मधेसी समाजको संरचना पनि पितृसत्तात्मक छ । मधेशी समुदायमा हरेक टोल र गाउँमा पञ्चहरू रहने व्यवस्था छ, जसले गाउँमा उत्पन्न हुने द्वन्द्वका समस्याहरूमाथि मेलमिलाप गराउने काम गर्छन् । खासमा त्यो अनौपचारिक न्यायालयकै रूपमा मानिन्छ । तर ती पञ्चहरूमा कहिले पनि महिला हुँदैनन् । पञ्च मात्रै होइन, त्यस्ता पञ्चैतीमा महिलाको उपस्थिति पनि बर्जित गरिएको हुन्छ ।
महिलाबारे हुने बहस तथा छलफलहरू पछिल्लो समयमा झाँगिएको छ । महिला अधिकार र सशक्तीकरण लगायतका विषयहरूमा विचार गोष्ठी, तालिमहरू प्रशस्त हुने गरेका छन् । पत्रपत्रिकाहरूमा पनि महिलाका सवालहरूले स्थान पाइरहेका छन् । महिला सशक्तीकरण र अभियानका लागि संघ संस्थाहरू छ्यापछ्याप्ती खुलेका छन् । यसले महिलाको संवैधानिक तथा राजनैतिक अधिकार प्राप्त गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गदै आएका छन् । त्यस्तै विगत सय वर्षको महिला आन्दोलनले नागरिकता, सम्पत्तिमा महिलाको समान अधिकार, राज्यको हरेक निकायमा महिला प्रतिनिधित्वको व्यवस्था लगायतका धेरै उपलब्धिहरू प्राप्त गर्न सफल भएका छन् । यसले महिलाहरूको सशक्तीकरण र सचेतनामा अत्यन्त महत्त्वपूर्ण भुमिका निर्वाह गदै आएका छन् । लैंगिक समानताका लागि जे जति प्रयासहरू भइरहेका छन्, यसलाई निरन्तरता र व्यापक बनाउँदै लानु जरुरी देखिन्छ, तर महिलाहरूको संवैधानिक र राजनैतिक अधिकार सुनिश्चिित हुँदैमा महिलालाई हेर्ने दृष्टिकोण र व्यवहारमा खासै परिवर्तन आउन सकेको देखिँदैन । परिवार, समुदाय र राज्यव्यवस्थामा रहेको पितृसत्तात्मक संरचना र सोचले अझै पनि प्रभुत्व जमाइरहेको छ । यस व्यवस्थाले महिलाको जीवनस्तरलाई दोयम दर्जामा पुर्याएको छ, तर यसबारे बहस छलफल कमै हुने गरेको छ । अझ मधेसी समुदायमा पितृसत्तात्मक संरचना र सोच बढी कठोर हुने गरेको छ । तसर्थ मधेसी समुदायमा रहेको पितृसत्ताको गहिराइ बुझ्न त्यहाँको लैङ्गिक सम्बन्ध, मूल्य मान्यता, संस्कृति र सामाजिक संरचना बुझ्न जरुरी छ । पितृसत्ताको अवधारणा, बुझाइ, प्रभाव र यसले मधेसी महिलामा पारेको प्रभाव विषयमा यो आलेख केन्द्रित रहेको छ ।
मधेसी समुदाय र पितृसत्ता
मैथिली, भोजपुरी, अवधी, उर्दू, थारू, राजवंशी आदि मातृभाषा बोलिनेलाई मधेसी मानिन्छ । देशको कुल जनसङ्ख्थाको लगभग एक तिहाई जनसंख्या मधेसी समुदायको रहेको छ । मधेसी समुदायको अधिकांशको बसोबास तराईको मैदानी क्षेत्रमा भारतको सिमानासँग जोडिएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म (२० जिल्ला) मधेसमा पर्दछ । मधेसी समुदायभित्र पनि जातीय, धार्मिक, भाषिक विविधता रहेको छ । त्यहाँको जातीय विविधता हेर्दा मधेसी उच्च जात, मध्यम जात, मधेसी आदिवासी जनजाति, मधेसी दलित र मुश्लिम जातिहरू छन् । त्यहाँको संस्कृति, परम्परा, मूल्य मान्यता, वैवाहिक परम्परा फरक प्रकारका छन् । मधेसी महिलाको पहिरन पनि पहाडी समुदायभन्दा फरक प्रकारका छन् ।
सन् २००४ मा कमला भासिनद्वारा प्रकाशित “पितृसत्ता के हो ?” पुस्तक अनुसार पितृसत्ता भनेको पिता या ‘कुलपति‘ परिवारको बुजु्रक पुरुषको सत्ता वा शासन हो । यस्तो शब्द पुरुष प्रधान परिवार बुझाउन प्रयोग गरिन्छ । पुरुष प्रधान परिवारमा घरको पुरुष सर्वेसर्वा हुन्छ भने महिला र बच्चाहरू त्यसको मुनि हुन्छन् । पुरुष प्रधान परिवारमा पुरुषले महिलाहरूलाई दबाउने गरिन्छ । महिलाहरूलाई निम्न दर्जाको व्यवहार गरिन्छ । दक्षिण एशियाका देशहरूमा हिन्दी भाषामा यसलाई पितृसत्ता भनिन्छ भने उर्दुमा पिद्रशाही तथा बङ्गालीमा पितृतौन्त्रो भन्ने गरिन्छ । नेपालमा पनि पितृसत्ता नै भनिन्छ (भासिन, २००४, पृ. १) ।
परिवार तथा समाजमा पुरुषको सर्वोच्चता कायम रहनुलाई पितृसत्ता भनिन्छ । पितृसत्ता पुरुषको वंश परम्परामा आधारित हुन्छ भने महिलाहरू पुरुषको इशारा, आज्ञा, आदर्श र निर्देशनमा चल्दछन् । परम्परागत रूपमा हेर्दा पितृसत्ता बाबु वा पतिद्वारा महिला, केटाकेटी र अन्य सदस्यमाथि प्रभुत्व कायम गरी संचालन हुने परिवारलाई बुझाउँदछ, तर वर्तमान सन्दर्भमा पितृसत्तालाई महिला र पुरुषबिचका प्रत्यक्ष शक्ति सम्बन्धका आधारमा विश्लेषण गर्ने गरिएको छ । पितृसत्ताले सिर्जना गरेका मूल्य मान्यता र परम्पराहरू समाज, परिवार, समुदाय, राज्य, राष्ट्र तथा विश्वभरि चल्दछन् (शर्मा, ढुगांना, २०६८, पृ. ९६५) ।
अपराजिता पारिजात पुस्तकमा आहुतिले लेखेको लेख ‘महिला मुक्ति ः नवीन जागरणका चुनौती’ मा उनले पितृसत्ताका बुझाइबारे भनेका छन्, “पितृसत्तावादका मूल रूपमा तीन वटा अवधारणा छन्, जसका आधारमा महिलामाथिका शोषण र उत्पीडनलाई नैतिक वैधता दिइँदै आएको छ ।” उनले भनेका ती तीन अवधारणा यस्ता छन्:
महिला सुन्दर प्रजातिको अवधारणा
पितृसत्तावादले महिलालाई सुन्दर प्रजाति र पुरुषलाई बलवान् प्रजातिको रूपमा चित्रण गर्दछ । यो अवधारणा पितृसत्तावादी व्यवस्थाले लगातार रटाएर सिर्जना गरेको विभ्रम हो । त्यसको व्याख्या गर्ने अधिकार केवल पुरुषले मात्र पायो, महिलाले पाइन । पुरुषले मात्रै व्याख्या गर्ने भएकाले उसलाई महिला सुन्दर लागेकाले महिलालाई सुन्दर लेख्यो ।
पितृसत्तावादले महिलालाई सुन्दर प्रजाति र पुरुषलाई बलवान् प्रजातिको रूपमा चित्रण गर्दछ । यो अवधारणा पितृसत्तावादी व्यवस्थाले लगातार रटाएर सिर्जना गरेको विभ्रम हो । त्यसको व्याख्या गर्ने अधिकार केवल पुरुषले मात्र पायो, महिलाले पाइन । पुरुषले मात्रै व्याख्या गर्ने भएकाले उसलाई महिला सुन्दर लागेकाले महिलालाई सुन्दर लेख्यो । त्यसैगरी महिलालाई बलजफ्ती शासन गर्न पुरुषले बल प्रयोग गरेकाले र अन्तत ः दासत्वका कारण त्यो पुरुष बलवान् वा शक्तिशाली भन्ने अवधारणा स्थापित भयो । यो अवधारणा महिलामाथि शोषण उत्पीडन गर्न भावभूमि तयार पार्ने एउटा गतिलो हतियार बन्न पुगेको छ । महिलाहरू आफु सुन्दरी बन्ने ध्याउन्नमा जे जस्तो पहिरन लगाउन पनि तयार भइरहेका छन् ।
जन्मले महिला कमजोरको अवधारणा
महिला जन्मिँदै पुरुषभन्दा शारीरिक र बौद्धिक रूपमा कमजोर हुन्छन् । महिला र पुरुषको शरीर बनावट फरक छन् किनभने प्राकृतिक रूपमा उनीहरूका दायित्व फरक छन् । महिलाको शरीर प्रजनन् निम्ति पाठेघर र स्तनपानका निम्ति स्तनसहितको छ । पुरुषको त्यो दायित्ववाला शरीर छैन, त्यसैले कुन शक्तिशाली भनेर तुलना गर्न नै मिल्दैन । त्यसकारण महिला शरीर कमजोर भएकाले शोषित उत्पीडित हुन्छन् भन्ने अवधारणा नै त्रुटिपूर्ण छ । बरु पुरुषमा रहन पुगेको एकलौटी सम्पत्ति, सत्ता र संस्कृतिको बलमा महिलाको शरीर कमजोर भन्ने अवधारणा लादिएको हो र महिलाभित्रै पनि त्यो अवधारणाको घातक खिल पुगेको मात्र हो ।
महिला भोग्या हुन् भन्ने अवधारणा
सामन्तवादी पितृसत्ताले लामो समय लगाएर शास्त्रीयकरण गरेर महिला भोग्या हुन् अथवा पुरुषले भोग्नका निम्ति निर्मित हुन् भन्ने अवधारणा जनजनमा संस्कारका रूपमा प्रशिक्षित ग¥यो । त्यसलाई पुँजीवादले कायमै राखेको छ । भोग्याको यस अवधारणाले पहिलो रोजाइ र निर्णयका निम्ति पुरुषलाई अग्राधिकार दिन्छ । यौनमा पुरुषलाई विशेष अधिकार प्रदान गर्छ र महिलाका यौनजन्य विशेषतालाई विचलन देख्न सिकाउँछ । पुरुषले आफ्नो प्रथम नजर (विकासको यो चरणसम्म पनि) नै महिलाका अङ्गमा किन पु¥याउँछ ? महिलाको बौद्धिकता पुरुषलाई किन स्वतः कमजोर लाग्दछ ? किनभने पितृसत्ताले पुरुषलाई महिला भोग्या हुन् भनी प्रशिक्षित गरेको छ (आहुती, २०७९, पृ. ?) समग्रमा हेर्दा पितृसत्ता अवधारणा पुरुष सर्वोच्चता कायम गर्न बनाइएको एकतर्फी विचार हो । यसले महिलाको शरीर र स्वतन्त्रतालाई नियन्त्रण गर्दछ । पितृसत्तात्मक अवधारणालाई समाजका विभिन्न इकाइहरूले आधार स्तम्भका रूपमा ग्रहण गरी त्यसैको पक्षपोषणमा काम गरिरहेका छन् । समाजका विभिन्न इकाइहरूद्वारा पितृसत्तात्मक मूल्य मान्यताको सामाजिकीकरण एवं हस्तान्तरण हुँदै आएको छ ।
पितृसत्ताको सुरुवातबारे बहस चल्दा कतिपयले पुरुषहरू जन्मजात नै राज गर्न जन्मेका हुन् भने महिलाहरू सेवा गर्न भन्ने तर्क अगाडि सार्छन् । उनीहरूका अनुसार यो सदियौदेखि चलिआएकाले यसलाई बदल्न सकिँदैन । हाम्रा अघिल्ला पुस्ताले पनि यसै अभ्यासलाई अनुशरण गदै आएकाले हामीले पनि यसैलाई पछ्याउनुपर्ने हुन्छ । पितृसत्ताबारे परम्परावादी दृष्टिकोण अनुसार हेर्दा गर्डा लर्नर भन्नुहुन्छ, “परम्परावादीहरू जुन धार्मिक वा वैज्ञानिक ढाँचामा काम गर्छन्, उनीहरू महिलाहरूको तल्लो दर्जा सदादेखि हरेक ठाउँमा प्रचलित ईश्वर प्रदत या प्राकृतिक वास्तविकता हो भनेर मान्दछन् । यसलाई बदल्न सकिन्न । जुन कुरा शताब्दीयौ देखि जीवन्त रहन सक्यो, त्यो सबै भन्दा असल हुनाले नै हो र आइन्दा पनि यस्तै रहनुपर्छ, धार्मिक दृष्टिकोण अनुसार महिलाहरू पुरुषहरू भन्दा तल्लो स्तरमा छन् किनभने तिनीहरूलाई त्यसरी नै बनाइयो र अलग काम र भूमिका दिइयो । सबै समाजले पुरुषहरू र महिलाहरूबीच रहेको शारीरिक भिन्नताको आधारमा श्रमका विभाजनको धारणालाई मान्दै आएका छन् । तिनीहरूको शरीर नै खास कामका लागि बनाइएकाले सामाजिक भूमिका र काम पनि अलग हुनु स्वाभाविक हुन् । परम्परावादी तर्कअनुसार महिलाहरूले नै बच्चा जन्माउन सक्छन् । तिनीहरूको जीवनको उद्देश्य नै आमा बन्नु हो र तिनको मुख्य काम बच्चा जन्माउनु र पाल्नु हो (भासिन, ?, पृ. २६) भन्ने रहेका छन् ।
एङ्गल्सले आफ्नो पुस्तक ‘ओरिजन अफ द फेमिली, प्राइभेट प्रपर्टी एण्ड द स्टेट’ (सन् १८८४) मा पितृसत्ताको आरम्भका बारेमा एक महत्त्वपूर्ण मत पेश गरे । उनको विचारमा महिलाहरूलाई अधीनमा राख्ने कुराको सुरुवात व्यक्तिगत सम्पत्तिको सुरुवातसँगै भएको थियो । उनका अनुसार एक समय यस्तो थियो, त्यतिबेला वर्ग र लिङ्गका आधारमा कुनै विभाजन थिएन । त्यतिबेला मनुष्य लगभग जानवरहरू जस्तै भोजन जम्मा गर्ने र शिकार गरी आफ्नो जीवन चलाउँथे । वंश आमाका तर्फबाट चल्दथ्यो । त्यो बेला न विवाह, न त सम्पत्तिको धारणा थियो । विस्तारै खेतीपाती र पशुपालनको विकास भयो र पुरुषहरू शिकारका लागि टाढा टाढासम्म जान थाले र महिलाहरू घरमै बसेर बच्चाहरू समाल्ने काम गर्थे । समयक्रममा लिङ्गका आधारमा काम विभाजन सुरु भयो, तर महिलाका हातमा शक्ति थियो र मातृकुलको वंशमाथि नियन्त्रण थियो । जब पशुहरू पाल्ने काम हुन थाल्यो, अनि पुरुषहरूले गर्भको रहस्यबारे सोच विचार गर्न थाले । शिकार र समूहहरूको आपसी लडाइँको लागि हतियारहरू बनाउन थाले । यस्तो लडाईंमा पक्रिएका व्यक्तिहरू दास बने । खास गरी दासीहरू बढी जम्मा गरिए । लिङ्गका आधारमा अरू बढी नयाँ नयाँ विभाजनहरू थपिइँदै गए । पुरुषहरूले पशुहरू र दासहरूका रूपमा सम्पत्ति जम्मा गरे । ती सम्पत्तिको मालिक पुरुष नै बन्थे । यसरी व्यक्तिगत सम्पत्तिको धारणा सुरु भयो । पुरुष चाहन्थ्यो, उसले जम्मा गरेको सम्पत्ति र शक्ति उसका बच्चाहरूलाई नै मिलोस् । बच्चा कुनै एक पुरुषकै हो भन्ने निश्चित गर्नका लागि महिलाले एउटै पुरुषसँग सम्बन्ध राख्न आवश्यक भयो । उत्तराधिकारी सुनिश्चिित गर्नका लागि मातृ अधिकारलाई समाप्त गरियो । बाबुको अधिकार जमाउन महिलाहरूलाई घरेलु बनाएर तिनीहरूको गतिशीलतामा बन्धन लगाएर, तिनीहरूको यौनिकतामाथि नियन्त्रण राख्नु जरुरी थियो । र, इतिहासको यस कालमा यिनै कारणले महिलामाथि पितृसत्ता र एक पुरुषसँग विवाह सम्बन्ध लादियो (भासिन, ?, पृ.२९)
विश्वव्यापी महिला आन्दोलन र पितृसत्ता
नारीवादी आन्दोलनको सुरुवात अठारौं शताब्दीमा अमेरिका र युरोपबाट भएको थियो । अमेरिकन र फ्रेन्च क्रान्तिहरूपछि त्यहाँ नागरिकताको अधिकार दिन थालिएको थियो तर पुरुषलाई मात्र । महिलालाई आर्थिक, राजनीतिक र सामाजिक अधिकारबाट बन्चित गरिएको थियो । त्यस मान्यतालाई पहिलो पटक चुनौती दिएकी थिइन्, मेरी उल्सटन क्राफ्टले । तर नारीवादी आन्दोलनको उदारवादी धारले पितृसत्ताबारे उठान गरेको थिएन । यसबारे सन् १९४९ मा सिमोन द व्युभरको ‘द सेकेन्ड सेक्स’ पुस्तकले उग्र नारीवादी धारको अवधारणा अगाडि सार्दै प्राज्ञिक बहसको सुरुवात गरेको थियो । पितृसत्ताको अवधारणाबारे पहिलो पटक यहीँ उल्लेख भएको थियो । उनको तर्क थियो, समाज निर्माण जुन सिद्धान्तका आधारमा गरिएको छ, ती सबै पुरुषहरूले गरेका हुन् । त्यसमा महिलाको इच्छाको ख्याल राखिएन । अहिलेको संरचनाले महिलाको अवस्थामा खासै सुधार ल्याउन सक्दैन । त्यसैले नयाँ विचारधारा र दर्शनको निमास्ण गर्नुपर्छ । महिला पुरुषभन्दा अलग र पुरुषको तुलनामा उत्तम हुन्छन् । महिलाको यस गुणको सेलिब्रेट हुनुपर्ने, गौरव महसुस गर्नुपर्ने तर्क अगाडि सारिएको थियो । यसका लागि सन् १९६८ मा अमेरिकामा भएको सुन्दरता प्रतियोगिता (ब्युटी कन्टेस्ट) को विरोधमा ‘ाचभभमयm त्चबकज अबल’ मा महिलालाई वस्तुका रूपमा देखाइने सामग्री लिपिस्टिक, हाइ हिल लगायतका सामग्रीहरूलाई फाल्ने अभियान नै चलाइएको थियो । उग्र नारीवादी अवधारणले पनि महिलामाथि हुने उत्पीडनको मूल कारण पितृसत्तालाई नै मानेको छ । यसरी गरिने उत्पीडन मानसिकता, परम्परा, संस्कृतिसँग सम्बन्धित हुन्छ र यो बाहिर देखिँदैन । यसप्रकारको उत्पीडन कुनै नियम कानुन बनाएर परिवर्तन गर्न सकिँदैन किनभने यो बाहिर दैखिँदैन । यस प्रकारको उत्पीडनले महिलालाई स्वतन्त्रताबाट बन्चित गरिन्छ । यसरी हुने उत्पीडनबाट मुक्त हुन उग्र नारीवादले क्रान्तिको आवश्यकता अघि सारेको थियो । उग्र नारीवादीहरूले महिला उत्पीडनको मुख्य स्रोतको रूपमा पुरुषजातिलाई नै मान्दछ् । पश्चिमी समाजहरूमा सन् १९६० को दशकमा सुरु भएको युवा आन्दोलनबाट नारीवादको यो धारको सिर्जना भएको थियो । पितृसत्ताले सामाजिक लिङ्ग र नारीत्वलाई पुरुषको यौन प्रभुत्व तथा महिलाहरूको यौन समर्पणलाई बढाउने ढङ्गले निर्माण गरेको छ भन्ने यस धारको तर्क छ । नग्न तस्विरहरूको प्रदर्शन, वेश्यावृत्ति, यौन दुव्र्यवहार, बलात्कार, महिलामाथिको कुटपिट, खुट्टा बाँध्ने प्रथा, सतिप्रथा, पर्दाप्रथा, भङ्गाकुर काटेर प्याँकिदिने प्रथा, बोक्सीको आरोपमा जलाउने तथा प्रसुति स्वास्थ्यविज्ञान जस्ता माध्यमहरूबाट पुरुषहरूले आफ्नो आनन्दका निम्ति महिलाहरूको यौनिकतामाथि नियन्त्रण जमाएका कुराहरू ठोस उदाहरणका रूपमा प्रस्तुत गर्दछन् ( तामाङ, सन् २००४, पृ. ५३१)
दक्षिण एसियामा पितृसत्ताको आरम्भ र स्वरूप
दक्षिण एसियाली देशहरूको सामाजिक संरचना र लैङ्गिक सम्बन्ध पश्चिमी देशहरूका तुलनामा फरक प्रकारका छन् । यी देशहरूमा पितृसत्तासँग जाति, वर्ग, भाषा, धर्म र लैङ्गिकता बारे पनि बुझ्न जरुरी हुन्छ । पितृसत्ताको भारतीय ढाँचा ब्राह्मण सामाजिक व्यवस्था जाति र जेन्डर पदानुक्रम या उच–निचको आदर्श अनुसार सङ्गठित थियो भन्ने उमा चक्रवर्तीको बुझाइ छ, तर त्यो व्यवस्था सधैँ एकै प्रकारको नरही निकै लामो समयदेखि बिस्तारै बिस्तारै विकास भएको हो । प्राचीन भारतीय इतिहासको अध्ययनका आधारमा हेर्दा प्राग ऐतिहासिक कालमा महिलाहरूलाई उत्पादन र प्रजनन् कार्यमा अत्यन्त महत्त्वपूर्ण मानिन्थ्यो । शिकार र भोजन एकत्रित गर्नका निम्ति लिङ्गमा आधारित श्रमको बाँडफाँड गरिएको थिएन । पाषाण युगको मध्येमा भारतमा महिलाहरू भोजन जम्मा गर्नुको अलावा शिकारमा पनि भाग लिन्थे । शिकार र भोजन एकत्रित गर्ने तथा आर्थिक व्यवस्थामा महिलाको प्रजनन् भूमिकाप्रति आदर भाव राखिन्थ्यो । त्यस समाजले महिलाहरूको यौनिकतालाई कुनै खतरा सम्झिएको थिएन । त्यसमाथि कुनै नियन्त्रणको आवश्यकता थिएन । महिलाहरूको प्रजनन् शक्तिमाथि नै समुदायको जीवनधारा निर्भर थियो । मातृत्व र प्रजनन् निहित महिला शक्तिको पुजा हुन्थ्यो । आर्यहरूले भारतको ठुलो भु–भागमाथि कब्जा गरेपछि भने यहाँको मूल निवासीहरूलाई अधीनमा लिएर वर्गका आधारमा बाँडिएको समाजको विकास गरियो । विस्तारै महिला शक्तिको पुजाको ठाउँमा पितृसत्तात्मक विचार धाराले ठाउँ लियो । व्यक्तिगत सम्पत्तिको स्थापना र त्यसका लागि जाति पवित्रताको आवश्यकता र त्यसका निम्ति महिलाहरूलाई अधीनमा राख्न आवश्यक ठानियो । महिलाको गतिशीलता र यौनिकतामाथि पुरुषहरूको नियन्त्रण रह्यो । नियन्त्रणको तरिका तीन अलग स्तरमा तीन किसिमले कार्यान्वयन गरियो । पहिलो थियो— विचारधारा, जसलाई महिलाहरूले पतिव्रता (पत्नीको इमान्दारी) का रूपमा आफ्नो मन र विचारमा दृढ बसाए । यसलाई महिलाहरू नै यौन पवित्रता र पत्नीको रूपमा इमान्दारीलाई सबभन्दा उच्च आदर्श तथा नारीत्वको सर्वोच्च नमुना मान्दथे । यसरी उच्चनिचमा आधारित असमानतापूर्ण सामाजिक व्यवस्था चल्दै गयो । यसप्रकार एउटा धारणाको रूपमा पितृसत्ता यस्तो बलियोसँग व्यवस्थित भयो कि यो स्वभाविक जस्तो लाग्दै गयो ।
दोस्रो, पितृसत्तात्मक नियन्त्रण अन्तर्गत बिग्रेका भनिएका महिलाहरूलाई काबुमा राख्नका लागि ब्राह्मण समाजद्वारा बनाइएको रीतिरिवाज र कानुन हो । तेस्रो, शासनतन्त्र । यदि कुनै महिलालाई पुरुषले जबरजस्ती गरेर पनि आफ्नो काबुमा ल्याउन असफल भयो भने त्यस अवस्थामा पौराणिक शासनतन्त्र अनुसार महिलालाई पापी ठह¥याई पितृसत्तात्मक कानुन लागु गरिन्थ्यो । यसरी नै पितृसत्तात्मक अवधारणाका जरा विभिन्न कालखण्डमा गहिरो हुन पुग्यो । (भासिन, ?, पृ.४८–४९)
मधेसी समुदायमा पितृसत्ता
मधेसी समुदाय हिन्दु ब्राह्मणवादी जातीय संरचनामा आधारित समाज हो । यहाँको समाज र संस्कृति जातका आधारमा वर्गीकृत छ । शुद्धताका आधारमा जातको वर्गीकरण गरिएको छ । शुद्धता भन्नाले छुवाछुत, खानपान र वैवाहिक सम्बन्ध चल्ने आधार हो । जात प्रथाका आधारमा अहिले पनि पुख्र्याैली पेशा अँगालिएको छ । पहाडमा अन्तरजातीय बिहेवारी चल्छ तर मधेसी समुदायमा अझै पनि वर्जित छ । पहाडमा अभ्यास गरिएको हिन्दु धर्मको परम्परा बढी लचकदार हुनु हिन्दु र तिब्बती बुद्ध धर्मको कम कट्टरपनाका बिचमा भएको अन्तरसम्बन्धको परिणाम हो । मैदानमा हिन्दु धर्म इस्लामसँगको अन्तरसम्बन्धबाट प्रभावित छ । महिलालाई अलग राख्ने पर्दा प्रथा यसैबाट अङ्गीकार गरिएको हो । गाउँमा बस्ने मैदानका उच्च जातका हिन्दुहरूमा यो प्रथा व्यापक छ (गेज, ?, पृ. १४) । जात प्रथा हिन्दु समाजको अनौठो सामाजिक सङ्गठन हो । यहाँ नेपालको पहाडे संस्कृति र उत्तर भारतको संस्कृतिलाई हिन्दु धर्मको बृहत् सांस्कृतिक छाता अन्तर्गत राखिएको छ । यी दुवै ठाउँको संस्कृति जातका आधारमा वर्गीकृत छ । यी दुई संस्कृतिले एकआपसमा सम्बन्धित तर निकै फरक जात प्रथा अपनाएका छन् । उत्तर प्रदेश र विहारको जात प्रथा र मैदानका जात प्रथा समान प्रकारका छन् । (गेज, ?, पृ. १८) मधेसी समुदायमा हुने स्वरूपको बिहेवारी उत्तर प्रदेश र विहारमा पनि हुने गरेको छ, तर पछिल्लो समयमा यो क्रम घट्दो छ । समग्रमा हेर्दा मधेसी समुदायका परम्परा, संस्कृति, वैवाहिक परम्परा र लैङ्गिक सम्बन्ध पहाडी समुदायका भन्दा फरक रहेका छन् । तसर्थ मधेसी समुदायमा रहेका पितृसत्तात्मक व्यवहार र अभ्यास पनि फरक प्रकारले हुने गरेको छ ।
परिवारमा पितृसत्ता
मधेशी समुदायको पारिवारिक संरचना पितृसत्तात्मक सोच र विचारमा आधारित छ, जहाँ घरको मुली पुरुष रहन्छ । घरको वंश, अंश, निर्णय लिने र नियन्त्रण गर्ने अधिकार पुरुषमा निहित हुन्छ । यो परम्परा क्रमशः हजुरबुवा, बुवा, छोरा, नाति, पनातिमा हस्तान्तरण हुन्छ । घरको सम्पत्तिमा आमा, पत्नी, छोरी र नातिनीको अधिकार हुँदैन । घरमा कुनै निर्णय लिनु परे पुरुषको निर्णयलाई नै सर्वोपरी मानिन्छ ।
मधेशी समुदायको पारिवारिक संरचना पितृसत्तात्मक सोच र विचारमा आधारित छ, जहाँ घरको मुली पुरुष रहन्छ । घरको वंश, अंश, निर्णय लिने र नियन्त्रण गर्ने अधिकार पुरुषमा निहित हुन्छ । यो परम्परा क्रमशः हजुरबुवा, बुवा, छोरा, नाति, पनातिमा हस्तान्तरण हुन्छ । घरको सम्पत्तिमा आमा, पत्नी, छोरी र नातिनीको अधिकार हुँदैन । घरमा कुनै निर्णय लिनु परे पुरुषको निर्णयलाई नै सर्वोपरी मानिन्छ । यदि कथम् कदाचित कुनै महिलाले त्यसमा सहभागिता ग¥यो भने त्यसलाई ‘मौगियाहा’ भन्दै कटाक्ष गरिन्छ । बिहेका लागि केटा र केटी छनौट गर्ने, कुरा छिन्ने, छेका (टिका टालो)मा जाने, जन्ती जाने लगायतका संस्कारमा महिला जान वर्जित गरिएको हुन्छ (अपवाद बाहेक) । मधेसी समुदायमा अझै पनि प्रेम विवाह, अन्तरजातीय विवाहमा छोरा छोरीको लागि फरक मापदण्ड तय गरिएको पाइन्छ । छोराले प्रेम विवाह वा अन्तरजातीय विवाह गर्दा धेरै हदसम्म स्वीकार हुने तर छोरीले गर्दा घरको, समाजको इज्जत जाने सोच अझै विद्यमान छ । पछिल्लो समयमा शिक्षित एवं सहरिया परिवारको सोचमा केही हदसम्म परिवर्तन देखिए पनि ग्रामीण भेगमा यो अहिले पनि सर्वस्वीकृत भइसकेको छैन ।
मृत्यु संस्कारमा महिलाहरू मलामी जान पाइँदैन । यदि कसैका छोरी छोरी मात्रै छन् भने तिनका पुरुष नातेदारहरूलाई खोजिन्छ र दागबत्ती दिन लगाइन्छ । छोरीले दागबत्ती दिनु हुँदैन भन्ने सोच अझै पनि चलनमा छ । मृत्यु संस्कार पछिको काजक्रियामा पनि छोराछोरीका लागि अलग अलग मापदण्ड छुट्टयाइएको हुन्छ । छोरीलाई ३ दिन पछि कपाल, नङ्ग काटेर चोखो हुने चलन छ भने छोराका हकमा ९ दिन पछि मात्र त्यस्तो गर्न पाइन्छ, अर्थात् मृत्यु संस्कारको हरेक विधिमा छोरा अनिवार्य चाहिने परम्परा छ ।
समाजमा पितृसत्ता
मधेसी समाजको संरचना पनि पितृसत्तात्मक छ । मधेशी समुदायमा हरेक टोल र गाउँमा पञ्चहरू रहने व्यवस्था छ, जसले गाउँमा उत्पन्न हुने द्वन्द्वका समस्याहरूमाथि मेलमिलाप गराउने काम गर्छन् । खासमा त्यो अनौपचारिक न्यायालयकै रूपमा मानिन्छ । तर ती पञ्चहरूमा कहिले पनि महिला हुँदैनन् । पञ्च मात्रै होइन, त्यस्ता पञ्चैतीमा महिलाको उपस्थिति पनि बर्जित गरिएको हुन्छ । यदि कुनै महिला नै दोषी छन् भने उनलाई बयानका लागि मात्रै उपस्थित गराइन्छ । त्यस्तै प्रत्येक जातहरूको जातीय सङ्गठनहरू हुने गरेका हुन्छन् । जस्तै तेली समाज, यादव समाज, ब्राह्मण समाज आदि । जातीय सङ्गठनहरूका मान्यजन (माइनजन) को काम हुन्छ, आफ्नो सङ्गठनका सदस्यहरूको घरमा हुने बिहे, मृत्यु आदि संस्कारबारे जानकारी लिने र कति भोज गर्नेबारे निर्णय लिने । यदि कुनै युवायुवतीले अन्य जातको केटासँग बिहे वा प्रेम सम्बन्ध राखेको पाइयो भने तिनीहरूलाई छुट्टाउने वा तह लगाउने जिम्मा ती सङ्गठनको मुखियाकै हुन्छ, तर ती जातीय सङ्घ संस्था चलाउने मुख्य व्यक्ति पुरुषहरू नै हुने गरेको हुन्छ । गाउँमा हुने भोजमा पनि लैङ्गिक विभेद स्पष्टै देखिन्छ । गाउँमा हुने ठुलो वा सानो भोजमा पुरुष र महिला एकै ठाउँमा बसेर खाने चलन छैन । अझै धेरै गाउँहरू समेटेर गरिने (सभा) भोजमा महिलाहरू प्रायजसो जानै पाउँदैनन् । गाउँमा हुने स्थानीय सामूहिक भोजमा समेत पुरुषहरूले खाइसकेपछि महिलालाई लगी छुट्टै खुवाउने चलन छ । यसले के देखाउँछ भने घरमा जस्तै समाजमा पनि महिलाको दर्जा दोयम नै रहेको छ ।
धार्मिक संस्था
ग्रामीण समुदायमा धेरै प्रभाव पार्ने धार्मिक संस्थाहरू हुन्छन् । जस्तै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद आदि । यस्ता धार्मिक संस्थाहरूको धर्मगुरु, मठाधीस र मौलानाहरू पुरुष नै हुने गरेका छन्, तर कतिपय धर्म गुरुहरूको सेवा गर्न, स्याहार गर्न महिलाहरू राखिएका हुन्छन्, जसलाई दासी वा माईराम भनिन्छ । मन्दिरको साधन स्रोत, निर्णय प्रक्रियामा ती दासी वा माईरामको कुनै पहुँच हुँदैन । उनीहरू केवल सेवक मात्रै हुन्छन् । समग्रमा परिवारभित्र जस्तै समाजको हरेक इकाइमा समेत साधन स्रोत, निर्णय प्रक्रिया जस्ता विषयमा पुरुषहरूको मात्रै वर्चस्व कायम रहेको देखिन्छ ।
परम्परा संस्कृति
पितृसत्तात्मक सोचको मूलभूत चरित्र महिलालाई शोषण, दमन र नियन्त्रण गर्नु नै हो, जसलाई निरन्तरता दिनका लागि त्यही अनुकूलको परम्परा, धर्म, संस्कृतिको निर्माण गरिएको हुन्छ । जस्तै हरेक व्रतमा महिला नै उपवास बस्नुपर्ने परम्परा बसाल्नु । उनले उपवास आफ्ना लागि होइन, आफ्नो श्रीमान्, छोरा, नातिको लामो आयु र प्रगतिको लागि बस्नुपर्ने हुन्छ । जुन महिला व्रत बस्दिनन्, उनी संस्कारीको सूचीमा पर्दिनन् । उनलाई कुसंस्कारीको बिल्ला भिराइन्छ । त्यसैगरी संस्कारी महिलाका मानकहरू उसको लुगा, बोली, भाषा, आज्ञाकारिता आदिलाई मानिन्छ । अझ मधेसी समुदायमा हेर्दा सारी लगाउने, व्रत बस्ने, आफुलाई चित्त नबुझे पनि नबोल्ने, परिवारले निर्णय गरेको केटासँग बिहे गर्ने, उनीमाथि जति हिंसा भए पनि सहेर बस्ने महिलालाई सुसंस्कारी महिला मानिन्छ ।
पितृसत्ताको नियन्त्रण
पहिलो, पितृसत्ताले महिलाको श्रमशक्तिमा नियन्त्रण गर्दछ । महिलाले के पढ्ने, कुन जागिर गर्ने जस्ता सवालको छिनोफानो पुरुषले नै गर्दछ । मधेसी समुदायमा अहिले पनि छोरीलाई घर बाहिर जान दिइँदैन । यदि कसैको छोरी बुहारीले जागिर गरे भने उसको परिवारलाई महिलाले कमाएको पैसा खाएको भन्दै खिसी गर्ने गरिन्छ ।
दोस्रो, प्रजनन् शक्तिमा । एउटै घरमा छोरा–छोरी छन् भने अधिकांश घरमा छोराले आफ्नै मनले बिहे गरे पनि छोरीको बिहेको निर्णय उसको बुबा–आमाले लिने गर्दछन् । कोसँग बिहे गर्ने, कहिले बिहे गर्नेमा छोरीको स्वीकृति लिनु जरुरी ठानिँदैन । बिहेपछि कहिले बच्चा पाउने, कतिवटा बच्चा पाउने, छोरी भएपछि त्यसलाई राख्ने कि फाल्ने, परिवार नियोजनको कुन साधन अपनाउने र कहिलेसम्म अपनाउने लगायतका विषयमा पुरुषको निर्णय चल्ने गर्दछ । मधेसी समुदायमा घरको वंश छोराले चलाउने मान्यता व्याप्त छ । कसैको घरमा छोरी छोरी मात्रै छन् भने त्यस्तो दम्पत्तिलाई निपुत्रा भनेर उपेक्षा गर्ने चलन छ ।
तेस्रो, यौनिक स्वतन्त्रताको सवालमा । महिलाले कोसँग सम्बन्ध राख्ने, कति वर्षमा राख्ने, यो सबैको नियन्त्रण पुरुषले गरिरहेको हुन्छ । मधेसी समुदायमा महिलालाई घर, समाज, जातको इज्जतसँग जोडेर हेर्ने चलन छ । तर यो विचारधारा छोरा वा पुरुषहरूमा लागु हुँदैन । यदि छोरीले प्रेम वा अन्तरजातीय विवाह गरिछन् भने त्यस्तो अवस्थामा त्यस जातको जातीय सङ्गठनले त्यसलाई छुट्टाउन भरमजदुर प्रयास गर्छन् । यदि छुट्टाउन सकिएन भने त्यस परिवारलाई ठेकी दिन्छ । ठेक्नु भनेको गाउँमा हुने सार्वजनिक भोज भतेर र बिहेमा उपस्थित हुन नदिने ।
चौथो, नीति निर्माणका तहमा पुरुषको नियन्त्रण हुन्छ । चाहे त्यो राजनीति होस् वा राज्यको अन्य संरचना अधिकांश ठाउँमा पुरुषको वर्चस्व रहेको हुन्छ । पाँचौ, स्रोत साधनमा, राज्य वा घरको स्रोत साधन होस् महिलाको पहँुच कमै हुन्छ । राज्यको स्रोत साधनको परिचालन पुरुषले गर्ने गर्दछ भने घरको सम्पति पनि पुरुषकै नाममा रहन्छ । महिलाको नाममा सम्पत्ति रहे पनि त्यसलाई कहाँ खर्च गर्ने, कसरी खर्च गर्ने निर्णय पुरुषले नै गर्दछ ।
पितृसत्ताको जरा
पितृसत्ताले परिवार, समाज, राज्य, बजार, धर्म, संस्कृति र न्यायिक संरचना जस्ता सबैतिर जरा गाडेको छ । पितृसत्तात्मक संरचनाको प्रारम्भिक शुरुआत घरबाट हुन्छ । बच्चा जन्मेदेखि उसको पालन पोषण हरेक क्रियाकलापमा पितृसत्तात्मक सोच हाबी रहेको हुन्छ । कतिपय अवस्थामा बच्चा जन्मिनु अघि नै छोरा हो भने जन्मन दिने होइन भने भु्रण मै हत्या गर्ने गर्दछ । यदि कथमकदाचित जन्मिहाले पनि छोरा हो भने उसको लागि पोषिलो खानेकुरा दिने छोरीलाई कम पोषिलो दिने, छोरीलाई घरको काम गराउने छोरालाई खेल्न पठाउने, छोरी कतै एक्लै जान नहुने, जोडले हाँस्न नहुने, लजालु स्वभावको हुनुपर्ने लगायतका तालिमको सुरुआत घरबाटै गरिन्छ ।
जसरी घर पितृसत्तात्मक संरचनामा आधारित छ, त्यसरी नै समाज पनि छ । समाजमा रहेका सबै संरचना पुरुष प्रधान छन् । गाउँघरमा रहेको जातीय सङ्गठन, पञ्चायतको पञ्च लगायतका संस्थाको अगुवाई पुरुषले गर्दछ । यस्ता संस्थाहरूमा महिलालाई नेतृत्व लिनबाट अघोषित रूपले बञ्चित गरिएको हुन्छ । समाजले महिलाका लागि गर्नु पर्ने काम र पुरुषले गर्नुपर्ने कामको लागि मापदण्ड बनाएको छ । महिलाले बच्चा जन्माउने, बच्चाको पालन पोषण गर्ने, खाना बनाउने, घरको रेखदेख गर्ने काम गर्नुपर्ने हुन्छ भने पुरुषले घर बाहिरको काम गनुपर्ने, परिवारलाई पाल्नुपर्ने लगायतका काम गनुपर्नेछ ।
परिवारबाट समाज, समाजबाट राज्य बन्दछ । जस्तो खालको समाज हुन्छ, त्यसको प्रतिबिम्ब राज्यमा पनि हुन्छ अर्थात् राज्य पनि पितृसत्तात्मक छन् । नेपाली राज्यले विगत लामो समयदेखि लिङ्गका आधारमा विभेद गर्दै आएको छ । राज्यको निकायमा महिलाहरूको लागि पहुँच थिएन । फलस्वरूप महिलाहरू राज्यको निकायमा पुग्न सकेका छैन । अहिले पछिल्लो समयमा यस्ता सोचमा केही परिर्वतन आए पनि अझै महिलाका लागि सहज वातावरण बनिसकेको छैन ।
सबै धर्मले पितृसत्तालाई नै बढावा दिने गर्दछ । अधिकाश धर्म गुरुहरू पुरुष नै हुने गर्दछन् चाहे हिन्दु धर्मको धर्म गुरु÷पण्डित हुन् या क्रिश्चियनको पोप या इस्लामका मौलाना । सबै धर्मले महिलालाई दोस्रो दर्जाको हो भनेका छन् । वेदमा लेखेको छ, “शुद्र र नारीलाई वेद सुन्न मनाही छ ।” सुनेको खण्डमा सिसा तताएर कानमा हालेर दण्ड दिने परम्परा रहेको चर्चा गरिन्छ । धर्मले पुरुषलाई स्वामी र महिलालाई सेवक भनेर व्याख्या गर्दछ । र, स्वामीको सेवा गर्नु उसको लामो आयुका लागि व्रत बस्न परम धर्म हो भन्दै सिकाउँछ । जति पनि व्रतहरू हुने गर्दछन्, सबै महिलाका नियमित कार्यझैँ तय गरिएका हुन्छन् । चाहे पतिको लामो आयुको लागि तीज होस् वा छोराको लामो आयुको लागि हुने जितिया वा महिनावारीको पाप पखाल्ने भनिएका ऋषि पञ्चमी । धर्मले पाप र पुण्यको हवाला दिएर असमानतालाई बढाबा दिने गर्दछ । धर्मका नाममा अहिले पनि सबै डराउने गर्दछन् । यसको विरुद्ध जाने आँट कसैले गर्न सक्दैनन्, स्विकार्न बाध्य हुन्छन् ।
संस्कृति र परम्परा पनि पितृसत्तात्मक छ । वैवाहिक परम्परामा छोरीलाई हामी दान गर्दछौ । विवाह गरेपछि महिलाको थर बदलिन्छ, घर बदलिन्छ । महिलाको पहिरन बदलिन्छ । आफूलाई जतिसुकै असहज भए पनि महिलाले सिउँदोमा सिन्दुर र गलामा पोते लगाउनुपर्छ ताकि श्रीमान्को आयु लामो होस् तर पुरुषको केही पनि बदलिँदैन । ऊ बिहेअघि जस्तो हुन्छ, पछि पनि त्यस्तै रहन्छ । पुरुषलाई ऊ विवाहित रहेको प्रमाण देखाउनुपर्दैन तर महिलालाई देखाउनुपर्छ ।
शिक्षा पनि पितृसत्तात्मक छ । पहिला पहिला छोरीलाई पढ्न दिनुहुँदैन भने मान्यता थियो । अर्काको घर जाने जात पढेर के गर्ने भनिन्थ्यो । अहिले सोचमा केही परिवर्तन भए पनि छोरा र छोरीलाई पढाउने स्कुल तथा जागिर गर्ने संस्था भने विभेदपूर्ण नै तय गरिएका हुन्छन् । जस्तै– छोरी हो भने सरकारी स्कुलमा पढाउने, छोरालाई बोर्डिङ्ग स्कुलमा पढाउने, छोरीले अलि–अलि पढे पनि हुने जस्तो पितृसत्तात्मक मनोविज्ञान रहेको छ ।
पितृसत्तात्मक संरचना र सोचको असर
पितृसत्तात्मक संरचनाले बाहिरबाट पुरुषलाई फाइदा भए जस्तो देखिए पनि यसको असर महिला पुरुष दुवैलाई हुने गर्दछ । पितृसत्तात्मक सोचको कारण महिलालाई शैक्षिक, राजनीतिक र सामाजिक रूपले पछाडि पारिएका छन् । महिला हिंसाको जड पनि पितृसत्ता नै हो । महिला पुरुषको अधिनमा बस्ने हो, महिलालाई जे गरे पनि हुने सोचले हिंसा हुने गर्दछ । आज विश्वमा प्रत्येक तीन महिलामध्ये एक महिलामाथि कुनै न कुनै रूपले हिंसा हुने गरेको तथ्य बाहिर आएको छ । नेपालमा पनि प्रत्येक वर्ष हजारौका संख्यामा महिला हिंसाका घटना हुने गर्छन् । यस्ता अधिकांश हिंसा आफ्नै परिवारले नै गर्दछ । प्रत्येक वर्ष हजाराँैका संख्यामा भु्रण हत्या हुने गर्दछ । जसको मूल कारण पितृसत्तात्मक सोच नै हो । मधेसमा हुने बालविवाह र दाइजो प्रथा पनि यसैको उपज हो । महिलाले कमाएर खान सक्दैनन्, उनलाई जीवनभर पाल्नुपर्ने भन्दै केटा पक्षले बिहेअघि दहेज माग्दछ । केटी पक्षले पनि छोरीलाई पराया धन भन्दै धन सम्पत्ति दिएर भए पनि जिम्मेवारीबाट मुक्ति खोज्दछ । अझ कतिपयले यस्ता जिम्मेवारी धेरै बेहोर्नु नपरोस् भन्दै गर्भमै छोरीको भ्रुण हत्या गरिदिन्छन् । कतिपयले त जन्मिसकेका छोरीलाई पानीमा बगाउने, खेतमा फाल्ने गर्छन् ।
पितृसत्ताले महिलालाई मात्रै होइन, पुरुषलाई पनि असर पार्दछ । जसरी महिलालाई सानैदेखि दबेर, सहेर बस्न सिकाइन्छ, त्यसरी नै पुरुषलाई डटेर लड्नुपर्ने भनेर सिकाइन्छ । महिलालाई हिंसा सहन सिकाउँछ भने पुरुषलाई हिंसा गर्न सिकाउँछ, जसको प्रभाव कालान्तरमा परिवार, समाज र पुरै देशमै पर्न जान्छ ।
पितृसत्ताले महिलालाई मात्रै होइन, पुरुषलाई पनि असर पार्दछ । जसरी महिलालाई सानैदेखि दबेर, सहेर बस्न सिकाइन्छ, त्यसरी नै पुरुषलाई डटेर लड्नुपर्ने भनेर सिकाइन्छ । महिलालाई हिंसा सहन सिकाउँछ भने पुरुषलाई हिंसा गर्न सिकाउँछ, जसको प्रभाव कालान्तरमा परिवार, समाज र पुरै देशमै पर्न जान्छ । आज दिनदिनै हुने यौन हिंसाका घटनाहरू यसैका उपज हुन् । महिलाको शरीरमाथि जसरी पनि नियन्त्रण गर्नुपर्ने, आफ्नो चाहना पुरा गर्न हिंसाको सहारा लिने मनोविज्ञानको विकास हुन्छ । महिला सुन्दर र कमजोर हुन्छन्, यसको फाइदा उठाएर यिनलाई भोग्नुपर्छ भन्ने सोच विकास भएको हुन्छ । महिलालाई हिंसा सहने प्रजातिका रूपमा लिने गरिन्छ । परिणामतः महिला असुरक्षित हुन पुगेका छन् भने पुरुष अपराधी । आज हजारौँ पुरुष महिला हिंसाको घटनामा जेलमा बस्न बाध्य भएका छन् । असमान शक्ति सम्बन्धको कारण घरको आर्थिक भार पुरुषमाथि थोपरिएको छ ।
पछिल्लो समयमा महिला प्रयोग गर्ने वस्तुका रूपमा किनबेच हुनथालेका छन् । अर्थात् महिला एक वस्तुसरह हुन पुगेका छन् । महिलालाई विज्ञापन, सुन्दरी प्रतियोगिता, फिल्ममा राखिएको आइटम गीतदेखि पोर्न बजारमा समेत प्रयोग गर्ने गरिन्छ । महिलाको यौन र सुन्दरता अरबौँको बजार व्यवसाय बनेको छ । र, यो बजार विश्वभरि फैलिएको छ । अहिले इन्टरनेटको पहुँचको कारण यो व्यवसाय सबैको घर घर र हात हातमा पुगेको छ । परिणामतः युवा पुस्तामा यसको नकारात्मक प्रभाव परेको देखिन्छ । यसले व्यक्तिको सोचलाई मात्रै होइन कि परिवार र समाजलाई नै दूषित बनाउने गर्दछ ।
अन्त्यमा
वर्षौँदेखि जरा गाडेको संरचना र सोचलाई एक चरणमा र एकै प्रकारले परिर्वतन गर्न असम्भव छ । यसलाई उन्मुलन गर्न नसकिए पनि सबै पक्षको प्रयासबाट न्युनीकरण भने अवश्य गर्न सकिन्छ । यसका लागि चौतर्फी प्रयासको खाँचो छ । महिलाप्रति समाजले बनाएको असमान धारणालाई चिर्नुपर्छ । महिला कमजोर हुन्छन्, सुन्दरताका प्रतीक मात्रै हुन्, भोग्ने वस्तु हुन् जस्ता सोचमा आमूल परिवर्तन ल्याउनुपर्छ । यसको सुरुवात घरभित्र आफैँबाट हुनुपर्छ । छोराछोरीबिचको विभेद हटाउन शिक्षा, रोजगारी र पैत्रिक सम्पत्तिजस्ता विषयमा समान पहुँच बनाउनुपर्छ । महिलाका लागि संविधानमा व्यवस्था गरिएका प्रजनन् अधिकार, वंशीय अधिकार, अंशको अधिकार, राज्यको निकायमा प्रतिनिधित्व गर्ने अधिकारलाई पूर्णरूपमा लागु गरिनुपर्छ । महिला हिंसासम्बन्धी बनेको ऐन कानुनलाई सशक्तरूपमा लागु गर्नुपर्छ । साथै यस्ता ऐन कानुनबारे जनचेतना जगाउनु आवश्यक छ । मधेसमा विद्यमान दाइजो, बालविवाह लगायतका सामाजिक कुरीति हटाउन सामाजिक अभियानको खाँचो छ । महिलाहरूले पनि समाजले निर्माण गरेका विभेदकारी मनोविज्ञानलाई तोड्ने आँट गर्नुपर्छ । आफुलाई शारीरिक सुन्दरताको सीमाभन्दा माथि समान मानवीय अस्तित्व हौँ भन्ने चेतनाले उठाउनुपर्छ । पुरुषहरूले पनि समानताको पक्षधर हौँ भनेर मात्र हुँदैन, यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । श्रीमतीलाई घरका काममा सघाउने, बालबालिकाको पालनपोषणमा सहयोग गर्ने, छोराछोरीबिच भेदभाव नगर्ने, छोरा सरह छोरीलाई पनि पैत्रिक सम्पत्तिमा अधिकार दिने लगायतका कामको मनैबाट सुरुवात गर्नुपर्छ ।
सन्दर्भ सामग्री
भासिन, कमला (सन् २००४). पितृसत्ता के हो ?.काठमाडौँ ः स्त्री शक्ति ।
शर्मा ÷ढुगांना, चुडामणि ÷अन्जु । वि.स.२०६८ । महिला विकास अधिकृत दिशाबोध । काठमाण्डौ । कल्पना शर्मा ।
आहुती । वि.स.२०७९ । महिला मुक्ति ः नवीन जागरणका चुनौति । अपराजिता पारिजात । अंक एक ।
तामाङ, शेरा । सन् २००४ । नेपालमा विकासे नारीवाद । नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन । काठमाण्डौ । सोसल साइन्स बाहा ।
गेज, फ्रेडरिक एच । सन् २००३ । नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता । काठमाण्डौ । हिमाल किताब, सोसल साइन्स ः बाहा र नेपाल मधेस फाउन्डेसन ।