
ज्योति जङ्गल
ठूल्ठूला आवाजले बोलेर, हकारेर
निकृष्ट शब्दको प्रहारबाट,
लाती बजारेर वा कानुनले बारेर
हेला गरेर कि दलनले हेपेर,
यसरी मात्र कहाँ हुन्छ अपमान ?
अपमान नयाँ अवतारमा
बिना अनुहारको जन्मन्छ
चिन्नुहुन्छ तपाईं मौन अवतारको नयाँ अपमान ?
पटक पटक हिँडाइहरू स्पष्टीकरण भोग्छन्,
वाचाल आँखाहरू आँखासँग नजुधेर
अलि तल छातीमा अड्छन्
अनि अपमानको शृङ्खला सुरु हुन्छ ।
प्रश्नहरू कस्तो तिखारिएर उठ्छन्
इन्द्रको ब्रह्मास्त्र जसरी
जता जता स्त्रीपाइला त्यता त्यता
अघि अघि ऊ पछि पछि परीक्षण
उमेरैपिच्छेका नयाँ नयाँ सम्बन्धका संस्था
नयाँ शङ्काको परीक्षा
नयाँ प्रणाली र बोझ
नयाँ कारण नयाँ सुरक्षण ।
कसको विरुद्धमा
कोही सुरक्षा दिन्छु भन्छ उसलाई किन ?
सहाराको गुफाभित्र निस्सासिएर
जिन्दगी जस्तो कहाँ बित्छ उसको रेखित जिन्दगी ?
को बनाउँछ उसलाई बेसहारा ?
नितम्बका गोलाइ नापेर
कसले निर्माण गरिरहेछ नयाँ अपमानको सिद्धान्त ?
पोतेर प्रशाधनले छाला
घोटेर श्रमले हत्केला
कस्ले चाट्छ उसको पसिना ?
हत्तेरी ! अधिक त अपमानहरू बटुलिहिँड्छे ऊ,
साइबर समय निरन्तर छड्के हेर्छ उसलाई,
सेटलाइटहरू गोप्य आइडी बनाएर
खिचिरहन्छन् उसको नग्नता,
कसले आयोजन गर्छ उमाथि लगातारको इजलास र बनाइन्छ
विधानको नयाँ संस्करण ?
हमेसा प्रतिवाद गरिरहनुपर्छ उसले
आफ्ना आकांक्षाहरूमाथि,
इजलासमा उभिइरहनुपर्छ
अक्षत अङ्गको साबितिका लागि ।
कोही छ, उसको बाधाद्रौडको प्रायोजनमा
फुकिरहन्छ सिट्ठी,
कोही छ उसको टाउको चबाइरहेको निकालेर गिदी,
आह्, यतिविध्न अपमानबीच पनि
अद्भूत त्यो फूलजस्ती, जुनजस्ती
अजेय त्यो देवीजस्ती, दासीजस्ती
के के हुन सक्छे ?
थाहा पाई पाई, थाहा नपाई
को बाँचिरहिछे ऊ मानिस कि प्रतिजीव ?
कि उसको प्रतिबन्ध ?
को रोक्छ उसका चाल अदबमा राख्न, बोकेर पगाहा ?
कस्तो जीवन बाँचिरहिछे
ऊ ?
कि उसको प्रतियन्त्र ?
हे शब्द !
अपमानलाई नयाँ अर्थ दे !
आशीर्वाद बुझाइदे !
शक्ति बताइदे !
चेतनाको आयाम खुलाइदे !
त्यो स्त्री काँधले बिसाओस् लत्रिरहेको अपमानको लास
जन्माओस् स्वअस्तित्व ।
जब उसले सजाउली अनुहार
नयाँ अपमानलाई प्रशाधन मानेर, शक्ति मानेर
बद्लेर आउनेछ
उसको निर्भय अवतार ।