पुरुष सत्ताले महिलाको महानता गाएर गरेको सबैभन्दा ठूलो बेरुजु महिलालाई आर्थिक अधिकारबाट वञ्चित गर्नु हो । यो बेरुजुको हिसाबकिताब स्वयं महिलाले नै गरेर आफूमाथि भएको ऐतिहासिक ठगीको क्षतिपूर्ति लिनुपर्छ । तत्कालीन परिस्थितिमा हाम्रो समाजमा पैतृक सम्पत्तिमाथि छोरीको पनि समान अधिकारको कार्यान्वयनबाटै महिलालाई आर्थिक अधिकार प्राप्त हुने देखिन्छ । ओरिजिन अफ फेमिलीः प्राइभेट प्रपर्टी एन्ड द स्टेट मा फ्रेडरिक एङ्गेल्स निजी सम्पत्तिको अन्त्यसँगै महिलामुक्ति सम्भव हुने तर्क गर्छन् । उनका अनुसार निजी सम्पत्ति रक्षाका लागि निजी पत्नीको अवधारणामार्फत पुरुषले महिलालाई बन्धनमा राखेको हो । एङ्गेल्सको तर्क पनि महिलाको आत्मनिर्भरतासँगै जोडिन्छ ।
तिमी जति गर्न सक्छौ, त्यति म पनि गर्न सक्छु
तिमी जतिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त मभन्दा कोसौँ अघि गइसकेछौ
(पारिजात, ‘मानुषी’ कविताको अंश)
संस्कारमा बेरुजु
सनातन हिन्दु समाजमा विवाहलाई जन्म जन्मान्तरको सम्बन्धका रूपमा लिने गरिन्छ । विवाहमा जोडीलाई यस्तै शपथ लिन लगाइएको हुन्छ । यौवनमै पत्नीको निधन भएका पुरुषका हकमा भने यो बन्धन सजिलै तोडिन्छ । पत्नीको वर्षे काजकिरिया पनि नसकी अर्की पत्नी ल्याउन पतिलाई स्वतन्त्रता हुन्छ । यही कुरा महिलाका हकमा आजीवन बन्धन बन्छ । कुनै पुरुषसँग खुलेर हँसीमजाक गर्दा उसमाथि चरित्रहीनताको आरोप लाग्छ । सामाजिक बन्धन तोडेर भागीचोरी गर्नेबाहेक लोग्नेको मृत्युपछि पनि हुन सक्ने विवाहलाई अझै स्वाभाविक मानिन्न । आफ्नो सुविधाका लागि पुरुषले बनाएको थोत्रो संस्कारको पालना उसले गर्नुपर्छ । विवाह त समाज निर्मित संस्था भयो । प्रेम र यौन प्राकृतिक कुरा । विवाह संस्था बन्नुअघि पनि ती थिए । विवाहबिना पनि रहनेछन् । अतः हिन्दु समाजमा सतीसाध्वी ‘विधवा’ यो प्राकृतिकताबाट वञ्चित भई अनेक मानसिक जटिलतामा फस्न बाध्य हुन्छे । भागीचोरी विवाह गर्ने वा लुकिचोरी सम्बन्ध राख्ने घटना त अपवाद मात्र हुन् । यही अपवाद पनि जब पक्राउ पर्छ, उसले आफ्नो थातथलो छाडेर हिँड्नुपर्ने हुन्छ । सनातन समाजमा यसरी विवाहदेखि नै स्त्री मुक्तिको सुर्कौनी कसिँदै जान्छ ।
यो त भयो खस–आर्य समाजको परम्परा । प्रागऐतिहासिककालदेखि नै सत्तासीन जातिको परम्परा रहेकोले यो कथित उच्च जातिको नेवार, खसकरण हुँदै गएका जनजाति, खस दलित र समग्र नेपाली समाजकै परम्परा हुन पुग्यो । खासमा त्यो स्त्री जातिका लागि झ्यालखाना हो ।
जात व्यवस्थामा स्त्री
स्त्री मुक्तिको एक बाधक जात व्यवस्था हो । जात–व्यवस्थालाई नैतिकता र नियम मान्ने समाजमा जति ‘ठूलो’ जात, उति नै बढी स्त्रीको निजत्व निसासिन्छ । यस्तो समाजमा ब्राह्मण सबैभन्दा माथिल्लो जाति, त्यसमा पनि उपाध्याय ब्राह्मण सबैभन्दा उच्च हुन्छ । जनकलाल शर्माको पुस्तक हाम्रो समाज ः एक अध्ययन अनुसार ब्राह्मण पुरुषले रीत पु-याएर मागी बिहे गरी ब्राह्मण स्त्रीबाट जन्माएको सन्तान उपाध्याय ब्राह्मण नै हुन्छ । भगाएर ल्याएकी ब्राह्मण युवती, ‘विधवा’ ब्राह्मण युवती, कुमारी वा अर्काकी ब्राह्मण पत्नी, पुनर्विवाह भएकी ब्राह्मण युवती वा वैकल्या (बिहेको कुरा छिनिएपछि अस्वीकृत भई बिहे नभएकी) बाट ब्राह्मणले जन्माएको सन्तान जैसी हुन्छ । वर्णाश्रम र लोक व्यवहारमा जैसीलाई दोस्रो दर्जाको ब्राह्मण मानिन्छ । ब्राह्मण पुरुषले ठकुरी स्त्रीबाट जन्माएको सन्तान हमाल हुन्छ । क्षेत्री स्त्रीबाट जन्माएको सन्तान खत्री हुन्छ । शासक वर्गकी स्त्रीबाट जन्मेकाले हमाल कुलीन क्षेत्री मानिन्छ भने खत्री उच्च स्तरको क्षेत्री । ब्राह्मणले वैश्य र अन्य जनजाति स्त्रीबाट जन्माएको सन्तान साधारण क्षेत्री हुन्छ । जातको तहलाई मान्ने हो भने हिन्दु सनातन समाजमा बाबुले यसरी ‘बदमासी’ गर्दा छोराछोरीको जात घटुवा हुन्छ तर त्यसको माध्यम स्त्री हुने गर्दछन् ।
दलित युवतीसित बिहे गर्ने ब्राह्मण वा दलित पुरुषसँग बिहे गर्ने ब्राह्मण स्त्री र तिनका सन्तान सबै दलित नै हुन्छन् । गैरदलित युवतीसित प्रेम र विवाह गरेको प्रतिक्रियामा हत्या गरिएका काभ्रेका अजित मिजारका हजुरबा रामबहादुर ढकाल जन्मले ब्राह्मण थिए । बाटुली मिजारसित प्रेमविवाह गरेपछि जात घटुवा भएर उनी स्वयं दलित भए अर्थात् जातप्रथाअनुसार दलितसित बिहेपछि उसका सन्तान सबै ‘अछुत’ हुन्छन् । राणाकालसम्म यस्ता ब्राह्मणलाई चारपाटे मुढेर, जुत्ताको माला लगाई गधामा उल्टो बसाएर डाँडा कटाउने चलन थियो ।
ब्राह्मण, जैसी र क्षेत्रीले आफूभन्दा ‘निम्न’ तर ‘पानी चल्नेसम्म’ जातकी स्त्री बिहे गरेर सन्तान जन्माए त्यस्तो सन्तान क्षेत्री हुन्छ । तर, शासक वर्ग भएकाले ठकुरी स्त्रीले ब्राह्मण वा जैसी पुरुषबाट जन्माएको सन्तान पनि उपाध्यायबाट जन्माएको सन्तानसरह हमाल नै हुन्छ । यसरी जात प्रथामा स्त्रीविरोधी परम्परा बलवान् हुँदै जान्छ किनभने यस व्यवस्थामा विजातीय स्त्रीसँग ब्राह्मणको सम्बन्धबाटै जातीय उचनिचको स्थिति पैदा हुन्छ ।
नेवार समुदायमा इहि
स्त्री जातिको मुक्ति, गरिमाबोध र स्वतन्त्रतामा सामाजिक रीतिथितिले पनि ठुलो भूमिका खेलेको हुन्छ । नेवार समुदायमा भएको इहिको चर्चा गरौँ । नेपालभाषामा ‘इ’ भनेको समय र ‘हि’ भनेको रगत हो अर्थात् यो नेवार कन्याको रजश्वला हुनुअघिको कर्म हो । नेवार समाजमा महिलाको तीनपल्ट बिहे हुन्छ । पहिलो बिहे बेलसँग, दोस्रो बिहे रजश्वला हुनुअघि बाह्र दिनको गुफावासपछि पहिलो पल्ट सूर्यदर्शन (भिंबाह्रा) सँगै सूर्यसँग र तेस्रो बिहे पुरुषसँग । बेल र सूर्यसँग बिहे भएपछि यौवनमै पतिको मृत्यु भए पनि ऊ कहिल्यै ‘विधवा’ हुँदिन र अर्को बिहेका लागि योग्य हुन्छे भन्ने मान्यता छ ।
संस्कारहरूको अर्थ प्रतीकात्मक हुन्छ । स्वरूपमा ती अन्धविश्वासी पनि हुन्छन् । यही मान्यता पुरुषका हकमा किन लागु हुँदैन ? भन्ने प्रश्न पनि उठाउन सकिन्छ । तर परिणाममा यो मान्यता नारी स्वतन्त्रताको हकमा तुलनात्मक रूपले अग्रगामी छ ।
हालै सम्पन्न ‘चितौन कचेहेरी’मा मैले यो कुरा उठाउँदा दुई जना प्रतिष्ठित नारीवादीले ‘खस–आर्यले नारीलाई एकपल्ट बन्धनमा पार्छन्, तपाईंहरू तीनपल्ट पार्नुहुन्छ, यो झन् खतरनाक छ’ भन्नुभयो । मलाई लाग्छ, उहाँहरू परिणाममा भन्दा प्रतीकमा अर्थात् सारमा भन्दा रूपमा बढी अल्झिनु भयो । एकपल्ट मात्र बन्धनमा बाँधिनु तर यौवनमै पतिको मृत्यु भए पनि आजीवन विरहीनी ‘विधवा’ जीवन बिताउन बाध्य हुनुभन्दा तीनपल्ट बन्धनमा बाँधिएर पनि ‘विधवा’ जीवन बिताउन नपर्ने चलन धेरै अग्रगामी हो ।
सुदूर पश्चिमका थारू जातिमा त जवानीमै पतिको मृत्यु भए पत्नीले आफूलाई मन परेको श्रीमान् घरमै ल्याउन पनि पाउँछन् । राई, लिम्बु लगायत जनजातिमा पतिको मृत्यु हुँदा कुनै पनि स्त्री विधवा हुँदैनन् ।
स्त्री निजत्व
केही समययता मैले बारम्बार हेरेको एउटा सिनेमा हो, दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ । मरिसकेको मान्छेलाई भेन्टिलेटरमा राखेर महँगो शुल्क असुल्ने अस्पतालको माफियातन्त्र, पैसा तिर्न नसक्दा लास समेत नदिई मुसालाई रजाइँ गर्न दिने हदको क्रूरता, बिरामी वा मृतकको आफन्तको निरीहता, तिनीहरूप्रति पलाउने सघन सहानुभूति र सरकारी संयन्त्रमा संवेदनाको हरिबिजोगले फिल्म सुरु भएदेखि अन्त्यसम्मै दर्शकलाई संवेदनाले निथ्रुक्क रुझाउँछ । यसमा एउटी दुखिया आमा छिन् जो ब्रेन हेमरेज भएका पतिलाई उपचार गराउन काठमाडौँ लिएर आउँछिन् । अर्की पात्र विवाह भएर काठमाडौँ बसिरहेकी अर्ध–रोजगारी छोरी छिन् । तेस्रो पात्र दलाललाई पैसा खुवाएर जङ्गलै जङ्गल ल्याटिन अमेरिकाका विभिन्न देश हुँदै अमेरिका छिरेको निरीह छोरा छ, जो बाबुको मृत्यु हुँदा समेत घर फर्कन पाउँदैन । बिरामीको मृत्युपछि १२ लाख रुपियाँ तिर्न बाँकी हुँदा अन्तिम संस्कार समेत गर्न नपाएको र मृत पतिको शव मुसाले खाएको चोट सहन नसक्दा हृदयाघातले पत्नीको समेत निधन भएको दुःखान्त यहाँ शब्दमा वर्णन गर्न असम्भव छ । सिनेमाले शब्दमा व्यक्त नगरी महिलालाई आर्थिक अधिकार कति जरुरी छ भन्ने आवाज बुलन्द पारेको छ ।
हालसालै प्रदर्शनमा आएर लोकप्रिय भएको सिनेमा ‘जारी’ले लिम्बू समाजमा स्त्रीजातिको निजत्वबारे धेरै कुरा उजागर गर्छ । नामसाङ र हाङ्माको विवाहित जीवनमा एउटा समस्या हुन्छ– बिहे भएको पाँच वर्षसम्म पनि उनीहरूको बच्चा हुँदैन । नामसाङ हाङ्मालाई नब्याउने भैँसीसँग तुलना गर्दै ‘थारी’ भनेर मानमर्दन गर्छ । हाङ्मा पनि नामसाङलाई ‘नामर्द’ भन्छे । यही निहुँमा लोग्नेले मारपिट गरेपछि विवाह बन्धनको चिनो चाँदीको सिक्का (युप्पारुङ) मिल्काएर हाङ्मा आफ्नो बाटो लाग्छे । हाङ्माले यसो गर्नुको संकेत हो– तेरो र मेरो बिहे टुट्यो ।
लिम्बू समुदायको विवाहमा बेहुलाले एउटा मोहोर सिक्का बेहुलीको पछ्यौरीको कुनामा बाँधिदिन्छ । त्यो बाँध्दा फेदाङ्माले भनेको हुँदोरहेछ, ‘यो सिक्का सधैं साँचेर राख्नू । यो तिम्रो विवाहबन्धनको चिनो हो । पछि श्रीमानले तिमीलाई हेलाँ गर्यो वा सौता राख्यो भने यही सिक्काले उसको निधार फुट्नेगरी हान्नू र आफ्नो बाटो लाग्नू’ (डम्बर चेम्जोङ, कान्तिपुर कोसेली) । हाङ्मा माइत बस्न थालेपछि हाटमा धाननाच गर्दा ख्यालीमा अर्को केटाले जिती उसलाई जारी गरेर लैजान्छ । हाङ्माको यसरी दोस्रो बिहे हुन्छ । तर माइतीले जारी तिर्न नसक्दा हाङ्मा आफ्नै पूर्वलोग्नेको घरमा नोकर बस्न आउँछे । त्यहाँ उसले अनेक अपमानजनक स्थिति बेहोर्नु पर्छ ।
उता, भारतीय निर्देशक महेश भट्टको सिनेमा ‘अर्थ’ले नारी–पुरुषबीच परम्परागत पूर्वी सम्बन्धलाई ठूलै धक्का दिन्छ । पूजा मलहोत्रा नामकी साधारण गृहिणी आफ्ना पतिलाई असीम प्रेम गर्छे तर विज्ञापन निर्माता इन्दर पूजालाई धोका दिएर मोडल कवितासँग गृहस्थी बसाउन चाहन्छ । आफू बसेको घर कविताको पैसाले किनिएको थाहा पाएपछि पूजा घर छाडेर क्रूर समाजसँग जुध्न तयार हुन्छे । अनेक बाधा आइलाग्छन् तथापि ऊ स्वाभिमान र चरित्र दुवै जोगाएरै सङ्घर्ष गर्छे । सहृदय मित्र राजको सहयोगले नोकरी पनि पाउँछे । चाँडै नै कविता इन्दरसँगको सम्बन्ध तोड्छे । इन्दर फर्केर फेरि पूजासँग दाम्पत्य जीवन जोड्न चाहन्छ तर असमान सम्बन्धबीच प्रेम टिक्न सक्दैन भनेर पूजा उसलाई अस्वीकार गर्छे । राजको प्रेमपूर्ण निवेदनलाई पनि विनम्रतापूर्वक अस्वीकार्दै ऊ आत्मिक शान्ति र स्वतन्त्रताको बाटो हिँड्छे । पूजाले भने कुनै समय आफ्नै कामदार रहेकी महिला (पछि जेल परेकी हुन्छे) की छोरीलाई आफ्नो सन्तान स्वीकार्छे । प्रेम गर्ने क्षमता भए बच्चा नजन्माई आमाको सुख प्राप्त गर्न सकिन्छ भन्ने उसलाई तत्त्वबोध हुन्छ ।
बेरुजुको हिसाब
जसरी ‘आकाश देखाइरहेको तर्जनी चन्द्रमा हुँदैन’
उसरी नै सिदा पाएको मुक्ति मुक्ति हुँदैन
तेज धारको नदीले सीमा भत्काएझैँ
यो महानताको लेखामा जब गर्ने छिन्
स्वयं तिनले सारा बेरुजुको हिसाब–किताब
तब नै इतिहासको सबभन्दा ठूलो ठगी
पर्ने छ एक दिन पक्राउ
(‘देवी र मुक्ति’ कविताको अंश)
संस्कृति स्त्रीमैत्री हुनु महत्त्वपूर्ण कुरा हो । तथापि त्यसले मात्र स्त्रीको मुक्ति हुँदैन । नारीवादी महिलाहरू पुरुषलाई चुनौती दिँदै भनिरहेका हुन्छन्, ‘हामीले छोटो लुगा लगाएकैले बलात्कार बढ्यो भन्ने तिमीहरू को ? हामी कपाल लामो पालौँ वा छोटो बनाऊँ; छोटा स्कर्ट लगाऊँ वा साडी; क्लिभेज देखाऊँ वा छोपौँ; यस्तो लगाऊ, उस्तो नलगाऊ भन्ने तिमीहरू को ? यस्तो लगाउँदा तिमीलाई सुन्दरी देखिन्छ, उस्तो लगाउँदा कुरूप देखिन्छ भन्ने तिमीहरू को ?’ निश्चय पनि नारीवादीले उठाएका यी सवाल जायज छन् । महिलालाई स्वतन्त्रता हुनुपर्छ । तर, महिला मुक्तिको मूल आधार देहसँग जोडिएको स्वतन्त्रता मात्र होइन, यो नारी स्वतन्त्रताको एक अंश र रूप मात्र हो । मुख्य आधार समान आर्थिक अधिकारको हो ।
पुरुष सत्ताले महिलाको महानता गाएर गरेको सबैभन्दा ठूलो बेरुजु महिलालाई आर्थिक अधिकारबाट वञ्चित गर्नु हो । यो बेरुजुको हिसाबकिताब स्वयं महिलाले नै गरेर आफूमाथि भएको ऐतिहासिक ठगीको क्षतिपूर्ति लिनुपर्छ । तत्कालीन परिस्थितिमा हाम्रो समाजमा पैतृक सम्पत्तिमाथि छोरीको पनि समान अधिकारको कार्यान्वयनबाटै महिलालाई आर्थिक अधिकार प्राप्त हुने देखिन्छ । ओरिजिन अफ फेमिलीः प्राइभेट प्रपर्टी एन्ड द स्टेट मा फ्रेडरिक एङ्गेल्स निजी सम्पत्तिको अन्त्यसँगै महिलामुक्ति सम्भव हुने तर्क गर्छन् । उनका अनुसार निजी सम्पत्ति रक्षाका लागि निजी पत्नीको अवधारणामार्फत पुरुषले महिलालाई बन्धनमा राखेको हो । एङ्गेल्सको तर्क पनि महिलाको आत्मनिर्भरतासँगै जोडिन्छ ।
हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकृत नागरिकता ऐनअनुसार महिलाले आफ्नो नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउन चार वटा सर्त पूरा गर्नुपर्छ । सन्तान नेपालमै जन्मेको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान नभएको हुनुपर्ने र बाबुको पहिचान नभएको घोषणा गर्नुपर्ने । पुरूषले भने आफ्नो नागरिकता देखाएर सजिलै सन्तानलाई नागरिकता दिलाउन सक्छ । कानुनी रूपमै यसरी असमानता हुँदा अरू असमानता फराकिलो हुँदै जान्छ ।
महिला मुक्तिका लागि कानुनी, आर्थिक र सांस्कृतिक तीनै अधिकार अनिवार्य छन् । कानुनी अधिकारले महिलालाई हरेक संरचनामा समानुपातिक सहभागिताको अवसर दिन्छ र आर्थिक अधिकारको बाटो खुलाउँछ । सांस्कृतिक अधिकारले मुक्ति दिलाउँछ । आर्थिक अधिकारले त्यसलाई टिकाइराख्छ । आर्थिक अधिकारबिनाको महिला मुक्ति लहड मात्र हुन्छ । कुनै समय ऊ पुरुषको अधीनबाट मुक्त भए पनि पछि उसकै शरणमा जान बाध्य हुन्छे ।
‘अर्थ’ सिनेमाकी पूजा पूर्वपतिले गरेको नक्कली प्रेम निवेदनलाई अस्वीकार गर्न कसरी सक्षम भई ? किनकि ऊ आर्थिक रूपले आत्मनिर्भर थिई ।
‘जारी’ सिनेमाकी हाङ्मा लोग्नेबाट छुट्टिए पनि किन उसैकहाँ अपमान झेल्दै नोकर बस्न बाध्य भई ? अथवा ‘आमा’ फिल्मकी आरतीले विपत्मा परेकी आमालाई सघाउन खोज्दा किन बारम्बार अपमान झेल्नुपर्यो?
किनकि यी दुवै पात्रहरू आर्थिक रूपले परनिर्भर थिए । हाङ्मालाई तुलनात्मक रूपमा हामी मुक्त देख्छौँ । तथापि सांस्कृतिक अधिकार भए पनि आर्थिक अधिकार नहुँदा उसको मुक्ति दिगो हुन सकेन ।