कसले भन्यो-
म मान्छे हुँ?
तिमीले भन्यौ,
म छोरी हुँ– अर्काको घर जाने
हुन्छ भनेँ, घरधन्दा सिकेँ
गाईवस्तुलाई झैं गोठ सारिदियौ
म गएँ, लुरुक्क तिलहरीको पासोमा बाँधिएर
उसले भन्यो,
तँ स्वास्नी होस्– मैले तेरो जिम्मा लिएँ
हो त भनेँ र छायाँ बनेँ नतमस्तक
सम्हाल्दै उसलाई सशरीर हराएँ
म वंश बढाउने जैविक यन्त्र बनेँ
उनीहरू भन्छन्,
तपाईं हाम्री आमा हो
म झस्कन्छु,
के भन्दैछन् यिनीहरू?
आ….मा…. तपाईं हाम्री आमा हो आमा!
मेरो आँखामा हेर्दै जब दोहोर्याए यी शब्द तिनले
म बहुलाएँ,
हो हजुर, म बहुलाएँ त्यही दिन
कसरी भन्नु मैले
म जन्मँदा नासो जन्में सन्तान होइन
म हुर्कें गर्भाशय बन्न
म बाँचे बिलाउन उज्यालो संसारमा
अनि जब आज भन्छन्
तपाईं हाम्री आमा हो – हाम्रो जीवनको सत्य
भन्न सकिनँ मैले
“होइन, होइन म तिमीहरूकी आमा”
हजारौं शुक्रकिटलाई हराएर जन्मेकी
एक डिम्बा मात्र हुँ म
जन्मदर बढाउने वैधानिक यौनदासी हुँ म
कसरी हुनसक्छु म आमा कसैकी
जब हजुरले नै मलाई होइनस् तँ कदापी भन्नुहुन्छ
आमाको नामबाट नागरिकता दिन सधैं डराउनुहुन्छ
हजुरले नै अब भनिदिइबक्स्योस् प्रभू
म सिर्फ एउटा गर्भाशय हुँ
म उनीहरूकी आमा हैन
उनीहरू मेरा सन्तान हैनन्
भनिदिइबक्स्योस् ख्वामित
कि उपरान्त मलाई आमा नभनियोस्
नत्र यहाँ पगलीहरूको संख्या बढ्नेछ
र हजुरलाई अवश्य ज्ञान छ-
के हुन्छ यहाँ पागलबस्तीहरूमा!
मर्जी गरिबक्स्योस् हे सर्वशक्तिमान
कि छैनन् कोही यहाँ आमा
कि कदापी हैन म आमा कसैकी!
साभार उद्धृत ; ९ असार २०७२ सेतोपाटी