Asmita Magazine

#

मिटरब्याजको ऐंठनमा महिला

तस्विरः मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका फेसबुक पेजबाट

वर्षौपछि हजुरको सहरमा
हजुरको पाउ छुन होइन
पाउ चिमोट्न आएको छु ।
सक्नुहुन्छ भने,
ठुन्क्याइदिनुस् मेरा यी
ल्याप्चे लाउँदा लाउँदा लाटा भएका औंलाहरू
फुटाइदिनुस् मेरा यी
सपना मात्रै देख्ने आँखाहरू
सक्नुहुन्छ भने,
जफत गरिदिनुस् मेरा यी
फित्ता छिनेका चप्पल र नाम्लो
तर यसपाला म हजुरको सहरबाट
रित्तो हात फर्किने छैन ।
(राबत, ‘ओ समय !’ कविताको अंश)

रत्नपार्क सहरको भीडहरू माझ एक पुरानो विम्ब । अलि पल्लोपट्टि समयको जनाउघन्टीसँगै वृद्ध घण्टाघर गह्रुङ्गो श्वास फेरिरहन्छ । व्यस्त सहरमाझ नयाँ सिरानी हालेर रानीपोखरी मस्त निदाइरहन्छ । छेवैमा जुलुसका अनेकन् अनुहारहरू आउँछन् अनि हराउँछन् । बर्सातको मौसम छिनमै बर्सिन्छ र रोकिन्छ तर उनीहरूको आँखाबाट वर्षौदेखिको झरी अविराम बर्सिरहेछ । सायद थाहा छैन सहरलाई अब यो झरी आगोमा परिणत हुँदैछ ।

तस्विरः मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका फेसबुक पेजबाट

उसो त शान्तिवाटिका प्रायः अशान्त छ । तर पछिल्लोपटक अशान्तिको फरक बुनोटमा मधेस उभित्र मिसिएको धेरै समय भइसकेको छ । गुमाउन केही बाँकी नरहेपछि सुद्खोरहरूका विरुद्धमा राज्यको दरिलो कदम मिसाउने प्रयासमा मिटरब्याज पीडितहरू सहर पसेका हुन् । तर, सरकार कहाँ छ ? भेउ नपाएर अलमलिरहेका छन् उनीहरू ।

व्याप्त आर्थिक असमानता, निजी पुँजी सञ्चयको मौसमी स्वार्थमा घुमिरहेको नेतृत्व, जातव्यवस्थाको टेको, निम्नवर्गको जीवनयापनका असाध्यै बाध्यात्मक अवस्थाहरू, पुँजीवादी सामाजिक व्यवस्थामा मौलाइरहेको सामन्ती संस्कार, लैङ्गिक विभेदको परम्परागत जग आदिले मिटरब्याजका ठेकेदारहरू बाक्लिदै गइरहेका छन् । सामाजिक, सांस्कृतिक र लैङ्गिक उत्पीडन झेल्दै आइरहेका मधेसी महिलाहरू ठुलो हिस्सामा मिटरब्याजको पीडा भोगिरहेका छन् । तमसुकका जाली हरफहरूले उनीहरूको जीवनको लय नै बिथोलिदिएको छ, जसको कारण हत्या, आत्महत्या, सम्बन्धबिच्छेद लगायतका घटनाहरू दिनानुदिन बढिरहेका छन् । एकातिर मधेसमा महिलाद्वेषी समाजको डरलाग्दो चरित्रले वर्षौदेखि जरा गाडेको छ भने अर्कोतिर असमान अर्थराजनीतिक संरचनाभित्र गुडुल्किदै मधेसमा विद्यमान आर्थिक संस्कृतिको भयावह रूपले महिलाहरू थप मारमा परेका छन् । त्यसभित्र पनि दलित, सीमान्तीय महिलाहरूमाथिको दमन त अगणित नै छ । महिलालाइ इपिसेन्टरमा राखेर कसरी लम्बिदै गइरहेको छ फर्जी तमसुकहरूको शृङ्खला ? कहाँसम्म फैलिएको छ सुद्खोर–सत्ताको ताकतको जरा ? अनुसन्धान, आयोग र वार्ताका नाममा राज्य कस्तो स्वाङ रचिरहेको छ ? तमाम प्रश्नहरूको चाङ बोकेर अधिकांश घरविहीन उनीहरू घरैघरको सहर भित्रिएका छन् ।

सकसमा महिला, आन्दोलनरत सडक

केन्द्रीय सत्ताका अनेकन् भावभङ्गिमामा नाचिरहेको काठमाडौंको सडकमा साउनको झरीमय दिन लामो रातो पङ्क्ति कोरिएको छ । उत्पीडनका सहस्र रूपहरू खेपेर दुखाइको चरम सीमा नाघिसकेपछि यो पङ्क्ति सुद्खोर विरुद्ध आफ्ना मागहरू राख्दै संसद घेराउ गर्न काठमाडौंँ आएका हुन् । साउन २, ३ र ४ गते तीन दिने कार्यक्रममा विभिन्न जिल्लाबाट आएका मध्ये अधिकांश महिलाहरू नै छन् । मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले नेतृत्व सम्हालेको यस आन्दोलनमा सिराहाबाट आएकी पुनम महतो लगायत सबैको गुनासो उस्तै छ– “सरकार यदि संरक्षक हो भने आफैले बुझेर हामीलाई न्याय दिनुपथ्र्यो । हामीले आवाज उठाउँदा पनि बेवास्ता गर्छ । उल्टै हामीमाथि खनिन्छ । यो त जानाजान हामीलाई दःुख दिएको हो ।” सडकबाट सदनलाई यो पीडाको आवाज सुनाउन आउँदा उनीहरूमाथि पटक पटक सम्बन्धित निकायबाटै छेकबार लगाइएको छ । आन्दोलनमै सामेल गोमादेवी महराले (नाम परिवर्तन) आफूलाई साहुकारले ब्याजको निहुँ गर्दै हर समय यौनहिंसा गर्दै आएको बताइन् । सानो पसल राख्न साहुबाट लिएको साठी हजार पैसा दिन दुईगुना रात चौगुना बढाएर तीन वर्षमा चौध लाख पु¥याउँदै अलि अलि भएको जायजेथा पनि छिनुवा पास गरी लिएपछि सबै उपाय सकिएर उनी आन्दोलनमा आएकी हुन् । उनीजस्ता थुप्रै महिलाहरू बाँच्नका लागि उपाय खोज्दै जाँदा यौनिक हिंसाको शिकार भइरहेका छन् । यसैगरी नवलपरासीकी रीतादेवी थारूको पनि कथा उस्तै छ । दुई लाख ऋणको पैसा सबै बुझाउँदा पनि छिनुवापासबाट उनको जग्गा छिनिएपछि उपायहीन भएर न्यायका लागि उनले गाउँ छोडेकी हु्न् ।

यसअघि नै चैतको सुखौरो मौसममा अघिल्लो वर्ष एघार दिनको कठिन पैदलयात्रा पार गर्दै मिटर ब्याज पीडितहरू महोत्तरीको बर्दिबासदेखि सङ्घीय राजधानी काठमाडौंसम्म आइपुगेका थिए । मिटरब्याजीद्वारा छिनिएको सम्पति फिर्ता, सुद्खोरलाई कारबाही, तमसुक व्यवस्थाको खारेजी लगायतका माग राख्दै अघि बढेका ती फोका उठेका पाइतालाहरू अधिकांश महिलाकै थिए तर न्याय पाउने आशमा निकै उत्साहका साथ आफ्ना बालबच्चा बोकेर चैते हुरी र प्रचण्ड गर्मी सहँदै आएका उनीहरू सरकारको ढुङ्गे–मनबाट निराश हुन पुगे । त्यहाँदेखि यहाँसम्म आइपुग्दा उनीहरु पटक पटक बिथोलिएका छन् । जीवनहीन जीवन बाँचिरहेका यी भुइँमहिलाहरूको दर्दनाक पीडामा सरकार किन यति कठोर भइरहेको छ ? किन उनीहरूको आँसु राज्यको मर्मभित्र समेटिन सकेन ?

तस्विरः मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका फेसबुक पेजबाट

यी सबै अनुत्तरित प्रश्न र पीडाको लामो फेहरिस्तमाझ मधेसका महिलाहरू आफ्ना पोकापुन्तुराहरू बोकेर सुद्खोरहरू विरुद्ध विद्रोही चेतनाका साथ महिनौंअघि काठमाडौँ आएका छन् । राज्यका सबै तहबाट बहिष्करणमा पारिएका महिलाको बहुआयामिक गरिबी नै उनीहरूको जीवनको विकराल समस्याको कारक बन्न पुगेको देखिन्छ । मधेसको पीडालाई अनदेखा गर्ने राज्यले पटक पटक बेवास्ता गरेपछि शारीरिक र मानसिक पीडाले थङ्थिलो भएका उनीहरू अन्यौलमा छन् । यसअघि स्थानीय तहका प्रहरी, प्रशासन, अदालत, सबैबाट उनीहरू उदासीन भएर फर्किएका हुन् । देशले सङ्घीयताको काँचुली फेरिसकेको परिप्रेक्ष्यमा मिटरब्याजको समस्या स्थानीय सरकारबाटै समाधान हुनुपर्ने हो तर भ्रष्ट तहगत संरचनाका हैकमी शासनको कारण बारम्बार न्याय नपाएपछि पीडितहरू केन्द्रसम्म आइपुग्न बाध्य भएका हुन् । सामाजिक न्यायको खोजीमा यसरी आउनेमा महिलाको सङ्ख्या नै बढी हुनुले पनि पीडाको मार महिलामा नै बढी परेको देखिन्छ । भर्खरै मात्र प्रतिनिधि सभाले संशोधनसहित पारित गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशले मिटरब्याजका पीडितलाई झन् उदासीन बनाइदिएको छ । साहुकारहरू उम्किन सक्ने अनेकन् कानुनी छिद्र बनाई पीडितलाई थप मर्कामा पारेको भन्दै यतिबेला उनीहरू थप चरणबद्ध रूपमा आन्दोलनरत छन् ।

नेतृत्वको संरक्षण, साहुकारको हुङ्कार

मिटर ब्याज विरुद्धको निरन्तरको आन्दोलनपछि सरकारले मिटर ब्याजलाई कानुनी अपराध त ठहर ग¥यो तर बलियो कानुनी सम्बोधनको अभावमा व्यवहारमा साहु महाजनहरूको चलखेल जस्ताको तस्तै रह्यो । यस्तैगरी जिल्लागत रूपमा परेका साहुकार विरुद्धको उजुरी केवल दस्तावेजीकरण मात्र भएको छ भने मेलमिलाप गराउने भनिएको प्रक्रिया त झन् साहुकार उम्काउने बहाना र पीडितलाई उल्टै चेपुवामा पार्ने कसी मात्रै बनेको देखिन्छ । अनुचित लेनदेन (मिटर ब्याज) जाँचबुझ आयोग गठन तथा पारित अध्यादेशले उल्टै पीडितलाई मारमा पर्नेगरी मेलमिलाप र छलफलको वातावरण बनेपछि आन्दोलनको अर्को रूप देखिएको हो ।

“हाम्रो थेगो नै बनेको छ— पोलिटिक्स इन कमान्ड अर्थात् सबै कुराहरू राजनीतिको अधीनमा रहनुपर्दछ । वास्तवमा वर्गीय समाजको अस्तित्व रहुन्जेलसम्म यो कुरो एकदमै सही पनि छ । तर, यो भन्दा पनि बढी मननीय विषय के हो भने जुन पार्टीले लिनुपर्ने वर्गको दृष्टिकोण अवलम्बन गर्दैन र व्यवहारिक पक्षहरूमा वर्गीय स्वार्थलाई प्राथमिकता दिने काम गर्दैन भने त्यस्तो राजनीतिको के नै अर्थ रहन्छ र ? यस्तो राजनीतिले त प्रत्यक्ष–अप्रत्यक्ष विरोधी वर्गलाई नै फाइदा पु¥याउने हो । नेपालको सन्दर्भमा यस्ता विसङ्गतिहरू हामीले भोग्नुपरेको यथार्थभित्र नै पर्दछ” (चापागाइँ, २०६४, पृ. १८९) । यसरी हेर्दा सबै हिसाबले समाजको पिंधमा थिग्रिरहेका निम्न वर्गीय र त्यसभित्र पनि बहुरूपी शोषण झेलिरहेका महिलाहरूले कहीँ कतैबाट न्याय र सुरक्षाको प्रत्याभूति नपाइरहेको अवस्था देखिन्छ । मधेसको विकराल समस्याको रूपमा रहेको मिटरब्याजको समस्या समाधानको लागि कुनै पार्टीको तदारुकता नदेखिनुले राजनीतिक अकर्मन्यताको प्रस्ट चित्र देखिन्छ, जसको कारण समस्या झनै लम्बिरहँदा उत्पीडितहरूको ठुलो समूहले मिटरब्याज विरुद्ध विद्रोहको नौलो बाटो तय गर्दै जानुपरेको छ । । मिटर ब्याज पीडित विरुद्ध सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीन मिटरब्याजको ठुलो गिरोह नै यसमा सामेल भइरहेको बताउँछन् । मिटरब्याजको जरा राज्य सञ्चालनका सबै अङ्गमा रहेको जानकारी दिँदै उनले सङ्गठित आन्दोलनबाहेक अर्को विकल्प नभएको बताएका छन् । न्याय र सङ्घर्षको यस लडाईंमा मिटरब्याज, ठगी लगायत सबै शोषणको विरुद्ध पुरुषहरूभन्दा महिलाहरू नै ठुलो सङ्ख्यामा सामेल छन् । यसरी आन्दोलनमा मधेसी महिला उत्रिनु नै मधेसमा व्याप्त सामाजिक संरचनालाई हाँक दिनु हो तर किन धेरैजसो महिलाहरू नै मिटरब्याजको सास्ती भोग्न बाध्य छन् ? जुलुसको कथा सुनिरहँदा यो प्रश्नको जरा खोतल्नु जरुरी लाग्छ ।

मेरी उल्स्टनक्राफ्टले अ भेन्डिकेसन अफ दि राइट्स अफ उमन मा पितृसत्तात्मक सामाजिक संरचनामाथि प्रहार गर्दै भनेकी छिन्, “पाशविक शक्तिले अहिलेसम्म विश्वमा शासन गरिराखेको छ र राजनीतिको विज्ञान शैशवावस्थामा नै छ ।” सन् १७९२ मा उनले लेखेको यो वाक्यको सार एक्काइसौँ शताब्दीसम्म पनि सान्दर्भिक हुनु इतिहास गतिरोधको प्रतिविम्ब नै हो । समानताको लडाइँ चलिरहेको विश्व परिवेशमाझ देशले बहुदलीय व्यवस्था हुँदै गणतान्त्रिक आँगनमा पाइला टेक्दा पुरुष प्रधान समाजका महिला, त्यसभित्र पनि निम्नवर्गीय महिलाहरू सामाजिक, राजनीतिक, आर्थिक, अस्तित्वको कति नजिक छन् भन्ने खुर्पे चिह्न ठडिन्छ ।

“गाउँकै नेता, मुखियाको मान्छेले नै ट्याक्सी ब्याज खाइरहेको छ । पुलिस, नेता कसैले सुन्दैन । तब हामी कहाँ जाने ? जोसँग पैसा छ, उसको जित हुन्छ । साहुले आएर घरको सामान फ्याल्ने, फुटाउने गर्दा बोलिदिने कोही छैन । गाउँमा सबैजना उनीहरूसँग डराउँछन् । लिएको पैसा तिरेर पनि सुख छैन । नक्कली कागज गराएर ब्याजको नाममा हामीलाई तनाव दिन्छ । न्यायको लागि हामी जाने ठाउँ नै छैन । सरकारको तनखा खान्छ पुलिसले, फेरि साहुले दिएको पैसा लिएर हामीलाई उल्टो गाली, कुटपिट गर्छ ।” कमला दास (नाम परिवर्तन) को यो कुराले मधेसमा न्याय र सुरक्षाको निकाय नै नभएको प्रतीत हुन्छ । उनीजस्ता थुप्रै महिलाहरू सुरक्षा र संरक्षणको अभावमा सबैतिरबाट पेलिएर रत्नपार्कमा धर्ना दिइरहेका छन् ।

ऋण दिन सक्ने आर्थिक सामथ्र्यले गाउँको सिङ्गो राजनीतिक चित्र निर्माण गरिदिन्छ । मधेसको राजनीति हैकमवादी निरङ्कुश प्रवृत्तिबाट मौलाउँदै गएको देखिन्छ, जसको कारण राजनीतिक शक्तिहरू समाजमा बेथिति र विसङ्गतिको आयु लम्ब्याउन सहायक भइरहेका छन् । “मधेसमा अहिले अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण बढ्दो छ । राजनीतिक उद्देश्यका नाममा गरिेने हत्या हिंसा, अपहरण, चन्दा, फिरौती तथा अन्य आपराधिक कुकर्म जारी छ । यस्तो स्थितिले पहिचान र सम्मान प्राप्त गर्ने मधेस विद्रोहको मागलाई कमजोर र विवादित बनाएको छ । तर, यस्ता सवालमा मधेश विद्रोहको नेतृत्व भने चुपचाप छ । जबसम्म अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरणलाई न्यून गर्न सकिन्न, तबसम्म मधेसका माग सुनुवाइ ठोस दिशामा अगाडि बढ्दैनन्” (घिमिरे, २०७०, पृ. ५२–५३) । साहुमहाजनलाई बलियो बनाउने संरचना के हो ? महिलाहरू नै किन बढी मात्रामा मिटरब्याजको दोहनमा परेका छन् ? यसको गहिराइमा पुगेर मिटरब्याजको विरुद्ध अल्पकालीन र दिगो समाधान खोज्नुपर्ने आवश्यकता टड्कारो छ ।

बढ्दो आर्थिक तथा सामाजिक विषमता विरुद्ध मधेसको नेतृत्वले ठोस कदम चाल्नुपर्नेमा अपराधीकरणको टेको थामिरहँदा मधेस अन्याय, अपराध र अव्यवस्थाको प्रतिच्छायामा घुमिरहेको छ भने मधेसका महिलाहरू दोहोरो, तेहरो मारमा परिरहेका छन् । “मिटरब्याजी साहुलाई त पार्टीको झण्डाले बचाउँछ, हाम्रो कुरा कसले सुन्छ ! तलदेखि माथिसम्मै उनीहरूकै मान्छे छ । हामी त भोट मात्रै हाल्ने हो । हामी नगएको कुनै ठाउँ बचेको छैन । हाम्रो आँसुले केही छुँदैन नेताहरूलाई ।” डराउँदै रत्नपार्कमा एक साँझ मिटरब्याजबाट घरबार उजाडिएर आएकी ७० बर्षीय नहिमा खातुन (नाम परिवर्तन) ले यो कुरा ओकलिन् । आफ्नो छोरा, घरबार सबै गुमाएर रोग, शोक र भोकमा डुबेकी यी वृद्धाको कथाले जो कोहीको मन पगाल्छ, सिवाय पीडक र पीडक संरक्षकहरूको संयन्त्र । “स्थानीय तह धन आर्जनको नयाँ र आकर्षक स्थानको रूपमा देखिएपछि कहिल्यै राजनीतिमा संलग्न नभएकाहरू पनि चुनावमा यसपालि उम्मेदवार बने । स्वाभाविक रूपमा वर्चस्वशाली वर्गको जहाँ निम्न चेतना हुन्छ, जहाँ सामन्तवादको बृहत् अवशेष बाँकी नै रहेको हुन्छ, त्यस्तो स्थानमा जमिनदार तथा पँुजीपतिको कथित सामाजिक पुँजी र राजनीतिक शक्ति हुनु स्वाभाविक नै हुन्छ, जसलाई चुनावी नतिजा प्राप्त गर्नु ठुलो विषय हुँदैन । यसर्थ उनीहरूल चुनावमा सहभागिता मात्र होइन सफलता पनि हात पारेका छन् । विडम्बना, उनीहरूको ध्यान जनताको आवश्यकता पुरा गर्ने, सुशासनको प्रत्याभूति गर्ने तथा समाजलाई विद्यमान आर्थिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाभन्दा विकसित अवस्थामा पु¥याउने भन्दा पनि निर्वाचन जितेपछि त्यसबाट प्राप्त गरिने असीमित राजनीतिक अख्तियारीको दुरुपयोग गरी व्यक्तिगत धन आर्जन गर्नुमा केन्द्रित रहन्छ” (दाहाल, पृ.८७) । यसरी हेर्दा संरक्षण र नेतृत्वको जिम्मेवारी भनिएर गरिने चुनावी प्रवेश नै घातक रहेको कुरा प्रस्ट हुन्छ, जसको आडमा सिङ्गो स्थानीय परिवेश नै दोहनको अखडा बनेको छ; जसभित्र लैङ्गिक, जातीय, क्षेत्रीय, वर्गीय दमनको तह तहको भोगाइमा छन्– दलित र सीमान्तीय महिलाहरू । यसर्थ मिटरब्याजको शक्ति राजनीतिको गर्भबाटै विस्तारित छ भनेर मधेसका घटनाहरूबाट आँकलन गर्न सकिन्छ ।

वित्तीय पहुँचको अभावः महिलाको लम्बिँदो पीडा

भूमिमाथिको असमान वितरण मधेसमा गढेको पुरानो समस्या हो । कमैया प्रथा, हलिया प्रथाजस्ता दासत्वको इतिहास यसैको आधारमा जोडिएको थियो । वैश्विक विश्वको प्रभावसँगै पुँजीवादको अनियन्त्रित भूमरीमा पर्दै गएपछि मधेसका गाउँहरूभित्र बजारको अतिक्रमण बढ्दै जान थाल्यो । उत्पादन प्रणाली र सम्बन्धहरू बदलिन थाले । उत्पादनशून्य अवस्थामा गाउँका स–साना पुँजीहरू मासिदै गए, जसको कारण स्थानीय आत्मनिर्भर अर्थतन्त्र ध्वस्त हुँदै जान थाल्यो । गाउँमा आमा समूह जस्ता पारम्परिक संस्थाहरू नामेट हुँदै गए । सार्वजनिक स्थानमा सधैं निषेधित महिलाहरू घरेलु श्रमिक मात्रै भइरहे, जसले समाजको उत्पादनशील क्षेत्रमा महिला श्रमको सदुपयोग हुनसकेन । “महिलाहरूको श्रमको गणना नगर्ने प्रवृत्ति छ । यसले गर्दा महिलाहरूको पूर्ण क्षमता विकास हुन नसकिराखेको अवस्था छ । यसको अर्को असर, आधा जनसङ्ख्या आर्थिक रूपले क्रियाशील हुन सकिरहेको अवस्था छैन । साथै श्रम गर्नेलाई हेप्ने हाम्रो आम कुसंस्कार छ । तसर्थ हामीले एउटा ठुलो सामाजिक र सांस्कृतिक क्रान्ति ल्याएर श्रमको सम्मान गर्ने संस्कार बसाल्नैपर्छ” (भट्टराई, २०७७ः२०११) । यही सामाजिक परिवेशमाझ ठुलो पुँजीले सानो पुँजीलाई निल्ने पुँजीवादको स्वभावगत प्रवृत्ति अघिल्तिर निम्न वर्गीयहरूमाथि वित्तीय शोषण र उत्पीडनको सङ्कट बढ्दै जान थाल्यो । घर घरबाट कतिपय पुरुषहरू विदेश पलायन हुनथाले भने कतिपय कामको खोजीमा मौसमी र आन्तरिक प्रवासनमा सामेल हुँदै गए । यसको कारण घरभित्र अवैतनिक श्रममा घोटिइरहेका महिलाहरू दैनिक जीवनमा आइपर्ने आर्थिक समस्याहरूसँग ठोक्किन थाले । यही समस्या नै महिलाहरू अमानवीय मिटरब्याजको फन्दामा फस्ने कारक बन्दै गयो ।

तस्विरः नवीनबाबु गुरुङ

“मेरो आदमी प्रेसर कुकर, ग्याँसचुलो बनाउने सामान लिएर गाउँ गाउँ जान्छ । खान र बच्चा पढाउन पैसा पुग्दैन । सानो पसल खोल्ने किराना, सोचिरहेथ्यो मैले । त्यहीबेला गाउँ छेउकै लघुवित्तको मान्छेहरू आएर तिम्रो सब राम्रो हुन्छ भनेर ऋण लिन लगायो । त्यहाँबाट साठी हजार लिएपछि केही महिनामै घरमा आएर किचकिच गर्न थाल्यो । धेर कराउन थालेपछि त्यो ऋण तिर्न गाउँको साहुकहाँ गयो । साहुबाट एक लाख लियो । दस महिनापछि राती भात खान लागेको बेला आएर उसले त्यो बेला धेरै गाली दियो, कागजमा साइन गर्नको लागि । मानेन भने म घरको सबै सामान फ्यालिदिन्छु भन्यो । बच्चाहरू डरायो । साहुले तमसुकमा जर्बजस्ती गरेर मेरो औंलाको छाप लगायो । आफू पढेको थिएन, पछि पो थाहा भयो त्यसमा त नौ लाखको ऋण लेखेको रहेछ । त्यसपछि मेरो सबै बर्बाद भैगयो ।” सात छोरी दुई छोराकी आमा रहेकी रौतहटका सीतादेवी पासवान (नाम परिवर्तन) को यो कारुणिक भोगाइमा लघुवित्त तथा मिटरब्याजको ऋणसत्ताले दिएको सीमाहीन उत्पीडन छ ।

पुरुष नियन्त्रित भएर घरेलु कामदारका रूपमा मात्रै कुँजिएका महिलाहरूलाई लघुवित्त र मिटरब्याज आदि बाहिरी दुनियाँसँगको कठिन जुधाइले थप अप्ठ्यारोमा पार्दै लगेको देखिन्छ । “रेमिट्यान्स, सहकारी तथा बजारले मधेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लैङ्गिक भूमिकामा परिवर्तन ल्याएका छन् । सिराहा र सुनसरीका धेरैजसो पुरुष वैदेशिक रोजगारमा रहेका कारण त्यहाँका महिलाले घरआँगनका कामसँगै खेतीपाती पनि सम्हालेका छन् । यो सुस्त परिवर्तनमा पनि कुनै अवरोध हुँदै नभएको भने पक्कै होइन । विद्यमान सामाजिक संरचना र त्यसले जन्माएको महिलाप्रतिको रूढिवादी धारणाले पनि अझै काम गरिरहेका छन् ।

तिनले यस परिवर्तनमा बाधा अड्चनको काम गरिरहेका छन् । अहिले पनि स्रोतसाधनमा महिलाको प्रभुत्व उल्लेखनीय देखिएको छैन । सहकारी तथा वित्तीय संस्थामा सबै महिलाको सजिलो पहुँच छैन । कृषिमार्फत जीविकोपार्जन र व्यवसायको सुरक्षा गर्न एकदमै चुनौतीपूर्ण छ”(साह,२०७५ः२२६) । जीवनका आधारभूत आवश्यकता पूर्तिका लागि महिलाहरू गाउँकै सामन्त साहुमहाजनहरू कहाँ धाउन थालेपछि आर्थिक कारणबाट सिर्जित महिलाका जीवनका असुविधाहरूमाथि लघुवित्त तथा गाउँका सुद्खोरहरूले खेल्न थाले । आर्थिक असन्तुलनको भयावह अवस्थामाझ बिस्तारै मधेसमा व्याप्त तह तहका सत्ताहरूले ऋणसत्तालाई स्थापित गर्दै लान थाले, जसको प्रत्यक्ष असर समाजको पिंधमा रहेका सीमान्तीय महिलाहरूमा पर्न गयो ।

तस्विरः मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका फेसबुक पेजबाट

रत्नपार्कमै धर्नारत रौतहटकै सत्तरी वर्षीय श्रीदेवी सोनार बिग्रेको मोबाइल बनाउने पसल खोज्दैथिइन् । सेतै कपाल फुलेकी सुगर र दमरोगी सोनार यतिबेला गुमेको आफ्नै जमिन खोजिहिँडेकी छन् । दुई लाख लिएर साहुकहाँ जग्गा दृष्टिबन्धक राखेपछि लिएको रकम चुक्ता गर्दा पनि जाली तमसुक बनाएर ब्याजको खात लगाई पैतालिस लाख पु¥याइयो । अन्तमा अनेक निहुँ झिकेर उनको जग्गा खोसियो । जाने जति सबै ठाउँ हारगुहार गरिन् । तर कहीँ कतैबाट उपाय लागेन । यही बिचमा उनका जेठा छोरा र श्रीमान् पनि बिते ।

उनलाई कुनै हिसाब आउँदैन तर यति थाहा छ कि उनीमाथि आकाश बज्रेको छ । श्रीदेवीको आँखाबाट न झरी थामियो, न त उनले न्याय नै पाइन् । श्रीदेवीजस्ता थुप्रै पात्रहरूले यसैगरी मिटरब्याजबाट अनाहकमा चरम सीमाको दुःख भोगिरहेका छन् । राज्यले सहज कर्जा प्रवाहको व्यवस्था नगर्नु, औपचारिक वित्तीय स्रोतमा महिलाको पहुँच नहुनु, महिलाको सम्पतिमाथि अधिकार नहुनु, वित्तीय चेतनाको अभाव अशिक्षा, गरिबी, बेरोजगारी र आर्थिक स्रोत साधनमा पहुँच नहुनु, आदि कारणहरूले मिटरब्याजको दुश्चक्रमा महिलाहरू परिरहेका छन् । यो पीडामय अवस्थालाई चिर्न सामन्ती आर्थिक संस्कृतिको पिंधमा थिग्रिएका उनीहरू लामो समयको मौनतापछि प्रतिरोधी आवाजका साथ सङ्गठित भएका हुन् ।

नेपाली समाजमा भूमिमाथिको स्वामित्वले व्यक्तिको सामाजिक, आर्थिक हैसियत निर्माण गर्छ । पुरुषप्रधान सामाजिक संरचनामा महिलाको श्रमशक्ति, प्रजनन्शक्ति, यौनिकता, गतिशीलता र आर्थिक अवस्था पुरुष नियन्त्रित छ । त्यसमाथि महिलाद्धेषी मधेसी समाजमा महिलाहरूले सामाजिक, आर्थिक शोषणको चर्को पीडा भोगिरहेको तीतो सत्य कायमै छ । यसरी पुरुष प्रभुत्वको एकाङ्गी सोचमा मधेसको भूमि लगायत आर्थिक स्रोतसाधन र आर्थिक व्यवस्था स्थापित छ । माक्र्सवादी चिन्तनले महिलाहरूमाथि हुने सबै शोषणको कारण आर्थिक व्यवस्थालाई मान्छ । लिङ्गीय आर्थिक असमानतामा महिला सधैँ निरीह, निर्बल र पराश्रित हुन्छन् । सम्पत्तिहीन अवस्था, अशिक्षा, वित्तीय चेतना र पहुँचको कमी तथा बहुआयामिक गरिबीका कारण महिलाहरू सानातिना गर्जो टार्न वैधानिक कर्जा संस्थाभन्दा पर साहुकारको चक्रीय ब्याजमा फसिरहेका छन् । वर्गीय, जातीय हिसाबले समाजको तल्लो तहमा रहेका महिलाहरूको वित्तीय पहुँच नभएपछि उनीहरू मिटरब्याज, लघुवित्त र ठगीका अनेकन् शृङ्खलाहरूबाट उत्पीडित भइरहेका छन् । समाजको आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा तल्लो तहमा रहेका महिलाहरूमाथि बढ्दै गएको उत्पीडनले मिटरब्याजको समस्या झन् जटिल बन्दै गइरहेको छ ।

सामाजिक व्यवस्था, उत्पीडनको टेको

“महिला उत्पीडनको मूलस्रोत के हो ? भन्ने प्रश्नको उत्तरका रूपमा कम्तीमा यी कुराहरू पाइन्छन्— महिलाहरूलाई अक्षम रूपमा हेने परम्परा, शिक्षा तथा समाजव्यवस्थाहरू, वर्गीय समाजव्यवस्था, पुँजीवादको आज्ञाकारी श्रमिकहरूको खाँचो, सम्पत्तिको पितृसत्तात्मक हस्तान्तरण प्रणाली, निजी सम्पत्ति प्रणाली, स्वयम् महिलाहरूको प्रजनन् भूमिका, पुरुषहरूले नारी यौनिकतामाथि थोपरेको नियन्त्रण र नारीत्व, पुरुषत्व तथा यौनिकतासम्बन्धी विविधतालाई दबाउने छलफलका खाकाहरूको निर्माण ।”(तामाङ, पृ. ५३६) । नेपाली समाज पुरुषतान्त्रिक व्यवस्थामा मौलाइरहेको महिलाद्वेषी समाज हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाका जीवनका हर क्षेत्रहरू जस्तैः श्रमशक्ति, प्रजनन् शक्ति, यौनिकता, आर्थिक अधिकार, गतिशीलता लगायत धार्मिक, सामाजिक, राजनीतिक, तथा आर्थिक संस्थाहरूमाथि नियन्त्रण राख्छ । एङ्गेल्स भन्छन्— निजी सम्पत्तिको सुरुवातसँगै महिलालाई अधीनमा राख्ने कुराको सुरुवात भयो । यस प्रकारको नियन्त्रणको तरिका समय, समाज, संस्कृति, जात, वर्ग, धर्म, भूगोल आदि अनुरूप फरक फरक हुन्छन् । नियन्त्रणका विविध तौरतरिका माझ यसको एउटै आधारभूत सिद्धान्त छ— महिलामाथि सबै हिसाबबाट शोषण, दमन र नियन्त्रण । “सिल्विया वैल्वीले आफ्नो किताब थियोराइजिङ पेट्रीयार्की (पितृसत्ताका बारेमा सिद्धान्त निर्माण गर्दा) मा यसो भनेकी छन्, “यो एक यस्तो सामाजिक ढाँचा र रीतिरिवाजको व्यवस्था हो, जसअनुसार पुरुषले महिलामाथि आफ्नो प्रभुत्व कायम गर्दछ तथा दमन र शोषण गर्दछ” (भासीन, ?, पृ.५) । यसरी समग्रमा भन्नुपर्दा पितृसता महिला दमनको लागि स्रोतसाधन, विचारधारा र निर्णय आदिमा पुरुष नियन्त्रित सामाजिक व्यवस्था हो । समाजमा जुनसुकै शोषण र उत्पीडनको पहिलो निशानामा समाजका पुछारमा रहेको वर्ग हुन्छ । तसर्थ यो व्यवस्थाको सीधा असर जातीय, क्षेत्रीय, लैङ्गिक र आर्थिक हिसाबले सीमान्तकृत महिलामा पर्न गएको छ । पुरुषप्रधान समाजको जगमा आर्थिक परनिर्भरताको कारण महिलाहरू साहुकारको चर्को हिंसा भोग्न विवश छन् । यही कारण मिटरब्याजको सीमाहीन पीडामा एकातिर मधेसका महिलाहरूमाथि हत्या, हिंसा, बलात्कारजस्ता अमानवीय घटनाहरू घटिरहेका छन् भने अर्कोतिर सम्बन्धबिच्छेद, आत्महत्या, पारिवारिक कलहजस्ता कुराहरूले वर्गीय एकता, सामूहिक उर्जाको क्षयीकरण भइरहेको छ ।

धनुषाकी जमुनादेवी दास (नाम परिवर्तन) लाई श्रीमान् नभएको बेला घरमै आएर लघुवित्तले सुन्दर भविष्यको अनेकन् प्रलोभन देखाउँदै ऋण लिन लगायो । पछि सोही ऋण तिर्ने दबाब बढ्दै गएपछि गाउँकै साहुबाट मिटर ब्याजमा लिएको ऋणले झन् उनी चर्को मारमा परिन् । यही कारण नै उनको वैवाहिक जीवन सम्बन्ध बिच्छेदमा आएर टुङ्गियो । त्यसपछि त झन साहुको गिद्धे नजर उनीमाथि पर्न थालेपछि दुई सन्तान माइतीमै छाडेर उनी आन्दोलनको आड लिन आएकी हुन् । उनीजस्ता धेरै महिलाहरूलाई बाध्यात्मक परिस्थितिको फाइदा उठाउँदै शारीरिक र मानसिक हिंसाको शिकार बनाइएको छ । दैनिक जीवनमा आइपर्ने सानातिना आर्थिक अभाव टार्न साहुकारकोमा जाँदा उनीहरू मिटरब्याजको चङ्गुलमा फसेर पीडादायी जीवन बिताउँन बाध्य छन् । पुरुष शोषणको बर्बरतामा मौलाइरहेको समाजमा उनीजस्तै थुप्रै महिलाहरू मिटरब्याजको बहुरुपी उत्पीडनबाट आक्रान्त भइरहेका छन् ।

नेपाली राजनीतिक शक्तिकेन्द्रका रूपमा रहेको मधेसको सामाजिक मुद्दा भने सधैँ ओझेलमा पर्दै आएको छ । पितृसत्ताको निरङ्कुश सामाजिक व्यवस्था, पुँजीवादी सामन्ती व्यवस्था, कथित वर्णव्यवस्थाद्वारा निर्धारित श्रेणीगत जातीय पहिचान आदिले आर्थिक उत्पीडनलाई बढावा दिने काम गरेको छ । उसै पनि बोक्सी प्रथा, दाइजो प्रथाजस्ता कुप्रथाहरूले गाँजिएर वर्षौदेखि मधेस महिला शोषणको थलो बनेको छ । मानिसलाई अमानुष बनाएर छोडिदिने मनुवादी व्यवस्थाको निरन्तरता मिटरब्याजको समस्याको अर्को कारक हो । दलित, मुश्लिम, पिछडा वर्ग र त्यसभित्र पनि एकल महिलाहरू साहुकारको मुख्य तारो बन्दै गएर घातक ऋणप्रथाको बहुरूपी जालबाट उम्किनै नसक्ने खाडलमा फसिरहेका छन् । यसले वर्गीय र जातीय रूपमा विभेदी समाजको निर्मम चरित्रलाई उदाङ्गो पारेको छ । समाजमा किला गढेका फरक फरक सत्ताका चलखेलहरूले फर्जी तमसुकहरू झन् झन् नयाँ स्वरूपमा ब्युँझिँदै गइरहेका छन् ।

मिटरब्याज पीडित सङ्घर्ष समितिका सदस्य रामरिझन यादव मधेसमा अत्यन्तै खर्चिलो रूपमा रहेको सामाजिक र सांस्कृतिक संस्कार हरूको निरन्तरताले पनि मिटरब्याज तथा ठगीका धन्दाहरू फस्टाइरहेको बताउँछन्— “घरेलु श्रममै सीमित मधेसका महिलाले घरव्यवहारको सबै चाँजोपाजो मिलाउनुपर्छ । रोजगारीको सिलसिलामा ऋण लिएरै भए पनि मधेसका अधिकांश पुरुषहरू विदेसिन थालेका छन् । वैवाहिक संस्कारमा जोडिएको दाइजो प्रथा, बृहत् भोजभतेर र चाडपर्व लगायतका परम्पराहरू धान्ने हिसाबले धेरै महिलाहरू ऋणसत्ताको दोहोरो मारमा परिरहेका छन् । यसरी मधेसका मौलिक संस्कारहरू बजारको अतिक्रमणमा पर्दै जाँदा निम्नवर्गीय महिलाहरू झनै पीडित भइरहेका छन् । समयमै यस्ता खर्चालु परम्परालाई समयानुकूल परिमार्जन गर्न नसके अझै थप आर्थिक समस्या निम्तिन सक्छ ।”

रौतहटकी नयबन नेसा मिटरब्याजकै कारण घरविहीन भएर पनि साहुकारको चर्को दबाबले गाउँमा बस्नै नसक्ने भएपछि काठमाडाँैं आएकी हुन् । टाउको लुकाउने सानो ठाउँ बनाउन उनले साहुबाट डेढ लाख लिएकी थिइन् । छोराहरू र श्रीमान् सिलाईको काम गर्न पोखरा र काठमाडौँ गएपछि सोही ऋणलाई बढाएर तीन वर्षभित्र फर्जी तमसुकमा पच्चिस लाख पु¥याइयो । “गाउँमा त साहुहरू कुन मान्छे मजबुरीमा छ र त्यसलाई फसाऊँ भनेर बस्छन् । मलाई पढ्न आउँदैन । २०७९ सालको असारमा राती आएर कागजमा साइन गर्, मानिनस् भने उठाएर लान्छु भन्यो । डर लागेर उसले ल्याएको तमसुकमा औलाको छाप हानिदियो । श्रीमान्लाई पनि डरले भन्न सकेन । पछि यही कागजको प्रमाण देखाएर घर नै गयो । माइला छोरा पनि बित्यो । मलाई सुगर, मुटुको रोग छ । ओखती किन्ने पैसा पनि छैन । कोल्हबीको मिटरब्याजको आन्दोलनमा पनि गयो । पुलिस, सिडिओ जहाँ गए पनि हामीले इन्साफ पाएन । कानुन त धनीको लागि मात्रै रहेछ । घर त गयो, अझै ऋण बाँकी छ भनेर साहुले गाउँमै बस्न दिएको छैन । अब हामीसँग यो ज्यान बाहेक केही बाँकी छैन । हामी त रोडमा आइसक्यो । साहुले यता हुँदा पनि पैसा छैन भने बिख खाएर मर्, झुन्डेर मर् भनेर फोन गर्छ । कमसेकम सरकारले त मर्नु भनेर भन्दैन ।” नयबनजस्ता पीडित महिलाहरूको यो अथाह पीडाले राज्यलाई छोएको छनक कहीँ कतै देखिएको छैन ।

लामो समयदेखि सत्ता र शासनको उत्पीडन खेपेर बसिरहेको मधेसभित्र विद्यमान वर्गीय÷जातीय विभेद, बहिष्करण र भेदभावको असर मिटरब्याज र ठगीमा परेको देखिन्छ । क्षेत्रीय, जातीय र लिङ्गीय रूपमा शोषित उत्पीडित र बहिष्कृत समुदायले सामान्य जीवनयापन गर्न पनि मुश्किल पर्दा यिनै उत्पीडनका कारकतŒवका रूपमा रहेका साहुकारहरूल मिटरब्याजलाई शोषणको माध्यम र हतियार दुबै बनाएको देखिन्छ । संरचनाको जति पिंधमा पर्दै गयो, शोषणको क्रम त्यति बढ्दै जान्छ र यो कुरा मिटरब्याज पीडित महिलाले भोग्दै आएका चरणबद्ध उत्पीडनका कथाहरूले साबित गरिदिएको छ । ऋण लिएपछि घरमा कोही नभएको मौका पारेर साहुकारहरूले फर्जी तमसुकमा ल्याप्चे लगाउने गरेको पीडित महिलाहरू बताउँछन् । यसपछि थोरै रकम बढेर आकाश पुगिदिन्छ । एकातिर साहुको हैकम अर्कोतिर घरको मान्छेको गालीगलौज सहन नसकेर महिलाहरू आत्महत्या गर्न पुग्छन् । सीमोन द बोउवारको कथन छ— यदि साँच्चिकै स्वतन्त्रताको खोजीमा निस्कने हो भने सबभन्दा पहिला आर्थिक आत्मनिर्भरताको बाटो पहिल्याउनुपर्छ । पुरुषतान्त्रिक व्यवस्थामा उसै पनि महिलाहरू दोस्रो दर्जाको व्यवहार भोगिरहेका छन् । यसभित्र पनि महिलाको बाध्यात्मक परिस्थितिको फाइदा महिला– उत्पीडक तŒवहरूले उठाइरहेका छन्, जसको कारण तत्कालको गर्जो टार्न महिलाहरू निजी सम्पत्ति तथा औपचारिक वित्तीय पहुँच अभावमा साहुकारको बर्बरतामा दुखिरहेका छन् । सिङ्गो घरको व्यवहारिक पक्ष धानिरहेका महिलाहरू दैनिक आर्थिक अभावमा साहुकारहरूबाट शारीरिक र मानसिक ज्यादती भोग्न बाध्य छन् । यसरी मधेसमा व्याप्त पुरुषतान्त्रिक व्यवस्था, वर्गीय र जातीय उत्पीडनले घातक ऋणप्रथालाई झनै उक्साइरहेको छ ।

निष्कर्ष

मधेसमा व्याप्त मिटरब्याज र ठगीका शृङ्खलाहरू हेर्दा राणाकालीन शासन व्यवस्था, पञ्चायत, प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा मुलुक एकात्मक राज्यसंरचनाको पुरानै फ्रेमभित्र अल्झिरहेको झल्को दिन्छ । संविधानले व्यवस्था गरेको मौलिक हक कागजी रूपमै सीमित रहँदा जीवनको आधारभूत आवश्यकताबाट बञ्चित भएर मधेसमा फस्टाएको ऋणसत्ता विकराल समस्या बन्दै गइरहेको छ । नेपाली राजनीतिको केन्द्रमा रहेको मधेस सामाजिक र आर्थिक न्यायको हिसाबमा सधैँ चुकिरहेको छ । आन्दोलनको निम्तोपत्र खोजिबस्ने पार्टीका नेतृत्वहरू दलगत स्वार्थमै अल्झिरहेका छन् ।

अझ मधेसको मुद्दालाई काँधमा राखेर नेपाली राजनीतिको केन्द्रमा हुङ्कार छोडिरहेका नेतृत्वहरूले आन्दोलनमा छड्के नजर समेत नलाउनुले थुप्रै सन्देह पैदा गरेको छ । फलस्वरूप पुँजीवादी सामन्ती संस्कृति, जातीय÷वर्गीय शोषण, राजनीतिक संरक्षण, पुरुषतान्त्रिक व्यवस्था, मिटरब्याज र लघुवित्त जस्ता घातक ऋणसत्ता तथा असमान अर्थराजनीतिक व्यवस्था आदिले एक अर्कालाई सशक्त रूपमा स्थापित बनाउँदै लगेको देखिन्छ । त्यसमाझ पनि पुरुषकेन्द्री सामाजिक संरचनामा सबैखाले शोषणबाट प्रताडित हुँदै आएका महिलाहरू मिटरब्याजको कहालीलाग्दो सिकार भइरहेका छन् । रीतादेवी, नहिमा खातुन, नयबन नेसा, जमुनादेवी दास, श्रीदेवी सोनार, बिर्जापति जस्ता सीमान्तकृत मधेसी महिलाहरूले कति बुझेर कति नबुझेर हर चुनावमा भोट हाले । त्यही भोट हालेको बुढी औँलाबाट जबर्जस्ती जाली तमसुकमा गराइएको ल्याप्चेले उनीहरूको उठिबास गरायो । यी महिलाहरूले भोगेको असीम दुःखको कही कतै सुनुवाइ भएन । उनीहरूलाई केवल भोटका गन्तीहरूमा मिसाइयो ।

दशकौंअघि मध्य तराईको किसान आन्दोलनले सामन्तहरूको विरुद्ध ‘तमसुक फट्टा’ आन्दोलन गरेको थियो । बर्षौदेखि यसरी झुठा तमसुकहरू जलिरहे पनि फेरि कसरी नयाँ आकारमा फर्जी तमसुकहरू बनिरहेछन् ? मिटरब्याजको लहरो कसरी फैलिदै गइरहेको छ ? साहुमहाजनलाई सधै बलियो बनाउने संरचनाको जड के हो ? कहाँ छ सरकारले नारा घन्काइरहने गाउँ गाउँमा सिंहदरबार ? यसको जरा खोतल्दै सामूहिक र सङ्गठित रूपमा नौलो खाकाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो छ ।

समाजमा विद्यमान आर्थिक, राजनीतिक, लैङ्गिक शोषण परस्पर जोडिएर आउँने हुँदा महिलाहरू खातका खात उत्पीडन भोगिरहेका छन् । लामो समयदेखि मिटरब्याज पीडित महिलाको दर्दनाक अवस्था सम्पूर्ण उत्पीडित महिलाको साझा चित्र हो । यी सबै शोषित, उत्पीडित र विवश महिलाहरूको आवाजलाई समानुभूत गर्दै सामूहिक रूपमा आवाज नउठाएसम्म महिला मुक्ति, स्वतन्त्रता र समानताको लडाईं अधुरो नै रहन्छ ।

मिटरब्याजलाई हतियार बनाई साहुकारले गर्ने अन्यायको चरम सीमा नाघेपछि अहिले आँसु, असन्तुष्टि र आक्रोशको समष्टिमा उत्पीडित महिलाहरूभित्र निसास्सिरहेको विद्रोहको ज्वाला आन्दोलनमार्फत विष्फोटित भइरहेको छ । न्यायको प्रत्याभूत नभएसम्म यो लडाईं अविश्राम जारी रहने उनीहरूको दृढताले पुरुषोचित मूल्य अनुकूल चलिरहेको समाज र सत्तामाथि दरिलो प्रश्न खडा गरेको छ भने सिङ्गो राज्यव्यवस्थालाई नै चुनौती दिइरहेको छ । मिटरब्याज, ठगी लगायत महिलाद्वेषी समाजमा महिलामाथि हुने सबैखाले तहगत उत्पीडनलाई समूल नष्ट गर्न जड सामाजिक संरचनागत परिवर्तनकै खाँचो छ । यसको लागि महिला सचेतनता र नेतृत्वको बहुआयामिक पक्षहरूलाई ग्रहण गर्दै सामूहिक सचेत सङ्घर्षमा थप नयाँ शिराबाट उत्रिन आवश्यक छ ।

सन्दर्भ सूचीः

घिमिरे, दिपेश (२०७०). मधेस विद्रोहः कारण उपलब्धि र चुनौती, मधेस अध्ययन वर्ष १ (१), नेपाल मधेस फाउन्डेसन ।
चापागाइँ, निनु (२०६४). सन्दर्भः संस्कृति र सांस्कृतिक रुपान्तरण. विवेक सिर्जनशील प्रकाशन प्रा.लि.।
भट्टराई, बाबुराम (२०७७). आर्थिक क्रान्तिका लागि संरचनात्मक परिवर्तन. अर्थ राजनीतिक विमर्श. साङ्ग्रिला पुस्तक प्रा.लि.।
भासीन, कमला (?). पितृसत्ता के हो ? (अनु. प्रेमबहादुर श्रेष्ठ). स्त्रीशक्ति ।
तामाङ, शेरा (सन्. २००४). नेपालमा विकासे नारीवाद, नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन. सोसल साइन्स बहाः ।
दाहाल, सङ्घर्ष, (२०७९). मधेस र उपेक्षित भुइँमान्छेहरू. वामपन्थ. वर्ष १(२), पृ.८७–९२ ।
राबत, (२०७०). ‘ओ समय !’, राजधानी मास्तिरको राजधानी, फिनिक्स बुक्स ।
साह, कृष्णकुमार (२०७५). मधेसको कृषिमा स्त्रीकरण, मधेस अध्ययन वर्ष ६(६). नेपाल मधेस फाउन्डेसन ।

Author

  • लक्ष्मी रुम्बा

    सिर्जनामा मूलतः कविता लेखनमा सक्रिय लक्ष्मी रmम्बा विशेषगरी महिला, जनजाति र सीमान्तकृत समुदायमाथि कलम चलाउँछिन् । उनका आत्मसंस्मरण र चिन्तनशील फुटकार लेखहरुले नेपाली समाजका विविध विसङ्गति, वर्गीय विभेद, जातीय उत्पीडनविरmद्ध प्रतिरोधी आवाजसँगै पर्यावरणीय सङ्कटप्रति सुधारको दृढ आवाज प्रकट गरेको पाइन्छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के