हजुरआमाका पनि हजुरआमाहरूले
हजुरआमाका पनि हजुरआमाहरूले
सदियौँदेखि मौनधारण गरेर
दौरासुरुवाल र जुँगालाई राज गर्न छुट दिइरहे ।
मारे पाप पाले पुण्यका मन्त्रहरू जप्दै
बिषवृक्षहरू उमार्न मद्दत गरिरहे
हजुरआमाका पनि हजुरआमाहरूले
हजुरआमाका पनि हजुरआमाहरूले
हातमा कङ्गन खुट्टामा कल्ली लगाएर
गृहस्थीको चारकिल्लाभित्र बाँधिएर
हजुरबाका पनि हजुरबाहरूलाई
हजुरबाका पनि हजुरबाहरूलाई
सबै कुराको छुट दिइरहे
परिणाममा
घमण्डका पारो ह्वात्तै बढेर
हिंस्रक पशुमा अनुदित भएर
आफ्नै घरको बगैचामा फूलेका
सुन्दर फूल र कोपिलाहरूलाई समेत
मनपरि कुल्चिन थालेको देखेर पनि
मनपरि निमोठेर फ्याकेको देखेर पनि
आफ्नै अगाडि अस्तित्व लुटिरहेको देखेर पनि
मौनधारण गरेरै बसिरहे
कतिखेर साइनो सबै हिंस्रक पशुमा अनुदित हुन्छ?
पत्तै नपाउने अहिलेको युगमा
आफ्नै हजुरबुबाको अनुहारसँग
साख्खै बाबुको अनुहारसँग
सहोदर दाजुभाइको अनुहारसँग
काका मामाको अनुहारसँग
असाध्यै डरलाग्न थालेको छ
हजुरआमाका पनि हजुरआमाहरूले
हजुरआमाका पनि हजुरआमाहरूले
मौनधारण गरेको देखेर
मेरी आमाले समेत पनि
मौनधारण गर्न सिकेकी छिन्
अब त अति नै भयो
म त एक्काइसौं शताब्दीकी छोरी र नातिनी हुँ
हजुरआमाका पनि हजुरआमाहरूले
हजुरआमाका पनि हजुरआमाहरूले
र, मेरी आमालेजस्तै गरी
मौनधारण गर्न कदापि सक्तिन म
पितृसत्तात्मक समाजले दिएको
कुप्रथाका गरुँगो भारी चुपचाप बोकेर
हिँड्न पनि चाहन्न म
कुसंस्कारका गरुँगो सारी
चुपचाप लगाएर बाँच्न पनि
चाहन्न म
हजुरआमाका पनि हजुरआमा
हजुरआमाका पनि हजुरआमा हुँदै
आमासम्म आइपुग्दा
उहाँहरूलेजस्तै अनगिन्ती पीडाका घुँटहरू
चुपचाप पिएर कदापि बस्न सक्तिन म
हिंसाका अनेकन रूपहरू चुपचाप सहेर
कदापि बस्न सक्तिन म
आफ्ना तमाम सपनाहरूको गला दबाएर
आफ्ना तमाम इच्छा र आकांक्षालाई मारेर
चुपचाप मलामी हिँड्न कदापि चाहन्न म
सबै प्रकारका हिँसा सहेर
मौनधारणा गरेरै बस्न कदापि सक्दिनँ म
चाहे आफ्नै हजुरबा होस्
वा आफैंलाई जन्मदिने बा नै होस्
मलाई कुल्चिन आएको खण्डमा
मलाई निमोठ्न आएको खण्डमा
हजुरआमाका पनि हजुरआमाहरूले
हजुरआमाका पनि हजुरआमाहरूले
हुर्काउन मद्दत गरेका बिषवृक्षहरूलाई
जरैदेखि उखेलेर फ्याक्नेछु
मर्यादाका सबै पर्दाहरू उघारेर
आफ्नो आवाज बुलन्द पार्नेछु
एक एक गर्दै सबैलाई कठघरामा उभ्याउने छु
र, दण्डको फैसला सुनेपछि
हजुरआमाका पनि हजुरआमाहरूले
हजुरआमाका पनि हजुरआमाहरूले
सदियौँदेखि गर्दै आएका मौनधारणलाई तोड्दै
जितको दुन्दुभि बजाउँदै फूल र कोपिलाकै साथमा रहेर
जिन्दगीको मीठो गीत गाउनेछु
जिन्दगीसँग मीठो प्रीत लाउनेछु
जिन्दगीसँग मीठो प्रीत लाउनेछु !