Asmita Magazine

#

आमा भान्सामा बस्नुहुन्छ !

रातको करिब तीन बजे निन्द्रा खुल्यो । केही खटपट आवाज आयो । भान्सामा गएर हेरेको आमाले भाँडा निकाल्दै हुनुहुन्थ्यो । मलाई देखेर आश्चर्यचकित हुँदै हाँस्दै भन्नुभयो, ‘बिहान हुन अझै बाँकी छ, गएर सुत् । उहाँको दन्तपङ्क्ति लोभ्याउने खालको थियो । मैले अल्छी मान्दै सोधेँ, “तपाईं यति राती के गर्दै हुनुहुन्छ ? किन नसुत्नु भएको ?”

– भर्खरै उठेको हो ।
– तपाईं राती बाह्र बजेसम्म त जागै हुनुहुन्थ्यो ।
– के भयो त म त्यति मात्र सुत्छु । तँ गएर सुत् ।

केही दिनपछि म रातको करिब एक डेढ बजे उठेँ । कुनै सपना खलबलिएको थियो वा कुनै आवाजले उठाएको हो । भान्सामा कोही छ जस्तो लाग्यो । बत्ती बलिरहेको थियो । गएर हेर्दा आमा कुर्सीमा बसेर पत्रिका पढिरहनुभएको थियो । मलाई देखेर आत्तिनुभयो । संयमित हुँदै भन्नुभयो, पानी पिउने ? जवाफको प्रतीक्षा नगरीकन गिलासमा पानी खन्याउन थाल्नुभयो । पानी पिएर मैले सोधेँ, “आमा तपाईं किन नसुतेको ?” निन्द्रा लागेन, त्यसैले यहाँ आएर पत्रिका पढ्न थालेको”, आमाले जवाफ दिनुभयो ।

– आमा यो कुनै तरिका भयो र ! जुनसुकै बेला अझ आधारातमा पनि भान्सामा बस्नुहुन्छ ।
– किन, भान्सामा बस्न हुन्न ? मलाई यहीँ बस्न मनपर्छ । “ठीक छ, आमा ।” मैले हारेको भाव देखाएर भनेँ ।
– ल अब सुत्नोस् ।
– तँ सुत् । म यो अन्तिम पाना सक्याएर सुत्छु ।

बारम्बार यस्तो धेरै पटक दोहोरिरह्यो । जबजब रातमा मेरो निन्द्रा खुल्छ, बाह्र बजे, दुई बजे, चार बजे, बिहान पाँच बजे उहाँ भान्सामा भेटिनुहुन्थ्यो । कहिले भन्नुहुन्थ्यो–“दही जमाउनको लागि राख्न भुलेछु । पाँच मिनेटमा सुत्न जानेछु ।” कहिले भन्नुहुन्थ्यो–“अचानक याद आयो तरकारी सकिएका

थियो । बिहानको लागि चना भिजाउँदै छु । अथवा गहुँको आटा फ्रिजमा राख्न बिर्सेछु ।”

एकरात यस्तो अवस्थामा देखेँ— यस्तै बाह्र बजेको थियो होला । भान्साको भित्तामा टाँसिएको पात्रोमा दुधको हिसाब लेख्दै हुनुहुन्थ्यो । सोध्दा जवाफमा भन्नुभयो, “सधैं लेख्छु । कति दुध लिएको भनेर । आज बिर्सेछु । भर्खरै सम्झेर लेख्न आएकी ।” कहिलेकाहीँ रिसाउँदै भन्नुहुन्थ्यो, “म जबजब रातमा भान्साको काम गर्न आउँछु, तँ पछिपछि आउँछस् !”

अनि केही रेडिमेड जस्ता जवाफ बारम्बार भन्नुहुन्थ्यो, “पानी पिउन आएकी थिएँ । चिसो हावा आएकाले झ्याल नजिक आएर बसेँ ।” भान्साको दक्षिण दिशामा एउटा सानो झ्याल थियो ।

एकचोटि दुई ढाई बजेको समय हुनुपर्छ । आमा आफ्नो कोठामा हुनुहुन्थेन । बुवा घुर्दै हुनुहुन्थ्यो । बाथरुममा पनि हेरेँ, भेटिनँ । बैठक र भान्सा अँध्यारो थियो । बाहिरको ढोका भित्रबाट बन्द थियो । म चिच्याएँ, “आऽमा कहाँ हुनुहुन्छ तपाईं ? भान्साको अँध्यारो कोठाबाट आमा बाहिर निक्लिएर डराउँदै भन्नुभयो, “किन यसरी चिच्याएर बोलाएको ? सुस्तरी बोल्, सबै जाग्नेछन् । “आमा डर त मलाई लागेको थियो । कहाँ जानुभएको होला भनेर ।” मैले भनेँ ।

– म कहाँ जान्छु छोरा ? यही भान्सामा थिएँ । झ्याल बाहिर हेरेकी थिएँ । आज सप्तमी हो ।” मलाई रिस उठ्यो, तर के गर्न सक्थेँ र ! गएर सुतेँ ।

बाहिर कतै गएर आएँ भने आफैँ ढोका खोल्न आउनुहुन्छ । भान्साबाट आउने हो अनि पुनः भान्सामै जाने हो । कहिलेकाहीँ भन्नुहुन्छ, “पापडको डिब्बा निकाल्देन ।” उहाँको सबै काम भान्सासँग सम्बन्धित हुन्छन् । ब्लाउजको टाँक लगाउनेदेखि गहुँ फट्कार्नेसम्म । अनि उहाँको सबै काम भान्सामै सम्पन्न हुन्छन् । माइजू र फुपूलाई वर्षमा एकाध चिठ्ठी लेख्नुहुन्छ । काखमा किताब राखेर कापीको पन्नामा तर त्यो पनि भान्सामै बसेर । छिमेकी काकीहरू र केटाकेटीहरू आक्कलझुक्कल घर आउँदा पनि भान्सामै बसाल्नु हुन्छ । उनीहरू आमालाई भान्सा सफासुग्घर छ भनेर प्रशंसा गर्छन् । कहिलेकाहीँ फुर्सदमा बसेको देखियो भने पनि आफ्नो एकफिट अग्लो भान्साकै प्रिय कुर्सीमा बस्नुहुन्छ, जुन कुर्सी म जन्मनुपूर्वको हो । कहिले झ्यालमा उभिएर टोलाएको अवस्थामा पनि भेटिनुहुन्छ । झ्यालबाहिर थाहा छैन, के हेर्नुहुन्छ ? मलाई यस्तो लाग्छ । दक्षिण दिशाको पुरै आकाश उहाँलाई थाहा छ— कतिवटा तारा छन् ? कति नक्षत्र छन् ? कति ग्रह छन् ? सूर्य त्यहाँबाट कुन मौसममा कतिबेला निक्लन्छ ? जून कति कलामा फुल्छ ? त्यो दिशाको आकाशको रङ र बादलको रूप सबै थाहा छ । हावाबाट, आकाशबाट मौसमको अन्दाज लगाउन सक्नुहुन्छ अथवा के थाहा उहाँले यो सब हेर्नुहुन्छ कि हुन्न ! सायद टाढा देखिने तीनचार वटा रूखको पातलाई हेर्न पनि सक्नुहुन्छ वा मात्र श्वास लिन उभिनु भएको पो हो कि ! उहाँका बारेमा उहाँबाट कुनै पनि कुरा पत्ता लगाउन निकै कठिन हुन्छ । उहाँलाई भान्सा बाहिर बोलाउने प्रयास प्रायः असफल हुन्छन् । सोध्न मनलाग्छ कम्बरपेटी, मोजा, घडी कहाँ छन्, जसले गर्दा उहाँ भान्सा बाहिर आउनु हुनेछ । तर त्यस्तो हुन्न । उहाँ भान्साबाटै सबै कहाँ कहाँ छ भन्दिनुहुन्छ । दराजको पछाडि, मुनि वा भन्नुहुन्छ, सिरानी मुनि, ढोकाको पछाडिको किल्लामा यस्तै यस्तै । उहाँलाई मनपर्ने गीत रेडियोमा बजिरहेको बेलामा भान्साबाटै भन्नुहुन्छ, “रेडियोको आवाज अलि चर्को बनाऊ, भान्सासम्म सुनिएन ।

बिदाको दिन थियो । एक डेढ बजे खाना खाएर कोठामा सुत्न गएँ । भाइ क्रिकेट खेल्न गएको थियो । साढे तीन बजेतिर उठ्दा आमा भान्सामा चामल हेर्दै हुनुहुन्थ्यो । म उहाँको अँगालोमा टाँसिएर लाडे भएर भनेँ, ‘यो के हो आमा ? दिनरात काम मात्रै । कहिले आटा छान्नुहुन्छ, कुहिले दुध निकाल्नुहुन्छ । कहिले यो गरम, कहिले त्यो चिसो बनाउनुहुन्छ । केही काम भेटिएन भने नरिवल टुक्रा पार्न थाल्नुहुन्छ । मसलाको डिब्बा बदल्नुहुन्छ । तरकारी काटेर रास लगाउनुहुन्छ । अहिले चामल लिएर बसिराख्नुभएको छ । चिठ्ठी पनि यहीँ बसेर लेख्नुहुन्छ । मलाई यो सब मनपर्दैन । भाँडा माझ्ने दिदीले भाँडा माझ्दा पनि यही बसेर हेर्नुहुन्छ । आफ्नो कोठामा गएर आराम किन गर्नुहुन्न ? त्यो तपाईं र बुवाको कोठा हो तर तपाईं त्यहाँ कहिले बस्नुहुन्न । बैठकमा गएर आराम गरे पनि त हुन्छ ।” “हेर् केटा ! तँ यो सब बुझ्दैनस् । सबै काम अहिल्यै तयार गरेर राख्नुपर्छ । नत्र तुरुन्तै दालभात तरकारी कसरी बनाउने ! भोक भन्ने कुरा अचानक लाग्ने गर्छ । घरमा काम गर्ने केटीसँग कुरा गरेकै हुन्छु । बचेको खाना उसलाई लिएर जानको लागि दिन्छु । चिया पनि बनाउन पर्छ । धेरथोर काम गर्नैपर्छ । कसले गर्छ नत्र ? अनि म सुत्न त हाम्रै कोठामा सुत्छु नि । बैठकमा बस्न पल्टन मलाई मन पर्दैन । आवातजावत भइरहन्छ, आराम गर्नै सकिन्नँ त्यहाँ । मेरो सबै काम भान्सामा हुन्छ । मलाई यहीँ शान्ति मिल्छ ।” मेरो शिरमा हात राखेर कपाल मुसार्दै आमाले भन्नुभयो । आमाको कपाल कालो र लामो छ । यसरी कुरा गर्नुहुन्छ, मानौं म चारपाँच वर्षको बच्चा हुँ । म केही बुझ्दिनँ । मलाई पनि आफू उहाँको अगाडि केही नबुझ्ने बच्चा जस्तै लाग्छ ।

एकदिन साँझपख, देखेँ । आमा कुर्सी भित्तामा अढेस लगाएर बस्नुभएको थियो । उहाँको काखमा एउटा थाल छ, जसमा आधा लौका काटेर राखिएको छ । नजिकै चक्कु पनि छ । आमाको शिर केही पछाडि झुकेर भित्तामा अडिएको छ । आमा निदाउनु भएको छ । उहाँको मुहारमा विश्रान्ति थियो । लामो लामो श्वास लिँदै हुनुहुन्थ्यो । म अगाडि ठिङ्ग उभिएर सोचिरहेँ । आमालाई उठाऊँ वा नउठाऊँ ! फर्केर जानै लागेको थिएँ । आमाले आँखा खोल्नुभयो अनि सोध्नुभयो, “के भयो के चाहियो ?” आमालाई मायालु नजरले हेरेर भनेँ, “यस्तो धेरै थाकेर पनि यही भान्सामा बस्नुहुन्छ । कोठामा गएर केही समय आराम किन गर्नुहुन्न ? थाकेर यहीँ निदाइरहनुभएको थियो । आमाले भन्न थाल्नुभयो, “होइन बाबु, सुतेकी थिइनँ ।” मलाई कहिलेकाहीँ भित्तामा अढेस लागेर आँखा बन्द गर्न मनपर्छ ।

मैले भनेँ, “अरे ! आजका नारी के के मात्र काम गर्दैनन् । कहिलेकाहीँ बाहिर घुम्न जानुहोस् । यो पिँजडामा किन बन्द हुनुहुन्छ ?” आमाले नाटकीय जवाफ दिनुभयो, “म घुम्छु नि ! तँलाई थाहा हुन्न बाहिर गएको । बगैंचामा पनि जान्छु । जब तिमीहरू घरबाहिर हुन्छौँ, म कति घुम्छु । टाढाटाढा पनि धेरैपटक गएकी छु ।” उहाँको आवाज भान्साको गहुँ राख्ने ड्रमबाट आए जस्तो सुनिएको थियो । मलाई उहाँको कुरा आधा बुझेजस्तो आधा नबुझेजस्तो लाग्यो । अनि फेरि हाँसेर भन्न थाल्नुभयो, “सुरु सुरुमा बेचैनी हुन्थ्यो तर अब मलाई घरको काम गर्नमै आनन्द आउँछ । घरमै यति धेरै घुमफिर हुन्छ, अन्त जानै मन लाग्दैन । अरूले भन्छन्, म मेरी आमातिर गएकी छु । उहाँलाई पनि यो सब मनपथ्र्याे ।”

मेरी छोरी भएको भए उनलाई पनि त्यस्तै बनाउनुहुन्थ्यो । सबैले सबैलाई मिलेर बनाउँछन् । छोरीहरू पनि यसरी बन्छन् । सायद उहाँ केही अलग बनेको भए ! उहाँ खुसी हुनुहुन्थ्यो वा उदास केही थाहा भएन । म चुपचाप कोठामा गएँ ।

केही समयपछि भान्साको सामुन्ने भएर गुज्रिएँ । आमा भान्साको प्लेटफर्ममा उभिएर कुनै डिब्बा निकाल्ने कोसिसमा हुनुहुन्थ्यो ।

– आमा अत्ति गर्नुहुन्छ तपाईं । म घरमै छु नि ।

आमा प्लेटफर्मबाट हाम फाल्नुभयो । अनि दायाँ खुट्टा समातेर चिच्याउन थाल्नुभयो । मैले उहाँलाई सम्हालेर कुर्सीमा बसालेँं । भन्न थाल्नुभयो, “खुट्टा मर्के जस्तो छ ।” मैले रिसाउँदै भनँे, “यसरी हाम फालेपछि अरू के हुन्छ त ? म उतारिदिन्थेँ नि ।”

“केही त्यस्तो भएको छैन । खुट्टा फर्किएको मात्र हो, भइरहन्छ छोरा । मसला निकाल्दे त बरु ।” बेसार मिलाउँदै भन्नुभयो ।

सोही रात जब बिचमा मेरो निद्रा खुल्यो, मैले टाढैबाट हेरेँ । झ्यालबाट जून प्रवेश गरेको थियो । आमा झ्यालमा हुनुहुन्थ्यो । एकदम सिधा तन्किएर उभिनुभएको थियो । उहाँको पाउमा कुनै असर देखिएको थिएन । के हेर्नुभएको हो, थाहा भएन, जून वा अरू केही पनि हुन सक्थ्यो । बिस्तारै फर्किएर कुर्सीमा बस्नुभयो । भित्तामा शिर अढेस लगाएर आराम गर्नुभयो ।

(प्रस्तुत कथा हिन्दीबाट नेपालीमा भावानुवाद गरिएको हो ।)

Authors

  • कुमार अंबुज

    भारतीय सुपरिचित कवि कुमार अंबुजको कविता जगत्मा प्रवेश सन् १९८९ मा ‘किवाड’ कवितामार्फत् भएको हो, जसलाई ‘भारतभूषण अग्रवाल कविता पुरस्कार’ का लागि चुनियो । उनको पाँचवटा कवितासङ्ग्रह प्रकाशित भएको छ । उनी समाजमा भएको विभेद, विसङ्गति र समसामयिक विषयमा कलम चलाउँछन् ।

    View all posts
  • जनक कार्की ( अनुवादक )

    जनक कार्की कविता, कथा, समीक्षा र अनुवादमा सक्रिय छन् । उनको अनुहारको भीड संयुक्त कवितासङ्ग्रह प्रकाशित छ । बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्ट पच्चीस र बौद्ध कथा प्रतियोगितामा उत्कृष्ट पाँचमा उनका कथा चयन भएका छन् ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के