Asmita Magazine

#

लिम्बू विवाह संस्कारमा नारीपक्षधरता

अन्य जातिको विवाह संस्कारमा जसरी दुलाहा जन्तीका साथ दुलहीको जन्मघरमा दुलही लिन जान्छन्, लिम्बूको विवाहमा ठुलो सङ्ख्यामा लोकन्दीहरूका साथ दुलही दुलाहाको घरमा जान्छिन् र दुलाहाको घरमा भित्रिन्छिन् । त्यसपछि दुलाहालाई माइत लिएर आउँछिन् र मान्यजनहरूलाई ढोगभेट गराएर परिचित गराउँछिन् । लिम्बूको विवाह संस्कारमा देखिएको यस्तो परम्पराले यो समुदायको मातृसत्तात्मक अस्तित्वको झल्को दिन्छ ।

विवाह भन्नासाथ जन्तीसहित दुलाहाले दुलही लिन जाने, स्वयम्बर गर्दा दुलाहाले दुलहीलाई औँठी लगाइदिने अनि दुलहीले दुलाहालाई बरमाला पहिरिने प्रक्रियाको झल्को औसत नेपाली आँखामा नाच्छ । दुलहीको जन्मघरमा आवश्यक वैवाहिक संस्कार सकेपछि दुलही लिएर दुलाहा आफ्नो घरमा आउँछन् । त्यसपछि दुलही दुलाहाको घरमा भित्रिन्छिन् तर नेपालका आदिवासी लिम्बूहरूको विवाह संस्कार अन्य जातिकोभन्दा ठीक उल्टो छ ।

अन्य जातिको विवाह संस्कारमा जसरी दुलाहा जन्तीका साथ दुलहीको जन्मघरमा दुलही लिन जान्छन्, लिम्बूको विवाहमा ठुलो सङ्ख्यामा लोकन्दीहरूका साथ दुलही दुलाहाको घरमा जान्छिन् र दुलाहाको घरमा भित्रिन्छिन् । त्यसपछि दुलाहालाई माइत लिएर आउँछिन् र मान्यजनहरूलाई ढोगभेट गराएर परिचित गराउँछिन् । लिम्बूको विवाह संस्कारमा देखिएको यस्तो परम्पराले यो समुदायको मातृसत्तात्मक अस्तित्वको झल्को दिन्छ ।

उनीहरूमा मातृसत्तात्मक अवशेष अहिले पनि साङ्केतिक रूपमा जीवित रहेको छ ।

लिम्बू विवाह संस्कार

लिम्बूहरूमा परम्परागत पुरोहित फेदाङ्वाले केटी माग्ने दिनको साइत निकाल्ने गर्छन् । उनले निकालेको साइतअनुसार लमीको सहयोगमा कुटुम्ब खोज्न थालिन्छ । कुटुम्ब फेला परेपछि लमीलाई अगाडि लगाइन्छ तर चार पुस्तासम्म कुटुम्बसित साइनो सम्बन्ध पर्नेसँग भने लिम्बूहरूमा विवाह चल्दैन । कुटुम्ब फेला परेपछि फेरि लमीलाई नै अगाडि सारिन्छ । लमीका साथ विवाहयोग्य पुरुष र केही साथीहरूसहित दुई बोतल रक्सी लिएर कन्या माग्न जान्छन् । सबै कुरामा चित्त बुझे केटीको बाबुले सुनौली माग्छन् । छोरी दिएवापत लिइने रकमलाई सुनौली भनिन्छ । यसलाई सोतरित पनि भनिन्छ ।

यो रीत लिने प्रक्रिया हेर्दा पनि नेपालका अन्य समुदायभन्दा लिम्बू समुदायको विवाह संस्कार विपरीत देखिन्छ । अन्य र खासगरी सनातनी हिन्दु धर्मावलम्बीहरूको विवाह संस्कारका दुलही पक्षले आफूले सक्दो अझ दुलाहा पक्षले माग गरेअनुसार दाइजो दिनुपर्ने प्रचलन रहेको छ तर लिम्बू समुदायको विवाहमा भने दुलाही पक्षले माग गरेअनुसार दुलाहा पक्षले सुनौली रीत तिर्नुपर्ने परम्परा रहिआएको छ ।

लिम्बूहरूमा दुलही पक्षले सोतरितमा सुन चाँदीको गहनाका साथै नगद लिने चलन छ । आफूले दश महिना गर्भमा बोकेर जन्माई हुर्काई बढाएको सन्तान अरूलाई दिनपर्दा सोको क्षतिपूर्तिका रूपमा सोतरित लिइएको हो भन्ने मान्यता रहेको पाइन्छ । सोतरितलाई विवाह जीवन विमाको प्राचीन चलनको रूपमा पनि लिन सकिन्छ । छोरीलाई सौता हालेर वा परित्यक्त भएर लोग्नेबाट कदाचित अपहेलित हुनुपर्दा गहना पाएको यस्ता सुन, चाँदी र नगद तथा वस्तुले उसलाई बाँकी जीवन धान्न ठूलो सहारा दिन्छ (काँइला, २०७५, पृ.१३१–३२) ।

दुलही पक्षले माग गरेअनुसार सुनौली रित तिर्न सके मात्र वैवाहिक प्रक्रिया अगाडी बढ्छ । रित तिरेको कागज भपाई नै गरिन्छ । आजभन्दा एक सय ४८ वर्षअघि आफ्ना पुर्खाको विवाहमा रित तिरेको कागज लेखकसँग सुरक्षित रहेको छ । उक्त कागजमा यस्तो लेखिएको छः

स्वश्ति श्री सम्वत् १९३२ मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरित ति¥या पही

यस कागजमा विभिन्न २५ शीर्षकमा ९३ रुपैयाँ १२ आना रित तिरेको देखिन्छ ।

यी सबै प्रक्रिया पुरा भइसकेपछि कन्याका बाबुले आफ्नी छोरीलाई दुलही बनाई पठाउने स्वीकृति दिन्छन् । दुलाहाले आफ्नी भावी पत्नीका मान्यजनहरूलाई ढोग गरिसकेपछि विवाहको दिन निश्चित गरिन्छ । अनि दुलाहाले विवाहको लागि आफ्नी दुलहीलाई घरमा ल्याउने चलन लिम्बू समाजमा रहिआएको छ । लिम्बू समाजमा पहिले दुलाहाको घरमा भब्यतापूर्वक विवाह हुन्छ ।

विवाहसम्बन्धी नियम

लिम्बूहरूमा प्रचलित “सुहाफेमा लाहादाङ्मा”  मुन्धुमअनुसार परापूर्वकालमा चेली–माइतीबीच यौनसम्बन्ध वर्जित थिएन । तर एक दिन लाहादाङ्मा नामकी ती वयस्क महिलाले रिसले कुकुरलाई कुचोले हिर्काइदिइन् । त्यसपछि कुकुर न्याय माग्नलाई कराउँदै जाँदा उसले चेली माइतीबीचको सम्बन्धको बारेमा पर्दाफास गर्दै “चेली माइती बिग्रिए है, यिनीहरूले धर्ती फोहर बनाए है” भनेर हल्ला फिजाइदिन्छ । त्यो कुरा चराचुरुङ्गी, रुखपात सबैले सुन्छन् । सबैले चेली माइती बिग्रिएकोमा गुनासो गर्छन् । चेली माइतीमा लज्जाबोध हुन्छ । त्यसपछि लिम्बू समाजमा विवाहसम्बन्धी एउटा कडा नियम बन्यो । लिम्बू मुन्धुमअनुसार पहिलो धार्मिक नेता येहाङले विवाहसम्बन्धी नियम बनाएका बनाए । यस नियमअनुसार बाबु र छोरी, आमा र छोराबीच तथा चेली र माइतीबीच विवाह निषेध गरियो । यस्तै सौतेनी चेली र माइतीबीच, काका, मामा, काकी, माइजू, फपू, सानीआमा तथा ठूली आमाबिचका छोराछोरीको विवाह निषेध गरियो । बाबुतिरको रगतको नाता तोड्न नहुने, आमातिरको सम्बन्ध चार पुस्तापछि मात्र विवाह खुल्ला गर्न सकिने नियम बन्यो (चेम्जोङ, २०६३, पृ.२३) ।

वि.सं. १९३२ मा ताप्लेजुङ हाङपाङका भगिवन्त लिम्बूको मेवाखोलाकी शुभहाङ्मा नामकी कन्यासँग विवाह हुँदा दुलाहा पक्षले दुलही पक्षलाई रीत तिरेको कागज । स्रोत: लेखक स्वयम्

यस्तो नियम अहिले पनि कडाइका साथ पालना गरिन्छ । यस्तो नियम आएपछि लिम्बूहरूमा चेली माइतीबिच फूल साटासाट पनि गर्नु हुँदैन भन्ने मान्यता रहिआएको छ । यसरी विवाहका लागि प्रस्तावित पुरुष र महिला पक्षमा हाडनातामा कुनै साइनो सम्बन्ध नभएको अवस्थामा दुई बिचको विवाह निश्चित गरिन्छ । विवाह निश्चित गर्नुअघि सूक्ष्म रूपमा साइनो केलाउने कार्य गरिन्छ ।

लिम्बूहरूको विवाहमा दुलहीलाई माइतीबाट अघिल्लै दिन ल्याएर एउटा अर्कै घरमा राखिन्छ । दुलहीसित उनका केटी साथीहरूको एक हुल आएका हुन्छन् । उनीहरूलाई ‘मेकेसामा’ (लोकन्दी ) भनिन्छ । साथमा दुई जना माइती पनि आएका हुन्छन् । लोकन्दीले दुलहीलाई सिँगार्छन् । लिम्बूहरूको विवाहमा च्याब्रुङ बज्छ । नौमती बाजा घन्कन्छ । जोर जोर बन्दुक पड्काइन्छ । त्यसपछि दुलाहा आफ्ना साथीहरूका साथ जहाँ दुलहीलाई ल्याएर राखिएको छ, त्यहाँ गएर दुलही ल्याई सेतो कपडा बिछ्याएर त्यसैमाथि हिँड्न लगाई आँगनमा भव्य स्वागत गरिन्छ । दुलही घरमा भित्रिएपछि मुन्धुमी प्रक्रिया सुरु हुन्छ । यस क्रममा फेदाङ्वाले मुन्धुम फलाक्दै विवाहको कर्म सम्पन्न गर्छन् । यस क्रममा लगन गर्दा केराको पातमा कुखुराको भाले पोथीलाई डडाल्नुमा हिर्काएर रगत झार्नुपर्छ । त्यसपछि भोग दिइएको कुखुराको मासुको आठ वटा टुक्रा दुलाहा दुलहीलाई खुवाइन्छ । यसलाई “सामुल्ला” भनिन्छ । यसको साथमा कोदोको जाँडको तोङ्वा पनि दुलाहा दुलहीलाई खुवाइन्छ । फेदाङ्वाले दुवै जना मिलेर बस्ने, एकअर्कामा हेलोहोचो नगर्ने, झगडा नगर्ने प्रतिज्ञा दुलाहालाई गराउँछ । दुलहीलाई पनि लोग्नेको शिर ठाडो बनाई इज्जतसाथ र बाँचुञ्जेल मिलेर बस्ने प्रतिज्ञा गराउँछ । यस्तो वाचा गराएर दुलहीको पोथाङ (पछ्यौरा)मा दुलाहाले चाँदीको एक मोहर बाँधिदिन्छ । यसलाई “युप्पारुङ याङ” भनिन्छ (श्रेष्ठ, २०६८, पृ.९९–१००) । यसलाई कतै कतै “युप्पालुङ याङ” पनि भनिन्छ ।

यसरी आफ्नो पछ्यौरामा बाँधिएको युप्पारुङ याङ वा युप्पालुङ याङ दुलहीले आफ्नो जीवनभर सुरक्षित राख्नुपर्छ । यदि दुलाहाले आफूले गरेको प्रतिज्ञा पालना नगरेको अवस्थामा दुलहीले त्यही चाँदीको मोहरले दुलाहाको निधारमा हाने दुईबिचको सम्बन्धविच्छेद भएको मानिन्छ । त्यसैले युप्पारुङ याङ लिम्बूहरूको विवाहमा दुलाहा र दुलहीबीच भएको एक प्रकारको करार पनि हो । यसले लिम्बू समुदायमा परम्परागत कानुनअनुसार सम्बन्धविच्छेदको अधिकार महिलामा निहित रहेको प्रमाणित गर्छ ।

लिम्बू जातिमा विवाहको बेला मात्र होइन, अन्य अवसर वा हाटबजारहरूमा भेट हुँदा कुनै पुरुषले आफूलाई मन परेकी महिलाको पछ्यौरामा यस्तो चाँदीका मोहर बाँधिदिए त्यसलाई विवाहको प्रस्तावको रूपमा पनि लिने चलन छ । पुरुषले चाँदीको मोहर आफ्नो पछ्यौरामा बाँधिदिदा महिलाले कुनै विरोध वा असहमति जनाइनन् भने त्यो विवाह प्रस्ताव उनीबाट स्वीकृत भएको मानिन्छ । तर आफूलाई त्यो प्रस्ताव स्वीकार भएन भने त्यसलाई आफ्नो पछ्यौराबाट फुकालेर फ्याँकिदिन उनी स्वतन्त्र हुन्छिन् । यसरी पछ्यौरामा बाँधिएको युप्पारुङ याङ फुकालेर फ्याँकिदिइन् भने उनले विवाहको प्रस्ताव अस्वीकार गरेको ठहर्छ । लिम्बू समुदायको विवाहमा पुरुषको जबरजस्ती चल्दैन ।

युप्पारुङ याङको कथा

युप्पारुङ याङसम्बन्धी रोचक कथा लिम्बू मुन्धुममा वर्णन गरिएको छ । जो यसप्रकार छः

फूलको सृष्टि कथाअनुसार धेरै अघि उमेरदार पुरुषहरू र महिलाहरू इम्विरी यङधङ (तमोर नदी)को दुई किनारामा बसेर प्रेमका गीत गाउँथे । जब हिउँदको समयमा हिमपात हुनथाल्थ्यो, तब नदीको दुई किनारामा रहेका बाँस नुहेर नदीमाथि पुलजस्तो बन्थ्यो । यसरी छोरा मान्छेहरू र छोरी मान्छेहरूबीच हिमपातबाट नुहेर बनेको बाँसको पुलबाट एकापसमा भेट हुने अवसर पनि जुर्थ्यो । एकापसमा भेट भएर उनीहरू ठूलो र फराकिलो सेतो ढुङ्गामा बसेर गाउँथे, नाच्थे । पिरती साँटासाँट गर्थे । त्यसै ढुङ्गालाई युप्पालुङ वा युप्पारुङ भन्न थालियो । जब एकापसमा भेट भएर सेतो, चेप्टो र फराकिलो ढुङ्गामा बसेर ती वयस्क युवा युवतीहरू नाच्दै जाँदा, गाउँदै जाँदा माया बस्न पुग्यो । उनीहरूले विवाह गर्ने निर्णय गरे । तर यसका लागि उनीहरूका सर्वशक्तिमान तागेरा निङ्वाफुङ माङले उनीहरूको एकापसको तौल बराबर हुनुपर्ने बताए । त्यसबेला पुरुषहरू महिलाहरूभन्दा वजनदार थिए । त्यसैले महिलाहरूलाई गहनापातले पुरापुर सजाएर पुरुषहरूले आफू समान बनाउनुपर्ने भयो । यसो गर्दा आफूभन्दा महिलाहरूको वजन बढी भइदिँदा पुरुषहरूले खुकुरी, ढाल, तरबारले आफूलाई सुसज्जित बनाउनु प-यो । यसरी एकापसमा सन्तुलित बन्नका लागि पुरुषहरूले महिलाको पछ्यौरामा चाँदीको मोहर बाँधिदिने चलन चल्यो । यसैलाई कतै युप्पारुङ याङ त कतै युप्पारलुङ याङ भन्न थालियो (सुब्बा, सन् १९९८, पृ. १२३) ।

यसबाट हेर्दा यो मुन्धुमको दर्शनले नारी र पुरुषबीच समानताको सिद्धान्तको झल्को दिन्छ । लिम्बू समुदायको विवाह संस्कारलाई सुक्ष्म रूपमा अध्ययन गर्दा पहिले महिला अधिकारलाई प्राथमिकतामा राखिएको देखिन्छ । तर आदिवासीहरूमाथि खासगरी सनातनी हिन्दु संस्कृतिको अतिक्रमण बढ्दै जाँदा र सोही अनुसार ऐन कानुनहरू बन्दै जाँदा लिम्बूहरूमा विद्यमान नारीपक्षधर परम्परागत कानुन र संस्कृति एकादेशको दन्त्यकथामा परिणत हुन पुगेको छ । लिम्बू विवाह संस्कारमा नारीपक्षधर रितिस्थितिहरू अहिले केवल सांकेतिक रूपमा मात्र व्यवहार गर्ने गरिएको छ ।

 

सन्दर्भ सामग्री

काइँला, वैरागी (२०७५) । माध्यमिक कालको लिम्बू बिहेको दस्तुर । “समन्वेषण”, अमर तुम्याहाङ र अरू (सम्पा.) । इक्साहाङ इक्मिसो बेघा थोबोजुम, काठमाडौँ  ।

चेम्जोङ, इमानसिंह (२०६३) । किराँत इतिहास र संस्कृति । डिल्लीबहादुर लिवाङ र अरू, ताप्लेजुङ ।

सुब्बा, चैतन्य (सन् १९९८) । द कल्चर एण्ड रिलिजन अफ् लिम्बूज् । के.बी. सुब्बा, काठमाडौँ ।

श्रेष्ठ, शिवकुमार (२०६८) । लिम्बूवानको ऐतिहासिक अध्ययन । साझा प्रकाशन, ललितपुर ।

Author

  • राजकुमार दिक्पाल

    इतिहास र संस्कृति अध्ययनमा विशेष रुचि राख्नुहुने, अनुसन्धानात्मक र वैचारिक लेखनमा सक्रिय राजकुमार दिक्पाल, जङ्गबहादुरको युग र आदिवासी विद्रोहको इतिहास नामक पुस्तकका लेखक हुनुहुन्छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के