अन्य जातिको विवाह संस्कारमा जसरी दुलाहा जन्तीका साथ दुलहीको जन्मघरमा दुलही लिन जान्छन्, लिम्बूको विवाहमा ठुलो सङ्ख्यामा लोकन्दीहरूका साथ दुलही दुलाहाको घरमा जान्छिन् र दुलाहाको घरमा भित्रिन्छिन् । त्यसपछि दुलाहालाई माइत लिएर आउँछिन् र मान्यजनहरूलाई ढोगभेट गराएर परिचित गराउँछिन् । लिम्बूको विवाह संस्कारमा देखिएको यस्तो परम्पराले यो समुदायको मातृसत्तात्मक अस्तित्वको झल्को दिन्छ ।
विवाह भन्नासाथ जन्तीसहित दुलाहाले दुलही लिन जाने, स्वयम्बर गर्दा दुलाहाले दुलहीलाई औँठी लगाइदिने अनि दुलहीले दुलाहालाई बरमाला पहिरिने प्रक्रियाको झल्को औसत नेपाली आँखामा नाच्छ । दुलहीको जन्मघरमा आवश्यक वैवाहिक संस्कार सकेपछि दुलही लिएर दुलाहा आफ्नो घरमा आउँछन् । त्यसपछि दुलही दुलाहाको घरमा भित्रिन्छिन् तर नेपालका आदिवासी लिम्बूहरूको विवाह संस्कार अन्य जातिकोभन्दा ठीक उल्टो छ ।
अन्य जातिको विवाह संस्कारमा जसरी दुलाहा जन्तीका साथ दुलहीको जन्मघरमा दुलही लिन जान्छन्, लिम्बूको विवाहमा ठुलो सङ्ख्यामा लोकन्दीहरूका साथ दुलही दुलाहाको घरमा जान्छिन् र दुलाहाको घरमा भित्रिन्छिन् । त्यसपछि दुलाहालाई माइत लिएर आउँछिन् र मान्यजनहरूलाई ढोगभेट गराएर परिचित गराउँछिन् । लिम्बूको विवाह संस्कारमा देखिएको यस्तो परम्पराले यो समुदायको मातृसत्तात्मक अस्तित्वको झल्को दिन्छ ।
उनीहरूमा मातृसत्तात्मक अवशेष अहिले पनि साङ्केतिक रूपमा जीवित रहेको छ ।
लिम्बू विवाह संस्कार
लिम्बूहरूमा परम्परागत पुरोहित फेदाङ्वाले केटी माग्ने दिनको साइत निकाल्ने गर्छन् । उनले निकालेको साइतअनुसार लमीको सहयोगमा कुटुम्ब खोज्न थालिन्छ । कुटुम्ब फेला परेपछि लमीलाई अगाडि लगाइन्छ तर चार पुस्तासम्म कुटुम्बसित साइनो सम्बन्ध पर्नेसँग भने लिम्बूहरूमा विवाह चल्दैन । कुटुम्ब फेला परेपछि फेरि लमीलाई नै अगाडि सारिन्छ । लमीका साथ विवाहयोग्य पुरुष र केही साथीहरूसहित दुई बोतल रक्सी लिएर कन्या माग्न जान्छन् । सबै कुरामा चित्त बुझे केटीको बाबुले सुनौली माग्छन् । छोरी दिएवापत लिइने रकमलाई सुनौली भनिन्छ । यसलाई सोतरित पनि भनिन्छ ।
यो रीत लिने प्रक्रिया हेर्दा पनि नेपालका अन्य समुदायभन्दा लिम्बू समुदायको विवाह संस्कार विपरीत देखिन्छ । अन्य र खासगरी सनातनी हिन्दु धर्मावलम्बीहरूको विवाह संस्कारका दुलही पक्षले आफूले सक्दो अझ दुलाहा पक्षले माग गरेअनुसार दाइजो दिनुपर्ने प्रचलन रहेको छ तर लिम्बू समुदायको विवाहमा भने दुलाही पक्षले माग गरेअनुसार दुलाहा पक्षले सुनौली रीत तिर्नुपर्ने परम्परा रहिआएको छ ।
लिम्बूहरूमा दुलही पक्षले सोतरितमा सुन चाँदीको गहनाका साथै नगद लिने चलन छ । आफूले दश महिना गर्भमा बोकेर जन्माई हुर्काई बढाएको सन्तान अरूलाई दिनपर्दा सोको क्षतिपूर्तिका रूपमा सोतरित लिइएको हो भन्ने मान्यता रहेको पाइन्छ । सोतरितलाई विवाह जीवन विमाको प्राचीन चलनको रूपमा पनि लिन सकिन्छ । छोरीलाई सौता हालेर वा परित्यक्त भएर लोग्नेबाट कदाचित अपहेलित हुनुपर्दा गहना पाएको यस्ता सुन, चाँदी र नगद तथा वस्तुले उसलाई बाँकी जीवन धान्न ठूलो सहारा दिन्छ (काँइला, २०७५, पृ.१३१–३२) ।
दुलही पक्षले माग गरेअनुसार सुनौली रित तिर्न सके मात्र वैवाहिक प्रक्रिया अगाडी बढ्छ । रित तिरेको कागज भपाई नै गरिन्छ । आजभन्दा एक सय ४८ वर्षअघि आफ्ना पुर्खाको विवाहमा रित तिरेको कागज लेखकसँग सुरक्षित रहेको छ । उक्त कागजमा यस्तो लेखिएको छः
स्वश्ति श्री सम्वत् १९३२ मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरित ति¥या पही
यस कागजमा विभिन्न २५ शीर्षकमा ९३ रुपैयाँ १२ आना रित तिरेको देखिन्छ ।
यी सबै प्रक्रिया पुरा भइसकेपछि कन्याका बाबुले आफ्नी छोरीलाई दुलही बनाई पठाउने स्वीकृति दिन्छन् । दुलाहाले आफ्नी भावी पत्नीका मान्यजनहरूलाई ढोग गरिसकेपछि विवाहको दिन निश्चित गरिन्छ । अनि दुलाहाले विवाहको लागि आफ्नी दुलहीलाई घरमा ल्याउने चलन लिम्बू समाजमा रहिआएको छ । लिम्बू समाजमा पहिले दुलाहाको घरमा भब्यतापूर्वक विवाह हुन्छ ।
विवाहसम्बन्धी नियम
लिम्बूहरूमा प्रचलित “सुहाफेमा लाहादाङ्मा” मुन्धुमअनुसार परापूर्वकालमा चेली–माइतीबीच यौनसम्बन्ध वर्जित थिएन । तर एक दिन लाहादाङ्मा नामकी ती वयस्क महिलाले रिसले कुकुरलाई कुचोले हिर्काइदिइन् । त्यसपछि कुकुर न्याय माग्नलाई कराउँदै जाँदा उसले चेली माइतीबीचको सम्बन्धको बारेमा पर्दाफास गर्दै “चेली माइती बिग्रिए है, यिनीहरूले धर्ती फोहर बनाए है” भनेर हल्ला फिजाइदिन्छ । त्यो कुरा चराचुरुङ्गी, रुखपात सबैले सुन्छन् । सबैले चेली माइती बिग्रिएकोमा गुनासो गर्छन् । चेली माइतीमा लज्जाबोध हुन्छ । त्यसपछि लिम्बू समाजमा विवाहसम्बन्धी एउटा कडा नियम बन्यो । लिम्बू मुन्धुमअनुसार पहिलो धार्मिक नेता येहाङले विवाहसम्बन्धी नियम बनाएका बनाए । यस नियमअनुसार बाबु र छोरी, आमा र छोराबीच तथा चेली र माइतीबीच विवाह निषेध गरियो । यस्तै सौतेनी चेली र माइतीबीच, काका, मामा, काकी, माइजू, फपू, सानीआमा तथा ठूली आमाबिचका छोराछोरीको विवाह निषेध गरियो । बाबुतिरको रगतको नाता तोड्न नहुने, आमातिरको सम्बन्ध चार पुस्तापछि मात्र विवाह खुल्ला गर्न सकिने नियम बन्यो (चेम्जोङ, २०६३, पृ.२३) ।

वि.सं. १९३२ मा ताप्लेजुङ हाङपाङका भगिवन्त लिम्बूको मेवाखोलाकी शुभहाङ्मा नामकी कन्यासँग विवाह हुँदा दुलाहा पक्षले दुलही पक्षलाई रीत तिरेको कागज । स्रोत: लेखक स्वयम्
यस्तो नियम अहिले पनि कडाइका साथ पालना गरिन्छ । यस्तो नियम आएपछि लिम्बूहरूमा चेली माइतीबिच फूल साटासाट पनि गर्नु हुँदैन भन्ने मान्यता रहिआएको छ । यसरी विवाहका लागि प्रस्तावित पुरुष र महिला पक्षमा हाडनातामा कुनै साइनो सम्बन्ध नभएको अवस्थामा दुई बिचको विवाह निश्चित गरिन्छ । विवाह निश्चित गर्नुअघि सूक्ष्म रूपमा साइनो केलाउने कार्य गरिन्छ ।
लिम्बूहरूको विवाहमा दुलहीलाई माइतीबाट अघिल्लै दिन ल्याएर एउटा अर्कै घरमा राखिन्छ । दुलहीसित उनका केटी साथीहरूको एक हुल आएका हुन्छन् । उनीहरूलाई ‘मेकेसामा’ (लोकन्दी ) भनिन्छ । साथमा दुई जना माइती पनि आएका हुन्छन् । लोकन्दीले दुलहीलाई सिँगार्छन् । लिम्बूहरूको विवाहमा च्याब्रुङ बज्छ । नौमती बाजा घन्कन्छ । जोर जोर बन्दुक पड्काइन्छ । त्यसपछि दुलाहा आफ्ना साथीहरूका साथ जहाँ दुलहीलाई ल्याएर राखिएको छ, त्यहाँ गएर दुलही ल्याई सेतो कपडा बिछ्याएर त्यसैमाथि हिँड्न लगाई आँगनमा भव्य स्वागत गरिन्छ । दुलही घरमा भित्रिएपछि मुन्धुमी प्रक्रिया सुरु हुन्छ । यस क्रममा फेदाङ्वाले मुन्धुम फलाक्दै विवाहको कर्म सम्पन्न गर्छन् । यस क्रममा लगन गर्दा केराको पातमा कुखुराको भाले पोथीलाई डडाल्नुमा हिर्काएर रगत झार्नुपर्छ । त्यसपछि भोग दिइएको कुखुराको मासुको आठ वटा टुक्रा दुलाहा दुलहीलाई खुवाइन्छ । यसलाई “सामुल्ला” भनिन्छ । यसको साथमा कोदोको जाँडको तोङ्वा पनि दुलाहा दुलहीलाई खुवाइन्छ । फेदाङ्वाले दुवै जना मिलेर बस्ने, एकअर्कामा हेलोहोचो नगर्ने, झगडा नगर्ने प्रतिज्ञा दुलाहालाई गराउँछ । दुलहीलाई पनि लोग्नेको शिर ठाडो बनाई इज्जतसाथ र बाँचुञ्जेल मिलेर बस्ने प्रतिज्ञा गराउँछ । यस्तो वाचा गराएर दुलहीको पोथाङ (पछ्यौरा)मा दुलाहाले चाँदीको एक मोहर बाँधिदिन्छ । यसलाई “युप्पारुङ याङ” भनिन्छ (श्रेष्ठ, २०६८, पृ.९९–१००) । यसलाई कतै कतै “युप्पालुङ याङ” पनि भनिन्छ ।
यसरी आफ्नो पछ्यौरामा बाँधिएको युप्पारुङ याङ वा युप्पालुङ याङ दुलहीले आफ्नो जीवनभर सुरक्षित राख्नुपर्छ । यदि दुलाहाले आफूले गरेको प्रतिज्ञा पालना नगरेको अवस्थामा दुलहीले त्यही चाँदीको मोहरले दुलाहाको निधारमा हाने दुईबिचको सम्बन्धविच्छेद भएको मानिन्छ । त्यसैले युप्पारुङ याङ लिम्बूहरूको विवाहमा दुलाहा र दुलहीबीच भएको एक प्रकारको करार पनि हो । यसले लिम्बू समुदायमा परम्परागत कानुनअनुसार सम्बन्धविच्छेदको अधिकार महिलामा निहित रहेको प्रमाणित गर्छ ।
लिम्बू जातिमा विवाहको बेला मात्र होइन, अन्य अवसर वा हाटबजारहरूमा भेट हुँदा कुनै पुरुषले आफूलाई मन परेकी महिलाको पछ्यौरामा यस्तो चाँदीका मोहर बाँधिदिए त्यसलाई विवाहको प्रस्तावको रूपमा पनि लिने चलन छ । पुरुषले चाँदीको मोहर आफ्नो पछ्यौरामा बाँधिदिदा महिलाले कुनै विरोध वा असहमति जनाइनन् भने त्यो विवाह प्रस्ताव उनीबाट स्वीकृत भएको मानिन्छ । तर आफूलाई त्यो प्रस्ताव स्वीकार भएन भने त्यसलाई आफ्नो पछ्यौराबाट फुकालेर फ्याँकिदिन उनी स्वतन्त्र हुन्छिन् । यसरी पछ्यौरामा बाँधिएको युप्पारुङ याङ फुकालेर फ्याँकिदिइन् भने उनले विवाहको प्रस्ताव अस्वीकार गरेको ठहर्छ । लिम्बू समुदायको विवाहमा पुरुषको जबरजस्ती चल्दैन ।
युप्पारुङ याङको कथा
युप्पारुङ याङसम्बन्धी रोचक कथा लिम्बू मुन्धुममा वर्णन गरिएको छ । जो यसप्रकार छः
फूलको सृष्टि कथाअनुसार धेरै अघि उमेरदार पुरुषहरू र महिलाहरू इम्विरी यङधङ (तमोर नदी)को दुई किनारामा बसेर प्रेमका गीत गाउँथे । जब हिउँदको समयमा हिमपात हुनथाल्थ्यो, तब नदीको दुई किनारामा रहेका बाँस नुहेर नदीमाथि पुलजस्तो बन्थ्यो । यसरी छोरा मान्छेहरू र छोरी मान्छेहरूबीच हिमपातबाट नुहेर बनेको बाँसको पुलबाट एकापसमा भेट हुने अवसर पनि जुर्थ्यो । एकापसमा भेट भएर उनीहरू ठूलो र फराकिलो सेतो ढुङ्गामा बसेर गाउँथे, नाच्थे । पिरती साँटासाँट गर्थे । त्यसै ढुङ्गालाई युप्पालुङ वा युप्पारुङ भन्न थालियो । जब एकापसमा भेट भएर सेतो, चेप्टो र फराकिलो ढुङ्गामा बसेर ती वयस्क युवा युवतीहरू नाच्दै जाँदा, गाउँदै जाँदा माया बस्न पुग्यो । उनीहरूले विवाह गर्ने निर्णय गरे । तर यसका लागि उनीहरूका सर्वशक्तिमान तागेरा निङ्वाफुङ माङले उनीहरूको एकापसको तौल बराबर हुनुपर्ने बताए । त्यसबेला पुरुषहरू महिलाहरूभन्दा वजनदार थिए । त्यसैले महिलाहरूलाई गहनापातले पुरापुर सजाएर पुरुषहरूले आफू समान बनाउनुपर्ने भयो । यसो गर्दा आफूभन्दा महिलाहरूको वजन बढी भइदिँदा पुरुषहरूले खुकुरी, ढाल, तरबारले आफूलाई सुसज्जित बनाउनु प-यो । यसरी एकापसमा सन्तुलित बन्नका लागि पुरुषहरूले महिलाको पछ्यौरामा चाँदीको मोहर बाँधिदिने चलन चल्यो । यसैलाई कतै युप्पारुङ याङ त कतै युप्पारलुङ याङ भन्न थालियो (सुब्बा, सन् १९९८, पृ. १२३) ।
यसबाट हेर्दा यो मुन्धुमको दर्शनले नारी र पुरुषबीच समानताको सिद्धान्तको झल्को दिन्छ । लिम्बू समुदायको विवाह संस्कारलाई सुक्ष्म रूपमा अध्ययन गर्दा पहिले महिला अधिकारलाई प्राथमिकतामा राखिएको देखिन्छ । तर आदिवासीहरूमाथि खासगरी सनातनी हिन्दु संस्कृतिको अतिक्रमण बढ्दै जाँदा र सोही अनुसार ऐन कानुनहरू बन्दै जाँदा लिम्बूहरूमा विद्यमान नारीपक्षधर परम्परागत कानुन र संस्कृति एकादेशको दन्त्यकथामा परिणत हुन पुगेको छ । लिम्बू विवाह संस्कारमा नारीपक्षधर रितिस्थितिहरू अहिले केवल सांकेतिक रूपमा मात्र व्यवहार गर्ने गरिएको छ ।
सन्दर्भ सामग्री
काइँला, वैरागी (२०७५) । माध्यमिक कालको लिम्बू बिहेको दस्तुर । “समन्वेषण”, अमर तुम्याहाङ र अरू (सम्पा.) । इक्साहाङ इक्मिसो बेघा थोबोजुम, काठमाडौँ ।
चेम्जोङ, इमानसिंह (२०६३) । किराँत इतिहास र संस्कृति । डिल्लीबहादुर लिवाङ र अरू, ताप्लेजुङ ।
सुब्बा, चैतन्य (सन् १९९८) । द कल्चर एण्ड रिलिजन अफ् लिम्बूज् । के.बी. सुब्बा, काठमाडौँ ।
श्रेष्ठ, शिवकुमार (२०६८) । लिम्बूवानको ऐतिहासिक अध्ययन । साझा प्रकाशन, ललितपुर ।