
हंसा कुर्मी
समाजमा प्रचलित दाइजो प्रथालाई वर्तमान समयमा अभिशापका रूपमा लिने गरिन्छ र त्यसैअनुसार परिभाषित गर्ने गरिएको पाइन्छ । हामीले भोगेका, देखेका र सुनेका आधारमा हाम्रो सोचाइ र दैनिकीमा समयसँगै आएको परिवर्तनको परिणाम हो यो । समाजको अध्ययन गर्दा कुनैपनि प्रथा, परम्परा, चालचलन र रीतिरिवाजको उद्विकास सकारात्मक उद्देश्य राखेर गरिएको पाइन्छ । कालान्तरमा कुनै पिँढी या पुस्ताले त्यसको गलत अभ्यास गर्दा त्यसमा विकृति पस्दछ । यसका थुप्रै उदाहरणहरू हामीले आफ्नै वरपर देख्न सक्छौं । पछि फेरि कुनै पुस्ताले त्यसका बारेमा अध्ययन अनुसन्धान गर्छ, अनि त्यसमा बिस्तारै सुधार आउँछ । केही परिमार्जित स्वरूपमा त्यो विषय फेरि पहिले कै अवस्थामा पनि पुग्छ । यसबाट के स्पष्ट हुन्छ भने इतिहास सीधा रेखाजस्तो छैन, बरु चक्रीय क्रममा छ भन्ने बुझ्न सकिन्छ । त्यसरी नै समाजमा दाइजो प्रथाको विकास कसरी, कहिले र कहाँबाट भयो < जान्नका लागि हामीले यसको उत्पत्ति र विकासक्रमको अध्ययन गर्नुपर्छ । त्यसमा पनि नेपाली समाजमा दाइजो कहिले, कहाँ र कसरी सुरु भयो, यसको लिखित दस्तावेज पाउन सकिरहेका छैन । यसको ऐतिहासिक विकासक्रमका बारे अध्ययन गर्दा दक्षिण एसियाली मुलुकहरूमा भएको र भइरहेको अभ्यासलाई आधार बनाउनुपर्छ ।
दाइजो प्रथा : कहिले र कहाँबाट सुरु
भारतीय उपमहाद्विप र आसपासका क्षेत्रमा दाइजो कहिलेबाट सुरु भएको थियो भन्ने विषयमा विद्वान्हरूको एकमत भेटिँदैन तथापि मनुस्मृतिमा समेत दाइजो व्यवस्थासम्बन्धी मान्यताको उल्लेख भएबाट ऐतिहासिक कालबाटै यस क्षेत्रमा दाइजोको प्रचलन रहेको अनुमान गर्न सकिन्छ । हुन त इसापूर्व ३०० ताका अलेक्जेण्डरले भारतीय उपमहाद्विपमा आक्रमण गर्दा नै यस भागमा गुण र रूपका आधारमा विवाहका लागि महिला पुरुषको चयन हुने गरेको तथ्य पढ्न पाइन्छ । पण्डित नेहरूको किताब हिन्दुस्तान की कहानी मा यस विषयमा चर्चा गरिएको छ ।
सुन्दा र देख्दा सामान्य तर व्यवहारमा विकराल देखिने दाइजो प्रथा पनि अन्य परम्पराजस्तै हाम्रै समाजमा विकसित भएको हो । हाम्रो समाज र देशमा विभिन्न किसिमका रीतिरिवाज र चालचलनहरू छन् । जसले हामीलाई विश्वमा अरु भन्दा फरक बनाएका छन् । केही राम्रा पनि छन्, केही नराम्रा पनि । राम्रा चालचलनले जीवनस्तर उकास्दै लगेको छ भने खराब चालचलनले मानव सभ्यता नै ध्वस्त बनाउने तरखरमा छ । अर्थात् त्यस्ता प्रथा र परम्पराहरूले मानव सभ्यतामा कलङ्क नै थप्ने गरेको पाइन्छ । प्राचीन समयदेखि चल्दै आएका प्रथामा सती प्रथा र दाइजो प्रथा अति नै पीडादायी प्रथाका रूपमा प्रचलित छन्, यी अभिशाप बनेर स्थापित भएका छन् । हामीकहाँ प्रचलित अधिकांश परम्परा र रीतिरिवाजहरू लैङ्गिक मैत्री छैन् । यसबाट छोरीचेली नै प्रताडित छन् भने अर्कोतिर हाम्रो देशमा विभिन्न धार्मिक सन्दर्भ र संस्कारमा छोरीचेलीलाई लक्ष्मीका रूपमा पुज्ने गरिन्छ । अर्थात् देवी शक्तिका रूपमा पुजिन्छ ।
दाइजो प्रथाको इतिहास
दाइजो प्रथाको इतिहास धेरै पुरानो छ । यो हरेक वर्ष नयाँ रूप लिएर आइरहने प्रथा बनेको छ । सुरुवाती चरणमा यसको स्वरूप निकै फरक थियो । अहिलेको शब्दावली प्रयोग गरेर भन्नु पर्दा आरम्भमा दाइजो एक किसिमको उपहार थियो । तर, अहिले यो माग गरेर नै लिइन्छ अझ भनौँ कतिपय समुदायमा डर, धम्की र त्रास देखाएर यो असुलिन्छ । यसको भूगोल निश्चित छैन, जाति र वर्ग पनि निश्चित छैन । त्यसैले आजका जागरुक पुस्ताले यसको इतिहासका बारेमा जानकारी राख्नु र आफ्नो समयमा भयावह विकृति बन्दै गएको यो असामाजिक स्थितिको बारेमा सचेत हुनु अति आवश्यक देखिन्छ ।
वैदिककाल
वैदिक कालमा दाइजो प्रथाको कुनै औचित्य वा मान्यता रहेको पाइँदैन । अथर्ववेदका उत्तरवैदिक कालमा ‘वहतु’ को रूपमा यो प्रथा प्रचलनमा आएको देखिन्छ, जुन अहिलेको दाइजो प्रथा भन्दा बिल्कुलै अलग थियो । त्यस समयमा केटी पक्षकाले बिहेमा केटा पक्षलाई केही वस्तु खुसीयालीपूर्वक आफ्नै इच्छाले उपहारमा दिन्थे । अहिलेको जस्तो माग या मोलमोलाइ त्यसबेला हुँदैनथ्यो । केटीका अन्य अभिभावकले पनि आफ्नै खुसीले दिने गर्दथे । केटा पक्षकाले पनि दिइएको उपहार खुसी खुसी स्वीकार गर्दथे ।
मध्यकाल
वैदिक कालपछि मध्यकालमा दाइजोलाई ‘स्त्री धन’को नामले परिभाषित गरियो र पनि यस समयमा दाइजो पूर्ण रूपले वैदिककाल जस्तै दाताको इच्छामा निर्भर हुने गर्दथ्यो, जुन सम्बन्धको शोभा मात्र थियो, वाध्यता थिएन । यो समयमा अलि फरक के हुँदै आयो भने केटी पक्षले आफ्नै हैसियत अनुसार बिहेका समयमा छोरीलाई उपहार दिएर बिदा गर्न प्रारम्भ गरे । बिहेको समयमा दिइने यस्ता उपहारले परघर जाने छोरीलाई समस्या परेका बेलामा गर्जो टार्न सहयोग होस् भन्ने सोचका साथ उपहार दिइने गरिन्थ्यो । यस समयमा पनि केटापक्षको कुनै दबाब थिएन । तर, बिस्तारै बिदाइको समयमा दिनै पर्नेजस्तो चलनको रूपमा उपहार दाइजो प्रथामा परिणत र विकसित हुँदै गयो । बिहेमा छोरीलाई बिदा गर्दा केही वस्तु उपहारको रूपमा दिनैपर्ने गरी अनिवार्य चलन बन्दै बनाउँदै लगियो । सुरुमा यसलाई कुनै किसिमको दबाबका रूपमा लिइएको थिएन ।
आधुनिककाल
मध्यकालमा विकसित भएको चलनले आधुनिक कालसम्म आइपुग्दा विकराल रूप लिँदै गयो । बिहेवारीको कुरा चल्दादेखि नै नगद तथा जिन्सीको मोलमोलाइ हुन थाल्यो । केटी पक्षउपर दबाब नै सिर्जना हुन थाल्यो । आर्थिक अवस्था कमजोर भएका परिवारले केटापक्षको मागअनुसार दिन सक्दैनथे । तर त्यतिबेला नै स्वयम्वर प्रथाको पनि विकास हुँदै गयो । अर्थात् केटीले आफ्ना लागि पति आफै चयन गर्न पाउने । बिहेका लागि आएका पुरुषहरूले आफ्नो क्षमता र बहादुरी प्रदर्शन गर्नुपर्दथ्यो । फेरि केटीले आफ्नै खुसीले वर चयन गर्ने गर्दथिन् । ११औँ शताब्दीभन्दा पहिले दाइजो भन्ने कुनै चीज नै थिएन । यो एउटा उपहारको रूपमा मात्र थियो । पछि पछि छोरीलाई आर्थिक समस्या नहोस् भनेर बाआमाले आफ्नै सम्पत्तिको केही हिस्सा नै दिन थाले ।

वर्तमानमा यो प्रथा भारत, बङ्गलादेश, पाकिस्तान, नेपाल, श्रीलङ्का, अफगानिस्तान, इरान, टर्की, अजरबैजान, ताजिकिस्तान, इजिप्ट, मोरक्को बेल्जियम र सर्वियामा प्रचलनमा रहेको छ । दाइजोको प्रचलन विभिन्न कालखण्डमा फरक पृष्ठभमिबाट सुरु भएको इतिहासकारहरूले बताउने गरेका छन् । तर दाइजोको सुरुवात महिलाको हितमा÷सम्पत्तिँ माथिको अधिकार संरक्षणका लागि भएको थियो वा महिलामाथि हुने भेदभाव कम गर्न यसमा एकमत भएको पाइँदैन । अतः पूर्व अध्ययनले अधिकांश सभ्यतामा महिलालाई आत्मनिर्भर बनाउन र सम्पत्ति माथिको अधिकार र सुरक्षित भविष्यका लागि दाइजोको सुरुवात भएको हो पूर्व अध्ययनले देखाएको छ । कतिपय सभ्यतामा राज्यको तर्फबाट नै महिलाको विवाहमा सम्पत्तिको अधिकार सुरक्षित गर्ने गरी दाइजोको कानुनी व्यवस्था गरेको समेत इतिहास छ । उदाहरणका लागि हाम्रै नेपालको पेवा प्रथालाई लिन सकिन्छ । सुरुमा महिलालाई आत्मनिर्भर बनाउन या समस्या परेको समयमा सहजता होस् भनेर व्यवस्था गरिएको दाइजो प्रथा कालान्तरमा विकृत भई महिला हिंसाका कारणका रूपमा परिणत भएको तर्क विद्वान्हरू गर्छन् ।
दक्षिण एसियामा दाइजो प्रथा सुरु हुनुमा सबभन्दा ठुलो देन भारतमा वर्षौंसम्म राज्य गरेको इष्टइन्डिया कम्पनी सरकारलाई जान्छ । उनीहरूले पिताको सम्पत्तिमा छोरीको कुनै अधिकार नहुने र बिहे भएपछि उसको सम्पत्ति सबै उसको पतिको हुने नियम बनाए । अर्थात् छोरीले आफ्ना मातापिताबाट पाएको सम्पत्ति लोग्नेको नाममा सारिन्थ्यो । यहीँबाट दाइजोका नाममा छोरीहरूको शोषणको सिलसिला सुरु भएको हो ।
माथि उल्लिखित ऐतिहासिक तथ्यहरूले हामीलाई के अनुमान गर्ने आधार प्रदान गर्दछ भने दाइजो प्रथा कुनै न कुनै रूपमा महिलाको सम्पत्ति अधिकार र उनीहरूको सामाजिक स्थानसँग जोडिएको विषय हो । छोरा चाहिँ पैत्रिक सम्पत्तिको स्वामित्वको अधिकार लिएर परिवारसँगै बस्ने र सम्पत्तिमाथि छोरीको अधिकार नहुने, बिहा गरेर अर्काको घर जानुपर्ने हुँदा पाएको थोरै दाइजोले पनि सुरुमा नपाएको सम्पत्ति (अंश) को क्षतिपुर्ति भएजस्तो देखिन्छ । दाइजोमा केही त पायो भनेर स्वीकार गरेको देखिन्छ । विकृति नआइसक्दाको सुरुको अवस्थामा पनि दाइजो प्रथा पारिवारिक सम्पत्तिमाथि पुरुषको अधिकार र महिलाको अधिकार बिहिनतासँग जोडिएको प्रस्ट देखिन्छ ।

तस्वीर : हर जिन्दगी डट कम
दाइजोबाट आएको धन पनि श्रीमान् र उसको परिवारले नै स्वामित्व लिने प्रक्रियाले त त्यो अधिकारबिहीनतालाई झनै रसतालमै पुर्याएको देखिन्छ । त्यसको निरन्तरतामा वर्तमान समयमा दाइजोको लागि गरिएको दबाबका समाजमा अर्कोतिर अनेक विकृतिहरूको सुरुवात पनि हुँदै गयो, अनेक किसिमको यातना र हत्या पनि दाइजोका कारणले भयो । छोरीको जन्मलाई अभिशापको रूपमा लिन थालियो । यो अभिशप्त मनोभावनाको प्रभाव पालनपोषणदेखि शिक्षादीक्षासम्म पर्दै जान थाल्यो । अनमेल विवाह, अन्तरजातीय विवाह र बहुविवाह जस्ता खराब प्रथाहरू प्रचलनमा आउन थाले । त्यसैको विरुद्धमा बितेका दशमा दाइजो प्रथाको विरुद्ध सचेतनता तीव्र रूपले अघि बढेको छ ।
पैत्रिक सम्पत्तिमाथि महिलाहरूको अधिकार प्राप्ति नै दाइजो प्रथा र त्यसका विकृति निर्मूल गर्ने ठोस आधार हुनसक्छ । नेपालका महिलाहरूले लामो सङ्घर्षपछि यो अधिकार कानुनी रूपमा प्राप्त गरेका छन् तर अझै व्यवहारमा लागु हुन बाँकी नै छ । अहिले दाइजोसम्बन्धी लेनदेनको प्रथा निर्मूल पार्नुपर्छ भन्ने अभियानमा लागेका अभियन्ताहरूले यी सबै कुराहरूमाथि ध्यान पुर्याएर नाराहरू दिन उचित हुनेछ । महिलाको सम्पत्ति माथिको अधिकार सुनिश्चित नगरी र सम्पत्तिमाथि पुरुषहरूको एकलौटी स्वामित्वको अन्त्य नगरी दाइजो प्रथा निर्मूल हुन सम्भव छैन ।
दाइजो प्रथा कम गर्ने उपाय
– समाज सुधारका लागि संविधानमा ऐन तथा नियमावलीमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याई त्यसको अनुगमन र मूल्याङ्कन गरिनुपर्ने,
– आजका युवाहरू बिना दाइजो बिहे गर्न तयार भएमा यस विषयले बढावा नपाउने निश्चित भएकाले युवाहरूको मानसिक सोच परिवर्तन हुनुपर्ने,
– दाइजोका लागि परिवारमा महिलामाथि हिंसा हुन्छ भने पीडकलाई सजायँ दिलाई आफू आत्मनिर्भर बन्ने कोसिस गर्नुपर्ने,
– यदि बाआमाले दाइजो माग्ने केटासँग बिहे गर्दिँदै छन् भने त्यस्तो बिहे अस्वीकार गरेर सम्बन्धित निकायमा उजुरी दिँदा बिहे आफै रोकिइने,
– दाइजो विरुद्ध चेतना विस्तारका लागि चलचित्र, धारावाहिक नाटक वा चलचित्र निर्माण गरिए दाइजोको उत्पत्ति, विकास र विकृतिका विषयवस्तुको यथोचित समावेशबाट जनमानसमा वास्तविक जानकारी पु¥याउन सकिने,
– आफ्नै वरपर यदि यस्तो कुनै घटना हुन्छ भने वा कुनै महिला शोषणको शिकार भएको देख्छौं भने तुरुन्त प्रहरीमा जानकारी गराउनुपर्छ । यसरी प्रत्येक नागरिकले आआफ्नै ठाउँबाट ध्यान दियो भने, यो प्रथा बिस्तारै कम हुँदै जान्छ ।
– सरोकारवाला निकायहरूले महिला सशक्तीकरणका नाममा तत्कालको समस्या समाधानका लागि राहत बाँड्नुको सट्टा दीर्घकालीन योजनाहरू ल्याउनुपर्छ ।
अतः आजको समाजमा दाइजो प्रथा विष वृक्षको रूपमा विस्तार हुँदै गइरहेको छ । यसको उत्पत्ति र विकासका बारेमा धेरैलाई थाहा छैन । आज यसको विकृत रूपको बारेमा धेरै चर्चापरिचर्चा हुन्छ । मूलको बारेमा विचारविमर्श हुँदैन । यस विषयमा आजका युवापुस्ताले चर्चा
गर्नुपर्छ । सत्यतथ्य के हो सरल भाषामा बाहिर ल्याएर समाजलाई सचेत बनाउनसके समस्यामा बेरिँदै गएको दाइजोमुखी समाजमनोविज्ञान परिवर्तन गर्न सकिने थियो । बिहेवारी सामाजिक र सांस्कृतिक कृत्य भए पनि उपयुक्त जीवन साथीको चयन प्राकृतिक नियम पनि हो । त्यसैले आजका सचेत पुस्ताले यसमा कुनै किसिमको सौदावाजी हुन दिनु हुँदैन । समय छँदै यसतर्फ ध्यान जानु आज विशेष खाँचो छ ।