Asmita Magazine

#

दाइजोको इतिहास र अभ्यास

तस्वीर : स्लाइडसेयर डट एन पि

हंसा कुर्मी

समाजमा प्रचलित दाइजो प्रथालाई वर्तमान समयमा अभिशापका रूपमा लिने गरिन्छ र त्यसैअनुसार परिभाषित गर्ने गरिएको पाइन्छ । हामीले भोगेका, देखेका र सुनेका आधारमा हाम्रो सोचाइ र दैनिकीमा समयसँगै आएको परिवर्तनको परिणाम हो यो । समाजको अध्ययन गर्दा कुनैपनि प्रथा, परम्परा, चालचलन र रीतिरिवाजको उद्विकास सकारात्मक उद्देश्य राखेर गरिएको पाइन्छ । कालान्तरमा कुनै पिँढी या पुस्ताले त्यसको गलत अभ्यास गर्दा त्यसमा विकृति पस्दछ । यसका थुप्रै उदाहरणहरू हामीले आफ्नै वरपर देख्न सक्छौं । पछि फेरि कुनै पुस्ताले त्यसका बारेमा अध्ययन अनुसन्धान गर्छ, अनि त्यसमा बिस्तारै सुधार आउँछ । केही परिमार्जित स्वरूपमा त्यो विषय फेरि पहिले कै अवस्थामा पनि पुग्छ । यसबाट के स्पष्ट हुन्छ भने इतिहास सीधा रेखाजस्तो छैन, बरु चक्रीय क्रममा छ भन्ने बुझ्न सकिन्छ । त्यसरी नै समाजमा दाइजो प्रथाको विकास कसरी, कहिले र कहाँबाट भयो < जान्नका लागि हामीले यसको उत्पत्ति र विकासक्रमको अध्ययन गर्नुपर्छ । त्यसमा पनि नेपाली समाजमा दाइजो कहिले, कहाँ र कसरी सुरु भयो, यसको लिखित दस्तावेज पाउन सकिरहेका छैन । यसको ऐतिहासिक विकासक्रमका बारे अध्ययन गर्दा दक्षिण एसियाली मुलुकहरूमा भएको र भइरहेको अभ्यासलाई आधार बनाउनुपर्छ ।

दाइजो प्रथा : कहिले र कहाँबाट सुरु

भारतीय उपमहाद्विप र आसपासका क्षेत्रमा दाइजो कहिलेबाट सुरु भएको थियो भन्ने विषयमा विद्वान्हरूको एकमत भेटिँदैन तथापि मनुस्मृतिमा समेत दाइजो व्यवस्थासम्बन्धी मान्यताको उल्लेख भएबाट ऐतिहासिक कालबाटै यस क्षेत्रमा दाइजोको प्रचलन रहेको अनुमान गर्न सकिन्छ ।  हुन त इसापूर्व ३०० ताका अलेक्जेण्डरले भारतीय उपमहाद्विपमा आक्रमण गर्दा नै यस भागमा  गुण र रूपका आधारमा विवाहका लागि महिला पुरुषको चयन हुने गरेको तथ्य पढ्न पाइन्छ । पण्डित नेहरूको किताब हिन्दुस्तान की कहानी मा यस विषयमा चर्चा गरिएको छ ।

सुन्दा र देख्दा सामान्य तर व्यवहारमा विकराल देखिने दाइजो प्रथा पनि अन्य परम्पराजस्तै हाम्रै समाजमा विकसित भएको हो । हाम्रो समाज र देशमा विभिन्न किसिमका रीतिरिवाज र चालचलनहरू छन् । जसले हामीलाई विश्वमा अरु भन्दा फरक बनाएका छन् । केही राम्रा पनि छन्, केही नराम्रा पनि । राम्रा चालचलनले जीवनस्तर उकास्दै लगेको छ भने खराब चालचलनले मानव सभ्यता नै ध्वस्त बनाउने तरखरमा छ ।  अर्थात् त्यस्ता प्रथा र परम्पराहरूले मानव सभ्यतामा कलङ्क नै थप्ने गरेको पाइन्छ । प्राचीन समयदेखि चल्दै आएका प्रथामा सती प्रथा र दाइजो प्रथा अति नै पीडादायी प्रथाका रूपमा प्रचलित छन्, यी अभिशाप बनेर स्थापित भएका छन् । हामीकहाँ प्रचलित अधिकांश परम्परा र रीतिरिवाजहरू लैङ्गिक मैत्री छैन् । यसबाट छोरीचेली नै प्रताडित छन् भने अर्कोतिर हाम्रो देशमा विभिन्न धार्मिक सन्दर्भ र संस्कारमा छोरीचेलीलाई लक्ष्मीका रूपमा पुज्ने गरिन्छ । अर्थात् देवी शक्तिका रूपमा पुजिन्छ ।

दाइजो प्रथाको इतिहास

दाइजो प्रथाको इतिहास धेरै पुरानो छ । यो हरेक वर्ष नयाँ रूप लिएर आइरहने प्रथा बनेको छ । सुरुवाती चरणमा यसको स्वरूप निकै फरक थियो । अहिलेको शब्दावली प्रयोग गरेर भन्नु पर्दा आरम्भमा दाइजो एक किसिमको उपहार थियो । तर, अहिले यो माग गरेर नै लिइन्छ अझ भनौँ कतिपय समुदायमा डर, धम्की र त्रास देखाएर यो असुलिन्छ । यसको भूगोल निश्चित छैन, जाति र वर्ग पनि निश्चित छैन । त्यसैले आजका जागरुक पुस्ताले यसको इतिहासका बारेमा जानकारी राख्नु र आफ्नो समयमा भयावह विकृति बन्दै गएको यो असामाजिक स्थितिको बारेमा सचेत हुनु अति आवश्यक देखिन्छ ।

वैदिककाल

वैदिक कालमा दाइजो प्रथाको कुनै औचित्य वा मान्यता रहेको पाइँदैन । अथर्ववेदका उत्तरवैदिक कालमा ‘वहतु’ को रूपमा यो प्रथा प्रचलनमा आएको देखिन्छ, जुन  अहिलेको दाइजो प्रथा भन्दा बिल्कुलै अलग थियो । त्यस समयमा केटी पक्षकाले बिहेमा केटा पक्षलाई केही वस्तु खुसीयालीपूर्वक आफ्नै इच्छाले उपहारमा दिन्थे । अहिलेको  जस्तो माग या मोलमोलाइ त्यसबेला हुँदैनथ्यो । केटीका अन्य अभिभावकले पनि आफ्नै खुसीले दिने गर्दथे । केटा पक्षकाले पनि दिइएको उपहार खुसी खुसी स्वीकार गर्दथे ।

मध्यकाल

वैदिक कालपछि मध्यकालमा दाइजोलाई ‘स्त्री धन’को नामले परिभाषित गरियो र पनि यस समयमा दाइजो पूर्ण रूपले वैदिककाल जस्तै दाताको इच्छामा निर्भर हुने गर्दथ्यो, जुन सम्बन्धको शोभा मात्र थियो, वाध्यता थिएन । यो समयमा अलि फरक के हुँदै आयो भने केटी पक्षले आफ्नै हैसियत अनुसार बिहेका समयमा छोरीलाई उपहार दिएर बिदा गर्न प्रारम्भ गरे । बिहेको समयमा दिइने यस्ता उपहारले परघर जाने छोरीलाई समस्या परेका बेलामा गर्जो टार्न सहयोग होस् भन्ने सोचका साथ उपहार दिइने गरिन्थ्यो । यस समयमा पनि केटापक्षको कुनै दबाब थिएन । तर, बिस्तारै बिदाइको समयमा दिनै पर्नेजस्तो चलनको रूपमा उपहार दाइजो प्रथामा परिणत र विकसित हुँदै गयो । बिहेमा छोरीलाई बिदा गर्दा केही वस्तु उपहारको रूपमा दिनैपर्ने गरी अनिवार्य चलन बन्दै बनाउँदै लगियो । सुरुमा यसलाई कुनै किसिमको दबाबका रूपमा  लिइएको थिएन ।

आधुनिककाल

मध्यकालमा विकसित भएको चलनले आधुनिक कालसम्म आइपुग्दा विकराल रूप लिँदै गयो । बिहेवारीको कुरा चल्दादेखि नै नगद तथा जिन्सीको मोलमोलाइ हुन थाल्यो । केटी पक्षउपर दबाब नै सिर्जना हुन थाल्यो । आर्थिक अवस्था कमजोर भएका परिवारले केटापक्षको मागअनुसार दिन सक्दैनथे । तर त्यतिबेला नै स्वयम्वर प्रथाको पनि विकास हुँदै गयो । अर्थात् केटीले आफ्ना लागि पति आफै चयन गर्न पाउने । बिहेका लागि आएका पुरुषहरूले आफ्नो क्षमता र बहादुरी प्रदर्शन गर्नुपर्दथ्यो । फेरि केटीले आफ्नै खुसीले वर चयन गर्ने गर्दथिन् । ११औँ शताब्दीभन्दा पहिले दाइजो भन्ने कुनै चीज नै थिएन । यो एउटा उपहारको रूपमा मात्र थियो । पछि पछि छोरीलाई आर्थिक समस्या नहोस् भनेर बाआमाले आफ्नै सम्पत्तिको केही हिस्सा नै दिन थाले ।

वर्तमानमा यो प्रथा भारत, बङ्गलादेश, पाकिस्तान, नेपाल, श्रीलङ्का, अफगानिस्तान, इरान, टर्की, अजरबैजान, ताजिकिस्तान, इजिप्ट, मोरक्को बेल्जियम र सर्वियामा प्रचलनमा रहेको छ । दाइजोको प्रचलन विभिन्न कालखण्डमा फरक पृष्ठभमिबाट सुरु भएको इतिहासकारहरूले बताउने गरेका छन् । तर दाइजोको सुरुवात महिलाको हितमा÷सम्पत्तिँ माथिको अधिकार संरक्षणका लागि भएको थियो वा महिलामाथि हुने भेदभाव कम गर्न यसमा एकमत भएको पाइँदैन । अतः पूर्व अध्ययनले अधिकांश सभ्यतामा महिलालाई आत्मनिर्भर बनाउन र सम्पत्ति माथिको अधिकार र सुरक्षित भविष्यका लागि दाइजोको सुरुवात भएको हो पूर्व अध्ययनले देखाएको छ । कतिपय सभ्यतामा राज्यको तर्फबाट नै महिलाको विवाहमा सम्पत्तिको अधिकार सुरक्षित गर्ने गरी दाइजोको कानुनी व्यवस्था गरेको समेत इतिहास छ । उदाहरणका लागि हाम्रै नेपालको पेवा प्रथालाई लिन सकिन्छ । सुरुमा महिलालाई आत्मनिर्भर बनाउन या समस्या परेको समयमा सहजता होस् भनेर व्यवस्था गरिएको दाइजो प्रथा कालान्तरमा विकृत भई महिला हिंसाका कारणका रूपमा परिणत भएको तर्क विद्वान्‌हरू गर्छन् ।

दक्षिण एसियामा दाइजो प्रथा सुरु हुनुमा सबभन्दा ठुलो देन भारतमा वर्षौंसम्म राज्य गरेको इष्टइन्डिया कम्पनी सरकारलाई जान्छ । उनीहरूले पिताको सम्पत्तिमा छोरीको कुनै अधिकार नहुने र बिहे भएपछि उसको सम्पत्ति सबै उसको पतिको हुने नियम बनाए । अर्थात् छोरीले आफ्ना मातापिताबाट पाएको सम्पत्ति लोग्नेको नाममा सारिन्थ्यो । यहीँबाट दाइजोका नाममा छोरीहरूको शोषणको सिलसिला सुरु भएको हो ।

माथि उल्लिखित ऐतिहासिक तथ्यहरूले हामीलाई के अनुमान गर्ने आधार प्रदान गर्दछ भने दाइजो प्रथा कुनै न कुनै रूपमा महिलाको सम्पत्ति अधिकार र उनीहरूको सामाजिक स्थानसँग जोडिएको विषय हो । छोरा चाहिँ पैत्रिक सम्पत्तिको स्वामित्वको अधिकार लिएर  परिवारसँगै बस्ने र सम्पत्तिमाथि छोरीको अधिकार नहुने, बिहा गरेर अर्काको घर जानुपर्ने हुँदा पाएको थोरै दाइजोले पनि सुरुमा नपाएको सम्पत्ति (अंश) को  क्षतिपुर्ति भएजस्तो देखिन्छ । दाइजोमा  केही त  पायो भनेर स्वीकार गरेको देखिन्छ । विकृति नआइसक्दाको सुरुको अवस्थामा पनि दाइजो प्रथा पारिवारिक सम्पत्तिमाथि पुरुषको अधिकार र महिलाको अधिकार बिहिनतासँग जोडिएको प्रस्ट देखिन्छ ।

तस्वीर : हर जिन्दगी डट कम

दाइजोबाट आएको धन पनि श्रीमान् र उसको परिवारले नै स्वामित्व लिने प्रक्रियाले त त्यो अधिकारबिहीनतालाई झनै रसतालमै पुर‌्याएको देखिन्छ । त्यसको निरन्तरतामा  वर्तमान समयमा दाइजोको लागि गरिएको दबाबका समाजमा अर्कोतिर अनेक विकृतिहरूको सुरुवात पनि हुँदै गयो, अनेक किसिमको यातना र हत्या पनि दाइजोका कारणले भयो । छोरीको जन्मलाई अभिशापको रूपमा लिन थालियो । यो अभिशप्त मनोभावनाको प्रभाव पालनपोषणदेखि शिक्षादीक्षासम्म पर्दै जान थाल्यो । अनमेल विवाह, अन्तरजातीय विवाह र बहुविवाह जस्ता खराब प्रथाहरू प्रचलनमा आउन थाले । त्यसैको विरुद्धमा बितेका दशमा   दाइजो प्रथाको विरुद्ध सचेतनता तीव्र रूपले अघि बढेको छ ।

पैत्रिक सम्पत्तिमाथि महिलाहरूको अधिकार प्राप्ति नै दाइजो प्रथा र त्यसका विकृति  निर्मूल गर्ने ठोस आधार हुनसक्छ । नेपालका महिलाहरूले लामो सङ्घर्षपछि यो अधिकार कानुनी रूपमा प्राप्त गरेका छन् तर अझै व्यवहारमा लागु हुन बाँकी नै छ । अहिले दाइजोसम्बन्धी लेनदेनको प्रथा निर्मूल पार्नुपर्छ भन्ने अभियानमा लागेका अभियन्ताहरूले यी सबै कुराहरूमाथि ध्यान पुर‌्याएर नाराहरू दिन उचित हुनेछ । महिलाको सम्पत्ति माथिको अधिकार सुनिश्चित नगरी र सम्पत्तिमाथि पुरुषहरूको एकलौटी स्वामित्वको अन्त्य नगरी दाइजो प्रथा निर्मूल हुन सम्भव छैन ।

दाइजो प्रथा कम गर्ने उपाय

–    समाज सुधारका लागि संविधानमा ऐन तथा नियमावलीमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याई त्यसको अनुगमन र मूल्याङ्कन         गरिनुपर्ने,

–    आजका युवाहरू बिना दाइजो बिहे गर्न तयार भएमा यस विषयले बढावा नपाउने निश्चित भएकाले युवाहरूको मानसिक सोच परिवर्तन             हुनुपर्ने,

–    दाइजोका लागि परिवारमा महिलामाथि हिंसा हुन्छ भने पीडकलाई सजायँ दिलाई आफू आत्मनिर्भर बन्ने कोसिस गर्नुपर्ने,

–    यदि बाआमाले दाइजो माग्ने केटासँग बिहे गर्दिँदै छन् भने त्यस्तो बिहे अस्वीकार गरेर सम्बन्धित निकायमा उजुरी दिँदा बिहे आफै                     रोकिइने,

–    दाइजो विरुद्ध चेतना विस्तारका लागि चलचित्र, धारावाहिक नाटक वा चलचित्र निर्माण गरिए दाइजोको उत्पत्ति, विकास र विकृतिका                विषयवस्तुको यथोचित समावेशबाट जनमानसमा वास्तविक जानकारी पु¥याउन सकिने,

–    आफ्नै वरपर यदि यस्तो कुनै घटना हुन्छ भने वा कुनै महिला शोषणको शिकार भएको देख्छौं भने तुरुन्त प्रहरीमा जानकारी गराउनुपर्छ  ।        यसरी प्रत्येक नागरिकले आआफ्नै ठाउँबाट ध्यान दियो भने, यो प्रथा बिस्तारै कम हुँदै जान्छ ।

–    सरोकारवाला निकायहरूले महिला सशक्तीकरणका नाममा तत्कालको समस्या समाधानका लागि राहत बाँड्नुको सट्टा दीर्घकालीन                  योजनाहरू ल्याउनुपर्छ ।

अतः आजको समाजमा दाइजो प्रथा विष वृक्षको रूपमा विस्तार हुँदै गइरहेको छ । यसको उत्पत्ति र विकासका बारेमा धेरैलाई थाहा छैन । आज यसको विकृत रूपको बारेमा धेरै चर्चापरिचर्चा हुन्छ । मूलको बारेमा विचारविमर्श हुँदैन । यस विषयमा आजका युवापुस्ताले चर्चा
गर्नुपर्छ । सत्यतथ्य के हो सरल भाषामा बाहिर ल्याएर समाजलाई सचेत बनाउनसके समस्यामा बेरिँदै गएको दाइजोमुखी समाजमनोविज्ञान परिवर्तन गर्न सकिने थियो । बिहेवारी सामाजिक र सांस्कृतिक कृत्य भए पनि उपयुक्त जीवन साथीको चयन प्राकृतिक नियम पनि हो । त्यसैले आजका सचेत पुस्ताले यसमा कुनै किसिमको सौदावाजी हुन दिनु हुँदैन । समय छँदै यसतर्फ ध्यान जानु आज विशेष खाँचो छ ।

 

 

 

 

Author

  • हंसा कुर्मी

    लैङ्गिक विभेदको मुख्य कारण प्रकृतिलाई बुझ्न नसक्नु हो वा आफैभित्रको 'म'लाई चिन्न नसक्नु हो भन्ने मान्यता राख्नुहुने हंसा कुर्मीका अँजोरिया (२०७१) अवधी भाषाको कविता सङ्ग्रह, विम्बप्रतिविम्ब (२०७९) अवधी भाषाको लघुकथा सङ्ग्रह, बिरानो बस्ती (२०८०) नेपाली भाषाको कथा सङ्ग्रह, विश्वरुपा (२०८०) नेपाली÷अङ्ग्रेजी भाषामा रहेको बालकथा सङ्ग्रह लगायत सामाजिक चेतनामूलक थुप्रै लेख रचना प्रकाशित छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के