रातको करिब तीन बजे निन्द्रा खुल्यो । केही खटपट आवाज आयो । भान्सामा गएर हेरेको आमाले भाँडा निकाल्दै हुनुहुन्थ्यो । मलाई देखेर आश्चर्यचकित हुँदै हाँस्दै भन्नुभयो, ‘बिहान हुन अझै बाँकी छ, गएर सुत् । उहाँको दन्तपङ्क्ति लोभ्याउने खालको थियो । मैले अल्छी मान्दै सोधेँ, “तपाईं यति राती के गर्दै हुनुहुन्छ ? किन नसुत्नु भएको ?”
– भर्खरै उठेको हो ।
– तपाईं राती बाह्र बजेसम्म त जागै हुनुहुन्थ्यो ।
– के भयो त म त्यति मात्र सुत्छु । तँ गएर सुत् ।
केही दिनपछि म रातको करिब एक डेढ बजे उठेँ । कुनै सपना खलबलिएको थियो वा कुनै आवाजले उठाएको हो । भान्सामा कोही छ जस्तो लाग्यो । बत्ती बलिरहेको थियो । गएर हेर्दा आमा कुर्सीमा बसेर पत्रिका पढिरहनुभएको थियो । मलाई देखेर आत्तिनुभयो । संयमित हुँदै भन्नुभयो, पानी पिउने ? जवाफको प्रतीक्षा नगरीकन गिलासमा पानी खन्याउन थाल्नुभयो । पानी पिएर मैले सोधेँ, “आमा तपाईं किन नसुतेको ?” निन्द्रा लागेन, त्यसैले यहाँ आएर पत्रिका पढ्न थालेको”, आमाले जवाफ दिनुभयो ।
– आमा यो कुनै तरिका भयो र ! जुनसुकै बेला अझ आधारातमा पनि भान्सामा बस्नुहुन्छ ।
– किन, भान्सामा बस्न हुन्न ? मलाई यहीँ बस्न मनपर्छ । “ठीक छ, आमा ।” मैले हारेको भाव देखाएर भनेँ ।
– ल अब सुत्नोस् ।
– तँ सुत् । म यो अन्तिम पाना सक्याएर सुत्छु ।
बारम्बार यस्तो धेरै पटक दोहोरिरह्यो । जबजब रातमा मेरो निन्द्रा खुल्छ, बाह्र बजे, दुई बजे, चार बजे, बिहान पाँच बजे उहाँ भान्सामा भेटिनुहुन्थ्यो । कहिले भन्नुहुन्थ्यो–“दही जमाउनको लागि राख्न भुलेछु । पाँच मिनेटमा सुत्न जानेछु ।” कहिले भन्नुहुन्थ्यो–“अचानक याद आयो तरकारी सकिएका
थियो । बिहानको लागि चना भिजाउँदै छु । अथवा गहुँको आटा फ्रिजमा राख्न बिर्सेछु ।”
एकरात यस्तो अवस्थामा देखेँ— यस्तै बाह्र बजेको थियो होला । भान्साको भित्तामा टाँसिएको पात्रोमा दुधको हिसाब लेख्दै हुनुहुन्थ्यो । सोध्दा जवाफमा भन्नुभयो, “सधैं लेख्छु । कति दुध लिएको भनेर । आज बिर्सेछु । भर्खरै सम्झेर लेख्न आएकी ।” कहिलेकाहीँ रिसाउँदै भन्नुहुन्थ्यो, “म जबजब रातमा भान्साको काम गर्न आउँछु, तँ पछिपछि आउँछस् !”
अनि केही रेडिमेड जस्ता जवाफ बारम्बार भन्नुहुन्थ्यो, “पानी पिउन आएकी थिएँ । चिसो हावा आएकाले झ्याल नजिक आएर बसेँ ।” भान्साको दक्षिण दिशामा एउटा सानो झ्याल थियो ।
एकचोटि दुई ढाई बजेको समय हुनुपर्छ । आमा आफ्नो कोठामा हुनुहुन्थेन । बुवा घुर्दै हुनुहुन्थ्यो । बाथरुममा पनि हेरेँ, भेटिनँ । बैठक र भान्सा अँध्यारो थियो । बाहिरको ढोका भित्रबाट बन्द थियो । म चिच्याएँ, “आऽमा कहाँ हुनुहुन्छ तपाईं ? भान्साको अँध्यारो कोठाबाट आमा बाहिर निक्लिएर डराउँदै भन्नुभयो, “किन यसरी चिच्याएर बोलाएको ? सुस्तरी बोल्, सबै जाग्नेछन् । “आमा डर त मलाई लागेको थियो । कहाँ जानुभएको होला भनेर ।” मैले भनेँ ।
– म कहाँ जान्छु छोरा ? यही भान्सामा थिएँ । झ्याल बाहिर हेरेकी थिएँ । आज सप्तमी हो ।” मलाई रिस उठ्यो, तर के गर्न सक्थेँ र ! गएर सुतेँ ।
बाहिर कतै गएर आएँ भने आफैँ ढोका खोल्न आउनुहुन्छ । भान्साबाट आउने हो अनि पुनः भान्सामै जाने हो । कहिलेकाहीँ भन्नुहुन्छ, “पापडको डिब्बा निकाल्देन ।” उहाँको सबै काम भान्सासँग सम्बन्धित हुन्छन् । ब्लाउजको टाँक लगाउनेदेखि गहुँ फट्कार्नेसम्म । अनि उहाँको सबै काम भान्सामै सम्पन्न हुन्छन् । माइजू र फुपूलाई वर्षमा एकाध चिठ्ठी लेख्नुहुन्छ । काखमा किताब राखेर कापीको पन्नामा तर त्यो पनि भान्सामै बसेर । छिमेकी काकीहरू र केटाकेटीहरू आक्कलझुक्कल घर आउँदा पनि भान्सामै बसाल्नु हुन्छ । उनीहरू आमालाई भान्सा सफासुग्घर छ भनेर प्रशंसा गर्छन् । कहिलेकाहीँ फुर्सदमा बसेको देखियो भने पनि आफ्नो एकफिट अग्लो भान्साकै प्रिय कुर्सीमा बस्नुहुन्छ, जुन कुर्सी म जन्मनुपूर्वको हो । कहिले झ्यालमा उभिएर टोलाएको अवस्थामा पनि भेटिनुहुन्छ । झ्यालबाहिर थाहा छैन, के हेर्नुहुन्छ ? मलाई यस्तो लाग्छ । दक्षिण दिशाको पुरै आकाश उहाँलाई थाहा छ— कतिवटा तारा छन् ? कति नक्षत्र छन् ? कति ग्रह छन् ? सूर्य त्यहाँबाट कुन मौसममा कतिबेला निक्लन्छ ? जून कति कलामा फुल्छ ? त्यो दिशाको आकाशको रङ र बादलको रूप सबै थाहा छ । हावाबाट, आकाशबाट मौसमको अन्दाज लगाउन सक्नुहुन्छ अथवा के थाहा उहाँले यो सब हेर्नुहुन्छ कि हुन्न ! सायद टाढा देखिने तीनचार वटा रूखको पातलाई हेर्न पनि सक्नुहुन्छ वा मात्र श्वास लिन उभिनु भएको पो हो कि ! उहाँका बारेमा उहाँबाट कुनै पनि कुरा पत्ता लगाउन निकै कठिन हुन्छ । उहाँलाई भान्सा बाहिर बोलाउने प्रयास प्रायः असफल हुन्छन् । सोध्न मनलाग्छ कम्बरपेटी, मोजा, घडी कहाँ छन्, जसले गर्दा उहाँ भान्सा बाहिर आउनु हुनेछ । तर त्यस्तो हुन्न । उहाँ भान्साबाटै सबै कहाँ कहाँ छ भन्दिनुहुन्छ । दराजको पछाडि, मुनि वा भन्नुहुन्छ, सिरानी मुनि, ढोकाको पछाडिको किल्लामा यस्तै यस्तै । उहाँलाई मनपर्ने गीत रेडियोमा बजिरहेको बेलामा भान्साबाटै भन्नुहुन्छ, “रेडियोको आवाज अलि चर्को बनाऊ, भान्सासम्म सुनिएन ।
बिदाको दिन थियो । एक डेढ बजे खाना खाएर कोठामा सुत्न गएँ । भाइ क्रिकेट खेल्न गएको थियो । साढे तीन बजेतिर उठ्दा आमा भान्सामा चामल हेर्दै हुनुहुन्थ्यो । म उहाँको अँगालोमा टाँसिएर लाडे भएर भनेँ, ‘यो के हो आमा ? दिनरात काम मात्रै । कहिले आटा छान्नुहुन्छ, कुहिले दुध निकाल्नुहुन्छ । कहिले यो गरम, कहिले त्यो चिसो बनाउनुहुन्छ । केही काम भेटिएन भने नरिवल टुक्रा पार्न थाल्नुहुन्छ । मसलाको डिब्बा बदल्नुहुन्छ । तरकारी काटेर रास लगाउनुहुन्छ । अहिले चामल लिएर बसिराख्नुभएको छ । चिठ्ठी पनि यहीँ बसेर लेख्नुहुन्छ । मलाई यो सब मनपर्दैन । भाँडा माझ्ने दिदीले भाँडा माझ्दा पनि यही बसेर हेर्नुहुन्छ । आफ्नो कोठामा गएर आराम किन गर्नुहुन्न ? त्यो तपाईं र बुवाको कोठा हो तर तपाईं त्यहाँ कहिले बस्नुहुन्न । बैठकमा गएर आराम गरे पनि त हुन्छ ।” “हेर् केटा ! तँ यो सब बुझ्दैनस् । सबै काम अहिल्यै तयार गरेर राख्नुपर्छ । नत्र तुरुन्तै दालभात तरकारी कसरी बनाउने ! भोक भन्ने कुरा अचानक लाग्ने गर्छ । घरमा काम गर्ने केटीसँग कुरा गरेकै हुन्छु । बचेको खाना उसलाई लिएर जानको लागि दिन्छु । चिया पनि बनाउन पर्छ । धेरथोर काम गर्नैपर्छ । कसले गर्छ नत्र ? अनि म सुत्न त हाम्रै कोठामा सुत्छु नि । बैठकमा बस्न पल्टन मलाई मन पर्दैन । आवातजावत भइरहन्छ, आराम गर्नै सकिन्नँ त्यहाँ । मेरो सबै काम भान्सामा हुन्छ । मलाई यहीँ शान्ति मिल्छ ।” मेरो शिरमा हात राखेर कपाल मुसार्दै आमाले भन्नुभयो । आमाको कपाल कालो र लामो छ । यसरी कुरा गर्नुहुन्छ, मानौं म चारपाँच वर्षको बच्चा हुँ । म केही बुझ्दिनँ । मलाई पनि आफू उहाँको अगाडि केही नबुझ्ने बच्चा जस्तै लाग्छ ।
एकदिन साँझपख, देखेँ । आमा कुर्सी भित्तामा अढेस लगाएर बस्नुभएको थियो । उहाँको काखमा एउटा थाल छ, जसमा आधा लौका काटेर राखिएको छ । नजिकै चक्कु पनि छ । आमाको शिर केही पछाडि झुकेर भित्तामा अडिएको छ । आमा निदाउनु भएको छ । उहाँको मुहारमा विश्रान्ति थियो । लामो लामो श्वास लिँदै हुनुहुन्थ्यो । म अगाडि ठिङ्ग उभिएर सोचिरहेँ । आमालाई उठाऊँ वा नउठाऊँ ! फर्केर जानै लागेको थिएँ । आमाले आँखा खोल्नुभयो अनि सोध्नुभयो, “के भयो के चाहियो ?” आमालाई मायालु नजरले हेरेर भनेँ, “यस्तो धेरै थाकेर पनि यही भान्सामा बस्नुहुन्छ । कोठामा गएर केही समय आराम किन गर्नुहुन्न ? थाकेर यहीँ निदाइरहनुभएको थियो । आमाले भन्न थाल्नुभयो, “होइन बाबु, सुतेकी थिइनँ ।” मलाई कहिलेकाहीँ भित्तामा अढेस लागेर आँखा बन्द गर्न मनपर्छ ।
मैले भनेँ, “अरे ! आजका नारी के के मात्र काम गर्दैनन् । कहिलेकाहीँ बाहिर घुम्न जानुहोस् । यो पिँजडामा किन बन्द हुनुहुन्छ ?” आमाले नाटकीय जवाफ दिनुभयो, “म घुम्छु नि ! तँलाई थाहा हुन्न बाहिर गएको । बगैंचामा पनि जान्छु । जब तिमीहरू घरबाहिर हुन्छौँ, म कति घुम्छु । टाढाटाढा पनि धेरैपटक गएकी छु ।” उहाँको आवाज भान्साको गहुँ राख्ने ड्रमबाट आए जस्तो सुनिएको थियो । मलाई उहाँको कुरा आधा बुझेजस्तो आधा नबुझेजस्तो लाग्यो । अनि फेरि हाँसेर भन्न थाल्नुभयो, “सुरु सुरुमा बेचैनी हुन्थ्यो तर अब मलाई घरको काम गर्नमै आनन्द आउँछ । घरमै यति धेरै घुमफिर हुन्छ, अन्त जानै मन लाग्दैन । अरूले भन्छन्, म मेरी आमातिर गएकी छु । उहाँलाई पनि यो सब मनपथ्र्याे ।”
मेरी छोरी भएको भए उनलाई पनि त्यस्तै बनाउनुहुन्थ्यो । सबैले सबैलाई मिलेर बनाउँछन् । छोरीहरू पनि यसरी बन्छन् । सायद उहाँ केही अलग बनेको भए ! उहाँ खुसी हुनुहुन्थ्यो वा उदास केही थाहा भएन । म चुपचाप कोठामा गएँ ।
केही समयपछि भान्साको सामुन्ने भएर गुज्रिएँ । आमा भान्साको प्लेटफर्ममा उभिएर कुनै डिब्बा निकाल्ने कोसिसमा हुनुहुन्थ्यो ।
– आमा अत्ति गर्नुहुन्छ तपाईं । म घरमै छु नि ।
आमा प्लेटफर्मबाट हाम फाल्नुभयो । अनि दायाँ खुट्टा समातेर चिच्याउन थाल्नुभयो । मैले उहाँलाई सम्हालेर कुर्सीमा बसालेँं । भन्न थाल्नुभयो, “खुट्टा मर्के जस्तो छ ।” मैले रिसाउँदै भनँे, “यसरी हाम फालेपछि अरू के हुन्छ त ? म उतारिदिन्थेँ नि ।”
“केही त्यस्तो भएको छैन । खुट्टा फर्किएको मात्र हो, भइरहन्छ छोरा । मसला निकाल्दे त बरु ।” बेसार मिलाउँदै भन्नुभयो ।
सोही रात जब बिचमा मेरो निद्रा खुल्यो, मैले टाढैबाट हेरेँ । झ्यालबाट जून प्रवेश गरेको थियो । आमा झ्यालमा हुनुहुन्थ्यो । एकदम सिधा तन्किएर उभिनुभएको थियो । उहाँको पाउमा कुनै असर देखिएको थिएन । के हेर्नुभएको हो, थाहा भएन, जून वा अरू केही पनि हुन सक्थ्यो । बिस्तारै फर्किएर कुर्सीमा बस्नुभयो । भित्तामा शिर अढेस लगाएर आराम गर्नुभयो ।
(प्रस्तुत कथा हिन्दीबाट नेपालीमा भावानुवाद गरिएको हो ।)