Asmita Magazine

#

नारीमुक्तिको सन्दर्भ

नारीमुक्तिको सन्दर्भ

(भूमिकाः महिला मुक्ति आन्दोलनका सम्बन्धमा)

नेपालमा नारी स्वतन्त्रता र समानताका निम्ति त्रिपन्न वर्ष अघिदेखि सङ्ठित रूपबाट आवाज उठिरहेको हो।  सर्वहारा वर्गीय आन्दोलनमा नारी सहभागिताबिना न समाजको मुक्त्ति आन्दोलन सफल हुन सक्दछ, न त  सर्वहारा वर्गीय आन्दोलनको अभिन्न  अङ्ग  नबनी महिला मुक्त्ति सम्भव छ, अर्थात समाजिक मुक्त्तिको प्रश्न  अभिन्न रूपबाट नारीमुक्त्ति आन्दोलनसँग गाँसिएको छ भन्ने चिन्तन सङ्गठित रूपमा नारीहरूबाट अघि सारिएको पनि झन्डै  पाँच दशक भइसकेको छ ।

नेपालका पुरुषहरूमाथि लादिएको राजनीतिक सत्ता,  जातीय सत्ता एवम् धार्मिक सत्ता भन्दा बढी नेपालका नारीहरू पितृसत्ताबाट उत्पीडित छन्, र शोषक वर्गका नारीहरूले समेत यस सत्ताको भार बहन गर्नुपरिरहेको छ । सारमा उत्पीडित जनतामध्ये नेपालमा नारीहरूको  सङ्ख्या अत्यधिक रहेको छ।यी विविध तथ्यले नारीमुक्ति आन्दोलनको संभावित सशक्ततालाई सङ्केत गरे पनि यथार्थ चाहिँ एकदमै फरक रहेको छ, अर्थात् यहाँ नारीमुक्ति आन्दोलन अत्यन्त कमजोर अवस्थामा छ । यस्तो हुनुमा सर्वहारा वर्गीय आन्दोलनभित्र  अवशेषका रूपमा रहेको पुरुषसत्तात्मक संस्कारले केही न केही मात्रामा भुमिका खेलेको छ तापनि त्यो भन्दा  बढी आधारभूत र महत्त्वपूर्ण कारण चाहिँ नारी समस्या र नारीमुक्तिको सम्बन्धमा नारीहरूमा रहेको वैचारिक अस्पस्ष्टता नै रहेको छ। यस पुस्तकमा समावेश भएका लेखहरूले नारीमुक्ति आन्दोलनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमाथि प्रकाश पारेका छन्  र यिनले  विचारधारात्मक क्षेत्रमा रहेका कतिपय  अन्यौललाई चिरेर प्रस्टता हाँसिल गर्न निकै सहयोग पुर्याउँदै  आएका छन्, पुर्याइरहने छन् भन्ने कुरामा  कसैले पनि द्विविधा  व्यक्त गर्न सक्दैन । नेपाली नारी मुक्तिआन्दोलनमा लागेकाहरूले पनि यसको भरपुर उपयोग गरी पर्याप्त लाभ उठाउने छन् भन्ने विश्वास मैले लिएको छु । जीवविज्ञान नारीजातिको नियति होइन (२०४०) र नारी जात्, वर्ग या उत्पीडित लिङ्ग ? (८ मार्च १९८६, २०४२) र सौन्दर्य प्रसाधन, फेसन र नारीप्रतिको शोषण (८मार्च १९८६, २०४२) नामक पुस्तिकाहरूमा अनुवाद गराई छुट्टाछुट्टै रूपमा   सुप्रसिद्ध  साहित्यकार एवम् नारीमुक्ति आन्दोलनकी नेत्री सुश्री पारिजातले चालिसको दशकमा नै आफै प्रकाशक बनी छपाउनुभएको तथ्य  नेपालको  नारीमुक्ति आन्दोलनप्रति अभिरुचि लिने सबैलाई थाहा नै छ। ‘जीव विज्ञान नारीजातिको नियति होइन’को प्रकाशकीय मन्तव्यमा पारिजातले महिलाहरूमा चेतना र अस्मिताबोध गराउनका निम्ति यस पुस्तकको उपादेयताले आफ्नो पनि ध्यानाकर्षण गरेको  उल्लेख  गर्दै  रुढि, अन्धविश्वास, कुसंस्कार, कुपरम्पराले गर्दा ग्रस्त  र आफुलाई पुरुषभन्दा असक्षम र हीन ठान्ने नेपाली नारीहरूमा शक्तिबोध  गराउन र उनीहरूलाई हीनभावनाको धापबाट  यो पुस्तक वैज्ञानिक सामाजिकताको आधारमा प्रामाणिक, तथ्यपूर्ण, सशक्त भएको र यसले  आफुलाई समेत  निकै नै प्रभावित  पारेको उल्लेख गर्नुभएको छ । अन्य दुई लेखहरूको सन्दर्भमा चाहिँ  पारिजातले सामन्तवादी शोषणको  साङ्लो चुँडाल्न नपाउँदै  पुँजीवादी शोषणको विकराल पञ्जामा जकडिन  पुगिरहेका नेपाली महिलाहरूको समस्या केलाउन यी पुस्तिकाहरूको औचित्य र उपयोगिताबारे यहाँ केही भनिरहन  नपर्ला भन्ने राय  व्यक्त्त  गर्नुभएको छ । लेखहरूको सान्दर्भिकता र आवश्यकतालाई पुष्टि गर्न  यति  भनाइ नै पनि पर्याप्त छ भन्ने मलाई लाग्दछ ।

यस  पुस्तिकाकी लेखिका एभलिन रीड अमेरिकी, समाजवादी महिला मुक्तिकामी लेखिका हुन्,  र उनको जन्म सन् १९०५ मा र मृत्यु सन् १९७९ मा भएको थियो । प्राकृतिक एवम् सामाजिक विज्ञानहरूमा पुरुषहरूद्वारा निर्माण गरिएको लिङ्गवादलाई च्यातचुत  पार्ने अभिप्रायले  ती विज्ञानहरूको  अनुसन्धान गरी त्यसमा कुशलता प्राप्त गर्ने उनी प्रथम अमेरिकी नारी लेखिका थिइन् ।संयुक्त राज्य अमेरिकाका  राष्ट्र्पति पदका लागि भएको सन् १९७२ को निर्वाचनमा उनी समाजवादी श्रमिकहरूको उम्मेदवार र अमेरिकी ट्रट्स्कीपन्थी समाजवादी पार्टीकी सदस्य थिइन् ।

एभलिन रीडले नारीमुक्त्ति आन्दोलनका सन्दर्भमा अत्यन्त सान्दर्भिक र उपयोगी पुस्तकहरू रचना गरेकी छन् ।  मातृसत्तात्मक गोत्रदेखि पितृसत्तात्मक परिवारसम्मको नारीविकास  नामका कृतिले नारीमुक्त्तिको दृष्टिकोणबाट विज्ञानहरूलाई सर्वप्रथम आलोचानात्मक रूपमा  हेर्ने  प्रयत्नको थालनी गर्यो र व्यापक पाठकहरूको ध्यानाकर्षण  अध्यावधि गरिरहेको  छ ।मातृसत्तात्मक  समाजबाट  पितृसत्तात्मक  समाजमा किन र कसरी परिवर्तन आयो, त्यस क्रममा के कस्ता घट्नाहरू घटे, यस सम्बन्धमा अभिरुचि राख्ने सबैले यो कृति पढनु आवश्यक छ । नारीमुक्ति आन्दोलनका  पक्षमा  अत्यन्त राम्रा  र गहकिला तर्कहरू मात्र यस कृतिले अघि सारेको छैन, यसअघि प्रायः बहसमा नल्याइएका  मानवशात्रसँग   सम्बन्धित अति महत्त्वपूर्ण  बहसहरू पनि यसमा समावेश गरिएका छन् ।

उनको महत्त्वपूर्ण कृति  नारीमुक्त्तिका समस्याहरू एक मार्क्सवादी दृष्टिकोण  (Problems of  Women’s Liberation: A Marxist Approach)  हो ।जीवविज्ञान  नारी जातिको नियति होइन, बाहेकका यस पुस्तकमा समाविष्ट दुई अरू लेखहरू यही पुस्तकबाट  लिएर अनुवाद गरिएका हुन् ।  नारीमुक्ति आन्दोलनभित्र नारीहरूलाई छुट्टै वर्गका रूपमा हेर्ने टि ग्रेस एट्किन्स एवम् रेड स्टकिङहरूको एउटा  समूह र उनीहरूलाई छुट्टै जातका रूपमा लिने  रुकसाना डनवरका  गलत सोचाइहरूलाई खण्डन गर्न एभलिन रिडले नारी जात, वर्ग वा उत्पीडित लिङ्ग?  भन्ने लेख रचना गरेकी हुन् । मार्क्स तथा एङेल्सले  नारीलाई विशेष  जातका रूपमा विश्लेषण गर्नुभएको छ भनी आफ्नो दस्तावेज गलत तरिकाले प्रस्तुत गर्ने र नारीमुक्ति नै सामाजिक क्रान्तिको  अधार हो भन्ने रुकसाना डनवरका भ्रामक  विचारहरूको खण्डन गर्दै रीडले जसरी सम्पूर्ण श्रमजीवी जनताको मुक्तिको आधार  सामाजिक क्रान्ति हो, त्यसैगरी यही नै  पूर्ण नारीमुक्तिको पनि आधार  हो  भन्ने मार्क्सवादी विचारको पुष्टि गर्ने प्रयत्न गरेकी छन् ।  उनले नारीलाई जात वा  वर्ग भन्नु गलत हो, उत्पीडित लिङ्ग भन्नु उपयुक्त छ भन्ने राय प्रस्तुत गरेकी छन् । उनले यस क्रममा नारीमुक्ति आन्दोलन र समाजवादका निम्ति प्रकाश पारेकी छन् ।  सर्वप्रथम नारीमुक्तिको उद्देश्य  समाजवादी क्रान्ति नभै पूर्ण रूपमा प्राप्त हुँदैन, तापनि सुधारका निम्ति निरन्तर सङ्घर्ष  गरिरझनुपर्दछ भन्ने उनको सोच यस लेखमा प्रस्तुत भएको छ ।

ठुला व्यापारीहरूले थोरै नाफा कमाउन कसरी नारीहरूको दोस्रो दर्जाको स्थितिलाई उपयोग गर्दछन् ।  र, लैङ्गिक उत्पीडन र सम्पूर्ण श्रमिकजनको शोषणलाई चिरस्थायी  बनाउने गर्दछन् भन्ने तथ्यलाई सौन्दर्य प्रसाधन, फेसन र नारीको शोषण नामक लेखले सविस्तार प्रस्तुत गरेको छ ।शृङ्गारका साधन, अन्य सौन्दर्य सहायक वस्तु तथा  फेसनका बारेमा  महिलामुक्ति आन्दोलनमा क्रियाशील नारीहरूबिच सन् १९५०को दशकदेखि नै  छलफल चल्दै आएको छ ।  एकथरी नारीहरू सौन्दर्य प्रसाधन र फेसन नारीहरूको बाह्य व्यक्तित्व  सुधार्न आवश्यक हुन्छ ; यसको प्रयोग गर्नु नारीहरूको अधिकार हो भन्ने राय राख्दै आएका छन् भने अर्काथरी नारीहरू मन लागेका लुगा लगानु र सौन्दर्य प्रसाधन प्रयोग गर्नुलाई नारीहरूको अधिकारका रूपमा ग्रहण गर्नुपर्छ तापनि आज शृङ्गारका फेसनको प्रयोग इच्छाका विपरीत बाध्यताका कारण गर्नुपरिरहेको छ भन्ने कुरामा विश्वास गर्दछन् ।उनीहरूको दृष्टिमा आजको निरङ्कुश प्रतिस्पर्धात्मक पुँजीवादले नारीहरूलाई प्रसाधनका साधनहरू प्रयोग गर्न र नयाँ नयाँ  फेसनको उपयोग गर्न विवश पारिएको छ । अर्को शब्दमा भन्ने हो भने सौन्दर्य प्रसाधकका उत्पादकहरू एवम् फेसनका व्यापारीहरूले नारीलाई  यौन  वस्तुका रूपमा शोषण गरिरहेका छन् र तिनको मूल उद्देश्य नारीहरूको स्वार्थको रक्षा गर्नु नभएर जसरी पनि नाफा कुम्ल्याउनु रहेको छ। एभलिन रेडले यही पछिल्लो मान्यतालाई  आधार  बनाई आफ्नो विचार प्रस्तुत गरेकी छन् । उनको भनाइमा वर्गसङ्घर्ष  विरोधको आन्दोलन हो, स्विकारको होइन। त्यसैले सौन्दर्य प्रसाधन र फेसन  प्रयोग गर्ने नारीअधिकारको पक्षपोषण गर्दा यस्तो  अधिकार र शोषणको जालमा फसाउने सामाजिक बाध्यताका बिचमा रहेको भिन्नतालाई निर्क्यौल गर्न नसक्ने अवस्थामा  पुँजीवाद प्रचारयन्त्र  र व्यवहारका जालमा जेलिइने सम्भावना रहन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।  सामाजिक परिवर्तनका निम्ति अगुवाई एवम् नेतृत्व  गरिरहेका नारीहरूले कहिल्यै झुक्किएर समेत सौन्दर्य र फेसनको मुसो दौडमा सहयोग पुर्याउनु हुँदैन । उनीहरूको काम त नारीहरूलाई आधार बनाई तिनकै शिकार खेल्ने  र असीमित नाफा कमाउने  फटाहाहरूलाई  नाङ्गेझार पार्ने पो हुनुपर्दछ ।निष्कर्षका रूपमा उनले के भनेकी छन् भने प्रणालीले नारीको व्यापक समुदायलाई पतित पार्छ र दमन गर्छ । त्यसमाथि यसले नारीहरूमा असन्तोष र त्रास उतप्न्न गराउँछ; त्यसका माध्यमबाट असीमित बिक्री र नाफाका लहरहरू जन्माउँ छ । महिलामुक्ति आन्दोलनमा लागेकाहरूको काम यी सबै खराबीका स्रोत पुँजीवादी प्रणाली र सबै निर्दोष नारीहरूलाई  सफल जीवन र प्रेमको एउटै  बाटो शृङार फेसनका सामानहरू किन्नु मात्र हो भनेर झुटो प्रचार गर्ने  यसको व्यापक प्रचारयन्त्र दुइटैलाई नङ्ग्याउनु  हो ।  आफ्नो यो निष्कर्ष प्रस्तुत गर्ने क्रममा लेखिकाले ऐतिहासिक रूपबाट कसरी  र कहिलेबाट  सौन्दर्य प्रसाधन र फेसन प्रयोग हुन थाल्यो  र कसरी नारीहरूमाथि  असन्तोष र  त्रास उत्पन्न गराउन थालियो, यसको पनि राम्ररी व्याख्या विश्लेषण गरेकी छन् ।  नाफाखोरहरूले नारी शरीरलाई  कसरी नाफा कमाउने  माध्यम  बनाएका छन्, लेखिकाले त्यसमाथि पनि सुक्ष्म  प्रकाश पारेकी छन् ।

नारीलाई यसरी हीन साबित गर्न खोज्दा पुँजीवादी सिद्धान्तका कैदी भएका जीवशास्त्री र मानवशास्त्रीहरूका पितृसत्तात्मक चिन्तनलाई विज्ञान एवम्  इतिहासको  अनुसन्धान गर्दै  मानवशास्त्री एभलिन रिडले  विभिन्न  कोणबाट प्रामाणिक रूपमा खण्डन गर्ने काम यस कृतिमा गरेकी छन् ।

एभलिन रीडको महत्त्वपूर्ण पुस्तक जीवविज्ञान नारी जातिको नियति होइन ( Biology Women’s Destiny ?) यस पुस्तकमा पनि  समावेश गरिएको छ । नारीहरू आफ्नो शारीरिक  बनोटका कारण पुरुषहरूभन्दा  कमजोर हुन्छन्, र त्यसैले उनीहरू दोश्रो दर्जाका हुन लायक छन्  भन्ने  शताब्दीऔँ अघिदेखि हैकमवादीहरूले आफ्ना कुतर्कहरू अघि सार्दै आएका छन् र पुँजीवादीहरूको  स्थापनापछि त यस्तो सोचलाई  अझ विभिन्न तरिकाले पुष्टि गर्ने कुचेष्टाहरू भएका छन् । नारीलाई यसरी हीन साबित गर्न खोज्दा पुँजीवादी सिद्धान्तका कैदी भएका जीवशास्त्री र मानवशास्त्रीहरूका पितृसत्तात्मक चिन्तनलाई विज्ञान एवम्  इतिहासको  अनुसन्धान गर्दै  मानवशास्त्री एभलिन रिडले  विभिन्न  कोणबाट प्रामाणिक रूपमा खण्डन गर्ने काम यस कृतिमा गरेकी छन् ।

नारीहरूमा मात्र हुने मातृत्व  र मातृत्वसँग सम्बन्धित  क्रियाकलापका कारण  नारीहरू शारीरिक रूपमा  पुरुषभन्दा भिन्न भएको कुरा एकदमै  साँचो हो । नारी उत्पीडनका निम्ति प्रकृति जिम्मेवार छ भने कुरा चाहिँ पूर्णतया गलत छ । नारी उत्पीडनका निम्ति वर्ग विभाजित पितृसत्तात्मक समाजका मानव निर्मित  संस्था र नियम कानुनहरू पूर्णतया जिम्मेवार छन् ।  आदिम वर्गहिन समाजमा यस्ता संस्था र नियम कानुनहरूको अस्तित्व थिएन र पशुजगतमा पनि यसको उपस्थिति पाइँदैन । यही मार्क्सवादी ?पुष्टि गर्दै  लेखिकाले प्रकृतिको तथा सामाजिक इतिहासको गलत व्याख्यात्मक प्रचार लिङ्गवादी समाजको विकासका निम्ति र नारीहरू माथि  भएको उत्पीडनलाई न्यायसङ्गत ठहर्‍याउनका निम्ति समेत जीवशात्री एवम् मानवशास्त्रीहरूले गरिरहेको तथ्यलाई उद्घाटित गरेकी छन् । उनले आफ्ना विचारलाई स्पष्ट  पार्दै भनेकी छन्- नारीले प्राकृतिक रूपमा पुरुषका तुलनामा शरीरको कारणबस कुनै बढी असमर्थता भोग्नुपरेको छैन । मातृत्वको भूमिकाले गर्दा  वर्गीय विभाजनपूर्वको समाजमा नारीहरूको महत्त्व कम मानिँदैनथ्यो ।  पितृसत्तात्मक समाजको प्रजननकर्ताको संयुक्त भूमिकाका कारण नारीहरूको एकदमै  सम्मान हुन्थ्यो ।  पितृसत्तात्मक समाजको प्रादुर्भावपछि  नारी शरीरको बनोट नारी सांस्कृतिक  तथा  समाजिक  जीवनसँग  स्थायी रूपबाट अलग्याउने र दासको स्थितिमा पुर्‍याउने कामको निहुँ बन्न पुगेको हो । यस तथ्यलाई  राम्ररी आत्मसात गर्न नसकेको खण्डमा नारीहरू समाजको वर्गीय स्वरूप (सामन्ती र पुँजीवाद)सँग नारीलाई बाँध्ने, नारीहरूको स्तरलाई तल झार्ने  र पराधिन बनाउने वास्तवीकरणहरूको तहसम्म पुग्न  सक्ने छैनन् ।नारीले आफ्नो उत्पीडनको निम्ति प्रकृति होइन, समाज स्वयम् उत्तरदायी  छ भन्ने कुरो बोध नगरुन्जेलसम्म नारीमुक्ति आन्दोलनमा गतिशीलता आउन सक्दैन ।

नारीको हीनताको कारण उनीहरूको जीववैज्ञानिक संरचना नै हो  भन्ने  पुरुष श्रेष्ठतावादीहरूको बलियो र मुख्य दावी एवम्  तर्क  आधारहीन साबित हुनासाथ  तिनको त्यो आधार नै  ध्वस्त  हुन्छ । यही आधारलाई ध्वस्त पार्ने काम एभलिन रीडले आफ्नो यस  रचनामार्फत् गरेकी छन् ।  यस क्रममा उनले नारीमुक्तिक पक्षमा रहेका क्याथलिन, गफ, एभरली, केट मिलेट  लगायत यौन द्वन्दात्मक  नामको पुस्तककी लेखिका  शुलमिथ फायरस्टोन, बेलायती मानवशास्त्री लुसी मायरका नारीमुक्ति विरोधी, इतिहास विरोधी  चिन्तनहरूलाई अनावरण गर्नुका साथै जीव विज्ञानमा देखापरेको नारीलाई हीन ठान्ने गर्भाशय सिद्धान्त र पुरुषलाई श्रेष्ठ देखाउने लिङ्ग सिद्धान्त, मानवशास्त्रमा नारीलाई हीन देखाउन  प्रस्तुत भएको शिकारी सिद्धान्त, मावली सिद्धान्त र मानव इतिहासको प्रारम्भदेखि नै नारीहरू उत्पीडित रहेको गलत व्याख्या विश्लेषणलाई बौद्धिक रूपबाट  परास्त गर्ने काम गरेकी छन् ।

लिङ्गवाद र विज्ञान (Sexism and Science) भलिन रीडको यस सन्दर्भमा लेखिएको अर्को महत्त्वपूर्ण कृति हो ।उनले संयुक्त रूपमा  अरू दुइटा पुस्तकहरू लेखेकी छन्- गर्वपतन र क्याथोलिक चर्च ।

नारीवादी नारीअधिकारहरूको वकालतमा गर्वपतन र क्याथोलिक चर्च (Abortion and the Catholic Church : Two feminist Defend Women’s Right) क्लेअर मोरेआर्तिसँग मिलेर लेखिएको छ भने  सौन्दर्य प्रसाधन, फेसन र महिलाको शोषण (Cosmetics Fashion and the Explanation of Women)  चाहिँ जोसेफ हान्सेन र मेरी एलिस वार्टसँग संयुक्त भएर लेखिएको छ । जीवविज्ञान नारीजातिको  नियति होइन भन्ने रचनामा सन्दर्भित लेखकहरूका साथै माथि उल्लिखित पुस्तकहरूमा  सङ्कलित  लेख एवम् पुस्तकहरू  नेपालको नारी मुक्ति आन्दोलनका  निम्ति विचारधारा समुन्नत पार्न निकै नै उपयोगी छन् भन्ने कुरा स्वत प्रस्ट छ  हाम्रा प्रकाशकहरूको ध्यान यस दिशातिर उन्मुख हुनु म आवश्यक  ठान्दछु र तिनको अनुवाद गरी प्रकाशनमा ल्याउनु अति सान्दर्भिक हुने देख्दछु ।

नेपालामा महिलामुक्ति आन्दोलनका सन्दर्भमा पुरुष श्रेष्ठता र  नारीहीनता सम्बन्धित चिन्तनका बारेमा विचाराधारात्मक प्रस्टता हासिल गर्नु मात्र पर्याप्त भन्ने म ठान्दिनँ। आज   संसारभरि नै पुँजीवादी सिद्धान्तकारहरू  र पुँजीवादी पार्टीहरू क्रान्तिकारी आन्दोलनबाट  नारीहरूलाई अलग राख्ने उद्देश्यले पुँजीवादी प्रणाली वा वर्गीय  समाजको जगमा कुनै आघात नपारी प्रायः लिङ्गहरूका बिचमा शत्रुता  उत्पन्न गराउने नारीवादी आन्दोलनलाई  प्रश्रय  दिने काम गरिरहेका छन् । पश्चिममा नारीआन्दोलनले नारीमुक्तिको सवाललाई प्रायः नारी मात्रको सन्दर्भमा हेर्ने गर्दछ । पुरुषविरोधी भएको कारण एक त यसले समस्यालाई  जगसम्म पुगेर खोतल्ने काम गर्दैन; दोश्रो, संवेदनशीलता र विवेकशील पुरुषहरू पनि नारीमुक्ति आन्दोलनमा  सामेल हुन सक्दछन् भन्ने सम्भावनालाई समेत निषेध गर्दछ ।पुरुषहरूलाई गाली गर्नु , सबै मुक्त्तिकामी संघर्षहरूलाई पुरुष अहंवादी घोषित गर्नु, नारी र खाली नारीहरूको विषयलाई  उठाउनु र नारी संसारबाट पुरुषलाई बहिष्कार गर्नु  यसको काम हुने गरेको छ । लक्ष्य  अस्पष्ट  र पद्दति  विज्ञानसम्मत नभएको कारण नारीवादी आन्दोलन  व्यवहारमा नारी चिन्तनहरूलाई नष्ट गर्ने, पुरुषोचित व्यवहार  गर्ने वा पुरुष जस्तै हुन खोज्ने  नारी समलैङ्गिकताको समर्थन जस्ता अनेकौँ  विकृतिहरूमा  व्यक्त हुन थालेको छ । उत्तरआधुनिकतावादीहरूको अवस्तुवादी, विखण्डनवादी र हरेक किसिमको संरचना, विचार  र व्यवस्थाविरोधी  चिन्तनको  भ्रमजालमा  यो आज  नारीदेह केन्द्रिताको प्रपञ्चमा फस्न पुगेको छ । नारी समस्याको कुनै भौतिक मुलतः आर्थिक आधार हुँदैन; सबै नारीहरू मात्र नारी हुन्; तिनमाथि हुने उत्पीडनका रूपहरू अनेक छन् तर कुनै एउटा प्रसाधन स्रोत  छैन; नारीमुक्तिको कुनै निश्चित परियोजना  हुँदैन;  समाजका अरू समुदायको मुक्तिसँग नारीमुक्तिको कुनै सम्बन्ध हुँदैन; नारीमुक्ति पनि त्रिकोण, विखण्डित र विचलित सङ्घहरूका माध्यमबाट  मात्र हुन सक्दछ भन्ने जस्ता  नितान्त भ्रमपूर्ण  चिन्तनहरू विश्वव्यापी रूपमा उत्तरआधुनिकतावादीहरूले  फैलाउने प्रयत्न गरिरहेका छन् । नारीमुक्तिका सन्दर्भमा देखापरेका  यस किसिमका भ्रमहरूलाई अनावरण गर्ने वैचारिक कृतिहरूको प्रकाशनतिर नारीमुक्ति  आन्दोलनका पक्षधरहरू तथा सृजनशील  प्रकाशनको पनि ध्यान जानु जरुरी छ।

आज मात्र होइन, शताब्दीऔँ देखि   नारीहरू समाजमा  पुरुषहरूसँग समान अधिकारबाट बञ्चित गरिदै आएका हुन् । नारी असमानात र उत्पीडनका रूपमा समयसँगै परिवर्तित हुँदै आएको छ तापनि राज्यसत्ता र धार्मिक संस्थाबाट निर्मित असमानता भने जस्ताको तस्तै रहिआएको छ । शोषक  वर्गको विचाराधारालाई  पक्षपोषण गर्नेहरूले  यो असमानतालाई उचित ठहर्‍याउन नारीहरूको लघुता वा हीनता, उनीहरूको  शारीरिक विशेषता र मातृत्व कार्य जस्ता कुराहरूलाई अघि सार्ने गरिरहेकै छन् तर प्रामाणिक तथ्य चाहिं  के हो भने नारी असमानताका जराहरू सामाजिक, राजनीतिक अवस्थामा अन्तर्निहित हुन्छन । बाबु वा पतिमाथिको नारीहरूको अधीनता र नारीवर्गको दासत्वको पनि कारण एउटै छ र त्यो हो,  समाजमा व्यक्त्तिगत सम्पत्तिको उत्पत्ति ।  यसैको फलस्वरूप  नारीहरू आर्थिक र राजनीतिक  अधिकारबाट बञ्चित छन्; आत्मिक रूपबाट उनीहरूलाई दाससरह  बनाइएको  छ; उनीहरूलाई समाजबाट पृथक र तिनका क्रियाकलापहरूलाई घरेलु कामकाजमा  सीमित पारिएको छ । नारीहरूलाई सामाजिक प्रकृतिको उत्पादन कार्यमा तानेर पुँजीवादले क्रमशः सङ्कुचित सीमारेखाहरूलाई भत्काउने कार्य गरेको छ तापनि  नारीलाई पुरुषसरह समान अधिकार प्रदान गर्न यो समर्थ छैन भन्ने कुरो तथ्यहरू स्वयंले पुष्टि गरिसकेका छन् । पुँजीवादले नारीलाई  नाफाका अतिरिक्त्त  स्रोतका रूपमा उत्पादनमा संलग्न गराउँछ ।पुँजीवादले  घरेलु  कामकाज र मातृत्वका साथै सामाजिक श्रममा  नारीहरूलाई भाग लिन  पाउने परिस्थितिहरू सिर्जना गर्दैन । यसरी नारीमुक्ति आन्दोलन शोषणविरुद्धको श्रमिक जनताको सामान्य  सङ्घर्ष वा वर्गीय  सङ्घर्षको एउटा अंश बन्न पुग्दछ । यसले  नारीहरूको क्रान्तिकारी आन्दोलन र नयाँ समाजको निर्माणमा  प्रत्यक्ष सहभागिताको माग गर्दछ । त्यति मात्र होइन, क्रान्तिपछी  व्यवाहारमै  रूस र चिनका नारीहरूको  स्थितिमा  आएको  आमुल परिवर्तनको प्रत्यक्ष परिणामले यसभन्दा अर्को बाटो छैन भन्ने कुरामा  सबैलाई आश्वस्त समेत बनाइसकेको छ ।

चरित्रका  दृष्टिले जनातान्त्रिक  बुर्जुवा नारीवादी लगायत धार्मिक एवम् अन्य धाराका नारी आन्दोलनहरू पनि विश्वमा क्रियारत छन् । तिनका केही न केही प्रभाव नेपालमा पनि परिरहेकै  छन् । यी सबैका बारेमा  सही दृष्टिकोण विकसित  गर्ने पुस्तकहरूको आवश्यकता समेत छ, सृजनशील  प्रकाशनका  आगामी प्रकाशनहरूले यो खाँचो  पूरा गर्नेछन् भन्ने  आशा मैले लिएको छु ।

 

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के