
पछिल्लो समय नेपाली परिदृश्यमा सबैभन्दा बढी उछालिएको र गिजोलिएको विषय नै नारीको विषय हो । राजनीतिक, सांस्कृतिक, साहित्यिक, कानुन आदि सबै क्षेत्रमा यस विषयले व्यापक चर्चा पाएको छ, तर चर्चा गरिएअनुरूप परिणाम भने आउन सकेको छैन किनकि, मानिसहरूको सोचमा नै परिवर्तन नआएसम्म यसको कार्यान्वयनको पक्ष प्रभावकारी हुनै सक्दैन । महिलाका विषयमा विभिन्न दृष्टिकोण र विचार व्यक्त भए पनि विविध क्षेत्रका, विविध पक्षका, विभिन्न तहका र विविध अवस्थाका महिलाहरूको स्थिति र उनीहरूको जीवनको जटिलतालाई सूक्ष्म अध्ययन गरेर न त देशका नीति, नियम र कानुन बनाइएका छन्, न त अभियानहरू नै चलाइएका छन् । अझै पनि महिलाको यथार्थ र वस्तुस्थिति नबुझी परम्परागत सोचकै आधारमा महिलाका विषयमा धारणाहरू बनाइन्छ । ।।।महिला’ मात्र भनेर सबै किसिमका महिलालाई एउटै कित्तामा राखेर बुझ्ने गरिन्छ । यसले महिलाका विषय र समस्यालाई सम्बोधन गर्न त परको कुरा महिलाका कयौँ जटिल यथार्थहरूलाई समेत छोपिदिन्छ ।
पितृसत्ताले थबथिलो बनाएको महिलाको विषय यति जटिल छन् कि, जसलाई एउटै परिभाषाले एउटै अर्थले सम्बोधन गर्न नै सक्दैन । न त ।।।महिला’ शब्दलाई शब्दकोशमा दिइएका सीमित अर्थहरूले बुझाउन सक्छ । त्यसैले नारीको विषय आफैँमा अनिर्वचनीय र अपरिभाषेय बनेको छ । पितृसत्तात्मक संरचनाले महिलालाई यस्तो विषय बनाइदिएको छ कि, यसका हजारौँ पहेलुहरूलाई नपहिल्याईकन र तिनको पिँधसम्म नपुगीकन यस विषयलाई न त बुझ्न सकिन्छ, न त यसभित्रका समस्याहरूलाई सुल्झाउन नै सकिन्छ ।
महिला ‘महिला’ मात्र नभएर एउटा डिस्कोर्स हो । नेपालमा महिलालाई विषय बनाएर बहस गर्न थालिएको धेरै भएको छैन । चेतनाका दृष्टिले नेपाली महिलाहरूको सब्गठित आवाज प्रारम्भ भएको संभवतः योगमायाबाट नै हो । १९७४ तिर योगमायाले प्रारम्भ गरेको महिलाहरूको सामुहिक आवाज धर्मको आडमा गरिएको थियो । यो केवल महिलाका लागि मात्र नभई मानवीयताको पक्षमा थियो र सीमान्तीकृतहरूको पक्षमा थियो । यस आन्दोलनले अर्थात् यस मुक्तिको आवाज नेपाली आकाशमा गुन्जिएको सय वर्ष नाघिसक्दा पनि नारीको यो मुद्दा जहाँको त्यही देखिन्छ । महिला ।।।महिला’ मात्र नभई मानिस हो र देशको आधा हिस्सा र आधा जनशक्ति हो भन्ने कुराले स्थान पाउन थालेको प्रजातन्त्रको पुनस्र्थापनापश्चात् नै हो । त्यसपछि भने देखिने गरी र थाहा पाइने गरी महिलाको विषयमा लेखिन र बहसहरू हुन थालेका हुन् । देशको राजनीतिक परिवर्तनसँगै यो विषय अझ पेचिलो र गम्भीर बन्दै गए पनि राज्यस्तरबाट यसलाई सम्बोधन हुने गरी कुनै प्रभावकारी नीति तथा कार्यक्रमहरू आउन सकेको छैन । पछिल्लो बिस वर्षयता यस विषयलाई बिना अध्ययन र अनुसन्धान यसरी उछालियो र यसरी चर्चा गरियो कि भर्खरै मातृसत्ता आउँदैछ नेपालमा जस्तो भयो । यसले गर्दा यस विषयभित्रका सूक्ष्म यथार्थ र समस्याका हजारौँ गाँठाहरूको गम्भीर अध्ययन गर्न नभ्याउँदै यसका बारेमा बोल्नेहरूलाई ।।।नारीवादी’ ट्याग भिराइयो र खेद्न थालियो । नारीसम्बन्धी बहसहरू सुरु हुन थालेपछि यसमा उत्साहित भएर चासो देखाउनेहरू भन्दा यसलाई निरुत्साहित र दुरुत्साहित गर्नेहरू नै धेरै देखिए । त्यो पनि खास गरी बौद्धिक भनिएकाहरूबाट नै ।
अनिर्वचनीयता / अपरिभाषेय विषय
अनिर्वचनीयको अर्थ प्रस्टसँग अथ्र्याउन नसकिने, वर्णन गरेर प्रस्ट पार्न नसकिने विषय भन्ने हुन्छ । नेपाली समाजमा महिलाको विषय त्यस्तै अनिर्वचनीय भएको छ । यसलाई एउटै अर्थमा अथ्र्याउन, एउटै परिभाषामा समेट्न र एउटै धारणामा सीमित गर्न सकिँदैन । महिला हिंसा, महिला विषय, महिला सशक्तीकरण, महिला अधिकार, महिला प्रशिक्षण, महिला अस्तित्व, महिला सुरक्षा भनेर यी विषयहरूलाई शब्दमा जसरी भनिएको छ, यथार्थमा ती विषयहरू शब्दले दिने अर्थभन्दा ज्यादै जटिल छन् । उदाहरणका लागि महिला सुरक्षा’ शब्दलाई नै लिऊँ । यसले दिने अर्थले जसरी सामान्य रूपमा महिलाको जिउधनको सुरक्षा भन्ने बुझाउँछ, त्यसरी नै यथार्थ त्यति सामान्य छैन । महिला गर्भावस्थाबाट नै असुरक्षित हुन्छन् । भ्रूणावस्थाबाट नै असुरक्षित रहेका महिला कहाँ सुरक्षित छन् ? आफ्नै आमाबाबाबाट असुरक्षित उनीहरू न त घरपरिवारमा, न त समाजमा, न त राज्यमा, न त साथीभाइ, नातेदारमा, न त सार्वजनिक ठाउँहरूमा, न त काम गर्ने कार्यस्थलहरूमा कहीँ पनि सुरक्षित छैनन् । कहिले छोरी जन्मी भनेर दिइने प्रताडना, कहिले नराम्री भई भनेर गरिने उपेक्षा, कहिले अर्काको घर जाने जात भनेर अपमान, कहिले दाइजो ल्याई भनेर गरिने हिंसा, कहिले बोक्सीको आरोपमा गरिने ज्यादति यस्ता कैयौँ प्रकारका हिंसा सहन बाध्य महिलाहरूका लागि, महिला सुरक्षा’ भन्ने सामान्य अर्थ ध्वनित गर्ने औपचारिकताले कसरी न्यायोचित रूपमा सबैप्रकारका हिंसापीडित महिलालाई सम्बोधन गर्न सक्छ ?
पहँचका आधारमा, वर्गका आधारमा, जातका आधारमा, सामाजिक संरचनाका आधारमा, लैब्गिकताका आधारमा, उमेरसमूहका आधारमा, भौगोलिक परिवेशका आधारमा, धर्म र संस्कृतिका आधारमा, शिक्षा र रोजगारीका आधारमा सूक्ष्म अध्ययन गर्ने हो भने नारीमाथिका विभेद, शोषण, अत्याचार, उत्पीडन र यसबाट सिर्जित समस्याहरू यति धेरै छन् कि राज्यले त्यसलाई सम्बोधन गर्न त परको क ु रा कतिपय गम्भीर ु समस्याका बारेमा त अवगत पनि छैन । नेपाली नारीहरूको अवस्था, स्तर, पहुँच र भोगाइहरूमा धेरै अन्तर छ । त्यसैले यसलाई एउटै ।।।महिलाअधिकार’ भित्र राखेर एउटै बुँदामा तोकिएको अधिकारले सबैप्रकारका महिलाको समस्यालाई सम्बोधन गर्न सक्दैन । एउटै परिवारभित्र त महिलाको स्थान र अधिकारमा विभेद गरिएको छ भने परिवारदेखि बाहिरको समाज नारीका लागि कति सहयोगी हुन सक्ला ? परिवार, समुदाय, समाज, प्रदेश हुँदै राज्यको मूलधारसम्म पुग्नका लागि के एउटै नीति तथा योजनाले सम्भव होला ? ।।।महिलाका पीडा’, ।।।महिलाका समस्या’ त भनियो तर ती पीडा र समस्याका जराहरू कति गहिरो गरी कहाँकहाँसम्म फैलिएका छन् भन्ने बारेमा अझै पनि आधिकारिक तथ्याब्कसहितको गहन अध्ययन अनुसन्धान भएका छैनन् । पछिल्लो समय केही भएका त छन् तर ती पर्याप्त छैनन् ।

कलाः रीति महर्जन
जैविक दृष्टिले हेर्दा नवजात बालिकादेखि वृद्धासम्म सबै महिला नै पर्ने भए । उच्च, कुलीन, सम्भ्रान्तदेखि सबैभन्दा पिँधमा रहेका किनारीकृतसम्म सबै महिला नै हुन् । हिमाली क्षेत्रका महिला र मधेस÷तराई क्षेत्रका महिला, स्वरोजगार महिला र निम्नवर्गीय अपाब्ग महिला आखिर महिला नै भए पनि उनीहरूका अवस्था, समस्या र आवश्यकता उस्तै हुँदैनन् । अनि यी सबै किसिमका महिलालाई राज्य (पितृसत्ता)ले उपकारस्वरूप दिने अधिकार महिला अधिकारले सबै भूगोल, सबै क्षेत्र, सबै वर्ग र सबै समुदायका महिलालाई समेट्न सक्छ ? सम्बोधन गर्न सक्छ ? कालीकोटको गाउँमा टुहुरा छोराछोरीहरूलाई हुर्काउन दुई छाक खाना जुटाउनका लागि दिनभरि जब्गल, मेलापात भौँतारिनुपर्ने महिलाले सरकारले दिएको तेत्तीस प्रतिशत आरक्षणवाला अधिकारलाई कसरी उपभोग गर्न सक्छिन् ? त्यो अधिकारले त्यस्ता महिलाहरूलाई सम्बोधन गर्न सक्छ ?
नेपाली समाजमा महिलाका विषय कति दुर्दान्त छन्, कति गम्भीर छन् र कति भयावह छन् भन्ने कुरा थाहा पाउन कुनै अनुसन्धान ग्रन्थ पढ्नै पर्दैन । दैनिकरूपमा प्रकाशित हुने अखबार वा सामाजिक सञ्जाल हेरे मात्र पनि पुग्छ । त्यहाँ हरेक दिनजस्तो समाचार बनेर आउने– बाबुद्वारा चार वर्षकी छोरीको बलात्कार, युवतीद्वारा आफू यौनशोषणमा परेको खुलासा, युवतीको गर्भ रहेपछि प्रेमी भनिएको युवक फरार, दाइजोको निहुँमा बुहारीको हत्या, प्रेम प्रस्ताव स्वीकार नगर्दा युवतीमाथि एसिडप्रहार, विद्यालयका प्रिन्सिपलले लामो समयदेखि होस्टेलमा बस्ने छात्रामाथि दुव्र्यव्यहार, फलानो गाविसमा बस्ने एक महिलालाई बोक्सीको आरोपमा कुटपिट, लगातार छोरी जन्माएको भन्दै श्रीमान्द्वारा परित्याग, श्रीमान्द्वारा श्रीमतीको हत्या, न्याय पाऊँ भन्दै तीन महिनादेखि माइतीघरमा धर्ना, अठार महिनाको बालिकाको बलात्कारपछि हत्या, धारो छोएको आरोपमा दलित महिलामाथि सामूहिक कुटपिट, सुत्केरी भएकी श्रीमतीमाथि जबर्जस्ती करणी, सडकमा रहेका मानसिकरूपमा अस्वस्थ महिलामाथि सामूहिक बलात्कार, गरिबीका कारण दुईबच्चासहित एउटी महिलाले नदीमा फाल हानेर गरिन् आत्महत्या, कार्यस्थलमा दुव्र्यवहार भएको भन्दै एक युवतीले दिइन् राजिनामा जस्ता समाचारहरूले नै नेपाली समाजमा महिलाको अवस्था कस्तो छ भन्ने कुरा बोध हुन्छ । महिलाहिंसा विगत २२ वर्षमा ३६ गुनाले बढेको डरलाग्दो तथ्याब्क बाहिर आउँदा पनि न त यो समाज गम्भीर हुन सकेको छ न त सरकार नै यस विषयमा संवेदनशील देखिन्छ ।
सामन्तवादी मनोवृत्ति
महिलाको हरेक मुद्दामा, स्वतन्त्रतामा र मुक्तिमा व्यवधान बनेर उभिएको छ पितृसत्तात्मक समाज । कहिले नैतिकताको हवाला दिएर बाँध्न खोज्छ । कहिले धर्मसंस्कृतिको अब्कुशले तान्न खोज्छ अनि कहिले देशको राष्ट्रियता नै धरापमा पर्ने तर्क गरे थेचार्न खोज्छ । यही पुरातन सोचका कारण कहिले लडेर ल्याएको कानुनको पनि कार्यान्वयन गरिँदैन त कहिले महिलामाथि भएको अन्याय र शोषणको मुद्दालाई गम्भीर रूपमा हेरिदैन । यसरी समग्रमा हेर्दा नेपाली समाजमा आममहिलाले स्वतन्त्र र निर्बाध रूपमा बाँच्न नपाउनु र सधैँ असुरक्षित महसुस गर्न बाध्य हुनु अरू केही नभई पितृसत्तात्मक सोचको परिणति नै हो । र, योभन्दा पनि अझ बिडम्बनाको कुरा के छ भने नियोजित रूपमा विकसित यो पितृसत्तात्मक सोचलाई पुरुषभन्दा पनि एक कदम अगाडि गएर केही महिलाहरूले नै यसको प्रतिरक्षा गरिरहेका छन् । पितृसत्तात्मक सोचलाई नै धर्म मान्दै नारीको स्वअस्तित्वप्रति आक्रमण गरिरहेका छन् ।
पुरुषप्रधान समाजबाट महिला शोषित र प्रताडित हुनु कुनै नौलो कुरो भएन, यस्ता अपराधहरू त पुरुषप्रधान समाजबाट महिला शोषित र प्रताडित हुनु कुनै नौलो कुरो भएन, यस्ता अपराधहरू त सामान्यजस्तै बनेको छ समाजमा । तर जैविक, प्राकृतिक र सामाजिक रूपमा एउटै हैसियत भएकी एउटी महिलाले अर्की महिलाबाट शोषित हुनु, प्रताडित हुनु कति बिडम्बनायुक्त हुन्छ । त्यसैले कतिपय सन्दर्भमा पुरुषमा मात्र नभई महिलामा पनि पुरुषसत्ताले निर्माण गरेको सामन्तवादी मनोवृत्ति पाइन्छ । हाम्रो समाजका केही महिलाहरूमा पितृसत्ताले निर्माण गरेका कुसंस्कारहरूको प्रभाव यसरी परेको देखिन्छ कि, उनीहरूले मानवीयता र विवेक नै गुमाइसकेका छन् । पुरुषलाई मर्द’, स्वामी’ मान्ने उनीहरू आफूलाई खुसीखुसी दासी मानिरहेका छन् । नारीभित्र नै विद्यमान रहेको यस्तो पितृसत्तात्मक सोचमा परिवर्तन हुन नसक्दा महिलाहरू आफैँमा विभाजित जस्तो देखिन्छ । पितृसत्तात्मक शासन व्यवस्थाले यसप्रकारको हेजेमोनीको निर्माण गरेको छ कि, उसले महिलाका विरुद्ध महिलालाई नै लड्न उक्साउँछ र बडो विद्वता छाँट्दै भन्छ–महिलाका शत्रु महिला नै हुन्छ ।
नेपाली समाजमा पुरुषहरूमा जसरी सामन्तवादी मनोवृत्तिको प्रभुत्व छ, त्यसैगरी महिलाहरूमा पनि दासमनोवृत्ति हावी छ । जबसम्म यस्तो मनोवृत्ति भएका महिलाहरूमा अस्तित्वचेतना आउँदैन, तबसम्म उनीहरूलाई दासत्वबोध पनि हुँदैन । उनीहरूलाई दासता पनि प्रेमजस्तो लाग्छ । बत्तीमा पुतली झुम्मिएजस्तै पितृसत्ताकै वरिपरि झुम्मिरहन्छन् । यो मनोवृत्ति दुर्गम क्षेत्रका अशिक्षित महिलाहरूमा मात्र होइन, सहरका शिक्षित र सभ्य भनिएका महिलाहरूमा पनि पाइन्छ । महिलाहरूको यही दासमनोवृत्तिकै कारण पनि पुरुषहरूमा सामन्तवादी चरित्र हावी भइरहेको हो ।
स्त्रीयोँ की पराधीनता (हिन्दी अनुवाद) कृतिमा जोन स्टुअर्ट मिलले उल्लेख गरेअनुसार, प्राचीन कालमा महिला मात्र नभई धेरै सट्टामा पुरुष पनि दास थिए । समयको क्रमसँगै दास प्रथाको औचित्यमाथि पश्न उठ्न ्र लाग्यो र क्रमशः दासप्रथा समाप्त भयो । तर तिनै दासी पुरुषहरू पनि महिलाहरूलाई दास बनाएर आफू मालिक बन्ने उपक्रममा लागे । त्यहीँबाट महिलाहरूलाई बनाउने नयाँ तरिका विकसित भयो (मिल, सन् २००९, पृ. २६) । उनको विचारमा आजका पुरुषहरूमा पुरातन समाजको यही दासप्रथाको धबधबी बाँकी छ र उनीहरूमा मालिकहरूमा हुने सामन्ती मनोवृत्ति जब्बररूपमा विकास भएको छ । समयक्रमको सबैभन्दा पछिल्लो समसामयिक घटनाक्रमलाई हेर्ने हो भने पनि नेपाली समाजमा पितृसत्तात्मक सामन्ती सोचको प्रभुत्व कतिसम्म जब्बर भएर बसेको छ, त्यो स्पष्ट देख्न सकिन्छ ।
नेपाल कृषिप्रधान देश हो । युगौँदेखि कृषिमा महिलाहरूको प्रमुख भूमिका रहेको छ । उनीहरूको कठोर परिश्रम र पसिना परेको छ तर पनि पितृसत्तात्मक सामन्ती समाजले महिलालाई किसान नै मान्दैन । जग्गाको स्वामित्वदेखि उत्पादनको आम्दानीसम्ममा महिलाको पहुँच नै पुग्दैन । उनीहरू पारिश्रमिकविनाको श्रमिक मात्र बन्न बाध्य छन् । सहरमै पनि कतिपय कामकाजी महिलाले कमाएको पैसामा उनीहरूको अधिकार हुँदैन अर्थात् त्यस पैसालाई खर्च गर्ने निर्णय उसको अधिकारभित्र पर्दैन । वेश्यावृत्ति गरेर होस् कि, मकै पोलेर बेचेर होस् कि अर्काको घरमा भाडा माझेर होस् या मेलापर्म गरेर, बाख्रा पालेर वा दाउरा बेचेर होस् । लाचारीको सीमान्तसम्म पुगेर दुःख गरी एउटी आमाले छोराछोरीका लागि जीवन समर्पण गरेको देख्दैन यो समाज बरु उल्टै ।।।परिवार पाल्ने पुरुष’ भन्ने भाष्य निर्माण गरेर सामन्ती मनोवृत्ति देखाइरहन्छ । के महिलाले पाल्दैनन् परिवार ? यसरी गाउँका हुन् या सहरका, अशिक्षित हुन् या शिक्षित, दलित हुन् या कथित उच्चजातका हरेक महिलाले पितृसत्तात्मक सामन्ती मनोवृत्तिको सिकार हुनुपरिरहेकै छ ।
आज पनि समाजले महिलाका लागि बनाएको आचारसंहिता राज्यले बनाएको संविधानभन्दा पनि बलियो छ । महिलाको चरित्र, महिलाको स्वभाव, महिलाको जीवनशैली सबैसबै यही पितृसत्तात्मक समाजले नै निर्धारण गरिदिएको छ । यो पुरातन समाज महिलाको आत्मालाई उपेक्षा गरिदिन्छ र शरीरलाई मात्र केन्द्र बनाएर हेर्छ । नारीका वैयक्तिक स्वतन्त्रताहरू समाजलाई छाडा लाग्छ, नारीको पहिचान र अस्तित्व अनावश्यक लाग्छ किनकि, यो समाज भन्नु नै पितृसत्ता न हो । हो यही पितृसत्तात्मक आचारसंहितालाई हाम्रो संस्कार र संस्कृति मानेर केही महिलाहरू आफ्नो दास मनोवृत्तिको प्रदर्शन गर्छन् र पुरुषलाई सामन्तवादी बन्न प्रोत्साहित गरिरहन्छन् । त्यसैले महिलाहरूले आप्mनो जातिका लागि लड्ने लडाइँ अझै लामो छ । अधिकार सम्पन्न नभई मानिसले खास कुनै पनि कुरामा उपलब्धि हासिल गर्न सक्दैन ।
अहिले पुरुषहरूप्रति तमाम प्रश्नहरू छन् । अब पुरुषहरूले नै सावित गर्नुपर्नेछ कि सबै पुरुष उस्तै हुँदैनन् । पुरुषको पनि विवेक हुन्छ । महिलामाथि हुने हिंसाको विरोध नारीले मात्र गर्ने होइन, यस्ता हिंसाहरूमा पुरुषको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता हुने हुँदा यसप्रति पुरुष पनि जवाफदेही हुनुपर्छ र यो लडाइँ उनीहरूको पनि हुनुपर्छ । त्यसैले पुरुषहरूमा विवेक र मानवीयता हुन्छ भनेर सावित गरेर देखाउनुपर्ने बेला आएको छ । नत्र त पुरुष जहिले पनि शक्तिको आडमा शोषण र अत्याचार गरिरहने र महिला पिलन्धरे स्वरमा उनीहरूसँगै न्याय मागिरहने स्थिति बन्छ ।
विरोधाभाष र जटिलता
नेपाली समाज अहिले हरेक विषय र मुद्दामा सब्क्रमणको अवस्थामा छ । न त परम्परालाई भत्काएर नयाँ स्पष्ट बाटो बनाउन सकेको छ, न त परम्परालाई स्वीकार गरेर अगाडि जान सकेको छ । यस्तैमा महिलाका विषय पनि विरोधाभासहरूले भरिएका छन् । यो विरोधाभास आज आएर मात्र भएको होइन । प्राचीन कालदेखि नै नारीमाथि यस्तै विरोधाभासपूर्ण मूल्य र मान्यताहरू निर्माण गरिएका छन् । समाजमा एकातिर जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्’ भनेर नारीको सम्मानलाई देउता खुसी हुने विषय बनाइयो भने अर्कोतिर ।।।नारी, पशु र शूद्रहरू एकै हुन्, यिनीहरूमाथि कहिल्यै विश्वास नगर्नू’ भनेर मानवीयताको साँधसीमाना नै नाघेर महिलामाथि अपमान गरिएका छन् । यस्तैयस्तै सोच र चिन्तनबाट निर्मित पितृसत्तात्मक समाजव्यवस्थाले महिलाको विषयमा बनाएका मूल्य र मान्यताहरू सबै विरोधाभासपूर्ण देखिन्छ ।

कलाः भीम शर्मा
परिवर्तनको चक्रमा विश्वब्रह्माण्डका धेरै कुराहरूमा परिवर्तन आइसकेका छन् । कैयौँ साम्राज्यहरू ढलेका छन्, व्यवस्थाहरू बदलिएका छन्, राजनीतिका धारहरू फेरिएका छन्, अनेकौँ नवीन वाद र सिद्धान्तहरूको प्रवर्तन भएका छन् तर आज पनि समाजमा नारीप्रतिको दृष्टिकोण र उनीहरूमाथि गरिने व्यवहारमा खासै परिवर्तन भएको छैन । यसरी सोचमा परिवर्तन नभएपछि व्यवस्था बदलिनुले खासै अर्थ राख्दैन रहेछ भन्ने कुराको महसुस पछिल्ला घटनासन्दर्भ र त्यसमाथि अभिव्यक्त भएका प्रतिक्रिया र टिप्पणीहरूले स्पष्ट पारेका छन् । एकातिर नारीजाति सृष्टि हुन्, संसार हुन् भन्ने अनि अर्कोतिर तिनै नारीमाथि भइरहेका ज्यादतिमाथि नबोल्ने विद्वत् समुदाय छन् । लैब्गिक समानताका पक्षमा चर्को भाषण गर्नेहरू आफैँलाई थाहा छैन कि ऊभित्र पुरुषसत्ताले हुर्काएको सामन्ती स्वभाव कति प्रबल छ भन्ने कुरा । यसरी हेर्दा महिला विषयसँग जोडिएका अधिकांश विचार र व्यवहारहरू विरोधाभासयुक्त देखिन्छ ।
नारीआन्दोलन र नारी आवाजभित्र पनि कैयौँ विरोधाभासहरू देखिन्छन् । कतिपय सन्दर्भमा के देखिन्छ भने पितृसत्ताकै प्रतिरक्षामा उभिने र पितृसत्तात्मक मूल्य मान्यतालाई नै ‘अमूल्य संस्कृति’ मानेर त्यसैको सेवा गर्ने महिलाहरूले पनि महिलाअधिकारको नारा लगाइरहेको देखिन्छ र पितृसत्ताको सत्तोसराप गरिरहेको देखिन्छ । नारीको संचेतनाको विकास र नारी सशक्तीकरणको विकास गर्नका लागि नारीहरूलाई प्रोत्साहन र हौसलाको जति आवश्यकता छ, त्यति नै नारी समुदायभित्र देखिएको कमीकमजोरीहरूप्रति निर्मम आलोचनाको पनि जरुरत हुन्छ । नारीले गरेका हरेक काम ठीक, उसले सोचेका हरेक सोच ठीक र नारीले जे गर्छन् सधैँ ठीक मात्र गर्छन् भन्ने तर्क नारीकै हितका लागि पनि बाधक हुन्छ । नारी युगौँदेखि पीडित हो र पुरुष सधैँ पीडक हो । यो कुरा सत्य हो, तर यस सत्यको वरिपरि अन्य कयौँ सत्यहरू पनि छन्, जसलाई वेवास्ता गर्न मिल्दैन ।
यसै सन्दर्भमा नारीका अतिशय भावुकता, कोमलता अनि परिष्कृत अभिरुचि जस्ता नाजुक कुराहरू निर्बलता झल्काउने गतिविधि हुन् (क्राफ्ट, सन् २००९, पृ.२ ९) यिनले नारीप्रति केवल दया र सहानुभूति जगाउँछ । यसरी एकातिर नारीलाई भावुक बनाएर सम्बन्ध जोड्ने र केही समयपछि तिरस्कारको पात्र बनाउने पुरुषहरूबाट नारीहरू सकभर बँच्नुपर्ने राय मेरी वोल्सटन क्राफ्टले स्त्री अधिकारों का औचित्य साधन (हिन्दी अनुवाद) मा उल्लेख गरेकी छिन् । कानुन र धर्मशास्त्र दुवैले महिलाहरूलाई पराधीनताको व्यवस्था गरिदियो । नारीले आफ्नो नाममा कुनै पनि सम्पत्ति राख्न नपाउनु, व्यवसाय चलाउन नपाउनु अनि आफ्ना बच्चा र यहाँसम्म कि स्वयम् आफैँमाथि पनि उसको कुनै अधिकार नहुनु आदिले पुरुषसत्ताले नारीमाथि गरेको ज्यादतीलाई प्रस्ट पार्छ ।
पहिले महिलाहरूको लडाइ समान राजनीतिक अधिकार, समान आर्थिक अधिकार, र समान शैक्षिक अधिकार दिलाउनु अर्थात् नारीचेतनाको आरम्भमा नारीहरूले लोकतान्त्रिक अधिकारका लागि लड्नुपरेको थियो जसअन्तर्गत शिक्षा, रोजगार, सम्पत्तिमा हिस्सा, मतदान गर्नपाउने, संसदमा सहभागिता र सम्बन्धविच्छेदको व्यवस्था जस्ता मुख्य मुद्दाहरूलाई स्थापित गर्नका लागि लड्नुपरेको थियो भने आज त्यसभन्दा पनि अझै माथि उठेर घरभित्रका महिलामाथिको पुरुषको दबाब र अधिकारविरुद्ध सब्घर्ष, परिवारद्वरा गरिएका शोषणविरुद्धको सब्घर्ष (अमरनाथ, सन् २०१८, पृ.३८७) आदिका साथै कार्यक्षेत्रमा हुने हेपाहा प्रवृत्तिप्रतिको प्रतिरोध, समाज, संस्कृति र धर्मद्वारा प्रदत्त तल्लो दर्जाविरुद्धको सब्घर्षजस्ता यावत् पक्षहरूमा सब्घर्षशील छन् । यस्ता सोच, दृष्टिकोण र व्यवहारले नारीलाई हरेक पल हतोत्साही र निर्बल बनाउने भएकाले नै यस्ता प्रवृत्तिका विरुद्ध लड्नु आजको नारीको बाध्यता हो ।
भाषणमा, नारामा, कवितामा महिलालाई जतिसुकै …महान्’ बनाएर बोले पनि व्यवहारमा त्यस्तो पाइँदैन । एउटी महिला जब बोक्सीको आरोपमा होस् या अन्य आक्षेपमा समाजबाट प्रताडित हुँदै गर्दा त्यहाँ केवल …महिला’ मात्र प्रताडित हुँदै गरेकी हुँदिनन् (मैनाली, २०५६, पृ.१५४) । त्यहाँ कसैकी प्यारी छोरी, ममतामयी आमा, कसैकी श्रीमती, कसैकी दिदीबहिनी, कसैकी प्रेमिका अनि एउटा सग्लो मानवले यातना पाइरहेको हुन्छ र पनि त्यस्तो अवस्थामा त्यहाँ उसको साथमा न त उसको बाबु, न त छोरो, न त श्रीमान्, न त दाजुभाइ, न त प्रेमी कोही पनि उभिन पुग्दैनन् । त्यसैले हाम्रो समाजमा महिलाप्रति बनाइने धारणा र गरिने व्यवहारहरू विरोधाभासपूर्ण देखिन्छन् ।
लिखित दस्तावेजहरूमा
कुनै पनि कुरालाई स्थापित गर्न वा त्यसलाई आधिकारिकता प्रदान गर्न लिखित दस्तावेज हुनु अनिवार्य हुन्छ । यस्ता लिखित दस्तावेजहरूले आममानिसमा पार्ने प्रभाव निकै बलियो दीर्घकालीन हुन्छ । मानव इतिहास र मानवीय जीवनका लिखित दस्तावेजहरू मूलतः धर्मशास्त्र, इतिहास र साहित्यलाई मानिन्छ । प्राचीनकालदेखि लेखिँदै आएका यस्ता लिखित दस्तावेजहरूमा महिलाको स्थान कहाँ छ ? उनीहरू यी दस्तावेजहरूमा कसरी उपस्थित भएका छन् ? उनीहरूलाई यी दस्तावेजहरूमा कसरी प्रस्तुत गरिएको छ ? भन्ने प्रश्न महŒवपूर्ण हुन्छ । यसअघिका विधायकहरू, पुरोहितहरू, दार्शनिकहरू, लेखकहरू र वैज्ञानिकहरूले अहिलेसम्म निरन्तर महिलाको अधीनस्थ स्थिति स्वर्गमा नै बनाइएको हो र त्यहीअनुसार नै उसलाई पृथ्वीमा सुविधाहरू प्राप्त हुन्छन् भन्ने कुरा देखाउनने चेष्टा गरिरहे । वास्तवमा जुन धर्मको अन्वेषण पुरुषले ग¥यो, त्यो उसको आधिपत्यको इच्छाको अनुचिन्तन हो भन्दै उनले आदिकालदेखि नै व्यब्ग्यकार र नीतिवादीहरूले महिलाका हुँदैनभएका कमजोरीहरूलाई बढाइचढाइ गरेर बताउनमा आनन्द मानिरहे । साहित्यमा पनि महिलाको विरुद्ध अनेकौँ बर्बर दोषारोपण गरिएका छन् (बोभायर, ?, पृ. ७)
मानवसभ्यताको पहिलो लिखित दस्तावेज भनेको धर्मशास्त्रहरू नै हुन् । हाम्रा परम्परा, संस्कार, संस्कृतिहरू यिनै धार्मिक ग्रन्थहरूको प्रभावबाट निर्मित छन् । पौराणिक कालमा रचना गरिएका धार्मिक पुस्तकहरूमा वर्णित मिथकपात्रहरूलाई आदर्श पात्रका रूपमा उभ्याएर त्यसमा स्थापना गरिएको सामाजिक मूल्यमान्यतालाई आज पनि हाम्रो समाजले आइडियोलोजी बनाइरहेको छ । यस्ता धर्मशास्त्रमा जति पनि नैतिक शिक्षा उल्लेख गरिएका छन्, ती अधिकांश महिलालाई बाँध्ने तरिकाले बनाइएका छन् । धर्मशास्त्रहरूले महिलाको पहिलो लक्ष्य पत्नीत्व र अन्तिम लक्ष्य मातृत्व तोकिदिएको छ । यो भन्दा बढी उसको कुनै हैसियत हुँदैन । यस्ता शास्त्रमा महिलाले पुरुषको वैभवको प्रदर्शनी तथा मनोरञ्जनको साधन बनेर नै जीवन बाँच्नुपर्ने र एउटा व्यक्ति वा नागरिकका रूपमा उसको कुनै मूल्य नहुने सन्दर्भहरू उल्लेख गरिएका हुन्छन् (वर्मा, सन् २०१२, पृ ३९) । युगौँदेखि पढिँदै आएका शास्त्रहरूमा नै यस्तो लेखिएकाले यसले निर्माण गर्ने संस्कृति, संस्कार, विचारहरू नारीप्रति अनुदार हुनुमा यिनै शास्त्रहरूको पनि प्रभाव देखिन्छ ।
जसरी हाम्रा धार्मिक र सांस्कृतिक मूल्य मान्यताहरूले पुरुषलाई पहिलो दर्जाको सर्वश्रेष्ठ बनाएर वर्णन गरेको छ र नारीलाई दोस्रो दर्जाको सहायकका रूपमा चित्रण गरेको छ, भाषिक संरचनाको निर्माण र भाषिक व्यवहारको प्रयोग पनि त्यसै गरी गरिएको छ । पुरुषलाई गरिने सम्बोधन र व्यवहारहरू विशिष्ट हुन्छन् भने नारीलाई सम्बोधन गरिने शब्द पुरुषसँग जोडिएर आएका हुन्छन् । जस्तै श्रीमान्–श्रीमती, पण्डित–पण्डित्नी, सञ्चालक–सञ्चालिका, मालिक–मालिक्नी, ढकाल–ढकाल्नी आदि । पुलिब्गी शब्दमा अधीनस्थ भएर
मात्र स्त्रीलिब्गी शब्दको प्रयोग भएको पाइन्छ । अर्थात् स्त्रीलिब्गी शब्दहरूको स्वतन्त्र अस्तित्व नै छैन (अधिकारी, २०७८, पृ. ३) । केही समयअघिसम्म त महिलाको आफ्नो नाम र पहिचानसमेत लुप्त थियो । फलानाकी छोरी, फलानाकी स्वास्नी र फलानाकी आमा भनेर पुरुषहरूकै परिचयमा आश्रित हुने स्थिति थियो ।

कलाः भीम शर्मा
इतिहासलाई विषयवस्तु बनाएर लेखिएका कृतिहरूमा त झन् महिलाहरूको उपस्थिति नै पाइँदैन । एकप्रकारले भन्ने हो ऐतिहासिक कृतिहरू पुरुषहरूका अहम् र घमण्डका दस्तावेज बनेका छन् । राजामहाराजा, सत्ता र शक्तिमा रहेका पुरुषहरूको दासी र सहयोगीका रूपमा मात्र महिलाको उपस्थिति यदाकदा पढ्न पाइन्छ । सहिदहरूका वीरताको कथा लेखियो तर सहिदको व्यावहारिक जिम्मेवारीसमेत बोकेर एक्लै घरगृहस्थी र छोराछोरी हुर्काउने सहिदपत्नीको इतिहास कतै लेखिएन । राजनीतिमा लागेका, निर्वासित भएर बसेका नेताहरूका बारेमा इतिहासमा लेखिँदा दोहोरो, तेहेरो जिम्मेवारी बोकेर लालाबाला हुर्काउने सांस्कृतिक धरोहर धानेर बस्ने ती आमाहरूका, श्रीमतीहरूको इतिहास किन लेखिएन, लाहुरेको इतिहास त लेखियो तर लाहुरेनीको त्याग र दुःख त कहीँ लेखिएन । भानुभक्तको इतिहास त लेखियो र उनलाई आदिकविसमेत बनाइयो तर योगमायालाई कतै लेखिएन । अब इतिहासले उपेक्षा गरेका यी तमाम महिलाहरूको इतिहासलाई लेख्नुपर्ने समय आएको छ ।
समाजको भाषिक व्यवहारमा प्रयोग हुने उखानटुक्का आदिमा पनि लैब्गिक आधारमा भाषिक विभेद गरिएको छ । ।।।बुद्धिमता किसिमले सत्य र नैतिक शिक्षा प्रकट हुने सूत्रात्मक अभिव्यक्ति’ भनेर अथ्र्याइएको उखानहरूमा पनि पुरुषलाई पौरखी, मर्द, साहसीका रूपमा चित्रण गरिएको हुन्छ भने नारीलाई उपेक्षा र अपमानित किसिमले प्रस्तुत गरिएको हुन्छ । जस्तैः मर्दकी दशवटी, छोरा भए बुहारी कतिकति, जस्ता अनेकौँ उखानहरूले हाम्रो समाजको पितृसत्तात्मक सोच र त्यसले नारीमाथि गर्ने विभेदयुक्त भाषिक व्यवहारलाई देखाउँछ ।
कृतिको कुरा छोडौँ, शब्दकोशको अध्ययन गर्ने हो भने पनि अर्थगत तहमा समेत कसरी महिलासँग सम्बद्ध शब्दार्थमा विभेद गरिएको छ भन्ने कुरा प्रस्ट हुन्छ । उदाहरणका लागि यहाँ ।।।नायिका’ शब्दको अर्थलाई हेर्ने हो भने पनि यस्तै विभेद पाइन्छ । शब्दकोशमा नायकको सापेक्षतामा मात्र नायिकाको भूमिका स्वीकार गर्दै नायिकालाई स्वकीया, परकीया र सामान्या गरी तीन तीनप्रकारको बताइएको छ । नम्रता, सरलता आदि गुणले युक्त भएकी, घरको काम गर्न कुशल, पतिव्रता नायिकालाई स्वकीया नायिका भनिएको छ भने परपुरुषसँग सम्बन्ध स्थापित गर्ने नायिकालाई परकीया नायिका र रतिक्रीडामा कुशल र सब्गीत आदिमा कुशल नायिकालाई सामान्या नायिका भनेर अथ्र्याइएको छ (एटम, २०७४, पृ.१२८) । यस अर्थबाट नै पुरुषसत्ताले महिलालाई कसरी हेर्छ र कसरी अथ्र्याउँछ भन्ने कुरा स्पष्ट हुन्छ । महिलालाई पुरुषको सापेक्षताबाट, यौनदासी वा भोग्याका नजरबाट र पुरुषको सहयोगीका रूपबाट मात्र स्त्रीलिब्गी शब्दलाई अथ्र्याइएको छ । यस्तै भाषाको लिखितरूपको स्रोत पुरुषसत्ता भएको तथा शब्द, वाक्य अनि शुद्ध तार्किक नियमहरू पनि त्यसैबाट सिर्जित, संरचित र सब्गठित भएको हुँदा सब्कथनमा पनि पुरुषलिब्गवादको वर्चस्व देखिन्छ । अबका दिनमा यसरी निर्माण भएका तमाम महिलाद्वेषी र सब्कीर्णता बुझाउने शब्दार्थको पुनव्र्याख्या गरी नयाँ शब्दहरूको निर्माण हुन जरुरी छ ।
यसरी सामाजिक सम्बन्धमा पुरुषलाई विशेषाधिकार दिइने र बौद्धिकता तथा विश्वव्यवस्थाको मूल स्रोत पुरुषलाई ठान्ने मानवइतिहासको पूर्वाग्रही र एकाकी सोचको कारणले गर्दा नै महिलाले कहिल्यै आफ्नो प्रतिभा, क्षमता र हैसियत देखाउनै पाएनन् ।
छोरी मान्छेलाई ‘अर्काको घरमा जाने जात, अर्काको कर्म खाने जात’ भनेर भनिन्छ । छोरीको ‘कन्यादान’ दिइन्छ । ‘मारे पाप, पाले पुण्य’ भनेर अपरिचितसँग पठाइन्छ । लोग्नेले गरेको हिंसालाई ‘परालको आगो’ भनेर छोपिन्छ । लोग्ने मरे ‘विधवा’ बनाइन्छ । निःसन्तान भए ‘बाँझी’ भनेर दुत्कारिन्छ । कतै ।।।कमलरी’ बस्न पठाइन्छ, कतै ।।।देउकी’ बनाएर राखिन्छ । जोबन सुम्पने, अस्मिता लुटिने, बलात्कृत हुने, बेश्या हुने, अलच्छिना हुने, बोक्सी हुने, छाउ बार्ने, कुलब्गार हुनेजस्ता पदावलीसँग जोडिएर आएका अर्थहरू सांस्कृतिक अर्थ हुन् ती अर्थहरू पितृसत्ताले बनाएका भाषिक व्यवहार हुन् । यस्ता पदावलीहरूको प्रयोग भएका र यस्ता सन्दर्भहरू लेखिएका साहित्यले नारीको आत्मसम्मान, आत्मविश्वास र स्वतन्त्रतामाथि प्रहार मात्र गरेका छैनन्, नारीलाई कमजोरसमेत बनाएका छन् (अधिकारी, २०७८, पृ. ७) । तर पुरुषको हकमा भने लिखित दस्तावेजहरूमा यस्ता कुनै पनि नकारात्मक प्रभाव पार्ने र उनीहरूको व्यक्तित्व र चरित्रमा आँच आउने शब्दको प्रयोग गर्ने गरेको पाइँदैन । संस्कृतिका आडमा निर्मित यस्ता भाषिक शब्दहरूले समाजमा नारीलाई दोस्रो दर्जाका रूपमा उभ्याउन सहयोग गरेको छ र यस्ता भाषिक पक्षको पुनव्र्याख्या गरिनुपर्ने आवश्यकता छ । महिला र पुरुषका बिचमा यस्ता विभेद नहुनका लागि पूर्णरूपमा कानुनी समानता, नारीहरूको आर्थिकरूपमा निर्भरता, शिक्षा र रोजगारमा समान अवसर तथा सांस्कृतिक, राजनीतिक सक्रियतामा नारीको भागीदारी अनिवार्य हुन्छ (मिल, २००९, पृ. ३६) तर नारीको सहभागितासँग पितृसत्तालाई भयब्कर ठुलो आपत्ति छ ।
अन्त्यमा
शिक्षामा महिलाको पहुँच पुग्न थालेपछि अनि उनीहरूको चेतनाको स्तर बढ्दै गएपछि मात्र महिलाको विषयमा केन्द्रित भएर लेखिन थालिएको हो । त्यसपछि नै यससम्बन्धी बहस–छलफल हुन थालेको हो । पितृसत्तात्मक समाजले दिएको सुविधा, पहुँच र त्यसैले निर्माण गरेको अहम्को आडमा शक्तिवान् भएका पुरुषहरूलाई महिला पनि मानिस हुन् भन्ने यस अघि कहिल्यै लागेन । उनीहरूलाई त महिला भनेका केवल पुरुषको सहयोगी न हुन् । पुरुषको सुविधाका लागि बनेका उपयोगी वस्तुहरूका बारेमा पनि केही विषय हुन्छन् र ! जस्तो मात्र लागिरह्यो । आज पनि कतिपयमा महिलालाई हेर्ने यस्तै सोच र धारणामा परिवर्तन आएको छैन । वास्तवमा मानव सभ्यताको यति लामो यात्रामा पितृसत्तात्मक समाजले जुन किसिमको ज्ञान र संस्कृतिको निर्माण ग¥यो, त्यसले महिलाहरूका लागि सीमानिर्धारण गर्ने र पुरुषहरूलाई अहब्कारी बनाउनेबाहेक अरू केही गरेन । नारी पनि मानिस नै हुन्, उनीहरूभित्र पनि प्रतिभा, क्षमता हुन्छ । उनीहरूको आफ्नै अस्तित्व र पहिचान हुन्छ भनेर आवाज उठाउनुका साथै यी कुराहरू पुष्टि गर्ने कामहरू गर्न थालेपछि नारी विषयले राजनीतिक, सामाजिक, शैक्षिक, कानुन क्षेत्रमा पनि प्रवेश पाउन थालेको हो । यो विषय अहिले यसरी स्थापित भएको छ, अब यसको निरन्तरता मात्रै छ, अन्त्य छैन ।
सन्दर्भ सूची
अधिकारी, ज्ञानु (२०७८). भाषिक दृष्टिले साहित्यमा नारी. हेटौडा उपमहानगरपालिका तथा आँचल साहित्य
कलापुञ्ज मकवानपुरद्वारा आयोजित ‘बृहत् साहित्य महोत्सव २०७८’ मा प्रस्तुत कार्यपत्र ।
अमरनाथ (२०१८), हिन्दी आलोचनाकी पारिभाषिक शब्दवली (पाँचौँ संस्क.). राजकमल प्रकाशन ।
एटम, नेत्र (२०७४). सब्क्षिप्त साहित्यिक शब्दकोश. नेपाल प्रज्ञा प्रतिष्ठान ।
बोभायर, सिमोन द (?). द सेकेन्ड सेक्स (अनुः रमेश सुनुवार). प्रगति पुस्तक सदन ।
मिल, स्टुअर्ट, जोन (२००९). स्त्रियोँ की पराधीनता (हिन्दी अनुवाद; प्रगति सक्सेना). राजकमल प्रकाशन ।
मैनाली, रघु (२०५६). ग्रामीण महिलाहरू बोक्सीको फैसलाबाट पम्फादेवीको हालत भोगिरहेछन्. छापामा महिला ।
प्रत्युस वन्त, शोभाकर गौतम र अमृता बाँस्कोटा). सञ्चारिका समूह र नेपाल प्रेस इन्स्टिच्युट ।
बर्मा, महादेवी (२०१२). शुक्ला की कडियाँ (दोस्रो संस्क.). लोकभारती प्रकाशन ।
वोल्स्टनक्राफ्ट, मेरी (२००९). स्त्री अधिकारोँका औचित्य साधन (हिन्दी अनुवाद). राजकमल प्रकाशन ।