बारम्बार आन्दोलन गर्न नपरे हुन्थ्यो, हार्दिक शुभकामना…
नेपालमा नारी जागरण, समतामूलक समाज निर्माणका लागि नीतिगत तहमा देश, कार्यप्रणाली र समाजलाई महिलामैत्री बनाउन ‘अस्मिता’ पत्रिकाले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । सन् १९९० का दशकमा आन्दोलन भएर देशमा राजनीतिक परिवर्तन भइरहँदा पनि परम्परागत पुरुषप्रधान मानसिकतामा प्रभावकारी परिवर्तन आएन । फलस्वरूप, बदलिँदो परिस्थितिमा विचार र चेतनाका तहमा थप काम गर्नुपर्ने देखिएर त्सको विगुल फुक्न यो पत्रिका प्रारम्भ भयो ।
लगभग आरम्भिक चरणदेखि नै यसको सम्पादन सल्लाहकार र लेखकका रूपमा ‘अस्मिता’सित जोडिन पाएकोमा मलाई गौरवबोध छ । तथ्याङ्क तथा गुणात्मक सूचनाआधारित दर्जनौँ लेखहरू तयार गरिरहँदा वा प्राप्त सयौँ आलेखलाई विचार वा भाषा र प्रस्तुतिका दृष्टिकोणमा स्तरीकरण गरिरहँदा हामीबिचमा कहिलेकहीँ राति अबेलासम्म भएका व्यापक छलफल र विमर्शहरू यतिबेला स्मृतिमा छन् ।
लामो समयका अन्तरालपछि यो पत्रिका फेरि नियमित प्रकाशनका सङ्कल्पसाथ आउँदै छ भन्ने सूचनाले मलाई यसका संस्थापकहरू अञ्जु छेत्री र सुसन मास्के तथा मजस्तै ‘महिलाविषयमा लेख्ने पुरुष पात्र’ भन्ने उपाधि पाएका मित्र सरोज पन्त सम्झाएको छ । साथै महेश मास्के, कमला सरुप, सुधा त्रिपाठी, अरुणा उप्रेती, सरिता श्रेष्ठ, सलिना शाक्य, इन्दिरा दली, लेखनाथ भण्डारी, शान्ता भण्डारी, गणेश, इन्दु तुलाधर, मन्जु थापा, जयदेव गौतम आदिको भूमिका पनि मानसपटलमा छ । नयाँ सोच र विचारकासाथ आउन लागेको ‘अस्मिता’ले बारम्बार पुस्ताहरूले आन्दोलन गर्ननपर्ने गरी समतामूलक समाज निर्माणमा ठोस योगदान दिन सकोस्, हार्दिक शुभकामना !