नयाँ बर्ष लाग्नु भनेको नयाँ क्यालेन्डर फेरिनु हो, चौवालिस सिद्धिएर पैतालिस लाग्नु हो । परिवर्तनशील संसारमा परिवर्तन सधैँ भई नै रहन्छ । वैशाख १ गते मात्र नयाँपन लिएर अथवा कुनै विशिष्ट परिवर्तन लिएर आउने होइन । यो साधारण र सधैँ झैँ उस्तै दिन हो । तथापि यस दिन खुसियालीहरू मनाउने र शुभकामनाहरू आदान प्रदान गर्ने गरिन्छ। म पनि लिने दिने औपचारिकता पुरा गर्छु । यो अमूर्त भावना शुभकामना अँगालो भरिभरि दिएर पनि हात सानु, मन सानु गर्न नपर्ने कहिल्यै नसिद्धिने, राख्नलार्इ भाँडा भकारी नचाहिने। सोच्यौँ भने यसको पनि कुनै अर्थ छैन। यो शुभकामनाले कसैलाई शुभ हुने पनि होइन । यथार्थमा यस खोक्रो शुभकामनाको पछि एउटा गहिरो अर्थ लुकेको सम्झनुपर्छ, अर्थात् केही शुभ चिताउनेहरू पनि हुन्छन् ।यस संसारमा मुखमा मुस्कान छरेर छातीभरि छलकपट थुपार्नेहरू शुभचिन्तक होइनन् । पवित्र हृदयले शुभकामना दिनुपर्छ । म पनि एउटा शुभचिन्तक हुँ, त्यसैले शुभकामना नयाँ बर्षको मेरो पनि सबै सबैलाई, मेरो मन पवित्र छ यसको प्रमाण म आफै मात्र तर मेरो मन खण्डित छ । जसरी असङ्ख्य महिलाहरूको अस्मिता खण्डित छ यस देशमा, मेरा आँखाहरू भिजेका छन्, जसरी असङ्ख्य महिलाहरूका आँखा सधैँ भिजेका हुन्छन् । खण्डित मन र भिजेका आँखाहरूको अभिव्यक्ति लिएको मेरो शुभकमना सबै घाइते अस्मिताहरूलाई ।
यस देशका अधिकांश पुरुषहरू विदेशमा शरिर बेचेर खान्छन् । यो एउटा निकृष्ट परम्परा वर्षौँदेखि छ देशमा । अन्तराष्टिृय महिला दशकपछि नेपालले विकास गरेको एउटा प्रमुख विकास, महिला भौतिक अस्मिताहरूको बेचबिखन । सोझो भाषामा भन्ने हो भने वेश्यावृत्तिको बढ्डो विकास दलित जातिका युवतीहरू अधिकांश तामाङ्, त्यसपछि कामी, दमाईं थोरै मात्र अरू जातिका युवतीहरू जाली फटाहाहरू दलालद्वारा अपहृत हुँदै बम्बै, दिल्ली, कान्पुर आदि भारतका महानगरीहरूमा बेचिन्छन् । त्यति मात्र होइन, अब त बैँकक र अरबमा पनि । सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, क्रमशः रसुवा, मकवान्पुर रित्तिँदैछ । युवकका मात्र होइन, आज देशका युवतीहरू पनि देशको एक कुनाबाट चुहिँदै, पोखिँदै जाँदैछन् । सुनिन्छ, गरिबीको मारमा परी महिलाहरू पनि आफु राजिखुसी बेचिदैछन्।भन्नुको तात्पर्य शरिर बेच्ने परम्परा कायम हुँदैछ । गरिब देश्, थोरै कमाइ, निम्नस्तरको आधी पेट आहार्, फाटेको गुन्युँ चोली र रात दिनको श्रम, उसमाथि पारिवारिक बुहार्तन कति खपुन् कलिला अस्मिताहरू । सुख हुनेहरू सुख शयलमा हुर्कँदा छन्, अगस्ती खाँदा छन, सुतिसुती दिन बिताउँदा छन्, उनीहरूलाई के वास्ता देशको जनशक्तिको, जता बेचियोस् । जता पोखियोस् ।
स्वार्थी हुन्छन् पैसावालाहरू त्यसैले त पैसाका खातमा सुत्छन् ।हैकमवाल किन सोच्छन्, यी लुटिएका बेचिएका अस्मिताहरूका बारेमा ? त्यसको त हैकम कायम छ । आफ्ना सहोदार चेलिबेटी आफुले सिन्दुर हालेर ल्याएकी श्रीमतीसम्म बेचेर उनीहरूको कमाइ खान थालिसकेका पौरखदारीहरूलाई खोइ म कुन शब्दकोशबाट के शब्द खोजेर उनीहरूको भत्सना गरूँ ?
यो त नयाँ बर्ष हो, मलाई त शुभकामना दिनुछ । रुँदै, हाँस्दै, दुख्दै जसरी भए पनि दिनुछ । म शुभचिन्तक हुँ । मजस्तै अरू पनि होलान्, आउनुस् हातेमालो गरौँ । घाइते अस्मिताहरूलाई सुरक्षा दिने कोसिस गरौँ । मायालु वातावरण बनाऊँ, आपसमा जुझारु मनस्थिति तयार पारौ ।।। ।।।।।अपराधीहरूसँग भिड्न । अन्त्यमा शुभकामना अपहृत हुनेहरूलाई, बेचिनेहरूलाई, बलात्कृत हुनेहरूलाई । रातोदिन काम गर्नेहरूलाई, फारोतिरो गर्नपर्नेहरूलाई, लोग्नेको कुटाइ खानेहरूलाई, अन्य पिडा भोग्न्नेहरूलाई र सबै दु;खी, पिडित्, व्यथित र व्याकुल अस्मिताहरूलाई ।