Asmita Magazine

#

जीवन सङ्घर्षका मिहीन अनुभूतिहरूको लय

(व्यक्तिचित्र: मीना आचार्य )

“हामी प्रत्येकको समाजसँगको सङ्घर्ष भावी न्यायपूर्ण समाजको निर्माणमा न्यायपूर्ण सामूहिक कदमको एक अंश हो” ।

अस्मिता पत्रिकाको २०५२ सालको असार अङ्कमा प्रकाशित डा. मीना आचार्यको यस भनाइले समाज परिवर्तनका निम्ति प्रत्येक जिम्मेवार र सचेत नागरिकको प्रतिरोधी चेतनाको आवश्यकतालाई इङ्गित गर्दछ । लगभग तीन दशक समयावधिपछि आज पनि उहाँ यही विचारमा अडिग हुनुहुन्छ । त्यस दिन अप्रत्यासित रूपमा दर्केको वैशाखे झरी झेल्दै, दिइएको ठेगाना पहिल्याउँदै हामी पुगेका थियौँ डा.मीना आचार्यको घर । महानगरीय भीड र कोलाहलमाझ पनि एकान्तमय वातावरण र उहाँको शान्त वैठकमा भएको भलाकुसारीमा उहाँको उर्जाशील विगत एक पटक फेरि स्मरण भएथ्यो । अस्मिता यात्राको प्रारम्भिक समयदेखिका शब्द सारथी, उहाँसँगको यो भेटको उद्देश्य पनि अस्मितासँगै जोडिएको थियो । उहाँको विषयगत विशिष्टताको महत्त्वपूर्ण पक्षसँगै उहाँको जीवन बचाइका सङ्घर्षभित्रका मिहीन अनुभूतिको लय पक्रन भनी झरीको सङ्गीतमा उहाँका साहसी कर्मका गीत गुन्गुनाउँदै हामी उहाँको सङ्गतमा पुगेका थियौँ । उहाँका अध्ययन, अनुसन्धान र व्यवहारिक विश्लेषणले विशिष्ट रूपमा महिलाका सुषुप्त राखिएका समस्याहरूलाई सन् १९७० को दशकबाटै वाचाल बनाउन थालेका थिए, अर्को शब्दमा भनौँ भने उहाँले महिला अधिकारका निम्ति आफूलाई सक्षम र सबल बनाएर तर्कपूर्ण रूपले समाज र राजनीतिलाई प्रभावित पार्ने क्षमता राख्नुभएको थियो, यस आधारमा उहाँ समाज परिवर्तनका निम्ति सबल र अनकूल योद्धा हुनुहुन्थ्यो, उहाँको त्यो अविचलित व्यक्तित्व पचासी वर्ष पार गरिसकेको स्थितिमा पनि उत्तिकै प्रभावकारी, उत्तिकै स्पष्ट, सन्तुलित र सहअस्तित्वका निम्ति दृढ रहेको छ ।

मूलतः नेपालका महिलाहरूको दुःख र पीडाको फेहरिस्ता केलाइनसक्नुको छ । एक विशेषज्ञका रूपमा आचार्य यसबारे अझ बढी जानकार हुनुहुन्छ । अर्थशास्त्रको विद्यावारिधि उहाँले नेपालको कुना कन्दराका महिलाको अवस्था, क्रियाशीलता, शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था, लगायत विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान र विश्लेषण गर्नुभएको छ । विशेषज्ञको सुझावका आधारमा महिलका लागि आवश्यक नयाँ नीति नियमहरू तयार भएका छन् । सन् १९७९ मा प्रकाशित उहाँको दि स्टेटस अब उमन इन नेपाल भोल्युम वान, स्ट्याटिस्टिकल प्रोफाइल अब नेपलिज उमनः ए क्रिटिकल रिभ्यु पुस्तकले नेपाली महिलाको अवस्थाबारे मननीय विश्लेषण गरेको छ ।

नेपालमा विद्यमान् महिला विभेदी कानुनका कारण उहाँ आफू स्वयंले केही समय देश र प्रेमका नाममा नागरिकतासम्बन्धी सङ्घर्ष गर्नुपरेको घटना उहाँ स्मरण गर्नुहुन्छ । २०१८/१९ सालतिर उहाँ सरकारी छात्रवृत्तिमा मस्कोमा अध्ययनरत हुनुहुन्थ्यो । त्यसै समय एक रुसी नागरिकसँगको प्रेमलाई उहाँहरूले विवाहमा परिणत गर्ने निर्णय गर्नुभयो । अध्ययन पुरा भएपछि भने नेपाल नै फर्किएर देश सेवामा लाग्ने उहाँको चाहना थियो । प्रजातन्त्र प्राप्तिका निम्ति राणा विरोधी गतिविधिमा संलग्न पिता टङ्कप्रसाद आचार्यको जेलकालीन समय थियो त्यो । र, आमा रेवन्तकुमारी आचार्यको सङ्घर्षपूर्ण जीवनलाई जेठो सन्तानका रूपमा उहाँले नजिकबाट अनुभूत गर्नुभएको थियो । आमाबाट सञ्चारित देशप्रेमको भावले उहाँको बाल्यकाल ओतप्रोत थियो । पतिको राजनीतिक अभीष्ट र राणातन्त्रको त्रासदीय कारवाहीमा एकप्रकारले घरबारविहीन भएको त्यस्तो अवस्थामा पनि आमा रेवन्तकुमारीले राति सुत्ने समयमा संसारका सङ्घर्षशील सफल महिलाहरूको जीवनगाथा सुनाउने गर्नुहुन्थ्यो ।त्यसैक्रममा आमाका “धेरै पढेर देशसेवामा समर्पित हुनु” भन्ने भनाइलाई मन्त्रजस्तै लिनुभएको थियो उहाँले । यस्तो परिवेशबाट अघि बढेको एक होनहार युवा पढाइपछि देशकै सेवामा समर्पित हुन चाहनुहुन्थ्यो तर त्यसबखत नेपालको कानुनमा विदेशी नागरिकसँग  विवाह गरेको नेपाली महिलाको नागरिकता स्वतः खारेज हुने व्यवस्था थियो । यस किसिमको प्रतिकूल अवस्थामा पनि उहाँ नेपाली नागरिकता र पासपोर्ट कायम राखी रूसी नागरिकसँग विवाह गर्ने दृढतासाथ नागरिकतासम्बन्धी अधिकारका निम्ति प्रस्ताव लिएर अघि बढ्नुभयो । सम्भवतः देशप्रेमको उपल्लो चेतना नभएको भए उहाँले त्यस खाले अड्डी कस्नु पर्ने थिएन सायद । विवाहका निम्ति परिवारबाट पनि असहमति भएन । यसरी सानैदेखि आमाले (मूलतः) जगाइदिनुभएको आत्मसम्मानले नागकितासम्बन्धी लैङ्गिक विभेदजन्य कानुनका विपरीत गएर उभिन र लड्न उहाँलाई साहस दियो । धेरै समयको झमेला र झम्मार बेहोरेपछि अन्ततः उहाँले चाहेअनुसार नै नेपाली नागरिकता कायम राखेरै विवाह गर्ने अनुमति प्राप्त गर्नुभयो (अस्मिता, २०५१ पुष अङ्क, पृ. २१) । नेपालमा नागरिकतासम्बन्धी यस किसिमको केस उहाँकै पहिलो थियो । तत् पश्चात विदेसीसँग विवाह गरेको नेपाली महिलाको नागरिकता स्वतः खारेज हुने पहिलेजस्तो कानुन पनि खारेज भयो । यस घटनाले नेपालको कानुनमा महिलाको अवस्थाबारे स्पष्ट मात्र पार्दैन, महिला हकहितका पक्षमा महिला स्वयम् सचेत भएर पहलकदमी गर्न प्रेरित पनि गर्दछ । देशको नियम र कानुन नै महिलाविभेदी भएको बेला ठुलो सङ्घर्ष र आँट लिई अघि बढ्नुभएको आचार्यले आफ्नो विज्ञताअनुसार विभिन्न अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाताका रूपमा कार्य गर्नुभएको छ ।

महिला अधिकार, स्वतन्त्रता र सशक्तीकरणका क्षेत्रमा जीवनभर बौद्धिक कसरतमा लाग्नुभएको आचार्य एक खुला पुस्तकसरह हुनुहुन्छ । उहाँले आफ्ना जीवनका धेरै पाटाहरू लेखमार्फत् सार्वजनिक गर्नुभएको छ । दश वर्षसम्म नेपालमा रहेर आफ्नो देश फर्कन चाहने आफ्नो रसियन जीवनसाथीको भावनालाई सम्मान गर्दै पारपाचुकेको प्रस्तावलाई स्विकृति दिने उहाँले आफ्नो सहज जीवनभन्दा माथि जन्मभूमि र जन्मदाताहरूलाई राख्नुभयो । पारपाचुकेपछिको  एक्लो जीवन र छोरीलाई हुर्काउँदै अघि बढ्दाको समय निश्चिय नै सहज थिएन । आफ्नी सानी छोरी स्कुलबसमा केटासँगको सिटमा बसेकै कारणले सजायँ दिने शिक्षकसँग उहाँले बेलाबेला बालिका मनोविज्ञानलाई हतास हुन नदिने पक्षमा लड्नुपर्थ्यो । तथापि कहिल्यै हतास भएनन् उहाँका दृढनिश्चयी पाइलाहरू । उहाँभित्रको प्रतिरोधी चेतनाले सधैँ बाटो देखाएको थियो । उहाँ समाजमा भएका अनेकन विभेद, विसङ्गतिलाई चिर्दै अघि बढ्नुको विकल्प देख्नुहुन्नथ्यो । जीवनभर उहाँ महिलामाथि भइरहेको नीतिगत विभेदको विरुद्ध तथ्यगत तर्क र विश्लेषणमा खरो उत्रनुभयो ।  त्यसैले उहाँले लिनुभएको बाटो मानव चेतनाको विकासको पक्षधरता हो ।  “विकास भनेको मानव चेतनाको पनि विकास हो, भौतक साधनको लागि अन्धो आराधना होइन” (“उहिलेको कुरा अहिले”, २०५१) । देशमा भएका तमाम सामाजिक राजनीतिक परिवर्तनपछि पनि आजको टड्कारो आवश्यकता चेतना विकासको नै छ । जति नै प्रविधिमुखी बजारको विकास भएर समानताको सिद्धान्तमाथि बहस गरिए पनि पितृसत्तात्मक समाजमा महिला विभेदपूर्ण व्यवस्था आज पनि कायमै छन् । अझ उपभोक्तावादी समाजको विकृतिको जालोमा महिला स्वतन्त्रता उल्झिनेक्रम बढेको छ । महिला अधिकार र न्यायपूर्ण समाज निर्माणका लागि लामो समय नीतिनिर्माणको तहमा रहेर काम गर्नुभएका आचार्यले उठाउनुभएको महिलाभित्रको विविधताको विषय आज पनि उत्तिकै पेचिलो र समाज सापेक्ष छ ।

भलाकुसारीको क्रममा वैशाखे दर्के झरी रोकिसकेको थियो तर निरन्तर थियो हाम्रा जिज्ञासाहरू । त्यसै बखत उठिहाल्यो उहाँको एक्लो जीवनको प्रसङ्ग ।

पछिल्लो जिन्दगीबारेको जिज्ञासा थियो हाम्रो— कोही साथीबारे सोच्नु भएन ?

सतासी वर्षे उमेरलाई चुनौती दिएको त्यो शक्तिशाली वार्ताबिच थोरै झिझ्याटको शैलीमा छोटो उत्तर आयो, “महिलालाई कहाँ सजिलो छ र, अझ समाज र देशका निम्ति समर्पित महिला परेँ म त ।” सामाजिक राजनीतिक परिवर्तनको फेहरिस्तामाझ के आज पनि अझ खुम्चिएकै हो त महिलाको स्वतन्त्रता ? एक शिक्षित र आर्थिक रूपमा सशक्त हुनका निम्ति आफूले गरेका प्रयत्नहरू बिच पनि महिलाको व्यक्तिगत स्वतन्त्रताका हकमा किन यसरी सवालहरू उठिरहन्छन् ? प्रश्नका अनगिन्ती लहर उठ्दै बिलाउँदै गरेको हाम्रो मनलाई उहाँले चलाएका अभियानका अनेकन स्वरूप र त्यस प्रयासको सफलताको इतिहासले गौरवपूर्ण उत्तर दिइसकेको थियो ।

त्यसदिनको बसाइमा धेरै कुराहरू उज्यालामा आए । नेपाल राष्ट्रबैङ्कको जिम्मेवारीपूर्ण पद सम्हाल्दै देशको विकासका सवालमा दीर्घकालीन आर्थिक नीतिहरू निर्माणका तहसम्म उहाँले पु-याएको योगदान, समाजमा लैङ्गिकताको एकपक्षीय दृष्टिकोणलाई विशिष्टीकृतभित्र सामान्यीकरण गर्न उहाँले गरेका प्राज्ञिक र व्यवहारिक सत्कर्महरू हाम्रा आगामी यात्राका निम्ति मार्गदर्शक हुन् । यहाँले अर्थशास्त्र विषय नै किन पढ्नुभयो भन्ने प्रश्नको जवाफ दिनेक्रममा उहाँले पढ्दै गरेको गणित र विज्ञान विषय परिवर्तन गर्नुपरेको बताउँदै भन्नुभयो, “तिमीहरू जजसलाई गणित (ज्यामिति) आउँदैन, आफ्नो टाउको माथि किताब राखेर घनले हिर्काउनु” भन्ने गणित पढाउने एकजना भारतीय शिक्षकका कारण आफूले त्यो विषय छाडेको बताउनुभयो । त्यसपछि आफूसँग विकल्पमा रहेका अरू विषयभन्दा अर्थशास्त्र ज्यादा विज्ञान सम्मत् लागेकाले त्यही विषय लिएर आफ्नो अध्ययनलाई अघि बढाएको बताउनुभयो । राष्ट्रबैँकदेखि विश्वबैंक तथा विश्वविद्यालयदेखि  विकटका गाउँ कन्दरासम्म टेकेर महिला अधिकार, लैङ्गिक समानता र सहअस्तित्वसम्बन्धी अनुकरणीय कर्म गर्ने आचार्य भन्नु हुन्छ, “आफ्नो अधिकारका निम्ति सधैँ लड्नुपर्छ तर अरूको अधिकारलाई पनि इज्जत गर्नुपर्छ, त्यसोगरे मात्र आफ्नो अधिकारको आनन्द लिन सकिन्छ ।”

नेपालमा आर्थिक–सामाजिक र राजनीतिक समस्याका अनेक स्वरूप छन् । अझ अर्को नयाँ समस्या थपिएको छ, हामी स्थानीयताबाट विमुख हुँदै गइरहेका छौँ । हाम्रा स्रोत र उपभोग मात्र विदेशी छैनन्, हाम्रो सोच र समाधान पनि विदेशी शैलीतिर मुखर हुँदै गइरहेका छन् । नेपाली समाज, अर्थ र राजनीतिभित्र पसेर यसको शल्यक्रिया गर्ने अर्थशास्त्री आचार्य आफ्नै देशमा जग बनाएपछि मात्र विदेशतिर भएका पहलकदमीतिर नजर लगाऊँ भन्ने पक्षमा हुनुहुन्छ ।

अस्मिताको नयाँ यात्रामा उहाँले हाम्रो टिमलाई दिनुभएको शुभकामना र प्रेरणाका निम्ति हामी उहाँप्रति कृतज्ञ छौँ ।

 

प्रस्तुति

कुमारी/गीता

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के