Asmita Magazine

#

दलित महिला: पितृसत्तात्मक दलन विरुद्ध प्रतिरोध

मूलधारको भनिएको महिला आन्दोलन आजसम्म पनि खस आर्य मध्यम वर्गीय महिलाको कब्जामा छ, जसले दलित, आदिवासी, जनजाति, मधेसी, र अल्पसंख्यक महिलाहरूको तहगत उत्पीडनको विषयलाई केन्द्रमा राखेर समाधान खोजेको देखिदैन । दलित महिला नेपाली समाजमा सबैभन्दा बढी किनारामा भएका महिला हुन् । त्यसैले उनीहरूमाथि जातीय, लैङ्गिक, र वर्गीय उत्पीडनको मार त्रिपक्षीय छ ।

‘यौन चल्ने तर पानी नचल्ने’, दलित महिलाका सन्दर्भमा एकदमै प्रचलित भनाइ हो । हिन्दु वर्णबादी समाजमा यसलाई पुष्टि गर्ने थुप्रै किम्बदन्ती, अध्ययन र व्यवहारहरू छन् । दक्षिण एशियामा दलित महिला माथिको दमन, क्रुरता, हदैसम्म अवलम्बन गर्नुपर्ने सामाजिक नियम र संस्कृति निर्माण गरिएका छन् । दलित महिलामाथि भएका क्रुर यौन हिंसाका खातैखात घटनाबारे इतिहास साक्षी छ, जसले दलित महिलालाई सइन पल्टेको घाउले जस्तै चहराइरहेको छ । विगतदेखि वर्तमानसम्म उनीहरूमाथि भएका अन्याय र अत्याचारको फेहरिस्त निकै लामो छ, तथापि उनीहरूले आफूमाथि भएको अत्याचार विरुद्ध प्रतिरोधी आवाज उठाउँदै आएका छन् ।

देवदासी प्रथा र दलित महिला

हिन्दु जात व्यवस्थाले दक्षिण एशियाका २५ करोडभन्दा बढी आबादी भएका दलित समुदाय र त्यसभित्रका  आधा धर्ती ओगटेका महिलालाई अछुतका रूपमा परिभाषित गर्दै अपवित्र बनायो । भारतमा हिन्दु संस्कृतिका रूपमा रहेको देवदासी प्रथाले लाखौँ गरिब र दलित महिलालाई यौन दासीका रूपमा प्रयोग हुन बाध्य बनायो । मनुस्मृतिले ब्राह्मण, क्षेत्री र वैश्य जातका पुरुषहरूलाई शुद्र कन्यासँग यौन संर्सगका निम्ति अनुमति त दिन्छ तर जात घटुवा हुने तथा नर्क जाने शर्तमा ।

भारतमा प्रचलित देवदासी प्रथामा किशोरीलाई देवतासँग बिहे गराई मन्दिरमा चढाइन्छ । मन्दिरमा चढाइएका किशोरीले गाउँका सामन्तहरूका अगाडि नाचगान गरेर मनोरञ्जन दिन्छन् । साथै ती देवदासीहरूलाई मन्दिरका पुजारी, गाउँका सामन्तहरूले यौन शोषण गर्ने सर्वाधिकार पनि प्राप्त गर्छन्  । ‘द प्रिन्ट’मा प्रकाशित रिर्पोटअनुसार भारतको केन्द्रस्थित राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनअनुसार  भारतका ६ वटा  राज्यमध्ये  दक्षिणी भेगमा देवदासी प्रथा बढी रहेको देखिन्छ । अध्ययनहरूले देखाएअनुसार देवदासी प्रथामा संग्लन बालिका तथा महिलाहरू  अधिकतम  गरिब,  अनुसूचित र दलित परिवारबाट छन् ।  भारतमा देवदासी प्रथा बन्द गर्न प्रदेश र केन्द्र सरकारले कानुन बनाई पटक पटक रोक लगाए पनि अझै भारतीय समाजमा देवदासी प्रथा कायमै छ । कर्नाटक राज्यमै सत्तरी हजार महिला देवदासी भएका तथ्यहरू बाहिर आएका छन् भने तेलङ्गाना र आन्ध्र प्रदेशमा मात्रै असी हजार देवदासी रहेको बताइन्छ  ।

देवदासी बनेको पहिलो रात मै अधिकतम महिला बलात्कृत हुन्छन् । देवदासी बनेका महिलाहरूको ठूलो सङ्ख्या गर्भवती हुन्छन् तर उनीहरूका सन्तानलाई समाजमा स्वीकार गरिँदैन । दलित सामाजिक अभियन्ता रूथ मनोरको भनाइमा, “देवदासी प्रथा दलित महिला विरुद्ध एक सङ्गठित अपराध हो।” धर्म, गरिबी र अशिक्षाका कारण बहुसङ्ख्यामा अनुसूचित जनजाति र दलित किशोरीलाई सानो उमेरमै देवदासी बनाई यौन शोषणको उत्पीडनमा पारिन्छ।सन् २०१५ मा एक गैरसरकारी प्रतिवेदनले भारतमा करिब चार लाख पचास हजार देवदासी रहेको उल्लेख गरेको थियो। मानवाधिकार आयोगकै रिर्पोट अनुसार देवदासी प्रथाले दलित महिलालाई सबैभन्दा बढी प्रभावित पारेको छ ।

गैरसरकारी सङ्गठन सम्पर्कको रिपोर्टअनुसार देवदासी प्रथामा जातले महत्त्वपूर्ण भूमिका खेलेको छ । रिपोर्टले बैलगावी (कर्नाटक), महबुबनगर (तेलङ्गाना) र सोलापुर (महाराष्ट्र) राज्यका जातजातिमा गरिएको अध्ययनले तीनै राज्यमा देवदासी प्रथामा अधिक रूपमा दलित समुदायका महिला भएको उल्लेख गरेको छ । कर्नाटकको बैलगावीमा त देवदासी हुनेमा सय प्रतिशत नै दलित समुदायका महिला रहेको पाइएको छ ।

नाङ्गेलीः एक विद्रोही स्वर

शुद्र (दलित) महिलाले आफ्नो स्तन नाङ्गो पारेर गैर दलित पुरुषहरूलाई यौनानन्द दिनुपर्ने ‘मुलाक्रम’ कानुनको विरुद्ध नाङ्गेली (शुद्र) महिलाले आफ्नो ज्यानको आहुति दिएर दलित महिलाको साहस र चेतनाको अभूतपूर्व परिचय दिन सफल भएका छन् । करिब दईसय बिस वर्षअघि आजको भारतको केरला राज्यको दुर्गम गाउँ ‘चिर्थला’ जहाँ  नाङ्गेली आफ्नो पतिसहित शुद्रहरूको बाहुल्य भएको समाजमा बस्थिन्। तत्कालीन समयमा चिर्थला राज्यमा  शुद्र  जातका महिलाले आफ्नो स्तन छोप्न पाउँदैनथे। कसैले आफ्नो स्तन  छोप्यो भने त्यो गैरकानुनी मानिन्थ्यो ।  स्तन छोप्ने महिलाले  स्तनको आकार र तौल अनुसार सजाय स्वरूप कर ‘मुलाक्रम’  तिर्नुपर्थ्यो । ‘मुलाक्रम’  कानुन शुद्र  महिलाका लागि मात्रै थियो । कथित उच्च जातका महिलाहरू आफ्नो स्तन ढाकेर हिँड्थे  ।

शुद्र महिलाहरू आफ्नो स्तन खुला राखेर हिँड्दा पाइला पाइलामै यौन आक्रमणमा पर्थे, अपमानित हुन्थे र हिंसामा परेर अपमानित र उत्पीडित हुन्थे। शुद्र महिलाहरूको स्तन खुला राखेर हिँड्नुपर्ने नियम कथित ठुलो जातका हिन्दु धर्मका ब्राह्मणहरू, गाउँका पञ्च तथा राजाहरूले बनाएका थिए । गरिब दलित महिलाहरूले स्तनाकर  (मुलाक्रम) तिर्न सक्ने कुरै थिएन, त्यसैले दलित महिलाहरू आफ्नो स्तन देखाएरै हिँड्न अभिशप्त थिए, तर नाङ्गेलीलाई आफ्नो स्तन खुला राखेर हिँड्नु स्वीकार थिएन । नाङ्गेली आफ्नो स्तन खुला राखेर हिँड्दा गैर दलित सामन्तहरूले गर्ने यौन आशयका घिनलाग्दो हेराइ  र अपमान विरुद्ध आक्रोशित हुन्थी । चिर्थलामा कथित उपल्लो जातका मल्लो महिलाहरूले आफ्नो छाती छोपेर हिँड्थे । मल्लो जातका महिलाहरूले आफ्नो छाती छोपेबापत मुलाक्रम तिर्नु पर्दैनथ्यो, तर नाङ्गेली लगायत  शुद्र महिलाहरूले मुलाक्रम तिर्नुपर्थ्यो, त्यसले उसलाई भतभति पोल्थ्यो ।

नाङ्गेलीले चिर्थला राज्यमा प्रचलित स्तनकरको कानुन विपरीत विद्रोह गर्ने योजना बनाई । ऊ आँटी र बुद्धिमान् महिला थिई । आफूमाथि र समग्र शुद्र महिलाहरूमाथि भइरहेको यौन हिंसा र अत्याचार विरुद्ध लड्नुपर्छ भन्ने अठोट गरेर आफ्नो स्तन ढाकेर हिँड्न थाली । जब नाङ्गेलीले चिर्थलाको ‘मुलाक्रम’ नियम उल्लङ्घन गरी भन्ने हल्ला फैलियो, राज्याधिकारीहरू उसलाई राज्यको अनुशासन, दण्डसजायँको नियम बुझाउन आइपुगे । उसलाई  एक महिनाभित्र मुलाक्रम तिर्ने बाचा गराइयो । त्यसपछि नियमित रूपमा नाङ्गेलीले आफ्नो स्तन छोप्न थाली । एक महिना बितेपछि राजाका मान्छे मुलाक्रम लिन आए । नाङ्गेलीसँग स्तनकर तिर्ने पैसा थिएन । उसले मुलाक्रम लिन आएका राजाका मान्छेहरूलाई ढोकामा कुर्न भनी भित्र पसी । अनि एकैछिनमा आफ्नो दुबै स्तन काटी पातमा राखेर ढोका खोली । रक्ताम्य नाङ्गेली ढोकैमा ढलेपछि राज्यका कर्मचारीहरू डरले भागे । तत्कालै उसको मृत्यु भयो । यस घटनाले गदौ सबैतिर त्रास फैलियो । नाङ्गेलीको मृत्युपछि उसको श्रीमानले आत्मदाह गरे । मुलाक्रमलाई लिएर सम्पूर्ण दलित समुदाय जागेर श्रृङ्खलाबद्ध रूपमै आन्दोलन गर्न थालेपछि केरला प्रदेशका राजालाई ठुलै दबाब प-यो । अन्ततः सन् १८५९ मा यस नियम खारेज गरियो । नाङ्गेली र उसको पतिको बलिदानले चिर्थलाको राज्यलाई पनि  ठुलो दबाव पर्यो । परिणामस्वरूप राजाले मुलाक्रम खारेज गरे ।

वर्णव्यवस्था विरुद्ध दलित समुदाय (शुद्र) हरूले गरेको विद्रोहको इतिहासमा नाङ्गेली एक ऐतिहासिक र महान् प्रतीक हुन्, जसले आफूमाथि र समग्र शुद्र महिलाहरूमाथि हुने शोषण र अत्याचारको विरुद्ध विगुल फुकिन् । दलित महिलालाई वस्तुकरण गर्ने कानुन, नियम र अवधारणा विरुद्ध आवाज मात्रै उठाइनन्, आफ्नो ज्यानको आहुति नै दिइन् ।

बादी महिलाः यौन उत्पीडन विरुद्धको स्वर

नेपाली समाजमा संस्कृति र सामाजिक प्रथागत रूपमा बादी दलित महिलाहरूलाई सयौँ वर्षदेखि जबरजस्ती यौन पेशामा लाग्न बाध्य पारियो । अझै पनि समाजमा बादी महिलालाई भाँड, बदेनी, पातरको आपत्तिजनक उपमा दिएर अपमान गरिन्छ । दलित समुदायभित्रको एक बादी समुदाय  १४ औँ शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्पा, जाजरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ।सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा बाक्लो जनसङ्ख्या भएको यो समुदायको देशैभरि गरी अठतिस हजार छ सय तीन जनसंख्या रहेको छ । सुरुमा बादी समुदायको मुख्य पेशा चाडपर्व, विवाह ब्रतबन्ध, भोजभतेर आदि अवसरमा राजामहाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नुथियो । त्यसबाहेकको मुख्य काम काठ तथा छालाबाट वाद्यवादनका साधनहरू (मादल, बाउँ, तबला, ढोल, डमरु, सारङ्गी) आदि बनाउने, बजाउने, बिक्री गर्ने थियो ।

माटाका सामग्रीहरू बनाउने, साँट्ने, माछा मार्ने टडिया बनाउने, लोक गीत सङ्गीत, लोक नृत्यद्वारा राजादेखि रैतीसम्मलाई मनोरञ्जन प्रदान गर्ने जातिका रूपमा बादी समुदायले ख्याति पाएका थिए । त्यसबापत बक्सिसमा प्राप्त हुने जग्गाजमिन, घर अनि नगद–जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो । आधुनिक नेपालको सुरुवातसँगै बादी समुदायको परम्परागत पेशा खोसिन थाल्यो । पेशाविहीन अवस्थामा कतिपय बादी महिलाले यौन व्यवसाय रोजे तर नेपाली वर्णबादी समाजमा बादी समुदायका सबै महिला यौनकर्मी महिला हुन् र पुरुष भने श्रीमती, छोरी र दिदीबहिनीलाई यौन पेशा चलाउने धन्दाकार हुन् भनी हल्ला फैलाइयो। यसै भाष्यलाई आम भाष्यका रूपमा स्थापित पनि गरियो । यसले बादी समुदायका व्यक्तिहरूको स्वाभिमान र सम्मानमा ठेस पु–यायो ।

हुनत सामन्तबादी वर्णबादी समाजमा सबै महिला अर्धदास र भोग्या हुन् । पुँजीबादी समाजमा महिला उपभोग्य वस्तुसरह हुन्छन् । त्यसमा पनि समाजको पिँधमा भएको दलित महिलाको अस्तित्व नै  नगण्य छ । नेपालको पहिलो लिखित कानुन मुलुकी ऐनमा एउटै अपराधका लागि पनि जातअनुसारको फरक फरक दण्ड र सजायँको व्यवस्था गरियो- कानुनमा तागाधारी जात र नमासिन्या जातका पुरुषले छोइछिटो हाल्नुपर्ने र पानी नचल्ने जातका २/३ जना कथित जात घटुवा महिलालाई करणी गरे पनि खत नखापिने र सजाय एउटै गरे हुने भयो, तर आफूभन्दा कथित ठुला जातका (पानी चल्ने जातका) महिलालाई जति जनाको करणी गरेको छ, पटक पटकको जोडी कैद र जरिवाना गर्ने (मुलुकी ऐन १९१०) नियम बनाइयो।

मुलुकी ऐनअनुसार हिन्दु राज्यमा ब्राह्मणले शूद्र समुदायका महिलामाथि यौन अपराध गरेमा न्यूनतम सजायँ दिइन्थ्यो । शूद्र समुदायका पुरुषले द्विज वर्णको महिलामाथि यौन अपराध थाह नपाई गरेमा यौन अङ्ग काट्ने र सम्पत्ति जफत गर्ने काम गरिन्थ्यो  तर थाहा पाई–पाई अपराध गरेमा उसको ज्यान समेत लिइन्थ्यो । क्षेत्रीय र वैश्यका सम्बन्धमा पनि ब्राम्हण महिलालाई यौन अपराध गरेमा शूद्रलाई जस्तै सजायँ दिइन्थ्यो वा जिउँदै जलाइन्थ्यो । यसबारे इतिहासकार तुल्सीराम वैद्य र त्रिरत्न मानन्धरको किताब ‘क्राइम एन्ड पनिसमेन्ट इन नेपाल’ मा उल्लेख गरिएको छ ।

इतिहासकार ज्ञानमणि नेपाल ‘नेपाल निरुक्त’ (२०४०) मा लेख्छन्, ‘मानिसहरू स्वास्नी तुल्याउँछु भन्दै झुक्याएर देउचेलीहरूसँग केही काल रामरौस, मोजमज्जा गर्ने र छाडिदिने, बिना पैसा जबर्जस्ती करणी गर्ने गर्दथे ।’ त्यति मात्रै नभई उनीहरूको नाचगानलाई शत्रुको भेद खोल्न १९१२ सालको गोर्खा–भोट युद्धको बेला रणनीतिक रूपमा पनि प्रयोग गरेको पाइन्छ । उनको अध्ययनले भन्छ, डोटीतिरका ‘देउचेली पातर्नी’ राम्री छ भने केही केहीलाई त राजधानी काठमाडौंसम्म झिकाइन्थ्यो भने भारत र भोटतिर पनि नेपाली केटीहरूलाई राज्य स्तरबाटै बेचिन्थ्यो तर नेपाली समाजमा बादी दलित महिलाहरूका बारेमा यस्तो भाष्य स्थापित गरियो कि  उनीहरूको  अस्मितासँग सस्तो मूल्यमा जो कसैले पनि खेल्न सक्छ । जुन कुरा सबै बादी महिलामा लागु हुँदैन तर गरिबीका कारण धेरै बादी महिलाहरू यौन पेशामा लागेको भने सत्य हो । यौनपेशा अँगाल्न बाध्य पार्ने सामाजिक, अर्थराजनीतिक व्यवस्था र संरचनाबारे चिरफार नगर्ने तर यसको बाइ प्रोडक्टका रूपमा रहेको बादी महिलाहरूको बाध्यात्मक यौन पेशा जो कालान्तरमा  सरल, सोझा र गरिब बादीहरूलाई ‘शरीर बेच्ने संस्कृति’ मा रूपान्तरण गरिदियो ।

बादी महिलाहरूबारे कुरा गर्दा उनीहरू मात्र यौनकर्मी हुन् भन्ने भाष्यलाई स्थापित गरी विकृत रूपमा चित्रित गरिन्छ । बाध्यात्मक रूपमा गर्नुपरेको यौन पेशालाई रोमान्टिसाइज गरिन्छ । नेपाली समाजमा बादी महिलाले अभाव र गरिबीले आफनो पेट पाल्न, परिवारको भरणपोषण गर्न अङ्गालेको बाध्यताभित्रको अर्थराजनीति र जात व्यवस्थाको पाटोलाई सतहमा ल्याइ छलफल कहिल्यै गरिएन । बादी समुदायका महिला माथि हुने शोषण, विभेद र अत्याचारबारे नेपाली महिला आन्दोलनले कहिल्यै बहस र  छलफल आवश्यक ठानेन ।न त दलित आन्दोलनले नै पर्याप्त बहस गर्यो । वि.सं २०६४ सालमा आफूमाथि भएका यौन शोषण, विभेद र अपमान विरुद्ध बादी महिलाहरूले ४८ दिन धर्ना बसे र सिंहदरबार समेत घेराउ गरे । यो सङ्घर्ष नेपालमा भएका उत्पीडन विरुद्धको प्रतिरोधी आन्दोलनहरूमध्येको एक गौरवपूर्ण र ऐतिहासिक आन्दोलन हो ।

सयौँका सङ्ख्यामा आएका आन्दोलनकर्मी बादी महिलाहरूले तत्कालीन सरकारलाई  छब्बिस बुँदे माग पत्र राखेर  माइतीघर मण्डलामा झण्डै दुई महिनासम्म धर्ना दिएका थिए । सङ्घर्षका लागि २३ जिल्लाहरूबाट ५०० बादी आन्दोलनकर्मीहरू काठमाडौंमा जम्मा भएका  थिए । आत्मसम्मान र पुनःस्थापनाको माग गर्दै ३१ साउन ०६४ मा पत्रकार सम्मेलन गरी सुरु भएको बादी आन्दोलन ४८ दिनसम्म चल्यो । ५ भदौमा बादी महिलाले यो राज्यले बादी महिलालाई वस्तुकरण गरी बेचिन बाध्य पारेको हो, त्यसैले राज्यकै अगाडि नाङ्गिन्छौ भनेर सिंहदरबार गेटमा अर्धनग्न (पेटिकोट) भई प्रर्दशन गरेका थिए  । बादी महिलाहरूको अगुवाइमा भएको उक्त आन्दोलन अभाव, उत्पीडन, बन्धन, विभेद र छटपटीबाट मुक्तिका लागि भएको  थियो । आफ्ना समुदायको आत्मसम्मान र पहिचानका लागि राज्यलाई दबाव दिइएको थियो ।  सरकार र आन्दोलनकारीबिच २८ असोज ०६४ मा दुई बुँदे सम्झौता सम्पन्न भयो ।

सरकारसँग सम्झौता भएपछि २३ पुस ०६५ मा मन्त्रिपरिषद्को बैठकले बादी समुदायलाई ‘यौन शोषणमुक्त समुदाय’ घोषणा ग-यो  तर घोषणा भएको लामो समयसम्म पनि पितृसत्तात्मक वर्णवादी सरकारले बादी महिलाका समस्या सम्बोधन गरेन । सम्झौताको पहिलो बुँदामा बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरू, भाँड, बदेनी, पातर आदि शब्दको प्रयोगमा तुरुन्त रोक लगाउने; बादी समुदायलाई नागरिकता दिने व्यवस्था गर्ने र दोस्रो बुँदामा बादी समुदायका बालबालिकालाई अध्ययनका लागि निःशुल्क छात्रवृत्ति, रोजगारी, आवास र पुनःस्थापना उपलब्ध गराउने लगायत थिए ।

सरकारले यौन शोषणमुक्त समुदाय घोषणा त गर्यो, तर पुनःस्थापनाको  निम्ति कुनै पहल गरेन । त्यसपछि बादी महिला जीविकाको लागि फेरि लुकिछिपी बाध्यात्मक यौन पेसामा धकेलिए । उनीहरू नेपालका ठुला सहर तथा भारतका विभिन्न सहरसम्म पुगेका छन् ।  सरकारले सहमति कार्यान्वयन नगर्दा अहिले पनि यस समुदायको आत्मसम्मानमा ठेस लाग्ने अपशब्दहरूको प्रयोग भई नै रहेको छ ।

बादी महिलामाथि गरिबी, अभाव र तिरस्कारकै कारण बाध्यात्मक यौन पेसामा धकेलिनेको सङ्ख्या बढी छ । उनीहरूका अनुसार बलात्कृत हुँदा प्रहरीले बलात्कारको मुद्दा दर्ता गर्न मान्दैन । प्रहरीको मान्यता छ, ‘वेश्याहरू बलात्कृत हुँदैनन्।’ बादी महिलाहरू नगरपालिका, गाउँपालिकामा विवाह दर्ता गर्न जान्छन् तर त्यहाँ पनि उनीहरूले अपमान भोग्नुपर्छ ।धेरै बादी बच्चाहरूलाई नागरिकता र जन्मदर्ता दिइँदैन । नागरिकता र जन्मदर्ता नहुने मानिस अनागरिक मानिन्छ,  जसले गर्दा ती बच्चाहरू अनागरिक नै बाँच्न बाध्य हुन्छन् ।

अभियन्ता गोपाल नेपालीका अनुसार आजसम्म बादी जातिबारे लेखिएका जति पनि साहित्यिक पुस्तकहरू छन्, ती सबैमा बादी जातिलाई बिचरा, दयाको पात्र र महिलालाई यौनकर्मीका रूपमा उभ्याइएको छ । यस जातिको ऐतिहासिक सङ्घर्ष, सीप, कला, योगदान र बलिदानीको कथा कतै लेखिँदैन । यसले बादी जातिलाई हेर्ने नयाँ पुस्ताको दृष्टिकोणमा भ्रम पैदा गरेको छ । उनीहरूको आत्मसम्मानको सङ्घर्षलाई कमजोर बनाई प्रस्तुत गर्ने कार्य भइरहेको छ  ।

बादी महिलाहरूको उत्पीडनको मुद्दा नेपाली महिला मुक्तिको सवाल पनि हो । मुक्ति आन्दोलनमा सबै उत्पीडित समुदाय र लिङ्गको अपनत्व भए मात्रै त्यो बलियो र सफल हुन सक्छ । बादी महिलाले गरेको आन्दोलन लैङ्गिक उत्पीडन विरुद्धको  सङ्घर्ष मात्रै हैन, वर्गीय  र जात व्यवस्था विरुद्धको मुक्ति आन्दोलन पनि हो । यस समुदायको आन्दोलनलाई सम्पूर्ण न्यायप्रेमीले मुक्ति आन्दोलनको अभिन्न अङ्गका रूपमा लिनुपर्छ ।

नेपालको महिला मुक्ति आन्दोलनको एउटा महत्त्वपूर्ण मुद्दा भनेको ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ स्थापित गर्ने हो । बादी महिलाहरू यही अधिकारका लागि निरन्तर लड्दै आएका छन् ।तर, समग्र महिला आन्दोलनकर्मीहरूले बादी महिलाको आन्दोलनलाई साथ दिनु त परै जाओस् स्वीकारसम्म गरेको  देखिँदैन । वर्गीय रूपमा सबैभन्दा पिँधमा रहेका, लैङ्गिक रूपमा चरम हिंसा र दुर्व्यवहार भोग्नुपर्ने, जातीय रूपमा छुवाछूत र भेदभावबाट आक्रान्त बादी समुदायको मुक्तिका लागि सही र क्रान्तिकारी विचारबाट सशक्तीकरण गरेर बादी समुदायका महिला आफैले नेतृत्व लिने आँट गर्नुपर्छ । क्रान्तिकारी महिला आन्दोलनले बादी महिलाले बाध्यात्मक रूपमा भोग्दै आएको ‘देहव्यापार’को उत्पीडनलाई अभिन्न मुद्दाका रूपमा स्थापित गर्नुपर्छ ।

यौन हिंसाको चरम मारमा दलित महिला

पछिल्लो समय महिलामाथि वृद्धि भइरहेको यौनजन्य हिंसामा दलित महिला र बालिका सबैभन्दा बढी प्रभावित भइरहेका देखिन्छन् । ‘यौनजन्य हिंसा र जात व्यवस्थाको निरन्तरता’ विषयमा गरिएको एक अध्ययनअनुसार सबै किसिमका यौनजन्य हिंसासम्बन्धी देशभरबाट सङ्कलन गरिएका दुई हजार नौ सय एघार घटनाहरूको विश्लेषण गर्दा यौन हिंसामा पर्ने दलित महिला र बालिका २० प्रतिशत छन्, जबकी जनसङ्ख्याका हिसाबले ७ प्रतिशत मात्र  छन्  । आदिवासी जनजाति महिला ३३ प्रतिशत, मधेसी महिला ६ प्रतिशत, मुस्लिम ४ प्रतिशत, क्षेत्री १६ प्रतिशत र ब्राह्मण ८ प्रतिशत यौन हिंसाबाट प्रभावित भएको देखिन्छ ।(ज्ञवाली, शिवहरि,२०१९) त्यसैगरी दलित महिला सङ्घ (फेडो)ले ०७६ चैतदेखि ०७७ असोजसम्म गरेको एक अध्ययनअनुसार १ हजार ३ सय १८ जनाको बलात्कारजन्य घटनामध्ये दलित महिला र बालिकाको संख्या ४ सय ४७ छ । यो समग्रमा ३४.४४ प्रतिशत हुन आउँछ । बलात्कारजन्य हिंसाबाट पीडित दलित महिला र बालिकाले न्यायालयबाट ०.१ प्रतिशत मात्र न्याय प्राप्त गरेका छन् (फेडो, ०७७) । बलात्कारपछि मारिनेमा ८० प्रतिशत दलित बालिका र महिला भएको अध्ययनले देखाएको छ । महिलामाथि हुने हिंसामा दलित र सीमान्तकृत महिला बढी प्रभावित छन् भन्ने पटक पटकको अध्ययनले पुष्टि गरेको छ ।

लेखक तथा अभियन्ता सरिता परियार लेख्छिन्, “नेपालमा कथित सानो जातका महिलाहरूले जबर्जस्ती यौनश्रमसँगै यौनहिंसा भोगेका पीडाको जोड, घटाउ र गुणन केही पनि मिल्दैन” (‘छुत योनिको अछुत कथा,’ कान्तिपुर कोसेली, ३ चैत्र, २०७४) । युवराज सङ्ग्रौलाको विश्लेषणमा ‘नेपाली समाजमा दलित महिलाको सतीत्वको प्रश्न नै हुँदैन र दलित महिलाको व्यक्तित्व क्षेत्री–बाहुनका लागि केही होइन’ भन्ने छ । कथित उच्च जातले दलित महिला विरुद्धको यौन आक्रमणलाई अपराधै मान्दैन । सामाजिक संरचनाले अप्रत्यक्ष रूपमा दलित महिला विरुद्धको यौनहिंसालाई छुट दिन्छ, किनकि उनीहरू विरुद्ध हुने यौनहिंसालाई कानुन कार्यान्वयन गर्ने निकायले समेत बेवास्ता गर्छ ।

अन्तमा

नेपाली समाजमा थुप्रै विविधतासहितका अन्तर्विरोधहरू अवस्थित छन् तर प्रधान अन्तर्विरोधका रूपमा वर्ग र जात व्यवस्था छ । महिला मुक्तिको सवाल धार्मिक, सांस्कृतिक र लैङ्गिक मात्रै हैनन्, आधा धर्ती ओगटेका नेपाली महिलाभित्र वर्ग, जात, पहिचान, भाषिक र क्षेत्रीय आधारमा चौतर्फी उत्पीडनमा पारिएका महिलाको सङ्ख्या सत्तरी प्रतिशत भन्दा बढी छ । मूलधारको भनिएको महिला आन्दोलन आजसम्म पनि खस आर्य मध्यम वर्गीय महिलाको कब्जामा छ, जसले दलित, आदिवासी, जनजाति, मधेसी, र अल्पसंख्यक महिलाहरूको तहगत उत्पीडनको विषयलाई केन्द्रमा राखेर समाधान खोजेको देखिदैन । दलित महिला नेपाली समाजमा सबैभन्दा बढी किनारामा भएका महिला हुन् । त्यसैले उनीहरूमाथि जातीय, लैङ्गिक, र वर्गीय उत्पीडनको मार त्रिपक्षीय छ । गरिब र जातीय रूपमा विभेदमा रहेकाले दलित महिलामाथि यौन हिंसा र अत्याचार गर्दा हुन्छ भन्ने भाष्य स्थापित नै भइसकेको छ । भारतीय समाजमा नाङ्गेली, देवदासी र नेपाली समाजमा बादी महिलामाथि विगतदेखि अद्यापि कायम भएको यौन उत्पीडन र यौन हिंसाको दर उच्च हुनुमा जात व्यवस्थाले सृजना गरेका थप उत्पीडनका परिणाम हुन् । दलित महिलाका सवाल छुवाछुत मात्रै हैनन् । जात व्यवस्थाका आधारमा निर्मित वर्गीय उत्पीडन हुन्, जसलाई सम्बोधन गर्न क्रान्तिकारी विचार सहितको संरचनागत रूपान्तरण आवश्यक छ ।

आजको विश्वमा दलाल पुँजीवादी व्यवस्थाको चरम चपेटामा परेका महिला शरीर र बौद्धिकतालाई मुक्त गर्न पनि सत्ताको सधैँ प्रतिपक्षमा बस्न बाध्य बहुसंख्यक महिलाले पितृसत्तात्मक वर्णवादी सत्ताको विरुद्ध गोलबन्ध भई  धावा बोल्ने आँट गर्नुपर्छ ।वर्तमान समयमा उत्पीडित महिलाहरूले संयुक्त मोर्चाबन्दी गर्दै महिलामाथि भएका तमाम लैङ्गिक, वर्गीय र जातीय विभेदको अन्त्यका लागि एक जुट भई महिला मुक्तिको एक मात्र विकल्प समाजवादी व्यवस्था स्थापनाका लागि अघि बढ्नुको विकल्प छैन ।

सन्दर्भ सामग्री

दलित महिला संघ । वि.संं. २०७७ । दलित महिला र बालिकाहरू माथि भएको हिंसा र विभेद सम्बन्धित अध्ययन तथा विश्लेषण प्रतिबेदन । फेडो । कुपण्डोल, ललितपुर ।

HOFER, A. (1979). THE CASTE HIERARCHY AND THE STATE IN NEPAL:A Study of the Muluki Ain of 1854. Munich: Universitatsverlag Wagner, Innsbruck.

Rathi, P. ( 21Oct, 2022,).  Hindi Feminismindia.com .

Shrestha, T. L. (2071 Ashwin ). Untouchability in Britain . In Baljhirahane Atit , Aljhirahane rahane Bartaman . Kathmandu, Nepal : Discourse Publications, Kathmandu, Nepal .

https://ekantipur.com/koseli/2018/03/17/152126227455279750.html?fbclid=IwAR3vPFd61lkTysyURUdB1wKIHV_EtdTFQLcJOdOu7ZQ6aARDzaMfEBAZT3o

https://jhannaya.nayapatrikadaily.com/news-details/1236/2021-01-09

Author

  • धनकुमारी सुनार

    बामपन्थी कम्युनिष्ट आन्दोलनमा तीन दशकदेखि सक्रिय रही साहित्य र वैचारिक विषयमा लेखन तथा अनुसन्धान गर्दै आउनुभएका धनकुमारी सुनार दलित आन्दोलनमा २०४९ सालदेखि सङ्गठित रुपमा कार्यरत हुनुहुन्छ।उहाँ राष्ट्रिय महिला आयोगका पूर्व आयुक्त हुनुहुन्छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के