महिलाको मुक्तिको सवाल होस् या देशकै स्वतन्त्रता, दुवैको अन्तर्यमा ती पुरानो या कुनै नयाँ प्रकृतिको औपनिवेशवादको भूमिका रहेको हुन्छ भन्ने ज्ञात भयो । मैले यौन, राजनीति, अर्थशास्त्र, इतिहास, धर्म र नैतिकता बिचको अन्तःसम्बन्धको चक्र पनि बुझ्न थालेँ ।
आमा भन्थिन्, म शान्त स्वभावकी थिएँ, जो बोली फुट्नु अघिसम्म घण्टौँ आफैसँग एक्लै गुनगुनाउदै बसिरहन्थेँ । जब मेरो बोली फुट्यो, म आमाबुबाले उत्तर दिन नसक्ने अनेक प्रश्न गरिरहन्थेँ; जस्तो कि म कहाँबाट आएँ ? अथवा मेरा मृत हजुरबा कहाँ जानु भो ? र किन मेरो दाजुले मभन्दा बढी स्वतन्त्रता र मान पाउँछ ?
जब म पढ्न लेख्न सक्ने भएँ, मैले आफ्नै लागि कथा लेख्न थालेँ, जसका मूल पात्रहरू मेरा आमा, बा र मेरा आठ दाजुभाइ, दिदीबहिनीहरू हुन्थे । म सिसाकलमले परिवारका सदस्यहरूको मुहारचित्र कोर्ने गर्थेँ । मलाई आफू वरपर भएका मानिसहरूको मुहारचित्र कोर्ने उत्कट इच्छा हुन्थ्यो । मेरो मस्तिष्कमा गहिरो छाप पारेका, मेरो दृष्टिकोण निर्माणमा सहायक भएका, मैले देखेका सम्पूर्ण घटना र आफ्नै मनमा उठेका भावहरू सबैलाई आफ्नो लेखाइमार्फत् अभिव्यक्त गर्ने गहिरो चाह थियो ।
मेरी आमा एक बौद्धिक र महत्वाकाङ्क्षी महिला थिइन् । तब उनका सबै चाह उसै बिलाइगए, जब उनका पिताले मेरा पितासँग बिहे गराउनका निम्ति सत्र वर्ष लाग्दै उनलाई विद्यालयबाट छुटाइदिनुभयो । तुलनात्मक रूपमा उनको वैवाहिक जीवन सुखद नै भए तापनि बौद्धिक या प्राविधिक महत्त्वसहितको महिलामा दरिने पुरानो सपनाले जीवनभरि उनलाई सताइनै रह्यो ।
सम्भवतः मेरी आमाको महत्वाकाङ्क्षी गुण ममा सरेको छ । म सानो छँदा आमाबाट बारम्बार सुन्ने गर्थेँ, उनी प्लेन चढेर सारा संसार डुल्ने चाहना राख्थिन् अथवा म्याडम क्युरी जस्तै एक विख्यात वैज्ञानिक हुन चाहन्थिन् या उनी एक प्रसिद्ध पियानिस्ट, कवि, कलाकार अथवा सर्जक यस्तै केही हुने चाह राख्थिन् ।
मेरी आमाले विवाहलाई एक संस्थाको रूपमा तारिफ गरेको मैले कहिल्यै सुनिनँ, भलै उनका नजरमा मेरा पिता एक आदर्श लोग्ने नै थिए । उनी अत्यन्त ग्रहणशील थिइन्, जसले मेरा पितालाई एक दुर्लभ पुरुषका रूपमा लिने गर्थिन् । उनी आफ्नो माताको बन्दी सरहको दुःखदायी जीवनको साक्षी भएकी थिइन् । मेरी आमा विवाहलाई घृणा गर्थिन् किनकि उनकी माताले विवाह महिलाका निम्ति चिहानघारी भएको भन्दै सराप्ने गरेको उनले सानैदेखि सुन्नुपरेको थियो ।
त्यसकारण बाल्यकालमा म पनि विवाहलाई घृणा गर्थें र कहिल्यै दुलहीको जोडा नपहिरिने सपना बुन्थेँ । त्यसको साटो म भने भौतिकशास्त्री, लेखक, कलाकार, कवि, सङ्गीतकार या नर्तकी हुने कल्पनामा डुब्दथेँ ।
सन् १९५५ मा चौबिस वर्षको उमेरमा जब मैले मेडिकल स्कुलबाट पढाइ पुरा गरेँ, मभित्र आदर्श र सपनाको चाङ लागेको थियो; कुनै गरिब र रोगग्रस्त गाउँमा गई उनीहरूको निशुल्क उपचार गर्न चाहन्थेँ । बरु आफू पनि त्यस्तै रोगले नमरुन्जेल दिनरात रोगीको सेवा गर्ने इच्छा राख्थेँ ।
मभित्र निरन्तर स्वर मच्चाइरहेका सपनाहरूलाई मैले पढ्ने गरेका उपन्यासहरूले पुष्ट बनाउने काम गरेका थिए । मैले एउटा गाउँमा आफ्नो काम सुरु गरेँ तर केही वर्षमा मलाई के ज्ञान भयो भने किसानहरूको रोगको उपचार त उनीहरूको गरिबीको निदानपछि मात्र सम्भव छ । त्यही बिन्दुमा मैले विद्यमान तमाम गरिबी र अचेतनाका विरुद्ध लड्न औषधिभन्दा बलियो हतियार त लेखाइ रहेछ भन्ने महसुस गरेँ ।
मैले कविता लेख्न थालेँ । त्यसपछि कथा, उपन्यास र नाटक पनि लेखेँ । लेख्नु मेरा लागि आक्रोशको निकास थियो । दमनले मलाई अत्यन्त आक्रोशित बनाउँथ्यो, महिला र गरिब माथिको दमन । म प्रेमका विषयमा लेख्ने गर्थेँ । प्रेम, जो महिला र पुरुष बिचको सम्बन्धमा मात्र निहीत हुन्न । म स्वतन्त्रता र न्यायको पक्षमा वकालत गर्थेँ, जसको अभावमा जीवनको कुनै महत्त्व नै रहन्न ।
तत्पश्चात् मैले प्रेम र राजनीतिको सम्बन्ध पहिल्याएँ । गरिबी र राजनीतिका बिचको सम्बन्ध पनि । यौनिकता र राजनीतिको जन्जाल पनि । त्यस राजनीतिक व्यवस्थाप्रति म छर्लङ्ग भएँ, जहाँ पुरुषले महिलाको इच्छा विपरीत आफ्नो चाहना लाद्छ, गरिब र बेसहारामाथि गरिबी र दासत्व थोपर्दछ । पछि मेरा सामु राष्ट्रिय अन्तराष्ट्रिय शासक बिचको सम्बन्ध र राजनीति पनि खुले । साथमा पत्ता लाग्दै गयो, वैश्विक साम्राज्यवादको निर्माण कसरी हुन्छ ? वर्ग शोषण र परिवारभित्र पितृसत्ताको दमन कसरी परिचालित हुन्छ ।
महिलाको मुक्तिको सवाल होस् या देशकै स्वतन्त्रता, दुवैको अन्तर्यमा ती पुरानो या कुनै नयाँ प्रकृतिको औपनिवेशवादको भूमिका रहेको हुन्छ भन्ने ज्ञात भयो । मैले यौन, राजनीति, अर्थशास्त्र, इतिहास, धर्म र नैतिकता बिचको अन्तःसम्बन्धको चक्र पनि बुझ्न थालेँ । सायद त्यसैकारण म संलग्न भएका विभिन्न सरकारी जिम्मेवारीबाट निकालिँदै जेलतिर लतारिएँ । मेरा पुस्तकहरूको जफत हुनुका साथै म कालो सूचीमा सूचीकृत पनि भएँ ।
कुनै पनि प्रकाशकले मेरो कृति छाप्ने आँट गर्न नसक्दा मेरा प्रखर लेखनीहरू दराजका घर्राहरूमा उसै थन्किए । ती मुख्यतः समाज निषेधित विषयहरू सम्बद्ध थिए (यौन, राजनीति, धर्म) ।
सरकारले लिएको कदमका विपरीत मेरा लेखहरू भारी मात्रामा अरबी जनतामाझ मोरक्कोदेखि अल्जेरिया, इजिप्ट, सुडान, इराक, सिरिया र यमन सबैतिर फैलिएको थियो । ती साउदी अरेवियामा धरी छिरेका थिए । यही कार्य नै अरब सरकारले मलाई शत्रु ठान्न काफी भयो, जुन शत्रुता मेरो लेख पढ्ने मानिसको सङ्ख्या (महिला, पुरुष र युवाहरू) बढेसँगै झन् गाढा बन्दै गयो ।
त्यही शासकीय शक्तिले मलाई मेरा पाठकबाट टाढा राख्ने प्रयत्न पनि गर्यो । म त्यस राजनीतिक शक्तिको निशानामा परेँ, जसले इजिप्ट लगायतका अरब राष्ट्रलाई सधैँ दमन गर्दथ्यो । ममाथि गरिएका प्रहारका अनेक हत्कण्डा मध्येको एक हो, अफवाहको समर । शक्तिकेन्द्रले ममाथि महिलालाई यौन स्वतन्त्रताको माग गर्न र अनैतिक कार्यका निम्ति उचालेको आरोप लगायो । वास्तवमा मैले जे जति लेखेँ, ती सब महिलालाई एक यौन वस्तुको रूपमा हेर्ने, यौन उत्तेजना र उपभोगका साधन हुन् भन्ने मान्यताको विरुद्ध थियो । अझ मैले त महिलाले गर्ने श्रृङ्गारसम्मको पनि विरोध गरेको थिएँ । म त महिलालाई पुरुषको शारीरिक भोक साम्य पार्ने शरीर, बच्चा जन्माइदिने साधन र दाससरह काममा जोतिने व्यक्ति भन्दा परको एक बौद्धिक जीव बन्नका लागि सदैव प्रेरित गर्थेँ ।
मैले के महसुस गरेँ भने अन्याय र दमनका विरुद्ध मैले उठाउन सक्ने एक शक्तिशाली हतियार भनेको कलम हो तर फेरि लेखन भनेको अति व्यक्तिगत कार्य पनि हो, जसले मानिसलाई आफ्नै ऐकान्तीयतामा डोहोर्याउँदै जीवनका सङ्घर्षहरूबाट टाढा पनि लैजान सक्छ । त्यस किसिमको ऐकान्तिकपनालाई छल्नका खातिर सन् १९८२ मा मैले ‘अरब उमन्स् सोलिडारिटी एसोसियसन’को स्थापना गरेँ । हामीले अरब महिलाको रूपान्तरणका खातिर काम गरिरहेका छौँ । हाम्रो उद्देश्य हो, “महिला शक्ति–ऐक्यबद्धता–चेतनाको उजागर” (पावर अब उमन–सोलिड्यारिटी–अन्भेलिङ अब दि माइन्ड) ।
शक्ति आवश्यक छ, किनकि शक्तिको अभावमा नै अधिकार गुम्छ तर अधिकार बेगरको शक्ति निरङ्कुशता हो । ज्ञानले शक्ति निर्माण गर्ने हुँदा चेतना पनि उत्तिकै आवश्यक छ । जबसम्म दिमागमा पर्दा झुन्डिरहन्छ, महिला (या पुरुष) लाई आफ्नो अधिकारका विषयमा जानकारी हुनु असम्भवप्रायः छ ।
… …
लेखन मेरा लागि अत्यन्त महत्त्वको चिज हो, विवाह या डाक्टरीभन्दा पनि बढी महत्त्वपूर्ण । आफ्नो लेखन कर्मलाई अघि बढाउनका लागि यदि मैले विवाह या डाक्टरीबाट पाखा लागेँ भने त्यो खास अनौठो हुने छैन । मैले मेरो पेशालाई पूर्णरूपमा छाडेको त छैन तर खासै धेरै समय पनि दिएकी छैन । मैले विवाहलाई पुरा इन्कार नगरे तापनि त्यस व्यक्तिसँगको विवाहलाई दुत्कारेकी थिएँ, जो मेरो लेखनमा बाधक बनिदिए ।
मेरा मातापिता तुलनात्मक रूपमा खुकुलो स्वभावका भए तापनि कहिलेकाहीँ जब उनीहरू मेरो स्वतन्त्रतालाई बाँध्न खोज्थे, तब उनीहरूसँग मेरो घम्साघम्सी नै पर्थ्यो । एउटा उदाहरण दिन्छुः मैले मेरो परिवारको स्वीकृति बेगर नै पहिलो श्रीमानसँग बिहे गरेँ र आफ्नो निर्णयप्रति पूर्ण जिम्मेवारी पनि लिएँ । त्यो विवाह पारपाचुकेसँगै अन्त भयो, किनभने त्यो व्यक्ति मैले कल्पना गरे जस्तो भएन । उनी ममाथि बन्देज लगाउँथे र साथमा मेरो सृजनाकर्मको बाटोमा बाधक बनी उभिएका थिए । उनीबाट एउटी छोरी जन्मेकी थिई । ऊ सानै भए पनि म त्यस घरबाट निस्किएँ । छोरी च्यापेर म धेरै समय एक्लै बसेँ । त्यसपछि मैले दोस्रो विवाह गरेँ तर एक दिन उसलाई पनि त्यागेँ । त्यस दिन मेरो दोस्रो लोग्नेले भनेको एउटा कुराको सम्झना हुन्छ, “तिमीले म या तिम्रो लेखनमध्ये एकलाई छान्नुपर्छ ।” मैले बिनाकुनै हिच्किचाहट जवाफ फर्काएँ, मेरो लेखन ।” त्यस बखत म गर्भवती भएका कारण भ्रूणबाट छुटकारा पाउन गर्भपतन गराएँ । पुनः कहिल्यै विवाह नगर्ने निर्णय लिएँ तर केही वर्षपश्चात् मैले एक पूर्णरूपमा मुक्त व्यक्ति भेटेँ, जो सन् १९६४ मा मेरा तेस्रा श्रीमान् भए । हाम्रो एउटा छोरा भयो । त्यसैले यतिखेर मसँग एक छोरी र एक छोरा छन् ।
… …
सामान्यतया हाम्रो देशका महिलाका हकमा लोग्नेहरू नै स्थायी बन्दीगृह हुन् । यहाँ महिलालाई अविवाहित रहन ज्यादै मुस्किल पर्छ । उनीहरूका निम्ति वैवाहिक सम्बन्ध बाहिरको माया र यौन सम्बन्धहरू पुरापुर बन्देज हुन्छन् तर पुरुषहरू भने यी सबका लागि स्वतन्त्र छन् । मैले आफ्नो लेखाइमा यस्तै द्वैध नैतिक चरित्रका विरूद्ध लडेकी छु । महिलाले स्वतन्त्र हुन र दमनबाट मुक्ति पाउनका लागि भारी मूल्य चुकाउनै पर्छ । मूल्य चुकाएरै सही मैले भने कसैको दासत्व सहनुभन्दा स्वतन्त्रताको मार्ग रोजेकी छु । यदि मूल्य चुकाउनु नै छ भने दासत्वका लागि नभई किन स्वतन्त्रताका लागि नचुकाउने ?
(नवाल एल सादवीको द रिडर (१९९७) पुस्तकको परिचय खण्डको केही अनुदित अंश ।
अनुवादक: कुमारी लामा )