Asmita Magazine

#

अस्मिताको आवाज महिला सशक्तीकरण र समावेशिता

अस्मिताको आवाज महिला सशक्तीकरण र समावेशिता

हामी यतिबेला महिला अधिकार र स्वअस्तित्वका निम्ति अझै अर्थपूर्ण सहयात्राको सम्भाव्यता खोजिरहेछौँ । परिवर्तनको यस संवेदनशील घडीमा आइपुगिसकेपछि पनि हामीले हाम्रा आवाजहरूलाई किन अझै चर्को बनाउनु परिरहेछ ? मानव संस्कृतिभित्र महिलाको अस्तित्वप्रतिको विभेदपूर्ण व्यवहारका कारक र परिणतिमाथि गम्भीर बहस आवश्यक छ । हाम्रो सहयात्राको इतिहास हरेक दृष्टिले महत्त्वपूर्ण हुँदाहुँदै पनि समाजका संवेदनशील तहभित्रका पितृसत्ताका सङ्क्रमणकारी अवशेषहरूले यस सहयात्राको सौन्दर्यलाई पटक पटक विरूप बनाउने प्रयत्न गरी नै रहेका छन् । समाजलाई एकपक्षीय बनाउन उद्दत पर्दा पछाडिका कारणहरूको उत्खनन गर्न तथा सहअस्तित्वका प्रतिध्वनिहरूलाई कानुनका बन्द खाताबाट बाहिर निकाल्न महिला सचेतनताका निख्खर आवाजहरू वर्तमानमा निकै मुखर भएका पनि छन् । प्रतिरोधको यस घडीमा समेत महिला उत्पीडनका कारक बनेका प्रभूत्वशाली शक्तिभीरूहरू अझै पनि रूप बदल्दै महिला–अस्मितामाथि आक्रमण गर्न तम्सिरहेकै छन् ।

मूलतः पितृसत्तात्मक मान्यताका पुरातन व्यवस्थाहरूले रुढिग्रस्त सांस्कृतिक जालो निर्माण गरेर महिलाका परिचय, स्वतन्त्रता, अधिकार र अस्तित्वका सवालमा कुनै न कुनै सूक्ष्म या स्थूल व्यवधान र निषेध खडा गरिरहेकै छन् । संसारमा अनेक परिवर्तनहरू आए पनि समाजमा महिला अस्तित्वका सवालमा अपेक्षित परिवर्तन आउन सकिरहेको छैन । सन् १८५७ मा अमेरिकी कपडा कारखानामा काम गर्ने मजदुर महिलाहरूले समान ज्यालाको निम्ति गरेको हड्ताल र आन्दोलनले महिला अधिकारको प्रश्न उठाएको पनि डेढ शताब्दी नाघिसक्यो । त्यस यता बेलायतका महिलाअधिकारकर्मीहरूले सन् १९१०को दशकमा अघि सारेको मतदानको अधिकार तथा दोस्रो विश्व युद्धपछिको फरक वैश्विक दृश्यपटमा उदाएका नव तथा बहुलस्वरहरू आधा शताब्दीदेखि गुन्जायमान (सत्ताधारी विभेदकका निम्ति त्यो चित्कारजस्तो पनि सुनिएला) भइआएका छन् । यद्यपि महिला उत्पीडनको अविराम सिलसिला जारी छ । अझ अनौठो कुरा त महिला अधिकारका सवालमा कोसेढुङ्‌गा साबित भइसकेको महिलावादको पहिलो, दोस्रो र तेस्रो लहरहरू (वेभ) समुद्री छालसरह आउने जाने क्रम जारी छन् तर महिलामाथिको हिंसा र उत्पीडन भने रोकिएका छैनन् । महिलावादको चौथो वेभ सन् १९१० यता सक्रिय छ, जसले महिला सशक्तीकरणको उद्देश्यलाई केन्द्रमा राखी अन्तरसम्बद्धताको मुद्दालाई अघि बढाइरहेको छ ।

नेपालको सन्दर्भमा वि.सं. १९६० यता धर्मका नाममा शोषित समाजका तत्कालीन परिपाटीमा परिवर्तन ल्याउनका निम्ति सुधार आन्दोलनमा लागेकी योगमाया (चापागाईँ, २०७५) र १९७३ सालमा सिराहामा महिला समितिको गठन गर्ने दिव्या कोइराला (पाण्डे, २०७८) हरूले महिला अधिकारका विषयमा सुरुवाती कदम उठाएर त्यस जटिल परिस्थितिमा एउटा महत्त्वपूर्ण आरम्भ गरेका थिए तापनि त्यसले खासै गति पाउन सकेको थिएन । २००७ सालदेखि २०४६सम्म भएका राजनीतिक तथा सामाजिक परिवर्तनले भने महिला अधिकारको विषयलाई उठाउन ठुलो योगदान दिएको देखिन्छ । यसै पृष्ठभूमिमा २०६२/२०६३ सालको दोस्रो जनआन्दोलनसँगै भित्रिएको नवचेतना तथा परिवर्तित खुला माहोलले नेपालको इतिहासमै महिलाहरूको आवाज सबैभन्दा प्रखर र मुखर भएको देखिन्छ । यसरी साठीको दशकबाट जोडतोडका साथ उठेको सस्वरताका कारण महिला अधिकार प्रत्याभूतिका निम्ति केही दबाब सिर्जना गर्न सकिए पनि र यस क्षेत्रमा केही सफलता हासिल भए तापनि जुन गतिका साथ अघि बढी एक निश्चित गन्तव्यमा पुग्नुपर्ने थियो, त्यसो भने हुन सकेको छैन । २०७२ सालको संविधान प्रदत्त कतिपय अधिकारहरू पनि व्यवाहरिक कार्यान्वयनमा जान सकेका छैनन् । पैतृक सम्पत्तिमाथिको छोरीको अधिकार होस् या आमाको नामबाट प्राप्त गर्ने नागरिकताको सवाल दुवै, उत्तिकै जटिल स्थितिमा छन् । त्यसको अलावा बढ्दो पितृसत्तात्मक पुँजीवादी मान्यता, उपभोक्तावादी चिन्तन, बजार निर्मित महिला सौन्दर्यका नव भाष्य, सञ्चारका विविध माध्यम र सामाजिक सञ्जालको बढ्दो असर तथा पितृसत्ताको पक्षपोषण गर्ने वैचारिकीबाट प्रभावित धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यताको जटिल भासमा नेपालका महिला दिनानुदिन फस्दै गएका देखिन्छन् । यसै परिप्रेक्ष्यमा अस्मिता हाम्रोको यस अङ्‌कले ‘महिला उत्पीडन र सत्ता’ शीर्षकको बृहत्तर आयामभित्रका विविध पक्षमाथि बहस गर्ने प्रयास गरेको छ । त्यसका निम्ति महिला उत्पीडनमा बल पुर्‌याइरहेका पितृसत्ताका दृश्य र अदृश्य स्वरूपबारे विभिन्न लेखकका वैचारिक लेखहरू, अन्तर्वार्ता, अस्मिता अन्तरसंवाद, साहित्यिक रचना तथा अनुवादहरू यस अङ्‌कमा समेटिएका छन् ।

राज्यसत्ता र त्यसभित्रका परिपाटीले महिलाभित्रको विविधतालाई बेवास्ता गरी लामो समय ‘नेपाली महिला’को सोलोडोलो परिचयमै सबैलाई सीमित गर्ने अभ्यास गरियो । सबै जाति, वर्ग, समुदाय, क्षेत्र, शारीरिक अवस्था तथा यौनिक झुकाव भएका महिलाहरूका स्थितिलाई एकै किसिमले हेर्ने र सम्बोधनमा अनुत्तरदायी चरित्र प्रस्तुत गरिनाले महिला हक अधिकारदेखि सहभागिता र समावेशिताका कुराहरू कुनै पनि तहमा विश्वसनीय र भरपर्दो किसिमले त परै जाओस्, सामान्य र आंशिक रूपले पनि पुर्‌याउन सकिएको आभास हुँदैन, जसले गर्दा महिला अधिकार र अस्तित्वको स्थायित्वमाथिको प्रयत्न अपूरै रहेको छ । आज महिलाभित्रको विविधताको विषयलाई अन्तरसम्बद्धताको सिद्धान्त (इन्टरसेक्सनल थ्यौरी) ले विभिन्न तहमा राखी विश्लेषण गर्ने गरेको छ । अन्तरसम्बद्धता अध्ययनको संवेदनशीलतालाई मनन गरी डा. बिन्दु शर्माले यसको सैद्धान्तिक पाटोको उजागरसहित नेपालमा महिला आन्दोलनको इतिहासमा अन्तरसम्बद्धताको प्रारम्भ र विकासमाथि प्रकाश पार्नुभएको छ । डा. अर्चना थापाको लेखले भने बढ्दो पुँजीवादी बजार र विज्ञापनको मायावी संसारभित्र रुमल्लिरहेको महिला अस्तित्व र प्रतिरक्षाको सङ्‌कटमाथि प्राज्ञिक बहस गरेको छ । त्यसैगरी गौरी तमूले जनजाति समुदायभित्रको गुरूङ महिलाको स्थापित स्वतन्त्र छविमाझ समुदायभित्र नै महिलामाथि हुने विविध सांस्कृतिक विभेदमाथि आलोचनात्मक दृष्टिकोण प्रस्तुत गर्नुृभएको छ । महिला उत्पीडनमा पर्नुको महत्त्वपूर्ण कारण रहेको आर्थिक पक्ष, सामाजिक पक्ष तथा सांस्कृतिक पक्ष लगायतका प्रचलित अवस्थालाई प्रभा बरालको लेखले पेचिलो गरी समेटेको छ भने एकल महिलाभित्रको विविधताको विश्लेषणसहित उनीहरूमाथिको पितृसत्तात्मक सोच र विभेदपूर्ण दृष्टिका अनेकन भोगाइलाई शारदा खनालले संवेदनापूर्वक उजागर गर्नुभएको छ । प्रणेताको लेखले आरती साहको न्यायका निम्ति जनकपुरदेखि काठमाडौँसम्म आइपुगेका उनका परिवारको पीडादायी कथा उजागर गर्दै महिला हिंसा र उत्पीडनमा घरेलुसत्ताको भूमिकालाई पनि प्रकाश पारेको छ । सुदखोर साहुकारको फन्दामा परेका मिटरब्याज पीडित महिलाहरू राज्यको समेत उत्पीडनमा परेको पीडादायी यथार्थ रत्न संसार श्रेष्ठको लेखले उल्लेख गरेको छ । नेपाली महिलाहरूको बढ्दो आर्थिक सशक्तीकरणको सकारात्मक पाटोको दृष्टान्त प्रस्तुत गरिएको डा. नवराज खतिवडाको लेखले महिलाको आर्थिक सहभागिताका सबल पक्ष प्रस्तुत गरेको छ भने ललिता गजमेरको लेखले आम महिला र त्यसभित्र पनि दलित महिलाले जन्मैदेखि भोग्नुपरेका विभेदका परिघटनासहितका फेहरिस्ता प्रस्तुत गरेको छ । साथमा डा.अरुणा उप्रेतीको महिला स्वास्थ्यका निम्ति आवश्यक योगासनसम्बन्धी महत्त्वपूर्ण लेख पनि यहाँ समावेश गरिएको छ । यस अङ्‌कमा इन्जिनियर सुष्मा रञ्जित खत्रीको अस्मितासँगको सहयात्रा र सहकार्यका रोचक र चुनौतीपूर्ण प्रारम्भिक इतिहासको प्रभावकारी स्मरण गरिएको छ ।

आज विश्वभर महिला अधिकार र समावेशिताको सम्बन्धमाथि घनिभूत बहस चलिरहेको छ । सन् २०२४ को अन्तर्राष्ट्रिय महिला दिवसमा ‘इन्स्पायर इन्क्लुजन’ नारासहित संसारभर विविध कार्यक्रम भइरहेका सन्दर्भमा अस्मिता हाम्रोले ‘सचेतनताको लागि समावेशिता : समावेशिताको लागि सचेतनता’ शीर्षकमा अस्मिता अन्तरसंवादको आयोजना गरेको थियो । त्यस कार्यक्रममा सहभागी हुनुभएका मधु राई, इल्या भट्टराई, परशुराम तामाङ, डा. महेश मास्के, सोफिया थापा, सोना खटिक, नुनुता राई, चाँदनी घिमिरे, शर्मिला लामा, नरेन्द्र श्रेष्ठ लगायतले नेपालका सन्दर्भमा समावेशिता विषयमा राख्नुभएको धारणा यस अङ्‌कको ‘अस्मिता अन्तरसंवाद’मा समावेश गरिएको छ । सुदुरपश्चिम, बझाङ निवासी गङ्गु खडायतको जीवनको उत्तारचढाब तथा उहाँले राजनीतिक र सामाजिक क्षेत्रमा गर्नुभएको योगदानको सेरोफेरोमा रहेर गरिएको अन्तर्वार्ता पनि यहाँ प्रस्तुत छ । सङ्‌घर्ष र साहसको पर्याय लाक्पा फुटी शेर्पाको सङ्‌घर्ष र सफलताको कथालाई ‘सङ्‌घर्षको सौन्दर्य’मा कुमारी लामाले समेट्नुभएको छ भने ८ मार्चका सन्दर्भमा पारिजातले लेख्नुभएको लेखलाई अस्मिता हाम्रोको ‘मेरो भागमा परेको अस्मिता’ स्तम्भअन्तर्गत समावेश गरिएको छ । साथै अस्मितामा पूर्वप्रकाशित विज्ञापन र महिला मोडलको विषयसहित महिला अस्तित्वको सवाल उठाइएको मञ्जु थापाको लेख पनि यहाँ समावेश छ ।

साहित्यको विभिन्न विधामार्फत महिला अस्तित्वको वकालत गरिरहनुभएका साहित्यकारहरूको रचनालाई अस्मिता हाम्रोको यस अङ्‌कले विशेष महत्त्वकासाथ समावेश गरेको छ । महिलाले युगौँदेखि झेल्दै आएको सांस्कृतिक, सामाजिक मान्यताको जकडमाझ स्वअस्तित्व र स्वतन्त्रताको स्वरसहितको कुन्ता शर्मा र ज्योति जङ्‌गलका कविता तथा बिमला तुम्खेवाको कथा यस अङ्‌कमा समावेश गरिएका छन् । साथमा सुकन्या वाइबाले अनुवाद गर्नुभएको बारबारा निम्री अजिजको लेख, केशव सिग्देलको अनुवादमा अगाथा अडुरोको कविता तथा इल्या भट्‌टराईका कथाकृतिहरूमा आधारित विदुला घिमिरेको समीक्षा पनि समेटिएको छ । यस अङ्‌कको केन्द्रीय विषय ‘महिला उत्पीडन र सत्ता’ सुहाउँदो आवरण कला कलाकार एरिना ताम्राकारको रहेको छ ।

विज्ञान र प्रविधिको चामत्कारिक विकाससँगै द्रुत गतिमा अघि बढिरहेको विश्वमा महिला उत्पीडनका नवीन तरिकाहरू तय भइरहेका छन् । पुँजीवादी बजार व्यवस्थाले सर्वत्र आफ्ना जराहरू फैल्याइसकेको आजको अवस्थामा महिलाले आफ्नो प्रकृति प्रदत्त शरीरमाथि पनि आफैले दाबी गर्नुपर्ने परिस्थितिमा उसको स्वरक्षाको अधिकार कति छ भन्नेजस्ता प्रश्नहरू निरन्तर उठाउन जरुरी भएको छ । बजार, विज्ञापन र उपभोक्तावादको जगजगीले पलपल वस्तुकरणमा परिरहेको  महिला अस्तित्वको ह्रासोन्मुख सवालमाझ महिला स्वतन्तत्रा र स्वअस्तित्वको चर्को नारासहितको विरोधाभाषी भाष्यलाई आजका जागरूक युवाहरूले अझै गहन र संवेदनशील भई घनिभूत विमर्षमा ल्याउन आवश्यक छ । महिलाकेन्द्री विषयका अनेक आयाम उजागर गरिएको अस्मिता हाम्रोको यस अङ्‌कमा समावेश भएका लेखहरू नयाँ वैचारिक बहसको प्रस्थानविन्दु बन्न सक्ने सम्भावना हामी देखिरहेछौँ । यहाँ समावेश भएका सम्पूर्ण लेख रचनामा आएका विचारका निम्ति भने लेखक स्वयम् नै जिम्मेवार रहनुहुनेछ । यस पत्रिकाको आधिकारिक धारणा भने सम्पादकीयमार्फत सम्प्रेषण हुनेछ । यस अङ्‌कमा समावेश गरिएका विषयप्रति यहाँहरूको रुचि र चासो रहन्छ भन्ने आशाका साथै आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको अपेक्षा राखेका छौँ । अस्मिता हाम्रोको यस अङ्‌कका निम्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के