मोरे अंगनाके सोन चिरैया
चिरैया कहवाँ उडि चलली रे
(मेरो आँगनको सुनको चरा
चरा कता उडेर गइन् )
शङ्कास्पद मृत्यु भएकी मधेस (धनुषा) की आरती साहको न्यायका लागि दबाव सिर्जना गर्न राखिएको एक छलफल कार्यक्रममा गायक रविराज साहले उल्लिखित गीत गाए । उक्त गीतले आफ्नो आँगनको ‘सुनौलो चरी’ उडेर गएको र कहाँ गएको भन्ने पत्तो नहुँदा बा, आमा, बैनीदेखि किलोमा बाँधिएका गाई-बाच्छा लगायत सारा समाज नै रोइरहेको भाव व्यक्त गरेको छ, र छ, ‘चरी’को सम्झनामा बल्झिरहने मनको घाउमा नुन चुक छर्किएजस्तो पीडा, पुरा गीतमा । सोही कार्यक्रमको एक भिडियोमा मञ्चमा बसेर गीत सुनिरहेकी आरती (मृतक) की आमा भक्कानिएकी देखिन्छिन् भने उनकी कान्छी छोरी मनिषा साह (मृतक आरतीकी बहिनी) ले आमालाई सम्हाल्न कोशिस गरिरहेकी देखिन्छिन् । आफ्नो प्रिय सन्तान अर्थात् ‘सुनौलो चरी’ गुमाएकी आमाले जतिफेर छोरीको शङ्कास्पद मृत्युको प्रसङ्ग सुनाउन बाध्य हुन्छिन् , त्यति नै पटक उनको पीडाको घाउ बल्झिरहन्छ । एउटै कोखमा बसेर एकै समय जन्मिएका आरतीका दाइ प्रेम साह पनि बहिनीलाई न्याय दिलाउन अनवरत सङ्घर्षमा छन् । ६ महिनाभन्दा धेरै समय (पौष १८ गते यता) देखि सङ्घीय राजधानीको सडकमा बसेर ‘बहिनीको न्याय’ पुकारिरहेका प्रेम आफ्नो फेसबुक कभरमा बहिनीको मृतावस्थाको तस्विर राखेर लेख्छन्, “म अनि मेरो बहिनी जुडवा (जुम्ल्याहा) बनेर सँगै दुनियाँमा आयौँ तर, उसको लोग्नेको सब परिवार मिलेर मेरो बहिनीलाई दुनियाँबाट पहिल्यै विदा गरे !”

बिहे गरेर दिएकी छोरी २ वर्ष नपुग्दै, गर्भमा शिशु हुर्काइरहेकै अवस्थामा, आफ्नै घरमा मृत अवस्थामा फेलापरेको सुनेदेखि देहातको यो परिवार शोकाकुल अवस्थामा अकालमा ज्यान गुमाएको प्रिय सदस्यको न्यायका निम्ति लडिरहेको छ । परिवारद्वारा दाइजोका लागि छोरीको हत्या भएको दाबी गर्दै सुरुमा स्थानीय तहका न्यायिक निकायमा लडाइँ जारी राखियो । तर, त्यहाँ निष्पक्ष छानबिनको सट्टा सत्ता अनि शक्तिको दुरूपयोग गर्नेहरूबाट अमानवीय हर्कतहरू देखाइए । प्रदेश डीआईजी कार्यालय र जिल्ला प्रशासन कार्यालय, जनकपुरस्थित सरकारी वकिल कार्यालयदेखि महान्याधिवक्ताको कार्यालय हुँदै राजनीतिक नेतृत्वहरू सबैले किटानी जाहेरीदेखि नै असहयोगपूर्ण र शङ्कास्पद व्यवहार प्रदर्शन गरिरहेको मृतकका परिवारको जिकिर छ । समग्र न्यायिक लडाँइमा पनि उनीहरूबाट असहयोग हुने आशङ्कामा यस परिवारले सङ्घीय राजधानीको कठ्याङ्ग्रिदोँ चिसोमा न्यायका निम्ति सडकबाटैआह्वान गरिरहेको छ । आरतीको परिवारले न्यायका लागि महिनौँसम्म जुन जमिन कुरिरहेका छन्, त्यहाँ अन्य पीडित पनि आएका थिए, जसलाई सरकारको प्रतिपक्षी र विपक्षी दल लगायतको भरपुर सहयोग मिल्यो र उनीहरूका माग समयमा सम्बोधन पनि भए तर यस परिवारलाई मात्र सरकारले निसहाय र विवश हालतमा छोडिदिनु, उनीहरूका मागप्रति गम्भिर नबन्नुका पछाडि सरकारी बेवास्तासँगै राज्यका विविध पक्ष जिम्मेवार छन् ।
अस्पताल र प्रहरी प्रशासन
पदीय जिम्मेवारी, नैतिकता र कर्तव्य बिर्सिएकाहरूको चङ्गुलमा परेको छ, आरती साहको मुद्दा पनि। तराईमधेस केन्द्रित विविध मुद्दामा आवाज बुलन्द गरेर राज्यलाई जवाफदेही बनाएका केही अभियन्ताले “तराईमा हत्या गरेर प्रशासनको मिलोमतोमा आत्महत्या बनाउने प्रचलन बढेको” बताएका छन् । माइतीघर मण्डलापछि शान्तिवाटिकामा आरतीको परिवारले टाँगेको तस्विर हेर्दा आरतीले आत्महत्या गरेको हो भनेर सहजै स्विकार्न जो कोहीको मन मान्दैन । शरिरभरि देखिएका निलडामले केही न केही कैफियत रहेको उजागर गर्छ । यही पाटो हो, जसलाई समातेर माइती पक्षले भनिरहेको छ, “छोरीले आत्महत्या गरेकी होइन, उसको हत्या भएको हो ।” तर आरतीको शव परीक्षण गर्ने चिकित्सकले पोस्टमार्टमका क्रममा तयार गरेको रिपोर्ट (चिकित्सकको लिखित बयानसमेत) ले उनीहरूमाथि नै प्रश्न खडा भएको छ । परिवारले चिकित्सकहरूमाथि नै छानबिन गर्नुपर्ने मागसमेत राखेको छ। नेपाल मेडिकल काउन्सिलले त शव परीक्षणमा सङ्लग्न चिकित्सकहरूलाई ‘अन्तिम चेतावनी’ नै दिएको थियो।
अस्पतालसँग व्यवसायिक रूपमा जोडिएका चिकित्सकको कार्यमा पीडित पक्षले शङ्का गर्ने माहोल बन्नु र थप छानबिनका लागि दोश्रो निकाय गुहार्नुपर्ने अवस्थाले अस्पताल प्रशासनप्रति आम मानिसको विश्वास गुमेको प्रस्ट हुन्छ। यस्ता निकाय व्यवसायिक र पेशागत मर्यादा र नैतिकता र धर्म निर्वाह गर्नमा चुकेको प्रतित हुन्छ । चिकित्सकले पेशागत आवरणमा लाभहानीको हिसाब राखेर पीडक र अपराधीका पक्षमा काम गर्ने वातावरण मौलाएको त होइन भन्ने प्रश्न खडा हुन्छ । आम मानिसले सरसर्ती हेर्दा पनि जनकपुर प्रादेशिक अस्पताल, जनकपुरले गरेको शव परीक्षण पोस्टमार्टममा मेडिकल काउन्सिलले गरेको छानवबिनले तीनवटा त्रुटि पत्ता लगाएको देखिन्छ। (१) शरिरमा देखिएका घाउ चोट सबै पोष्टमार्टम रिपोर्टमा रेकर्ड नगरेको अर्थात पीडितको तर्फबाट भन्दा तथ्यलाई लुकाएको भन्न पनि सकिन्छ ।( २) डाक्टरले जस्तो अवस्था देखिएको छ त्यो सबै जस्ताको तस्तै उल्लेख गर्ने हो, तर त्यस्तो तथ्यलाई कानुनी विश्लेषण गरेर हत्या हो वा आत्महत्या हो भनेर अनुसन्धानलाई प्रभावित पार्ने गरी विवादास्वद राय दिन मिल्दैन । चिकित्सकको पदीय मर्यादा “इथिक्स” विपरित रिपोर्टमा “सम्भाव्य आत्महत्या” भन्ने उल्लेख गरिनु दोश्रो त्रुटि हो । (३) चिकित्सकले तयार गर्ने मेडिकल रिपोर्टमा सम्बन्धित चिकित्सकको नाउँ र मेडिकल काउन्सिल नं उल्लेख गर्नु पर्ने सो उल्लेख नगरिनु अन्तिम त्रुटि हो । पीडित पक्षले यिनै त्रुटिका कारण आरतीको आत्महत्या हो भन्नेमा गम्भीर सन्देह प्रकट गरेको छ । उक्त त्रुटिलाई निज चिकित्सकहरूले आफ्ना तर्फबाट गल्ती भएको भनेर काउन्सिल समक्ष स्वीकार समेत गरेका छन् । सोही आधारमा उक्त प्रकृयामा संलग्न चिकित्सकहरूलाई काउन्सिलले “आइन्दा यस्तो त्रुटि नदोहोर्याउनु, देखिएको सबै तथ्यलाई दुरुस्त रूपमा अभिलेख गर्नु र रिपोर्ट वा कागजातमा सम्बन्धित चिकित्सकको पहिचान पनि खुलाउने गर्नु” भन्दै चेतावनी तथा निर्देशन दिएको देखिन्छ । त्रुटि गरेर चेतावनी पाउने गरी काम गरेका संलग्न चिकित्सकहरूलाई उनीहरूको सुनियोजित त्रुटिप्रति प्रश्न गर्न कर लाग्छ, यस्तो त्रुटिले घटनाको छानबिन प्रक्रियालाई कतिसम्म प्रभाव पार्छ ? उनीहरू किञ्चित संवेदनशील भएका भए
दिदीको शंकास्पद मृत्युपश्चात बेचैन बनेकी बहिनी मनिषाले किटानी जाहेरी दिन जाँदा जिल्लास्थित प्रहरीबाटै दुर्व्यवहार खेप्नुपर्ने थिेएन होला । मुस्कानसहितको सेवा दिने भन्ने प्रहरीले आफ्नै नाराको वर्खिलाप व्यवहार गरेको प्रमाण मनिषाले धर्नास्थल पुग्दाका हरेक भेटमा देखाउने तस्विरमा भएको निलडामले बोल्छ। मनिषा भन्छिन्- “प्रहरीले हामीले भनेअनुसार बयान लेखिदिएको थिएन । त्यसमा दाइ (प्रेम धिरज) लाई थप्पड बर्सायो, मैले त्यसको भिडियो गर्न खोज्दा डिएस्पी वेदप्रसाद गौतमले घाँटीमा समातेर भित्तामा ठड्याइदिए ।” सुरूवातमै पीडित पक्षको किटानी जाहेरी लिन नमान्नु, वा घटना दर्ताको विषयबारे प्रहरी आफैँ जान्ने भएर यो विषय (आत्महत्या दुरूत्साहनको) मा ‘मुद्धा दर्ता गर’ भन्नु, सडकमा अनशनरत पीडित पक्षको सुरक्षार्थ खट्नुपर्ने प्रहरी केही बेर हराउनु र सोही समय धर्नारत पक्षको आश्रयस्थल माइतीघरमा आक्रमण गरिनु, लगत्तै मोबाइल खसालेर कुलेलम ठोकेका शङ्कास्पद व्यक्तिहरूबारे छानबिन गर्नका लागि ज्यान सुरक्षाको माग गर्दै जाहेरी दिन पुग्दा प्रहरीले जाहेरी दर्ता नगर्नु जस्ता रवैयाले प्रहरीले निभाउने सुरक्षाको भुमिकामा शङ्का पैदा हुन्छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने प्रहरीको छवी उल्लेखित रवैयाका कारण अझै अविश्वसनीय बनेको छ ।
धर्नारत पीडित पक्षले भन्छ- “आफूमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाहीको माग राखेवापत् सङ्घीय राजधानीको प्रहरी समेत हामी महिलाहरूमा असंवेदनशील रूपमा प्रस्तुत भएको छ ।” प्रहरी (पुरूष ले कि त महिलाका संवेदनशील अङ्ग अँठ्याउँदै घिसारेको छ, कि त लगाइरहेको धोतीमा समातेर घिच्याउँदै प्रहरी गाडीमा थुनामा लगेको छ, जसको साक्षी पङ्तिकार छ । ज्वरोले आलसतालस हुँदा पनि सडक नछोडी न्यायको याचना गरिरहेका मृतक आरतीका बुबा आमालाई प्रहरीले थुनेको मात्र छैन, रातपख थुनाबाट वीर अस्पतालको छिँडीमा लावारिस हालतमा छोडिदिएको बारे पङ्तिकार जानकार छ । यसले प्रहरीमा मानवीयता हराउँदै गएको छर्लङ्ग पार्छ।
पीडित परिवारका अनुसार दुर्व्यवहारको आरोप लागेको जनकपुर प्रहरी प्रशासन, जसद्वारा पीडित पक्षले आफ्नो कुरा मान्न गरिएको जवर्जस्ती स्विकारेन भनेर महिलासहित पीडित परिवारलाई लछारपछार गर्ने, शरिरका अङ्गमा चोट पुग्ने गरी कुटपिट गर्ने र खोसेको मोबाइल हालसम्म पनि नदिने, अनि काठमाडौँमा आएर विभिन्न निकायमा उजुरी दिएको प्रसङ्गलाई इबी साँधेर ६ ७ घण्टा हिरासतमा राख्ने जस्ता क्रियाकलाप गरिएका छन् । । परिवारले हिरासतमा राखेका बेला प्रहरी अधिकृतले खुट्टा ढोगाएर माफी माग्न लगाएको बताइरहँदा आक्रोश उम्लिन्छ । यसले प्रहरीमा रहेको हीन, विकृत विभेदपूर्ण मानसिकताको उजागर गर्छ। खसआर्य (खड्का र गौतम) समुदायका उच्च तहका प्रहरी अधिकृतहरूबाट आज पनि मधेसी समुदायका पीडित व्यक्ति अपमानित हुनुले व्यवस्था परिवर्तन भए पनि खसआर्य दृष्टिकोणमा परिवर्तन हुन नसकेको यथार्थ प्रस्तुत हुन्छ । राज्यको एउटा निकाय प्रहरी प्रशासनलाई यसरी खास समुदायप्रति गरिएको व्यवहार अमानवीय गैरसंवैधानिक र गैरकानूनी हो भनेर कसले बुझाउने हो ? सम्बन्धितले आफै कहिले बुझ्ने ?
पछिल्लोपटक चकित पार्ने अर्को गतिविधि गरेको छ जनकपुर प्रहरीले । प्रहरीद्वारा मृतक आरती साहको न्यायका लागि महिनौँदेखि अनसनमा बस्दै आएका उनका परिवारमाथि नै पुरानो मितिमा अभद्र व्यवहारको मुद्दा लगाउँदै फरार अभियुक्तको सूचीमा राखेर पक्राउ पूर्जी जारी भएको छ । परिवारका अनुसार यस्तो मुद्दा चलाएर प्रहरीले “पटक पटक गाउँमा उनीहरूलाई पक्राउ गर्न गएको र फेला नपरेको” भन्दै फरार अभियुक्त करार गरिदिएको छ । कानुनी राज्यमा प्रहरीले पदको अनुचित प्रयोग गरेको यो प्रसङ्ग निकै नै हास्यास्पद र हैरानीपूर्ण छ ।

काठमाडौका विभिन्न सत्ता र तिनका उपेक्षा
सामाजिक न्यायका पक्षधर, सार्वजनिक बहसहरूबारे चासो राख्ने कसैका लागि पनि परिवारको अगुवाइमा जारी रहेको आरती साहको न्यायको पछिल्लो आन्दोलन नौलो विषय होइन । आन्दोलनबारे अद्यावधिक हुनेलाई राम्रै थाहा छ, विकराल बन्दै गइरहेको दाइजो प्रथाले ज्यान लिइरहेका पात्र (विशेष त महिला) को न्यायका निम्ति एक त आन्दोलन जाग्दैन, या त दाइजोका नाममा खुन खराबी गर्ने अनेकौँ पात्रको अपराधहरूको चाङकै पक्षपोषक भएर मधेसी समाजको वर्चस्वशाली तप्का, दलीय प्रणालीका छोटे–बडे तालुकदार र सिङ्गो सत्तातन्त्र नै उभिएको आभास भएको छ । उपहारका रूपमा दाइजो दिने र दाइजो कमी भएर बुहारीको ज्यान लिने अवस्था मधेशमा भन्दा पहाडमा तुलनात्मक रूपमा न्यून छ भन्नुपर्ला । कथित ‘उपल्लो जात’ भित्र छोरीबेटीलाई ‘मारे पाप पाले पुण्य’ भन्दै अन्माइने थिति पहिलेझैँ मुखमा नआए पनि व्यवहारमा अझै छ, पहाडका सन्दर्भमा । कथम् परिवारका कारण छोरीको ज्यान गएमा उसको ‘करिममै त्यही लेखेको’ रागमा आलाप हालिने र त्यो पनि केही समयपछि बिर्सिदिने गरिन्छ। यस परिवेशमा छोरीका खातिर तालु पोल्ने गर्मी वा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी महिनौँ धर्नारत परिवारको माग थाहा पाउन र सुन्न मात्रै यहाँको राज्य सत्ता वा सत्तापति मध्ये एक गृहमन्त्रालयले लगभग ४ महिना कुरायो ।
गृहमन्त्रीले त “माइतीघरबाट उठेर गयौ भने मात्र छानबिन समिति गठन गर्छौँ” भन्दै लापरवाहीपूर्ण जवाफ फर्काए अनि जनभावनाको कदर गर्ला भनेर आमनागरिक आशावादी रहेको स्वतन्त्र पार्टीका एक सांसद (अमरेशकुमार सिंह) ले गृहमन्त्रीकै “हो मा हो” मिलाए ।
आरती साह मृत्युप्रकरणमा गृह मन्त्रालयसमक्ष बारम्बार पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि न काठमाडौँको सत्ताले सुनेको छ, न उनीहरूको आवाजमा आवाज मिसाउन यहाँ महिला अधिकारको क्षेत्रमा काम गर्ने भन्नेहरूले नै साथ दिन आएका छन् । आरतीको न्यायका लागि दबाव सिर्जना गर्न बौद्धिक वृत्तले जति समय लेखन र बोलीमा लगाउनुपर्थ्यो, त्यो भएकै छैन । घटना र मुद्धा उठानदेखि बैठानमा विभिन्न चलखेल हुनसक्ने शङ्काले पीडित परिवार सङ्घीय सत्तालाई हार गुहार गर्न आएको थियो ।
मधेसवादी राजनीतिक दलका सीमित नेता सांसदहरूद्वारा ‘आन्दोलनमा ऐक्यबद्धता रहेको’ भन्नेवाहेक पीडित पक्षको माग सम्बोधनमा प्रभावकारी कदम चाल्नेगरी राज्यसंयन्त्रलाई झक्झकाउने गरी कदम चालिएको देखिँदैन । न त कुनै साना दलले सडकमा आएर यो परिवारलाई सुन्न समय निकालेका छन् । “हामीले गुमाएकी छोरीको पीडकहरूलाई नेकपा एमालेको साथ छ । नेपाली काङ्ग्रेसको नश्लीय काखच्यापीमा प्रहरीका वरिष्ठ अधिकृतहरू छन् । त्यसैले दिदीको शवको मुचुल्का उठाउनेबेला हामीलाई नराख्ने र मुद्धा कमजोर पार्न चलखेल गर्ने प्रहरीलाई सरूवा गरेर मात्र छोडियो”, पीडितहरू यसै भन्छन् । ४ महिनाको आन्दोलनपश्चात् पीडितपक्षको एउटा माग सम्बोधन भयो अर्थात् सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणका मुख्य आरोपी मध्येका एक श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दियो । यसरी सत्तागठबन्धनले नाफाघाटा हेरेर सत्ताको मोलाहिजा गर्न व्यस्त रहेको देखिन्छ र उसकै सल्लाह–साउती, अपारदर्शी साँठगाँठका कारण पीडित पक्षले ‘मधेसी भएर आंशिक न्याय दिएको हो कि नत्र त पहाडी समुदायका पीडित पक्षको माग सुनुवाइ आँखै अगाडि भइरहेको छ’ भन्ने अनुभूत समेत गर्नुपरिरहेको छ । यसरी राज्यको संवेदनाहीन, उदासिन र गैरजिम्मेवारीपूर्ण व्यवहारले न्यायको खोजी गर्न नसक्ने खास गरी महिला, विपन्न, असहाय,असक्षम वर्गका व्यक्तिहरूको न्यायमा पहुँच कति सम्भव होला त भन्ने सोच्न बाध्य पार्छ ।
अन्त्यमा, काठमाडौंको बढ्दो ठिही र कठ्यांग्रिँदो जाडोमा खुला आकाशमुनि म्याट ओच्छ्याएर पलेंटी कसी न्यायिक माग राखिरहेका यी बा आमा र दाइ बहिनीहरू कहिले सुनिन्छन् थाहा छैन । थाहा छैन उनीहरूप्रति सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सरकारले दुराग्रह र बेवास्ता अझै कति दिन राख्छ । मानव अधिकार महिला अधिकारको पक्षमा क्षेत्राधिकारभित्र रहेर जति र जहिलेसम्म गर्न सकिन्छ, त्यति गर्न संवैधानिक आयोगहरू कति डट्छन्, त्यो पनि हेर्न बाँकी नै छ । सिँहदरबारले मधेसका यी निम्न वर्गीय र निमुखा शक्तिहीन परिवारलाई राज्यहुनुको आभास कहिले गराउँछ, त्यो पर्खाइ जारी नै छ । जनकपुरले सम्बोधन गर्न नसकेको न्याय काठमाडौँमा फेला पर्छ कि पर्दैन ? त्यो पनि हेर्नु नै छ ।
गायक रविराज साहको आवाजमा आलो भई आउने संवेदनाले काठमाडौँको मथिङ्गल किन हल्लिरहेको छैन, त्यसको कारण पत्ता लाग्छ कि लाग्दैन ? गीत अझै जारी छ…
पुछे अम्बासे निमके पतैया (अम्बालाई सोध्दै थिए निमको पातले)
चिरैया कहवाँ उडि चलली रे (चरा कता उडेर गइन्)
बाबूजी रोवत वाडे, मैया बहिनियाँ (बुवा हजुर रुँदै थिए, आमा र बहिनी)
रोवे आजु सगरो समाज (रुँदै थिए सारा सामाज)
खुटबा बन्हल रोबे गैया–बछरूवा खुँटी (वस्तु बाँध्ने किलोमा रुँदै थिए गाई र बाच्छा)
के सुनी इनके पुकार (कसले सुन्ने इनको पुकार)
के सुनी माइके पुकार (कसले सुन्ने आमाको पुकार)
छन् छन् छछ्नेला (पलपल छुट्दैछन् )
छन् छन् छछ्नेला माइके परणबा (आमाको प्राण)
सुगनवा कहवाँ उडि चलली रे (चरा कता उडेर गइन्)
मोरे अंगनाके सोन चिरैया (मेरो आँगनको सुनको चरा)
चिरैया कहवाँ उडि चलली रे (चरा कता उडेर गइन्) …