुरपानी सरेर गएछन् भन्ने दमक बजारमा धेरैपछि ठकुराजा बाजेसँग भेट भएपछि थाह भयो । यही घटनापछि बोजूलाई पूरै जिन्दगी बिताएको यो ठाउँ एकाएक उराठ लागेको हो । बोजू राजनीति बुझ्दिनन् तर जीवनमा यति दुःखदायी घटना कहिल्यै देखेकी थिइनन् । यही घटना देखेपछि हो, दुःख भन्दा ठुलो त ‘बाँच्नु’ रहेछ भन्ने बुझेको । क्षणभर हुने अनुभूतिले मान्छेको जीवनलाई कहाँबाट कहाँ पुर्याउँछ ! सपनामा पनि लामाटोलीको खेत, बाटो, खोला, ढुङ्गा सधैँ देख्छिन् बोजू । लोग्ने र दुई भाइ छोरा त्यहीँ मरेर गए । फर्केर हेर्दा बोजूको जीवन भोगाइहरूको विशाल सङ्ग्रहझैँ लाग्छ । कसरी बोजूले अक्करे भिरजस्तो यति लामो र उराठ लाग्दो जिन्दगी यहाँसम्म भोगेर आइपुिगन् ? सोच्दा पनि हैरान लागेर आउँछ ! बाल्यकालमा बमबम खोलाको भिरालो पाखामा भेडा बाख्रा चराउँदै ऐँसेलु टिपेर खानु । यी सब अतीतहरू मध्ये गोठमा बुबाले लगाइदिएको पिङमा कान्छा दाजुसँग झगडा गर्दै खेल्नु तर एकदिन दाजुले पिङको डोरी थाह नपाउने गरी काटिदिएपछि उछिट्टिएर लड्नु आज पनि त्यो चोट पानी पर्दा बेस्सरी दुख्छ र भन्छिन्, “चेली माइतीको चिनो यति त हो ।” बाह्र वर्षको उमेरसम्म बुबाको काँध चढेर सिधुवा बजार गएर रुमालभरि नरिवल रातो मिठाई झगडा गर्दै किनी माग्नु बोजूको जीवनको अर्को सुन्दर पल थियो, तर एकदिन पारिपट्टि बन्चरेबाट आएको कुटुम्बसँग बिराजी बिराजी भन्दा भन्दै भएको बिहेले बोजूको जीवनलाई कहाँबाट कहाँ पुर्यायो ! त्यस दिनदेखि नै हो, बोजूको जीवनमा दुःख सुरु भएको । कहिलेकाहीँ बोजू कुरैकुरामा भन्छिन्, “मेरो आँसु एकैपटक बगेर गएको भए समुन्द्र बन्ने थियो, थोपा थोपा बगेर मात्रै हो ।” यसो भनिरहँदा अनुहारमा अजीवको भाव झल्कन्थ्यो, जसलाई अरूले केवल आफ्नो हिसाबले अनुमान लगाउन सक्छन् तर जस्ताको त्यस्तै बुझ्न सक्दैनन् । आमा निदाएको देखेपछि नामोतीले ब्ल्याङ्केट ओडाइदिइन् । झ्याल बन्द गरिन् । बाहिर रात छिप्पिसकेको थियो, फेरि घडी टिकटिक करायो, रातको दश बजेछ । बोजूको निदाएको अनुहार साँच्चीकै शान्त थियो । बत्ती निभाएर नामोती पनि आमाकै ब्ल्याङ्केटमा घुस्रिइन् ।