विषयप्रवेश
नेपाली महिला बारेको बहस र छलफलका परिप्रेक्ष्यमा आदिवासी जनजाति अन्तर्गत पर्ने गुरुङ महिला बारेको बहस लगभग शुन्य अवस्थामा छ । जसरी सतही रूपमा गुरुङ लगायत यहाँका आदिवासी जनजाति महिलाहरू स्वतन्त्र र अधिकार सम्पन्न छन् भनिएको छ, यो सतही बुझाइ मात्रै हो । आदिवासी जनजाति समुदायभित्र प्रवेश गरेको पितृसत्तात्मक संरचना र सोचले गर्दा उक्त समुदायका महिलामाथिको उत्पीडनको ग्राफ क्रमशः बढ्ने क्रममा छ । पितृसत्तात्मक समाजमा महिलाको अस्तित्व अस्विकार्य छ । महिलालाई मान्छे भएर बाँच्नकै लागि सङ्घर्ष गर्नुपरेको अवस्था छ । वास्तवमा मानव जातिमा महिला एक पृथक अस्तित्व हो । मानवताको आधा हिस्सा हो, यद्यपि यहाँ महिलालाई ‘महिला’ हुन सिकाइन्छ । महिला भइरहनका लागि उसलाई अनुकूल बनाइन्छ ’(सुनुवार, २०७५, पृ. १७) महिलासम्बन्धी सिमोनको यस परिभाषाले कुनै एउटा निश्चित देश वा भूगोल र कुनै निश्चित जातिको महिलाको मात्रै प्रतिनिधित्व गर्दैन । यसले समग्र महिला र मानवतालाई समेट्दछ । पितृसत्ताले महिलालाई कसरी महिला भइरहन सिकाउँछ र आफ्नो सत्ता सुरक्षित गर्छ भन्ने कुरा करिब छ सय वर्ष अघिदेखि गुरुङ समुदायमा प्रवेश गरेको हिन्दू वर्णाश्रमअनुरूपको पितृसत्तात्मक संरचनालाई नियाल्दा पुग्छ ।
को हुन् त गुरुङ ?
गुरुङ भाषामा गुरुङलाई ‘तमू’ भनिन्छ । गुरुङ र तमू एउटै अर्थ बुझाउने पर्यायवाची शब्द हुन् । तमू शब्द दुई अक्षरले बनेको छ । यस शब्दमा प्रयोग भएको तमू अक्षरमा ‘त’ को अर्थ बज्र, माथि, घोडा र बन्चरोलाई जनाउँछ । ‘मू’ को अर्थ आकाश हो । त्यसैले तमुको अर्थ आकाशको बज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन् । त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइहरू पनि पाइन्छ । यसको अर्थ खेताला वा कृषक हुन्छ भनिएको छ । तिब्बती भाषाको ‘घोरुङ’ शब्दको अपभ्रंश भएर गुरुङ भएको हो भन्ने भनाइ पनि छ (गुरुङ, २०६७, पृ. १३) । यसरी हेर्दा गुरुङ र तमू एकै जाति हुन् । गुरुङ (तमू) जातिको तीनवटा मूल शास्त्रहरू प्ये ताँ ल्हु ताँ (धर्म–संस्कृति शास्त्र), केर्लो (उत्पत्ति शास्त्र) र ङोमे (औषधी शास्त्र) रहेका छन् । यी शास्त्रहरूमध्ये गुरुङ (तमू) को उत्पत्तिबारे तमू पुरोहित पच्यु र क्ल्हेप्रीको प्राचीन मौखिक प्येताँ ल्हुँता (धर्म–संस्कृति शास्त्र) र केर्लो (उत्पत्ति शास्त्रमा) उल्लेख गरिएको पाइन्छ । तमूहरूको मूल पुरोहित पच्यु क्ल्हेब्रीहरूको शास्त्रमा उल्लिखित यो शब्द सफुति क्ह्ययाल्सा गुरुङहरूको उत्पत्ति स्थल हो भन्ने कुरा शास्त्र (प्ये) ले बताएको छ (ल्हेंगे तमु, २०५९, पृ. २१) ।
यिनै गुरुङहरू समयको क्रमसँगै अन्नपूर्ण, मनास्लु हिमचुली पहाडको दक्षिण क्षेत्र हुँदै नेपालको पूर्वी पहाड र केही मात्रामा भारतको सिक्किम, सिलगुडी भुटान हुँदै हाल संसारभर छरिएर रहेका छन् । गुरुङ नेपालको आदिवासी जनजातिअन्तर्गत पर्ने जाति हुन् । आदिवासी भन्नाले कुनै निश्चित भौगोलिक क्षेत्र वा स्थानमा धेरै वर्षदेखि बसोबास गरिआएका सथानीय वा रैथाने मानवसमुदायलाई जनाउँछ भने जनजाति भन्नाले हिन्दू वर्णव्यवस्थामा आस्था नराख्ने समानताको आधारमा सङ्गठित मानवसमुदायलाई जनाउँदछ । छोटकरीमा भन्ने हो भने आदिवासी शब्द भौगोलिक क्षेत्र र ऐतिहासिक कालक्रमसँग सम्बद्ध छ भने जनजाति शब्द सामाजिक बनोट वा संरचनासँग सम्बद्ध छ । तर यी शब्दको बिचको शाब्दिक अर्थमा जेजस्ता भिन्नता भए तापनि नेपालको सन्दर्भमा यहाँका प्रमुख जनजाति मानिने गुरुड, मगर, राई, लिम्बू तामाड, थकाली, शेर्पा, नेवार, थारु, धिमाल, सुनार, राउटे आदि नेपालका आदिवासी जनजातिहरू हुन्
(गुरुड, २०५८, पृ.१५ ) यसरी हेर्दा गुरुङ जाति नेपालको आदिवासी जनजातिअन्तर्गत पर्ने आफ्नो छुटै भाषा, धर्म, विश्वास, संस्कार, संस्कृति र जीवनपद्धति भएको जाति हो ।

तस्वीर प्रदिप शाक्य
गुरुङ समुदायमा पितृसत्ताको सुरुवात
आजभन्दा छ सय वर्षअघि कास्कीका ठकुरी राजा जगति खान शाहीका पालामा गुरुङहरूको क्होल राज्य निर्मृूल गरिएदेखि गुरुड समाजमा हिन्दू धर्मको प्रभाव पर्न थालेको थियो । जगतीखान शाहीका छोरा लमजुङका ठकुरी राजा जसवम शाह (यसोब्रह्मशाह) का पालादेखि गुरुङ समाजमा प्रत्यक्ष रूपमा हिन्दू धर्मले प्रभाव पार्यो । लमजुङ दरबारको धर्मसभामा जसवम शाह (यसोब्रह्म शाह)ले तिमीहरूको सनातन कुल धर्म लामा घ्याँबृले गर्नुपर्ने काम लामा घ्याँबृले गर्नु , ब्राह्मणले गर्नुपर्ने काम उपाध्याय ब्राह्मणबाट गराउनू, उपाध्याय ब्राह्मणबाहेक अरू जातले पकाएको दाल भात नखानू , जिया नमास्नू , मोर अपुताली र चाक चकुई माफ भयो भनेर थिति बाँधी गोत्रसमेत दिएको र त्यस थिति र गोत्रलाई गुरुङ पक्षहरूले स्विकार गरेपछि गुरङ समाजमा हिन्दू धर्मको प्रभावको चाप बढ्दै गयो ।
कालान्तरमा राज्यले गुरुङहरूलाई दुई वर्गमा विभाजन गरिदिए । लामा घ्याँबृ राखेर अर्घौ गर्ने गुरुङलाई मैलो वर्ण भन्नु, ब्राह्मणबाट दशकर्म गराउने गुरुङलाई सुकिलो वर्ण भन्नु, सुकिलो वर्णका गुरुङले मैलो वर्णका गुरुङको हातको दालभात नखानु, सुकिलो वर्णका गुरुङलाई मात्र दुवालबन्दी सिपाहीमा भर्ना गर्नु जस्ता थिति बाँधेर आफ्नो सनातन कुल धर्ममा रहने गुरुङहरूको जात पतित गराई देशको शासनबाट वञ्चित गराए । ब्राह्मण राखेर हिन्दु धर्मअनुसार कर्म गर्ने गुरुङहरूलाई राज्यले शासनको बढी हक अधिकार दियो । अत ः मर्नुभन्दा बहुलाउनु निको भन्ने उखानलाई चरितार्थ गर्दै हिन्दू राजाको विश्वास जितेर देशको शासनको लागि बढी हक अधिकार पाउनका लागि गुरुङ समाज हिन्दू धर्मतिर परस्त हुँदै गयो (गुरुड,२०६७, पृ.१०४–१०५) यस तथ्यलाई आधार मान्दा गुरुङ समुदायमा हिन्दू धर्मको प्रवेशसँगै आजभन्दा ६ सय वर्ष अगाडिदेखि पितृसत्ताले बिस्तारै जरो गाडेको पाइन्छ । र महिला उत्पीडनको सुरुवात यहीँबाट भयो भन्न सकिन्छ ।
गुरुङ महिला र उत्पीडनको जड
महिला, त्यसमाथि पनि गुरुङ महिलाको उत्पीडनको गहिराइ अरू महिलाका तुलनामा अझै गहिरिँदो छ । सतहीरूपमा जसरी गुरुङ समुदायमा पितृसत्ताको दबदबा छैन भन्ने जुन भाष्य निर्माण भइरहेको छ, यसको यथार्थ के हो ? गुरुङ महिलाहरू पहिचान र प्रतिनिधित्वका हिसाबले कति उत्पीडनमा छन् ? सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक लगायत वंश र अंशको सबालमा उनीहरू कति अधिकार सम्पन्न छन् ? किन गुरुङ महिलाहरू इतिहासका पानामा कहीं कतै भेटिदैनन् ? पढिदैनन् ? किन उनीहरू कहिल्यै राजा भएनन् ? मुखिया बनाइएनन् ? गुरुङ समुदायमा मातृसत्ता थियो र उनीहरू कहिल्यै उत्पीडनमा थिएनन् भने त्यो कहिलेसम्म थियो ? यिनै प्रश्नहरूको सेरोफेरोमा गुरुङ महिलाको उत्पीडनको गहिराइ खोतल्ने प्रयास गरिएको छ । गुरुङ लगायत यहाँका आदिवासी जनजाति महिलाहरूलाई केही सामाजिक जिम्मेवारी, संस्कार, संस्कृति र घरायसी व्यवहारका सानातिना अधिकारतर्फ सङ्केत गर्दै आफ्नो समुदायमा पितृसत्ता नभएको र महिलाहरू उत्पीडनमा नपरेको दावी गर्छन् तर यथार्थमा अधिकांश आदिवासी जनजाति महिला अंश, वंश, सहभागिता र नेतृत्वका सवालमा उत्पीडनमा छन् ।
प्रतिनिधित्वका हिसाबले गुरुङ महिला केही सामाजिक र सांस्कृतिक जिम्मेवारीबाहेक हरेक क्षेत्रमा पछाडि पर्छन् र पारिन्छन् । प्रतिनिधित्वले कुनै पनि समुदायको सामाजिक संरचनाको निर्माणदेखि व्यक्ति, समूह, वर्गको प्रतिनिधित्वको अवस्थालाई केलाएर हेर्छ । गुरुङ समुदायमा पितृसत्तात्मक संरचना हावी छ । यो समुदायभित्र हुने महिला र पुरुषको जिम्मेवारी र प्रतिनिधित्वले नै गुरुङ महिला कति उत्पीडनमा छन् भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ । सामाजिक संरचना सत्ताले निर्माण गर्छ । सत्ता कुनै व्यक्ति वा समूहलाई अर्को व्यक्ति वा समूहमाथि बल प्रयोग गर्ने वा नियन्त्रण गर्ने माध्यम हो (एडगर र सेविक, सन् २००४, पृ. ३०४) गुरुङ महिला अरू महिलाभन्दा केही स्वतन्त्र देखिए तापनि उनीहरू सत्ताबाट नियन्त्रित र निर्देशित छन् । उनीहरूलाई बच्चैदेखि महिलाजस्तो भएर बाँच्न सिकाइन्छ ।
विवाहपछि घर सम्हाल्न सक्ने गरी भान्साजन्य कार्यहरूमा प्रशिक्षित गरिन्छ । यतिसम्म कि विवाह गर्दा केटीको रोजाइभन्दा पनि परिवारको रोजाइमा आफ्नै मामाचेला फुपूचेला बिचमा जबर्जस्ती विवाह गरिदिनुपर्ने अवस्थामा गुरुङ महिला थिए र छन् ।
सत्ताको सम्बन्ध राजनीतिसँग हुन्छ । राजनीतिमा एक वर्गले अर्को वर्गमाथि दमन वा नियन्त्रण गर्छ र त्यसका लागि नियम कानुन, संस्कृति, साहित्य सबैको निर्माण वा रचना हुन्छ । सत्ताले प्रत्यक्ष बल मात्रै प्रयोग गर्ने होइन, अन्य विभिन्न साधनहरूको पनि निर्माण गर्छ र यी विभिन्न माध्यमबाट आफ्नो सत्ताको संरक्षण गर्छ (भट्टराई, २०६९, पृ. ५१) । नेपालको पितृसत्ताले आफू अनुकूलका नियम, कानुन, संस्कार, संस्कृतिको निर्माण गरेर जसरी महिलामाथि दमन र नियन्त्रण गर्यो, यसबाट मातृसत्तात्मक संरचना रहेका भनिएका गुरुङ महिला पनि अछुतो रहेनन् । महिला भएकै कारण उनीहरू अनेक शङ्का र प्रश्नको घेरामा पारिन्छन् । उनीहरूको कार्य दक्षता र क्षमतामा प्रश्न गरिन्छन् । जब यी सबै व्यवधानहरूलाई पार गरेर एउटी महिला अगाडि बढ्छे, तब उसको चरित्रमाथि प्रश्न थोपरेर कमजोर तुल्याउने र सत्ता टिकाउने प्रयास गरिन्छ ।
कुनै व्यक्ति, वर्ग वा लिङ्गको विचार निर्माणमा सत्ताले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आफ्नो सत्ताको स्थायित्वका लागि आफू अनुकूलको विचार, संस्कार, संस्कृति र नीति नियमको निर्माण गर्नु र आफूजस्तै बनाउनु नै सत्ताको प्रमुख काम हो । नेपालमा पितृसत्ता आदिवासीहरूका लागि आगन्तुक हो तर हिन्दू पितृसत्तासँग लामो समय अन्तरघुलनमा रहेका कारण केहीमा त्यसका प्रभाव धेरै र केहीमा कम देख्न सकिन्छ (NIWF सन् २००८ ः ५९) यस तथ्यले आदिवासी लगायत गुरुङ समुदायमा मातृसत्तात्मक भए तापनि बिस्तारै पितृसत्ता प्रवेश गरेको कुरा पुष्टि हुन्छ । गुरुङ समुदायमा पनि लैङ्गिक विभेद छ । अंश र वंशका सवालमा महिलाहरू उत्पीडनमा छन् । जेठो छोरा जन्मिदा धुमधाम हर्षोल्लासका साथ पुटपुटे मनाइन्छ तर त्यही घरमा जेठी छोरी जन्मिएमा त्यस्तो उत्सव हुँदैन । बाबु आमाको पुख्र्यौली सम्पत्तिमा छोराकै हक रहन्छ । सामाजिक सङ्घसंस्था र राजनीतिमा गुरुङ महिलाहरू पछाडि पारिएका छन् । उनीहरू मञ्च सजावट, स्वागत, सत्कार गर्न, र्यालीमा पोसाक लगाएर समूह प्रदर्शन गर्न र भान्सामा खाजा व्यवस्थापन गर्नेजस्ता कार्यहरूमा सीमित गरिएका छन् तर विडम्वना ! उनीहरूलाई आफूमाथि विभेद र अन्याय भइरहेको छ भन्ने चेतनासमेत छैन, जसका कारण गुरुङ महिलामाथिको उत्पीडन अझै बढ्ने क्रममा देखिन्छ ।
सामाजिक व्यवस्था ः उत्पीडनमा महिला
गुरुङ समुदाय पितृसत्तात्मक बढी र कम मातृसत्तात्मक संरचना रहेको समुदाय हो, अर्थात् प्रारम्भकालीन समयमा मातृसत्तात्मक संरचना भए तापनि कालान्तरमा पितृत्तात्मक संरचना हावी भएको समुदाय हो । उनीहरूका विभिन्न सामाजिक व्यवस्था, संस्कार, संस्कृति र प्रचलनहरूमा पितृसत्ताकै स्वरूप देखिन्छन् । जन्मदेखि मृत्युसम्मका संस्कारजन्य कार्यहरूमा पुरुष नै पैंडी (पुरोहित) ह्ुन्छन् । आमा समूह या महिला समूहको अध्यक्ष महिला भए पनि समग्र सामाजिक सङ्घसंस्थाको अगुवा र नेतृत्व पुरुषले नै गर्छन् । इतिहासमा राजा र मुखिया पुरुष नै भए । यिनै तथ्यहरूको आधारमा र वर्तमान सामाजिक अवस्थाका आधारमा गुरुङ महिलाको उत्पीडनको जरा खोतल्ने प्रयास गरिएको छ ।
रोधीं र सांस्कृतिक उत्पीडन
गुरुङको आफ्नै जीवनपद्घति र संस्कृति छ । उनीहरूको संंस्कृतिको धरोहरको रूपमा रोधीं प्रमुख रहेको छ । रोधीं सयौं वर्ष अघिदेखि गुरुङ पहिचानका रूपमा स्थापित छ । रोधीं परम्पराको आरम्भ ३/४ सय वर्ष पहिले गुरुङ सभ्यताको केन्द्र क्होंला सोंथरबाट भएको मानिन्छ । १३ /१४ वर्ष उमेर पुगेपछि गुरुङ युवायुवतीहरू रोधीं जान सुरु गर्छन् । केटाहरूको छुट्टै र केटीहरूको छुट्टै रोधीं हुन्छ । रोधीं घरको आमालाई रोस्यो आमा र बालाई बाबा भनिन्छ । रोधींको रोस्योहरूको अभिभावक रोस्यो आमा र बाबा हुन्छन् । जो रोधींको संरक्षकका रूपमा रहन्छन् र रोधींलाई अनुशासित र मर्यादित बनाउने जिम्मेवारीमा हुन्छन । रोधीं गुरुङहरूको सामाजिक परम्परा हो । समानता, समावेशी, इमान्दारिता, जवाफदेहिता, कर्तव्यपरायणतादेखि रहन सहन, जीवन बाँच्ने तरिका, अतिथिको सत्कार सबै रोधींमा सिक्छन् (गुरुङ, २०७५, पृ. १५) । प्रारम्भिक समयमा रोधींको संरक्षकका रूपमा रोस्यों बाबा र रोस्यों आमा दुवैलाई समान महत्त्व र सम्मान दिइन्थ्यो । रोधीं घरको रोंस्यो बाबा र रोस्यों आमाको समानान्तर भूमिका र महत्त्वका साथै मामाचेला, फुपूचेला बिचको वैवाहिक सम्बन्ध, सिन्का पाउँरु (सम्बन्ध विच्छेद) मा महिलाको समान अधिकार, डोलो डोल्स्यों सम्बन्ध, आस्यों (मावली) सम्बन्धको महत्त्व, ससुरालीमा ज्वाइँ चेलाको जिम्मेवारी, घरायसी व्यवहारहरूमा महिलाहरूले निर्णय गर्ने गरे तापनि सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा गुरुङ महिलाहरू पछाडि परेका र पारिएका छन् ।
गुरुङ परिवारमा फरक लिङ्गका बालबालिकाहरूलाई फरक प्रक्रियाको व्यवहार गरिन्छ । धेरै गुरुङहरू आफूलाई हिन्दू मान्दैनन्, तथापि हिन्दूवादको धार्मिक साङ्केतिक प्रणालीले गुरुङ समुदायको लैङ्गिक भूमिकामा प्रभाव पार्दछ । विवाहपश्चात् गुरुङ महिलाले पारिवारिकभन्दा बाहिरका क्रियाकलाप त्याग्नुपर्छ । उनका क्रियाकलापहरू घरभित्रका कामकाजमा बदलिन्छन् । आफ्नै गाउँमा विवाह गरे पनि उनको पहिलेको रोधीं साथीहरूसँगको सम्बन्ध कम हुन्छ । तर विवाहले गुरुङ पुरुषमा कुनै परिवर्तनहरू ल्याएको पाइँदैन । पुरुषहरू विवाहपश्चात् पनि रोधीं जान सक्छन् (गुरुङ, २०७४, पृ.१६– १८) । छोरी वा महिला भएरै जन्मिएका कारण गुरुङ महिला बाल्यकालदेखि नै विभेद र उत्पीडनमा पारिन्छे । महिला भएकै कारण ऊ घरभित्र सीमित हुन पुग्छे । उसलाई पुरुषसरह पढ्न र सपना देख्न वञ्चित गरिन्छ । विवाहपछि रोधीका साथीहरूसँगको सम्बन्धबाट समेत टाढा पारिन्छ । हिन्दू परम्परा पछ्याउँदै एक नव विवाहिता महिलाको हैसियत तब बढ्छ, जब तिनले पहिलो बच्चा जन्माउँछिन् । बच्चा नजन्माएका श्रीमतीको हैसियत कमजोर हुन्छ, श्रीमान्कै असक्षमताका कारण बालबच्चा नहुनुमा समेत श्रीमतीलाई नै दोषी देखाइन्छ । धेरैजसो बच्चा जन्माउन असमर्थ श्रीमतीका श्रीमान्हरू फेरि विवाह गर्दछन् । बाँझोपन भएका महिलाहरू आफूलाई भाग्यले घात गरेको ठान्छन् (गुरुड, २०७४,पृ. १८) । यस तथ्यले मातृसत्तात्मक संरचना रहेको र स्वतन्त्र रहेका भनिएका गुरुङ महिला कति उत्पीडनमा छन् भन्ने कुराको पुष्टि गर्छ । विवाहपछि पुरुषकै असक्षमताका कारण सन्तान नजन्मिएमा पनि महिला नै दोषी हुन्थे । श्रीमान्ले आफ्नै सामु सौता भित्र्याउँदा पनि चुपचाप सहन ती बाध्य थिए । अहिले पनि गाउँघरका केही महिलाहरू यस्तै उत्पीडन सहेर बाँच्न विवश छन् ।
पुटपुटे संस्कारमा महिलामाथिको विभेद
गुरुङ समुदायमा जेठा छोरा जन्मेर ह्र्केपछि ३, ५, ७, ९ वा ११ बिजोर वर्षहरूमध्ये कुनै एउटा वर्षमा पुटपुटे गरिन्छ । जेठो छोराको मात्र पुटपुटे संस्कार गरिन्छ । विवाहको प्रतिफल जायजन्म अथवा छोरा जन्मनु हो । जेठो छोरा जन्मेर उनको अकाल मृत्यु नभई हुर्केको उपलक्ष्यमा पुटपुटे संस्कार गरिन्छ । छोराछोरीको विवाह गरिदिनुलाई बोट बाँधिदिनु भनिन्छ ।
विवाह गरेर बोट बाँधिदिएपछि जेठा छोरा जन्मेर हुर्कनु अपुताली बार भएको र यसबाट आफ्नो वंश जोगिएको ठानिन्छ । यसपछि छोरी दिएको लिएको सफल भएको मानिन्छ । यसरी वैवाहिक सम्बन्ध सफल भएर वंशवृद्धि भएको खुसीयालीमा बाबु माइतीहरू आफ्नो छोरीको घरमा आई हर्ष बढाइँ गर्नका लागि पुटपुटे संस्कारको आयोजना गरिएको हो (गुरुड २०७३, पृ.७४) । यस संस्कारबाटै गुरुङ समुदायमा पितृसत्ताको खिल कति गहिरोसम्म गडेको छ भन्ने कुराको पुष्टि हुनेगरेको छ । विवाहपछि जन्मिएको पहिलो सन्तान छोरो भए मात्रै पुटपुटे गर्नुपर्ने परम्पराले गुरुङ समुदायमा रहेको लैङ्गक विभेदलाई उजागर गरेको छ । यस समुदायमा छोरालाई वंशको रूपमा स्विकार गरिन्छ र छोरीलाई त्यति महत्त्व दिइँदैन । त्यहाँका महिलाले मान्छे भएर बाँच्न कठिन सङ्घर्ष गर्नुपर्छ । यसको भुक्तभोगी स्वयं पङिक्तकार नै हुँ । पहिलो जेठो सन्तान छोरी भएकै कारण उनको पुटपुटे गर्नु परेन । यदि त्यही ठाउँमा छोरा जन्मिएको भए माइती, मावली, आफन्तजन र इष्टमित्रलाई निम्त्याएर खुसी बाँड्दै भोज खुवाउनुपर्ने थियो तर छोरी भएकै कारण यस्ता संस्कार र उत्सव जरुरी ठानिँदैनन् । त्यस्तै करिब १४ वर्ष अघि दोस्रो सन्तान पनि छोरी नै जन्मिएकै दिनमा दुई सन्तान जे भए पनि पुग्यो भनेर गरेको निर्णयमा अस्पतालका डाक्टरहरूसमेत सशंकित हुनु, दोहो¥याएर मेरो निर्णयमा फेरि एकपटक सोच्न भन्नु र विशेषतः माइतका बाबु आमा निर्णय सुनेर चिन्तित हुनु, यी सबै पितृसत्ताको जड थियो । विवाहित गुरुङ महिलाले पनि जबसम्म वंश धान्ने भनिएको छोरो जन्मिदैन, तबसम्म सुरक्षित महसुस गर्न सक्दिनन् । यस क्रममा महिलाले भोग्ने शारीरिक र मानसिक पीडाको भारी गह्रौ छ ।
सिन्का पाऊँरुभित्रको व्यथा
गुरुङ समुदायमा जन्म, मृत्यु र विवाहगत संस्कारहरू छन् । जसरी क्रमु तेना (पाँच सुकी) बाट विवाह संस्कार सुरु हुन्छ, ठिक त्यसैगरी विवाह बदर गर्न चाहेमा सिन्का पाऊँरु गरी सम्बन्ध विच्छेद गर्न सकिन्छ । यो गुरुङको आदिम प्रचलन हो । भलाद्मीहरू बसेर पारपाचुकेका सर्तहरू तय भएपछि श्रीमान्, श्रीमती र भलाद्मीहरू दोबाटोमा जान्छन् । त्यसपछि यदि श्रीमतीबाट पहिले पारपाचुकेको कुरा आएको भए श्रीमतीले एउटा सिन्कोलाई दुई टुक्रा पारेर भाँच्दछिन् र सिन्काको एउटा टुक्रा आपूmले राखेर सिन्काको एउटा टुक्रा श्रीमान्तिर फाल्दिन्छिन् त्यसपछि श्रीमान्ले एउटा पाङ्ग्रो फोरेर पाङ्ग्राको एउटा दिउली आपूmतिर राखेर एउटा दिउली श्रीमतीतिर फालिदिन्छ । सिन्को लिङ्गको प्रतीक हो । अत ः लिङ्ग विच्छेदको सङ्केतका लागि श्रीमतीले सिन्कोलाई भाँचेर दुई टुक्रा पारी एक टुक्रा सिन्को श्रीमान्तिर फालेर एक टुक्रो सिन्को आफूसँग राखेको हो । यसैगरी पाङ्ग्रो योनीको प्रतीक हो । अत ः योनी विच्छेदको सङ्केतका लागि श्रीमान्ले पाङ्ग्रोलाई दुई कपटेरा पारेर फोरी पाङ्ग्राको एउटा दिउँली आफ्रूसँग राखेर पाङ्ग्राको एउटा दिउली श्रीमतीतिर फालेको हो (गुरुङ, २०७३, पृ. ७६) । हिन्दू धर्मको प्रभाव र पितृसत्तात्मक संरचना सुरु हुनुपूर्र्व सम्बन्ध विच्छेदका बेला गुरुङ महिलालाई पुरुषसरह निर्णय गर्ने अधिकार थियो । वैवाहिक सम्बन्धमा चित्त नबुझेमा महिलाले पनि स्वतस्फुर्त सिन्का पाऊँरुका लागि सभा बोलाउन सक्ने अवस्था थियो । तर अहिले यो परम्परा लोप भइसकेको छ र सम्बन्ध विच्छेदमा पनि पुरुषकै सोचको वर्चस्व रहेको छ ।
ल्होसारमा महिलाको कष्ट
ल्होसार गुरुङहरूले मनाउने प्रमुख पर्वहरूमध्येको एक हो । पुस १५ गते मनाइने ल्होसारलाई कतै ल्होसार र कतै ल्होछार पनि भन्ने गरेको पाइन्छ । कतै ल्होत्वोवा पनि भन्ने गरिन्छ । ल्होछार शब्द ल्हो+छार मिलेर बनेको शब्द हो । तमू गुरुङ भाषामा ल्हो को अर्थ वर्ग र छारको अर्थ नयाँ हो । सार शब्द छार शब्द अपभ्रंश भएर वा तिब्बती भाषामा सार भनिने गरेको कारणले तमूहरूले पनि ल्होसार भनेको पनि हुनसक्छ । तिब्बती भाषामा सारको अर्थ नयाँ हो । त्यसैगरी ल्होत्वोवा शब्द लहो+ त्वोवा मिलेर बनेको शब्द हो । ल्होको अर्थ वर्ग र त्ववाको अर्थ फर्कनु हो । ज्योतिष शास्त्रकाअनुसार असार १५ को दिनलाई लामो दिन र पुस १५ को दिनलाई छोटो दिन अर्थात् सबभन्दा लामो रातको रूपमा गणना गरेको पाइन्छ (थकाली, २०६७, पृ. १८८) । ल्होसारका अवसरमा सार्वजनिक स्थलमा ठुलाठुला सभा, समारोहहरू आयोजना गरिन्छन् । विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन् तर त्यस्ता कार्यक्रमहरूमा महिलाको नेतृत्व निकै कमजोर देखिन्छ । विचार, विमर्श र अन्र्तक्रियाहरूमा पुरुषकै वर्चस्व हुन्छ । महिलाहरू स्वागत, सम्मान, र्याली र भान्सातिरको कामहरूमा सीमित हुन्छन् । गुरुङ जातिको जन्मदेखि मृत्युसम्मका आफ्नै संस्कार छन् । पुटपुटे, क्रमु तेना, सिन्का पाऊँरु, पय अर्थात् अर्घौ गुरुङ जातिका संस्कार हुन् । गुरुङहरू मान्छे मरेपछि पय अर्थात् अर्घौ गर्छन् । मृत संस्कारमा आस्यों अर्थात् मावलीको महत्त्व बढी छ । मावलीले आस्यों क्वोए नदिएसम्म मृत संस्कार नै अगाडि नबढ्ने र पितृ स्वर्ग जान सक्दैन भन्ने विश्वास र मावलीसँगको सम्बन्ध हरेक घरका महिला अर्थात् आमासँग सम्बन्धित हुने भएकाले गुरुङ महिलाहरू कम उत्पीडनमा भए तापनि पितृसत्तात्मक राज्य, एकल भाषा नीति, वर्चस्वशाली हिन्दू संस्कृति लगायतका कारणले गुरुङ महिलाहरू अद्यापि गहिरो उत्पीडनमा छन् ।
आर्थिक अवस्था ः महिला मुक्तिको बाधक
गुरुङ महिलाहरू प्रायः परम्परागत कृषि, पशुपालन, परम्परागत सिपहरू राडीपाखी बुन्ने, रक्सी पार्ने जस्ता कार्यहरूमा निपूर्ण हुन्छन् । अधिकांश युवाहरू इन्डियन र बृटिस आर्मीमा भर्ती हुने भएकाले छोरा वा लोग्नेले कमाएर पठाएको रकम श्रीमतीको हातमा पर्ने भए तापनि त्यो रकम कहाँ, कसरी प्रयोग गर्ने भन्ने सवालमा पुरुषको अनुमति चाहिन्छ । पुख्यौली सम्पत्तिमा पुरुषकै अधिकार रहन्छ । अंश र वंशका विषयमा जति अरू महिला उत्पीडनमा छन्, त्यति नै गुरुङ महिला पनि उत्पीडनमा छन् । गुरुङ महिला भन्नासाथ ‘लाहुरेनी’ पदवी आर्थिक पक्ष पनि जोडिएर आउँछ । यो पदवीभित्रका गुरुङ महिला वास्तवमै कति उत्पीडनमा छन् त ? यस सन्दर्भमा २०८० सालको फागुनमा पोखरामा आयोजना गरिएको नेपाल साहित्य महोत्सवको ‘लाहुरेनीका कथा–व्यथा’ शीर्षकको सेसनमा प्रस्तुत तथ्यलाई आधार मान्न सकिन्छ । डाक्टर चन्द्रबहादुर गुरुङका अनुसार प्रथम विश्वयुद्घमा करिब २० हजार र दोस्रो विश्वयुद्घमा करिब २३ हजार सिपाहीहरूको मृत्यु भएको तथ्याङ्क रहेको छ । यी तथ्याङ्कहरूका आधारमा अधिकांश गुरुङ गाउँका लाहुरेनीहरू एकल भएर बाँच्नु परेको र भर्ती हुँदा गाउँमा बोलाइने नामभन्दा भिन्न नाम लेखाएर भर्ती भएका कारण युद्घमा मृत्यु हुने सिपाहीका श्रीमती र प्रेमिकाहरू नैतिकता र चरित्रको कठघरामा उभिन बाध्य हुने र पारिने गरिएका उत्पीडनका नयाँ स्वरूपसमेत यसबाट खुल्न आएको छ ।
राजनीतिक पहुँचको अभावमा महिला उत्पीडन
नेपालका आदिवासी जनजातिहरू करिब अढाइ सय वर्षसम्म नेपालको राज्यसत्तामा संलग्न हुनबाट वञ्चित रहे । यसका कारण राज्यसत्तामा पुरुषहरूकै पनि न्यून सहभागिता भइरहेका अवस्थामा गुरुङ महिलाहरूको उपस्थिति निराशाजनक रहेको छ । गुरुङ महिला राजनीतिक नेतृत्वमा पछाडि नै छन्, मताधिकार प्रयोगमा पनि पति वा छोराले रोजेको र भनेको पार्टीमा भोट दिनुपर्ने अवस्थामा छन् । लोग्ने र छोराहरूको रुचि र निर्देशनबाहेकका पार्टीमा उनीहरूको छुट्टै आस्था र पार्टी हुँदैन । पछिल्लो समयमा केही मात्रामा गुरुङ महिलाहरू राजनीतिमा सहभागी भए तापनि उनीहरूलाई ‘उप’मा मै सीमित गरिएको छ । महिलाहरू बालबालिका हुर्काउने, खेतीपाती र पशुपालन गर्ने गरे तापनि सार्वजनिक स्थलहरूमा पुरुषहरूकै प्रभुत्व रहन्छ । घरका पुरुषहरू अनुपस्थित हुँदा गाउँको सभाहरूमा उक्त घरको महिलाको उपस्थितिको अपेक्षा गरिँदैन । पुरुषहरू सम्पत्तिको उत्तराधिकारी हुन्छन् र नियन्त्रण पनि गर्दछन् किनकि परम्परागत रूपमै जमिनमा छोरा उत्तराधिकारी हुन्छ (गुरुङ, २०७४, पृ. १९) । यस तथ्यले गुरुङ महिलाको उत्पीडनको अवस्थालाई पुष्टि गरेको छ । घरायसी र सामाजिक हरेक ठाउँमा पुरुषकै निर्णय लागु हुन्छ । महिला सहभागिता भए तापनि निर्णयमा पुरुषकै नेतृत्व रहन्छ र पुख्र्यौली सम्पत्तिमा पुरुष नै हकदार हुन्छन् ।
शैक्षिक विभेदमा महिला
गुरुङ बालबच्चा फरक फरक तरिकाले लैङ्गिक महत्त्वका हिसाबले हुर्कन्छन् । बाल्यकालदेखि नै गृह व्यवस्थापन सानो समूह एकात्मक पृष्ठभूमि र सहारा लगायतका कुरालाई बालिकाको हुर्काइमा महत्व दिइन्छ । गुरुङ केटीको सुरुवाती जीवनले केही क्रियाकलाप र व्यवहार स्थापित गर्दछ, जसबाट उसले आफूलाई श्रीमती वा आमाको रूपमा अनुमान लगाइसकेकी हुन्छिन् । केटीहरूलाई विद्यालयमा पढ्न प्रोत्साहन दिइँदैन तर यदि केटीले पढ्ने इच्छा देखाइन् भने त्यो इच्छालाई विवाहसँग जोडेर हतोत्साहित बनाइन्छ । केटीहरूबाट साधारण घरका कामहरू गर्ने अपेक्षा गरिन्छ । उनीहरू साना बच्चा हेर्छन्, स्याहार्छन्, पानी बोक्छन् र आमालाई घरको क्रियाकलापमा सहयोग गर्दछन् । आठ÷नौ वर्षको उमेरदेखि उनीहरू रोधीं घरहरूमा एकत्रित हुन्छन् । गुरुङ केटालाई बाहिरी क्रियाकलापको विकास गर्न, गाउँभरि सामाजिक हुन, शिक्षा पाउन र सेना जस्तै सम्भावित पेसा अपनाउन प्रोत्साहन गरिन्छ (गुरुङ, २०७४, पृ. १७) । गुरुङ बालिका सानैदेखि फरक किसिमले हुर्काइन्छे । उसलाई पराई घरमा विवाह भएर जानुपर्ने भएकाले घरायसी काममा नै निपुण बनाउने प्रयास गरिन्छ । परम्परादेखि नै पढाइ र विद्यालयबाट टाढा राखिन्थ्यो । पढ्ने इच्छा गरे तापनि महिलालाई विवाहसँग जोडेर हतोत्साहित गरिन्थ्यो र यसले उसको मानसिक विकासमा बाधा परेको स्थिति अद्यापि प्रभावका रूपमा रहेकै छ ।
निष्कर्ष
आदिवासी जनजाति समुदायअन्तर्गत पर्ने गुरुङ समुदायमा करिब छ सय वर्षअघि हिन्दू धर्मसँगै पितृसत्तात्मक संरचना भित्रिएको पाइन्छ । पितृसत्ताको सुरुवातसँगै गुरुङ महिलाको उत्पीडनको यात्रा सुरु भएको हो । केही सामाजिक जिम्मेवारी, संस्कार, संस्कृतिमा महिलाको सहभागिता र नेतृत्व भएको देखिए तापनि समग्रमा सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक प्रतिनिधित्व लगायत अंश र वंशका सवालमा गुरुङ महिलाहरू उत्पीडनमा छन् । अहिले पनि गुरुङ समुदायमा पहिलो सन्तान छोरो जन्मिएमा वंश जोगिएकामा र छोरीको विवाह सफल भएको खुसीयालीमा माइती, मावली, आफन्त र इष्टमित्रलाई निम्त्याएर हर्षोल्लासकासाथ पुटपुटे मनाउने चलन छ, तर त्यहीँ परिवारमा जेठो सन्तानका रूपमा छोरी जन्मिएमा त्यस्तो उत्सव मनाइदैँन । गुरुङ समुदायमा महिलाको स्थान कहाँनेर छ भनेर यही चलनबाट पनि अनुमान गर्न सकिन्छ । प्रारम्भकालीन समयमा गुरुङ महिलाहरू रोधींको रोस्यों आमा (संरक्षक) र सिन्का पाऊँरु (सम्बन्ध विच्छेद) जस्ता प्रक्रियामा निर्णायकका रूपमा रहन्थे । समयको क्रमसँगै यी सामाजिक र सांस्कृतिक रीतिथितिहरू लोप हुँदै जाँदा र हिन्दू पितृसत्तासँग अन्तरघुलन हुँदै जाँदा गुरुङ महिलाको उत्पीडनको तह अन्य महिलाको तुलनामा अझै गहिरिँदो छ । यद्यपि गुरुङ समुदायले यो यथार्थलाई सहजरूपले स्विकार्दैनन् । उनीहरू गुरुङ महिलाहरू पुरुषभन्दा या पुरुषसरह अधिकारसम्पन्न छन् भन्ने भ्रममा छन् । संविधान र कानुनले जे जस्तो अधिकार दिए तापनि गुरुङ महिलालाई अंश र वंशको रूपमा स्विकार्न र मान्छे भएर बाँच्न अझै लामो सङ्घर्ष गर्नुपर्ने नै छ । त्योभन्दा अघि गुरुङ महिलामा चेतनाको बिजारोपण गर्नु आजको प्रमुख आवश्यकता हो ।
सन्दर्भ सामग्रीसूची
गुरुङ, एकेन्द्र (२०७५), मनका तरङ्खहरू, पोखरा ः गुरुङ साहित्यिक मञ्च नेपाल ।
गुरुङ, ओम (२०५८), ‘नेपालको आदिवासी जनजातिबारे केही विचार’, छापामा जनजाति, सम्पा., प्रत्यूष वन्त, कुमार यात्रु र भास्कर गौतम,
काठमाडौँ ः एकता बुक्स, पृ. १५–१९
गुरुङ, जगमान (२०६७), तमुवानको ऐतिहासिक वृत्तान्त, काठमाडौँ ः राजेन्द्रराज क्ह्रोँगी गुरुङ र जगतजङ्ख क्ह्रोँगी गुरुङ ।
गुरुङ, जगमान (२०७३), गुरुङ जातिका सामाजिक संस्कार, नेपालका जातीय सामाजिक संस्कार, (सम्पा.प्रेम खत्री), काठमाडौँ ः नेपाल
प्रज्ञा प्रतिष्ठान, पृ. ६६–९६ ।
गुरुङ, टंक प्रसाद (२०७४), ग्रामीण गुरुङ सङ्गीतको इथ्नोग्राफिक अध्ययनःनिरन्तरता र परिवर्तन,काठमाण्डौं ः रत्न पुस्तक भण्डार ।
गुरुङ, होमा (२०६७), तमू गुरुङ जातिको उत्पत्ति र धर्म–संस्कृति, ललितपुर ः होमा गुरुङ
भट्टराई, रमेशप्रसाद (२०६९), सांस्कृतिक अध्ययनका मूलभूत सिद्घान्तहरू, (सम्पा.) लिखत पाण्डे, काठमाडौं ः भृकुटी, पृ. ४७–७७ ।
ल्हेगे तमु, होमन (२०५९), तमू न्होर्वै ताँ, तमु धर्म संस्कार, धर्म शास्त्र र सत्यतामा आधारित तथा अनुसन्धानात्मक सामान्य तथ्य ।
सुनुवार, रमेश (२०७५), महिला काठमाडौँ ः प्रगति पुस्तक सदन ।
Edgar, Andrew and Peter Sedgwick (2004) Culture Theory.
NIWF.2008.Economics Empowerment Of Indigenous Woman In Nepal.National Indigenous Women’s Federation.