(ओ ! पेङ दोर्जे बाट साभार)
आमा !
मलाई तिमी मातेको मन पर्छ
मातेकै सुरमा
यो नरभक्षी व्यवस्थाले जन्माएको
हिटलरको दरसन्तान जस्तो बाउसँग
मुखमुखै लागेको मनपर्छ
तिम्रो सपना रुँदै हिँड्ने
त्यो एकान्त डगरमा
तिमी मातेर लर्बराउँदै हिँडेको मनपर्छ
अरूबेला तिमीसँग त्यत्रो हिम्मत कहाँ ?
अरूबेला तिमीसँग त्यत्रो साहस कहाँ ?
तिमी त आमा कम, नोकर बढी देखिन्छौ
दाम्लाले बाँधिएकी दासी जस्ती देखिन्छौ
दुःखको ढिकी–जाँतोले
तिमीलाई पच्छ्याउँन कहिल्यै छाडेन
आधा रातमा उठेर मकै पिस्यौ
मकैसँगै केही घुन पिस्यौ
तर पिसेनौ कहिल्यै उपियाँ
दासताको झन्डा बोकेर
उफ्रिरह्यो उपियाँ
र छाया बनेर पच्छाइरह्यो तिमीलाई
झिसमिसे मै उठेर ढिकी कुट्यौ
तर ढिकी कुटेनौ तिमीले
ढिकीले तिमीलाई कुटिरह्यो
कङ्गारूको जस्तो कुप्रियो तिम्रो शरिर
कुल्चिदियो मलाई ताते गराउँने औंलाहरू
आज त्यही बाङ्गो औंला देखाउँदै
आगनमा निस्किएर
सारा दुनियाँलाई गाली गरेको मनपर्छ
गैह्रीगाउँको चमेली फुपूलाई
कुनै अन्जान परदेशीले पेट बोकाएर गयो
कहिल्यै नफर्किने परदेशीको नाममा
गलबन्दी बुनेर बसेकी छिन् फुपू
तिनै बन्न नसकेकी लाहुरेनी फुपूलाई
चौतारामा घिस्याउँदै ल्याएर
मैलो सारी माथिमाथि उचाल्न लगाई
नाच्न लगाएको मनपर्छ
बोक्सीको आरोपमा
मलमुत्र खुवाए दमिनी बज्यैलाई
न्यायालयको तराजुमा
सधैँ पराजित भो बज्यैको आँसु
उनै बज्यैको हातमा हँसिया थमाई
सडक बीचमा उभिन लगाएको मनपर्छ
तिमी मातेपछि
जँड्याहा बाउलाई ढोकाभित्र थुनेर
कुखुरा बेच्न बजार जान्छौ
कोठाभित्रै थुनिएको
त्यो अत्याचारी बाउको अनहारमा दौडिने
त्रासको रङ्ग मनपर्छ
तिम्रो औंला जस्तै
बाङ्गिएको छ जिन्दगी
तिम्रो ढाड जस्तै
कुप्रिएको छ रहर
तिमी त वंश धानिदिने
आँसुको इन्जिनले चल्ने मेसिन
उहिल्यै जात्राबाट तिमीलाई
बाउले घिसारेर ल्याउँदा
उतै वनको बाटोमा छुट्यो
तिम्रो पच्छौरी
त्यही पच्छौरीसँगै छुट्यो
जीवनका तमाम रहर लाग्दा अध्यायहरू
त्यसपछि तिमी
कहिल्यै नबिसाउने दुःखको रेलमा
यात्रा गरिरह्यौ एक्लै
आमा तिमी मात
तिमी मातेको मनपर्छ
यो दुनियाँ तिम्रै रगत चुसी
मातिरहेछ आदिमकालदेखि
मातेकै सुरमा
शासन गरिरहेछ तिमीमाथि
आमा, तिमी मात
मलाई तिमी मातेको मनपर्छ